रसिला

एक बिहान करिब एघार बजेतिर रसिला सधैँभन्दा चाँडो स्कूलबाट फर्किएको देखेर हामी छक्क पर्‍यौँ। उनी आफ्नी आमा बितेपछि विगत चार वर्षदेखि हामीसँग बसिरहेकी थिइन्। भरखरै दश पुगेकी थिइन्, तीनमा कक्षा पढ्थिन्।

हामीलाई रसिला चाँडो घर फर्किएको कुराले भन्दा बढी उनको आक्रोशित अनुहारले, निहुरिएको शिरले र तीव्र गतिमा लम्किरहेका पाइलाले अचम्ममा पारे। शान्ति, म र अरू सेविका मल ओसार्दै थियौँ। मल बोकेर छेवैबाट गुज्रिँदा पनि उनले हामीलाई नहेरी आतुरी हिँडाइ जारी राखिन्। हामीले सल्लाह गर्‍यौँ… केहीबेर उनकै सुरमा छोडिदिनु ठिक होला, अनि अलिबेरपछि कुरा गर्नुपर्ला।

करिब आधा घण्टापछि मल बोक्न बिसाएर शान्ति र सुशीला रसिलासँग कुरा गर्न गए। उनी ओछ्यानमा घोप्टिएकी रहिछन्। दिदीहरूको उपस्थितिप्रति कुनै प्रतिक्रिया नजनाई भित्तातिर टोलाइराखिन्। शान्ति केही नबोली छेउमा गइन् र केहीबेर चुप बसिन्। त्यसपछि रसिलाका केशमा औँलाले हलुका सुम्सुम्याइदिन थालिन्। उनका औँला मन्द र मायालु गतिमा चलिरहेका थिए।

शान्तिलाई रसिलालाई के भएको हो पत्ता लगाउन हतार थिएन। उनी अधैर्य र उत्सुकताको शिकार बन्दिनथिन्। त्यसैले रसिलाको कपाल सुम्सुम्याउँदै, औँलाका टुप्पाले तालुमा नरम छोएको अनुभूति गर्दै, कपालले औँलाका कापमा स्पर्श गरेको महसुस गर्दै, फोक्सोले सास फेरेकोप्रति सजग रहँदै, श्वास लिने र छोड्ने क्रममा छातीका मांशपेशी फैलिएको र खुम्चिएको थाहा राख्दै, र झ्यालबाट छिरेको मन्द वतासले अनुहारमा स्पर्श गरेको अनुभूति गर्दै करिब आधा घण्टा चुपचाप बसिरहिन्। सुशीला यो सबै नियालिरहेकी थिइन्। आफैँलाई सोधिन्… रसिलालाई के भएको हो सोध्न शान्तिलाई किन यत्रो समय लागेको? उनमा यति धेरै सुम्सुम्याइ र मौनताले यो स्थितिलाई कतातिर लैजान्छ होला भन्ने उत्सुकता पनि थियो।

शान्ति शान्तघर आएको केहीपछि सबै नानीहरूले उनको प्रशंसा गरेको सुनेर सुशीलालाई डाहा हुन थालेको प्रष्ट देखिन्थ्यो। समय बित्दै गयो, व्यवस्थापकीय संयोजन गर्ने क्षमता र कौशल देखेर हामीले शान्तिलाई शान्तघरको नेतृत्त्व सुम्पिने निर्णय गर्‍यौँ। सुशीलालाई यो कुरा सहजै स्वीकार गर्न पनि गाह्रो भएको थियो। तर शान्तिप्रति कसैले पनि धेरै समय नकारात्मक सोचिराख्न सजिलो थिएन। दिन बित्दै जाँदा ती सोच कुइरो जस्तो उडिजान्थे। शान्ति कहिल्यै बादविवादमा संलग्न हुन्नथिन्। कुनै कुरामा यो नै एकमात्र सत्य हो भन्ने जडता उनमा थिएन। उनी त दयालु, स्नेही, मेहनती, उत्साही र अरू धेरै थोक थिइन्। र सबभन्दा महत्वपूर्ण कुरा उनी आफूलाई मन परेकासँग मात्रै होइन सबैसँग यस्तै थिइन्। सुशीलासँग पनि। उनले आफ्नो शान्तपन, मैत्रीभाव र निष्कपटताले सबैमाथि विजय प्राप्त गरेकी थिइन्। सुशीलामाथि पनि।

सुशीला कहिलकाहीँ शान्तिको व्यवहार गर्ने तौरतरिका बुझ्दिनथिन्। तर उनका हरेक व्यवहारमा, इशारामा, शब्दमा अथवा सामर्थ्यमा केही न केकी सिकाइ झल्किएकै पाउँथिन्। आफूभित्र झाँगिइरहेको डाहा सामना गर्ने क्रममा, अनुहार बिगारेर बसेकी केटीलाई सहृदयी साथ दिने क्रममा अथवा आफूलाई बोक्सीको आरोप लगाउनसमेत पछि नपर्ने कतिपय छिमेकीको आलोचनासँग जुध्ने क्रममा उनले शान्तिबाट धेरै सिकेकी थिइन्। शान्तिको अनुहारबाट त्यो सुखदायी मुस्कान कहिल्यै नहराएको देखेकी थिइन्। साथै, कतिपय अन्यायपूर्ण स्थितिमा रिस र निराशाको शिकार हुनबाट बच्न शान्तिलाई हम्मेहम्मे परेको पनि देखेकी थिइन्। शान्तिभित्रको प्रज्ञा अनुभव गरेकी थिइन् जसले शान्तिलाई शान्तघरमा कतिबेला कसलाई स्नेह आवश्यक छ, कसको कुरा सुनिन आवश्यक छ, कसलाई सल्लाह चाहिएको छ, कहिलेकाहीँ कसलाई कडा बोली गर्नुपर्ने स्थिति छ अथवा सजायै दिनुपर्ने हुनसक्छ भन्ने कुरा थाहा दिन्थ्यो।

त्यो दिउँसो ओछ्यानमा घोप्टो पल्टिएकी रसिला छेउ मौन बसिरहँदा पनि शान्ति सायद त्यही प्रज्ञाको निर्देशन पर्खिरहेकी थिइन्। आधा घण्टा जति रसिलाको केश सुम्सुम्याइदिएपछि उनले आफ्ना नौनी हात रसिलाका हत्केलामा जोडिन्। अनि अर्को हातले रसिलाका हत्केला पछाडि थपथपाउन थालिन्। थपथपाइसँगै रसिलाका आँखाबाट आँशुका ढिक्का झर्न थाले। ती गालाका डिल हुँदै बगेर ओठका चेपबाट भित्र पसे। शान्तिले उनलाई मन फुकाएर रून दिइन्, सोचिन्… मनमा थुप्रिएको तनाव आँखाबाट बगेर निस्कियोस्। अलिबेरमा रूवाइ थामिएपछि शान्तिले उनका गाला पुछिदिइन् र एक गिलास चिसो पानी ल्याएर दिइन्। उनले घटघट पानी पिएर गिलास भुइँमा राखेपछि बल्ल शान्तिले सोधिन्, ‘तिमीलाई के भयो रसिला?’

रसिला केही क्षण भावशून्य टोलाइरहिन्, गाली खाइने होला। तर उनलाई समझ र स्नेहप्राप्तिको आतुरी पनि थियो। अन्तत: उनलाई आफूभित्रको केहीले बोल्ने साहस दियो। सायद उनलाई लाग्यो… परिस्थितिको सामना गर्नु नै पर्छ, डराउनु पर्ने केही छैन।

रसिलाका अनुसार स्कूलमा टिफिन ब्रेक भएका बेला साथीहरू मिलेर चौरमा खेल्दै रहेछन्। खेल्ने सुरमा कराउँदै, कुद्दै गरिरहेका बेला अन्योला नामकी साथी अजाट्टिँदै रसिलासँग ठोकिन आइपुगिछन् र भुईंमा पछारिइछन्। अन्योला रिसले आगो भएर जुरूक्क उठिछन् र रसिलामाथि जाइलागिछन्। रसिलाले अन्योलाका मुक्का र लात्तीबाट बच्न हर प्रयत्न गरिछन्, तर सकिनछन्।

झगडाको हल्ला शिक्षकसम्म पुगेछ। दुईजना शिक्षक दौडिँदै आएछन्। रसिला र अन्योलालाई छुट्याएछन्। सधैँ सबैलाई झैँ के, किन, कसरी, कसले भन्दै केरकार गरेछन्। केहीबेर दुवैको कुरा सुनेपछि दुवैलाई सजाय दिने निर्णयमा पुगेछन्। कक्षामा लगेर साथीहरूका अगाडि घुँडा टेकाएछन्। शिक्षक कतै अलमलिएका बेला रसिला जुरूक्कै उठेर भाग्दै शान्तघर आइपुगेकी रहिछन्।

रसिलाका कुरा सुनिसकेपछि शान्तिले सोधिन्, ‘अहिले तिमीलाई कस्तो लागिरहेको छ? के भइरहेको छ?’

रसिलाले भनिन्, ‘नरमाइलो। अन्योलाले मलाई किन आक्रमण गरेकी अझै बुझ्न सकेकी छैन। त्यसमाथि सरहरूले सबैका अगाडि भक्कु गाली गरेर सजाय दिनुभयो। लाजले मुख देखाउन मन छैन। दिक्दार लागिरहेको छ।’

शान्तिले उनका कुरा शब्द भन्दा माथि उठेर सुनिन्। शब्दातीत संवेग छामेर भाव बुझ्ने कोसिस गरिन्। उनको बोलीको स्वर र तालका उतारचढावसँग बग्दै उनका पीडा र दिक्दारीलाई अनुभव गरिन्। अनि फेरि सोधिन्, ‘तिमीले केही गल्ती गरेकी थियौ कि?’

‘कस्सम! मेरो केही गल्ती थिएन, दिदी। तर आफूभित्र यस्तरी रिस उम्लिएको पटक्कै मन परेको छैन’, रसिलाले थपिन्।

घटना र अनुभूति ओकल्दै जाँदा रसिला अलिक सहज र तनावमुक्त देखिएको शान्तिले थाहा पाइन्। सोचिन्… अब केहीबेर एक्लै बस्न छोडिदिनु पर्ला, अलिबेर पछि स्कुलको ड्रेस फेरेर तल मल बोक्न आउ भन्नुपर्ला।

बेलुकापख अरू नानीहरू स्कुलबाट फर्किनुअघि, सेविका दिदीहरूले बिश्राम लिइरहेका बेला शान्तिले फेरि केहीबेर रसिलासँग बस्ने विचार गरिन्। अनि उनलाई ट्युसनकोठामा लिएर गइन् र भुईंमा चकटी ओछ्याएर सजिलो गरी बस्न भनिन्। चित्र कोर्ने कागज र रंगीन पेन्सिलहरू ल्याइन र छेउमा राखिदिइन्। अनि रसिलाका छेउमा बस्दै भनिन्, ‘दुवैजना मिलेर फूलको चित्र बनाऔं है।’

रसिलाले फूलको रेखाचित्र कोरिन्, रंग भरिन्। त्यसपछि शान्तिले अर्को कागज उनीतिर सारिदिँदै भनिन्, ‘अब तिमीभित्र त्यो रिसलाई चित्रमा उतार्ने कोसिस गरिहेर त।’

कुरा सुनेर शुरूमा त रसिलालाई कसैले धक्का दिएर पर हुत्याइदिए झैँ महसुस भयो। शान्तिले कुरो बुझिहालिन्। थपिन्, ‘रसिला, हामी हाम्रा संवेग र भावनालाई विभिन्न रंगका माध्यमबाट पनि व्यक्त गर्न सक्छौँ। तिमी आफूभित्रको रिसलाई नियन्त्रण नगरी बाहिर निस्कन देउ र त्यसक्रममा तिमीलाई जेजस्तो चित्र बनाउन मन लाग्छ बनाउ।’

यो व्याख्याले रसिलाको चित्त बुझेजस्तो देखिएन। तर शान्तिले कर गरेपछि कालो रंगको पेन्सिल टिपिन् र कागजमा एउटा चक्राकार बनाउन थालिन्। अरू रंगका पेन्सिलले थप चक्राकारहरू बनाइन्। अन्त्यमा रातो पेन्सील टिपिन् र अघिका सबै चक्राकार कट्टा गरिन्। चित्र बनाउने काम सकिएपछि शान्तिले सोधिन्, ‘अहिले तिमीलाई कस्तो महसुस भइरहेको छ?’

रसिलाले उत्तर गरिन्, ‘अघि दिउँसो भन्दा धेरै आनन्द लागिरहेको छ। तर त्यति धेरै रिस महसुस गर्न मन परेन।’

शान्तिले पहिल्यै कुनेबेला भनिसकेका कुरा स्मरण गराइन्, ‘रसिला, हामी धेरै खालका संवेग महसुस गर्छौँ। कुनै प्रीतिकर हुन्छन्, कुनै अप्रितिकर। तर तिनको उपस्थिति र अस्तित्व स्वीकार गर्नुपर्छ, तिनलाई अनुभव गर्नुपर्छ। तिनमा ध्यान र सजगता पुर्‍याउनु पर्छ। अनि तिनबाट केही सिकिसकेपछि तिनलाई जान पनि दिनुपर्छ।’

कुरो टुङ्ग्याउन खोज्दै शान्तिले अर्को प्रश्न गरिन्, ‘आजको अनुभवबाट तिमीले के सिक्यौ त?’

रसिलाको उत्तर थियो, ‘कोही मान्छे अरू भन्दा बढी हिंस्रक हुन्छन्। तर मलाई हिंसा मन परेन। मलाई मेरी साथी मसँग रिसाएको पनि मन परेन। गाली खानुपरेको झनै मन परेन। तर आफूलाई भएको, परेको कुरा सुनाउन कसैको साथ पाएकोमा धेरै खुशी र भाग्यमानी महसुस भयो।’

रसिलाका संवेग मथ्थर भएर वातावरण शितल भएपछि शान्तिलाई थप सोध्न मन लाग्यो, ‘तिम्रो विचारमा अन्योला किन त्यति हिंस्रक भएकी होलिन्? उनी किन दैनिकजसो कुनै न कुनै साथीलाई टोक्ने, कुट्ने गर्छिन् होला? अनि उनलाई कसरी शान्त पार्ने भनेर शिक्षकहरूलाई किन थाहा नभएको होला?’

रसिला अकमकिइन्। भनिन्, ‘थाहा भएन, दिदी। मलाई त आफू अन्योलासँग धेरै नजिक छु जस्तो लाग्थ्यो। एकअर्कालाई धेरै माया गर्छौँ जस्तो लाग्थ्यो। तर मैले उनको हिंस्रक व्यवहार पटक्कै बुझ्न सकिनँ।’

कुराको पोयो फक्दै गएको बुझेर शान्तिले थप प्रश्न थरिन्, ‘उनलाई घरमा कस्तो व्यवहार गरिन्छ होला, तिमीलाई थाहा छ?’

‘उनका बाबुआमा छैनन्। आफ्ना बच्चा नभएको परिवारले पालेको छ। त्यो घरमा धेरै रक्सी पिउने चलन छ। उनलाई धेरै पिट्छन्। कसैबाट खासै मायाममता पाउँदिनन्। उनले त्यो परिवारका गाइबाख्रा हेरिदिन्छिन्, जंगलबाट दाउरा ल्याइदिन्छिन्, भान्सामा मद्दत गर्छिन्। अनि सबैथोक भ्याएर स्कूल आउँछिन्’, रसिलाले थाहा पाएजति बताइन्।

रसिलाको बृतान्त सुनेपछि शान्तिले थपिन्, ‘तिम्रो कुरा सुन्दा अन्योला कुटाइ खाँदै हुर्किएकी बच्ची हुन् भन्ने कुरा प्रष्ट हुन्छ। उनले स्नेहको स्वाद चाख्न पाएकी छैनन्। उनलाई वास्तवमा चाहिएको कुरा माया हो, सम्बन्धका सामान्य नियम पालन गर्ने अभ्यास हो। तर तिमीहरूका शिक्षकशिक्षिका यो कुरा बुझ्न र त्यस्तो अभ्यास गराउन तालिमप्राप्त छैनन्। त्यसैले उनको स्थिति कहिल्यै नसुल्झिन सक्छ। उचित साथसहयोग नपाए अन्योलाको यो स्वभाव जीवनभर रहन सक्छ।’

अन्योलाको बसोबास शान्तघरबाट टाढा थिएन। शान्तघरमा बेलुका ट्युसन पढ्न आउने केटाकेटीमध्ये एकजना उनी पनि थिइन्। त्यसैले उनका आवश्यकताबारे हामी जानकार थियौँ। ट्युसन पढ्न आउन थालिकन उनको व्यवहारमा सुधार देखिन थालेको थियो। धैर्यसाथ बस्न सक्ने हुँदै गएकी थिइन्। साथीभाइ र शिक्षकहरूसँग घुलमिल हुन थालेकी थिइन्। पढाइ पनि सुध्रिँदै थियो। तथापि कहिलेकाहीँ उनमा हिंस्रक व्यवहारको भूत सवार हुन्थ्यो।

घाम डुब्न लाग्यो। शान्तघरमा ट्युसनको बेला भयो। केटाकेटी भेला हुन थाले। अन्योला पनि आइन् र साथीहरूसँगै प्रतीक्षालयमा बसिन्। ट्युसन पढ्न आउनेहरू कक्षा शुरू हुनुअघि त्यहीँ बसेर पालो पर्खिन्छन्। शान्ति र रसिला पनि प्रतीक्षालयतिर आउँदैगरेको देखेर अन्योलाले शिर निहुर्‍याइन्। सायद पश्चातापले पोलेर, गाली खाइने डर लागेर होला। शान्ति उनका नजिक पुगिन्, हलुका निहुरिएर उनको उचाइसँग समानान्तर भइन् र जिज्ञासु स्वरमा सोधिन्, ‘भन त अन्योला, तिमी रसिलालाई माया गर्छौँ कि गर्दिनौ?

शिर निहुरिएकै अवस्थामा उनको मुखबाट निस्कियो, ‘गर्छु।’

शान्तिले फेरि सोधिन्, ‘आज स्कूलमा तिमीबाट जे भयो त्यो ठिक जस्तो लाग्छ तिमीलाई?’

‘अहँ, लाग्दैन।’, रसिलाले भनिन्। थपिन्, ‘तर उनले मलाई जानीजानी धकेलेर लडाएकी जस्तो लाग्यो।’

यति त प्रष्ट थियो, दुवैले आआफ्नो पाठ सिकेका थिए। शान्तिले दुबैलाई आफ्नै किसिमको सजाय दिने विचार गरेर नम्र आदेश दिइन्, ‘ल, तिमीहरू दुबैजना एकअर्कालाई अंगालो मार र एकअर्काका हात समाउँदै ट्युसन् कक्षामा जाओ।’

रसिला र अन्योलाले एकअर्काका आँखामा हेरे, मुस्कुराए। आफूभित्रको संकोचलाई पराजित गर्न खोज्दै अंगालोमा बाँधिए। उपस्थित अरू केटाकेटी खितखिताउँदै कक्षातिर लागे।

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

 ५ एक अविस्मरणीय सिकाइ

६ भोलापनको दुनियाँ

७ लालसाका दास

८ आमोद प्रमोद

९ गाउँको माहोल

१० घरफिर्ती

११ नमिठो वापसी

१२ आश्रय

१३ पूर्वबाट पश्चिम

१४ अर्को संसार

५ हडबडी

१६ प्रेमयात्रा

१७ दुःख

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *