हृदयाभावलाई प्रतिविम्बित गर्ने ‘शब्द ब्रह्म’

मुक्तककार लक्ष्मी रायमाझीको ‘शब्द ब्रह्म’ मुक्तक संग्रह उहाँबाटै हात पर्यो । पढिसकेपछि यसबारे केही नलेख्दा कृतिमाथि अन्याय हुने ठानेर केही लेख्ने जमर्को गरें । अग्रजहरु बाबुराम पोख्रेल तथा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाका सचिव मदन भण्डारीले कृतिमाथि समीक्षा गर्नुभएको पाएँ । उहाँहरूको उत्कृष्ट समीक्षाले मेरो मन प्रफुल्लित भएको छ ।

कृतिलाई अध्ययन गर्दा हाम्रो पवित्र धार्मिक ग्रन्थ वेदबाट निसृत गरिएको ‘शब्द ब्रह्म’ शब्द हो भन्ने मेरो मनमा लागेको छ । ‘शब्द ब्रह्म’ शब्दको सामान्य तवरले अर्थ गर्नुपर्दा मेरो दृष्टिमा अक्षरहरूको सिङ्गो समूहले शब्द बनिन्छ ।

यस कृतिका आधारमा ‘ब्रह्म’ को वास्तविक अर्थ सम्पूर्ण अक्षर शब्द तथा वाक्यहरूको यथार्थ आत्मा हो, जसले ज्ञान, चेतना, विवेकको बोध गराउँछ । आध्यात्मिक दृष्टिले भन्नुपर्दा ‘ब्रह्म’ भनेको अदृश्य ईश्वरीय रूप तथा गुण हो भन्ने मलाई लाग्छ ।

यसलाई हाम्रो पवित्र धार्मिक ग्रन्थ यजुर्वेद संहिताको चालिसौँ अध्यायको सत्र र अठार ऋचाले प्रष्ट पार्दछन्–

‘हिरण्ययेन पात्रेण सत्यस्थापिहसतं मुखम् ।
यो सावादित्ये पुरूष सोसावहम् ।।१७।।

वास्तवमा यसको अर्थ सुनको चम्किलो पात्र जस्तै भएर सत्यको मुखरूपी स्वरूप सधैं छोपिएको हुन्छ । त्यस आवरणलाई हटाएपछि त्यो आदित्यका रूपमा रहेको पुरूष मै हुँ भनेर थाहा पाइन्छ । त्यसैगरी ॐखं ब्रहम अर्थात् यसको अर्थ ॐ अक्षर आकाशभरि ब्रहमका रूपमा सर्वत्र व्याप्त भएर रहेको छ । यसबाट ‘ब्रह्म’ शब्दले त्यो चेतनशील अलौकिक मार्मिक ईश्वरीय गुण तत्व सर्वत्र व्यापक बनेर रहेको छ । यसको अन्त्य कहिल्यै पनि हुँदैन, नासवान छैन भन्ने बोध हुन्छ ।

त्यसैगरी ‘शब्द ब्रहम’ शीर्षक बौद्धिक तवरले पनि सिंगारिएको छ । जीवन र जगतलाई परिचित गराउने विधा नै साहित्य हो । मुक्तक भनेको संस्कृत साहित्यबाट सिर्जित हृदयाभावलाई प्रतिविम्बित गर्ने पद्यात्मक विधा हो । मुक्तक चतुस्पदीय चोटिलो रचना हो, जसले मानव हृदय तथा मस्तिष्कलाई सुमार्गमा अघि बढ्न प्रेरणा दिन्छ ।

यसले ईश्वरीय सत् चित् आनन्दको अर्थसँग तादात्म्य राखेको छ भन्ने मलाई अनुभूत भएको छ । मुक्तकको विभिन्न ठाउँमा फरकफरक तौरतरिकाबाट संरचना हुने गरेको भएपनि अनुप्रासयुक्त चतुस्पदीय हरफलाई मुक्तक मानिन्छ ।

मुक्तककार रायमाझीले यो कृतिमा प्रत्येक मानव जीवनको अन्तर हृदयमा अदृश्य तवरले बास गर्ने सच्चा प्रेमलाई ‘ब्रह्म’ को संज्ञा दिनुभएको अनुभूत हुन्छ । सर्ग २ लाई हेरौं–

‘शब्द–शब्द लेखिएर अटल अविनाशी ब्रहम हुन्छ
शब्द कानमा ठोकिन्छ ध्वनि बन्छ जगतले सुन्छ
क्रमबद्ध अव्यक्त भावहरू स्खलित हुन्छ मनभरि
शान्तमय मनमा समाधिस्थ एकाग्रताको जून छ ।’

यस्तै, सर्ग ४

‘ब्रहमाण्डको चैतन्य हो, मनुष्य चोला
बनाउन सके धन्य हो, मनुष्य चोला
दुरुपयोगमा सर्वाेत्कृष्ट हुँदैन बुझ्नु
मात्र पशुभन्दा अन्य हो, मनुष्य चोला ।

समाजमा व्याप्त विकृति र विसंगति नै मुक्तककारका सिर्जनाका कारण देखिन्छन् । साहित्यप्रति प्रगाढ अनुराग राख्नु नै उहाँको स्वभाव हो । भावलाई सुसज्जित रुपमा समाहित गर्नु नै सर्जकको विशेषता हो । साहित्य र संस्कृतिको विकासबाटै सुसंस्कृत तथा सभ्य समाजको निर्माण हुन्छ । सभ्यताले सुन्दर गति लिन्छ भन्ने भावना र विचारबाटै अभिप्रेरित रहेर साहित्यिक मुक्तक मार्ग प्रशस्त पार्नु नै उहाँको ध्येय हो । मुक्तकको सर्ग ३१ ले यसरी प्रष्ट पार्दछ–

‘मान्छे मान्छेमा हराएको हार्दिकता र सद्भाव खोज्दैछु
जीवन र जगतको प्रणय कसरी कस्ने कसैसँग सोध्दैछु
बाँधिनुको साटो, फुस्किन्छ किन आत्मीयताको गाँठो
प्रकृतिको शाश्वत नियम कस्तो होला मनमनै सोच्दैछु ।’

त्यसैक्रमले सर्ग १०९ लाई हेरौं–

‘न दिव्यता देखिन्छ आवरण भित्र
न कोरिन्छ बाहिर आचरण सचित्र
पहिल्याउन आचरण आवरणभित्रको
बरू दिव्यज्ञान चाहिन्छ एक पवित्र ।’

‘शब्द ब्रह्म’ मुक्तक सङ्ग्रहभित्र चतुस्पदीय श्लोक भएका जम्मा २५२ वटा सर्ग रहेछन् । यो कृतिलाई समग्र रूपमा भन्नुपर्दा आन्तरिक चेतना वा अनुभूति समसामयिकताका सतहमा पोखिएर रहेको पाइन्छ । यसमा देशको कारूणिक जर्जर अवस्था, अराजकता, हिंसा, सत्ता मोहमा केन्द्रित विखण्डनवादीहरू देखेर मुक्तककारको हृदय द्रवीभूत भएको यथार्थलाई यो कृतिमा अनुभूत गर्न सकिन्छ ।

कृतिमा मर्मस्पर्शी भाव सर्ग १०२ मा पनि झल्किन्छ–

‘मुस्कुराउन सिकौं आफ्नो प्रिय स्निग्ध धरामा
सद्भाव फुलाऔं समताको स्वतन्त्र गरामा
छलछाम जति हटाएर, सबैमा स्नेह बढाएर
संस्कार बचाऔं छलकपटरहित परम्परामा ।’

त्यसैगरी सर्ग १३० मा रहेको मार्मिक भाव–

‘सक्छौ आफ्नै धरातलमा उभिएर हेर
झुक्न सके आवरणभन्दा निहुरेर हेर
मोतीको सम्भावना छ त्यो गहिराइमा
टिप्नु छ भने धैर्यताको समुद्रमा डुबेर हेर ।’

१३५ को मार्मिक सर्ग–

‘आसलाग्दो रहरहरूमा कहर मिसिएपछि
बाध्यताको जातोमा उमङ्ग पिसिएपछि
कुन भरोसाको आडमा म उभिउँ भनिदेऊ
स्वार्थमा जकडिएर न्यानो विश्वास चिसिएपछि ।’

मुक्तककार विदुषी लक्ष्मी रायमाझीको ‘शब्द ब्रह्म’ कृति सुन्दर र उत्कृष्ट लागेको छ । कृतिले पाठकहरूको मनलाई प्रफुल्ल बनाई उचाई हासिल गर्न सकोस् । शुभकामना ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *