जीवनको रहस्य (अन्तिम अध्याय)

मैले घरि खुशीका र घरि दु:खका आँशु बगाउँदै, अनेक भावनाले रन्थनिँदै शान्तिको चिट्ठी पढेँ। पढ्दापढ्दै मभित्र थामिनसक्नु आँधी उठ्यो। म बच्चा झैँ अनियन्त्रित रूँदै भुइँमा पल्टिएँ। यसरी म आफूभित्र जमेको फोहोर सफा हुने गरी कहिल्यै रोएको थिइँन। र मैले आजसम्म त्यो रूवाइपछिको जस्तो शान्तपन पनि महसुस गरेको थिइनँ।

अज्ञात समयदेखि गुम्सिबसेका भावनाहरूको ज्वालामुखी विष्फोट भइसकेपछि मलाई शान्तपनको विशाल तलाउ नजिक पुगे झैँ भयो। कुनै भय, शंका वा पीडाको नामोनिसान बिना आमाको गर्भमा थपक्क बसेको भ्रूण झैँ म शान्त बनेर भुइँमा पल्टिरहेँ। केवल श्वास लिँदै र छोड्दै थिएँ। मस्तिष्कमा कुनै विचार थिएन। केवल आफू, शरीर र श्वासप्रश्वासमा ध्यानस्थ थिएँ। भरखरै शरीरबाट पचास किलोको ट्युमर निकाले झैँ महसुस भइरहेको थियो। थकित थिएँ, तर एकदमै सहज र मुक्त पनि। आफू अर्कै व्यक्ति भएको महसुस भएको थियो, मानौँ म भरखरै पुनः जन्मिएको छु।

शान्तिको चिट्ठी पाएको तीन महिनापछि म आकस्मिक रूपमा नेपाल फर्किएँ। म व्यक्ति उही थिएँ, तर भित्र केही परिवर्तन पनि भएको थियो। त्यो परिवर्तन के थियो ठ्याक्कै भन्न सक्दिन। म फरक तरिकाले बाँच्न थालेको थिएँ, दिमागसँगभन्दा आफूभित्रको व्रह्माण्डसँग बढी जोडिएर बाँच्न थालेको थिएँ। थाहा भएको थियो… फेरि डिप्रेशनमा फस्ने छैन, पहिला जस्तो उथलपुथल र गडबडीको त्यो सीमापारी पुग्ने छैन जहाँ आफूलाई आफैँले घिसारेर बाँच्नु परोस्।

जीवनमा यति धेरै दु:ख सहनु परेकोमा खुशी लागेर आयो। नत्र मैले आफूलाई त्यो गह्रुँगो भारीबाट मुक्त गर्न सक्ने थिइनँ। एउटा त्यस्तो भारी जसलाई हामी थाहै नपाई आफूसँगै यताउता घिसारिबस्छौँ। एउटा त्यस्तो बडेमानको भारी जसलाई हामी हेर्न वा देख्न चाहँदैनौँ र हत्तपत्त बिसाउन पनि सक्दैनौँ। त्यो भारी आफैँले सिर्जना गरेको स्वयंको हिस्सा हो। त्यो स्वयं जसले आफूलाई बचाइराख्न, कोही हुन अथवा केही बन्न केही न केहीलाई पक्डिबस्नु पर्छ।

म धेरैथोक पक्डिबस्थेँ… फलानथोक बिना म केही होइन, मेरो सम्पत्तिबिना म केही होइन, मेरो फुटबल टिमबिना म केही होइन, मेरो धर्मबिना म केही होइन इत्यादि। र यदि कसैले यीमध्ये कुनै कुरामाथि आक्रमण गर्‍यो भने मेरो ‘म’ पनि आक्रमणको तारो बन्थ्यो, घायल हुन्थ्यो, छटपटिन्थ्यो। तर मेरो अस्तित्वसँग, सारतत्वसँग लिनुदिनु नभएको त्यो ‘म’ यसपाली नेपाल फर्कँदा मसँग थिएन। मेरो वास्तविकता मेरा संवेग, भावना, विचार र प्रतिक्रियासँग जोडिएको थियो।

मेरो जिन्दगीको चलचित्र म आफैँ निर्देशन गरिरहेको थिएँ। त्यसका पात्र देख्न सक्थेँ, तर आफू पात्र थिइँन। म चलचित्र हेरिरहेको त्यो निर्देशक भएको थिएँ जो हरेक कुरालाई पूर्वाग्रह वा पूर्वानुमान बिना हेर्छ, कुनै कुरालाई नतौलिइ केवल अवलोकन गर्छ। नयाँ विचार उत्पन्न भएको, नयाँ संवेग महसुस भएको, रिस उठेको थाहा राख्छ। यसरी म केवल आफूलाई अवलोकन, अवलोकन र अवलोकन मात्र गरिरहेको थिएँ। मैले जानेको सबभन्दा फलदायी खेल यही थियो।

सधैँ झैँ सुमो चढेर म दिउँसो करिब बाह्रबजे तिर हेटौँडा पुगेँ। शान्तघरको मूल प्रवेशद्वारको आग्लो खोलेर भित्र छिरेँ। शान्ति र केही सेविकाहरू सिकुवामा बसेर चामल केलाउँदै थिए। अर्की एकजना चामल र भुस छुट्याउन पट्याँसपट्याँस निफन्दै थिइन्। र अर्की चाहिँ चामल, बियाँ र कनिका छुट्याउन नाङ्लो र नारीहरू नचाउँदै छिन्कँदै थिइन्।

म शान्तघर छिरेको देख्ने पहिलो व्यक्ति सुशीला थिइन्। यसरी पूर्वजानकारी नदिइ म कहिल्यै स्पेनबाट शान्तघर टुपुल्किएको थिइनँ। त्यसैले सबैको अनुहारमा आश्चर्य मडारिएको थियो। मलाई देखेपछि सबैजना गरिरहेका काम छोडेर मलाई स्वागत गर्न खडा भए। हामीले सिकुवामा बसेर केहीबेर भलाकुसारी गर्‍यौँ। उनीहरूले मलाई प्रमुख र ताजा खबरहरू सुनाए। मैले नेपालमा भइरहेका हाम्रा कामबारे जानकारी गराउन स्पेनमा मैले गरेका गतिविधि सुनाएँ। उनीहरू भरेसम्म पनि मलाई अविश्वासका आँखाले हेरिरहेका थिए।

मैले उनीहरूलाई स्पेनी विद्यालयहरूमा गरिएका कार्यक्रमहरूबारे पनि बताएँ। ती कार्यक्रममा उनीहरूका र गाउँमा हामीले गरेका कामका फोटा देखाएको सुनाएँ। त्यो सुनेर उनीहरू के भन्ने होला थाहा नपाउनुको बिलखबन्दमा परेको थाहा पाएँ। मैले थप प्रष्ट पारिदिँए, ‘भविष्यमा हाम्रो काममा सहयोग गर्न सक्ने स्पेनी विद्यालयका केटाकेटीलाई ती फोटा देखाएको हो, हाम्रा कामबारे सुनेर मन पग्लिएका शिक्षकशिक्षिकाहरूलाई देखाएको हो।’

थपेँ, ‘मैले स्पेन गएर गर्ने गरेका कामहरूमध्ये एउटा प्रमूख बाम यस्तो विद्यालय…कार्यक्रम पनि हो। यस्तो कार्यक्रम गर्दा शान्तरघरमा जोडिएका सबैको जीवन निर्वाह गर्न अत्यावश्यक स्रोत जुट्छ। हामीले सहयोग पुर्‍याइरहेका करिब चार हजार ग्रामीण बालबालिकाको शिक्षा अघि बढाइरहन सम्भव हुन्छ। त्यसो भयो भने ती बालबालिकाले शान्ति र उनीजस्ता अरू हजारौँ बालबालिकाले जस्तो केही हजार रूपयाँमा बेचिनुको दुर्गति भोग्नु पर्नेछैन।’

चार बज्न लाग्यो। नानीहरू स्कूलबाट फर्किने बेला भयो। म शान्तघरको प्रवेशद्वारछेउको विश्रामघरमा बसिरहेको थिएँ। मलाई अकस्मात देख्दा नानीहरूको अनुहारमा झल्किने नानाथरी अभिव्यक्ति नजिकबाट नियाल्न पाउँछु भनेर त्यहाँ बसेको।

नानीहरूको पहिलो हुल आइपुग्यो। मलाई देखे। सबभन्दा साना बिनिता र प्रमिला कुद्दै म बसेठाउँ आए र मेरा एकएकवटा पाखुरामा समाएर लेपासिँदै बसे। उनीहरूका आँखा हर्षाश्रुले भरिएका थिए। देखभेट नभएको धेरै महिना पछिको पहिलो भेटमा झल्किने एकखाले लाजले भुतुक्क थिए, तर ‘बुवा’ फर्किएकोमा लजाएर परै उभिरहन पनि सकेनन्।

केहीबेरमै बाँकी नानीहरू पनि मेरा वरिपरि झुम्मिन आइपुगे। तिनका आँखा आश्चर्य, खुशी र अरू थुप्रै भावनाले भरिएका थिए। शान्तघरमा छोरीहरू मात्र राखिएका थिए। सबैले मलाई बुवाका रूपमा हेर्थे। किनभने म उनीहरूप्रति विशेष लगाव महसुस गर्थेँ र त्यसलाई नियमित व्यक्त गरिरहन्थेँ। उनीहरूको ‘घर’ शान्तघरका नियमबारे, शिक्षादीक्षाबारे र व्यक्तिगत समस्याबारे सधैँ चासो दिन्थेँ। बुवाआमाविहीन भएको हुँदा उनीहरू त्यो स्नेह, चासो, साथ, समभाव र करूणाको अभाव मबाट पूर्ति गर्न खोज्थे। उनीहरूलाई यिनै कुरा महसुस गराउन हामी हरेक दिन प्रयत्नशील रहन्थ्यौँ।

एक विहान शान्तिले एकान्तमा बात मार्ने इच्छा गरिन्। हामी शान्तघरको सिमाना हुँदै बग्ने खोल्सो पछ्याउँदै उकालो लाग्यौँ। करिब पाँच सय मिटर माथी जंगलछेउ एउटा ठूलो ढुङ्गो थियो। त्यही ढुङ्गामा केहीबेर मौन बस्यौँ। मैले उनलाई के बात मार्न खोजेकी थियौ भनेर सोधिनँ। थाहा थियो, मनले अह्राएपछि बोल्नेछिन्। त्यसैले मुन्तिरको दहमा भ्यागुता उफ्रेको हेरेर, चराको आवाज सुनेर, ताजा हावा शरीरभित्र पसेको र निस्केको थाहा राखेर चुपचाप बसिरहेँ।

म प्राय: विहान त्यही ढुङ्गा मुन्तिरको बाटो पैदलयात्रामा निस्कन्थेँ। कहिलेकाहीँ हिँड्दाहिँड्दै कतै बस्थेँ र जीवनलाई नियाल्थेँ। त्यसरी नियालेका केही कुरा अहिले शान्तिसँग साझा गर्न मन लागेर उनीतिर हेरेँ। उनको ध्यान अगाडि रूखमा नाचिरहेको चरामा अडिएको रहेछ। सोचेँ… अवरोध नगरौँ, मेरा कुराको भारी नथोपरौँ, उनको निशब्द एकाग्रतालाई भङ्ग नगरौँ। म मौनतामै अडिइरहेँ।

त्यसबेला मैले बुझेँ, हरेक कुरालाई शब्दमा उनेर भनिरहनु जरूरी रहेनछ। हामी कहिलेकाहीँ कुरालाई शब्दको जालोमा बुन्न खोजेर समय र ऊर्जा बर्बाद गरिरहेका हुँदारहेछौँ, मौनताको जादुमयी शक्तिलाई नष्ट गरिरहेका हुँदारहेछौँ। जीवन त्यही हो जे यो हो। त्यसैले यसबारे बोल्नु, सैद्धान्तीकरण गर्नुभन्दा मौन बस्नु, अवलोकन गर्नु र यसको अंश महसुस गर्नु अधिक सन्तुष्टिदायक रहेछ।

ढुङ्गामा मौन बसेको करिब बीस मिनेट पछि दहमा एकोहोरो हेर्दै शान्ति बोलिन्, ‘सर, यसपालि मैले तपाईंलाई सधैँभन्दा भिन्न देखेँ। बढी सहज पाएँ, धेरै मुस्कान देखेँ, सबैसँग अलिक नजिक भएको पाएँ। यसमा मलाई धेरै खुसी लागेको छ। तर मैले तपाईंसँग बात मार्न चाहनुको कारण र कुरा यो होइन, अर्कै छ।’

शान्ति केही समय अघिदेखि अधैर्य रहेको मलाई थाहा थियो। उनको दिमागमा बाँकी जीवन कसरी बिताउने भन्नेबारे मन्थन चलिरहेको थियो। उनी शान्तघरमा प्रशन्नै थिइन्; बहिनीहरू, सहकर्मीहरू र मसँग सँगै बस्न र यहाँका काम गर्न सिकिसकेकी थिइन्। तथापि, उनलाई केही दिन अघिदेखि इण्डियाका स्मृतिले दु:ख दिन थालेका थिए। उनका दिमागमा केटीहरू दुर्व्यवहारमा परेका दृश्य घुम्न थालेका थिए। उनले वा उनीजस्तै कलिला युवतीहरूले आफूमाथि आक्रमण गर्ने ग्राहकहरूसमेतलाई खुशी पार्नैपर्ने बाध्यताका दृष्यहरूले चिथोर्न थालेका थिए। यौन उत्तेजनाका केही क्षणमा विलिन भएर वास्तविक जीवनका कष्ट भुल्न चाहने ग्राहकहरूलाई सन्तुष्ट पार्नु पर्ने जबरजस्तीले कोपर्न थालेका थिए।

उनले थप बोल्ने सुरले मतिर अनुहार फर्काइन्। म त्यो अनुहारमा छापिएको निराशा, उदासी, तिक्तता र पीडा पढ्न सक्थेँ। सोचेको थिएँ… उनले ती सबैथोकलाई जितिसकेकी छिन्। त्यो भन्दा माथि उठिसकेकी छिन्। लागेको थियो… हर दिन र हर क्षण वर्तमानमा बाँच्न सक्ने उनको क्षमताले उनलाई विगत बिर्सन अथवा त्यसलाई एउटा कन्तुरमा बन्द गरेर राख्न सजिलो भएको होला। तर होइन रहेछ। ती सबै सूल बनेर उनीभित्रै लुकेका रहेछन्।

एकबेला उनले मसँग कबुलेकी थिइन्, ‘सर, शान्तघरमा तपाईंहरूसँग बस्न थालेपछि मैले विगत खासै सम्झेकी छैन। शुरूमा मलाई यो नयाँ परिवारमा आफ्नो स्थान पत्ता लगाउनु थियो, अनि अलिअलि गर्दै यहाँभित्रका जिम्मेवारी लिन थाल्नु थियो। मलाई लाग्न थालेको थियो… एउटा पवित्र अभियानलाई पूर्ण बनाउने यज्ञमा म पनि सामेल हुन पाएकी छु। आफूले जस्तै विगत भोगेका, यौन वा अन्य कुनै गम्भीर दुर्व्यवहार खेपेका बहिनीहरूका लागि एउटी स्नेही आमा बन्न पाउने यज्ञसँग जोडिएकी छु। यो यज्ञले मेरो जीवनलाई अर्थ दियो। यहाँ बिताएको जीवनयात्राको अनुभव अत्यन्त सुन्दर रह्यो। मेरा लागि यो एउटा सर्वोत्तम पुनर्स्थापना थियो र थियो जीवन, मानव र प्रेमको बीजप्रतिको विश्वासलाई पुन:स्थापित गर्ने सर्वोत्तम प्रक्रिया पनि। मलाई लाग्छ त्यो प्रेमको बीज हामी सबैले आफूभित्र बोकेर बाँचिरहेका हुन्छौँ।’

तथापि, विगत केही महिनादेखि उनलाई जीवनमा एक कदम अघि बढ्ने बेला भयो भन्ने लागिरहेको थियो। उनले भनिन्, ‘सर, हजुरले मलाई यो आश्रयस्थलमा ल्याउनु भयो। मलाई लाग्छ म पनि यो परिवारमा भित्रसम्म भिजेर बस्न सकेँ, एउटा विशेष पारिवारिक वातावरण बनाउन थोरबहुत योगदान गर्न सकेँ। तर अहिले आएर मेरो मनले भन्दैछ… शान्ति, अब तँ यहाँबाट निस्कने बेला भयो, अझै बेश्यालयहरूमै कहर काटिरहेका दिदीबहिनीलाई मद्दत गर्नुपर्ने बेला भयो।

तर उनलाई थाहा थिएन त्यो मद्दत गर्ने कसरी। उनलाई त मनको आवाज सुन्नु र सम्मान गर्नु थियो। मलाई उनका कुराले खुसी र दु:खी दुवै बनायो। उनको हात समाएर भन्न थालेँ, ‘शान्ति, मनको आवाज महसुस गर्नु कस्तो हुन्छ मलाई राम्ररी थाहा छ। जीवनमा मैले तिमीले जस्तो पीडान्तक अनुभव त बाँचेको छैन, तर कुनै बेला मैले पनि तिमीले जस्तै मनले अह्राएको कुरा महसुस गरेको छु। त्यस्तो महसुस सबैलाई हुँदो हो। तर हामी त्यसलाई सजगता र इमान्दारीसाथ सुन्न सक्दैनौँ क्यारे, अथवा बहिरो भएको नाटक गर्छौँ क्यारे। किनभने मनको आवाज सुन्नु भन्दा नसुन्नु अथवा नसुनेको नाटक गर्नु बढी सहज छ। त्यो नाटक गरिरहँदा हामीले थुप्रै सुनौला अवसर पनि गुमाइरहेका हुन सक्छौँ। त्यस्ता अवसर जसले हामीलाई साँचो अर्थमा खुशी र सन्तुष्टि दिन सक्छन्।’

हामीले गरेका यावत् कामहरू स्मरण गर्दै शान्ति बग्न थालिन्, ‘सर, हामीले गाउँगाउँ गएर गरेका बालबालिका बेचबिखन रोकथामका काम एकदमै राम्रा र पवित्र छन्। यदि बेचविखन रोक्ने हो र चेतनाको दियो बाल्ने हो भने पुग्नु पर्ने गाउँहरू तिनै हुन् जहाँ हामी काम गरिरहेका छौँ, परिवारहरूलाई सतर्क तुल्याइरहेका छौँ। थोरै भए पनि गरिबी कम गर्न कोसिस गरेका छौँ। बालबालिकाहरूलाई शिक्षाको उज्यालोतिर डोर्‍याउने प्रयत्न गरेका छौँ।’

युवतीहरूलाई वेश्यालय अथवा गलैँचा कारखानाबाट उद्धार गरेर मात्र समस्या समाधान नहुने कुरा उनले राम्ररी बुझेकी थिइन्। त्यसैले त्यस्ता युवतीहरूलाई समाजमा पुनर्मिलन र पुनर्स्थापना गर्नका निम्ति, जीवनप्रतिको विश्वास पुन:जागृत गर्नका निम्ति अरूलाई सहृदयी साथ दिन शान्तिको अनुभव निक्कै उपयोगी हुन सक्थ्यो। आखिर उनले सबै आफैँ भोगेकी थिइन्, पुनर्स्थापित र पुन:जागृत भएकी थिइन्। यो कुरा स्वीकार गर्दै उनले भनिन्, ‘म शान्तघरमा बस्न नभएकी भए मभित्र यति धेरै आत्मविश्वास जाग्ने थिएन।’

त्यसैले उनी मनले अह्राएको काम जसरी पनि गर्न चाहन्थिन्। मनको आवाजलाई सुन्न र सम्मान गर्न चाहन्थिन्; यो थाहा हुँदाहुँदै पनि कि आफ्नो गरिमा र आत्मसम्मान गुमाएका बहिनीहरूको सामना गर्नु कति चुनौतीपूर्ण छ!

हामी जंगलछेउको ढुङ्गामा बसेर बात मारिरहेकै थियौँ। उनको दृष्टि ढुङ्गा मुन्तिरको दहमा हराउँदै, फर्किँदै गरिरहेको थियो। केहीबेरको मौनता पछि उनको दादिने हात समाउँदै मैले भनेँ, ‘शान्ति, म तिमीलाई सकेजति सहयोग गर्नेछु।’

इण्डियामा बेचिएका युवतीहरू उद्धार गरेर ल्याउने संस्थासँग मेरो राम्रै सम्पर्क थियो। ती युवतीहरूको पुनर्स्थापनामा शान्तिले पुर्‍याउन सक्ने सहयोगबारे संस्थाका मान्छेहरूलाई सजिलै विश्वस्त पार्न सकिन्छ भन्नेमा म विश्वस्त थिएँ। मेरो सहयोगको बाचा सुन्नेबित्तिकै शान्तिले आफ्ना नजर दहबाट उठाइन्, मतिर हेरिन् र मुसुक्क मुस्कुराउँदै भनिन्, ‘सर, अब म शान्तघरका लागि अत्याज्य रहिनँ।’

उनी अरू सेविका, बहिनीहरू र मेरा लागि सर्वोत्तम गुरू भएकी थिइन्, तर त्याज्य थिइनन्। कोही पनि त्याज्य हुँदैन, हुनु हुँदैन। त्यो त्याज्य भन्ने कुरा मेरा लागि असह्य हुनेछ भन्ने कुरा उनलाई थाहा थियो। उनलाई यो पनि थाहा थियो कि मेरा लागि केही समयलाई सबभन्दा पीडाको कुरा उनी मेरो वरिपरि नुहुनु हुनेछ। त्यही बुझेर उनले मेरा हत्केला कसेर समाइन्, मचक्क पारिन् र आँखा जुधाएर मुस्कुराइदिइन्। सबै कुरा ठिकै भएको जनाउ दिन मैले पनि उनको मुस्कानको प्रतिउत्तर गरेँ। हामी फेरि केहीबेर मौन बस्यौँ।

त्यो मौनतामा हामीले आफूभित्र उर्लिएका भावना पचाउने कोसिस गर्‍यौँ। तिनको स्वाद चाख्यौँ, तिनलाई अँकमाल गर्‍यौँ, तीसँग एकाकार भयौँ। हामीले फेरि चराका गीतहरू सुन्यौँ, दहमा खेलिरहेका भ्यागुताका हर्कतहरू हेरिबस्यौँ। माथि जंगलतिरबाट बिस्तारै मन्द बतास चलेर आएको, हाम्रा अनुहारमा शीतल स्पर्श गर्न थालेको थाहा पायौँ। बस्दाबस्दै हाम्रा टाउका सल्लाह गरे झैँ एकैपटक आमनेसामने भए, आँखाहरू जुधे। अनि दुवैजना जीवनसँग सामञ्जस्यता राखेर मुसुक्क मुस्कुरायौँ, र थप एक शब्द नबोली त्यहाँबाट उठेर घर फर्किने बाटोमा अघि बढ्न थाल्यौँ।

केही दिनपछि मैले माइती नेपालकी मकवानपुर प्रतिनिधि माया लामासँग भेट्ने समय लिएँ। एकपटक मायाले आफ्नो उद्धारगृहमा बस्ने युवतीहरूका लागि चलाएको व्यक्तित्व विकाससम्बन्धी तालिममा मैले शान्तिलाई पनि लिएर गएको हुँदा उनले शान्तिलाई पहिल्यै चिनेकी थिइन्। हामी दिउँसो मायालाई भेट्न गयौँ। केहीबेर औपचारिक बातचित भए। अनि मैले उनलाई अनुरोध गरेँ, ‘शान्तिको क्षमता जाँच्न एकपटक औपचारिक अन्तर्वार्ता लिनुहुन्छ कि?’

‘पर्दैन’, मायाले निस्फिक्री भएर भनिन्।

सायद शान्तिबारे मैले उनलाई सुनाएका शब्द नै उनको क्षमताप्रति सुनिश्चित हुन काफी थिए। मैले मप्रतिको बिश्वासका लागि मायालाई धन्यवाद दिएँ र शान्तिका क्षमताबारे विस्तारमा अरू बताइदिएँ। केहीबेर मेरा कुरा सुनेपछि उनले भनिन्, ‘उद्दार गरेर बहिनीहरू यहाँ ल्याएलगत्तै शान्तिले उनीहरूको प्रशिक्षक अथवा सहृदयी साथीका रूपमा काम शुरू गर्न सक्छिन्। युवतीहरूका लागि यहाँ आएपछिको शुरूवाती समय एकदमै जटिल हुन्छ। यो त्यही बेला हो जतिबेला उनीहरूमा विश्वासको बिरूवा बौरिन थाल्छ, बाँच्नुको अर्थ पुन: भेट्टाउन थाल्छन्, अगाडि बढ्नुको औचित्य देख्न थाल्छन् र खुशी हुनुको महत्व बुझ्न थाल्छन्। शान्ति त्यो भूमिकामा पूर्णरूपले जम्ने छिन् र अनुभव बढ्दै जाँदा एउटा चमत्कारी नेतृ बन्ने छिन् भन्नेमा मलाई कुनै शंका थिएन।

यसरी अन्ततः शान्ति शान्तघरबाट हिँड्ने भइन्। एक दिन मैले शान्तघरका सबैलाई एकठाउँ भेला गरेँ र जानकारी दिएँ, ‘अब चाँडै शान्ति यो ठाउँ छोडेर अर्को एउटा महत्वपूर्ण कामका लागि जाँदैछिन्।’

अघिसम्म सबै खुसी देखिन्थे, हाँसिरहेका थिए। तर भरखर मेरो मुखबाट निस्किएको अकल्पनीय कुरा सुनेर तिनका खुसी गायब भए। कोहीकोही म ठट्टा गरिरहेको छु ठानेर अल्मल्लिएका देखिन्थे। त्यसैले आफ्नो उदासी लुकाउँदै तर शान्तिको गमन सबैका लागि स्वीकार गर्न गाह्रो हुनेछ भन्ने समझ पनि राख्दै मैले उनीहरूसँग यस्तरी कुरा गरेँ कि मानौँ यहाँ दु:खलाग्दो केही भइरहेको छैन।

आफ्नी आमा, आफूले माया गरेको मान्छे अथवा एउटा असल साथीलाई कसैले पनि गुमाउन चाहँदैन। आफूले विश्वास गरेको, सबैलाई खुला हृदयले स्वागत गर्ने, अरूलाई पनि त्यसै गर्न सिकाउने र जीवनप्रति मुस्कुराउन प्रेरित गर्ने मान्छेलाई कसैले बिदा गर्दा चाहँदैन। तैपनि शान्तिले जानु थियो, जानु राम्रो हुन्थ्यो। समयसमयमा हामीलाई भेट्न आउने नै छिन्, बिर्सने छैनन्। यो ठाउँ र हामीलाई छोडेर जानु उनका लागि पनि उत्तिकै पीडादायी भएको थियो। यस्तैयस्तै भनेर मैले शान्तघरका सबैलाई सहज र उज्यालो पार्न खोजेँ। शान्ति हामीलाई छोडेर जान लाग्नुका कारणहरू बुझाउने प्रयत्न गरेँ। मेरा कुरा सुनिसकेपछि एकजना सेविकाले भनिन्, ‘यस्तो विशेष मान्छेसँग जीवनका केही पल बिताउन पाएकोमा गर्व लागेको छ’ भने।

मैले थपेँ, ‘हामीले गर्व गर्ने भन्दा बढी त शान्तिले सिकाएका कुराप्रति कृतज्ञ चाहिँ हुनुपर्ला।’

यसरी मैले एउटा जानकारी दिने कठिन काम सकेँ। त्यो साँझ शान्ति मेरा छेउ आइन् र अनुरोध गरिन्, ‘सर, आज बेलुका हामी आँगनको दुवोमा पल्टिएर आकाशतिर हेरौँ न।’

मैले नाइँ भन्ने कुरै थिएन। साँझ छिप्पिएपछि दुवैजना आँगनमा गयौँ र दुवोमाथी उत्तानो पल्टियौँ। जुन नियाल्दै, त्यसमा ध्यान अड्याउन खोज्दै हाम्रो ‘खेल’ शुरू भयो। शुरूको यात्रा अधोगतिको थियो। किनभने शुरूमा हात लाग्ने त अन्योल, गञ्जागोल अथवा मार्गहीनता नै हो। तर हामी नहारेर अघि बढिरह्यौँ; त्यो खाली ठाउँतर्फ, अन्तरिक्षको अवलोकनतर्फ। अनि अँध्यारोमा, विशालतामा, स्व: को गहिराइमा अझ नजिक पुग्दै, ब्रह्माण्डसँग एकाकार हुँदै केहीबेर मौन पल्टिरह्यौँ।

आकाशतिर हेर्दाहेर्दै हामीमा समयको चेत हरायो। हामी चील आकाशमा तैरिएजस्तो त्यो खाली स्थानमा, अन्तरिक्षमा तैरिन थाल्यौँ। त्यो त्यस्तो स्थान हो जहाँ स्थिरताले, नि:शब्दताले राज गर्छ र मस्तिष्कलाई बेहोस झैँ पारिदिन्छ। त्यहाँ हरेक कुरा ठिकठाक हुन्छ। हामी एकशब्द बोलेनौँ। बुझेका थियौँ, बोल्न आवश्यक छैन।

हाम्रा एक्लोपन हाम्रै दिमागमा थिए। किनभने त्यो स्थानमा, अन्तरिक्षमा तिमी वा म भन्ने हुँदैन। केवल स्थान हुन्छ, प्रशान्ति हुन्छ, खुशी हुन्छ। त्यसैकारण हामी मृत्युसँग नडराउन थाल्यौँ, विदाइहरूसँग नतर्सिन थाल्यौँ। यस तरिकाले हामीले आशक्ति, अनुराग र तिनबाट पुग्ने चोटबारे सिक्यौँ। हामीले त्यो स्थानको अझ नजिक पुग्न, स्व:को नजिक पुग्न धेरै सिक्न र बुझ्न बाँकी थियो, यात्रा गर्न र दु:ख खेप्न बाँकी थियो। तर हामी सही मार्गमा थियौँ, आफूलाई मुर्ख बनाइरहेका छैनौँ भन्नेमा प्रष्ट र खुसी थियौँ। हामीले त्यस्ता क्षण पनि महसुस गर्‍यौँ जहाँ ‘म’ हराएर गयो र सबै कुरा ठिकै भएको भावानुभूत भयो। त्यसप्रति पनि हामी खुसी थियौँ।

त्यसैले शान्तिको विदाइका दिन ‘अन्त्येष्टि’ जस्तो माहोल थिएन, विपरीत थियो। सबै बहिनीहरू उनलाई धुमधाम भोजन गराउन, छुन र उनीप्रतिको वात्सल्य खुलेर व्यक्त गर्न चाहन्थे। उनीहरूले हाम्रै फूलबारीका फूल टिपेर माला उनेका थिए। त्यो माला शान्तघरकी सबभन्दा कान्छी बहिनीले शान्तिका गलामा पहिर्‍याइदिइन्। अनि सबैले पालैपालो उनका निधारमा विदाइको रातो टीका लगाइदिए।

आखिर त्यो समय पनि आयो। शान्ति लुगाफाट हालेको झोला बोकेर शान्तघरबाट निस्किइन्। म तल मूलबाटोसम्म साथ दिन सँगै निस्किएँ। त्यहाँबाट उनी काठमाडौँको बस समात्नेवाला थिइन्, माइती नेपालको काठमाडौँस्थित कार्यालय जानका लागि। बस आयो। उनले बाटोबाट खुट्टा उचालेर बसको ढोकामा राख्नुअघि एकपटक मेरा आँखामा हेरिन्, मेरा दुवै हत्केलामा आफ्ना हात राखेर मचक्क दबाइन् र मेरो मुटुसम्म उज्यालो पुग्ने एउटा चन्द्रमुखी मुस्कान पस्किइन्।

त्यो मुस्कानले मेरो हृदयलाई त्यसरी छोयो जो अरू कसैले अथवा केहीले छुन सक्दैन। शान्तिलाई लिएर हिँडेको बस ओझेल नपर्दासम्म मात्रै मैले आँशुको भेल रोक्न सकेँ। तर म उनका लागि अथवा मेरा लागि रोइरहेको थिइनँ। वास्तवमा म कसैका लागि पनि रोइरहेको थिइनँ। केही वर्षपछि महसुस भयो… मेरो त्यो रूवाइ त आफूलाई शान्ति झैँ मुस्कुराउन नदिएका कारण पो उर्लिएको रहेछ। छन त त्यो त्यस्तो मुस्कान मेरो र हामी सबैको पहुँचमा छ नि!

शान्तिलाई गाडी चढाएर र रोइसकेर घर फर्कँदै गर्दा मैले आफू पूर्णत: सम्हालिएको पाएँ। त्यो आफूले खोजिरहेको मुस्कान मेरा ओठमा स्व:स्फूर्त देखा पर्‍यो। तर जसै त्यो देखा पर्‍यो, विलाएर गइ पनि हाल्यो। त्यो मुस्कान त्यस क्षण बिलाएछ जब मैले थाहै नपाई आफैँलाई सोधेछु… शान्ति हिँडेपछि शान्तघरको व्यवस्थापनमा कस्तो असर पर्छ होला?

म वर्तमानमा नअडिएका बेला अथवा दिमागले मलाई हावामा कावा खुवाइरहेका बेला मेरा ओठबाट त्यो मुस्कान सधैँ त्यसरी नै गायब भइरहनेछ। मेरो निरन्तरको मूल संघर्ष नै यही भएको छ… वर्तमानमा हुनु, आफ्ना संवेग र विचारप्रति सजग ध्यान राख्नु, तिनलाई मलाई जालमा फसाउने र मेरो मुस्कान हरण गर्ने अनुमति नदिनु, राति आकाशतिर हेरेर ब्रह्माण्डको शून्यतामा हराएपिच्छे सम्झनु कि यत्रो विशालताबीच दु:खी हुनु कति मुर्खतापूर्ण कुरा हो! अनि हरेक बिहान उठ्नु र फेरि हाँस्ने, जीवनका परिस्थितिबाट नघिसारिने, बरू आफ्नै हृदयको आवाजबाट मार्गदर्शित हुने प्रयास गर्नु पनि मेरो मूल संघर्षकै अर्को रूप हो।

शान्ति गएपछि शान्तघरको व्यवस्थापन के होला भन्ने चिन्ता विस्तारै हराउँदै गयो। त्यो कुरा मलाई अविश्वसनीय पनि लाग्यो। त्यति सजिलै चिन्तामुक्त हुन्छु भन्ने थाहा भएको भए म उनलाई पहिल्यै बिदा दिन्थेँ। उनी गएपछिका दिनहरूमा सबै नानीहरूले शान्तघरका सबै नियम राम्ररी पालन गरिरहे। कसैले कुनै गुनासो गरेन। रिसका ज्वालाहरूलाई सरी, केही छैन, चिन्ता गर्नु पर्दैन, मलाई पनि कहिलेकाहीँ त्यस्तै हुन्छ इत्यादि भनेर निभाउने चलन चलिरह्यो। सानै भए पनि सबै नानीहरूले बुझेका थिए… हामी हड्डी र मासुका पोकाभन्दा अरू बढी केही हौँ, र त्यो केही सधैँ हामी भित्रै हुन्छ। मैले बुझेको जीवनको रहस्य यही हो।

समाप्त । (अन्तिम अध्याय)

उपन्यासका सबै अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

 ५ एक अविस्मरणीय सिकाइ

६ भोलापनको दुनियाँ

७ लालसाका दास

८ आमोद प्रमोद

९ गाउँको माहोल

१० घरफिर्ती

११ नमिठो वापसी

१२ आश्रय

१३ पूर्वबाट पश्चिम

१४ अर्को संसार

५ हडबडी

१६ प्रेमयात्रा

१७ दुःख

१८ रसिला

१९ जीवनलाई स्वागतम्

२० धरती काप्यो

२१ नवीन घरफिर्ती

२२ स्वीकारोक्ति

२३ एउटा आश्चर्य

२४ जीवनको रहस्य (अन्तिम अध्याय)

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित उपन्यासको यो अन्तिम अध्याय हो)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *