बुझ्दाबुझ्दै दिपेन्द्रलाई लाग्यो, ‘जिन्दगी हो खेल जस्तै’

काठमाडौं । पोखराका दिपेन्द्र अधिकारी अढाइ दशकभन्दा बढी समयदेखि जापानमा छन् । त्यहाँ व्यवसाय गरेर धेरैजसो समय व्यस्त रहन्छन् । व्यस्त समयमा पनि उनको नेपाली गीत–संगीत र साहित्य अनि समसामयिक विषयमा लेखनले भने निरन्तरता पाइरहेको छ ।

कर्मथलोमै अधिकांश सिर्जना गर्ने उनी केही नयाँ गर्नुपर्यो कि स्वदेश उडिहाल्छन् । आफ्नो गृहजिल्ला पोखराका प्राकृतिक सुन्दरतामा रमाउँछन् । कहिले पूर्वतिरको यात्रामा हुन्छन् भने कहिले काठमाडौं र आसपासका क्षेत्र घुमिरहेका हुन्छन् । केही साताअघि उनी नेपाल आएका थिए । आउनुको उद्देश्य पारिवारिक भेटघाट र साथीभाइहरुसित रमाइलो गर्नेमात्र थिएन । उनको ध्याउन्न थियो– नयाँ सन्देशमूलक गीत रेकर्ड गर्ने अनि त्यसको म्युजिक भिडिओ पनि बनाउने ।

त्यसैको परिणाम उनको नयाँ गीत सार्वजनिक भएको छ । यसपटकको उनको गीतको शीर्षक छ– ‘जिन्दगी हो खेल जस्तै ।’ संगीत क्षेत्रका पुरुष सेलिब्रेटीसँग प्रेमको नाटक गरी शारीरिक सम्बन्ध राखेर ‘हनी ट्रयाप’ मा पारिएको कथामा आधारित अधिकारीको गीतको म्युजिक भिडिओ आइतबार सार्वजनिक भएको छ ।

अधिकारीको मर्मस्पदर्शी शब्दमा राजकुमार बगरले संगीत भरेका छन् भने कमल सौरागको सङ्गीत संयोजन छ । गीतमा चर्चित रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–५ का विजेता प्रतिभाशाली गायक विनोद राईले स्वर दिएका छन् । भिडिओ डीए क्रिएसन्सको युट्युब च्यानलबाट आइतबार स्रोतामाझ आएको हो । गीतकार अधिकारीका यसअघि ‘मनमोहक पोखरा’, ‘चुलबुल चुलबुल’, ‘नेपालकी छोरी’, ‘जनताको मर्म’, ‘जीवनको रेल’ र ‘फर्किन्छु यसपालि’ शीर्षकका गीत सार्वजनिक भइसकेका छन् ।

‘जिन्दगी हो खेल जस्तै’ को भिडिओ प्रसिद्ध छायाँकार, सम्पादक एवं निर्देशक वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, दृष्य तथा रङ्ग सम्पादनमा तयार भएको हो ।

गीतमा अजय रेग्मीको सिनेमाटोग्राफी र लोकेश भाटको ग्राफिक्स छ । भिडिओमा सेलिब्रेटीको भूमिकामा गीतका गायक विनोद राई स्वयंले र षड्यडन्त्रकारी युवतीको भूमिकामा ऋचा थापाले अभिनय गरेका छन् । सहायक भूमिकामा राजेन्द्र शर्मा, अर्जुन कुँवर, रश्मी आचार्य, सन्तोष कुँवर, नवराज बडुवाल र सुरज भुसाललाई देख्न सकिन्छ ।

यसो भन्छन् गीतका सर्जक

‘आखिर जिन्दगी पनि त खेल जस्तै नै हो । कहिले हार कहिले जित । कहिले माया–घृणा, कहिले घात र अन्तर्घात, कहिले मिलन–बिछोड, कतै आँशु–हाँसो…यस्तै यस्तै जिन्दगीका रङ्गहरु । यस्तै रङ्गहरुलाई जोडेर एउटा गीत भिडियोसहित ल्याएका छौं ।

माया प्रेमका कुरा खुला रूपमा राख्न नपाउने हाम्रो जस्तो समाजका पनि कतिपय राम्रा र नराम्रा दुवै पक्ष छन् । एउटै समाजमा एउटै प्रकृतिका घटनाक्रमहरु पनि व्यक्ति अनुसार लिइन्छ । घटनालाई कर्ता र कारकको पहुँचको आधारमा सामाजिक दण्ड दिइन्छ या नजरअन्दाज गरिन्छ ।

कुनै विशेष परिस्थितिमा समझदारीमा गरिएका क्रियाकलाप कसैको बहकाउमा आएर अपराधीकरण गरिन्छ भने कुनै अपराधलाई पनि पैसा, शक्ति र तथा कथित प्रतिष्ठाका आधारमा लुकाइन्छ र निर्दोषमाथि झनै घाँटी निमोठिन्छ । कहिलेकाहीँ वास्तविक घटना र समाजलाई देखाइएको दृष्य फरक–फरक हुन सक्छन् । अपराध हो या नियोजित परिभाषीकरण त्यो बुझ्न जरुरी छ ।

समाजलाई राम्रो बनाउने संघर्षबाट विचलित नबनौँ भन्ने मूल मर्मसँग जोडिएको यो गीतको मूल्यांकन आदरणीय दर्शक–स्रोताले गर्नु नै हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *