रामेछापको जीवन

आठ वर्षकी हुँदा शान्तिले चुलोचौको सम्हाल्न थाललिसकेकी थिइन् । फूलमायालाई मेलापात जान बढी समय मिलेको थियो । त्यसो हुँदा घरमा पैसो पनि बढी आउन थाल्यो । मकैको पिठो, नुनभुटुन र मरमसला किन्न विसेक सजिलो हुँदै गयो ।

कपिल काठ काटेर, ढुङ्गा फोरेर गुजारा गर्थे । ज्याला बढी थियो तर सधैँ काम पाइँदैनथ्यो । ज्याला थापेका दिन भक्कु रक्सी पिएर घर फर्किन्थे । प्रायः गोजीमा पैसा रहँदैनथ्यो । घरको काममा, छोराछोरीको स्याहारमा समय र ध्यान दिँदैनथे । यी अनेक कारणले पनि शान्तिले बालखैमा चुलाचौका सम्हाल्न सिक्नु परेको थियो । भाइबहिनी हेरविचार गर्न र घरायसी काम सिकाउन जान्नुपरेको थियो ।

हरेक बिहान सबभन्दा पहिला फूलमाया उठ्थिन्, पाँच बजेतिर । धरामा मिरमिरे उज्यालो छरिनुअघि नजिकैको खोल्सामा गएर नित्य कर्म निप्ट्याउँथिन् र हात मुख धोएर घर फर्किन्थिन् । अनि शान्तिलाई उठाउँथिन् । शान्ति उठेर आमालाई गाई दुहुन सघाउँथिन् ।

गाई छिमेकीसँग ऋण काढेर ल्याइएको थियो । फूलमायाले दुध दुहुन तोरीको तेल दलेर गाईको फाँचो मोलिरहँदा शान्ति सिसीमा झुम्राको सलेदो हालेर बनाएको बत्तीको धिपधिपे उज्यालो देखाइदिन्थिन् । दुध दुहेर ल्याएपछि शान्ति अगेनामा झिँझा झोसेर आगो बाल्थिन् । दुध उमाल्थिन् । फूलमाया अरू भुराभुरीलाई उठाउन कराउँदै खित्रिङमित्रिङ गरिरहन्थिन् । सविन तीन वर्ष पुगिसकेको थियो । उसलाई उठ्नेबित्तिकै आमाको दुध चुस्नु पर्थ्यो ।

उनीहरूको घर एक कोठे थियो । पकाउने, खाने, सुत्ने सबै त्यहीँ । घरको भुईं र टाँड माटोले लिपिएको थियो ।अगेनाको न्यानोले भेट्ने ठाउँमा परालका गुन्द्री ओछ्‌याउँथे र सबैजना टाँसिएर सुत्थे । तैपनि जाडो याममा सबैजना कठ्याङ्ग्रिएका हुन्थे । ठिही कस्तो भने त्यसैका कारण गाउँमा बच्चा प्रायः बिमारी परिरहन्थे, कतिको ज्यानै जान्थ्यो । सबभन्दा बलिया, राम्ररी खानपान गर्न पाएका, केही रूपैयाँ जोगाएर तीन घण्टा परको बजारबाट औषधीमूलो ल्याउन सक्नेहरू बाँच्थे ।

फूलमाया प्रायः हरेक बिहान आधा ग्लास दुध पिएपछि मायालाई लिएर जंगल जान्थिन् । गाईबाख्रालाई घाँस र सोत्तर ल्याउँथे । शान्तिचाहिँ घरमा सविनको रेखदेख गर्दै बहिनी प्रमिलाको सहयोग लिएर खाना बनाउँथिन् । म कहिलेकाहीँ उनीहरूको छाप्रो हुँदै घुम्न निस्कँदा सबै थाहा पाउँथेँ । शान्ति मलाई बाटोमा देख्नेबित्तिकै चिया पिउन बोलाइहाल्थिन् ।

कहिलेकाहीँ म उनको आग्रह टार्न नसकेर उनीहरूका घरमा उक्लिन्थेँ । चिया पर्खिएर आँगनमा फलेकमाथि बसिरहँदा मेरो काम केही हुँदैनथ्यो । त्यसैले सविनको चालामाला नियाल्थेँ । देख्थेँ- घरमा उसको खास जिम्मेवारी थिएन, जस्तो छोरीहरूको थियो । ऊ प्राय: कुखुराको अघिपछि दगुरिरहेको हुन्थ्यो, फुक्काफाल । चल्लो कब्जामा लिने बालसुलभ प्रयत्नमा घरिघरि सफल हुन्थ्यो तर हातले समाउँदा चल्लो निसास्सिन खोजेको पत्तो पाउँदैनथ्यो ।

म तनाव, चिढचिढाहट, दिक्दारी वा हडबडीबाट मुक्त र स्वच्छन्द गाउँले जीवन नियाल्न पोख्त भइसकेको थिएँ । यसरी नियाल्न पाउँदा मलाई आनन्द लाग्थ्योतर म हेर्नेलाई मात्रै आनन्द । भोग्नेलाई के आनन्द होला र ? भोग्नेलाई त जीवन साह्रै कठिन थियो । गाउँलेको औसत आयु पचास वर्षभन्दा कम थियो । बाल मृत्युदर अत्यधिक थियो । जो जतिञ्जेल बाँच्थे ती साँच्चै बाँच्थे- वर्तमानमा, यो क्षणमा । यहाँका मान्छेले बिताउने हरेक क्षण, हाउभाउ र मुस्कानमा जीवनप्रतिको आशा र उत्साह मिसिएको देखिन्थ्यो ।

मैले यहाँ शान्तिप्रति सबैभन्दा बढी लगाव महसुस गरेँ । उनले सागसब्जी काटेको, बढारकुँडार गरेको, नजिकैको खोल्सामा गएर भाँडा माझेको वा बहिनीहरूलाई लुगा लगाइदिएको हेरेर घण्टौँ बिताउन सक्थेँ । उनका हरेक हाउभाउले मलाई असीम शान्ति र अनुभूति गराउँथे । सायद मेरो जीवनमा सधैँ यी कुराको अभाव भएर होला । त्यसैले यो अनकण्टार गाउँमा मलाई एउटा बच्चाले दिन सक्ने सर्वोत्तम उपहार यिनै थिए ।

शान्तिका हातले दाउराका हाँगाबिँगा काटिरहँदा त्यसलाई कसिलो गरी आत्मविश्वासका साथ समाएको हुन्थ्यो । हात जति कसिलो भए पनि हाउभाउ र भावमा भने दया र न्यानोपन नै झल्किरहेको हुन्थ्यो । निकै जोडबल लगाएर गर्नुपर्ने काममा लागेका बेला समेत अनुहारमा कुनै तनाव देखिँदैनथ्यो । त्यसैले उनलाई नियालिरहँदा मेरो हृदयबाट अनायासै गीत निस्कन्थे । नाचौँ, उफ्रौँ, निस्फिक्री कराउँ जस्तो लागेर आउँथ्यो ।

केही काम परेर बहिनीहरूलाई बोलाउँदा उनको स्वर कोमल र आनन्ददायी सुनिन्थ्यो । कुनै बहिनीलाई केही कुरामा हकार्नु पर्दा गालीमा पनि स्नेह मिसिएको हुन्थ्यो । यो कुरा अधिकांश गाउँलेको कठोर र रूखो पाराभन्दा बिल्कुलै फरक लाग्थ्यो । उनी त्यस्तो हुनु सायद गाउँलेहरूको सौभाग्य पो थियो कि ? मलाई यस्तै लाग्थ्यो ।

सविन बुवाआमाका लागि कति मूल्यवान र महत्त्वपूर्ण छभन्ने कुरा शान्तिलाई सानै देखि थाहा थियो । त्यसैले उनले सविनलाई केही नराम्रो नहोस् भन्ने सुनिश्चित गर्न एउटी असल छोरीका रूपमा सकेजति सबैथोक गरिन्। सधैँ बहिनीहरूलाई भन्दा सविनलाई बढी दुध दिइन् । उसैलाई बढी ध्यान दिइन् । उसैको सिँगान धेरै पुछिदिइन् । रूँदैछ कि, भोकायो कि, लड्यो कि भनेर उसैको धेरै ख्याल राखिन् । दिनभरी उछलकुद गरेर थाकेको भाइलाई राती सुत्ने बेला हातखुट्टाले चपक्क बेरेर सुताइन्, जाडो नहोस् भनेर ।

बुवाआमा कहिलकाहीँ थोरबहुत अन्नपात बेच्न र मरमसला, तेल, साबुन इत्यादि किन्न हाट जान्थे । दुईचार रूपैयाँ बच्यो भने घरमा केरा वा बदाम पनि आइपुग्थ्यो । त्यसरी आक्कलझुक्कल आइपुग्ने मिठा र पोषिला खानेकुराको ठूलो भाग सविनले नै पाउँथ्यो, भलै उसले त्यसको माग नगरेको होस् । दिदीहरूले उसलाई एउटा विशेष खजानाका रूपमा हेर्थे, पाइनसक्नुको सम्पत्ति मान्थे ।

पुरूष सन्तानले स्त्री सन्तानको तुलनामा विशेष स्थान पाउनु यो घरको मात्रै कुरा थिएन । हरेक घरको कथा लगभग यस्तै थियो । समाजको चलनै त्यस्तो । त्यो चलनले भन्थ्यो- भविष्यमा सविनले विवाह गर्नेछ, श्रीमतीसँग मिलेर बाबुआमाको हेरचाह गर्नेछ, परिवारको नेतृत्व गर्नेछ, रक्षक रहनेछ, दिदीहरूको विवाह नहुँदासम्म उनीहरूको पनि रक्षक हुनेछ र पारिवारिक सम्पत्तिको एकल हकदार हुनेछ । किनभने ऊ परिवारको एकमात्र नयाँ पुरूष सदस्य थियो । त्यसैकारण, सानो हुँदा सबभन्दा बढी ख्याल उसैको राखिनुपर्थ्यो ।

गाउँमा एउटा स्कूल थियो- अंग्रेजी अक्षर एल आकारको, चारवटा साना कोठा भएको, ढुङ्गाको गाह्रोमा माटोको लिउन लगाएको, टिनको छानो हालेको ।त्यो स्कूल जतासुकैबाट भत्किन थालेको थियो । चैत-वैशाखको हुरी र बर्खाको पानीले भित्ता उक्काइसकेको थियो । छानामा प्वाल परेका थिए, हावापानी छेक्न नसक्ने हालत थियो । चार मिटर लम्बाइ, तीन मिटर चौडाइका कक्षाकोठामा केही बेञ्च राखिएका थिए र भित्तामा भुईंतिर झुकेको एउटा सानो ब्ल्याकबोर्ड झुण्डिएको थियो ।

सविन चार वर्ष पुगेपछि त्यही स्कूल जान थाल्यो । सविनको कक्षाकोठामा छ वर्ष मुनिका अरू थुप्रै केटाकेटी पनि थिए तर बेञ्च एउटै थिएन । धुलोले ढाकेका र च्यातिन लागेका केही चकटी थिए । त्यसैमा बसेर सविन र उसका साथीहरू गीत गाउँदै, खेल्दै र घरघरि अक्षरहरूलाई सुगाले जस्तो घोक्दै दिन बिताउँथे ।

स्कूले शिक्षाले छोरालाई फाइदा हुनेमा बुवाआमालाई विश्वास थिएन । तैपनि गाउँघरमा लेखपढ गर्न सक्ने हुनुलाई राम्रै मान्न थालिएको थियो । थोर बहुत शिक्षा पाए गाउँमा जीवन विताउनुको कष्ट कम हुन्थ्यो भन्ने ठानेर होला, अथवाडाँडाकाँडा काटेर भारततिर वा खाडीमुलुकतिर गएर कमाइ खान सजिलो होला भन्ने आशले होला । छिमेकीसँगका जमघटमा कपिल सधैँ गुनासो गर्थे, ‘काठमाडौँ जस्ता शहरमा पढेका, पुगिसरी हुनेका छोराछोरीले मात्रै गतिलो काम पाउँछन् । यो ताल न बेतालको गाउँले स्कूलमा केटाकेटी पढाउनु बेकार छ । पछि यिनलाई दुबई, कतार जानुपरे हामी जस्तो जेथा नभएकालाई कसले दिन्छ ऋण ?’

तर अरू बच्चा स्कूल गएको देखेर फुलमायाले जिद्दि गरेर सविनलाई स्कूल पठाइन । कपिलले झिँझो माने तर नाइँ भनेनन् । शान्ति र बहिनीहरूका भाग्यमा स्कूल जाने नलेखिएकाले विहे नहुञ्जेल बाबुआमालाई सघाउनु थियो । चौध–पन्ध्र लागेपछि बिहे गरेर जानु थियो ।श्रीमान्का घर गएर उही भातभान्सा, खेतबारी, छोराछोरी पाउनु, चाक धोइदिनु, सासु-ससुरा स्याहार्नु, लुगा धुनु, गाईवस्तु हेर्नु र लोग्नेलाई मन लागेका बेला उत्तानो परिदिनु । अनि केलाई पढ्नुपर्‍यो यो जातले ? सोच यही थियो ।

गाउँमा परिवर्तन पनि भैरहेको थियो । हरेक बिहान थुप्रै केटाकेटी बाटोमा हाँस्दै, बोल्दै, खाली खुट्टा कुद्दै, डोरी नाघ्ने खेल्दै स्कूल जान्थे । रङ उडिसकेका प्लास्टिकका झोला च्यापेका हुन्थे । झोलामा दुईतीनवटा किताब र कापी हुन्थे । शान्ति ओठमा अधकल्चो मुस्कान पोतेर आँगनको डिलमा उभिएर ती दृश्य ध्यानपूर्वक नियाल्थिन् । हाँसेको, रमाएको देख्थिन् तर कहिल्यै ईर्ष्या गरिनन् । बरू साथीहरू खुशी भएको देख्दा आफू पनि खुशी हुन्थिन् ।

अरूको खुशी, खासगरी बच्चाको खुशीले उनलाई मिठो स्पर्श गर्थ्यो । घरमा फुर्सद पाउने वित्तिकै बहिनीहरूसँग खेल्न, उनीहरूका गालामा अलिअलि हिलो वा धुलो दलिदिन, घर वरिपरि कुद्न, बाख्राका पाठा कुदाउन आनन्द मान्थिन् । समग्रमा भन्दा जीवन्त हुन मन पराउँथिन्, जीवित महसुस गर्न र अरूले हाँसेको हेर्न मन पराउँथिन् । यसै पनि वास्तविक खुशीका लागि चाहिने सबै कुरा उनको सहज पहुँचमा थिए- आकाश, हावा, बादल, रूख, हरियाली, फूल, पानी, मकैबारी र अरू थुप्रै थोक । अनि थिए यी सबै कुरा साझा गर्न मिल्ने परिवार र छिमेकीहरू । खासमा आनन्द महसुस गर्न उनलाई यस्ता कुरा चाहिँदैनथ्यो पनि ।

रामेछापमा जेठअसारका असाध्य गर्मी मध्याह्नहरूमा बाहिरफेर काम गर्न असम्भव हुन्थ्यो । त्यसैले वयस्क र बुढापाकाहरू एक झप्को निदाउने सुरले शीतल छहारीमुनि पल्टिन्थे । केटाकेटी नजिकैको खोल्सामा चिसो पानीमा डुबुल्की मार्न दगुर्थे । उनीहरूले खोल्साको एक ठाउँमा अलि ठूला ढुङ्गाहरूले छेकेर ठिक्कको दह बनाएका थिए । त्यही दहमा भेला हुन्थे ।

कुनैकुनै दिउँसो म टहलिँदै त्यो खोल्सासम्म पुग्थेँ र एउटा अग्लो ढुङ्गामा बसेर आनन्द मान्दै तिनका रमिता हेर्थेँ । तिनका उछलकुद, बाँकटे, पानीमा हातले हिर्काउँदा बनेका लहर, हाँसो, फेदटुप्पो नमिलेका चुट्किला, खेल्दाखेल्दै एउटाको कुहिनाले अर्कोलाई लाग्दा निस्किने झ्वाँक, बगिजाने आँशुहरू र आक्कलझुक्कलका भनाभनको साक्षी बस्थेँ । तिनका झ्वाँक वा भनाभन केवल क्षणिक आवेग हुन्थे वा एउटै चिज धेरैजनामा बाँड्नुपर्ने चुनौतीका नतिजा हुन्थे ।

लुगाफाटा धुन, नुहाइधुवाइ गर्न शान्ति कहिलेकाहीँ बहिनीहरूलाई लिएर खोल्सामा जान्थिन् । उमेरले सानै भए पनि उनीहरू केटाहरूले देख्नेगरी नुहाउन लाज मान्थे र पर्तिरको सानो दहतिर छड्किन्थे । बहिनीहरूलाई सिकाउनका लागि भनेर शान्ति सुरुमा लुगामा साबुन दल्न दिन्थिन् तर भरे आफैँ राम्रोसँग साबुन लगाएर धुन्थिन् । लुगा पखाल्ने बेला सबैजना दहमा पस्थे र उत्साहित हुँदै, खेलेजस्तो गर्दै साबुनको फिँज ननिख्रिउञ्जेल कपडालाई पानीमा चोब्दै, निकाल्दै गर्थे ।

मध्याह्नको घाम ओइलाएर शीतल फर्किएपछि गाउँका केटाकेटी आआफ्ना बस्तुभाउ लिएर आसपासका खेतबारीमा चराउन जान्थे । शान्ति र माया पनि दुईवटा बाख्रा डोर्‍याउँदै साथीहरूसँग मिसिन्थे । बाटामा कुनै समस्या आइलागे साथ मिलोस् भनेर एक्लै जाँदैनथे । वस्तुभाउ चराउन जानु रमाइलो क्षण हुन्थ्यो । माया साथीभाइसँग भेट हुने बित्तिकै बाख्रापाठा बिर्सेर खेल्नमा भुलिन्थिन् ।

शान्ति भने बाख्राका उल्लासपूर्ण हिँडाइ नियाल्दै, तिनले स्वादिला घाँसपात चुँडेर खाएको हेर्दै हरबखत तिनका पछि लागिरहन्थिन् । बाख्राका चालढाल, घाँसपात चपाईरहेका तिनका मुख, ठूल्ठूला चञ्चले आँखा र संसारमा म जति खुशी कोही छैन झैँ बुर्कुसी मार्ने पाठापाठी नियालिरहन्थिन् । बाख्राले अति सानो आवाजसमेत थाहा पाएर त्यतैतिर मुन्टो फर्काएको कुराले, तिनको हाउभाउमा झल्किने अविछिन्न सजगताले र सम्भावित जोखिमप्रति तिनको अटुट सावधानीले उनको ध्यान तान्थ्यो ।

उनलाई हिँडिरहँदा आफ्नो शरीर, त्यसको वजन, मांशपेशीमा पर्ने दवाव, श्वासप्रश्वासको लय, मुटुको धड्कन आदिप्रति सजग रहने र थाहा राख्ने बानी थियो । संवेगहरूप्रति सजग रहेर वर्तमानमा बाँच्न सक्ने क्षमताले उनको मष्तिस्कलाई सधैँ स्फूर्त राख्थ्यो, शान्त राख्थ्यो । उनी दिमागमा कुनै सोचविचार आउँदा त्यो आएको र गएको थाहा पाउँथिन् । शान्ति कुनै लहड, सम्झना, महत्वाकांक्षा वा सपनाले लतारिने लरतरी केटी थिइनन् ।

जीवनले उनलाई गज्जबको क्षमता उपहार दिएको थियो । उनी शरीरमा उत्पन्न हुने प्रत्येक संवेग, मनमा उर्लने प्रत्येक भावना, दिमागमा उम्रिने प्रत्येक सोचप्रति सजग रहन सक्थिन् । मनका उडान वा काल्पनिक बातचितहरूप्रति सजग रहन सक्थिन् । यस्तो क्षमताले उनमा करूणा र कोमलताको आभा सिर्जना गरेको थियो । उनको छेउ पर्ने हरेक व्यक्ति त्यस आभाबाट लाभान्वित हुन्थ्यो । तर कसैले त्यसको कदर वा सराहना भने गर्दैनथ्यो वा गर्न जान्दैनथ्यो । अथवा त्यसो गर्नुपर्छ भन्ने नै ठान्दैनथ्यो ।

गाईवस्तु चराउने ठाउँमा पुगेपछि केटाकेटीहरू ससाना ढुङ्गा भेला गर्थे र एउटा बर्गाकार बनाउँथे । अनि त्यसैभित्र खाली खुट्टा दगुरादगुर गर्दै भेटी खेल्न थाल्थे । शान्ति यदाकदा सहभागी हुन्थिन् । धेरैजसो उनी त्यहाँ भइरहेका कुरा अनुभव र अवलोकन गर्न चाहन्थिन् । साथीहरूका मस्ती, होहल्ला, गालाबाट चुहिइरहेका पसिना, घरिघरि कसैकसैमा देखिने दिक्दारी अथवा थकान नियाल्न चाहन्थिन् । यो सबैथोकको र आफ्नै उत्तेजित मुटुको साक्षी हुन पाउँदा अनायास फुत्किएको मुस्कान थाहा पाउन चाहन्थिन् ।

खेलमा सहभागी नभएका बेला उनी नजिकै रूखको फेदमा गएर बस्थिन् । कमिलाहरूले खानेकुरा ओसारेको, पातपतिङ्गर घिसारेको हेरेर कैयौँ मिनेट बिताउँथिन् । यसरी हेर्दाहेर्दै उनी कमिलाको व्यवस्थित पारासँग, किराफट्याङ्ग्राका टुक्रा मुखमा च्यापेर हिँड्न सक्ने निपूणतासँग र समूहका रूपमा सबैबीच सामञ्जस्यता मिलाएर काम गर्ने शैलीसँग परिचित मात्रै भइनन्, मोहित पनि भइन् ।

बातचित नगरी, होहल्ला नगरी कमिलाहरूले कसरी त्यो स्तरको सामञ्जस्यता र तालमेल मिलाउन सकेका होलान् ?उनको दिमागमा यो प्रश्न धेरैपटक उब्जियो । र एकदिन अकस्मात एउटा झिल्को उठ्यो र भन्यो- कमिलाहरूले बातचित गरे जस्तो लाग्दैन तर तिनलाई प्रकृतिले कुनै न कुनै तरिकाले सञ्चार गर्ने क्षमता अवश्य दिएको छ ।

उनले रूखका फेदमा बसेका बेला कमिलाका ताँती र बादलका नाच नियालेर जीवनबारे धेरै कुरा सिकिन् । त्यसरी बसेका बेला कहिलेकाहीँ कान चनाखो पार्न उनी आँखा चिम्लिन्थिन्र चुपचाप सुन्थिन्- केटाकेटीका हल्ला, चराका गीत, बच्चाको रूवाइ, गाईबाख्राले पात कुल्चिँदा निस्किएका सर्‍याकसुरूक अथवा बञ्चराले रूख काट्दा निस्किएका आवाजहरू । उनका लागि आफू बाँचिरहेको यस्ता वर्तमान क्षणप्रति सजग रहनु जन्मजात र स्वभाविक कुरा थियो ।

म पनि उनी जस्तै हुन चाहन्थेँ । आफ्ना योजना, चिन्ता, आकांक्षा, सम्झना, कुनै स्थिति वा व्यक्तिबारेका पूर्वधारणा इत्यादिमा रूमल्लिनुको साटो वर्तमानमा बाँच्न सक्ने क्षमता भैदियोस् भन्ने चाहन्थेँ । मेरो उत्साहलाई मार्ने, ऊर्जाको स्तरलाई नष्ट गर्ने, हृदयलाई भावनाशून्य पार्ने पीडाबाट मुक्त हुन चाहन्थेँ । मेरो खुशी हुने सम्भावनालाई, केवल हुनुको सम्भावनालाई नष्ट गर्ने पीडाबाट पनि मुक्त हुन चाहन्थेँ । ती पीडाले मेरो काँधमा तनाव र दुखाइको बोझ थोपरेको थियो र वर्षहरू बितेसँगै तीव्र गतिमा मेरूदण्डतिर आक्रमण बढाइरहेको थियो। म त्यो सबै पीडाबाट मुक्त हुन चाहन्थेँ । शान्तिजस्तो हुन चाहन्थेँ ।

मैले सबैभन्दा बढी चाहेको कुरा केही छ भने त्यो यही बोझिलो पीडाबाट मुक्ति हो । शान्ति कलिलै उमेरकी भएकीले म उनीसँग यस्ता सबै कुरा गर्न सक्दिनथेँ । गरे पनि उनले यी चिन्ता, चासो, डिप्रेशन, व्यग्रता वा अस्तित्वगत चुनौतीका कुरा बुझ्नेवाला थिइनन् । उनी त परम् सरलताका साथ बाँच्थिन् । दिमाग मेरो जस्तो बिटुलिएको थिएन । त्यसैले म उनको नजिक हुन पाउनु र उनको जस्तै बाँच्ने कला सिक्न पाउनुको सौभाग्यप्रति कृतज्ञ हुन मात्र सक्थेँ । म रामेछाप र शान्तिको जीवनप्रति कृतज्ञ थिएँ ।

अघिल्लो अध्याय-

१ जन्म

क्रमशः

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *