एउटी केटीले सिकाएको पाठ

शान्ति कहिल्यै कक्षा छुटाउँदैनथिन् । हरेक बिहान आउँथिन्, चकटीमा पलेँटी कसेर ध्यानस्थ हुन्थिन् । सबै कुरा बिस्तारमा सुन्थिन् । कहिलेकाहीँ केही नबुझे त्यो उनको अनुहारमा प्रष्ट झल्किन्थ्यो । उनमा दुर्गम भेगका प्रायस् केटीमा जस्तो अप्ठ्यारोपन र हिनताबोध थिएन । नबुझेका कुरा संकोच नमानी सोध्थिन् । साथीहरूलाई आइलागेका अस्पष्टताका गाँठा फुकाइदिन पाउँदा आनन्दित हुन्थिन् । उनको त्यो आनन्द सहपाठीहरूसँगको गहिरो लगाव, सुमधुर बोली र कोमल व्यवहारमा झल्किन्थ्यो ।

म सोच्थेँ- उनमा एउटा असल शिक्षिका बन्न चाहिने सबै गुण छन् । तर भावीले उनकालागि लेखिदिएको भविष्य अर्कै थियो, यो नियमित र स्वभाविक दुनियाँसँग सम्बन्धित थिएन । त्यसैले मैले अहिले सोचको बेलुन भरेर उडाउनु बेकार थियो । तैपनि मन चोर्ने विचारले एक दिन कक्षामा सोधेको थिएँ, ‘तिमीहरू ठूलो भएर के बन्न चाहन्छौ ?’

सम्भवतः उनीहरूलाई आजसम्म कसैले यस्तो प्रश्न सोधेको थिएन । त्यसैले मेरो प्रश्न सुनेर सबैजना मौन बसेका थिए, छक्क परेका थिए । आखिर उनीहरू अलिबेरमा हतारिँदै कक्षाबाट निस्कनु थियो, घर पुग्नु थियो र दाउरा खोज्न जंगल जानु थियो । अनि पानी लिन खोल्सातिर जानु थियो, खाना पकाउनु थियो, झार उखेल्नु थियो, गाईबाख्रा चराउनु थियो । भाइबहिनीको रेखदेख गर्नु, चाक धोइदिनु, लुगा धुनु, भाँडा माझ्नु, बढारकुँडार गर्नु- कति हो कतिथोक गर्नु थियो । अनि ठूलो भएपछि के बन्ने भनेर कतिबेला सोच्नु ?

उसो त उनीहरू काममा अल्झिएकै बेला पनि बात मार्न भ्याउँथे । पढाइलेखाइ वा अरू माध्यम नभएकाले गाउँ बाहिरका कुरा थाहा थिएन । त्यसैले कुराकानीका विषय वरिपरिको मौसम, खेतबारी, छरछिमेक, बिहेबटुलो, गाईबाख्रा, काजक्रिया, मेला बजार इत्यादि हुन्थे । कसैकसैलाई अरेका कुरा कानेखुशी गर्दै गाउँ डुलिहिँड्ने फुर्सद पनि हुन्थ्यो । समग्रमा, उनीहरूको संसार यही गाउँ थियो, र थिए त्यहाँका जंगल, आकाश, तारा, वर्षा, माटो, रूख, चरा, आकाशको गडगडाहट, चट्याङ, हुरी, बतास, जाडो, गर्मी र थकानहरू । मलाई लाग्थ्यो-जीवनसँग जोडिन र त्यसको अंश अनुभूत गर्नका लागि यो एउटा उत्तम संसार हो ।

गाउँमा प्राय: सबैले बाह्र-तेह्रमा बिहे गर्थे । आमा बन्ने शारीरिक सम्भावना सुरु भएपछि र चुलोचौको सम्हाल्न सक्ने भएपछि दिदीहरूको बिहे भएको देख्न गाउँका छोरीहरूलाई सानैदेखि बानी परेको थियो । त्यसैले उनीहरूलाई आफ्नो भविष्य पहिल्यै थाहा हुन्थ्यो- गाउँमै बिहावारी हुने हो, बालबच्चा जन्माउने हो अनि आमाहरूकै जस्तो दैनिकी बिताउने हो । यसलाई सबैले स्वभाविक रूपमा स्वीकारेका थिए । आखिर त्यस्तो परिवेशमा हुर्किरहेकी केटीले फरक कल्पना कसरी गर्न सक्छे !

एक दिन कक्षामा मैलेउनीहरूलाई त्यस्तै कल्पना बाहिरको कुरा सोधेको थिएँ, ‘तिमीहरू गाउँका केटाकेटी पढाउन चाहन्छौ ?’

नयाँ कुरो सुनेर एक दुईजना ट्वाँ परे । धेरैजसोका आँखा भने उज्यालिए, इच्छुक र उत्साहित देखिए । मेरो भित्री सोच थियो- यिनलाई पढाउने काममा अल्झाउन पाए यिनको बिहे केही समयका लागि पछि सर्ने थियो, घर खर्च चलाउन थोरबहुत आम्दानी गर्ने थिए, बिहे गर्न ‘गतिलो केटो’ पाउने थिए र सम्भवतस् तिनको भविष्य कम कठोर हुने थियो ।

खासमा बिहान पढ्न आउन पाउनु पनि उनीहरूका लागि कल्पना बाहिरकै कुरा थियो । त्यो एउटा भिन्न वातावरण थियो जहाँ उनीहरू लेखपढ मात्रै सिक्दैनथे, एकअर्काका जीवनका अनुभव पनि सुन्न र सुनाउन पाउँथे । मन खोलेर हाँस्न पाउँथे, आफू मूल्यवान भएको महसुस गर्न पाउँथे, सम्मान र स्नेह पाउँथे । कहिलेकाहीँ कहिल्यै नसोचेको प्रश्नको झटारो पनि पाउँथे ।

त्यस बिहान मैले उनीहरूलाई ‘गाउँका केटाकेटी पढाउन चाहन्छौ कि ?’ भनेर सोध्नु त्यस्तै एउटा झटारो थियो । अचम्म त के भने त्यो दिनपछि उनीहरू प्राय: सबैजना भविष्यमा कुनै दिन शिक्षक बन्ने सपना देख्न थालेका थिए । अर्को एक बिहानमैले कक्षामा सबैका सामुन्ने शान्तिलाई आदेश जस्तो अनुरोध गरेँ, ‘तिमी यहाँ अगाडि आएर पढाइ हेर ।’

सुरूमा उनले अविश्वास गरिन्, मानौँ म ठट्टा गर्दैछु । त्यो बुझेर सजिलो पार्न खोज्दै थपेँ, ‘डराउनु पर्दैन, चाहिएको सहयोग म गरूँला ।’

यसो भन्दै मैले मेरो चोरी औँलो उनीतिर लम्काएँ । उनी मेरा औँलामा च्याप्प समाएर जुरूक्क उठिन् । अनि मैले नै सुझाएँ, ‘हामीले अस्तिका दिन पढेको गणितको योगफल निकाल्ने तरिका पढाउँछौ कि ?’

उनी चकको टुक्रो समाएर ब्ल्याकबोर्ड अगाडि उभिइन् । मैले थप एउटा सुझाव दिएँ, ‘ब्ल्याकबोर्डको दायाँवाबायाँ उभिएर लेख्नू, ता कि तिमीले लेखेका कुरा साथीहरूले राम्रोसँग देख्न सकुन् ।’

शान्तिको ठाउँमा कोही अर्को भएको भए टाउको निहुराएर, के बोल्ने थाहा नपाएर कुनामा मौन बस्थ्यो होला । तर शान्ति त्यसो गर्नेवाला थिइनन् । उनी ब्ल्याकबोर्डको देब्रेतिर उभिइन् । सहजतापूर्वक लेख्न थालिन् । उनको चक समाइमा दृढता थियो, लेखाइ सलल बगेको थियो । उनी औँलाबीच च्यापिएको चक, ब्ल्याकबोर्डमा लेख्दा परिरहेको दबाब र नाचिरहेको हातबारे सचेत थिइन् ।

साथीहरूलाई उत्तर पत्ता लगाउन भनिरहँदा ओठको घर्षण, जिब्रोको थरथराहट, शरीरको वजन र साथीहरूका हेराइ सबै थाहा पाउँथिन् । उनको त्यो गुण आजभन्दा भोलि, भोलिभन्दा पर्सि बढ्दो थियो । तर यावत कुशलताका बाबजुद उनलाई कुनै पीडा हुँदैनथ्यो भन्ने होइन । पीडा हुन्थ्यो तर त्यसबाट पराजितचाहिँ हुन्नथिन्, अनुभवमात्र गर्थिन् । यता घरमा प्रमिलाको मृत्युपछि कपिलको कर्तुत बढ्दै गयो, धेरै रक्सी पिएर आउने, श्रीमती पिट्ने इत्यादि । उनका हरेक संवादरू चर्को आवाजबाट सुरु हुन्थे ।

श्रीमान्‌ श्रीमतीबीच अपमानजनक शब्दको झटारो हानाहान भइरहन्थ्यो । त्यस्तो कोलाहल र हिंसाबीच शान्तिलाई शान्त रहन गाह्रो हुन्थ्यो । उनको मुस्कान बेपत्ता भइजान्थ्यो, थरथर काम्थिन्, मनमनै अनुनय गर्थिन्, ‘हे प्रभु, यो झगडा सकेसम्म चाँडो सकियोस् ।’ कपिलले फूलमायाका अनुहारमा मुक्का बजार्नु र पेटमा लात हान्नु सामान्य हुन थालेको थियो । छोराछोरी साक्षी मात्र हुन सक्थे । कहिलेकाहीँ जीवनको वास्तविकतासँग हार खाएका बेला र प्रचण्ड क्रोध जागेका बेला फूलमाया पनि कपिलमाथि जाइलाग्थिन् । उनीसामान्य भन्दा बढी पिउन थालेकी थिइन् । रक्सी र सूर्तीको नशाले सन्तापको ज्वाला निभाउन खोजेकी होलिन् ।

माया र वसन्ती पनि कहिलेकाहीँ बुवाको चुटाइ भेट्थे । बुवाको उग्र क्रोधबाट बच्नेमा सविनमात्रै थियो । शान्तिले आजसम्म जम्मा एकपटक बुवाको झ्याम्टा भेटेकी थिइन्, त्यो पनि सधैँझैँ एकदिन बुवा आमाकै झगडा मत्थर पार्न खोज्दा । त्यस दिन कपिलका हत्केलाको झापड खाएर शान्ति बेहोस ढलेकी थिइन् । केही बेरमा मोटा गाला रातोपिरो पार्दै बिस्तारै उठेकी थिइन् र बुवाको नजिक गएर आँखा जुधाएकी थिइन् । यस्तो कोमलता र करूणापूर्वक जुधाएकी थिइन् कि बुवा लज्जाबोध र पश्चातापले थिचिएर माफ माग्दै छोरीका पाउमा घोप्टिन पुगेका थिए ।

उनले बुवालाई कुममा समाएर उठाइन् । सुस्तरी कपाल सुम्सुम्याइदिइन् र दुबै हातले गाला मुसारिदिइन् । अनि स्नेही भावोत्साहको लहरले अह्राइएर भाइबहिनी र आमासमेतलाई चकित पार्दै उनका निधारमा चुम्बन गरिदिइन् । उनले घुँडा टेकेर छोरीका कम्मरमा छाँद हाले, टाउको लगेर पेटमा बिसाए । त्यो दिन उप्रान्त उनले रक्सी पिउन चटक्कै त छोडेनन् तर कमचैँ गरे । अनि त्यो दिन जस्तो होस पनि कम गुमाउन थाले ।

शान्ति दुस्ख र दयाले भरिएर रोएको त्यो नै पहिलोपटक थियो । उनी धेरैबेर भक्कानिइन् । किनभने उनलाई बुवाका कष्ट र क्लेश थाहा थिए । प्रेम र स्नेह अनुभव गर्न नपाएको व्यक्तिभित्र झाँगिएको कठोरपन बुझेकी थिइन् । लात्ती र मुक्का खाँदै हुर्किनु परेको व्यक्तिको गिरेको आत्मसम्मान छामेकी थिइन् । रक्सी, यौन र सूर्तीबाहेक आनन्द दिने अरू कुरा पनि हुन्छन् भन्ने थाहै नपाई जीवनभर कठोर श्रम गर्न बाध्य पुरूषभित्र थुप्रिएको नैराश्यता देखेकी थिइन् ।

उनलाई यी सबै कुरा मसिनोगरी थाहा थिएनहोला। तर बुवाका अभाव, अज्ञानता, व्यथा र अनुनय बुझ्न अरू केही गर्नु पर्दैनथ्यो, आँखामा नियालेर हेरे पुग्थ्यो । त्यसैले शान्तिलाई थाहा थियो- हिंसा जीवनमा तालमेल मिलाउन नसकेर भाउन्न भएको व्यक्तिले उठाएको बाध्यकारी कदम थियो ।

शान्तिलाई खुशी हुन गाह्रो थिएन । किनपनि भने उनमा कुनै कुरा पाए हुन्थ्यो भन्ने अपेक्षा थिएन, काल्पनिक संसारको सपना देख्दिनथिन्, हैसियतले नभ्याउने भौतिकवस्तु भेला गर्ने महत्वाकांक्षा थिएन । जिन्दगीले जे पस्किदिन्छ त्यसलाई स्वीकार्नमा खुशी थिइन् । उनीसँग घर र खेतबारीमा काम गर्न पुग्दो स्फूर्ति सधैँ हुन्थ्यो । दिमाग मनचिन्ते बातचितले नओगटिएको हुँदा आन्तरिक उर्जाको अभाव हुँदैनथ्यो । त्यसैले उनले गर्ने हरेक काममा असलपन र एकाग्रता झल्किन्थ्यो । त्यसले वरिपरिका सबैलाई स्पर्श गर्थ्यो, अनुहारमा प्रशन्नताको लेप लगाइदिन्थ्यो ।

उनको यस्तो खुबीबाट सबभन्दा धेरै फाइदा फूलमायालाई भएको थियो । किनभने शान्ति धेरैजसो उनीसँगै हुन्थिन् । कठोर श्रम गर्नु परेका थकित दिनहरूमा समेत उनी छोरीको उपस्थितिको माधुर्य, शब्दको दयालुपन, चालको लयवद्धता, प्रयत्नको उदारता र अभिव्यक्तिको भरोसाबारे घोत्लिन समय निकाल्थिन् । छोरीको अविचलित उपस्थितिमात्रै पनि उनलाई शालीन लाग्थ्यो, चित्त शान्त र निर्मल हुन्थ्यो । जीवनलाई फरक तरिकाले सामना गर्न सक्ने हुन्थिन् ।

सायद यिनै कारणले गर्दा र शान्तिले बुवाको हिंसा प्रतिवाद गर्न प्रयोग गरेको शक्तिशाली तरिकाको प्रभावले गर्दा उनीछोरीहरूप्रति पहिलेभन्दा कम कठोर बन्दै गएकी थिइन् । तिनका डँडाल्नामा मुक्का हान्न करिब करिबबन्द गरेकी थिइन् । हिजोअस्तिजस्तो उँचो आवाजमा कमै बोल्थिन् । श्रीमान्, कुनै छिमेकीसँग भनाभन हुँदा गालीगलौजमा हत्तपत्त उत्रिन छोडेकी थिइन् । बहिनीहरू र सविन पनि कसोकसो शान्तिजस्तै हुन थालेका थिए । उनीहरू सबैका आआफ्नै स्वभाव र व्यक्तित्व थिए तर कराउने र झगडा गर्ने बानी हराउँदै गएको थियो । काम ठगेर भाग्न खोजेको भेटिँदैनथ्यो ।

माया आमापट्टि गएकी थिइन्- परिश्रमी तर अरूबाट बढी कामको अपेक्षा राख्ने । कसैले आफ्नो भागमा परेको काम नगरे वा घटिया पारा गरे उग्र रिसाउँथिन् । वसन्तीचाहिँ सानैमा रक्तअल्पता र क्षयरोगले थलिएकी थिइन् । उनलाई बढी हेरचाह र स्नेह चाहिन्थ्यो ।

सविनको भने कुरै अर्कै । उसलाई दिदीहरूलाई भन्दा बढी बरालिने र खेल्ने स्वतन्त्रता थियो । निकै जीवन्त थियो तर अधैर्य पनि । कराँते खेल्ने साथीहरूबाट सिकेर घरिघरि घरका मान्छे वा साथीभाइलाई मुक्का हान्ने बानी लागेको थियो ।

यो परिवारमा सबैलाई गाह्रो लाग्ने एउटै कुरा थियो-आफूभित्रका भावना वा संवेग सहज र स्वभाविक रूपमा व्यक्त गर्नु । उनीहरूलाई कसैले कहिल्यै तिनका भावनाबारे सोधेन । उनीहरूको संस्कारमा आफ्ना भावना र संवेग व्यक्त गरिहाल्ने चलन थिएन । बरू तिनका भावना र संवेग कहिले वाथ्थ परेको अनुहारमा, कहिले रूखा जवाफमा र कहिले प्रष्ट मौनतामा बदलिन्थे ।

तर फरकफरक विशेषता हुँदा हुँदै पनि उनीहरूबीच गज्जबको सुमधुर सम्बन्ध थियो, आपसी समभाव थियो । हरेकदिन एउटै छानामुनी बिताएका कारण, काम, जिम्मेवारी, खाना, अभाव, ठण्डी, कठिनाइ र खुशीहरू साझा गरिआएका कारण त्यस्तो भावसम्बन्ध बनेको थियो । सँगै ठिही झेलेका थिए, कसैका बुवाले आनासुकी बचाएर छोरालाई किनिदिएका सस्तो जुत्ताको चमक र सान देखेर सँगै दु:खी भएका थिए ।

छिमेकमा पाकिरहेको मासुको भाँडोलाई छड्के आँखाले हेरेर सँगै थुक निलेका थिए । र राती न्यानो भएर सुत्नका लागि एकअर्कालाई अँगालोमा बेरेर सयौँ रात सँगै काटेका थिए । त्यसमाथि उनीहरूलाई सधैँ मिठो तरिकाले जोडिराख्ने एउटा साझा धागो थिइन्- शान्ति ।

उनी भाइबहिनीका लागि धर्मआमा जत्तिकै थिइन् । उनीहरू उनलाई अरूभन्दा भिन्न देख्थे । कहिल्यै कुरा नगरे पनि उनीहरूलाई प्रष्ट महसुस हुन्थ्यो- शान्ति विशेष हुन् । शान्तिका पनि असामान्य र अनौठा क्षण नहुने होइनन्, हुन्थे ।

त्यो कुरा तब थाहा हुन्थ्यो जब उनको अनुहारबाट मुस्कान गायब हुन्थ्यो । अथवा डर, अनिश्चितता, आश्चर्य र उदासीले ओइलाएकी हुन्थिन् । समय बित्दै जाँदा उनी बुवाका हिंस्रक व्यवहार, मुक्का र चिच्याहटसँग बानी पर्दै गएकी त थिइन् तर त्यसको पीडा वा कम्पन सहन असम्भव हुन्थ्यो । हरेकपटक बुवाले परिवारका सदस्यलाई अपमान गर्दा वा पिट्दा उनी प्रताडित हुन्थिन् ।

अतिचार दुर्व्यवहार सहनुपर्दा, छोराछोरीका सामुन्ने अपमानित हुनुपर्दा आमाको अनुहार र आँखामा छचल्किने निरीहता देख्नुपर्दा पनि उनी विक्षिप्त हुन्थिन् । आमा बिरामी भएको देख्दा, थकाइले चुर हुँदा आराम गर्न नपाएको देख्दा उनको चित्त काटिन्थ्यो । चाडबाडका बेला बुवाआमाले भाइबहिनीहलाई एकसरो लुगाफाटो र जुत्ताचप्पल जुटाइदिन नसकेको थाहा पाउँदा उनको भक्कानो फुट्थ्यो । आफ्नै परिवारको वा अरू जोसुकैको अभागी हालतले उनलाई नमिठोसँग पिरोल्थ्यो । उनलाई आफ्नै चुडान्त थकानले वा गालामा परेको थप्पडले वा कुनै कुराको अभावले पनि यसरी पिरोल्दैनथ्यो जति परिवारको वा अरूको स्थितिले पिरोल्थ्यो ।

आफ्नो सहनशक्ति र प्रतिरोध क्षमता अरूमा सार्नसक्ने भए त्यसका लागि उनी ज्यानै दिन तयार हुने थिइन् । तर उनको जिउने इच्छालाई, हरेक कुरा महसुस गर्ने र साक्षीभावले हेर्ने क्षमतालाई भने कुनै पनि कुराले मार्न सक्दैनथ्यो । जतिसुकै निराशलाग्दो र भयानक कुरा होस्, उनका दिमागमा राम्रो र नराम्रोको भेद थिएन । उनी सम्पूर्ण अस्तित्व लगाएर केवल शरीरमा जागृत संवेदनाहरूमा ध्यान केन्द्रित गर्थिन् । त्यसैकारण उनको मन र दिमाग सधैँ प्रष्ट हुन्थ्यो, जुनसुकै र जस्तोसुकै क्षणका लागि तयार हुन्थ्यो । उनले दिमागमा उत्पन्न हुने कुराहरूलाई कहिल्यै अर्कातिर घुमाइनन्, नापतौल गरिनन्, चिन्ता गरिनन्, ती कुरासँग रिसाइनन् पनि । उनले मनपर्ने कुरामात्रै दिमागमा आइदिए हुन्थ्यो भनेर कदापि कामना गरिनन् ।

उनका निम्ति संवेदनाहरूको निगरानी गर्नु जन्मजात खेल भयो । त्यसले उनलाई त्यसप्रति आशक्त हुनु अर्थहीन छ भनेर थाहा पाउने मौका दियो । उनलाई थाहा भयो- सबै संवेदनाहरूको स्वभाव उत्पन्न हुने र हराउने हो भने, त्यसप्रति आशक्त हुँदा अन्ततः दु:खकष्टकै महासागर पुगिन्छ भने त्यसप्रति किन प्रवृत्त हुनु ? आनन्दित महसुस गराउने कुनै संवेदना आफूसँगै रहिरहोस् भन्ने मूर्ख चाहना किन राख्नु ? प्रियजनको मृत्यु हुनु अथवा घरमा आगलागी हुनुजस्ता प्राकृतिक घटनाबाट सिर्जित संवेदना स्वीकार नगर्नु अज्ञानता होइन र रु आखिर हरेक संवेदना आउँछन्, जान्छन्, अनि तिनले हामीलाई एउटा अनुभवजन्य र तर्कसंगत समाधान छोडेर जान्छन् नै ।

यसको सरल समाधान के हो भने-संवेदनाप्रति आशक्त नबन्नु, तिनलाई गुणवत्ताको आधारमा वर्गीकरण नगर्नु, केवल ती आएको र गएको मात्र थाहा राख्नु । आखिर केही कुरा पनि सधैँका लागि हुँदैन- न सम्बन्ध, न शरीर, न स्वास्थ्य, न बाख्रा, न झरी, न त सन्तति नै । यहाँ हरेक थोकको म्याद टुङ्गिने मिति छ ।

शान्ति यसरी नै चल्थिन् । कुनै पनि कुराबाट मथिङ्गल आक्रान्त नपारी, वर्तमान जिउँदै । उनी दुस्खमात्र होइन सुख द्संवेदनाहरूमा समेत भावनाबाट अभिभूत नभइ, नबिथोलिई बाँच्थिन् । खुशी र सुखका साथ बाँच्ने योभन्दा राम्रो तरिका छ छैन मलाई थाहा छैन ।
यो भेगमा कुनै पनि बच्चाले सबभन्दा बढी रमाइलो मान्ने तीन चिज थिए । पहिलो-सधैँभन्दा फरक केही खान पाउनु, जस्तैः मासु । दोस्रो- नयाँ लुगा वा जुत्ता पाउनु । तेस्रो-घरमा पाहुना आउनु ।

यीमध्ये कुनै एकथोक भएका बेला केटाकेटी खुशीले पागल हुन्थे, मानौँ परमेश्वर प्रकट हुनुभो । शान्ति भने यस्ता बेला पनि कहिल्यै अरूजस्तो अतिप्रभावित भएको देखिएन । उनी अरू केटाकेटीझैँ खुशी वा दुस्खी नहुने होइन तर ती खुशी वा दुस्खका बेला जागृत हुने कस्तै मनोभावनाले पनि उनीभित्रको सौम्यता गायब पार्न सकेन, अनियन्त्रित प्रतिक्रिया जनाउने बनाएन । यहाँ, वर्तमानमा, यस क्षणमा हुनबाट रोक्न सकेन ।

यसको अर्थ उनी मनोभावनामाथि नियन्त्रण गर्थिन् वा दिमाग उलटपुलट पार्ने कुनै तरिका अपनाउँथिन् भन्ने होइन । बरू वर्तमानका परिस्थितिहरूप्रति प्रतिक्रियात्मक हुन्नथिन्, दिमागलाई जीवनबारे मनचिन्ते चक्र घुमाइबस्ने मौका दिन्नथिन् । र शरीरले अनुभव गरिरहेका संवेदनाहरूमा आफ्नो सम्पूर्ण चेतना लगाउँथिन्, लगाइरहन्थिन् ।

दोहोर्याएर भन्छु- यो समाजमा खुलेर भावना वा अनुभूति व्यक्त गर्नु, धेरै माया देखाउनु वा हर्षोत्तेजित हुनु राम्रो मानिदैन । त्यसो गर्न कुनै दृश्य- अदृश्य अंकुशले रोक्छ । समय बित्दै जाँदा थाहा पाउँदै गएँ यहाँका मानिस कुनैकुरा वा क्षणलाई सामान्यभन्दा बढी महत्त्वको हो भन्ने जनाउन त्यहीअनुसारका गतिविधि गर्छन् । जस्तैः अनुहारमा चमक बढ्छ, सधैँभन्दा बढी मुस्कुराउँछन्, बोलीका लवज फेरिन्छन्, अतिथिलाई भएमध्येको राम्रो आसन दिन्छन्, सकेसम्म मिठा खानेकुरा खुवाउँछन् ।

मेरो देश स्पेनमा जस्तो यहाँ साइनोहरू जनाउने छुट्टाछुट्टै शब्द छैनन् । हामी काकीलाई आन्टी भन्छौँ, सानिमालाई पनि आण्टी नै भन्छौँ । यहाँ भने हरेक साइनोका लागि विशेष शब्द छन् । काका-काकी, ठूलाबा-ठूलेमा, सानाबा-सानीमा, मामा-माइजूका छोराछोरीलाई दाजु, भाइ, दिदीवाबहिनी साइनो लाउँछन् । एकाघरकाझैँ व्यवहार गर्छन् ।

यहाँका मानिस अतिथिप्रति प्रेम दर्शाउन आदरमा, आत्मीयतामा, बातचितमा अलग्गै नरमपन प्रयोग गर्छन् । त्यो प्रेममा आशक्ति र अनुराग उत्पन्न गर्ने भावोत्तेजक अभिव्यक्तिले भन्दा व्यावहारिक आदर र स्नेहले बढी महत्त्व राख्छ । शान्तिका घरमा पनि यस्तै हुन्थ्यो ।

कहिलेकाहीँ घरमा फ्याट्ट पाहुना आइपुग्नुको आकस्मिकताले अरूको ध्यान छरपष्ट हुँदा पनि शान्तिको प्रशान्ति भने खलबलिएको हुँदैनथ्यो । उनी खाना पकाउने, दाउरा खोज्न जंगल जाने, कपडा धुने अथवा गाईवस्तुलाई खोले दिने दैनिकी बिर्सिन्नथिन् । उनलाई आफ्नो जिम्मेवारी प्रष्टसँग थाहा थियो र त्यो पुरा गर्न चुक्दिनथिन्, चाहे जेसुकै होस् वा जोसुकै आओस् ।

भरखर दश पुगेकी भए पनि घरकी सबभन्दा ठूली सन्तान भएकाले उनले पाहुना आएका बेला सधैँभन्दा बढी घरायसी जिम्मेवारी लिनुपर्थ्यो । आमाले पाहुनाको सत्कार राम्ररी गर्न सकुन् भन्नेमा विचार पुर्यामउन पर्थ्यो । त्यस्ता बेला खानपिनको चाँजो मिलाउन शान्ति बहिनीहरूलाई अह्राइकराइ गर्थिन् । काम बाँडफाँट गरेर जिम्मा दिन्थिन् ।

त्यसैकारण पनि फूलमायाका लागि शान्ति अमूल्य उपहार थिइन्, आशीर्वाद थिइन् । उनका वरिपरि मेलमिलापको सुगन्ध फिँजिएको हुन्थ्यो । ‍उनी पंख फिँजाएर सबैलाई न्यानो अँगालोमा समेट्थिन् । शान्तपनको त्यस्तो तलाउ सिर्जना गर्थिन् जसमा पौडिन पाउँदा जोकसैले आनन्द मान्थ्यो । त्यो आनन्द मानिस मात्रैमा सीमित हुँदैनथ्यो । रूख, चराचुरूङ्गी, फूल, हरियाली र अझ परसम्म फैलिएझैँ लाग्थ्यो ।

उनी पीडाले नगिजोलिएकी र नकारात्मकताले नबिटुलिएकी थिइन्स शुद्ध, निष्कलङ्क अनि निश्चल । मनको बिमार निको पार्न योभन्दा राम्रो औषधी के हुन्छ र रु त्यसैले शान्तिले थाहै नपाइ वरिपरिका धेरैजनाको मनको बिमार निको पारिन् । निको पारिदिनुपर्योउ भन्ने सोचेर होइन, स्वभाविक रूपमा आफैँ हुन्थ्यो ।

बोलेका बेला उनलाई आफू बोलिरहेको बोध हुन्थ्यो । नुहाएका बेला चिसो पानीले शरीर छोएकोप्रति सचेत रहन्थिन् । हातले पानी चलाउँदा निस्किएको छप्ल्याङछुप्लुङ आवाजप्रति सजग रहन्थिन् । लुगा धोएका बेला मैलो निकाल्न कपडा जोडले माड्दा थोरै जिब्रो मुखबाहिर निस्कँदोरहेछ भन्ने कुरा पहिलोपटक थाहा पाउँदा उनलाई रमाइलो लागेको थियो ।

उनीघरभित्र र बाहिरका कामले थाकेर लोथ भएका बेला कुनै गुनासो नगरी सम्पूर्ण शरीरको भार महसुस गर्थिन् । सम्भव भए, मौका मिले आराम गर्थिन् । कुनै काम सक्न बाँकी छ भने ध्यान टिकाएर त्यो काम टुंग्याउँथिन् । यस्तो लाग्थ्यो कि हरेक कुरा उनलाई प्रशान्तिमा रहिरहन दिने एउटा खेल हो ।

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *