जीवनलाई स्वागतम्

हरेक साँझ ध्यानमा बस्नु अघि शान्ति र नानीहरू करिब एक घण्टा सँगै बस्थे। दिनभर कसकसको केके भयो सुन्थे, सुनाउँथे। साना नानीहरू प्राय: स्कुलका रमाइला घटना सुनाउँथे। ठूलाहरू केही नयाँ वा चाखलाग्दो कुरा भए त्यो सुनाउँथे। कहिलेकाहीँ शान्ति नानीहरूका दैनिक जीवनका सामान्य घटनाको सन्दर्भ लिएर उनीहरू भित्रका संवेगमाथि काम गर्थिन्।
नेपाली समाज र संस्कृतिमा सामान्यत: आफ्ना भावना मूर्त र खुलस्त रूपमा व्यक्त गर्ने चलन छैन। प्राय: मान्छे आफ्ना भावना दबाएर राख्छन्। ती दबिएका कुरा जम्मा हुँदै, सायद कुहिँदै गएर बिस्तारै आक्रोस अथवा द्वेषको रूप लिन्छन्। तर शान्तिले यहाँ एउटा फरक अभ्यासको गर्ने कोसिस गरिन्। नानीहरूलाई हिचकिचाहट वा शरम नमानी आफ्ना संवेगहरूसँग सहजतापूर्वक बाँच्न सिकाइन्। मुखले अर्तिउपदेश दिएर होइन आफैँ अभ्यास गरेर देखाइन्। नानीहरू आफ्ना संवेगप्रति पश्चाताप वा गुनासो नगरी कुराकानी गर्न सक्ने बन्दै गए। डर, त्रास, पीडा, दु:ख, रिस, लाज, डाहा, द्वेष र खुसीका गहिराइमा डुबुल्की मार्न सक्ने हुँदै गए। महसुस गर्न, कुरा गर्न सजिलो र विश्वासिलो वातावरण बनेपछि उनीहरूले हरेक संवेगबाट केही न केही सिक्न सहज मान्न थाले। संवेग कसरी देखा पर्यो? कस्तो परिस्थितिमा देखा पर्यो? त्यसबेला कसरी, कस्तो प्रतिक्रिया गरियो? दिमागमा कस्ता सोच आए? कस्ता संवेदना उत्पन्न भए? इत्यादि खोज्न र बुझ्न थाले।
उनीहरू आफ्ना सोच, विचार, क्रिया, प्रतिक्रिया र संवेगप्रति सजग र सचेत होउन्, आफू कसरी बाँच्न चाहन्छन् त्यो रोज्ने जिम्मेवारी आफैँ लिउन्… शान्तिले उनीहरूलाई यस्तो तरिकाले सिकाइन्। मायासहित कि घृणासँग बाँच्ने, आदरपूर्वक कि क्रूरतापूर्वक बाँच्ने, स्वतन्त्रतापूर्वक कि निषेधित तरिकाले बाँच्ने, दयालू भएर कि लालची भएर बाँच्ने, जिम्मेवारी लिएर कि आलस्य भएर बाँच्ने भन्ने कुरा रोज्ने क्षमता बनोस् र जिम्मेवारी लिन सक्ने हुन्… यो उद्देश्य राखेर सिकाइन्।
नानीहरू अरूबेला जस्तै साँझका छलफलमा पनि कुराकानी गर्दै, जीवनका नयाँनयाँ आयाम उजागर गर्दै शान्तिको नजिक हुन मन पराउँथे। कहिलेकाहीँ आफ्ना कमजोरी अथवा नकारात्मक अनुभूति स्वीकार गर्नुपर्दा भने उनीहरूलाई ऐनामा आफ्नो अनुहार हेर्न गाह्रो हुन्थ्यो। अनुहारमा दु:खी भाव पोतेर लाज मान्दै शिर निहुर्याउँथे, पसिना निस्किने गरी हात माडिबस्थे, कोही त रून्थे पनि। तर त्यो सबै सिकाइ प्रक्रियाकै अङ्ग थियो।
उनीहरूलाई त्यस्तो असजिलो क्षणबाट अघि बढ्न कसरी सहयोग गर्नुपर्छ? हरेक दिन थप स्नेही बन्न कसरी प्रेरित गर्नुपर्छ? चाँडै बिर्सिइजाने तितो स्थिति आइलागे सामना गर्ने अभ्यास कसरी गराउनुपर्छ? यी कुरा शान्तिलाई राम्रोसँग थाहा थियो। उनले उनीहरूलाई पश्चाताप अथवा अपराधबोधको छाँयाबाट मुक्त हुन पनि मद्दत गरिन्। सबभन्दा महत्त्वपूर्ण कुरा त क्षमा माग्ने, क्षमा गर्ने, विषयवस्तुमा केन्द्रित भएर कुरा गर्ने, परिवर्तन गर्न नसकिने कुरा स्वीकार गर्ने र सकिने कुरालाई सुधार गर्ने चाहना भरिदिइन्।
उनले मनोविज्ञान अथवा प्रशिक्षणकला पढेकी थिइनन्। उनी त केवल आफ्नो स्वभावमा अहंको उपस्थिति र हस्तक्षेप हुन नदिइ पूर्ण सजगताका साथ वर्तमानमा बाँच्ने प्राकृतिक उपहार लिएर जन्मेकी मनुवा थिइन्। उनमा अरूलाई खुसी पार्ने, अरूभन्दा उत्कृष्ट हुने, कसैको मन जित्ने, सफलता प्राप्त गर्ने, नाम कमाउने वा कसैको जरूरत बन्ने चाहना थिएन। मान्छे किन स्वार्थी व्यवहार गर्छ? किन कोही धनी र कोही गरिब छ? कसैलाई किन रूपरंगका आधारमा तौलिइन्छ? मान्छेले किन भौतिक कुराको संकलन र मालिक्याइँमा आफ्नो खुशी खोज्छ? मान्छे चीजवस्तुहरूप्रति किन यति धेरै आशक्त भएका? खुसी हुन किन यति गाह्रो? सानी छँदा उनलाई यी कुरा बुझ्न गाह्रो हुन्थ्यो।
नेपालमा धेरैजसोलाई उपलब्ध एकल विकल्प भनेको सकेसम्म चाँडै परिपक्वता हासिल गर्नु थियो, प्रौढ हुनु थियो। बच्चैदेखिका अनुभवले शान्ति पनि परिपक्व भइसकेकी थिइन्। तर उनको परिपक्वता शारीरिक वा भौतिक रूपमा जीवित रहनुमा सीमित थिएन। उनले बुझेकी थिइन्… आफूमा निहित जीवनप्रतिको निशर्त प्रेम नै संसारको सबैभन्दा ठूलो र मूल्यवान खजाना हो।
शान्तघर आएदेखि नै शान्तिले नानीहरूलाई नयाँ तरिकाले सहयोग गर्न सिर्जनात्मक उर्जा लगाइरहेकी थिइन्। उनको सहयोग आत्मनिर्भर बन्न सिकाउने र औपचारिक शिक्षा प्रदान गर्ने कुरामा सीमित थिएन। त्यो सहयोग मनमस्तिष्कका चुनौती र संवेगहरूको सामना गर्न सक्ने बनाउने देखि लिएर अहंहरूलाई ठेगान लगाउन जान्ने बनाउने र यो सबै गर्दैगर्दा जीवनप्रति मुस्कुराएर बाँच्न सक्ने बनाउनेसम्म फैलिएको थियो। यसरी निस्वार्थ र दयालु प्रकृतिकी शान्ति शुरूदेखि नै शान्तघरमा सबैका लागि एउटा आदर्श थिइन्।
समय बित्दै जाँदा नानीहरूको सिकाइका निम्ति प्रयोग गर्न सकिने थुप्रै उपाय निस्किँदै गए। शान्तघर शान्ति र खुसीले बास गरेको स्वर्ग झैँ बन्दै गयो। शान्तिले नानीहरूलाई बाटो देखाउने, असीमित प्रेमपूर्वक सम्झाइबुझाइ गर्ने, सँगै बसेर ध्यान गर्ने समयावधि बढाउँदै लगिन्। आखिर शान्तघरमा एउटा मातृ‘वात्सल्य चाहिएकै थियो। उनले अरू पनि थुप्रै क्रियाकलाप सञ्चालन गरिन् जसबाट उनीहरूले वातावरण, धरती र यीबाट प्राप्त उपहारहरूमा आश्रित भई बाँच्ने हाम्रा प्रयत्नहरूको प्रशंसा गर्न र तीप्रति कृतज्ञ हुन सिके।
हरेक साँझ सात बजे ध्यान गर्ने समय भएको जनाउ दिन घण्टी बज्छ। सबै नानीहरू र सेविकाहरू धीमा गतिमा हिँड्दै, प्रत्येक पाइलाप्रति सजग हुँदै, आफ्नो शरीरको भार र चाल महसुस गर्दै ध्यानकक्षतिर जान्छन्। ध्यानकक्षमा पुगेर सबैजना आआफ्नो उमेरअनुसार क्रम मिलाएर चकटीमा बस्छन्। सबभन्दा कम उमेरको सबभन्दा अगाडि, सबभन्दा बढी उमेरको सबभन्दा पछाडि। पहिल्यैदेखि ध्यान गरिआएका नानीहरूलाई श्वासप्रश्वासको सजग अवलोकन गर्ने तरिका स्मरण गराउनु परेका बेला अथवा नयाँ नानी आएका बेला बाहेक ध्यान बस्दा कसैलाई कुनै निर्देशन दिइँदैन। ध्यान गर्न पलेँटी कसेर बसिसकेपछि उनीहरू प्राय: आँखा चिम्लिन्छन्। अनि नाकको प्वालबाट हावा भित्र छिरेको, त्यो हावा भित्र छिर्दै जाँदा पेट हलुका फुलेको, भित्रको हावा नाकका प्वाल हुँदै बाहिर निस्किएकोमा सजग र सचेत रहने प्रयत्न गर्छन्।
ध्यान गर्ने तरिका स्मरण गराउने पालो शान्तिको परेका बेला उनी ‘नाकको प्वालबाट छिरिरहेको र निस्किरहेको हावा तातो छ कि चिसो त्यसमा पनि ध्यान पुर्याउनु होला’ भन्नेमा समेत जोड दिन्थिन्। उनी व्याख्या गर्थिन्, ‘मूल कुरा भनेको आफैँलाई अवलोकन गर्नु हो; आफ्नो शरीरमा, दिमागमा आउनेजाने विचारहरूमा र यस क्षणको वास्तविकतामा सजगतापुर्वक ध्यान पुर्याउनु हो।’
शान्तिका लागि हरेक क्षण यथाउपस्थित रहनु, आफूलाई महसुस र अवलोकन गर्नु स्वाभाविक र नैसर्गिक थियो। तर मेरा लागि भने पहिलो पटक दश दिने विपश्यना ध्यान शिविर सकेर निस्कँदा प्राप्त एउटा खोज थियो। मेरा लागि दैनिक जीवनमा त्यो स्तरको सजगता कायम राखिरहनु, इच्छा, आकाँक्षा, रिस, क्रोध, चिन्तालगायत जीवनका विविध परिस्थितिप्रति जनिने प्रतिक्रियाहरूमा जकडिएर बहकिनबाट आफूलाई जोगाउनु अझै चुनौतीकै विषय छ। मैले दैनिक जीवनका विभिन्न क्षणमा बहकिनुको दोष आफूलाई नलगाउने प्रयत्न गरेता पनि के चैँ स्वीकार गर्नैपर्छ भने मैले मेरो आवाज उँचो गरेसँगै, अथवा तुक न बेतुकको कुनै टिप्पणी गरेसँगै, अथवा तनावका बेला एक खिली चुरोट सल्काएसँगै मभित्रबाट एक प्रकारको धिक्कारको आवाज सधैँ आउने गर्थ्यो। अझै आउँछ।
म पूर्णात्माका साथ एउटा त्यस्तो आन्तरिक शान्ति प्राप्त गर्न लालायित थिएँ र छु जो कुनै होहल्लाप्रति प्रतिक्रिया गर्दैन, मानसिक अवसादमा फस्दैन। त्यस्तो निस्तब्धता, वैराग्य चाहन्थेँ र चाहन्छु जसले पीडित वा उत्तेजित नभई जीवनलाई यथारूपमा स्वीकार गर्छ, प्रत्येक संवेग क्षणभंगुर छ र सकारात्मक संवेगको लालच राख्नु वा नकारात्मक संवेगबाट भाग्नु अर्थहिन छ भन्नेमा सचेत रहन्छ।
त्यस्तै लालचका पछि कुद्दाकुद्दै धेरै वर्ष बिते। आफू जस्तो छु अथवा अरू जस्ता छन् त्यही रूपमा स्वीकार गर्न नसकी निरन्तर आफैँसँग भिडन्त गर्दै बिते। मुस्किलले आफ्नो जीवनअभ्यासमा उतार्न सकिने आध्यात्मिक आदर्शहरूसँग जुध्दै बिते। र अहिले आएर, उमेर बढेसँगै र थुप्रै पीडादायी अनुभवबाट गुज्रिएसँगै यो मेरो निरर्थक लडाईं पुरै उदाङ्गिएको छ। फलस्वरूप जीवनप्रति आत्मसमर्पण गर्न, जीवनलाई अंगाल्न, जीवनका हरेक क्षण र अनुभवलाई हात फैलाएर स्वीकार गर्न मलाई सजिलो भएको छ। मलाई लाग्छ त्यस्ता सबै अनुभव हामीलाई केही सिकाउन, समृद्ध बनाउन र आफूले खोजेको शान्ति भेट्टाइदिन आएका हुन्छन्।
कुनैकुनै बेलुका हामी सबै नानीहरूलाई आँगनमा बोलाउँथ्यौँ र हरियो दुबोमा उत्तानो पल्टिएर रातलाई नियाल्थ्यौँ। शुरूमा करिब पाँच मिनेट जति अँध्यारो आकाशमा चम्किरहेका कुराहरूमा घोत्लिन्थ्यौँ। त्यसपछि ती चम्किला कुराहरूबीचका खाली ठाउँमा ध्यान केन्द्रित गर्ने प्रयास गर्थ्यौँ। यस्तो अभ्यास मैले धेरै वर्ष पहिला एउटा जीवनमुखी शिविरमा अनुभव गरेको थिएँ, राम्रो लागेको थियो। दैनिक तालिकामा समेटिने भन्दा भिन्न खालको गतिविधि अनुभव गर्न शान्तिलाई पनि रमाइलै लाग्थ्यो।
नानीहरूले शुरूमा आकाश हेर्नुमा अनौठो माने। तर बानी पर्दै गएपछि रमाउन थाले। कतिपयले यदाकदा डराएको महसुस पनि गरे। फैलावटलाई, विराटतालाई, अन्तरिक्षलाई समग्रतामा अनुभव गर्न, स्वीकार गर्न, त्यसमा आफूलाई विलुप्त पार्न र जीवनको विशालता अनि सरलतासमक्ष आत्मसमर्पण गर्न कहाँ सजिलो छ र! कहिलेकाहीँ हामी स्वनिर्मित प्रतिरोधको सामना गर्छौँ, ब्रम्हाण्डको केन्द्र स्वयं बन्न चाहन्छौँ, सबैको ध्यानको धुरी बन्न चाहान्छौँ, विधाता बन्न चाहन्छौँ। हामीलाई जीवनमा चलिरहेको ढाँचा र ढर्राबाट बाहिर निस्कन, नचाहिने कुराहरू त्याग्न, अस्तित्त्वको सारमा नपुगुञ्जेल आफूलाई नाङ्गो छोड्न, अनाभूषित बाँच्न गाह्रो हुन्छ।
चम्किला रातमा आकाशमा देखिने अनगिन्ती तारा, तिनका आकारप्रकार र रूपरेखालाई सह्राहना गर्न सक्नुपर्थ्यो, तर तिनै कुराले नानीहरूको ध्यान बढी भंग हुन्थ्यो। किनभने खाली ठाउँ पहिचान गर्नु र त्यसको विशालतामा हराउनु कठिन थियो। पूर्णिमाका रातहरूमा भने विल्कुल भिन्न महसुस हुन्थ्यो। त्यो आफ्नो पूर्णतामा प्रकाशमय आकाशमण्डल नानीहरूको आँखाका लागि अत्यन्त सम्मोहनकारी हुन्थ्यो, ध्यान हटाउन नसकिने हुन्थ्यो। त्यस्ता बेला उनीहरू पारिवारिक भावनाले भरिएको स्वागतसत्कार पाए झैँ महसुस गर्थे, मानौँ चिसो हिउँदका बेला बालिएको आगोको न्यानोमा झकाइरहेका छन्।
तर जब हामी प्रकाशबाट ध्यान हटाएर वस्तुहरू (ताराहरू) बीचको खाली ठाउँमा सर्थ्यौँ तब शुरूमा अस्पष्टतामा अलमलिन्थ्यौँ, अन्धकारमा हराउँथ्यौँ, एकप्रकारले भयमा हराउँथ्यौँ; चिप्लेटीमा चढेर ओरालोतिर खुरमुरिएजस्तो। तर त्यो खुरमुरिएर झरेको गहिरोबाट जीवनको मोती टिपेर भरे नयाँ उचाइमा फर्किनु त थियो नै! कतिपय नानीहरू आफूलाई त्यस्तो खाली ठाउँमा हुत्याउन गाह्रो मान्थे। पक्कै पनि अस्पष्टताको, अज्ञातको भयले हुनुपर्छ।
तर भय हराउँदै गएपछि उनीहरू त्यो खाली ठाउँमा आफूलाई धकेल्न सक्ने भए। मानौँ उफ्री खेल्ने रबरको गद्दामा चढ्दैछन् र आफैँ छक्क पर्ने गरी थाहा पाउँदैछन् कि भासिए झैँ लागे पनि भासिएका त छैनन्। बरू तैरिरहेका छन्, उँभोउँभो जाँदैछन्। यो अनुभवलाई हरेकले आफ्नै तरिकाले बाँचे। तर प्रायः नानीहरू केमा विश्वस्त भए भने खाली ठाउँमा, विशालतामा, विराटतामा आफूलाई हुत्याउन डराउनु पर्दैन। बरू त्यसलाई एउटा नयाँ संसार उजागर भएको मान्नुपर्छ जहाँ डराउनु पर्ने केही छैन, आनन्दै आनन्द छ।
हामी कुनैकुनै शनिबार जंगलयात्रामा जान्थ्यौँ, आवाज र मौनता दुवै सुन्न। त्यो पनि त्यही विशालतासँग, विराटतासँग, खाली ठाउँसँग जोडिने अभ्यास थियो। यहाँ दुई आवाजहरूबीचको खाली ठाउँमा डुब्नु पर्थ्यो। यस्तो अभ्यास गर्दैगर्दा नानीहरू कहिलेकाहीँ थामिनसक्नु हाँस्न थाल्थे, अविश्वासमा एकअर्कालाई हेर्थे। उनीहरूका अनुहारले भनिरहेको हुन्थ्यो… हामी के गरिरहेका छौँ हँ?
यद्यपि, अभ्यास गर्दै जाँदा उनीहरूले एउटा त्यस्तो मुक्त संसार उजागर गरे जहाँ हामी आफ्नो दिमाग ‘स्वीचअफ’ गर्छौँ र केवल जीवनसँग एकाकार हुन्छौँ। उनीहरू यो अनुभवलाई छुट्टै तरिकाले ब्याख्या गर्थे। आफूलाई एउटा नदीमा डुबाउनु र डुबिरहँदा पनि सास फेर्न सक्नु जस्तै हो भन्थे, अथवा चराहरूजस्तै उड्न सक्नु र कुनै भयबिना विशालतामा हराउनु जस्तै हो भन्थे। तिनका कुरा सुन्दा लाग्थ्यो मानौँ उनीहरूसँग अब शरीर भन्ने चीज छैन र जीवनलाई स्वर्गमा झैँ सम्पूर्णतामा हेरिरहेका छन्।
शान्तिले आफ्नो जीवनलाई प्रभावित गर्ने कुनै पुस्तक पढेकी थिइनन्। उनले हरेक कुरा शुद्धतम् निर्दोष भावबाट, भोलापनको भावबाट अनुभव गरेकी थिइन्। सम्पूर्ण ध्यान खिच्ने नयाँ खेलौना पाएको बच्चाले झैँ उनले यो अनुभवजन्य प्रक्रियामा आफैँसँग खुब आनन्द लिइन्। उनलाई त्यो ‘खाली ठाउँ’ बारे किताबी ‘ज्ञान’ नभए पनि चेतना चाहिँ थियो। उनी त्यस्ता भावना र अनुभूति दैनन्दिन महसुस गर्थिन्। किनभने उनीसँग आफूलाई कुनै चीजसँग, मान्छेसँग, केही कुराको परिग्रहसँग नजोडी हेर्न सक्ने क्षमता थियो। हरेक सेकेण्ड सम्पूर्ण ध्यान र सजगता वर्तमानमा केन्द्रित गरेर बाँच्न सक्थिन्। आफ्नो वजनप्रति, हरेक पाइलाप्रति, आफूले चलाएका प्रत्येक मांशपेसीप्रति, नाकको प्वालबाट भित्र छिरेको हरेक श्वासप्रति र आफ्नो अनुहारलाई छोएर जाने हरेक बतासप्रति सजग रहेर हिँड्थिन्।
उनको अबोधपना, निश्चलता (अथवा एकाग्रता) यस्तो तीक्ष्ण थियो कि उनको जीवनमा कहिल्यै दुईवटा उस्तै क्षण वा अनुभव भएनन्। कुनै गतिविधि वा क्रियाकलाप दोहोर्याउँदा पनि उनलाई हरेक पटक फरक अनुभव हुन्थ्यो। उनी त्यस्तो तरिकाले बाँच्थिन् जहाँ वर्तमानको कुनै नापतौल हुँदैनथ्यो, वर्तमानप्रति न्यायधीशको जस्तो नभएर साक्षीभावको सजगता राखिन्थ्यो। यसरी उनले जीवनमा आफूसँग अरूले जत्तिकै रमाइलो गरिन्, आनन्द मानिन्।
उनले आफूले गरेका हरेक अभ्यासको विस्तृत प्रक्रिया र सिकाइको टिपोट उतार्ने बानी बसालेकी थिइन् ता कि भविष्यमा ती क्रियाकलाप नानीहरूसँग पनि गर्न सकियोस्। उनको विचार सुन्ने सोचले कहिलेकाहीँ म उनलाई अभ्यासमा उतार्न मिल्ने वा गोष्ठीमा प्रयोग गर्न सकिने कुनै तरिका बताउँथे। तर धेरैजसो क्रियाकलाप म आफूलाई इच्छा लागे अनुसारै गर्थेँ। तथापि उनले ती क्रियाकलापमा सधैँ थाहा नपाउँदो गरी केही न केही खास स्पर्श दिन्थिन्। त्यो त्यस्तो व्यक्तित्वको स्पर्श थियो जो आफूलाई केवल आकाश हेर्नमा सीमित राख्दैन, जीवनलाई त्यसैअनुसार ढालेर धर्तीमा खुशीसाथ बाँच्न पनि जान्दछ।
क्रमशः
अघिल्ला अध्याय-
(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)