गाउँको माहोल

म काठमाडौँ गएको थिएँ । उतै छुस्स सुनेको थिएँ, नयाँ महिलाको साथ लागेर शान्तिले गाउँ छाडिन् । काठमाडौँबाट फर्किएको भोलिपल्ट बिहान कक्षामा सोधखोज गरेँ । वसन्तीले भनिन्, ‘दिदी त होटलमा काम गर्न पोखरा गयो ।’

हजारौँ नेपाली बालबालिकाले जस्तै शान्तिले पनि परिवारका लागि पैसा कमाउन गाउँ छोड्नु परेको सुनेर म असाध्यै दु:खी भएँ । मलाई उनको उपस्थिति बानी परिसकेको थियो । उनी मेरो नेपाल बसाइको सम्मोहनकारी आकर्षण थिइन् । म उनका धेरै कुराबाट मोहित थिएँ– हाउभाउ, अभिव्यक्तिका शैली, साथीहरूलाई हेर्ने भावभङ्गी, अविभाजित सजगताका साथ हरेक क्षण अनुभूत गरेर बाँच्ने कला, कक्षालाई सहृदयी भावले भरिदिने शान्तपन । साँच्चै, उनको शान्तपनले छेउछाउका सबैलाई थाहै नपाइ समेटेको हुन्थ्यो ।

पछिपछि पनि म शान्तिको घर गइरहन्थेँ, उनका बारेमा सोध्थेँ । तर फूलमायालाई उनको साँचो हालखबर कहिल्यै थाहा हुँदैनथ्यो । त्यहीकारण उनमा छोरीप्रतिको चिन्ता चुलिएको थियो । शान्ति पोखरा नै गएकी हुन् भन्नेमा चाहिँ उनलाई कुनै शंका थिएन ।

उता सुनिताले प्राण त्यागेपछि शान्तिको भोक हराएको थियो । त्यति मात्र खाइरहेकी थिइन् जतिले बेहोस हुनबाट बचाउँछ । हरेक दिन करिब बीसजना ग्राहकको बोझ थाम्नु जो थियो । उनले कुनै गुनासो नगरी कपडा खोलिदिँदै र लगाउँदै नयाँ पेशामा भूमिका निर्वाह गरिरहिन् । केही थाहा नभएको संसारमा आत्मसमर्पण गरेर कुनै कुरा महसुस नगरी पटकपटक छुन दिइरहिन् ।

ती अनुभवबाट उनलाई स्पष्ट भयो– सुनिताले किन जीवन टुङ्ग्याएकी रहिछन् । सुनिताको साथ छुटेपछि उनलाई आफू पनि मरे झैँ भयो, अनेक पात्र बनेर अर्कै जीवन बाँचिरहे झैँ भयो, अर्कै ग्रहमा छु जस्तो लाग्यो । उनको स्मृतिबाट परिवारका यादहरू पनि धुमिल हुँदै गए । उनीहरूलाई फेरि भेट्न पाउने आशाको त्यान्द्रो चुँडिइसकेको थियो । तर यस्तो विषम परिस्थितिमा पनि उनले बाँच्ने इच्छा धेरैबेर गुमाइनन् । नधरमराएकी, चुँडिन नखोजेकी होइनन् तर सम्हालिइन् । बिस्तारै उनको भोक फर्किन थाल्यो । कोठीमा बाँकी साथीहरूसँग रमाउन थालिन् । मामीको दासता स्वीकार गरिसकेपछि पाइने दयालु व्यवहारमा समेत रमाउन थालिन् ।

यसरी, मानव अस्तित्वका सर्वाधिक अँध्यारा कुनासमेतलाई उज्यालो पार्न सक्ने जीवनको ज्योतिले शान्तिलाई एकपटक फेरि व्युँझायो । त्यो त्यस्तै ज्योति थियो जुन हामी घाँटीसम्म डुबेर मर्न लागेका बेला बाँच्ने आशाको डोरी समाउन पाउँदा महसुस गर्छौँ । यसरी उनी फेरि बाँच्नुको औचित्य महसुस गर्न पाएर, जीवनसँग जोडिइराख्न पाएर कृतज्ञ भइन् । बिस्तारै साथीहरूको विश्वास जित्दै गइन् । साथीहरू शान्तिसँग मन खोलेर वाल्यकालका, परिवारका कुरा गर्न थाले । गोप्य कुरा, सन्ताप, सपना र पीडा उदाङ्गो पार्ने मौका पर्खेर बस्न थाले । साथीहरूले कुनै संकोच नमानी, लाजले भुतुक्क नभइ, झर्न खोजेका आँशु नरोकी मुखुण्डो उतार्न सकेका बेला उनी खुशीले गद्‌गद् हुन्थिन् । उनीहरूले आफूभित्रको मानवता प्रकट गर्न सकेर प्रफुल्ल भएका बेला आफू पनि प्रफुल्ल हुन्थिन् ।

ग्राहक कुरेर बसेका बेला कहिलेकाहीँ उनीहरू बात मार्थे । बेचबिखनको शिकार भएपछि कसरी गरिमा गुम्यो ? कोठीमा आउनु अघि परिवारको दरिद्र स्थिति कस्तो थियो ? इत्यादिबारे । एकदिन त्यसरी नै बात मारिरहेका बेला गहिरो उदासीमा डुब्दै मनुले शान्तिलाई आफ्नो कथा सुनाइन् । भनिन्, ‘तेह्र वर्षकी हुँदा बिहे भयो, पन्ध्रकी हुँदा छोरी जन्मिइ । त्यसपछि त्यो असत्ति हामीलाई छोडेर बेपत्ता भयो । छोरी पाँच वर्षकी भइ । घरमा आमासँग छ । उनीहरूलाई पैसा पठाउन मामीले कहिलेकाहीँ मलाई बाहिर निस्किन दिन्छिन् ।’

घर पठाउने पैसा जोहो गर्न कोठीमा खेप्नुपर्ने सास्ती घरका मान्छेलाई के थाहा ? भोग्नेलाई मात्र थाहा छ । तथापि पुरुषहरू मानवताको नीच स्तरमा गिरेको देख्नुपर्दा, यौनको भ्रान्तिमा रुमलिएको साक्षी बस्नुपर्दा शान्तिभित्र ती पुरुषहरूप्रति करुणा नै जाग्थ्यो । उनी तिनीहरूलाई ‘प्रेम’ दिन त सक्दिनथिन् तर आफ्ना स्नेही हातले कम्मरमा बेरिदिन र क्षणिक शान्ति प्रवाह गरिदिन भने सक्थिन् ।

साथीहरू शान्तिको यो आयाम कहिल्यै बुझ्न सक्दैनथे । उनीहरू बरु ग्राहकबाट कहिलेकाहीँ यौनानन्द प्राप्त भएको कुरा चैँ गर्थे ! ग्राहकप्रति करुणा जागेको, तिनका जीवनमा भलो होस् भन्ने कामना गरेको कल्पना गर्नु उनीहरूका लागि असम्भव थियो । एकदिन शान्तिका अनुभव सुनेर मामीले भनेकी थिइन्, ‘शान्ति, तँ पागल भइस् कि सद्दे नै छस् ?’

मामी सधैँ शान्तिको इर्श्या गर्थिन् । उनको चित्तप्रवृत्ति, हरेक अवस्था र व्यक्तिप्रति उनले देखाउने धैर्य, भद्रपन, सधैँ सबैलाई सहयोग गर्ने मन, कुनै साथी विमारी भए सट्टामा ग्राहकसँग गइदिने तत्परताको आरिस गर्थिन् । सोच्थिन्– शान्तिले कसरी यो सबै गर्न सकेकी ?

शान्तिसँग सबभन्दा धेरै समय बिताउने ग्राहकको नाउँ दीपक थियो । उनको जन्म र हुर्काइ उत्तर भारतको पटनामा हुनेखाने परिवारमा भएको थियो । हुर्कँदै गर्दा उनलाई कुनै कुराको अभाव थिएन, सबैथोक पुगिसरी थियो । चाहेजति र आवश्यक परेजति सबैखाले लुगाफाटो र खेलौना उपलब्ध थिए । बुवाआमा प्राय: रङ र जोडा मिलाएर कपडा किनिदिन्थे ता कि छोरो सकेसम्म शिष्ट र मनोहर देखियोस् । कसैले दीपक कति राम्रो, लुगाले कति सुहाएको भनेको सुन्दा मख्ख पर्थे । उनको खान्कीमा जहिल्यै परिपरिका परिकार हुन्थे । उनका अधिकांश मर्जी पूर्ण गरिन्थे । यसरी, उनलाई चाहिएका सबै चिज सहजै प्राप्त हुने बानी बस्यो । उनलाई कसैबाट कहिल्यै प्राप्त नभएको एउटै कुरो थियो– चोखो माया ।

बुवाआमा साथीभाइसँग भएका बेला जोइपोइबीच राम्रो सम्बन्ध भएको नाटक गर्थे तर निजी जीवनमा भने भनाभन हुँदाबाहेक दोहोरो बात गर्दैनथे । त्यसैकारण आमा जटिल डिप्रेसनको शिकार भएकी थिइन् र हरेक दिन कडा औषधी खान्थिन् । बुवा चाहिँ आफ्नो जीवनमा खड्किएको माया बाहिर कतै पाइन्छ कि भनेर भौँतारिइरहन्थे । भौतारिँदा भौँतारिँदै छोडपत्र भइसकेकी एउटी महिलासँग सल्किन पुगेका थिए । उनी ती महिलाका भौतिक आवश्यकता पुरा गरिदिन्थे, सट्टामा शारीरिक माया लिन्थे ।

बुवाआमाको बुझाइ थियो– छोरालाई माया गर्नु भनेको आधारभूत आवश्यकता र इच्छाइएका कुरा पुरा गरिदिनु हो, उसका कुरा अस्वीकार नगर्नु हो । तर छोराको सबभन्दा महत्त्वपूर्ण आवश्यकता भनेको माया प्राप्त गर्नु हो भन्ने कुरा उनीहरूलाई ज्ञान थिएन । यसरी, उनी सबै कुरा पाएर पनि मुख्य कुरा नपाइ हुर्किए । अंकमाल, सुम्सुम्याइ, आमाको ममतायुक्त स्याहार, अनुभूति साटासाट गर्दा प्राप्त हुने विश्वास र अरू थुप्रै कुराको स्वाद चाख्न नपाइ हुर्किए । बुवाआमाको खटपट र व्यस्तताका कारण उहाँहरूसँग सम्झनलायक समय बिताउन पाएनन् । बुवाआमा भने छोरालाई हरदम व्यस्त राख्न खालखालका गतिविधि आयोजना गरिदिनमा भुलिएका हुन्थे । उनीहरूको इच्छा थियो– छोरो एउटा गतिलो मर्दका रूपमा सुनौलो भविष्य निर्माणतर्फ सजिलै लम्किन सकोस् ।

दीपक मनमौजी स्वभावका थिए । पुल्पुल्याइरहनु पर्ने, ध्यान दिइरहनु पर्ने । तर बुवाआमा त्यसो गरेर बस्न नभ्याउने, नजान्ने, नसक्ने । त्यसैले छोरो अल्मल्याउन टिभी वा कम्प्युटर खोलेर छोडिदिन्थे । छोरो बेलाबेला रुनू र छटपटाउनुको कारण ममता, आलिङ्गन र बालजन्य मनोरञ्जन खोजेर हो भन्ने उनीहरूले कहिल्यै बुझेनन् । यसरी हुर्किँदै गएर चौध वर्ष लागेपछि दीपक एउटी युवतीको प्रेममा परे तर संकोच र अहंका कारण आफ्ना भावना ती युवतीसमक्ष व्यक्त गर्न कहिल्यै सकेनन् । त्यो प्रेम त्यसै मरेर गयो ।

अठार वर्षको हुँदा साथीभाइको लहैलहैमा लागेर उनी पहिलोपटक वेश्यालय छिरेका थिए । अलि पछि बिहे भयो । दुईओटी छोरी जन्मिए । तर उनले परिवारसँग प्रीतिमय सम्बन्ध बनाउनु भन्दा यौनका लागि कोठीमा पैसा तिर्नु नै सहज मानिरहे । बुवाआमा जस्तै उनी पनि श्रीमती र छोरीहरूका भौतिक आवश्यकता पुरा गरिदिनमा सीमित रहे । बुवाआमाको जस्तै उनको पनि घरका मान्छेसँग मुस्किलले कुराकानी हुन्थ्यो । आपसी प्रेमभाव, स्नेहको अभिव्यक्ति अथवा नजिकपनको त कुरै नगरौँ !

दीपकसँगको संगत लामो नभएकाले शान्तिलाई उनीबारे धेरै थाहा नभएपनि । उनले ऊभित्रको कमी भने राम्ररी थाहा पाएकी थिइन् । त्यसैले उनमा दीपक र दीपकजस्ता अरू सबैप्रति करुणा थियो । उनी ती सबैलाई वात्सल्य दिन सक्दिनथिन् तर विस्तरामा आफूसँगै पल्टिन आइपुगेकालाई भने स्नेही अंगालोले बेरिदिन सक्थिन् । त्यसरी बेरिदिँदा उनलाई लाग्थ्यो– म यो व्यक्तिमा एउटा त्यस्तो ऊर्जाको बीऊ रोपिदिन सक्छु जसका कारण उसले जीवनमा भइरहेका कुरा बोध गर्न सक्छ । त्यो बीऊ हुर्केर प्रज्ञाको वृक्ष बन्न सक्छ । प्रज्ञाः त्यस्तो चेतना जो एउटा ज्योतिका रूपमा जन्म लिने भाग्यशाली दिन पर्खेर हरेक भित्र सुसुप्त बसेको हुन्छ ।

शान्तिलाई थाहा भएको थियो– धेरैजसो मानिस त्यो ज्योतिको झिल्को समेत महसुस गर्न नपाइ धर्तीबाट बिदा हुन्छन् । आफूभित्र त्यस्तो ज्योतिको बीज लुकिबसेको छ भन्ने समेत थाहा नपाइ बेहोसीमै जीवन समाप्त पार्छन् । अतिचार क्लेश र आत्म–अपमानको भारी बोकेर वास्तविक माया किञ्चित अनुभूति गर्न नपाई प्राण त्याग्छन् । शान्ति ग्राहकका मन पढ्थिन् । बुझ्न थालेकी थिइन्– जीवनले उनीहरूलाई पटकपटक त्यस्ता स्थितिहरूको भुमरीमा पारिदिएको थियो जसबाट चाहेको भए धेरै कुरा बुझ्न, सिक्न सक्थे । निर्मल खुशी त अहंमबाट मुक्त हुनुमा छ, त्यसलाई सहज निकास दिनुमा छ भनेर पनि बुझ्न सक्थे ।

त्यो बुझाइ तब जागृत हुन्छ जब हामी आफूलाई जान्न थाल्छौँ, पीडालाई जान्न थाल्छौँ, आत्मसमर्पण गर्न तयार हुन्छौँ । त्यो बुझाइ तब जागृत हुन्छ जब हामी देख्न सक्छौँ कि हरेक कुराको आशक्तिबाट छुटकारा पाएपछि र मन स्थिर भएपछि मात्रै वास्तविक खुशी प्राप्त हुन्छ । अनि हामी निसंकोच हाँस्न सक्छौँ, निर्भय कुरा गर्न सक्छौं, हामीमा हार्दिकताले बास गर्छ, महत्वाकांक्षा गायब हुन्छ, शत्रु हुँदैनन्, तुलना गरिँदैनन् । त्यसैले त्यो दिमागमा घर गर्ने र जीवन जटिल बनाइबस्ने अहंबाट मुक्त हुनुभन्दा ठूलो कुरा केही छैन ।

जीवन भनेको महसुस गर्नु, प्रत्येक संवेदनाप्रति सजग रहनु, आफूलाई आविष्कार गर्नु, विमुक्त हुनु, अर्को एकपटक अन्योलमा रुमलिनु, ठेस् लागेर लड्नु, सजग हुनु, उठ्नु, विमुक्त हुनु र फेरि अघि बढ्नु हो । यस्तो चक्र तबसम्म यसरी नै चलिरहन्छ जबसम्म हामी आफूलाई कब्जा गरेर राख्ने मनचिन्ते भित्री आवाजहरूबाट पूर्ण रूपमा प्रभावमुक्त हुँदैनौँ । ती मनचिन्ते आवाज सत्य होइनन् । सत्य त श्वास, बादल, रूख, शरीरमा उपन्न हुने संवेदना, मनमा उर्लिने भावना, विचार, भइरहेका कुराप्रति जनाइने प्रतिक्रियाहरू हुन् । शान्तिले थाहा पाइसकेकी थिइन्– यी सत्यप्रति सजग रहन सकेँ भने जीवनमा जे कुरा अनावश्यक छ त्यसबाट मुक्त हुन सक्नेछु ।

शान्तिका कतिपय ग्राहक हिंसाका माध्यमबाट उनलाई भोग्न खोज्थे । कोही चाहेअनुसारको तीव्रतामा ‌ओछ्‌यानमा हल्लिन नजानेको भनेर पिट्थे, कोही बाल्यकालदेखिको क्लेशको भारी उनीमाथि थोपर्न चुरोटका ठुटाले पोलिदिन्थे । यस्तो क्रूरता सामना गर्नुपर्दा उनलाई समभावमा अडिन कठिन हुन्थ्यो । तथापि उनले कहिल्यै रिस, घृणा वा द्वेष मिसाएर प्रतिक्रिया जनाइनन् । हरेक व्यक्तिलाई करुणाभावले व्यवहार गर्न सक्नु नै जीवनले उनलाई दिएको सर्वोत्तम उपहार थियो । उनी यसरी बाँच्न सकेकोमा कृतज्ञ थिइन् ।

जीवनले उनलाई त्यो कोठीमा, ती साथीहरूका साथ, मामीका नियन्त्रणमा, ग्राहकहरूको प्यास मेटाइदिँदै बाँच्न लगाएको थियो । यो उनले इच्छा गरेर पाएको कुरा थिएन तर उनी आफूले चाहेअनुसारको अर्को जीवन प्राप्तिका लागि यो जीवन त्याग्नेवाला थिइनन् । उनलाई कहिलेकाहीँ जीवनको दियो निभाइदिन मन नलाग्ने होइन । उग्र रोष, निर्जन एक्लोपन र गहिरो शोकसँग साक्षात्कार नहुने होइन । तर ती सबै अनुभवबाट उनलाई थाहा हुँदै गयो– जीवनमा प्रत्येक घटना एउटा न एउटा पाठ लिएरै आउँछ । ती घटनामा आफूले जनाउने प्रतिक्रिया भने सधैँ माया नै हुनुपर्छ, कुनै पनि पूर्वाग्रह, कुण्ठा, सपना र महत्वाकांक्षाले नमैलिएको हुनुपर्छ ।

‘मुक्त रहनु’ शान्तिको वास्तविक वर्तमान थियो । त्यसैकारण उनी हरेक क्षण आफूलाई केकस्तो महसुस भइरहेको छ, दिमागमा केकस्ता सोच आइरहेका छन्, कसरी बोलिरहेकी छु भन्नेतिर सारा ध्यान मोड्थिन् । त्यसो गर्दा उनीभित्र एउटा असीम शान्ति जागृत हुन्थ्यो । उनलाई थाहा थियो– हरेक व्यक्ति शान्ति प्राप्त गर्न चाहन्छ र त्यो प्राप्त गर्ने उपाय जीवनले सबैलाई वरदान दिएको छ ।

एक साँझ शान्तिको एकजना नयाँ ग्राहकसँग भेट भयो । जीवनको बाटो मोडिनेवाला छ भन्ने थाहा नदिई त्यो भेट भएको थियो । ती नयाँ ग्राहकको नाउँ सुनिल थियो । उनी छ वर्षको हुँदादेखि बेलायत बसेका, उतै हुर्किएका, उतै पढेका । विगत चार वर्षदेखि भने इण्डियामा एउटा अन्तर्राष्ट्रिय स्कूलमा गणित शिक्षकका रूपमा काम गरिरहेका थिए । उनको एकजना वेलायती महिलासँग विवाह भएको थियो । दुई छोरा र एक छोरी थिए । सधैँ सुन्दर कपडा लगाउँथे, आकर्षक तरिकाले सजिएका हुन्थे । शान्तिसँग भेट भएका दिन उनले आइरनले धार काढिएको कपडाको प्यान्ट, रंग मिल्दो सर्ट र मेसिनले बुनिएको काश्मीरी हाफस्वेटर लगाएका थिए । दारीजुँगा सिनित्त काटेका थिए । छेउमै पुग्नेका नाकले मात्रै थाहा पाउने मर्दानी अत्तर दलेका थिए ।

यति शालीन र सुखी देखिने, सुन्दरताले भरिएको मनुवा कसरी यो कचेडावस्तीमा आइपुग्यो ? उनलाई देख्दा शान्तिलाई अचम्म लागेको थियो । अनुमान गरिहेरिन्– बाटो भुलेर आइपुगेको होला, फलानो गन्तव्य पुग्ने बाटो कुन हो भनेर कसैलाई सोध्ला । तर उनको अनुमानले हावा खायो । सुनिल कोठीमै छिरे । चालामाला हेर्दा लाग्थ्यो आज पहिलोपटक छिरिरहेका छैनन् । मामीका कोठीमा आइपुगेको चाहिँ पहिलोपटक थियो । उनी निकै लजालु थिए । अंग्रेजी उनको पहिलो भाषा थियो । हिन्दी कामचलाउ मात्रै । कनिकुथी गरेर कोठीमा यति कुरा टुङ्गो लगाउन उनलाई गाह्रो भएन– कस्ता र कति समयका लागि ‘सेवा’ पाइन्छन् ? दाम कति हो ?

उनी बैठककोठामा छिरे । पन्ध्रौँ वसन्तमा फुलिरहेकी शान्तिमा पुर्‍याएर आँखा अड्याए । मामीलाई भेटेर शान्तिको ‘दाम’ सोधे । एकघण्टाका लागि कुरो मिलाए । अनि शान्तिका नजरमा आफ्नो नजर ठोक्काए । उनलाई इशारा बुझ्न गाह्रो थिएन, जुरूक्क उठेर सधैँको कोठातिर लागिन् । सुनिल पछिपछि लागे । दुबैजना कोठामा छिरे । अनि ढोकाको चुकुल लगाउन पछाडि फर्किँदा पो शान्ति देख्छिन्– सुनिल एकदम लज्जित र असहज उभिइरहेका छन् ।

कोठा छिरिसकेपछि हरेक पुरुष फटाफट कपडा उतार्ने हतारोमा हुन्छ, नाङ्गो स्त्री शरीरमा आँखा र हात डुलाइहाल्ने ब्यग्रतामा हुन्छ । शान्तिका आजसम्मका अनुभवले यसै भन्छन् । सुनिलमा भने त्यस्तो हतारो र व्यग्रता देखिएन । यो कुरा शान्तिलाई अनौठो लाग्यो र असजिलो पनि । केहीबेरको बिझाउने मौनता तोड्दै सुनिलले आँट गरेर सोधे, ‘तपाईंको नाम के हो ?’

शान्तिको नाम सुनेर उनी मुस्कुराए, सायद नामको अर्थले छोइएर वा नामअनुसारको भाव अनुहारमा झल्किएको देखेर होला । शान्तिको उमेर थाहा पाएपछि उनको आश्चार्यले सीमा नाघ्यो । मेकअप र कपडाका कारण उनको उमेर बढी देखिन्थ्यो ।

दुबैको हिन्दी गतिलो थिएन । तैपनि, टुटेफुटेका वाक्य, हाउभाउ र संकेतका माध्यमबाट एकअर्कालाई बुझ्दै गए । शान्ति कसरी यो कोठीमा आइपुगिन् ? यति कलिलो उमेरमा यहाँ के गरिरहेकी छन् ? सुनिलका मूल उत्सुकता यिनै थिए । शान्तिले दुई वर्षअघि आफू बेचिएको घटना सुनाइदिइन् । थाहा पाइन्– कथा सुन्दै जाँदा सुनिलको अनुहारमा तनावको भेल उर्लिंदैछ । खाटका दुई छेउमा बसेर बात मार्दै जाँदा उनीहरू एकअर्काप्रति समानुभूतिको अवस्थामा पुगे, समयको गति बिर्सिए, बसेको स्थान बिर्सिए र कतिबेरदेखि बसिरहेको हो त्यो पनि बिर्सिए । मामीले ढोका ढकढक्याउँदै धोद्रे स्वरमा ‘बाबुसाहेब, एक घण्टा बित्यो है’ भनेपछि मात्रै  झल्याँस्स भए । तब सुनिलले मन नलागीनलागी भने, ‘शान्ति, अब म जानु पर्छ ।’

निस्कँदै गर्दा उनले शान्तितिर नहेरी सोधे, ‘तिमीलाई यो कोठी बाहिर भेट्न मिल्छ ?’

टाउको निहुराएकी शान्तिले नकारिन्, ‘मिल्दैन ।’

सुनिल वैकल्पिक वाचा गरेर त्यहाँबाट बिदा भए, ‘त्यसोभए तिमीलाई भेट्न म जसरी पनि छिट्टै फर्किआउनेछु, यही ठाउँमा ।’

नभन्दै उनी भोलिपल्ट बिहानै कोठीको ढोका ढकढक्याउन आइपुगे । भित्र छिरे र तोकिएको मोल मामीका हातमा थमाउँदै पहिलो वाक्य बोले, ‘आज म शान्तिसँग दुई घण्टा बस्छु ।’

सुनिललाई आजसम्म कसैसँग पनि यति नजिक महसुस भएको सम्झना छैन । यसरी जीवनका हरेक अध्याय कत्ति पनि नलुकाइ कसैका सामू फिँजाइदिने चाहना भएको थाहा छैन; चाहे ती अध्याय जतिसुकै लाजमर्दो र नङ्ग्याउने किन नहुन् । सुनिलकी पहिलो प्रेमिका चार्लेटले पनि सुनिलभित्रको यस्तो सुनिललाई, समभावलाई, निर्बन्ध खुशीलाई यस्तरी बाहिर निकालिदिन सकेकी थिइनन् ।

उनीहरू खाटको दुई छेउमा बसेर बात मारेको निक्कैबेर भएको थियो । कतिबेला हो कुन्नी थाहै नपाई सुनिलको हात शान्तिछेउ पुगिसकेछ । अनि त्यसरी योजनै नबनाइ, यादै नभइ उनीहरूका हात खप्टिन पुगे । बातचित चलिरहँदा घरिघरि सुनिलका मनमा मनोकांक्षा जागिरहेको थियो– शान्तिका अँगालोमा घुस्रिएर सधैँका लागि त्यहीँ हराउन पाए… ।

सुनिलले जीवनकथाको पोको फुकाउँदै जाँदा बुवाको कुरा पनि सुनाए । भने, ‘मेरा बुवालाई सबैथोक एकदम व्यवस्थित चाहिन्थ्यो । हरेक कुरा भनेअनुसार हुनुपर्थ्यो । कुनै सामान भनेका ठाउँमा र भनेअनुसार भएन भने उहाँको रिस ज्वालामुखी झैँ विष्फोट हुन्थ्यो ।’

केहीबेरको मौनतापछि सुनिल फेरि बोल्न थाले । भने, ‘तिम्रो कसम शान्ति, बाइस वर्षको हुँदा कलेज पढ्न थाले पछि पो मलाई झल्याँस्स भयो– मेरो त त्यस्ता बुवा अथवा अरू कोही रहेनछन् जोसँग म आफ्ना भावना साझा गर्न सकुँ, मन खोलेर देखाउन सकुँ, चाहना र सपनाका कुरा गर्न सकुँ । म परिवार र साथीभाइका भीडमा भएर पनि एक्लो हुर्किएछु ।’

आमा सरसफाइमा, पकाइतुल्याइमा, केही बुन्नमा अथवा केही गर्नमा सधैँ व्यस्त हुन्थिन् । बुढाले वास्ता गर्दैनन्, पहिला जस्तो माया गर्न छोडेका छन् भनेर कहिलेकाहीँ विलाप गर्थिन् । बालबच्चा एक्लै हुर्काउनु परेको थियो । त्यागिएकी अबला महसुस गर्थिन् । प्रणय र स्नेहको खडेरीमा बाँच्नु परेको तनावले लाचार र निराश थिइन् । लामो समयदेखि मनमा आक्रोश जमेर बसेको थियो । कहिलेकाहीँ त्यो उम्लिन्थ्यो र थाहै नपाइ छोराछोरीमाथि खनिन् पुग्थिन् ।

सुनिल वात्सल्य बिनाको उराठ मरूभूमिमा बालापन बिताएका कमजोर पुरुष थिए । खासमा शान्तिसम्म आइपुग्ने प्राय: पुरुष त्यस्तै थिए । ती सबैको जस्तै सुनिलका घरमा पनि परिवारबीच खुलेर संवाद गर्ने वातावरण र संस्कारको अभाव थियो । सुनिलको त्यो अभाव त्यतिबेला चुलियो जतिबेला उनी आफ्नै मामाबाट पटकपटक यौन शोषणमा पर्नुपर्‍यो र त्यसको मानसिक पीडालाई आँशुसँग मिसाएर कसैले थाहै नपाइ घुटुक्क निल्नुपर्‍यो । त्यस दिन घुँक्कघुँक्क रूँदै उनले जीवनमा पहिलोपटक त्यो घटना शान्तिलाई सुनाएका थिए ।

सुनिल श्रीमतीप्रति शारीरिक रूपले निक्कै आकर्षित थिए, सँगै रहन पाउँदा सहज मान्थे तर त्यो सम्बन्धका बीचमा एउटा पर्खाल पनि थियो जसले उनलाई श्रीमतीबाट पूर्ण सन्तुष्ट हुन दिँदैनथ्यो । श्रीमतीलाई भने आफ्नो धरातल प्रष्ट थाहा थियो । जीवनका सपनाबारे कुनै द्विविधा थिएन । उनीसँग ती सपना पुरा गर्न लाग्ने पुग्दो समय पनि थियो । उनले ती सपनालाई वास्तविकतामा बदल्न अबिराम परिश्रम गरिरहिन् ।

सुनिलको अवस्था भिन्न थियो । उनले जीवनमा कहिल्यै खुशी महसुस गरेका थिएनन् । आफूभित्र हीनताहरूको कसिंगर बोकेर हिँड्थे र त्यसले उनलाई आलोचना ग्रहण गर्न नसक्ने बनाएको थियो । आफ्ना साथीहरूप्रति बढी नै हक जताउने स्वभावले ग्रस्त थिए । वास्ता गरिएको, माया गरिएको, सुनिएको महसुस हुनुपर्ने असीमित आवश्यकताले हरक्षण लखेटिरहेको हुन्थ्यो । उनको सबभन्दा नजिकको साथी त्यो हुन्थ्यो जसले उनलाई सबभन्दा बढी ध्यान दिन्थ्यो, हरेक दिनका अपूर्व अनुभवहरू नछुटाइ साझा गर्थ्यो । त्यसो हुँदा उनी संरक्षित भएको ठान्थे, सुरक्षित ठान्थे, आत्मविश्वास चुलिन्थ्यो तर एक्लो भएका बेला उनको त्यो आत्मविश्वास लुप्त हुन्थो ।

उनले बुवाका रूपमा छोराछोरीप्रतिका दायित्व पुरा गरेका थिए । बेलुका सधैँ छोराछोरीलाई स्कूलबाट लिएर घर फर्किन्थे । उनीहरूसँग बसेर छुट्टीमा घुम्न जाने सल्लाह गर्थे । श्रीमतीसँग भने ठिकैको मिल्ती थियो । यौन जीवन सक्रिय नै थियो । उनले त्यसदिन शान्तिसँग बात मारिरहँदा खुलेर स्वीकार गरे, ‘शान्ति, त्यसरी परिवारमा सबैथोक हुँदाहुँदै पनि मभित्र सधैँ केही अपुरो, अस्वस्थ्य, असजिलो केही कुरा गढेर बसेको थियो । अहिले पनि छ ।’

त्यो गढेर बसेको कुरा त्यस्तो थियो जसले उनलाई सधैँ अधैर्य महसुस गराउँथ्यो, मानौँ जीवनमा केही कुरा छुटिरहेको छ अथवा पुगिरहेको छैन । देशविदेशका यात्रामा, साथीभाइसँग बसेर पिइने बियरमा, तीन वर्षदेखि खाइरहेको एम्फेटामाइन्सका गोलीहरूमा त्यो छुटेको अथवा नपुगेको केही कुरा खोजिरहेका थिए । र केही समय अघिदेखि उनी वेश्यालयहरूमा किन्न पाइने सम्भोगबाट त्यो ‘केही कुरा’ प्राप्त गर्न, पत्ता लगाउन खोजिरहेका थिए ।

शान्तिलाई सुनिलका सबै अनुभूति र आवश्यकता बुझ्न कठिन भयो । सुनिलका कुरा सुनिरहँदा उनलाई एउटा अनौठो चलचित्रको पटकथा सुनिरहे झैँ लाग्यो । शान्तिको गाउँको जीवन हरेक दिन छाक टार्ने र सास अड्याउने उद्देश्यमा सीमित थियो । त्यसैले सुनिलले भनेका कतिपय कुरा उनका लागि अति जटिल थिए । सोचिन्– के जीवन यति जटिल पनि हुन सक्छ ? हुन आवश्यक छ ?

यद्दपि, उनले सुनिललाई ध्यानपूर्वक सुनिन् र उनका आवश्यकता थाहा पाइन्– कसैले सुनिदिनु पर्ने, जीवन रूपान्तरण गर्नुपर्ने । त्यसैले त सुनिल उनीप्रति कृतज्ञ थिए, त्यति नै कृतज्ञ जति वर्षौँदेखि हृदयमा बिझेका काँडा झिकिदिनेप्रति भइन्छ । सुनिललाई पनि थाहा भयो कि शान्तिसँग भलाकुसारी हुन थालेपछि जीवन न्याना रंगहरूले सजिन थालेको छ । श्रीमतीसँग कुराकानी गर्न सहज लाग्न थालेको छ । छोराछोरीसँग थप नजिक महसुस भएको छ । सहकर्मीहरूलाई आफ्ना अनुभूति र आवश्यकता सुनाउन थालेका छन् । त्यसरी सुनाउँदा सहकर्मीहरूले आलोचित महसुस नगरून् भन्नेमा विशेष ख्याल राख्न थालेका छन् । हाकिमका ठाउँमा आफूलाई राखेर हेर्न सकिरहेका छन् । परिवारका, सहकर्मीका र हाकिमका अनुभूति र आवश्यकता अनुमान गर्न सक्ने भएका छन् ।

यसरी सुनिलले एउटा नयाँ संसार पत्ता लगाएका थिए । त्यो संसारमा उनको खुशी पूर्णत: उनैमा भर पर्थ्यो । कसैले केही भन्ला, अस्वीकृत भइएला भन्ने डर नराखी आफूलाई व्यक्त गर्नुमा भर पर्थ्यो । पूर्वाग्रह नराखी सुन्नुमा भर पर्थ्यो । आफूलाई नतौलिई र नहोच्याइ काम गरिरहनुमा भर पर्थ्यो । आफ्ना सबैखाले आवश्यकता प्रष्टसँग व्यक्त गर्नुमा, गर्वका साथ ती आवश्कताको ख्याल राख्नुमा अथवा ख्याल राख्न जरूरी नभए त्यो बुझ्न सक्नुमा भर पर्थ्यो ।

सुनिल शान्तिप्रति नतमस्तक थिए । किनभने उनले घण्टौँ सँगै समय बिताएर निजी कुरा सुन्नसुनाउन साथ दिएकी थिइन् । खुशीसम्म डोर्‍याउने गोरेटो पत्ता लगाउन सानिध्यता प्रदान गरेकी थिइन् । शरीरमा हरदम दौडिरहने ऊर्जाको मुहान औँल्याइदिएकी थिइन् र त्यो ऊर्जाको उपयोग गरेर हरेक चुनौती सामना गर्न सक्ने पंख हालिदिएकी थिइन् । शरीरमा ध्यान लगाएर मनलाई स्थिर हुन दिउञ्जेल हरेक क्षण खुशी रहन सकिने कुरा बुझ्न सक्ने बनाइदिएकी थिइन् । त्यसका लागि आवश्यक सबैथोक आफैँसँग पुग्दो छ भनेर देख्न सक्ने पनि बनाइदिएकी थिइन् ।

त्यसैले सुनिल कुनै न कुनै तरिकाले शान्तिलाई पुरस्कृत गर्न चाहन्थे । शान्तिले यतिबेला सबभन्दा धेरै चाहेको कुरा भनेको यो नर्क समान कोठीबाट निस्कनु र परिवारसँग भेट्नु हो भन्ने कुरा उनलाई थाहा थियो । शान्तिलाई गोप्य तरिकाले बाहिर लिएर निस्किनु अथवा त्यसका लागि जबरजस्ती गर्नु सम्भव छैन भन्ने पनि थाहा थियो । शान्तिले उनलाई भनेकी थिइन्, ‘म प्रहरीसँग कुरा गर्ने आँट गर्न सक्दिन । किनभने तिनका हाकिमले कोठीबाट गोप्य दस्तुर बुझ्छन् र त्यहाँभित्र हुने अपराध र दुर्दशाप्रति आँखा चिम्लिदिन्छन् ।’

मामीसँग सुनिलको सम्बन्ध सुमधुर थियो । त्यसैले शान्तिसँग सल्लाह नगरी एकदिन उनले मामीसँग भने, ‘मामी, केही दिन गोवा डुल्न जाने मन छ तर एक्लै के जानु ? शान्तिलाई पनि लिएर जान पाए हुन्थ्यो !’

मामीले ठाडै अस्वीकार गरिन् । कारण प्रष्ट थियो– सबभन्दा धेरै ग्राहक झेल्न सक्ने, सबभन्दा धेरै नगद जम्मा गरिदिने केटीलाई कसले पठाउन सक्थ्यो ? त्यो पनि केहीबेरलाई होइन, दुईचार दिनलाई । विगतका एकाध घटना सम्झँदै मामीले भनिन्, ‘हुँदैन सुनिल बाबु, पहिला पनि त्यसरी ग्राहकसँग बाहिर जान दिँदा केटीहरूले ज्यास्ती दुर्व्यवहार भोगेका छन् । एकपटक हाम्री एउटी केटी होटलका मरेकी भेटिई । धन्न प्रहरीको हाकिम चिनेको थियो र बबण्डर हुन पाएन ।’

सुनिलले जिद्दी नछाडेर भने, ‘सधैँ, सबै कहाँ उस्तै हुन्छ । शान्तिलाई बाहिर लिएर जाँदा लाग्ने पैसो दिइहाल्छु, बरु भन्नु न कति हो ?’

मानौँला झैँ गर्दै मामीले भनिन्, ‘तपाईंलाई कसले हार्न सक्छ ? दिनको तीस हजार लाग्छ, तयार हुनुहुन्छ ? लाने नै हो भने गन्‌गन् नगरी तीन दिनको नब्बे हजार बुझाउनु, लानु । कुनै हालतमा दुर्व्यवहार नगर्ने र समयमै फर्काएर ल्याउने ग्यारेण्टी पनि चाहिन्छ ।’

सुनिलका विगतका व्यवहार र विश्वासमा टेकेर मामीले शान्तिलाई बिदा दिने भइन् । बिदा गर्नुअघि एउटा अन्तिम चेतावनी दिइन्, ‘तीन दिन भित्रमा शान्ति फर्किइन भने पुलिसलाई खबर गर्छु नि सुनिलबाबू, गाह्रो पर्ला ।’

सुनिल आजै दिउँसो शान्तिलाई लिएर हिँड्ने भए । बम्बैमा जहाज चढे तर गोवातिर लागेनन्, दिल्ली उत्रिए । एयरपोर्टबाट सिधै नेपाली दूतावास गए । सहयोग पाइएला भन्ने आशा थियो तर कर्मचारीले सजिलो कुरा गरेनन् । भने, ‘यिनलाई नेपालमा परिवारसँग पुनर्मिलन गराउन हाम्रो सहयोग चाहिने हो भने अभिभावकको सहमतिपत्र चाहिन्छ । अथवा यी केटी घरबाट हराएकी थिइन् भन्ने व्यहोरा खुलाएर नेपालको प्रशासनले चिट्ठी लेखिदिए पनि हुन्छ । साथमा उनको परिचय खुलाउने कुनै प्रमाण पनि लिएर आउनु ।’

कर्मचारीका कुरा सुनेर सुनिललाई भाउन्न होला जस्तो भयो । दोहोर्‍याएर बुझाउन खोजे, ‘शान्ति दुई वर्षअघि बेचिएर बम्बै आइपुगेकी, कहाँबाट कस्तो परिचयपत्र हुनु ? नेपालको कुनै विकट गाउँमा बस्ने यिनका अनपढ बुवाआमाबाट कसरी सहमतिपत्र मगाउनु ?’

सुनिल असफल भए । दूतावासमा यस्ता विषय आइराख्दा रहेछन् । तर कोठीका मालिक दूतावासका टेवुलमा एउटा कागज पछारिदिएर सजिलै उम्किँदारहेछन् । फलानी मेरी छोरी हो, यसलाई दश वर्षसम्म फलाना ठाउँमा काम गर्न पठाउन मञ्जुर छौँ र यति रकम पेस्की लिइसकेका छौँ– त्यो कागजमा यस्तै केही लेखिएको हुँदोरहेछ र अभिभावकले ल्याप्चे हानेका हुँदारहेछन् । सुनिलले कानुनी डोरो समाएर दुताबासका कर्मचारीलाई एकपटक फेरि अनुरोध गरे, ‘सुन्नुहोस् न सर, शान्ति भरखर सोह्र वर्षकी भइन् । भारतको कानुनअनुसार नाबालकलाई पैसा दिएर काममा लगाउनु गैरकानुनी हो ।’

कर्मचारी टसमस भएनन् । भने, ‘यिनी सोह्रकी मात्र भएको प्रमाणित गर्ने आधार के छ ? जन्मदर्ता छ ?

सुनिल दूतावासबाट निराश फर्किए तर हार मानेनन् । उनी शान्तिलाई त्यो नर्कबाट बाहिर निकाल्न जे पनि गर्न तयार थिए । त्यो रात उनीहरू बास बस्न होटल गए । बेलुका सुनिल श्रीमतीलाई फोन गरेर धेरैबेर बोले, साहस जुटाएर शान्तिसँगका सबै कथा सुनाए ।

शुरूमा त श्रीमतीले रूवाबासी गरौँला झैँ गरिन् । धोका पाएको ठानिन् तर शान्ति र सुनिलबीचको गहिरो भावनात्मक सम्बन्धबारे बिस्तारमा सुनिसकेपछि, शान्तिले सुनिललाई पुर्‍याएको योगदानबारे बुझिसकेपछि उनका मनमा पनि शान्तिप्रति समानुभूति जाग्यो । सुनिल शान्तिलाई किन यतिविधि साथ दिइरहेका रहेछन्, किन सुरक्षित सीमाना पार गराउन लागिपरेका रहेछन् भन्ने थाहा भयो ।

फोनसंवाद टुङ्गिनै लाग्दा श्रीमती पनि सुनिललाई साथ दिन तयार भइन् । शान्तिलाई सीमापार गराएर घर फर्कन सुनिललाई पाँच दिन लाग्ने हिसाब निस्कियो । ती पाँच दिन जागिरमा उपस्थित नहुनुको वास्तविक कारण कसैलाई नखुलाउने बाचा गर्दै दुबैले फोन राखे ।

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

 ५ एक अविस्मरणीय सिकाइ

६ भोलापनको दुनियाँ

७ लालसाका दास

८ आमोद प्रमोद

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *