दु:ख

शान्ति शान्तघरमा बसेको नौ महिना बितिसकेको थियो। जन्मदर्तामा लेखिएको मितिअनुसार उनी यसै महिना अठार वर्ष पुरा हुँदैछिन्। फूलमायाले ‘फलानो दिन जन्मेकी होला’ भनेका आधारमा उनको जन्ममिति तय भएको थियो।

उनी एक दिन दिउँसो लजाउँदै मछेउ आइन् र भन्न लागिन्, ‘सर, मलाई दुई दिन बिदा चाहिएको छ। सुवास र म पोखरा घुम्न जाने सल्लाह गरेका छौँ। कस्तो राम्रो ठाउँ छ रे।’

फुर्सदका दिन शान्ति सुवासलाई भेट्न यताउता गइरहेको कुरा मलाई थाहा थियो। त्यसलाई मैले असामान्य वा अनुपयुक्त मानेको थिइनँ। तर दुईदुई रात बास बस्दै घुम्न जाने कुरा बढी भएन र? मेरा मनमा यस्तै उब्जियो।

सुवास केटा त राम्रै लाग्थे, शान्तिलाई सँगै पठाउन खासै समस्या थिएन। तर शान्तिले उनीसँग एउटा न्यूनतम दूरी कायम राखिरहन जान्लिन् कि नजान्लिन् भनेर म चिन्तित थिएँ। नाटकीय परिणाम निस्किने गल्ती गर्न पुग्लिन कि भनेर डराएको थिएँ, अझ त्यो पनि त्यस्तो संस्कृतिमा जहाँ बाबुबिनाकी आमालाई फाटेको टालोजस्तो व्यवहार गरिन्छ। तर यो सबै लाग्दालाग्दै पनि मभित्रको ‘केही’ ले त्यो मेरो डरचिन्ता शान्तिसमक्ष राख्न मानेन।

भविष्यमा आइलाग्न सक्ने स्थितिको सामना गर्नेबारे उनका सोच र सिद्धान्तमाथि शंका गर्ने मेरो के अधिकार? सम्झेर मलाई अफ्ठ्यारो लाग्यो। थाहा थियो, उनले मेरो सल्लाहलाई अन्यथा मान्ने छैनन्। किन पनि भने उनी मलाई बाबुको दर्जामा राखेर हेर्थिन्। उनलाई यो पनि थाहा थियो, मैले उनलाई भन्ने हरेक कुरामा अगाध माया र आदर निहित हुन्छ। तैपनि, अन्तत: मैले उनलाई थप केही नभन्ने बरू विश्वास गर्ने निर्णय गरेँ। तीन दिन पछि मलाई गुडबाइ भन्न आउँदा उनका अनुहारमा हेरेर मैले फगत यति भनेँ, ‘आफ्नो राम्रो ख्याल राख्नू।’

उनीहरू पोखरातिर लागे। पोखरासम्मको बस यात्रामा सुवासले शान्तिलाई हातले अंगालोमा लपेटेर राखे। आँखा झकाएका बेला शान्तिले आफ्नो शिर सुवासका काँधमा अड्याइन्। पोखरा पुगेपछि उनीहरूले नितान्त आफ्नो संसारमा हुन पाउनुको स्वतन्त्रता भरपुर प्रयोग गरे। चिनेजानेको मान्छे त के, चरामुसासमेतले देख्ने छैनन् भन्नेमा ढुक्क भएर फुक्काफाल रमाए। त्यो कुरा उनीहरूको आपसी अनुरागको सार्वजनिक अभिव्यक्तिमा प्रष्ट छचल्किएको थियो। उनीहरू एकअर्काका हत्केला चपक्क जोडेर फेवातालको सानिध्यमा टहलिए। जीवनले दिएका प्रत्येक अनुपम क्षणको आनन्द लिए। भूत र भविष्यका सबै कुरा बिर्सिए, केवल वर्तमान अस्तित्वमा थियो: हाँसोहरू, मायाका अभिव्यक्तिहरू, हातका नरम रगडाइहरू र अझ नजिक हुन पाए हुन्थ्योका उत्कट चाहनाहरू।

पोखराको पहिलो रात। मन्द निलो र गुलाबी उज्यालोमा सजिएको रेष्टुरेण्टमा बसेर खाना खाए। फेरि फेवातालतिर डुल्न निस्किए। तालका किनारमा राखिएका बेञ्चमा टाँसिएर बसे, गगनमा चम्किरहेका तारा हेर्दै रमाए। चिसो निक्कै बढिसकेको थियो। नौ बजेतिर होटल फर्किए। अनि सुत्ने सुरसार गरे। तर दिनभर सँगै बिताएपछि रात चैँ कसरी अलगअलग कोठामा बिताउन मन लाग्नु? मनमनै रात पनि साझा गर्ने निधो गरे। एउटै कोठामा सुत्ने भए।

कोठा छिरिसकेपछि अलगअलग खाटमा सुत्न कसरी मन मान्नु? कसोकसो लाज मान्दै एकअर्कालाई हेराहेर गरे। सुवासले चुपचाप साना दुईवटा खाट तानेर एउटै बनाए। छुट्टाछुट्टै सिरक ओडेर सुत्ने कुरा भएन, एउटै ओढेर पल्टिए। स्वाभाविक हो, उतिसाह्रो बल गर्नै नपरी, कसोकसो थाहै नपाई, उनीहरूको तन नजिकियो। एकअर्काको आलिङ्गनमा बेरिन बेर लागेन। एकअर्काका निधार, गाला र सर्वत्रको स्पर्श खोज्दै ओठहरू सलबलाउन थाले। दुवैजना स्पर्शानन्दमा बिलिन भए। यो नै दुबैका लागि शारीरिक प्रेमको पहिलो अनुभव थियो। उनीहरूले मन लगाएर गरेको पहिलो प्रेम।

कोठामा मधुरो मात्र उज्यालो छ। शान्ति र सुवास अंकमालमा कसिँदै गए। कपडाले ढाकिएका एकअर्काका शरीरलाई बेरोकटोक स्पर्श गर्ने हतारोमा दुवैका हात कपडाभित्र छिर्न थाले। प्राकृतिक थियो, आजसम्म यस्तो अनुभव नगरेकी शान्ति उत्तेजित मदहोसीमा बग्न थालिन्। जीउ लत्याकलुतुक भयो, काम ज्वरोले छोपेझैँ भयो। उनका कम्पित हात सुवासको टिसर्ट उतार्न लागे। रापिएका ओठ उनको छातीमा डुल्न थाले।

उत्तेजनाले उसैगरी रसाएको सुवासले शान्तिको कुर्था खोलिदिन, ब्राको हुक खुस्काइदिन संकोच मानेनन्। पहिलोपटक, उनले शान्तिका फक्रिएका स्तनहरू सुम्सुम्याए। स्तनका रन्किएका टुप्पा जिब्रोले सुस्तरी थिच्दै खेलाए र चुस्न थाले। शान्तिका मुखबाट आनन्दको उच्छ्वास् निस्कियो। त्यही उछ्वास्‌सँगै उनका दुवै खुट्टा केही फाटिए। सुवासको कम्मर शान्तिका फाटिएका खुट्टाबीच सरक्क घुस्रिन तम्तयार थियो। दुवैको उत्तेजना सगरमाथाको चुचुरोमा पुग्न लाग्यो। सुवासले शान्तिको सुरूवालबाट भित्र हात घुसारेर उनको नितम्ब सुम्सुम्याए। अनि जसै उनको दाहिने हात शान्तिका गोप्यतम् अङ्गतिर अघि बढ्दै थिए,  शान्तिले अकस्मात उनको पाखुरो च्याप्प समाएर आफ्नो जीउबाट पर हुत्याइदिइन्। र केही नभनी सुवासतिर ढाड फर्काएर कोल्टे फर्किइन्।

अकल्पनीय स्थितिमा परेर सुवास अवाक भए, अक्क न बक्क परे। शान्तिले किन यसरी अचानक यस्तो प्रतिक्रिया गरिन्? उनी किंकर्तब्यबिमुढ भए, हतासिए। के भन्ने, कसरी भन्ने थाहा पाएनन्! शान्ति सिरानीमा मुन्टो जोतेर आँशुको भल बगाउँदै भक्कानिइरहेकी छिन् भन्ने थाहा पाएपछि उनी झन् छटपटाउन थाले। नसोचेको आश्चार्य र अन्योलको भुमरीमा बेरिएर पल्टिरहे। केही मिनेटपछि शान्तिको देब्रे हात सुवासका हात खोज्दै आए। सुवासलाई सम्बोधन नगरी उनका ओठबाट करूण शब्द निस्किए, ‘सुवास, मलाई अरू केही नगरी केवल अंगालोमा समेट न।’

उस्तै करूण र भावविह्वल स्वरमा उनले सुवाससँग क्षमा मागिन्, ‘भरखरै जे भयो त्यसका लागि मलाई माफ गरिदेउ।’ बोल्न रोकिइनन्, भन्दै गइन्… सुवासले यसअघि कहिल्यै नसुनेको आफ्नो कथा। त्यो कथा शान्तिले इण्डियामा गुजार्नु परेको कालरात्रीको कथा थियो। अनि कथा सुनाइसकेर अन्त्यमा थपिन्, ‘सुवास, अघि मैले तिमीलाई जेजस्तो प्रतिक्रिया गरेँ त्यो त्यही वेश्यालयमा आउने पुरूषहरूसँगका मेरा अनुभव र स्मृतिहरूबाट बनेको ज्वालामुखी थियो। मलाई एउटी वेश्याको रूपमा काम गर्न बाध्य पारिएको घटनाले सिर्जेको हुण्डरी थियो।’

उनका कुरा सकिँदानसकिँदै सुवासले उनलाई आफ्नो अंगालोबाट सरक्क छोडिदिए, र खाटको अझ छेउतिर सरे। उनको यो प्रतिक्रयाले शान्तिलाई अचम्ममा पारेन, किनभने उनलाई सधैँ कतै न कतै डर थियो… एक दिन सुवासले ती सबै कुरा थाहा पाउनेछन् र उनीहरूबीचका सबै कुरा सकिनेछन्, यो सम्बन्धको डोरी चुँडिनेछ। तर उनलाई यो डरले भन्दा बढी पिरोल्ने कुरा अर्कै थियो… बिजुली चम्किएजस्तो घरिघरि झुल्किने इण्डियाका सम्झनाहरू। अझ खासमा भन्नुपर्दा साथी सुनिताको सम्झना। त्यसपछि मात्रै उनलाई सुवासँगको यो डरको चिसोले ठिहिर्‍याउँथ्यो।

यतिबेला, सुवास ससेर खाटको पल्लोछेउ पुगेपछि शान्तिले आफ्नो ‘यथा…उपस्थित’ जीवन पुन: प्राप्त गरिन्। यो बीचमा कति धेरै कुरा बेवास्ता गरिछन् भनेर थाहा पाइन्। एकातिर, सम्भोगको असाधारण शक्तिले लतारिएको र प्रेमीसँग आनन्दोत्सव मनाइरहँदा होस गुमाएको थाहा पाइन्। अर्कातिर, कसैसँग पूर्ण एकाकार हुनुका अनुभूतिबाट फड्किएर तिरस्कार र अस्वीकृतिका अनुभूतिमा पुग्न कति सजिलो रहेछ भन्ने पनि थाहा पाइन्।

प्रेम के हो?  उनी रनभुल्ल परिन्। यो प्रश्नको सार्वभौम उत्तर दिन सजिलो थिएन। बरू प्रेम के होइन त्यो देख्न चाहिँ सजिलो थियो। कसैको चाह हुनु, आमोदप्रमोदमा हराउन मन लाग्नु, छलकपट गर्नु, अर्को व्यक्तिमा आफ्नो खुसी खोज्नु, इर्श्यानुभूति गर्नु, अनुरागमा लिप्त हुनु, द्वेष महसुस गर्नु, क्षमा कसरी दिने थाहा नपाउनु चाहिँ सायद प्रेम यो होइन। हो, साँचो प्रेममा यस्तो हुँदैन।

उनलाई प्रेम के होइन भन्ने कुरा जति बढी थाहा हुँदै गयो त्यति नै बढी आफूमा खुशीको प्राणपोषण भइरहेको महसुस भयो। त्यो अन्तरहृदयमा महसुस भएको त्यस्तो आनन्द थियो जसले उनलाई अनुहारमा सच्चा खुशीको मुस्कान अंकित गरेर पूर्णत: कब्जा गर्‍यो। उनलाई ‘सातोरी’ भयो… बदलामा कुनै कुरा माग नगरी प्रेम गर्न सकिन्छ, माया गर्न सकिन्छ। प्रेम कुनै व्यक्तिमा वा कुनै कुरामा आश्रित छैन, हुनु हुँदैन। र उनले सुवासलाई अझै पनि विपुल प्रेम महसुस गरिरहेकी छिन्।

तर सँगसँगै, सुवासका हात उनको शरीरबाट हट्दा उनलाई एउटा असीम स्वतन्त्रता पनि महसुस भयो। त्यो स्वतन्त्रतामा डरको रत्तिभर अंश थिएन। त्यो स्वतन्त्रतासँगै उनले आफूभित्र असीम प्रेमले भरिएको एउटा समुद्र पनि भेटिन्। उनलाई थाहा भयो… त्यस्तो समुद्र हरेक व्यक्तिभित्र छ, र त्यसमा हरेक व्यक्तिको पहुँच छ। यो हरेक व्यक्ति भनेको त्यस्तो व्यक्ति हो जसले आफैँसँग नजिक भएर, हरेक क्षणलाई अन्तिम ठानेर, जीवनको र ‘हुनु’ को चमत्कारको साक्षी बन्न पाएकोप्रति कृतज्ञ भएर प्रत्येक सेकण्ड प्रेममा बाँच्न सकिन्छ भन्ने बोध गर्छ।

हो, शान्तिलाई यही बोधले घच्घच्यायो। उनलाई तत्कालै सडकमा निस्कन मन लाग्यो। आफ्नो अघिल्तिर पर्नेजति सबैलाई अंकमाल गर्ने चाहना भयो। आनन्दले आकर्षित भएर चिच्याउने, गीत गाउने, नाच्ने र आफ्नो खुशी सबैसँग बाँड्ने तीब्र इच्छा जागेर आयो। उनलाई यस उप्रान्त आफ्नो जीवनको ध्येय के हो पनि छ्याङ्ग भएर आयो। त्यो थियो… आफ्नो वरिपरिका सबैलाई सर्तरहित खुसी र प्रेम खोजी गर्न मद्दत गर्नु। यस्तो खोज उनका लागि त्यति नै महत्वपूर्ण थियो जति बाँच्नका लागि खानुपिउनुको महत्व हुन्छ। अथवा, त्योभन्दा बढी।

सुवास दलिनतिर हेरेर एकोहोरिएको अवस्थामा थिए, मौन। उनको मन वेश्यालयमा शान्तिको जीवन कस्तो थियो भनेर कल्पना गरिरहेको थियो। उनले शान्तिका शरीरमाथि कुनै पुरूष चढेको, खेलौनाजस्तो खेलाएको, कामुक स्पर्श गरेको र योनीमा लिङ्ग छिराएको पनि कल्पना गरे। दिमागमा घुमिरहेका हरेक सोच र कल्पनाले उनका पीडालाई, उदासीलाई र दु:खलाई बढाएर लगे। उनका लागि शान्तिसँगको प्रेम टुङ्गिएको थियो। तर खासमा त्यो यस्तो प्रेम थियो जो साँचो अर्थमा कहिल्यै अस्तित्वमै थिएन।

किनभने साँचो प्रेम टुङ्गिदैन, मर्दैन। यो त हामीले अरू जीवात्माप्रति जीवनभर महसुस गर्छौँ। त्यसमा द्वेष, रिस वा इर्श्या मिसिएको हुँदैन। अघि ऐस गरिरहँदा सुवास आफ्ना जरूरत, अपेक्षा, महत्वाकाँक्षा, संसारलाई हेर्ने दृष्टिकोण र अहंको अधीनमा साँघुरिएका थिए। उनका सबै दुःख अर्थोक केही नभएर सही तरिकाबाट प्रेम गर्न थाल्नका लागि एउटा अवसर हो, अहंलाई वशमा राखेर उडान भर्न थाल्न पाउने अवसर हो। तर जीवन बुझ्न कठिन हुने, समेटिएर अघि बढ्न गाह्रो पर्ने अधिकांश मानिसलाई जस्तै सुवासलाई पनि यो कुरा महसुस गर्न वर्षौँ लाग्नेछ।

सुवास पहिला कस्ता थिए र अहिले कस्तो अनुभूति गरिरहेका होलान् भन्ने अनुमान गर्दै शान्तिले केही क्षण उनका हात कोमलतापूर्वक समाइन्। केही मिनेट त्यसरी नै बसिन्। अनि जुरूक्क उठिन् र आफ्ना सामान हाते झोलामा मिलाउन थालिन्। सुवास अघिदेखि भित्तातिर हेरेर मुर्तिवत् थिए। शान्ति आफ्नैबारे सोचेर छक्क परिरहेकी थिइन्। बाफ्रे, यस्तो असहज स्थितिमा पनि म यति धेरै खुशी महसुस गर्न सक्दिरछु! भन्ने थाहा पाएर आफूप्रति आफैँसँग हाँसिन्। आफैँलाई भनिन्… हैट, हामी जीवनलाई बित्थामा कति जटिल बनाउँदा रहेछौँ!’

शान्ति पट्याइरहेका कपडाको छुवाइप्रति, शरीरको हरेक चालप्रति, दिमागमा आउँदैजाँदै गरिरहेका विचारहरूप्रति सजग रहँदै परम आनन्दका साथ झोला बोकेर बाटो लाग्न ठिक परिन्। सुवासलाई सहज र शान्त हुन सहयोग पुर्‍याउन नपाएकोमा खेद महसुस गरिन्। तर उनलाई यो पनि महसुस भयो… कसैलाई कुनै कुरा सिकाउन स्थिति अनुकूल छैन भने त्यसबेला हामीले गर्न सक्ने उत्तम कुरा भनेको सम्बन्धित व्यक्तिलाई नै खोज गर्न छोडिदिनु हो, साँच्चै सिकाउन त जीवनले मात्र सक्छ। अनि शान्ति एक्लै आफ्नो बाटो लागिन्, घरतिर।

सुवासले केही दिनपछि उस्रठ्ठै फोन गरेर जानकारी गराए, ‘शान्ति, मेरो परिवारले तिमीसँगको सम्बन्धबारे सबै थाहा पायो। तिमीलाई बिर्सन र क्याम्पस पढ्न भनेर मलाई अष्ट्रेलिया पठाउन लागेका छन्।’

सुवासले फोन गरेकोमा र स्नेहभाव प्रकट गरेकोमा शान्ति कृतज्ञ भइन्। फोनबाटै उनले थाहा पाइन्… सुवास अझै दु:खिरहेका छन्, सम्मानपूर्वक बोलिरहेका थिए तर अन्योलग्रस्त सुनिन्थे। उनका अनुभूतिहरू अझै पनि अक्षुण्ण थिए र उनलाई त्यो ‘प्रेम’ बिर्सन गाह्रो भइरहेको छ।

फोन संवाद टुङ्ग्याउन खोज्दै शान्तिले भनिन्, ‘अर्को संसार हेर्न पाएको अवसरबाट आनन्द उठाउ, सुवास। मन लाग्यो भने अथवा एक्लो महसुस भयो भने मलाई यही शान्तघरको ठेगानामा लेख्न अफ्ठ्यारो नमान्नु।’

फोन राखिसक्दा शान्तिलाई गहिरो दु:ख महसुस भयो। भित्र एक प्रकारको खालीपन जस्तो भरिएर आयो। जीवनमा केही कुरा छुटेर गइरहेको जस्तो भयो। उनी कोठाबाट निस्किइन् र अलि पर्तिरको फलैँचामा गएर बसिन्। म धीमा गतिमा हिँड्दै उनको छेउमा गएर बसेँ, केही कुरा सुनाउलिन् कि भन्ने आश गरे झैँ! सायद उनलाई पनि आफूभित्र भरिएको भडाँस पोख्नु थियो होला, भएभरका कुरा रिट्ठो नबिराई मलाई सुनाइन्।

उनी जति बोल्दै गइन् त्यति नै बढी मुक्त हुँदै गएको देखियो। अजङ्गको भारी बोकेको व्यक्तिले अलिअलि गर्दै आफ्नो भारी घटाए जस्तो। साँचो प्रेमको खोजका क्रममा आफूलाई प्राप्त स्पष्टता र आनन्दबारे बेलिविस्तार लगाइरहेका बेला शान्तिका आँखा ताराझैँ चम्किरहेका थिए, गाला गुलाबी भएका थिए। मलाई लाग्यो… उनी जीवनको प्रकाशले अझ बढी उज्यालिएकी छिन्। कुराको बिट मार्दै उनले मसँग स्वीकार गरिन्, ‘सर, म केबाट गुज्रिएर आएँ भन्ने कुरा सुनाउने मेरो अर्को कोही थिएन/छैन। त्यसैले तपाईंसँग भेटघाट भएकोमा, चिनजान भएकोमा म जीवनप्रति सधैँ आभारी रहनेछु।’

म पनि शान्तिसमक्ष खुलेँ। स्विकार भावमा भनेँ, ‘श्रीमतीसँग सम्बन्धबिच्छेद हुँदाका कठिन क्षणहरूबारे कुरा गर्न मलाई तिम्रो कारणले धेरै मद्दत पुगेको छ। आफूलाई केवल सुनिदिने, पूर्वाग्रहबाट मुक्त, सल्लाह दिन नहतारिने, अहंले नभरिएको, केवल सुनेर महसुस गरिदिने साथी हुनु कति महत्वपूर्ण रहेछ भन्ने कुरा मैले तिमीबाट बुझेँ।’

उनले मतिर हेरेर नजानिँदो गरी आँखा झिम्क्याइन्, बसे ठाउँबाट उठिन्, मेरो हात समाइन् र हल्का बल लगाएर मलाई तानिन्। म पनि उठेँ र उनले तानेतिर पछ्याउन थालेँ। हिँड्दै गर्दा म केही भन्न खोज्दै थिएँ, तर उनले चोर औँलो ओठमा राखेर चुप लाग्ने संकेत गरिन्। हामी मौनतामै जंगलतिर हिँडिरह्यौँ। केहीबेर हिँडेपछि कुनै बुट्यान नभएको खाली ठाउँमा पुग्यौँ। उनी भुईंमा बसिन्, पत्करलाई विस्तारा बनाएर आकाशतिर हेर्दै पल्टिइन्। हातले इशारा गरेर मलाई पनि उनका छेउमा त्यसैगरी पल्टिन भनिन्। फेरि मेरो हात समाइन् र भनिन्, ‘आँखा चिम्लिनुस् र आफू यहाँ छु भन्ने नबिर्सिउञ्जेलसम्म कानमा ठोक्किन आइपुग्ने आवाजहरू सुनिरहनुहोस्।’

म उत्तानो परेर आकाशतिर फर्किएको छु। ज्यान भुईंमा बिसाएको छु। आँखा बन्द छन्। कान खुला छन्, शान्तिले सुनिरहनु जो भनेकी छिन्। शुरूमा मैले उन्मुक्त चराका आवाज सुनेँ। ती आवाज मेरा कानका लागि संगीतजस्तै प्रतीत भए। चराका आवाज अझ सशक्त भएर गुञ्जिरहँदा म त्यस स्थानसँग, मभित्रको मौनतासँग एकाकार हुँदै गएँ। अनि थरिथरिका किराका गुलजार कंपन र स्वरहरू सुन्न थालेँ। नजिकैको दहमा कराइरहेका भ्यागुत्ताका ट्वारट्वार, हावाले यताउता सारिरहेका सुकेका पातको सर्‍याकसुरूक सुन्न थालेँ।

ती सबै आवाज मलाई मबाटै उत्पन्न भए झैँ लाग्यो। मैले आफूभित्र आनन्दको उदय हुन थालेको महसुस गरेँ। आफ्नो शरीर भावातित भएको अनुभूति हुन थाल्यो। अनि विस्तारै मैले जीवनसँग यसअघि कहिल्यै महसुस नभएको नजिकपन महसुस गरेँ। म बाहिरका र भित्रका हरेक कुरासँग एकाकार हुँदै गएको महसुस गरेँ। यो सबै त्यस्तो अनुभूति थियो जसलाई शब्दमा बुझाउन सकिँदैनथ्यो। तर त्यो वास्तविक थियो, प्रामाणिक थियो, अद्भुत थियो!

भरे कतिबेर पछि हो, शान्तिले मेरो हातमा हलुका दवाव नदिँदासम्म म समय र स्थानको होस् गुमाएर पल्टिरहेको थिएँ। उनको हातको न्यानो स्पर्शसँगै मैले मेरो टाउको उनीतिर फर्काएँ। उनी मलाई नै हेरिरहेकी थिइन्। त्यस क्षण अर्को एकपटक हाम्रा प्रसन्न मुस्कानहरूको सुमधुर भेट भयो।

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

 ५ एक अविस्मरणीय सिकाइ

६ भोलापनको दुनियाँ

७ लालसाका दास

८ आमोद प्रमोद

९ गाउँको माहोल

१० घरफिर्ती

११ नमिठो वापसी

१२ आश्रय

१३ पूर्वबाट पश्चिम

१४ अर्को संसार

५ हडबडी

१६ प्रेमयात्रा

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *