एउटा आश्चर्य

शान्तिलाई चिट्ठी पठाएको दुई महिना पुग्दै गर्दा उनको जवाफी पत्र आइपुग्यो। मलाई अचम्म र आनन्द दुवै लाग्यो। हातले लेखेको चिट्ठी नपाएको, नपढेको वर्षौँ भैसकेको थियो। मनमष्तिस्कका कुरा कापी र कलमका माध्यमबाट कसैसमक्ष व्यक्त गर्न समय छुट्याउनु कति मूल्यवान हुन सक्छ भन्ने नै बिर्सिसकेको रहेछु।

प्रथम उपहार थापिरहेको बालक झैँ भावना र खुशीले भरिँदै मैले दुवै हातले चिट्ठी समाएँ। खाममा टाँसिएका टिकट नियालेँ, वरिपरि छापिएका नीला र राता सादा बुट्टा हेरेँ, चिट्ठी सम्बन्धित व्यक्तिले प्राप्त गर्न नसके फिर्ता पठाउनु पर्ने ठेगाना पढेँ। अनि मोटाइ नापे झैँ औँलाले खाम च्यापेँ र भित्र कति पाना चिट्ठी होलान् अनुमान लगाएँ। धेरैथोक गरेँ, तर झमक्क साँझ नपरूञ्जेल चिट्ठी खोलिनँ।

साँझ छिप्पिएपछि सबै कोठाका बत्ति निभाएँ। अनि बैठककोठामा मैनबत्ती सल्काएँ। त्यो धिपधिपे उज्यालोले मलाई नेपालका मेरा शुरूवाती वर्षहरू स्मरण गरायो। सम्झेँ… त्यतिबेलासम्म हस्तलिखित चिट्ठीको चलन जीवितै थियो। आज यत्तिका वर्षपछि शान्तिबाट त्यस्तै चिट्ठी आएको छ। थप धैर्य गर्ने मन भएन, जतनले चिट्ठी खोलेँ र पढ्न थालेँ।

‘प्यारो सर, नमस्कार। तपाईंलाई कस्तो छ? बुवाआमा र बहिनीहरूको खबर के छ? सबै आरामै हुनुहोला भन्ने विश्वास राखेकी छु। महिनादिन अघि तपाईंको पत्र पाएँ। तत्काल उत्तर पठाउन चाहन्थेँ, तर कामको धपेडीले फुर्सद निकाल्न सकिन। आज बहिनीहरू जंगलतिर घुम्न जानुभयो। रूघामर्गीले गर्दा म घरै बसेँ। बस्दाबस्दै सोचेँ… यही मौकामा सरलाई पत्र लेख्नुपर्‍यो।

हामी सबै ठिकै छौँ। बहिनीहरूले तपाईंलाई सम्झिरहनुहुन्छ, न्यास्रो मान्नुहुन्छ। अघिल्लो हप्ता हामीले तल्लो खेतमा मल ओसार्‍यौँ। अनि माटो हिल्याएर धान रोप्यौँ। निहुरिएर घण्टौँ काम गर्दा सबैजना कम्मर दुखेर भुतुक्क भएका थियौँ। तर हिलो खेल्न पाएर भक्कु रमाइलो पनि भयो। खेल्दाखेल्दै जीउ र अनुहार हिलोले ढाकिएर भूतजस्ता भएका थियौँ। बहिनीहरूले खुब रमाइलो गर्नुभयो। भूकम्पपछि यतिविधि रमाइलो गरेको यसैपालि हो।

तपाईंको पत्र पाँच पटक दोहोर्‍याइसकेँ। तपाईंको न्यास्रो लाग्दा प्रायः बेलुका ओछ्यानमा पल्टिएर पढ्ने गरेकी छु। मलाई तपाईंसँगका बातचितको, नजिकपनको, सहभागिताको अभाव महसुस भइरहन्छ। यहाँ अरू कसैसँग तपाईंसँग जस्तो खुलेर बोल्न सक्दिन। त्यसैले पनि तपाईंको पत्र पटकपटक पढ्छु। पत्र समाउँदा तपाईंकै हत्केलामा समाए झैँ लाग्छ, सँगै भए झैँ लाग्छ।

अघिल्लो महिना म घर गएकी थिएँ। दुई दिन बसेर फर्किएँ। बुवाआमा र भाइबहिनीसँग भेट नभएको छ महिना भैसकेको थियो। सविन खाइलाग्दो हुनुभएछ, पढाइ राम्रै रहेछ। माया र बसन्ती दुई कक्षामा हुनुहुन्छ। तर कक्षामा सबभन्दा छिप्पिएका देखिने भएकाले स्कूल जान आफ्ठ्यारो मान्नुहुँदोरहेछ। मैले भनिदिएकी छु… पछि जागिर खान स्कूलकै प्रमाणपत्र चाहिन्छ, पढ्न नछोड्नु। तपाईंले सुझाव दिए झैँ, सिलाइकटाई र कपाल सिंगार्ने तालिम लिन पनि तिनै प्रमाणपत्र चाहिन्छन् पनि भनेकी छु। प्रेरित हुनुभएको छ। गुरूआमाले भन्नु भएको यसपाली मेहनत पुग्यो भने अर्को साल चार कक्षामा उकाल्ने रे। बुवाआमालाई अलिकति खर्चपानी दिएर आएँ। सबैले तपाईंलाई नमस्कार सुनाइदिनु भन्नुभएको छ।

सर, तपाईंको पत्र पढेपछि मलाई धेरै दु:ख लाग्यो। आँशु थाम्न सकिँन, बगिरहेँ। म तपाईंसँग नजिक हुन चाहन्छु। अनुमति दिनुहुन्छ भने तपाईंलाई दुईचार थप्पड लगाउन चाहन्छु, हल्लाउन चाहन्छु, जगाउन चाहन्छु र त्यही दिशातिर धकेलिपठाउन चाहान्छु जुन दिशातिर जाँदा तपाईं प्रशन्नतापूर्वक बाँच्न सक्नुहुन्छ। म तपाईंका ओठ समाएर कानसम्म तन्काइदिन चाहन्छु, ता कि तपाईंको अनुहारमा मुस्कान देखियोस् र कदापि नहराओस्। तपाईं नेपालमा माया पाएको महसुस गर्नुहुन्न रहेछ, मबाहेक अरूसँग आफ्ना कुरा साझा गर्न नपाउनुहुँदोरहेछ भन्ने थाहा पाउँदा म विक्षिप्त भएँ। नेपालमा हुँदा तपाईं कहिलेकाहीँ झोक्राउनु भएको देखेको हो। त्यसबेला बहिनीहरूले हामीलाई सरलाई के भएको भनि सोध्नुहुन्थ्यो। हामी प्रायः एउटै उत्तर दिन्थ्यौँ… कामको तनाव होला, अथवा श्रीमतीसँग केही पर्‍यो होला। तर तपाईं पत्रमा भनेजति नाजुक अवस्थामा हुनुहुन्छ भन्ने मैले सोचेको थिइँन।

पत्र पढिसकेपछि, तपाईं यहाँ अगाडि नभए पनि, तपाईंको जीवनमाथि जबरजस्ती शासन गर्ने त्यो गहिरो असन्तुष्टि म देख्न सक्छु। तपाईं त्यसरी झोक्राउनुको कारण बुझ्न सक्छु। मलाई लाग्छ कहिलेकाहीँ तपाईं एक गिलास पानीमा डुब्नु हुन्छ, अति धेरै सोच्नुहुन्छ र वरपरको जीवनबाट आनन्दित हुन भुल्नुहुन्छ। त्यो हेर्दा, देख्दा लाग्छ तपाईं कहिल्यै प्राप्त नहुने कुनै कुराको अपेक्षा र आशक्तिमा बाँचिरहनुभएको छ।

खासमा तपाईं के चाहनुहुन्छ तपाईंलाई थाहा छ? कहिलेकाहीँ कुराहरूमा अतिचार शंका गर्नु हुन्छ। त्यस्ता बेला यति कमजोर देखिनुहुन्छ कि त्यो देखेर मलाई थामिनसक्नु पीडा हुन्छ। किनकी म तपाईंलाई माया गर्छु, अगाध श्रद्धा गर्छु। यति खुला र सहज तरिकाले तपाईंसमक्ष पोखिन दिएका कारण मात्रै त्यो माया र श्रद्धा झाँगिएको होइन। तपाईंले म, मेरो परिवार र नेपालका अरू धेरैलाई गर्नुभएको असीमित र नि:स्वार्थ सहयोगका कारण पनि यो अगाध प्रेम बसेको हो। तर यदि तपाईं खुसी हुनुहुन्न भने हामीलाई पनि खुशी हुन गाह्रो हुन्छ। किनभने हाम्रो संस्कृतिमा तपाईंजस्तो अरूलाई त्यति धेरै दिन सक्ने मान्छे खुसी हुनै पर्छ। हामीले तपाईंलाई खुसी बनाउनै पर्छ। यदि तपाईं खुसी हुनुहुन्न भने त्यसको जिम्मा हामीले लिनुपर्छ। त्यसले हामीलाई असर गर्छ र हामीले त्यो असरको पनि जिम्मा लिनुपर्ने हुन्छ।

तपाईंले गरिरहनुभएका कामप्रति हाम्रो असीम आदर छ। हामी तपाईंको गूणगान गाएर थाक्दैनौँ। शान्तघरका सबैजना तपाईंलाई पिताका रूपमा प्रेम गर्छौँ। तर त्यो प्रेम महसुस भइरहेको छैन भन्ने कुरा तपाईंको पत्रले बताइरहेको छ। पत्र पढ्दा लाग्छ कि तपाईं कहिल्यै प्राप्त नहुने केही कुराको तृष्णा मेटाउन भुर्नहत्ते गरिरहनुभएको छ, अथवा त्यो तृष्णा मेटाइदिने सबै सम्भावनाहरूलाई हमेसा उपेक्षा गरिरहनुहुन्छ, अथवा त्यो तपाईंले प्राप्त गर्न खोजेको कुरा अस्तित्वमै छैन। त्यस्तो निर्लिप्त खोजले तपाईंका सम्बन्धहरू धमिलिन सक्छन् भन्ने कुरा तपाईंले कहिल्यै विचार गर्नुभएको छ?

अघि नै भनेँ, शान्तघरका सबै नानीहरूले तपाईंलाई पिता मान्नुहुन्छ। तपाईंसँग नजिक हुँदा, खेल्दा, कुराकानी गर्दा वहाँहरू खुसी र उत्साहले भरिनुहुन्छ। तपाईंको त्यो विशिष्ट खुबीले वहाँहरूलाई धेरै कुरा देख्न, बुझ्न मद्दत पुर्‍याएको छ। वहाँहरूलाई तपाईंले जस्तो माया अरू कसले गर्छ? त्यो माया एकतर्फी पनि छैन, दोहोरै छ। हामी सबै सेविकाहरू पनि त्यस्तै महसुस गर्छौँ। आखिर हामी पनि यी बहिनीहरूभन्दा केही वर्ष ठूला मात्रै त हौँ नि। तपाईंले हामीलाई जीवनबारे, शान्तघरको व्यावस्थापनबारे कति धेरै कुरा सिकाउनु भएको छ। तथापि, तपाईं कहिलेकाहीँ भयंकर एक्लो महसुस गर्नुहुँदोरहेछ भन्ने थाहा पाएर मलाई अचम्म र निराश लागेको छ।

तपाईंलाई शान्तघर बाहिरका मानिसले हामीले जस्तो धेरै र चोखो माया गर्नुहुन्छ जस्तो मलाई लाग्दैन। त्यो स्वभाविक पनि हो। घरबाहिर परिवारको जस्तो माया पाउन कठिन छ; असम्भव होइन, तर चलनमा छैन। तैपनि वहाँहरूले तपाईंको प्रशंसै गर्नुहुन्छ। कतिले देवत्वकरण समेत गर्नुहुन्छ। आवश्यक परेका बेला यहाँका कर्मचारीले तपाईंका लागि ज्यान दिनेछन् भन्ने कुरामा पनि तपाईं ढुक्क हुनुभए हुन्छ। तपाईंलाई माया गर्ने, धन्यवाद दिने वहाँहरूको तरिका यही हो। सम्भवत: यो तरिका तपाईंले चाहेजस्तो होइन होला, अथवा तपाईंको देशमा प्रयोग हुने जस्तो होइन होला। तपाईंको संसार पनि देखेकी हुनाले म यसो भन्न सक्छु।

तपाईको स्पेनमा मानिसहरू चुम्बन गरेर, अँकमाल गरेर र प्रशंसा व्यक्त गरेर स्नेह जताउँछन्। हाम्रो संस्कार फरक छ। हामी सम्मानपूर्ण व्यवहार गरेर, सम्भव भएसम्म मिठो खुवाएर, बस्न सबभन्दा सजिलो र सफा आसन दिएर, बुताले भ्याएसम्मका सबै कुरा दिएर स्नेह प्रकट गर्छौँ, आदर व्यक्त गर्छौँ। त्यसरी दिँदादिँदै कहिले त आफ्ना लागि राख्न समेत बिर्सिन्छौँ। तपाईंलाई थाहै छ हामी कस्ता छौँ। हामी यो भन्दा बढ्ता दिन सक्दैनौँ भन्ने पनि तपाईंलाई थाहा छ। खासमा अरू बढी कसरी दिने भन्ने हामीलाई थाहा छैन। अनि यो सबै जान्दाजान्दै तपाईं एक्लो महसुस गर्नुहुँदोरहेछ। किन?

तपाईंले इङ्गित गरेको त्यो निर्जन एक्लोपन कहाँ छ? तपाईंको शरीरको कुन भागमा छ? त्यो कस्तो छ? कुन रङ्गको छ? तपाईंले यी सबै प्रश्नको उत्तर थाहा पाउनुपर्छ र त्यसका लागि आफैँसँग भएको औषधि प्रयोग गर्नुपर्छ। आफूलाई अवलोकन गर्ने, आफ्ना संवेगहरूमा, अनुभूतिहरूमा र आफूभित्र चलायमान कुराहरूमा ध्यान लगाउनु पर्छ। त्यसो गर्न अहिले नै थालिहाल्नु पर्छ, पटक्कै ढिला गर्नु हुँदैन। किनभने यो तपाईंको जीवन हो र संसारमा तपाईंको आफ्नो भन्नु यही शरीर हो। तपाईंको जीवन भनेको सधैँ यो पल हो, अहिले हो। न यो पलभन्दा अघि हो, न त पछि।

सर, बाँच्नु भनेको आज हो। अहिले हो। यदि तपाईं अहिलेप्रति, इन्द्रियहरूप्रति, होसप्रति, विचारहरूप्रति, तनावहरूप्रति, खुशीहरूप्रति सजग रहनुभएन भने र यिनीहरूलाई आफैँले निर्देशन गरेको चलचित्र हेरे झैँ अवलोकन गर्न सक्नुभएन भने जीवनलाई दिमागले निर्देशित गर्नेछ। तपाईंको जीवनका निर्देशक सारतत्व, प्रेम, प्रज्ञा हुने छैन; मष्तिस्क र सोच हुनेछन्। यिनले जीवनसँग सुरताल नमिलाई विवेकहीन तरिकाले प्रतिक्रिया गरिरहनेछन्। तिनले त्यसै गर्नेछन् जसो गर्दा तपाईंको पुलपुलिएको, घाइते, त्रसित र अतृप्त अहंले सहज र तृप्त महसुस गर्छ।

तपाईंले आफ्नो औषधि तुरून्त उपयोग गर्न थाल्नुपर्छ। त्यो औषधि त्यही हो जुन तपाईंले हामीलाई खुवाइआउनु भएको छ। दैनिक काम गर्दा अभ्यासमा उतार्न लगाउनु भएको छ। शरीरमा उत्पन्न संवेगहरूमा सजग ध्यान दिइराख्नु, दिमागलाई शान्त पार्नु, आफूभित्रको प्रज्ञालाई अंकुरण हुन दिनु, त्यसलाई महसुस गर्नु, बेफ्वाँकमा नसोच्नु भनेर हरेक दिन स्मरण गराइरहनु भएको छ। यो शरीर विलुप्त भएर केवल मौनता, शान्ति र जीवनको विशालता मात्र बाँकी रहुञ्जेल सजग र सचेत ध्यान गरिरहनु भनेर झक्झक्याइरहनु भएको छ।

सर, मेरा शब्द कठोर लागे माफ गर्नुहोला। हामीबीच माया बाहेक अर्थोक केही छैन भन्ने कुरा तपाईंलाई थाहै छ। यो पत्रमा व्यक्त शब्द त्यही मायाका प्रतिरूप हुन्। यी मभित्रबाट स्व:स्फूर्त बगेका हुन्। म तिनलाई दबाउने, लुकाउने पक्षमा छैन। किनभने मलाई लाग्छ तपाईंले यस्ता शब्द सकेसम्म धेरै सुन्नु आवश्यक छ।

पत्रमा के लेख्ने भनेर मैले धेरै सोचेँ। र आज निर्णयमा पुगेँ… आफूलाई स्वभाविक बग्न दिनेछु, तपाईं मेरै सामुन्ने भएको ठानेर बस्दा जे आउँछ त्यही कुरा कागजमा उतार्नेछु। यतिबेला मैले तपाईंलाई दिनसक्ने कुरा यिनै शब्द मात्रै हुन् भन्ने कुरा तपाईंलाई थाहा भएको ठानेर म यो निर्णयमा पुगेकी हुँ। त्यसैले यसै पत्रमार्फत् कामना गर्छु… तपाईंलाई आरोग्य प्राप्त होस्, मुस्कुराउनुहोस्, जीवन आनन्दमय बनिरहोस् र अब उप्रान्त एकै क्षण पनि बाँच्नुको आनन्द हराएर नजाओस्।

मलाई थाहा छ… श्रीमतीसँगको बिछोड तपाईंका लागि एउटा नमिठो झड्का थियो, कामना गरेअनुसारको सहयात्री पाउन नसक्नुको झड्का। अहिले आएर आफूलाई एक्लो देखिरहनुभएको छ र त्यो एक्लोपनले तपाईंको मानसिक कुपोषणलाई, आवश्यकतालाई, भयलाई, जीवनमा शान्ति र खुसी प्राप्त गर्न नसक्नुको कठिनाइलाई छताछुल्ल पारिदिएको छ। खुसी आफूभित्रै प्राप्त गर्नुपर्छ भन्ने तपाईंलाई राम्ररी थाहा छ। आफूले निको पार्न नसकेका मनका घाउलाई अरू कसैले मल्हमपट्टी गरिदेला भनि पर्खिबस्न सकिँदैन भन्ने पनि थाहा छ। तपाईंले यी कुरा अरूसँग बात मारेको मैले सुनेकी छु। तर अहिले तपाईंलाई आफ्ना लागि यी कुरा स्वीकार गर्न कति गाह्रो परेको? पीडाप्रति, क्षमाप्रति र आफूभित्रको त्यो विराट प्रज्ञाप्रतिको सजगतालाई अभ्यासमा उतार्न कति गाह्रो भएको?

तपाईंकी श्रीमती हँसिली र अबोध हुनुहुन्थ्यो, तपाईंलाई खुशी राख्न प्रयत्न गरिरहनुहुन्थ्यो। तर पनि वहाँले तपाईंका अपेक्षा किन पुरा गर्न सक्नुभएन होला भन्नेबारे हामी सेविकाहरू कुरा गरिराख्छौँ। एकपटक तपाईंले मसँग भन्नु पनि भएको थियो, ‘शान्ति, मलाई उनको लायक छु जस्तो लाग्दैन, उनको उचाइमा पुग्छु जस्तो लाग्दैन। प्रायः म उनीसामु मेरा विगतका कमी र असन्तुष्टिका पोका फुकाइबस्छु। तर त्यो उनको सरलतासँग विरोधाभाषपूर्ण लाग्छ। उनको सरलता कस्तो छ भने उनी मबाट न्यानो अँगालो र उनी विशेष भएको महसुस गराउने व्यवहार बाहेक अरू केही अपेक्षा राख्दिनन्।’

सर, म फेरि सोध्न चाहन्छु… खासमा तपाईंले खोजिरहेको कुरा के हो? केको अतृप्तीले भड्किरहनु भएको छ? यदि यसको उत्तर पत्ता लगाउन सक्नुभयो भने, आफूभित्रको गहिरो गूफाभित्र छिर्न सक्नुभयो भने, खुसी महसुस गर्न आफूभित्र के कमी छ त्यो थाहा पाउनु भयो भने, अथवा खुसी हुन केले रोकिरहेको छ पहिचान गर्नुभयो भने धेरै राम्रो हुनेछ। यी काम गर्न आफ्ना लागि समय छुट्याउनुहोस्। अनि मात्र तपाईं बारम्बार टालटुल गर्नु नपर्ने स्वस्थ्य सम्बन्धहरू बुन्न सफल हुनुहुनेछ। टालटुल गरिराख्नुपर्ने सम्बन्धहरूले त तपाईंलाई भावनात्मक रूपमा टाट पल्टाउँछन् मात्र। तर आफूभित्रको शान्तिसम्म पुग्न सफल हुनुभयो भने तपाईं आफूले खोजेजस्तो खुसीले भरिनुहुनेछ, आफूले चाहेजस्तो आनन्दमा डुब्नुहुनेछ। त्यस्तो खुसी र आनन्द संसारमा केही मानिसले मात्र अनुभव गर्न पाउँछन्। र त्यो तपाईंबाट केवल एक कदम पर्तिर छ। त्यसैले पाइला चाल्नुहोस्, जमेर नबस्नुहोस्।

बढ्दो उमेर र गिर्दो स्थितिका कारण तपाईंलाई उथलपुथल महसुस भएको होला। तर मलाई थाहा छ, यो जीवनको एउटा क्षण मात्र हो। म कामना गर्छु… उप्रान्त तपाईंलाई दु:खी देख्नु नपरोस्। तपाईं यसको लायक हुनुहुन्न; कोही पनि छैन। तपाईंलाई यस्तो अवस्थाबाट बाहिर निकाल्न सक्ने भए म जे पनि गर्ने थिएँ। तर तपाईंलाई निको पार्न सक्ने तपाईं मात्रै हो। त्यसका लागि तपाईं आफैँ ब्युँझिनु पर्छ, विगतलाई भुल्नु पर्छ, हृदयको नजिक जानु पर्छ, सबभन्दा गहिराइको स्व:भित्र छिर्नु पर्छ, त्यसलाई अंगालो हाल्नु पर्छ र मुस्कुराउनु पर्छ। आफूभित्रको बच्चालाई, युवालाई, रिसलाई, शंकालाई, भयलाई अँगालो हाल्नु पर्छ र ती सँग तबसम्म एकाकार भइरहनु पर्छ जबसम्म तपाईंका सबै स्मृति मेटिँदैनन् र तपाईंभित्र केही बाँकी रहँदैन। बाँकी रहन्छ त केवल तपाईंभित्र बास गर्ने त्यो स्वतन्त्र र अनन्त ब्रमाण्ड, अनि विश्राम लिन र शान्तिपूर्वक मृत्युवरण गर्नका निम्ति अत्यावश्यक पवित्र मौनता मात्र।

म तपाईंलाई फेरि नजिक पाउन, यो परिवारसँगै भएको हेर्न, साँझ ढलेपछि चौरमा सँगै पल्टिएर आकाश नियाल्न चाहन्छु। तपाईंले सिकाएजसरी ताराहरूबीचका खाली ठाउँमा हराउन चाहन्छु। जीवनसँग पुन: जोडिन चाहान्छु। अधिकांश मानिस दिमागी अनुमान, पूर्वानूमान, महत्वाकाँक्षा र दु:ख मात्र निम्त्याउने बेकारका चुनौतीमा भुलिएर आफूभित्रको अमूल्य खजाना थाहा पाउँदैनन्। म त्यो अमूल्य खजानासँग पुन: जोडिन चाहन्छु। तपाईंलाई सँगै लिएर त्यो खाली ठाउँमा, ब्रह्माण्डमा जान चाहन्छु। र यदि तपाईंले अनुमति दिनुभयो भने एक दिन तपाईंजस्तो पुरूषसँग सँगै हुन पनि चाहन्छु। त्यस्तो पुरूष जसका अगाडि मन नङ्ग्याउन सकियोस्।

तपाईंलाई के लाग्छ, म तपाईंलाई पाउन सकुँला? तर मलाई व्याकुल पार्ने कुरा यो होइन। चउरमा सँगै पल्टिएर आकाश हेर्न, त्यो खाली ठाउँमा सँगै विलिन हुन, त्यसको गहिराइमा पुग्न र परमानन्दलाई स्पर्श गरेर मुस्कुराउन सकिने तपाईंजस्तो अर्को कोही पाउन सकुँला कि नसकुँला भन्ने कुराले चाहिँ मलाई ब्याकुल पार्छ। यदि मैले तपाईंबाट एउटा मनोरथ पुरा गरिमाग्न पाउँछु भने त्यो मनोरथ यही हो। के तपाईं मेरो मनोरथ पुरा गरिदिन सक्नुहोला?

मेरो सुझाव छ… तपाईंले आफूसँग धेरै माग गर्नु हुँदैन, अरूलाई थोरै मात्र ‘आफू’ दिनुपर्छ र जीवनलाई पुन: सामना गर्न आफ्ना लागि पुग्दो समय छुट्याउनु पर्छ। वर्षौदेखि आफूलाई बिर्सिएर अरूलाई सहयोग गरिरहनुभएको छ, तपाईंका बारेमा चाहिँ कसले सोच्छ? तपाईं आफ्नै जीवनसँग नजिक हुनुहुन्न भने तपाईंका सारा प्रयत्नबाट के फलिफाप होला? यसको उत्तर खोज्ने, आफूलाई स्वस्थ बनाउने, उर्जाले भरिपूर्ण हुने र त्यो उर्जा हामीमा पुनर्उत्पन्न गर्ने समय यही होइन र? कि यो कुरा स्वीकार गर्न लाज लाग्छ? कि सम्भावित असफलता सम्हाल्न नसकुँला भनेर त्रसित हुनुहुन्छ?

यदि म गलत छु भने, चाहिनेभन्दा बढ्ता बोलेँ भने, अथवा आफूलाई सरोकार नभएका कुराभित्र छिरेर उछलकुद गरेँ भने मलाई एकपटक फेरि माफ दिनुहोला। यो प्रेमको विषय पर्‍यो र यसले मलाई तपाईंको होस फर्किने गरी हल्लाउने अनुमति दिएको छ, तपाईंमाथि हजारौँ प्रहार गर्ने अनुमति दिएको छ। कुनै न कुनै प्रहारको त प्रतिक्रिया जनाउनु होला र चाँडै तपाईं मुस्कुराएको देख्न पाउँला भन्ने बाहेक यी प्रहारको अर्को कुनै उद्देश्य छैन।’

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

 ५ एक अविस्मरणीय सिकाइ

६ भोलापनको दुनियाँ

७ लालसाका दास

८ आमोद प्रमोद

९ गाउँको माहोल

१० घरफिर्ती

११ नमिठो वापसी

१२ आश्रय

१३ पूर्वबाट पश्चिम

१४ अर्को संसार

५ हडबडी

१६ प्रेमयात्रा

१७ दुःख

१८ रसिला

१९ जीवनलाई स्वागतम्

२० धरती काप्यो

२१ नवीन घरफिर्ती

२२ स्वीकारोक्ति

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *