भनिन्छ, सरल हुनुजति जटिल काम अर्को हुँदैन। सरलतामा न छल हुन्छ, न बनावट। सत्य नै सरलताको अर्को नाम हो। कृत्रिमता हटेपछि जे बाँच्छ, त्यही हो सरलता। मानव समाज झनै बनावटी, झनै देखावटी भएकाले सरलता दुर्लभ बनेको हो। त्यसैले सत्य बोल्न खोज्नेको जिब्रो काट्न उद्यत जमात सधैं सक्रिय रहन्छ। तर पनि सरलताको महिमा कहिल्यै घट्दैन, जस्तै हराउँदैन फूलको सुवास।
बच्चाको हाँसो किन लोभलाग्दो हुन्छ? त्यसमा दोषी दृष्टिको आभास हुँदैन। जो जति सरल हुन सक्यो, ऊ उति नै सत्य हुन्छ। र, जो जति सत्य छ, ऊ उति नै सरल देखिन्छ।
गेटवे पब्लिकेशन प्रालिले ‘सरल’ नाम रोजी अनलाइन पत्रिका प्रकाशन प्रारम्भ गर्नुको पृष्ठभूमिमा यही सत्यको स्पर्श छ। सरल हुनुको भारी चुनौती महसुस गरेर यो नाम छानिएको हो। यसै पनि चुनौती नहुने यात्रामा रस हुँदैन; र, रसबिनाको काममा समय खर्च गर्नु बुद्धिमानी मानिँदैन। ‘सरल पत्रिका’ यही मान्यतामा अडिएको सत्यको यात्रा हो। समकालीन पत्रकारिताभन्दा यो फरक कुनै चमत्कार त होइन, तर व्यावसायिक सन्तुलन र आग्रहहीनता अवश्य हो। यतै छ सरलता, सत्य र सौन्दर्य।
हाल नेपालमा सञ्चारमाध्यमहरूको संख्या उल्लेखनीय छ। कतिपय उद्योगको हैसियतमा फैलिँदै छन्, भलै धेरैजसो अस्तित्व रक्षाको संघर्षमा छन्। केही सञ्चार संस्था शक्तिशाली बन्दै एकाधिकारतर्फ उन्मुख छन्। दलीय प्रवर्द्धनमा चल्ने थुप्रै सञ्चार संस्था छन्, जहाँ सरलता र सत्यको उपस्थिति खोज्नुपर्ने अवस्था रहँदैन।
यस्ता प्रवृत्तिबाट जोगिनु नै पत्रकारिताको सरलता हो भन्ने हाम्रो बुझाइ हो। यो पत्रिका पत्रकारकै पहलमा सुरु भएको डिजिटल माध्यम हो। पत्रकारिताका आधारभूत मूल्य–मान्यता र कर्तव्यप्रति प्रतिबद्ध रही, आग्रहहीन तथा सन्तुलित समाचार प्रकाशन हाम्रो अठोट हो।
आजका दिनमा पत्रकारिता ‘सेल्फ सेन्सरशिप’ बाट संक्रमित हुँदैछ। त्यसैका कारण पत्रकारिता अलोकप्रिय बन्न थालेको छ, तर त्यसको आवरणमा व्यापार फस्टाउँदै गएको छ। महत्त्वपूर्ण विषयहरू ओझेलमा पर्छन् भने आमनागरिक चाहिँ सूचनाको पहुँचबाट वञ्चित भइरहन्छन् — यही हो समकालीन पत्रकारिताको तीतो यथार्थ।
‘सरल पत्रिका’ पेशागत आचारसंहिताको पालनासहित, समाचारमा सेल्फ सेन्सरशिपको विरोध गर्दछ। हामी आममानिस र प्रकृतिका सम्पूर्ण सन्ततिप्रति समभाव राख्दै निष्पक्ष सूचना प्रवाहमा कटिबद्ध छौं। पाठक वर्गका आलोचनात्मक टिप्पणी र सुझावलाई सहर्ष स्वागत गर्दछौं। सकारात्मक पत्रकारिताको सरल अभ्यासबाट ओझेलमा परेका क्षेत्रलाई प्रकाशमा ल्याउनु हाम्रो परम लक्ष्य हो।
नेपालको विश्व मानचित्रमा रहेको विशिष्ट पहिचान, त्यसभित्र रहेका अमूल्य निधिहरूको संरक्षण र प्रचार पत्रकारिताको मुख्य एजेण्डा बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो। ‘सरल पत्रिका’ यही उद्देश्यका साथ प्रारम्भ भएको हो। हामीलाई थाहा छ, यी उद्देश्यहरू एकै रातमा पूरा हुँदैनन्। त्यसका लागि धैर्यसाथ लामो यात्राको आवश्यकता पर्छ — र, हामीले त्यही यात्रा सुरु गरेका छौं।
