धरती काप्यो

बाँकी जीवन नेपालमा बिताउन चाहन्छु कि चाहन्न? यहाँ बसेर खुसी छु कि छैन? विगत केही वर्षदेखि म यस्ता सोचमा डुबेको थिएँ। व्यस्तताले गर्दा सोचिबस्ने फुर्सद त थिएन, तथापि यदाकदा आफैँलाई सोध्थेँ… के म यहाँ साँच्चै खुशी छु त? कतै मैले गरिरहेका काम आफूलाई आफैँबाट लुकाउने तिकडम त बनिरहेका छैनन्? दु:ख, हल्ला, रिस, असन्तुष्टि र दोषारोपबाट उम्किने बहाना त बनिरहेका छैनन्? नाक मुनिबाट बेहोसीमा गुज्रिरहेको जीवनसँग भाग्न म नानाथरी काममा व्यस्त रहेको नाटक त गरिरहेको छैन?

पछिल्लो पटक घर गएका बेला मलाई आमाबारे एउटा कुरो छर्लङ्ग भयो। वहाँ वर्षौँदेखि ओछ्यान परेका श्रीमान्‌को रेखदेख एक्लै गरिरहनु भएको थियो, घरबार चलाउन संघर्षरत् दुई छोरी र नातीनातिनालाई लामो समयदेखि भरथेग गरिरहनु भएको थियो। काम घरभित्र मात्रै पनि थिएन। तर म वहाँका ती अथक प्रयत्नबारे आजसम्म कति बेखबर रहेछु! वहाँको बानी कस्तो भने छोराछोरीलाई के दु:ख दिनु भन्ने सोचेर सबै काममा सकेसम्म आफैँ दौडिने। पटक्कै नसक्दा वा नभ्याउँदा मात्रै कसैको सहयोग लिने।

आमाको यो स्थितिले मलाई नेपाल फर्किने क्रममा पटकपटक चिमोटिरह्यो, अफसोच पनि लागिरह्यो। मलाई सबभन्दा धेरै माया गर्ने मान्छेहरूलाई मेरो उपस्थिति र मद्दत अत्यावश्यक परेका बेला म भने अरूलाई मद्दत गर्न यति टाढा नेपालमा बसिआएको छु। मेरा थुप्रै वर्षहरू यसरी नै घरबाट टाढा बसेर बिते। मैले सधैँ मेरो परियोजनाको कामलाई नै पहिलो प्राथमिकता दिएँ। मानौँ यो परियोजना मैले जन्माएको बच्चा हो र मैले त्यसलाई हुर्काइबढाइ गर्नुछ!

नेपालमा मेरो जीवन भनेको प्रत्येक कामलाई सकेसम्म राम्रो तरिकाले गर्नु थियो। इमान्दार र गम्भीर तरिकाले काम गर्न सम्भव हुने कुरा अभ्यास गरेर नमुना देखाउनु थियो। त्यस्तो अभ्यासमा सहकर्मीहरूलाई सामेल गर्नु थियो। कसरी खुसी हुन सकिन्छ, जीवन अघि बढाइरहन प्रेरित गर्ने कुरा के हो भन्नेबारे चिन्तन गर्न प्रोत्साहित गर्नु थियो।

स्पेन गएका बेला विद्यालयहरूमा स्व:विकाससम्बन्धी गोष्ठीहरू चलाउँथेँ र नेपालमा हामीले गरिरहेका कामबारे विद्यार्थीलाई बिस्तारमा बुझाउने प्रयत्न गरिरहेको हुन्थेँ। त्यो काम थुप्रै वर्षदेखि अबिराम चलिरहेको थियो। मैले आजसम्म आफूलाई विश्रामको सुविधा दिइँन। त्यसैले शरीर विश्रामका लागि तड्पिन थालेको थियो। मभित्रको एउटा मन एकपटक फेरि समुद्रमा डुबुल्की लगाउनुको आनन्द लिन चाहन्थ्यो, पानीलाई स्पर्ष गर्न चाहन्थ्यो, बालुवाको ताप महसुस गर्न चाहन्थ्यो, आफूलाई पुन:अनुभूत गर्दै आफैँसँग पुनर्मिलन गर्न चाहन्थ्यो। र चाहन्थ्यो बर्षौँदेखि जारी काम र त्यसप्रतिका प्रतिवद्दताहरूबाट फुत्किएर उन्मुक्त आत्मासँग जोडिन।

सधैँ झैँ, यसपाली पनि नेपाल फर्किएपछि म उही पुरानो दिनचर्या र तरिकामा फँसे। अगाडि देखा पर्ने सबै समस्या समाधान गर्न चाहने, सहकर्मीहरूले क्षमताबाहिरका जिम्मेवारी पुरा गरून् भन्ने अपेक्षा राखिबस्ने, परिवर्तन हुन जन्मौँ लाग्न सक्ने कुरा पनि आजै परिवर्तन भइदियोस् ठान्ने, हरेक कुरा आफूले भनेजस्तो नहुने कुरा स्वीकार गर्न नसकेर झ्वाँक्किने, दु:खी हुने। केके हो केके!

यस्तो अवस्थामा पनि म आफ्नो तर्फबाट सर्वोत्तम गर्ने र सकेजति सुधार ल्याउने प्रयत्नमा रातोदिन घोटिइरहेँ। दिनहरू यसरी नै बिते। माया गर्ने, माया पाउने, सहृदयी साथ पाउने, आफ्ना कुरा सुनिने लगायत आफ्ना सबै इच्छाप्रति म बेखबर र लापरबाह थिएँ। समय बित्दै जाँदा बुवाआमाबाट धेरै टाढा हुनुको अपराधबोधसमेत मिसिन पुग्यो। म आफैँलाई सजाय दिइरहेको थिएँ। म जुन शान्ति र आनन्द महसुस गर्न तड्पिरहेको थिएँ त्यो प्राप्त गर्ने असमर्थताका कारण सम्भवत: यसरी नै सजाय दिइरहन्छु होला।

तर आशावादी छु। जे भइरहेको छ र हुनेछ त्यो मैले इच्छाएको त्यही शान्ति र आनन्दसम्म पुर्‍याउनै भैरहेको ठान्छु। श्रीमतीसँग सम्बन्धबिच्छेद हुनु, मित्रहरू गुमाउनु, आफू बाँचिरहेको एक्लोपनप्रति सचेत हुनु, अथवा अकस्मात फेरि चराहरूको संगीत सुन्नु वा झरनाको कलकल सुन्नु, यी सबै मलाई त्यही शान्तिसम्म पुर्‍याउने सिँढी हुन् भन्ने मान्छु।

यी विचार, अनुभूति र संवेगले मलाई अझ बढी आफूभित्र छिराए, आफ्ना आवश्यकता र परिवारतर्फ धकेले। यी कुरा मैले समयसमयमा शान्तिलाई सुनाएको थिएँ। सबै कुरा बुझिनन् होला, खासगरी उनलाई पटक्कै थाहा नभएको समाज र संस्कृतिमा हुर्किँदाका मेरा केटौले अनुभवका कुरा। तथापि, उनले पनि मलाई आफ्ना आवश्यकता र परिवारतिर फर्किन, घर फर्किन, दिमाग सफा गर्न, जीवनसँग सामञ्जस्य मिलाउन, पहिला आफैँलाई माया गर्न प्रोत्साहन गरेकी थिइन्।

उनले मेरा संवेदना र अनुभूतिहरू बुझेकी थिइन्। एकदम भिन्न संस्कृतिमा बाँचेर खुसी महसुस गर्न मैले गर्नुपरिरहेको कठिन प्रयत्न देखेकी थिइन्। असाध्य प्रेम र प्रशंसा गर्ने शान्तघरका नानीहरूसँगै बस्ने गरेको भए पनि मैले भोगिरहेको कठोर एक्लोपन छामेकी थिइन्। उनलाई यथाहा थियो… त्यो एक्लोपन त्यस्तो व्यक्तिको एक्लोपन थियो जो दुनियाँ अर्कैतिर फर्किरहेका बेला पनि अलग तरिकाले सोच्थ्यो, आफ्ना सपनामा विश्वास गर्थ्यो र त्यो प्राप्त गर्न डटिरहन्थ्यो।

मैले भनिरहेका कुरामा शान्तिले कहिल्यै ‘अँ, हो’ जनाएर टाउको हल्लाइनन्। कहिल्यै मलाई वा मेरा कुरालाई तौलिएर बसिनन्। केवल मेरा कुरा सुनिन् र सुन्दैछु भन्ने महसुस गराइन्। मेरा शब्द सधैँ हृदयको गहिराइबाट निस्किएका हुन्छन्। त्यसैले मलाई तिनको उच्चारण गर्न डर लाग्दैन, शान्तिले के सोच्लिन् भनेर संकोच लाग्दैन। शब्दहरू मभित्र गुञ्जिबस्छन्, समझमा आउँछन्। कहिलेकाहीँ मेरा उच्चारितअनुच्चारित शब्द सुनेर मेरै शरीर गर्जिन्छ, थरथरी काँप्छ।

कुनैकुनै बेला म भूमरीमा फन्फनी घुमे झैँ महसुस गर्छु। त्यो भूमरीमा आफूलाई हराउन दिन्छु, आफू वरिपरिको वास्तविकता पहिचान गर्न दिन्छु। र त्यस्ता बेलाको अनुभूतिलाई अगोचर रूपमै किन नहोस् व्यक्त हुन दिन्छु। शान्ति मेरा व्यक्त र अव्यक्त सबै कुरा हृदयले सुन्थिन्। यो थाहा राखेर सुन्थिन् कि उनले मलाई केही गरिदिन सक्दिनन्। सक्छिन् त केवल सहृदयी साथ दिन र मेरा निम्ती ऐना बनिदिन, जसमा म आफूलाई इमान्दारीपूर्वक नियाल्न सकुँ।

आफ्नो वास्तविकता उजागर गर्नु, थाहा पाउनु कहाँ सजिलो छ र! यो एउटा त्यस्तो जीवन…कार्य हो जसलाई हामी सकेसम्म पन्साउन खोज्छौँ। तबसम्म पन्साइराख्छौँ जबसम्म स्वयंको खोज गर्नुबाहेक अर्को उपाय र उद्देश्य छैन भन्ने कुरा हामीलाई एक वा सो भन्दा बढी घटनाले दर्दनाक तरिकाले स्मरण गराउँदैनन्। सच्चा प्रेमको, सृष्टिको, तपाईं र मभित्रको सच्चा शक्ति, आफ्नो तुच्छताप्रति मुस्कुराउन सक्ने शक्ति लगायत तपाईंमा र ममा निहित सबै शक्तिको खोज गर्नुबाहेक जीवनको अर्को उद्देश्य छैन।

जब तपाईं आफूलाई सुन्नुहुन्छ, भयानक भालुसँग जम्काभेट होला कि भन्ने मनचिन्ते डर नराखी अगाडि हेर्ने आँट गर्नुहुन्छ र कुनै कुरामा लिप्त नभइ आफूलाई छोडिदिनुहुन्छ तब तपाईंभित्र अविश्वसनीय कुरा उजागर हुन्छ। आफूभित्रको हरेक कुराको यथारूपलाई आँखा जुधाएर हेर्दा र त्यसको उपस्थिति स्वीकार गर्दा त्यसले तपाईंलाई टोक्दैन, आक्रमण गर्दैन, चोट पुर्‍याउँदैन अथवा बशीभूत पार्दैन। बरू मुक्त पार्छ।

शान्तिसँग यी र यस्ता थुप्रै संवाद भए। र अन्तत: म केही समयका लागि स्पेन फर्किनु नै उत्तम हुन्छ भन्ने निर्णयमा पुगेँ। यो निर्णय शान्तिलाई पनि सुनाएको थिएँ। म हिँड्नु भन्दा केही दिन अघि उनले भनिन्, ‘सर, तपाईंलाई विदा गर्न म पनि काठमाडौँ जान्छु।’

मेरो भरखरै पारपाचुके भएको थियो। आजसम्मका अनुभव सम्झिल्याउँदा भावनात्मक दृष्टिले यो वर्ष मेरा लागि आजसम्मका कठिनतम दुईवटा वर्षहरूमध्ये एक थियो। त्यही मनोदशामा म घर फर्किन लाग्दै थिएँ। सायद यही बुझेर होला, शान्ति मलाई विदा गर्न काठमाडौँसम्म जान्छु भन्दैछिन्। सोचेँ… यी परी मलाई साथ दिनकै निम्ति विदा गर्ने निहुँले सँगै काठमाडौँ जान खोजिरहेकी छन्। म उनीप्रति अर्को एकपटक आभारी भएँ। मलाई ढुक्क भएर घर जाने तयारी गर्न अनुरोध गर्दै शान्तिले भनेकी थिइन्, ‘तपाईंलाई आराम चाहिएको छ। तपाईंले अरूलाई विश्वास गर्न सिक्नुपर्छ। त्यसो हुँदा म यहाँ अझ राम्रोसँग बहिनीहरूको रेखदेख गर्न सक्छु।’

हाम्रो बातचित भएको दुई दिन पछि। पहाडका खोँचहरूबीचबाट अघि बढ्दै हामी काठमाडौँ पुग्यौँ। ट्याक्सी लिएर ठमेलस्थित एउटा ट्राभल एजेन्सी गयौँ र स्पेन जाने जहाजको टिकट काट्यौँ। अनि सधैँ बस्ने गरेको होटल जाने सल्लाह गरेर निस्कियौँ। पैदलै जान मन भयो, सडकको किनारैकिनार हिँड्न थाल्यौँ।

हिँडेको करिब आठ मिनेट पछि हाम्रा पछाडि मान्छे चिच्याएको आवाज सुनियो। फर्केर हेरेँ, मान्छेहरू अस्तव्यस्त पारामा यताउता कुद्दै थिए। बुङ्बुङ्ती धुलो उडिरहेको थियो। लगत्तै थाहा पाएँ, धर्ती गडगडाएर कामिरहेको छ। त्यसरी मान्छे चिच्याएको सुनेदेखि धर्ती कामिरेहेको थाहा पाउँदासम्म बढी से बढी चार सेकेण्ड बितेको हुँदो हो।

शान्ति भयग्रस्त स्थितिमा सडकबीच स्तब्ध उभिएकी थिइन्। नजिक गएर च्याप्प समाएँ। हामी कसोकसो लरखराउँदै पल्लो पैदलमार्गतिर अघि बढ्यौँ। त्यतातिर अलि कम भवनहरू थिए। हिँड्दाहिँड्दै, हेर्दाहेर्दै करिब पचास मिटर पर्तिर बिजुलीको खम्बा ढल्यो। लगत्तै पर्तिर अर्को खम्बा ढलेर गुड्दै गरेको ट्याक्सीमाथि बज्रियो। अब कता जाने? निर्णय गर्न सकिरहेको थिइनँ। म एकदम तनावग्रस्त भएँ, र होसियार पनि।

हामी सडककिनारमा बनाइएको फलामे बारमा दह्रो समाएर रोकियौँ, त्यत्ति गर्न सक्यौँ। भूकम्पको पहिलो धक्कापछि हाम्रो त्रासलाई एकैछिन विश्राम नदिइ थुप्रै परकम्पहरू आइरहे। मान्छेहरू परकम्पहरूकै बीच रूँदै, घाउचोट सुम्सुम्याउँदै, लालाबाला घिसार्दै खुला ठाउँतिर दौडिरहेका थिए। उनीहरूका अनुहार व्यग्र, त्रसित र निसहाय देखिन्थे।

एम्बुलेन्स र अग्निनियन्त्रक गाडीहरूको साइरन पहिलो पटक हाम्रा कानमा पर्दा पनि परकम्पहरू आइरहेकै थिए। छेउछाउ कतै सुरक्षित ठाउँ थिएनन्। सडक गाडी र मान्छेको भीड र कोलाहलले भरिएको थियो। सडककिनारमा लडेका वा लड्न लागेका पर्खाल र बिजुलीका खम्बाहरू थिए। कता चैँ जानु? म सोच्दै थिँए। मान्छेको एक हुल करिब सय मिटर परको एउटा सरकारी भवनतिर जाँदै थियो। हामी त्यही भीडका पछि लाग्यौँ।

भित्र फराकिलो चौर रहेछ। मलाई औधी सहज र ढुक्क लाग्यो। तर अलिक सजिलोसँग बस्न मिल्ने ठाउँ खोज्नै नपाई अर्को गतिलै पराकम्प आयो। छातीमा अर्को एउटा गाँठो पर्‍यो। शान्ति बिलखबन्द थिइन्। परकम्पको झट्काले अजाट्टिएर उनी शरणको खोजीमा मेरो छातीमा अनुहार लुकाउन आइपुगिन् र दुवै हातले मेरा कुममा च्याप्प समाइन्। त्यसपछि पनि साना परकम्प नबिसाई आइरहे। हामीले निमेषभर ढुक्क महसुस गर्न पाएनौँ।

मूल धक्काले हानेको करिब चालिस मिनेट पछि आएको परकम्पका बेला शान्ति र मेरा आँखा जुध्न पुगे। हामी केही नबोली एकअर्कालाई हेरेर उभिइरह्यौँ। उनी आफूप्रतिको सजगता पुन: प्राप्त गर्न खोजिरहे झैँ लाग्थिन्… भयातंकित स्थितिप्रतिको सजगता, बिथोलिएको श्वासप्रश्वासप्रतिको सजगता, यन्त्रणाप्रतिको सजगता, मेरो हातले उनको हातमा छोएकोप्रति सजगता। उनको हेराइले मलाई पनि आफू बाँचिरहेको क्षणप्रति सचेत बनायो। कुनै संरचना भत्किएर हामीमाथि बज्रेला भन्ने पीरले सिर्जना गरेको आतंकप्रति र मरिने पो हो कि भन्ने सन्त्रासप्रति सचेत बनायो।

मैले उनको हात समाएँ र छालामा सुम्सुम्याउ थालेँ, त्यसैमा सम्पूर्ण ध्यान केन्द्रित गरेँ। उनको हातमा गोलाकार तरिकाले बुढी औँला घर्षण गर्दा महसुस भइरहेको नरमपनामा, उनको नाडी समाइरहेका मेरा औँलामा परेको मिठो दबाबमा सारा ध्यान लगाएँ। फेरि केही मिनेट बित्न नपाउँदै नयाँ परकम्पले हामीलाई शरीरभित्र र बाहिर दुबैतिर हल्लायो। तर यसपटक हामीले एकअर्काका आँखामा थामिएका नजर बिथोलिन दिएनौँ, सन्त्रासलाई हामीमाथि नियन्त्रण जमाउन दिएनौँ। बरू आआफ्नो शरीरको गति र लयप्रति सचेत रह्यौँ। यस क्षणपश्चात् शान्तिमा गजबको शान्तपन देखिन थाल्यो। उनी घरिघरि मुस्कुराउँथिन् पनि। मानौँ भन्न खोजिरहेकी थिइन्, ‘हामीले गर्न सक्ने केही छैन। त्यसैले भयको जञ्जालमा नफसी धैर्यतापूर्वक पर्खौँ। बरू यसै क्षणको आनन्द लिउँ।’

मलाई अचम्म लाग्यो, अविश्वसनीय पनि। केही मिनेट अघिसम्म उनी भयको शिकार भएकी थिइन्। तर अहिले उनको ‘यथा…उपस्थित’ अन्दाज सक्रिय भएको छ। प्रशान्ति र स्वीकारोक्ति प्रादुर्भाव भएको छ। भनिरहेको छ… सबै कुरा ठिक छ, नसोचेको कुरा अकस्मात भएको मात्र हो, केही मिनेटका लागि पूर्णरूपमा दिशाहीन र दिग्भ्रमित भइएको मात्र हो।

यो केवल थप एउटा अनुभव हो, साक्षीभावले अवलोकन गर्न सकिने नयाँ संवेगहरू हुन्। यिनले हामीलाई जीवनप्रतिको आशक्त अनुरागबारे केही नयाँ सिकाउन सक्छन्। यो बोध गर्न शान्तिको शरीरलाई केही समय लाग्यो, धेरै होइन। एकातिर नयाँ परकम्पको डर, अर्कातिर शरीरमा उत्पन्न भइरहने संवेग र अनुभूतिहरू। एकातिर दिमागमा झुल्किँदै हराउँदै गरिरहेका सोच र आवेग, अर्कातिर समग्र सजगता वर्तमानमा केन्द्रित गर्ने प्रयत्न। म यिनै एकातिर र अर्कातिर घरि यता घरि उता गरिरहेको थिएँ। यसरी नै हाम्रो तीन घण्टा बित्यो। परकम्पहरूबीचको अन्तराल लम्बिन थाल्यो। रात पर्न केही घण्टा मात्र बाँकी थियो।

बेलुका कता जाने, के गर्ने, के खाने, कहाँ खाने अत्तोपत्तो थिएन। हामीसँग घाम अस्ताएपछि चिसिने रात कटाउन पुग्दो लुगा थिएन। घरि साना, घरि ठूला परकम्प तारन्तार आइरहेकाले कुनै भवनमा घुसेर रात बिताउने आँट पनि थिएन। अकस्मात सम्झेँ… बेलायती दूतावास धेरै टाढा छैन, पन्ध्र मिनेटमा पुगिँदो हो। यो कुरा शान्तिलाई सुनाएँ। आजको रात कहाँ बिताउनु उपयुक्त होला भनेर दूतावासका मान्छेले सल्लाह देलान् भन्ने मेरो आशा उनलाई चित्त बुझ्यो।

हामी पर्खाल र भवनहरूसँग केही मिटरको दूरी कायम राख्दै दूतावास पुग्यौँ। मूल ढोकामा सुरक्षाकर्मीले पासपोर्ट मागे। मसँग थियो, देखाइदिएँ। शान्तिसँग थिएन, भित्र छिर्न मिल्दै भने। भित्र गएर कुनै उपाय लगाउन सकिएला सोचेर म शान्तिलाई बाहिरै छोडेर दूतावास छिरेँ। व्यवस्थापनमा भिडिरहेजस्तो देखिने एकजना कर्मचारीका नजिक गएँ र हात जोड्दै आफ्नो कुरो बिन्ती गरेँ। उनले भने, ‘माफ गर्नुहोला, यहाँ त युरोपियन युनियनका नागरिक र तिनका परिवारलाई मात्रै भित्र ल्याउन मिल्छ।’

पहिलो, मेरो अनुनयले ती कर्मचारीको मन पग्लिएन। दोस्रो, उनी केवल दूतावासमा हुनसक्ने अथाह भीड रोक्न युरोपियन युनियनका नागरिक बाहेक अरूलाई भित्र छिर्न नदिनु भन्ने ‘माथिको आदेश’ पालना गरिरहेका व्यक्ति थिए। त्यसैले उनले मलाई सकारात्मक निर्णय दिन सकेनन्। जसै म शान्तिका चिन्ताले तानिएर दूतावास बाहिर निस्कन खोज्दै थिएँ, ती कर्मचारीले मलाई राजदूतसँग कुरा गर्न सुझाए। भने, ‘के थाहा उनले परिस्थितिलाई बुझेर अपवादका रूपमा शान्तिलाई भित्र छिर्ने अनुमति दिइहाल्लान् कि!’

राजदूत भूकम्पबाट भएको क्षतिको सूचना संकलन गर्न र दूतावासमा शरण परेकाहरूलाई आवश्यक आपत्कालीन योजना बनाउन अति व्यस्त थिए। उनलाई गोर्खा सैनिकको एउटा समूहले साथ दिइरहेको थियो। ती सेनाले मलाई राजदूतछेउ पर्नै नदिउँला झैँ गरे। तर मलाई छक्क पार्दै एकजना उच्च ओहोदाका जस्ता लाग्ने व्यक्ति मेरो नजिक आए, सायद मेरो अनुहारमा झल्किएको त्रास र निसहायपन देखेर होला। उनले मेरा कुरा ध्यानपूर्वक सुने। चित्त बुझेछ क्यारे, आवश्यक सबै व्यवस्था मिलाइदिएर तिनले मलाई केही सुरक्षाकर्मीका साथ दूतावासको प्रवेशाद्वारतिर पठाए। जाँदाजाँदै उनले एउटा कुरो थपे, ‘तपाईं यहाँ एक रात बस्न सक्नुहुनेछ।’

मैले उनीतिर हेरेर खुट्टैमा ढोगुँला जसरी धन्यवाद भनेँ।

शान्तिलाई बाहिर ढोकामा छोडेको करिब एक घण्टा बितिसकेछ। त्यो बीचमा चारपटक परकम्प गइसकेको थियो। तीमध्ये एउटा त यति ठूलो थियो कि दूतावासको सुरक्षार्थ मूल गेटमा बसेका सैनिक पनि काम छोडेर खुला स्थलतिर भागेका थिए। दूतावासभित्र भएका बेला परकम्प आएपिच्छे मैले बाहिर एक्लै पर्खिरहेकी शान्तिबारे सोचेँ। त्यसबेला म हरदम एउटै दुविधामा परिरहेँ… शान्तिसँगै हुन बाहिर जाउँ कि दूतावासका कर्मचारीलाई अनुनय गर्न भित्रै बसिरहुँ!

शान्तिलाई लिएर दुतावासभित्रको सुरक्षित परिवेशमा पसेपछि मैले जीवनमा कहिल्यै महसुस नगरेको राहत महसुस गरेँ। भित्र पसेलगत्तै मैले उनलाई कसेर अंकमाल गरेँ, अंकमालका क्रममा मेरो ढाड सुम्सुमाइरहेका उनका हात महसुस गरेँ। केही सेकेण्डपछि मलाई ज्ञान भयो, भूकम्पको व्यथा र सन्तापबाट मुक्ति पाइएला भन्ने सोचेर हुरूक्क हुञ्जेल एउटा शरणस्थल खोजी गर्दैगर्दा मैले आफूभित्र कति धेरै तनाव जम्मा गरिसकेछु!

दूतावासभित्र फराकिलो चौरमा मलगायत अरू धेरैजनासँग सुरक्षित रहन पाउँदा शान्ति प्रशन्न थिइन्। तर उनले त्यहाँ भएका बाहेक अरू मान्छेबारे नसोचिरहन पनि सकिनन्। ती मान्छे जसले आजकै रातका लागि भए पनि सुरक्षित स्थल पाउन नसक्लान्, ती मान्छे जसको प्राण भूकम्पले लिएर गयो, ती मान्छे जो ढलेका घरका ढुङ्गा, माटो, ईंटा, काठ वा सिमन्टीले पुरिएर निसासिरहेका छन्।

उनी मेरो दाहिने कानछेउ आएर फुसफुसाइन्, ‘कति मान्छे पानी समेत पिउन नपाई बसेका होलान्, आफ्ना परिवारजन जिउँदै छन् कि मरे थाहा पाउन नपाएर छटपटीमा होलान्, उज्यालो नपाएर कष्टदायक अँध्यारोमा तड्पिरहेका होलान्। यस्तो बेला आफू भने यति भव्य र सुरक्षित ठाउँमा हुँदा कस्तोकस्तो असजिलो, नरमाइलो लागिरहेको छ, सर।’

नेटवर्क नभएर वा व्यस्त भएर दूतावास परिसरका प्रायः कसैको मोवाइल काम गरिरहेको थिएन। मेरो ब्याट्री निख्रिन लागेको थियो। भूकम्पको खबर संसारभर फैलिइसक्यो होला, मेरा परिवारसम्म पनि पुगिसक्यो होला। तर मैले आफू सकुशल छु भनेर सम्पर्क गरेको थिइँन। खासमा सम्झेकै थिइँन। भाग्यवस्, मेरो मोबाइल परमधाम भएर बाहिरी संसारसँग सम्पर्क टुट्नु अघि मेरी भूतपूर्व श्रीमतीले फोन गरेर आश्वस्त पारिन्, ‘पीर नगर्नु, म तपाईंकी आमालाई फोन गरेर तपाईंलाई ठिकै छ भन्ने खबर सुनाइदिउँला।’

करिब तीसवटा परकम्पसँग साक्षात्कार गर्दै दूतावासमा दुई रात बिताएपछि मैले मेरो स्पेन यात्रा स्थगित गर्ने निर्णय गरेँ। केही नगरी दूतावासभित्र समय कटाउन पनि पट्यारलाग्दो भइरहेको थियो। त्यसैले मैले सम्भव भएसम्म चाँडो हेटौँडा फर्किने र त्यो भेगका भूकम्पप्रभावित घरपरिवारलाई सकेसम्म सहयोग गर्ने विचार गरेँ। शान्ति पनि भूकम्प र परकम्पका कारण झरेका सानाठूला थुप्रै पहिरो छिचोल्दै हेटौँडा फर्किने जोखिम उठाउन तयार भइन्।

दूतावास बाहिरको काठमाडौँ चिन्ताजनक अवस्थामा थियो। कोही पनि घर वा डेराभित्र सुत्ने आँट गरिरहेको थिएन। भएजति खुला ठाउँ भिडले ढाकिएको थियो। तर यस्तो कठिन समयबीच पनि मैले यसअघि कहिल्यै नदेखेको एउटा अनौठो कुरा देखेँ… नेपालीहरूबीचको उच्च स्तरीय एकता। घाइतेको उपचारमा खट्नु, अत्यावश्यक औषधि र पिउने पानी वितरण गर्नु, भएका खानेकुरा बाँडचुँड गरेर खानु, सबैजना मिलेर त्रिपालको ओतमा रात काट्नु जस्ता कुरा अत्यन्त स्वाभाविक र सहज रूपमा भइरहेका थिए।

आफ्नै जीवनको सुरक्षाबाहेक अरू कुराको खासै महत्व नहुने शुरूवाती भय मथ्थर हुँदै गएपछि र भूकम्पबाट पुगेको क्षतिबारे प्रारम्भिक जानकारी भेला गरिसकेपछि हामीलाई सकेसम्म चाँडो हेटौँडा फर्किनु आवश्यक छ भन्ने लाग्यो। हामीले सुरक्षित स्थानमा समय बिताउन दिएकोमा दूवावासका मान्छेहरूलाई धन्यवाद दियौँ र ट्याक्सी लिएर बल्खुतिर लाग्यौँ। बल्खुबाट  सुमो चढेर हेटौँडातिर लाग्यौँ। बाटामा काँचो ईंटले बनेका, माटोको लिउन लगाइएका थुप्रै घरहरू भूकम्प र परकम्पले थाङथिलो भएका देखिए। हामी एकाबिहानै यात्रा गरिरहेका थियौँ। बाटामा मान्छेहरू कतै प्लाष्टिक टाँगेर सुतिरहेका थिए, कतै विहानको ठिहीबाट बच्न आगो दन्काएर झुरूप्प बसेर बात मारिरहेका थिए।

स्वाभाविक चलिरहेको जनजीवन उथलपुथल पार्ने गरी, बाँच्नका निम्ति नयाँ चुनौती सामना गर्न बाध्य पार्ने गरी घटेको त्यत्रो प्राकृतिक घटनाका बावजुद पनि गाउँघरमा मान्छेहरू सहज र शान्त तरिकाले अघि बढ्न कोसिस गरिरहेको देखेर म नेपालमा फेरि एकपटक चकित परेको थिएँ। शान्ति सधैँभन्दा बढी शान्त देखिएकी थिइन्। सम्भवत: नष्ट भएका घर, भताभुङ्ग अवषेश र सन्नाटामा हराइरहेका सयौँ मानिसका अनुहारहरूको दृश्यावली हेर्दै गुज्रनु परिरहेकाले होला, हामी दुबैजना गाडीमा कम बोलिरहेका थियौँ। बोलेकै थिएनौँ भने पनि हुन्छ। हामी सकेसम्म चाँडो शान्तघरका बहिनीहरू भएठाउँ पुग्न, बुताले भ्याएसम्म आपतकालीन राहत सहयोग लिएर भूकम्पपीडित मानिसहरूसम्म पुग्न चाहन्थौँ।

हेटौँडा जाने क्रममा हामीले देख्यौँ… भूकम्पले ठूला शहरमा भन्दा गाउँमा बढी उपद्रो गरेछ। अधिकांश नयाँ घर ठाडै देखिन्थे, अथवा सामान्य क्षति पुगे पनि बस्न सकिने अवस्थामा थिए। अलि बाठा र भाग्यमानी पीडितहरूले आफ्नो क्षतिग्रस्त घरका कुच्चिएका थोरबहुत जस्तापाता बटुलेर अस्थाई टहरा बनाई ओत लाग्ने ठाउँ तयार पारिसकेका थिए। तर खर वा परालको छानो भएकाहरू भने प्लाष्टिक अथवा सेउलापातको नाजुक ओतमुनी झोक्राइरहेका थिए।

सुमोले हेटौँडा बजारमा उतारेपछि शान्ति बहिनीहरूलाई भेट्न शान्तघरतिर हानिइन्। म हेटौँडा बजारस्थित हाम्रो कार्यालय गएँ, कर्मचारी साथीहरूसँग भेटेर अब कसरी अगाडि बढ्ने सल्लाह गर्ने हुटहुटी जो थियो। मौरी पारामा खटेर त्यसै दिन हामीले भूकम्पबाट जिल्लामा सबभन्दा बढी प्रभावित गाउँहरूबारे पत्ता लगायौँ। जिल्ला प्रशासन र जिल्ला प्रहरीबाट पुग्दो सहयोग प्राप्त भयो। पहिलो चरणको जानकारी संकलन गरिसकेपछि हामी बजार गयौँ, र राहतको लागि पहिलो खेप किनमेल गर्‍यौँ। त्यसमा औषधिहरू, त्रिपालहरू, चामल, दाल, नुन र तेलहरू थिए।

भोलिपल्ट हामीले दुईवटा जीप भाडामा लियौँ र हिजो किनेका सामान बोकेर गाउँगाउँ जाँदै अत्यावश्यक देखिएका ठाउँमा बाँड्न थाल्यौँ। त्यसपछिको करिब डेढ महिना त्यसरी नै चल्यो। पसलहरूबाट सरसामान किन्ने, गाडीमा हाल्ने अनि बाँड्नका लागि गाउँगाउँ जाने। राहत वितरण गर्न गएका कतिपय ठाउँमा भूकम्प पीडितहरूको भीड यति ठूलो र अस्तव्यस्त हुन्थ्यो कि व्यवस्थापनका लागि प्रहरीको सहयोग लिनु पर्थ्यो।

धेरैको घर पुरै भत्किएको थियो, भएभरको अन्नपात भग्नावशेषमा पुरिएको थियो। त्यसैले राहत बाँड्ने ठाउँमा कोही ओत लाग्ने त्रिपालको आश गरेर आएका हुन्थे, कोही अलिक दिन सजिलोसँग बाँच्न पुग्ने रासनको आश गरेर आएका हुन्थे। कति मान्छे हुल बाँधेर पाँच‘छ घण्टा हिँड्दै आइपुगेका हुन्थे र हात लागेको राहतको पोको डँडाल्नामा बोकेर त्यति नै लामो बाटो घर फर्किन्थे।

त्यस्तो मानिसहरूबीच त्यति चाँडै पुग्न पाएकोमा र तिनका पीडामा मलमपट्टी गर्न पाएकोमा एकमन त म खुशी नै थिएँ। तर तिनका टिठलाग्दा सुकेनास खुट्टाहरू देख्दा, वर्षौँदेखि खेपिआएका कठिनाइका बोझले असमयमै बुढिएको थकित अनुहार देख्दा, भरखरै आइलागेको बिपत्तिले बिच्क्याएका आँखाहरू देख्दा, अनि जीवनमा यतिबिधि कष्ट हुँदाहुँदै पनि जसोतसो आफ्नै वरिपरिको माटो खनीखोस्री बाँच्ने आशा नमारेको देख्दा मेरो मन नदुख्नु सम्भव थिएन। धेरैजसो घर गुमाएका, कोही बाबुआमा गुमाएका, कोही दाजुभाइ दिदीबहिनी गुमाएका, कोही छोराछोरी गुमाएका मान्छेहरूले बाँच्नका लागि यस्तो कठिन स्थितिको सामना गर्नुपरेको देख्दा मनमा दु:ख नै बढी लाग्दोरहेछ।

शान्ति शान्तघर पुगेपछि त्यहीँ व्यस्त भइन्। उनलाई काठमाडौँबाट फर्केको देख्दा हर्षविभोर बनेका बहिनीहरू उल्लासका चित्कार छोड्दै उनलाई स्वागत गर्न प्रवेशद्वारसम्मै आइपुगे। शान्तघरका भवनहरू सामान्य चर्केका मात्र थिए, खासै ठूलो क्षति भएको थिएन। तथापि, परकम्पले घरका भित्ता वा छानो झारेर किचिहाल्ला कि भन्ने डरले सबैजना दुई दिनदेखि आँगनमै सुतिरहेका थिए।

शान्ति शान्तघर पुग्नासाथ सबै नानीहरू र सेविका दिदीहरू भेला गरेर दुई घण्टा जति सँगै बसिन्, उनीहरूका अनुभव विस्तारमा सुनिन्। भूकम्प आउँदा को, कहाँ, के गर्दै थियो? कसलाई के भयो? कत्तिको डर लाग्यो? खानपिन र अरू व्यवस्था कसरी मिलाइयो? सबै बुझिन्। बहिनीहरूले तीब्र र गहिरा संवेगका साथ घरि हाँस्दै र घरि रूँदै आफ्ना कथा सुनाए। शान्ति तिनका उत्तेजित आवाज सुनेर र चलायमान आँखा हेरेर तिनले भोगेका तर व्यक्त गर्न नसकिरहेका त्रासदीको पनि अनुमान लगाउन सक्थिन्।

शान्तघरमा धेरै दिनसम्म खाना बाहिर खुला ठाउँमै पाक्यो। सबैजना आँगनमा पाल टाँगेर सुते। खासमा त्यो अनुभव उनीहरूका लागि क्याम्पिङ जस्तो हुन गयो, एउटा नयाँ अनुभव जसबाट उनीहरूले आंशिक आनन्द पनि लिए।

त्यस दिन, दिन पनि के भन्नु रातै परिसकेको थियो, हेटौँडा बजारमा कर्मचारी साथीहरूसँग सरसल्लाह सकेर म रातविरात शान्तघर पुगेँ। केहीबेर नानीहरूका कथा सुनेँ र शान्तिसँग सल्लाह गर्न बसेँ। हामीले भूकम्पका कारण बन्द भएको स्कूल सुचारू नहुञ्जेलसम्मका लागि नानीहरूका निम्ति दैनिकी तयार गर्‍यौँ, क्रियाकलापहरूको योजना बनायौँ। शुरूमा उनीहरूलाई भूकम्पका गएका बेला र त्यसपछि महसुस भएका डरत्रासहरूलाई चित्रमा उतार्न लगाउने, त्यसपछि नाटकहरू तयार गरेर खेल्न लगाउने, फुटबल लगायतका खेल खेलाउने र नाचगान सिकाउने एकजना शिक्षक पनि बोलाउने निर्णय गर्‍यौँ। यसरी खेलहरूमा, अन्य गतिविधिमा, घरमा, गोठमा र करेसाबारीमा व्यस्त भएपछि तिनका दिमाग हलुका हुनेछन् र स्कूल लाग्नु अघिका पट्यारलाग्दा दिन सजिलै कटाउन सक्नेछन्। हामीले यस्तो सोच्यौँ।

दुई महिना लामो घनिभूत आपत्कालीन सहयोग कार्यक्रम चलाएपछि समग्र परिस्थिति सामान्य हुँदै गयो। हाम्रासामु अझै पनि दीर्घकालीन पुननिर्माणको विशाल काम बाँकी नै थियो। त्यसका लागि समय र स्रोत चाहिन्थ्यो। अनि मलाई प्रष्ट भयो… म सकेसम्म चाँडो स्पेन जानुपर्छ र स्रोत जुटाउन लाग्नु पर्छ।

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

 ५ एक अविस्मरणीय सिकाइ

६ भोलापनको दुनियाँ

७ लालसाका दास

८ आमोद प्रमोद

९ गाउँको माहोल

१० घरफिर्ती

११ नमिठो वापसी

१२ आश्रय

१३ पूर्वबाट पश्चिम

१४ अर्को संसार

५ हडबडी

१६ प्रेमयात्रा

१७ दुःख

१८ रसिला

१९ जीवनलाई स्वागतम्

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *