पूर्वबाट पश्चिम

हुर्किँदै गर्दा मलाई केही आध्यात्मिक गुरूले गहिरो प्रभाव पारेका थिए । परिवारले मलाई व्यक्तिगत प्रयत्न, परिवार र सादा जीवनको महत्त्व सिकाएको थियो । कृष्णमूर्ति र एखार्त टोललगायतका किताबले पनि मलाई जगाएका थिए ।

शान्तिको राप र मूल्य भने अलग्गै थियो । किनभने मैले धेरैजनाबाट सिकेका प्रायः सबै राम्रा कुरा उनमा थिए । उनी मलाई हरेक दिन अभ्यासमा उतारेर देखाइरहेकी हुन्थिन्– दुर्भाव नराखी, लोभलालच नगरी, आफ्नो निर्मलता र सादगी बचाइराखेर बाँच्न सम्भव छ; शुद्ध कोमलता, शान्ति र प्रेममा समाहित भएर बाँच्न सम्भव छ । त्यसैले म शान्तिलाई भेट्न पाएकोमा, नजिकबाट चिन्ने मौका पाएकोमा जीवनप्रति कृतज्ञ थिएँ ।

एकबेला मलाई एकै सेकेण्डका लागि भए पनि शान्ति जस्तो बन्न र त्यो अनन्त निरवताको क्षणमा प्राण त्याग्न पाए हुन्थ्यो भन्ने सपनाले गाँजेको थियो । तर त्यसबाट विक्षिप्त हुनुअघि नै भाग्यवश महसुस भयो कि उनी मलाई वर्तमानमा बाँच्न, सम्यक मार्गतिर अघि बढ्न र उनको जस्तै शान्ति प्राप्त हुने बाटो हिँड्न प्रेरित गर्नकै लागि मेरो जीवनमा देखा परेकी हुन् । यसका लागि म उनीप्रति अनन्तसम्म कृतज्ञ रहनेछु । यही ऋण तिर्न भए पनि उनलाई समुद्र देखाइछाड्ने संकल्प गरेको थिएँ ।

एकसाँझ एकजना स्पेनी साथीलाई इमेल लेखेर आफ्नो योजना बताएँ । इमेलको अन्त्यमा सोधेँ, ‘शान्तिका लागि पर्यटक भिसा पाउन केके चाहिने हो, कसो गर्नुपर्ने हो सबै बुझेर मलाई खबर गर्न सक्छौ ?’

दुई दिनपछि साथीले आवश्यक जानकारी इमेल गरिदिए । साथमा थियो साथीको भरपर्दो आड, ‘कुरो ठिक लाग्यो, स्पेनबाट गर्नुपर्ने सबै कुरा म सहयोग गरौँला, काम अघि बढाउनू ।’

अनि पो झल्याँस्स भएँ– शान्तिलाई यो कुरा राम्ररी भनेकै छैन, केही दिनअघि छ्‌यास्स सुनाएको मात्र हो । के उनलाई मेरो देश जाने, समुद्र हेर्ने, मेरा परिवार र साथीभाइ भेट्ने इच्छा होला त ? त्यो कुरै थाहा नपाइ म किन यो सारा प्रक्रियामा समय, ऊर्जा र पैसा लगाउन अघि सरेको ? खासमा जीवनमा म धेरैपटक अरूले के चाहन्छन् भन्ने अनुमान लगाउन पूरै असफल भएको छु । बरु म सधैँ अरुबाट एउटै कुरा चाहन्थे– सबैले मेरो सपनालाई मैले देखेअनुसार र भनेअनुसार साझा गरिदिउन् ।

खैर, त्यही दिन उनलाई उनको इच्छा सोधेँ । उनले अचम्म मानिनन्, केवल मुस्कुराइन् र ‘हुन्छ सर’ भनिन् । केही दिन पछि हामी उनको राहदानी बनाउन जिल्ला गयौँ । जिल्लामा कर्मचारीले शान्तिको नागरिकता मागे, मैले छैन भनेँ । जन्मदर्ता मागे, त्यो पनि छैन भनेँ । थुप्रै दुर्गम गाउँका बुवाआमाले जस्तै शान्तिका बुवाआमाले पनि छोरीको जन्मदर्ता गराइदिएका थिएनन् । त्यसो हुँदा सरकारी स्रेस्तामा उनको अस्तित्व थिएन । अब के गर्ने ? पर्सिपल्ट शान्ति गाउँ गइन् । तीन दिनपछि जन्मदर्ता लिएर फर्किइन् ।

त्यो लिएर हामी फेरि जिल्ला गयौँ । ढोका थुनेर कुर्सीमा बसेका प्रशासनका कर्मचारी झ्यालभित्रबाट हामीले बुझ्नेबाहेक सबैथोक भनिरहेका छन् । त्यो नबुझिने ल्याङल्याङ ‘चिया खाने दाम’ धुत्ने तिकडम हो भन्ने बुझ्न हामीलाई आधा दिन लाग्यो । यसरी सबैथोक मिलाएर फाराम बुझाएपछि तिनले हामीलाई भने, ‘दुई महिनापछि यहाँ आएर बुझ्दै गर्नू ।’

झण्डै तीन महिनामा राहदानी हात लाग्यो । भिसाको निवेदनका साथ पेस्नुपर्ने कागजात जुटाइसकेका थियौँ । अब भिसाका लागि दिल्लीको स्पेनी दूतावास जानु थियो । फेरि इण्डिया जानुपर्ने कुरा शान्तिलाई मन परेन तर विकल्प थिएन । त्यसैले यसलाई उनले हृदयमा लागेको घाउ निको पार्न पुरा गर्नैपर्ने एउटा प्रक्रियाका रूपमा स्वीकार गरिन् । अनि हामी दिल्ली उड्यौँ ।

जहाजले हामीलाई बिहान दश नबज्दै दिल्ली उतार्‍यो । ट्याक्सी लिएर सिधै दूतावास गयौँ । मसँग स्पेनी राहदानी भएकाले होला हामीलाई सहजै भित्र छिर्न दिए, अरू निवेदकहरूले जस्तो कागजपत्र बुझाउन लम्बेतान लाइन बस्नु परेन । भित्र एकजना कर्मचारीले हामीलाई बोलाइन्, मेरो कुरा सुनिन् र हामीसँग भएका कागजपत्र मागेर केहीबेर हेरिन् । अनि मिजासिलो पाराले जानकारी दिइन्, ‘भिसाको प्रक्रिया पुरा गर्न कम्तिमा सात दिन लाग्न सक्छ तर तपाईंहरूका कागजपत्र र स्थिति हेर्दा चाँडै टुङ्ग्याउन सकिन्छ जस्तो छ । हामी चाहन्छौँ तपाईंहरू सकेसम्म चाँडो नेपाल फर्किन पाउनुहोस् ।’

ती कर्मचारीलाई धन्यवाद दिएर हामी होटल गयौँ । भोलीपल्ट दिउँसो चारबजेतिर मलाई दूतावासबाट फोन आयो । फोन गर्ने तिनै कर्मचारी रहिछिन् । भनिन्, ‘एउटा शुभ खबर सुनाउँ भनेर, भोली बिहान दश बजे शान्तिलाई पनि लिएर दूतावास आइपुग्नुहोला र उनको राहदानी लिएर जानुहोला । उनलाई तीन महिने पर्यटक भिसा दिने निर्णय भएको छ ।’

खबर सुनेर शान्ति र मलाई नाचौँ कि कुदौँ भयो । खुलेर खुशी भयौँ । अनि भोलिपल्ट बिहान दूतावासबाट राहदानी टिपेर बेलुका त हामी नेपाल पुगिसकेका थियौँ । दुई दिन पछि शान्ति गाउँ गइन् । परिवारलाई नयाँ खबर सुनाउन र सबैसँग बिदा मागेर आउन चाहन्थिन् । उनी गाउँमै भएका बेला मैले जहाजको टिकट टुङ्गो लगाएँ । आश्रयघर र शान्तघरका कर्मचारी साथीहरूलाई गर्नुपर्ने अह्राइकराई गरेँ । शान्ति गाउँबाट फर्किइन् । त्यसको पाँच दिनपछि हामी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र राहदानी जाँच्ने ठाउँमा लाइन लागेका थियौँ ।

म त्यो जाँच कतिबेला सकिएला भनेर चिन्तामा थिएँ । सोच्दै थिएँ– भरखरकी केटी वयस्क विदेशीसँग उड्न लागेको देखेर अध्यागमनका कर्मचारीले नानाथरी अड्को थाप्ने होलान्, फलानो कुरा मिलेन भनेर उड्नै नदिने पो हुन् कि ? हाम्रो पालो आयो । हामीलाई, खासगरी मलाई, एकजना कर्मचारीले यावत् प्रश्न सोधे । कति प्रश्न त खराब नियतको आशंकाले भरिएका थिए, मानौँ शान्ति र मैले केही गोप्य कुरा लुकाएका छौँ । कुनै प्रश्न त अर्थ न बर्थ गोविन्द गाई पाराका पनि थिए । जस्तैः शान्तिले मलाई कहाँ भेटेको ? पैसा कति बोकेको छ ? इत्यादि । के भन्नु र खै !

शान्ति भने सहजमस्त देखिन्थिन् । जीवन धान्न नपुगेर हो वा नैतिकतामा बाँधिन नसकेर हो भ्रष्टिएका कर्मचारीहरूले सिर्जना गरेका उल्झनले उनको रौँ पनि हल्लिएको थिएन, अप्रभावित थिइन् । आफूलाई सोधिएका हरेक प्रश्नको जवाफ दया र उत्सुकताका साथ दिइन् । म भनेँ केही कदम पर्तिरको प्रस्थान कक्षमा पुगेर बसिहाल्न पाए हुन्थ्यो भन्ने सोचेर अधैर्य थिएँ । कर्मचारीको व्यवहारले निराश भएको थिएँ । जसोतसो समय बित्यो, हामी सुरक्षाजाँच पार गरेर अघि बढ्यौँ र जहाज कुर्ने ठाउँमा गएर बस्यौँ ।

हामीलाई जहाज चढ्न बोलाइयो । जहाजभित्र छिरेर आआफ्ना सिटमा बस्यौँ । त्यो जहाजले हामीलाई कतारको दोहामा उतारिदियो । त्यहाँबाट स्पेनको म्याड्रिड जाने अर्को जहाज चढ्नु थियो तर बीचमा धेरै समय थिएन । त्यसैले हामी हतारमा थियौँ, अर्को जहाज चढ्ने काउण्टरतिर छिटोछिटो लम्किँदै थियौँ । बाटामा शान्तिले कसैले नेपाली बोलेको सुनिन् । थाहा पाइन्– एयरपोर्टमा भुईं पुछ्ने, पसलमा सामान बेच्ने नेपाली युवाहरू रहेछन् ।

ती युवाको अनुहार काम र कमाइबाट सन्तुष्ट देखिन्थ्यो, खासगरी पसलमा काम गर्नेहरूको । सरसफाइ गरिरहेका अधिकांश युवाको अनुहार भने खैरो, फुस्रो, पहेँल्चो देखिन्थ्यो । कुटाइ खाएको जन्तुजस्तो लुत्रुक्क परेका थिए । सायद हाकिमका निर्दयी व्यवहारले र प्रियजनबाट लामो समयदेखि टाढा रहनु परेकाले होला ।

एयरपोर्टभित्र आँखाले भ्याउञ्जेल देखिएका नानाथरी पसल, अनगिन्ती सामान र तिनका सय थरी रंग, अग्ला छत, अनेक सुर र तालमा हिँडिरहेका मानिस, तिनका सौखिन कपडा र गरगहनामा झल्किएको विलासिता इत्यादि देखेर शान्ति आश्चार्यचकित थिइन् । उनलाई यो ठाउँ र वातावरण असहज पनि लाग्यो । उनले उस्रठ्ठ आफ्ना भाइबहिनी, बाबुआमा, बाख्रा, साथीहरू र पहाडहरू सम्झिइन् । गाउँ, घर र प्रकृति सम्झिइन् । यो सम्झनाले उनलाई पुनः स्वभाविक महसुस गरायो ।

दोहाबाट ठूलो जहाज चढेर हामी म्याड्रिडतर्फ उड्यौँ । जहाजभित्रको धेरै कुरा उनका लागि नौला थिए– शानदार खोलले मोरिएका गद्दावाला सिट, टिलिक्क टल्किने साफसुग्गर, झोला राख्ने ठूल्ठूला बाकसको लहर, सिट सामुन्ने जडिएको टिभी इत्यादि । जहाजभित्र एसी चलाएको कुरामा भने उनले असहज मानिन् । खासमा हरेक अप्राकृतिक कुराले उनलाई असजिलो महसुस गराउँथ्यो । मानौँ उनको शरीर त्यसको प्रतिरोध गरिरहेको छ र भनिरहेको छ– यो तेरा लागि र कसैका लागि पनि ठिक छैन है ।

उनलाई बिस्तारै यस्ता कुरामा बानी पर्दै गयो । हुँदाहुँदा जहाजभित्र यात्रुको सेवामा ओहोरदोहोर गरिबस्ने कतिपय सेवकसेविकाले झटारो हानेका कृत्रिम मुस्कानहरूमा समेत बानी पर्‍यो । ती मुस्कानमा उनले तिनका सञ्चित थकान देखिन् । त्यो थकान एकछिनको बाहिरी थकान मात्र थिएन । पेशागत धर्म निर्वाह गर्दा सधैँ मित्रवत् देखिइनुपर्ने ढोङ वर्षौँदेखि दोहोर्‍याइरहँदा सिर्जना भएको भित्री र गहिरो थकान थियो ।

हामी सात घण्टापछि म्याड्रिड उत्रियौँ । ‘यो एयरपोर्ट दोहाको भन्दा कम भड्किलो रहेछ’, एयरपोर्टमा हिँड्दै गर्दा शान्ति बोलिन् । अलि पर पुगेपछि सोधिन्, ‘तर यी मान्छे किन यति धेरै हतारिएका ? धेरैको अनुहार तनावले अमिलिएको छ, आँखा कहिल्यै निन्द्रा नपुगेजस्ता छन् । कति त करिबकरिब दगुर्दै छन् । किन होला ?’

नेपालमा विदेशीलाई विकसित ठानिन्थ्यो, सायद तिनले भोग गर्न पाएको भौतिक सुखसुविधा देखेर होला । अथवा तिनका लुगाफाटा, जुत्ताचप्पल, आत्मविश्वास देखेर होला । त्यस्ता लुगाफाटा, जुत्ताचप्पल, आत्मविश्वास नेपालमा धनिमानी र शहरीयाहरूसँग मात्रै भएको देखेकाले होला ।

शान्तिलाई आफ्ना गाउँलेको मितव्ययिता, जीवनमा झल्किरहने प्रशान्ति र हत्तपत्त नछुट्ने मुस्कानहरूको याद आयो । उनले भरखरै मेरो देशमा पाइला राखेकी थिइन् । हरिया पाखा, माटोले बनेका घर, कठोर श्रम गरिरहेका मान्छे, निलो आकाश, बदलिइरहने सुन्दर ऋतुहरू इत्यादिले प्राकृतिक रूपबाट सिँगारिएको आफ्नो गाउँलाई केही घण्टाअघि मात्रै छोडेर हिँडेको व्यक्तिका लागि मेरो देशका धेरै कुरा भयभित पार्ने खालका लाग्न सक्छन् ।

म्याड्रिडबाट अर्को एउटा जहाज चढेर हामी मेरो गाउँ क्यानरी टापु जानु छ । हरेक साल घर फर्कँदा झैँ, यसपालि पनि म त्यो टापुमा बस्ने मेरो परिवारबारे सोच्न थालेँ । एयरपोर्टमा हामीलाई लिन को पर्खिरहेको होला ? यसपालिको घरफिर्तीमा मलाई कस्तो महसुस होला ? यो ठाउँले शान्तिलाई कस्तो व्यवहार गर्ला ? इत्यादि । घर फर्किनु, बुवाआमा, बहिनीहरू र भाञ्जाभाञ्जीका नजिक पुग्नु मेरा लागि हरेक साल दोहोरिने एउटा कठिन मानसिक र भौतिक चुनौती थियो । म पहिल्यैदेखि उनीहरूप्रति बढी नै अनाशक्त रहिआएको थिएँ । उमेर बढ्दै र जीवनलाई बुझ्दै जाँदा उनीहरूसँग नजिक हुने, आफ्ना कुरा सुनाउने, उनीहरूका कुरा सुन्ने मेरो आवश्यकता पनि बढ्दै गएको भान हुन थालेको थियो ।

‘त्यो आवश्यकता पूर्तिका लागि ठोस् कदम चाल्नेछु’, हरेक पटक घर फर्किँदा मसँग यो प्रतिबद्धता हुन्थ्यो । आफ्ना संवेगप्रति सजग रहने बाचा हुन्थ्यो । कुनै चाहना नराखी, के उद्देश्यका लागि हो भन्ने थाहा नपाइ आफूभित्र आफैँले सिर्जना गरेका मानसिक पर्खालहरूप्रति सचेत रहने कसम हुन्थे । तर ती कुनै कुराले प्राय: कहिल्यै अर्थ राखेनन् । ती कुरा म घर पुग्दानपुग्दै शीतको थोपा जस्तो बाफिएर हराइजान्थे । मेरा अगाडि केवल वर्तमानको यथार्थ बलियो भएर उभिन्थ्यो । त्यसलाई पन्साउने, त्यसबाट भाग्ने मनचिन्ते व्याख्या वा तर्कना खोज्नु अर्थहीन थियो । परिवारका मान्छेसँग नजिक महसुस गर्न कल्पनामा उडेर हुनेवाला थिएन, हिँडेरै जानु पर्थ्यो । यो बुझाइ र आशाका साथ कि त्यो नजिकपनले मलाई मेरो चाहना अनुरूपको शान्ति प्रदान गर्नेछ ।

पाइलटले जहाज अवतरण गर्ने समय भएको उद्‍घोष गरे । तब म मनचिन्ते उडानबाट होसमा फर्किएँ । अघिदेखि थाहै नपाइ मनोलोकमा उडिरहँदा शान्ति पनि सँगै यात्रा गर्दैछिन् भन्ने बिर्सेको रहेछु । यस्तो बारम्बार हुन्थ्यो । आफैँलाई भन्थेँ– काल्पनिक उडान भरेर कुनै गन्तव्यमा पुगिनेवाला छैन ।

शान्ति झुपुक्क निदाएकी थिइन् । मैले उनको दिव्य चेहरा नियालेँ । आफ्नो मनको जीर्ण हालत सम्झेर आफैँप्रति दया लागेर आयो । आफैँलाई सोधेँ– म किन यिनले जस्तो सहज शान्ति महसुस गर्न सक्दिन ? अनि मैले एउटा नवीन प्रयत्न गर्ने प्रतिवद्धता गरेँ– कुनै संवेगको शिकार हुन्न, वर्तमानमा महसुस भइरहेका हरेक संवेदनाप्रति सजग रहन्छु र आफूभित्रबाट जाग्न सक्ने रिस, निराशा, एक्लोपन वा चिढचिढाहट जस्ता अवरोधप्रति सचेत रहन्छु ।

सुतिरहेकी शान्तिलाई कुहिनाले घचघच्याएँ । उनी आँखा माड्दै ब्युँझिइन्, सहज भएर बसिन्, यस्सो जिउ तन्काइन्, यताउता हेरिन्, मेरा आँखातिर हेरिन् र बुझिन्– घर आइपुग्नु मेरा लागि कति विशेष कुरा थियो ।

जहाज अवतरण गर्ने तयारी गर्न थाल्यो । हामीले मेरो गाउँका पहाडजस्ता होचा थुम्काथुम्की, बाटामा कुदिरहेका कारहरू देख्न थाल्यौँ । र अन्तत: शान्तिका लागि सबभन्दा भव्य र चमत्कारी कुरा पनि देखियो– समुन्द्र । सोचेको थिएँ, औधी रमाउलिन् । उनका अनुहारमा त बेचैनी पो देखियो । सम्भवत: मेरै संगतबाट सरेको हुनुपर्छ । कोही नचिनेको र केही थाहा नभएको ठाउँमा पुग्न लागियो, अब हरेक कुरा थाहा पाउन र साथ महसुस गर्न सरमाथि भरपर्नु पर्नेछ भनेर चिसो पसेको पनि हुन सक्छ । सामान्यतः उनलाई वरिपरिको संसारसँग सहज र आनन्द महसुस गर्न अरूको आवश्यकता पर्दैनथ्यो । तर यसपटकको सांस्कृतिक र भौतिक झड्का यति तोडिलो थियो कि उनलाई त्यसबाट अप्रभावित रहन सम्भव थिएन ।

जहाज अवतरण भैरहँदा म भनेँ नजानिँदो तनावमै थिएँ । आशा थियो– कुनै कुरा खराब हुने छैन र परिवारका मान्छेहरूलाई छिट्टै भेट्न पाउनेछु । यस्तै सोच्दै म जहाजको झ्यालबाट तलको दृश्य हेरिरहेको थिएँ तर के देखिरहेको थिएँ होसमा थिएन । त्यसबेला शान्ति पटक्कै विचलित वा अचम्भित देखिएकी थिइनन्, बरु जहाजको अवतरणबाट र तल देखिएका दृश्यबाट आनन्द लिइरहेँ झैँ देखिन्थिन् । अवतरणका लागि जहाज स्वाटस्वाट केही सय मिटर तल झर्दासमेत उनी पटक्कै शिताङ्ग भएकी थिइनन् । जहाज रोकियो । धेरैजसो यात्री अधैर्य भएर सिटबाट उठ्न थाले । सरसामान भेला गर्न हानाथाप हुन थाल्यो । यात्रीका हर्कत देखेर एयरहोस्टेज निराश बनेको र वाक्क मानेको शान्तिका नजरबाट लुकेन । यात्रीका हाँपझाँप, हतरपतर, चर्को कल्याङमल्याङ र ठेलमठेल देखेर, सुनेर उनी पनि छक्क परेकी थिइन् । म भने आफ्नै भाषा र लवजमा बोलिएका शब्द कानमा परेर साँच्चै घर आइपुगिएको उत्साहमा लुटपुटिएको थिएँ । एकजना पुरूष भन्दै थिए, ‘अरे यार उठौँ न, च्याचो’ ।

जहाजबाट उत्रिएर हामी एयरपोर्टबाहिर निस्कने ढोकातिर लम्किन थाल्यौँ । परैबाट देखेँ– बहिनी र भाञ्जाहरू पर्खिरहेका छन् । थाहै नपाइ छिटोछिटो पाइला चले । ढोकामा पुग्ने बित्तिकै बहिनी र भाञ्जाहरूको अँगालोमा बेरिएँ, एकअर्कालाई चुम्बन गर्‍यौँ । त्यो देखेर शान्ति अक्क न बक्क परिन् होला, थाहा पाइँन । कान्छी बहिनी अमालिया दुबै हात फैलाएर शान्तिलाई अँगालो हाल्न ठिक्क परेकी थिइन् । शान्ति भने हत्केला जोडेर नमस्कार गर्न खोज्दै थिइन् । उनको नमस्कार तयार नहुँदै अमालियाले अँगालोमा बेरिदिइन् र आफ्ना गाला उनकामा जोडेर चुम्बन गरिदिइन् ।

यसरी अभिवादन साटासाट गरेको शान्तिको यो पहिलो अनुभव थियो । परिवारसँग झण्डै दश महिनापछि मिलन हुँदाको भावुकतामा डुबेका बेला परेकाले त्यहाँको परिदृश्य सम्झनामा छैन । शान्तिले भने अमालियाले कसेर अँगालोमा बेरेको, चुम्मा गरेको, आफू चाहिँ के गर्नु र कसो गर्नुको असमञ्जसमा नि:शब्द बनेको कुरा कहिल्यै बिर्सिन्न भन्थिन् ।

अमालियासँगको चुम्माचुम्मी लगत्तै, यन्त्रवत तरिकाले भरखरैको नक्कल उतारेर शान्तिले मेरी जेठी बहिनी हेलिया र भाञ्जाहरूसँग अभिवादन साटिन् । अलि असजिलो तर अनौठो गरी अंकमाल गरिन् । चुम्मावाला कर्म गर्न उनीहरूलाई नै छोडिदिइन्, आफू थापेर बसिन् । उनका लागि चुम्बन एउटा अति गोप्य र पवित्र कुरा थियो, आफ्नो संस्कारमा नभएको नखरा ।

हामी कारमा चढेर बुवाआमाका घरतिर लाग्यौँ । बाटामा सामान्य बातचित भए, खबर के छ भन्ने खालका । शान्ति उत्सुकतापूर्वक बाहिर हेर्दैथिइन् । खालखालका गाडी, फराकिला बाटा, मिलेका पैदलमार्ग, गाडीका तीव्र गति, समुद्र, समुद्री किनारका चट्टान, समुद्री स्वतन्त्रतामा रमाइरहेका चराचुरूङ्गी नियालिरहेकी थिइन् । घर पुगियो । सामान र ज्यान बिसाएको धेरैबेर भएको थिएन, शान्ति र मेरी आमाबीच विशेष घनिष्ठता टुसाइसकेको थियो । आमाले उनलाई तुरून्तै नयाँ छोरीका रूपमा ग्रहण गर्नुभयो । आमाका शब्द नबुझे पनि उनले उहाँको स्वागत, न्यानोपन र ममतालाई सजिलै महसुस गरिरहेकी थिइन् । घरको वातावरणले उनलाई पुग्दो सहजता महसुस गराएको हुनुपर्छ, मलाई त्यस्तै लाग्यो ।

बुवा थोम्ब्रोसिस रोग लागेर ओछ्‌यान परेको बीस वर्ष नाघिसकेको थियो । बोली निस्किँदैनथ्यो, शरीर चल्दैनथ्यो । यस्तो अवस्थामा हुँदा पनि उहाँ सधैँ अनुहार चम्किलो पारेर प्रशन्नता व्यक्त गर्नुहुन्थ्यो । यसपालि मलाई देख्दा त्यसै गर्नुभयो, सधैँ झैँ अनुहारभरि मुस्कान फैलाएर स्वागत गर्नुभयो । मुस्कुराउँदा उहाँका ओठ तन्किएर कानछेउ पुगेका थिए । म उहाँको नजिक गएँ र जिउ पुरा झुकाएर ओछ्‌यानमै अँगालो हालेँ ।

बुवासँग अँगालोमा लपेटिने वित्तिकै मैले जहाजमा खाएको कसम सम्झिएँ । त्यसैक्षण आफूभित्र उठिरहेका संवेदनाप्रति, मेरो हातले बुवाका जिउमा छोइरहेकोप्रति सजग ध्यान लगाउन थालेँ । घरमा सबैजना सधैँ अव्यक्त र गुमसुम रहने चलनमा जीवन बिताइआएको हुनाले म त्यस्तो वातावरणमा सिर्जना हुने एक खाले असहजपनप्रति अवगत थिएँ । यसपालि त्यो असहजपनप्रति पनि सजग भएँ । म बुवासँग त्यति नजिक हुनु तर बातचित सुरु गर्ने मेसो नपाउनुको छटपटी पनि महससु गरिरहेको थिएँ ।

सधैँ झैँ उहाँलाई मैले केही प्रश्न सोधेँ । उहाँले पनि सधैँकै पारामा उत्तर दिनुभयो । त्यसबेला म उहाँको मुस्कान, भावभंगिमा, उच्चारण हुन नसकेका शब्द र कुरा बुझाउने प्रयत्नलाई साक्षीभावले नियालिरहेको थिएँ । उहाँका खुशी, भावना, मेरो खुम्चिएको मन, शरीर, उहाँसँग नजिकको भावनात्मक सम्बन्ध भैदिएको भए हुन्थ्यो भन्ने मेरो कामना इत्यादिलाई पनि थाहा राखिरहेको थिएँ । यो सबै भइरहँदा शान्ति भने परित्यक्त छोडिएकी थिइन्, प्यारा मान्छे भेटिँदा सबैथोक बिर्सिने मेरो बानीको शिकार भएकी थिइन् ।

मैले बुवासँग उनको परिचय गराएँ । उनलाई किन सात समुन्द्रवारी लिएर आएको पनि बताएँ । मेरा कुरा सुनिसकेपछि उहाँले अनुहारको मुस्कान निमेषभर नहटाइ उनलाई नजिक आउने इशारा गर्नुभयो र प्रेमले भरिपूर्ण अँगालोमा समेट्ने कोशिस गर्नुभयो । बुवाबाट त्यति धेरै स्नेह पाएकोमा उनी कृतज्ञ थिइन् । आमासँग जस्तै बुवासँग पनि उनको एउटा विशेष सम्बन्ध झट्टै निर्माण भइहाल्यो । यो कुरा उनको मुस्कानमा, हेराइमा र छुवाइहरूमा झल्किन्थ्यो । केही दिनपछि उनलाई मेरा बुवाआमालाई अँगालो हाल्न र चुम्बन् गर्न सामान्य लाग्दै गयो । मेरा परिवारसँगका गहिरा भावनात्मक क्षणहरूमा गज्जब आनन्द मान्न थालिन् ।

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

 ५ एक अविस्मरणीय सिकाइ

६ भोलापनको दुनियाँ

७ लालसाका दास

८ आमोद प्रमोद

९ गाउँको माहोल

१०. घरफिर्ती

११ नमिठो वापसी

१२ आश्रय

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *