आमोद-प्रमोद

बिहान छिप्पिनै लाग्दा मामीले शान्ति र सुनिता सुतेको कोठाको चुकुल खोलिदिइन् । ढोकैबाट अह्राइन्, ‘ओए, उठ । हातमुख धुने ठाउँ चर्पीसँगै छ । जाओ ।’

त्यसपछि मामीले भान्सा देखाउन लगिन् । भान्सामा एउटा काठको टेबुल थियो । टेबुलमा जताततै कफीका दाग थिए, अनेक जुठोपुरो छरिएको थियो । टेबुल वरपर प्लाष्टिकका केही कुर्सीहरू थिए । तिनै कुर्सीमा बसेर करिब सत्रदेखि बाइस वर्षका चारजना केटीहरू बात मारिरहेका थिए । मामी र नयाँ केटीहरू देखेर चुप लागे । ती चारजनामध्ये एउटी केटी नेपाली अनुहारकी थिइन्, नाम मनु रहेछ । उनी नयाँ केटीहरूका अनुहारमा आतंक र अनिश्चितता देखेर द्रवित देखिन्थिन् । उनैले खाली कुर्सीतिर संकेत गर्दै शान्ति र सुनितालाई बस्न भनिन् । रूपरङ र हाउभाउ हेरेर उनलाई थाहा भइसकेको थियो, नयाँ आएका केटी नेपाली हुन् । सोधिन्, ‘तिमीहरू कहाँका हौ ?’

शान्तिले उत्तर दिइन्, ‘मकवानपुर, फापरबारीदेखि अलि पर रामेछाप गाउँ ।’

मनुले आफ्नो घर सोलु बताइन् र थपिन्, ‘चौधकी हुँदा यहाँ ल्याइएकी थिएँ । दुई वर्ष भइसक्यो ।’

आफ्नाबारे अल्प बताइराखेर उनले शान्ति र सुनितालाई सचेत गराइदिइन्, ‘यहाँबाट उम्किन पाए हुन्थ्यो भनेर सोचिरहेका छौ होला । नसोच्नू, सजिलो छैन । परदेशमा छौँ भन्ने थाहै होला । जसोतसो ढोकाबाट निस्कियौ भने पनि त्यो पालेले धेरै पर पुग्न दिँदैन, दोक्च्याएर भित्र हुल्छ । यहाँ भनेको नमान्दा के हुन्छ सुनेकै होला ? बेस्कन भक्कुर्छन्, कति दिन खानै नदिइ थुनेर राख्छन् ।’

मनुबाट उनीहरूले थाहा पाए– केटीहरूले आज्ञाकारी व्यवहार गरे भने मामी खासै खराब मान्छे छैनन्, तर कुनै केटीले ग्राहकसँग समय बिताउन अस्वीकार गरे वा लापर्बाही गरे त्यसबेला उनी राक्षस जस्ती हुन्छिन् । उनीहरूले मनुबाट अर्को एउटा चेतावनी पनि पाए, ‘कम्तिमा बाँच्नका लागि भए पनि हरेक कुरा मान्नु र मेरो सल्लाहलाई दायाँबायाँ नसोची राम्ररी लिनू ।’

मनुका अनुसार कति केटी केही वर्ष काम गरेर नेपाल फर्किन सफल भएका पनि थिए । शान्ति र सुनिताको अन्तर्मनमा आशाको दियो बालिराख्न प्रेरित गर्ने एकमात्र कुरो यही थियो । मनुले यो नयाँ घरमा पालन गर्नुपर्ने समयतालिका र नियमहरूबारे पनि बताइदिइन् । त्यसबेला शान्ति र सुनितालाई भारतीय जस्ता लाग्ने तीनजना केटीले घुरेर हेरिरहेका थिए । उनीहरू पुरा खुलेर मुस्कुराउन सकिरहेका थिएनन् तर आँखामा दया भरिएको थियो । शान्तिले मनुको अनुहार पनि पढ्न भ्याइन् । त्यसमा असहायपन, पीडा, लज्जा, हीनता र अविश्वासका मर्मभेदी कथाहरू कोरिएका थिए ।

यो नर्कमा आइपुगेर थुनिँदा कस्तो महसुस हुन्छ, आफ्नो देशबाहिर कोही नेपाली भेट्दा कस्तो भावना उर्लेर आउँछ भन्ने कुरा मनुलाई राम्ररी थाहा थियो । त्यसैले उनले ती कुरा पनि बताइदिइन् । अनि अन्त्यतिर आएर कामको अनुभवबारे बोलिन्, ‘सबभन्दा खराब र गाह्रो पहिलो दिन हो, अझ पहिलोपटक । त्यसपछि त बानी पर्न थालिहाल्छ । सबभन्दा कम पीडित हुन कस्तो व्यवहार गर्नुपर्छ बिस्तारै थाहा हुँदै जान्छ । मैले त एकजना ग्राहकलाई घनिष्ट साथी पनि बनाएकी छु । उसलाई म विश्वास गरेर मेरा सबै गोप्य कुरा सुनाउन सक्छु ।’

शान्तिले कृतज्ञ भएर मनुलाई हेरिन् । उनीहरू कहाँ छन्, कस्तो ठाउँमा छन्, उनीहरूबाट के अपेक्षा राखिएको छ भनेर व्याख्या जो गरिदिइन् । सुनिताको मनमा भने अर्कै ढ्याङ्ग्रो बजिरहेको थियो । कसैले आफ्नो शरीरमा मनपरी हात लगाउनेछ भन्ने कुरा सोच्दा उनको अनुहार सन्त्रासको चुक घोप्टिए झैँ भएथ्यो । सबै लुगा खोल्नुपर्ने र दश वर्षकी भएपछि आफ्नी आमासमेतले नदेखेको शरीर नाङ्गो पारेर कुनै नौलो पुरुषलाई देखाउनुपर्ने ‘जागिर’ थाहा पाएर उनको हंसले ठाउँ छोडिसकेको थियो ।

उनीहरूले कुनैकुनै रात आफ्नो बुवा आमाका शरीरमाथि खप्टिएको र चरमानन्दको उच्छ्वास ननिस्किउञ्जेल ताल मिलाएर स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै हल्लिएको त थाहा पाएकै हुन् । तर यौन सम्पर्क गर्दा के गर्नुपर्ने हो, कसरी गर्नुपर्ने हो दुबैलाई थाहा थिएन । थाहा हुने कुरो पनि भएन ।

अनेक गन्धे मसला र भक्कु खोर्सानी हालेर पकाएको सब्जी र आँटाका केही रोटी पस्किएका स्टीलका प्लेट शान्ति र सुनितातिर सारिदिँदै मनुले उनीहरूलाई खानपिनको तालिकाबारे जानकारी गराइदिइन् । भनिन्, ‘यहाँ दिनमा तीन पटक खान पाइन्छ । बिहान आठबजेतिर नास्ता, दिउँसो बाह्रबजेतिर बिहानको खाना र बेलुका सातबजे तिर बेलुकाको खाना । खाना पकाउन, सरसफाइ गर्न सबैजना सहभागी हुनुपर्छ, तिमीहरू पनि । ग्राहक बिहान दशबजेतिर आउन थाल्छन् । अनि हाम्रो काम सुरु हुन्छ । ग्राहकबाट फुर्सद मिल्दा बैठककोठामा बसेर टिभी हेर्न पाइन्छ ।’

बिहानको नास्ता सकियो, नयाँ केटीहरूलाई दिनुपर्ने खासखास जानकारी र चेतावनी पनि करिब सकिए । तब मामीले मनुलाई अह्राइन्, ‘जा, यिनीहरूलाई काममा लाग्दा लगाउनु पर्ने लुगाफाटो र सिँगारपटारका सामान देखाइदे ।’

मनु शान्ति र सुनितालाई लिएर एउटा कोठामा गइन् । त्यहाँ केही ऐनाहरू र थोत्रो दराज थियो । मनुले उनीहरूलाई भित्री लुगा बाहेक अरू कपडा खोल्न भनिन् । मर्नु भयो तर उपाय थिएन, खोले । एकएकवटा ऐना अगाडि मुढामा बस भनियो, बसे । अनि मनुको तरिका पछ्‌याउँदै अनुहारमा सस्तो क्रिम र पाउडर दले । आँखामा गाजल पोते, दुबै आँखाका छेउबाट गाजलका बाक्ला धर्सा तानेर कानसम्म पुर्‍याए । त्यही गाजल आँखीभौँमा पनि दले, पातला आँखीभौँ बाक्ला देखिए । अन्तिममा कलिला गुलाबी ओठमा चम्किलो रातो बजारु लिपिस्टिक घसे । उनीहरूको अनुहार बेचिन तयार भयो, शरीर तयार हुन बाँकी थियो ।

त्यसपछि मनुले लुगा राखिएको दराज उघारिन् । शान्ति र सुनितालाई ठिक हुने लुगा छानिन् र भुइँमा थुपारिदिइन् । सुनिता ती कपडामा आँखा गाडेर अचल उभिएकी थिइन् । नजर टोलाएको थियो, मानौँ उनलाई भरखरै मृत्युदण्डको खबर सुनाइएको छ । के र कस्तो अनुभव भइरहेको छ पत्तो थिएन । उनी अब उप्रान्त यही नर्कमा बस्नुपर्ने त्रासले मरेतुल्य भएकी थिइन् । मनमा अनेक अनुत्तरित प्रश्न थिए, उत्तर भने एउटै थिएन ।

उत्तर त शान्तिसँग पनि थिएन तर उनले आफूलाई कुनै प्रश्न नसोध्न, सोचाइ र आत्मग्लानिमा नडुब्न, बरू वर्तमानप्रति सजग रहन चाहिन् । उनलाई थाहा थियो– यो नै मेरो अन्तिम श्वास हुनसक्छ; हरेक घटनालाई वर्तमानमा बाँच्ने क्षमतामा मेरो समग्र जीवन, खुशी र मानसिक स्वास्थ्य भर पर्छ । यो पनि थाहा थियो– मान्छेले मेरो कौमार्य, हृदय वा आँखा त क्षतविक्षत पार्न सक्लान् तर मेरो मुक्तात्मालाई त्रसित पार्न र करुणालाई छिन्नभिन्न पार्न कसैले सक्दैन ।

सुनिता घनघोर दु:स्वप्नमा थिइन् । उनलाई ब्युँउझाउने चेष्टास्वरूप शान्तिले दराजबाट एउटा रातो सुरुवाल र रातै टिसर्ट निकालिन्, उनका हातमा थमाइदिइन् र मायालु खटनमा अह्राइन्, ‘मनुले दिएका होइनन्, यी लुगा चाहिँ लगाउ ।’

‘हामी दुबै मिलेर यी कुरा पराजित गर्न सक्छौँ, सबभन्दा गाह्रा र कठोर क्षणहरूमा समेत हामी आफ्नो सारतत्त्वसँग जोडिइरहन सक्छौँ । जीवनप्रति, संवेदनाहरूप्रति आत्मसमर्पण गर्न सक्छौँ र त्यसैमा बगिरहेर एउटा शान्त सागरमा पुग्न सक्छौँ’, यिनै कुरा स्मरण गराउने अन्तिम प्रयासस्वरूप शान्तिले आफ्ना आँखा सुनिताका आँखामा एकाकार गराइन् ।

कमजोर क्षणहरू, पीडाले मरेतुल्य क्षणहरू शान्तिलाई पनि महसुस नहुने होइन तर उनी त्यसभित्र छिरेर नरूमल्लिन, भयको शिकार नहुन दिलोज्यान लगाउँथिन् । अनि असल र खराबको भेद नगरी आफूले जे बाँच्नुपर्ने हो त्यो बाँच्थिन् ।

शान्तिले निलो रङका सेण्डल रोजिन् । तिनले उनलाई आफ्नो गाउँको निलो आकाश स्मरण गराए ।

यसरी उनीहरूको शरीर पनि तयार भयो । बाहिर निस्कनु अघि दुबैजना एकपटक फेरि ऐना अगाडि उभिए । ऐनामै उनीहरूका आँखा जुधे, दुबैका आँखा मुस्कुराए । सुनितालाई लाग्यो, शान्तिका मौन ओठले मधुर स्वरमा ‘साहस’ शब्द उच्चारण गरिरहेका छन् । शान्तिलाई लाग्यो, सुनिताका मौन ओठहरूले कारुणिक स्वरमा बिदाइका शब्द बोलिरहेका छन्– तिमीलाई धेरै माया शान्ति । त्यसैबेला तल्लो तलाबाट मामीको चर्को आवाज आयो, ‘ओए केटी हो, छिटो तल झर । काममा लाग्ने बेला भो ।’

दुबैजना तल झरे । बैठककोठामा बिछ्‌याइएको पहेँलो फुलबुट्टे सोफामा बसे । तब मामीले एउटा घिनलाग्दो निर्देशन दिइन्, ‘ग्राहकका कुनै कुरा अस्वीकार नगर्नू, उनीहरूलाई इच्छा लागेअनुसारका हर्कत गर्न दिनू, अघि सर्न नरोक्नू ।’

मामीले उनीहरूलाई चरमोत्कर्षमा पुग्नु अघिका यौनोत्तेजित उच्छ्वासहरूको नक्कल कसरी गर्ने त्यो पनि सिकाइन् । यौनकर्मबारे उनका कुरा सुन्दा लाग्थ्यो– यो एउटा सामान्य खेल हो, खेलमा प्रतिरोध गरे ग्राहक क्रुद्ध हुनेछन्, ग्राहक क्रुद्ध भए मामीले राक्षसको रूप लिनेछिन् र त्यसको परिणाम भयानक हुन सक्छ । आफूलाई समर्पण गर्‍यो भने चाहिँ एउटा त्यस्तो तीव्र आनन्दको रसास्वादन हुन सक्छ जो यसअघि कहिल्यै चाखेको छैन ।

पेशामा बानी परिसकेका केटी मामीका कुरा सुनेर छिल्लिरहेका थिए । कोहीकोही रत्तिभर संकोच नमानी ग्राहकसँगका किस्सा पनि सुनाइरहेका थिए । शान्ति तन्मयताका साथ ती किस्सा सुनिरहेकी थिइन् । उनको सजगताले ती केटीहरूका भावभंगिमा, आवाजका उतारचढाव, भद्दा सिँगारपटारले गाइजात्रे बनेको अनुहार, अतिरञ्जित लाग्ने उत्साह, बसाइका पारा, उपरखुट्टीका ढाँचा र अरू धेरैथोक नियालिरह्यो । उनी शब्दभित्र छिपेका अर्थ बुझ्ने प्रयत्नस्वरूप तिनका आँखाप्रति पनि सजग थिइन् । सुनिता भने आफ्नै खुट्टाका औँलामा आँखा गाडेर अचल बसेकी थिइन् । मन उडेर कहाँ पुगेको छ उनलाई नै पत्तो थिएन । सायद बाँच्नुलाई नमिठो गरी चिथोरिरहेको वर्तमानबाट भाग्न सकिन्छ कि भनेर कल्पनामा डुबिरहेकी होलिन् !

त्यही बेला उनका कानमा केही पुरुषहरूको आवाज ठोकिन आइपुग्यो । ती पुरुषहरू बैठक कोठातिरै आइरहेका थिए । उनले आफ्ना दुबै हातका नङहरू तिघ्रामा बेस्सरी गाडिन्, श्वास रोकिएला झैँ भयो, घाँटीमा गाँठो पर्‍यो । थाहा पाइन्– उनका जाँघहरूबीचबाट पिसाब बग्न थाल्यो, रोक्न सकिनन् । तीनजना पुरुष बैठक कोठामा छिरे । काला थिए, तीस देखि चालीस वर्षबीचका लाग्थे । सोफामा बसिरहेका केटीहरूसँग परैदेखि ठूल्ठूलो स्वरमा रंगीन मिजासमा मनमौजी कुरा गर्दै छिरेका थिए । उनीहरूको मजाक र छिल्याइ सुन्दा लाग्थ्यो, ती केटीहरूलाई पहिलादेखि चिन्दथे ।

ती मान्छे भित्र छिर्नासाथ सोफामा बसेका केटीहरूलाई गिजोल्न थाले । हात समाए, तिघ्रा चिमोटे, घरिघरि गालामा चुम्बन गरे, अरू केके गरे केके । त्यसो गर्दागर्दै तीमध्ये एकजनाको ध्यान शान्ति र सुनिताको अनुहारमा पुगेर रोकियो । उनीहरू आफ्ना आँखासामु चलिरहेका घिनलाग्दा स्पर्शहरूको साक्षी बसिरहेका थिए, मूर्तिवत् । मन थाम्न नसकेर एउटा पुरुषले कसैलाई सम्बोधन नगरी सोध्यो, ‘यी दुई सुन्दरीहरू नयाँ ?

भुईंमा झर्नै लागेको प्रश्न संगेल्न मामी बैठक कोठामा छिरिन् । उनी त्यही प्रश्नको उत्तर फलाक्न आतुर थिइन् । त्यसैले छिर्दाछिर्दै भनिन्, ‘हिजो बेलुका मात्रै आइपुगेका । यिनको कौमार्य कसैको प्रथम धक्का चाख्न पर्खिरहेको छ ।’

उनी कुमारी युवती पस्किन पाउँदा हात लाग्ने पाँच गुना बढी नोटका सरकसरक धुनमा मनमनै नाचिरहेकी थिइन् । मामीको उत्तरमा अविश्वास जनाउँदै त्यो लोग्नेमान्छेले खेर्‍यो, ‘मलाई झुक्याउन खोजेकी, मामी ? कति मर्दले अघाउँजी धक्का मारिसकेका होलान्, गफ दिन्छौ ।’

मामीले आफ्नो घाँटीको किलकिले छोइन् र दोहोर्‍याइन्, ‘आम्मा कसम, हिजै बेलुका आइपुगेका । यिनलाई देख्ने पहिलो भाग्यमानी आँखा तपाईंहरूकै हुन्, चाट्न पाए हुन्थ्यो भनेर र्‍याल काड्ने जिब्रा पनि तपाईंहरूकै हुन् । कुमारी होइन रहेछन् भने पैसा फिर्ता दिन्छु, ग्यारेण्टी भो ।’

त्यो पुरुष र मामीका हाउभाउबाट शान्ति र सुनिताले प्रष्ट थाहा पाइरहेका थिए– उनीहरूकै बारेमा कुरा भइरहेको छ । संवादको भाषा हिन्दी भएकाले अघिका सबै कुरा नबुझे पनि त्यो पुरुषको यो प्रश्न चाहिँ बुझे– दाम कति हो ?

मामीको उत्तर पनि बुझे, ‘पाँच हजार ।’

उसका आँखा सुनितामा गाडिएका थिए । सोचिरहेको हुँदो हो– ती हुर्किँदै गरेका साह्रा छाती सुम्सुम्याउन पाउँदा कस्तो होला !

सुनिताबाट नजर नहटाइ उसले सम्भावित बाधा पन्साउन खोज्यो, ‘छोकरीमा जाँगर देखिन्न, भरे बिस्तारामा साथ निभाइन भने ?

मामीले ढुक्क पारिन्, ‘पहिलो पटक हो, लजालु छे, मायालु व्यवहार गर्नु, खेलाउनु, त्यसपछि त मैयाँ पनि रसाइहाल्छे नि ।’

उसले निमेषभरमा खल्तीबाट पर्स निकाल्यो, खनखन पाँच हजार गनेर मामीका हातमा राखिदियो । सुनितातिर नहेरी नोटलाई काम अह्राए झैँ बोलिन् मामी, ‘सरसँग कोठामा जाउ सुनिता बेबी, बाटो उहाँलाई नै थाहा छ । मजा लिनु, दुःख नदिनु ।’

अर्को मान्छे शान्तिमा घोरिएको थियो । मामीसँग कुरा गरेर शान्ति उपलब्ध छ छैन पक्का गर्‍यो र खल्तीबाट पाँचहजार निकालेर मामीका हातमा थमायो । अनि शान्तिको हातमा समाएर अर्को कोठामा छिर्‍यो । भित्रबाट चुकुल लगायो र शान्तिलाई अह्रायो, ‘तिमीलाई कपडा उतारेको कत्तिको सुहाउँदो रहेछ, हेरौँ त रानी !’

शान्ति लाज र हीनताबोधले भरिएर खाटमा बसेकी थिइन् । लगाइरहेको जिन्सको कसिलो हाफप्याण्ट उतार्न थालिन् । थाहा पाइन्– त्यो मान्छेका आँखा हाफप्याण्टको टाँक कतिबेला खुल्ला भनेर हेर्न आतुर थिए ।

सुनितालाई लिएर गएको मान्छे सारा इन्द्रिय लगाएर उनको शारीरिक हलचल नियाल्न व्यस्त थियो । उनको गुलाबी पेन्टीको एक झल्को पाउँदा त्यहाँबाट अझ भित्र चिहाउन, उनका ताजा र कोमल तिघ्राहरूमा नयनस्पर्श गर्न तल्लिन थियो । यौनेत्तजनाले शरीर तातिँदा सुकेको घाँटी भिजाउन उसले घुटुक्क थुक निल्यो र सुनितालाई छोइहाल्ने, चुम्बन गरिहाल्ने, आफूतिर अँचेटेर इच्छाभोग गरिहाल्ने तीव्र आकांक्षामा केहीबेरका लागि लगाम लगायो । अनि यसअघि सयौँपल्ट देखेको दिवास्वप्न सम्झ्यो– कसैले बिटुल्याउन नपाएकी, फक्रिन ठिक्क परेको फूलजस्ती कलिली यौवनालाई अघाउँजी भोग्न पाए कस्तो हुँदो हो !

सुनितालाई लुट्न ठिक्क परेको त्यो मान्छेको नाउँ सीताराम थियो । कट्टर हिन्दु परम्परा पछ्‌याउने उत्तर भारतीय परिवारमा जन्मेहुर्केका । आफ्ना मनोवेगहरूलाई कसरी निकास दिने, वर्षौँदेखि छातीभित्र जम्मा भएका भावनात्मक बोझ कसरी अरूसँग साझा गर्ने भन्ने कुरा आजसम्म उनलाई कसैले सिकाएको थिएन । उनका बुवा मालपोतका अधिकृत थिए । विभिन्न जिल्ला सरुवा भइरहन्थे । त्यसैले चाडबाडका बेला दुईचार दिन बाहेक घरमा खासै बस्दैनथे । आक्कलझुक्कल घर आएका बेला पनि श्रीमती र बालबच्चासँग बातचित हुँदैनथ्यो । केही मार्गनिर्देशन दिनुपर्दा, कुनै काम अपेक्षा र निर्देशन अनुरूप नभए आलोचना गर्नुपर्दा अथवा श्रीमतीलाई पेटी र मुक्काले हानेका बेला अपमानजनक शब्दहरू फलाक्नुपर्दा बाहेक उनको मुखबाट शब्द निस्कँदैनथे ।

उनका बहिनीहरूलाई अरूको सेवा गर्नु, हत्तपत्त घरबाहिर ननिस्किनु भन्ने सिकाएर हुर्काइएको थियो । आमा पनि त्यही सिकेर हुर्किएकी थिइन् । उनलाई अहिले पनि हाटबजार जानुपर्‍यो भने घरका कुनै पुरुषको अनुमति चाहिन्थ्यो । बाहिर निस्कँदा दोपट्टाले शिर सधैँ ढाकिएको हुनुपर्थ्यो । कुर्कुच्चा भन्दा माथिको छाला देखिनुहुँदैनथ्यो, अनुहार पनि भरसक अल्पमात्र देखिएको हुनुपर्थ्यो ।

करिब दश बर्षको हुँदा सीताराममाथि यौन दुर्व्यवहार भएको थियो, श्रीमती र छोराछोरीसहित एकाघरमा बस्ने काकाबाट । काकाको हर्कतबाट जोगिन वा दुर्व्यवहार अस्वीकार गर्न नसक्नुको पीडा र निसहायपनको परिणामस्वरूप उनीभित्र समलैङ्गिकताप्रति सधैँका लागि घृणा जन्मियो । यसरी उनका नजरमा यौन एउटा वर्जित विषय बन्न पुग्यो । यद्यपि, उनले आफ्ना दिदीबहिनीहरू नुहाइरहेका बेला ढोकाको प्वालबाट चिहाउन छाडेनन्, उनीहरूका गोप्य अंगको एक झल्को पाइन्छ कि भनेर !

सोह्र वर्षको हुँदा, खेल्नैपर्ने खेल हो कि ठानेर उनले काकाको एघार वर्षे छोरालाई गिजोले । त्यो बालखको लिङ्ग उत्तेजित पारिदिन जताततै छोइदिए, समाए, खेलाए, अरू धेरैथोक गरे तर उनमा आजसम्म पनि आफ्नो यौनिकतालाई खुलेर व्यक्त गर्न सक्ने आत्मविश्वास पलाएको छैन । बाईस वर्षको हुँदा उनको विहे भयो । श्रीमती र परिवारका अन्य सदस्यसँग उनले गर्ने व्यवहार ठ्याक्कै त्यस्तै भएर गयो जस्तो उनले सानामा देखेका थिए, अनुभव गरेका थिए ।

घरव्यवहारका कुरामा अह्राइकराइ गर्नुपरे बोल्नु नत्र नबोल्नु, आफूलाई इच्छा जागेका बेला ओछ्‌यानमा पल्टाएर टाङ फार्न लगाउनु– श्रीमतीसँग सीतारामको सम्बन्ध यतिमा सीमित थियो । उनले शारीरिक आवश्यकताको ज्वाला शान्त पार्न त्यो दिनसम्म मात्र श्रीमतीको प्रयोग गरे जुन दिन गाउँमा इन्टरनेट आइपुग्यो । त्यसदिन पछि उनी साथीभाइको लहैलहैमा लागेर ब्लू फिल्म हेर्न थाले । उनमा ती फिल्ममा देखिने चर्तिकला र यौनासनहरू आफू नायक बनेर वास्तविकतामा उतार्ने भूत सवार हुन थाल्यो ।

तर उनलाई ती फिल्मी चर्तिकला श्रीमतीसँग प्रयोग गर्न लाज लाग्यो, हिचकिचाहट भयो । त्यसैले उनी अर्को स्त्री-शरीरको खोजीमा बेश्यालयको ढोकाभित्र छिर्न पुगे जसले उनलाई कहिल्यै पूर्ण सन्तुष्टि दिनेवाला थिएन । यसरी, एउटा अतृप्त कुण्ठाको गह्रौं भारी बोकेर उनी एउटा चरम आनन्दको क्षणको खोजीमा भौँतारिन थाले, बच्चैदेखि आफूभित्र सिर्जना भएको खालीपनको खाडल पुरिएला भन्ने आशले । त्यही खाडल पुर्न उनी सुनिताको कौमार्यमाथि गिद्दले झैँ झम्टिन आइपुगेका थिए ।

शान्ति पल्लो कोठामा छिन् । उनलाई आफूसँगै भित्र छिरेका व्यक्तिले टिसर्ट खोल्न अह्राएका छन् । उनी ढोकाका कापबाट छिरिरहेको चिसो हावाले आफ्ना जाँघमा छोएको थाहा पाइरहेकी छिन् । उनले निधो गरेकी थिइन्– आजसम्म अनुभव गरेकामध्ये सबभन्दा पीडादायी क्षण यही हो, त्यसैले यी अनुभूतिहरूलाई जीवनले चढाएको अमूल्य उपहारका रूपमा ग्रहण गर्नेछु ।

चिसो हावाको स्पर्शले उनलाई गाउँका हिउँदे बिहानहरूको स्मरण गरायो । उनले सम्झिइन्– गाउँमा आफू हुनुको अस्तित्व थियो, त्यसको अनुभूति जीवनको सारतत्त्वसँग अथवा एउटा अदृश्य तर शक्तिशाली ‘केही’ सँग जोडिएको थियो । उनलाई स्पष्ट थाहा थिएन, त्यो ‘केही’ उनीभित्रै थियो अथवा थोरै पर्तिर बसेर उनलाई अवलोकन गरिरहेको थियो ।

अहिले, यो निर्जन शहरभित्रको कोठामा बसिरहेका बेला पनि उनले आफ्नो जीवनमा अर्थ थपिदिने त्यो विशेष ‘केही’को उपस्थिति महसुस गरिन् । त्यो केही उनको शरीरका हरेक कोषिकाभित्र जीवन्त र गतिशील थियो । यस अघिका थुप्रै अवस्थाहरूमा जस्तै उनले अहिले पनि त्यो केहीको साथ पाएको महसुस गरिन् तर आज उनी त्यो केहीप्रति सधैँभन्दा बढी कृतज्ञ थिइन् । किनभने त्यसले आज उनमा आफ्ना कलिला स्तन खेलाइरहेको मान्छेप्रति करुणा जगाएको थियो ।

त्यो मान्छेको नाम सीताराम थियो । शान्तिलाई सीतारामको जीवनबारे केही थाहा थिएन । तर पनि एक किसिमको चमत्कार भए झैँ उनले सीतारामभित्रका अपुरा अभाव, पीडा र माया पाइरहेजस्तो लाग्नुपर्ने आवश्यकता थाहा पाइन्, बुझिन् ।

शान्ति सर्वाङ्ग नाङ्गो पल्टिएकी थिइन् । सीतारामको बोझिलो शरीर आफूमाथि खप्टिएको, थिचाइले फोक्सो दबिएको, सास फेर्न नसकुँलाजस्तो भएको थाहा पाइन् । सीतारामका हात यसअघि कहिल्यै पाउन नसकेको न्यानो खोजिरहे झैँ उनका गोप्य अङ्गमा सलबलाउन थालेको पनि थाहा पाइन् । केहीबेरमा सीतारामले घुँडाले हठात् ठेलेर उनका खुट्टा फारिदिए । तब उनलाई लाग्यो– सीताराम अझै भित्र छिर्ने उत्कण्ठाले बलेका छन्, सम्भोगमा लिन हुँदाको क्षणभंगुर आनन्दमा जीवनको खुशी प्राप्त गर्ने निस्सार प्रयत्नमा डुब्न खोज्दैछन् ।

सीताराम शान्तिको योनीभित्र लिङ्ग छिराउने यत्न गर्न थाले । जुन क्षण लिङ्ग शान्तिलाई मरणासन्न हुने गरी दुखाएर भित्र घुस्यो, त्यसै क्षण शान्तिका आँखाबाट आँशुका ढिक्का झर्न थाले । उनले ती आँसु गालाबाट तल बगेको थाहा पाइन् । बगिरहन दिइन् । सीतारामले उनको गुप्ताङ्गमा निर्दयी धक्का दिइरहे । शान्तिले ती हरेक धक्कामा सीताराम र सीतारामजस्तै जीवनमा प्रेमको अभावले ग्रस्त मानिसहरूका आवश्यकता र दरिद्रताहरू महसुस गरिन् ।

त्यसबेला उनले आफू धेरै भाग्यमानी भएको पनि बुझिन् । कठिनतम परिस्थितहरूमा पनि खुशी र माया महसुस गर्न सक्नु, ताजा हावाको स्पर्श प्राप्त गर्न पाउनु, पृथ्वीका हरेक जीवित प्राणीको भलो होस् भनेर अन्तर्आत्मादेखि चाहन सक्नु सानो भाग्य हो त ? एकछिनपछि, ओछ्‌यानमा र योनीमा खुशी खोज्ने प्रयत्नमा केही बेरदेखि लागिपरेका सीतारामले यौनोत्तेजित उच्छवास् छोड्दै शान्तिलाई सोधे, ‘रानी, तिमीलाई पनि मजा आइरहेको छ ?’

शान्ति बोलिनन् । बरू करुणा भरिएका दुबै हात आफूमाथि उफ्रिरहेको सीतारामको कम्मर पछाडि लगेर बेरिदिइन् । त्यो एउटा कोमल र मायालु बेराइ थियो । सीतारामलाई केवल यत्ति थाहा दिए झैँ– म तपाईंको आवश्यकता र अतृप्त भोक बुझ्न सक्छु ।’

सीताराम चरमउत्कर्समा पुग्न बाँकी थियो । उनलाई अचानक बेचैनी र लाजको बादलले छोप्यो । भरखरै कोमल हातले कम्मरमा फन्को मारिदिएर शान्तिले व्यक्त गरे जस्तो वात्सल्य उनलाई आजसम्म कसैले महसुस गराएको थिएन । सायद त्यसैकारण उनलाई बेचैनी र लाजले छोप्यो । मानौँ उनलाई भरखरै थाहा भयो– शान्तिको उमेर चौध वर्ष मात्रै हो, उनको कौमार्य आफूले जबरजस्ती तोडिदिँदैछु, निर्मम दुर्व्यवहारको शिकार हुनुपरेका बेलासमेत शान्तिले स्नेही अंगालोले बेरिदिइन् ।

असजिलो खप्न नसकेर उनी हत्तपत्त उठे, हतारिएर लुगा लगाउन थाले । उनमा शान्तिको अनुहारमा हेर्ने आँट थिएन । बरू सकेसम्म छिटो कोठाबाट भाग्न र भरखरैको घटना बिर्सन चाहन्थे । बाहिर निस्कनुअघि, आफ्नो भूलको प्रायश्चित गर्ने अन्तिम प्रयत्नस्वरूप, उनले गोजीबाट हजारको एउटा नोट निकाले र तन्नाले लाज ढाकेर पल्टिरहेकी शान्तिका गोडाछेउ राखिदिए ।

सीताराम निस्केको केहीबेरमा शान्ति उठिन् । लुगा लगाइन् । अनि बैठककोठातिर जान भनेर निस्किइन् । जाँदै गर्दा बाटैबाट सुनिन्– सुनिता ग्राहकको हिंस्रक बलात्कार, दुर्व्यवहार र अपमान सहन नसकेर कोठाभित्रै शोकाकुल रोइरहेकी छिन् । साथीलाई ढाडस दिन उनी भित्र छिरिन् । थाहा पाइन्– सुनिताले बाँच्ने इच्छा गुमाइसकेकी रहिछन् । उनका आँखामा दु:ख र पीडाको सागर थियो, आतंक र निराशाका तुफानी छालहरू थिए । शान्तिले उनलाई आफूतिर तानिन्, उनका छातीमा आफ्नो छाती जोडेर कसिलो अंगालोमा बेरिन् र उनका आँखाबाट बगिरहेको अश्रुधारालाई बगिरहन दिएर आफू पनि रुन थालिन् ।

शान्तिसँग सुनितालाई सान्त्वना दिन सक्ने कुनै शब्द थिएनन् तर उनी माया र कोमलताले भरिएको एउटा न्यानो साथ र आलिङ्गन दिन सक्थिन्, दिइन् । अनि भनिन्, ‘सुनिता, यहीँ बस्दै गर । म मामीसँग कुरा गरेर आउँछु ।’

उनी सुनिताको हालत देखेर हल्लिएकी थिइन् । दौडिँदैजस्तो मामी भएठाउँ गएर हात जोडिन् र बिन्ती गरिन्, ‘मामी, दया गरेर सुनितालाई जान दिनुहोस् । त्यसका लागि मैले के गर्नुपर्छ गर्न तयार छु ।

मामीले उत्तर फर्काइन्, ‘त्यसरी त्यत्तिकै जान दिन मिल्छ ? पहिलो दिन यस्तै हो । एकदुई दिनमा बानी पर्छ । यदि नयाँ केटी खोज्दै आउने ग्राहकसँग जान तँ तयार छेस् भने सुनितालाई आजको दिन कोठामा गएर आराम गर्न दिन चैँ सकिन्छ ।’

सुनिता आराम गर्ने अनुमति पाएर कोठातिर गइन् । शान्ति नयाँ ग्राहक पर्खिन बैठककोठा फर्किइन् ।

मध्याह्नको खानापछि, साथी केकसो गर्दै रहेछिन् भनेर बुझ्न शान्ति माथि कोठामा गइन् । कल्पना पनि नगरेको– सुनिता त पंखामा डोरीको पासो लगाएर तुर्लुङ्ग झुण्डिरहेकी रहिछन्, निस्प्राण !

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

 ५ एक अविस्मरणीय सिकाइ

६ भोलापनको दुनियाँ

७ लालसाका दास

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *