जन्म

मकवानपुरको रामेछाप गाउँमा ढुङ्गामाटोले बनेको एउटा झुपडी थियो । झुपडीको मझेरीमा हालसालै बुनेको परालको गुन्द्री ओछ्‌याइएको थियो । गुन्द्री फूलमायाले बुनेकी थिइन् । उनी दुई जिउकी भएको नौ महिना पुग्नै लागेको थियो ।

एक बिहान डोकामा चुली पत्कर बोकेर जंगलबाट फर्किँदै गर्दा उनलाई सुत्केरी बेथाले च्याप्न थाल्यो । जसोतसो घिस्रिँदै भारी गोठसम्म ल्याइपुर्‍याइन् र अर्धबेहोस हालतमा मझेरीको गुन्द्रीमा लम्पसार परिन् । घरि थामिँदै, घरि बल्झिँदै दुई घण्टासम्म अथाह प्रसव पीडामा छटपटाइरहिन् । अनि उनले पहिलो सन्तानलाई जन्म दिइन् । धर्तीमा अवतरण गरेकी ती छोरी थिइन्- शान्ति ।

गाउँमा कसैलाई सुत्केरी बेथा लाग्दा उतार्ने तीनजना थिए । एकजना फूलमायाकै काकीसासू, अरू दुईजना पल्लो गाउँका बज्यैहरू । कलिली युवती फूलमाया प्रसवपीडामा रहँदा उत्रन साथ दिने पनि उनीहरू नै थिए । शान्तिलाई जन्माउँदा फूलमाया सोह्रकी थिइन्, श्रीमान् कपिल भने उन्नाइस लागेका थिए । बिहे गरेको दश महिना भएको थियो ।

रामेछापको यो बौद्धमार्गी तामाङ समुदायमा युवायुवतीहरूलाई जीवनसाथी आफैँ रोज्ने अनुमति थियो । बाबुआमाको स्वीकृति प्राय: चाहिँदैनथ्यो । प्रायः कसैले पनि जवान छोराछोरीका इच्छा र भावनाहरूलाई बाँधेर राख्दैनथे ।

स्कूल नटेकेका, आफ्नै नीति-विधानमा उन्मुक्त हुर्किएका यो गाउँका युवायुवतीसँग आफ्नो प्रकृतिप्रदत्त यौनाकांक्षालाई निकास दिन विहे गरेर सामाजिक स्वीकृतिप्राप्त जोडी बन्नुको विकल्प थिएन । यसैकारण बाँधिएको थियो फूलमाया र कपिलको जोडी पनि ।

फूलमाया बाह्रमा हिँड्दै गर्दा उनका छातीमा चिचिला देखिन थाले । त्यही बेलादेखि हो कपिलले उनलाई मसक्क मस्किँदै छड्के हान्न थालेको । उनी फूलमायामाथि नजर लगाउन भरसक कुनै मौका छोड्दैनथे- घाँसदाउरामा गएका बेला, कान्लाहरूमा खेलिरहँदा, बिहेबटुलोमा हुने नाचगान, कसैको घ्यावा अथवा चाडबाडका जमघटहरू ।

सुरूमा त फूलमायाले कपिलको जिस्क्याइलाई खेलाँची ठानिन् तर कपिलले रोकिने छाँटकाट देखाएनन् । उमेरको रन्को न हो, फूलमाया पनि बिस्तारै कपिलका नखराप्रति आकर्षित हुन थालिन् । आखिर त्यो दोहोरो आकर्षणको समागम हुने भयो । उनीहरूले बिहे गरे । अनि शान्ति जन्मिइन् ।

भएभरको बल लगाएर शान्तिलाई जन्माएपछि, प्रसव पीडाको अथाह चित्कार थामेर, ज्यानमा अरू एकपटक सास फेर्ने शक्ति बाँकी छैन झैँ अवस्थामा लम्पसार परिरहेकी फूलमायाले खै कहाँबाट हो अलिकति तागत निकालिन्, दुबै हात अगाडि फैलाइन् र च्याँर्रच्याँर्र गरिरहेकी शान्तिलाई काखीमा समाएर आफूतिर तानिन् । निमेषभर अनुहार नियालिन् र छातीमा लगेर चपक्क टाँसिन् । च्याँर्रच्याँर्र बन्द भयो ।

भरखरै जिउबाट रगतको खहरे बगेको भए पनि, थकाइले शरीर क्लान्तिएको भए पनि त्यो कृष्ण वर्णको, थेप्चो नाक, चिम्सा आँखा र मोटा परेलाले मुहार सजिएको सृष्टिको नवीन सिर्जना छातीमा टाँसेर पल्टिन पाउँदा उनलाई असीम आनन्द महसुस भएको थियो । त्यसबेला उनले आफ्ना सबै दुखाइ र थकान चटक्कै बिर्सिएकी थिइन् । उनलाई गहिरो सन्तुष्टि र शान्तपनले ढाकेको थियो । मानौँ समय रोकिएको थियो, अथवा समय भन्ने नै थिएन ।

उनलाई लाग्यो- संसारमा योभन्दा महत्त्वपूर्ण अर्को कुनै कुरा छैन, सबैथोक ठिकठाक छ । हरेक कुरा जहाँ र जसरी हुनु पर्थ्यो त्यस्तै र त्यसरी नै छ । हो, शान्ति यो संसारमा त्यसरी आइन्- गुमनाम, बाँकी संसारबाट अलग्गै भूगोलमा, हिमशिखरहरूबाट निश्रित प्रशान्तिको मरुद्यान अर्पण गर्दै ।

शान्तिपछि फूलमायाले लगालग तीन सन्तान जन्माइन्- माया, प्रमिला र वसन्ती । एउटा छोरो पाएरै छाड्ने घिडघिडोलाई विश्राम दिँदै, सारा आफन्त र गाउँलेको मथिङ्गल शान्त पार्दै शान्ति जन्मिएको पाँच वर्षपछि परिवारमा सबिन जन्मियो । उसको आगमनले बाबुआमाको अनुहारमा अलग्गै कान्ति ल्यायो । ठूलो राहत महसुस गरे । सायद बुढाबुढी भएर माटो खनिखोस्री खान नसक्ने अवस्थामा छोराबुहारीले स्याहार्नेछन् भन्नेमा ढुक्क भए ।

म जन्मेँ हुर्केँ स्पेनको क्यानरी टापुमा । अर्कै देश, अर्कै परिवेश । सानो छँदा परिवार र शिक्षकहरूबाट यदाकदा नेपालका कथा सुनेको हुँ तर आफैँ नेपाल आएपछि थाहा भयो वास्तविकता त अर्कै रहेछ । यहाँ छोराछोरी जन्मिनु भनेको कोही दुईजना बीचको मायापिरतीको नतिजा होइन रहेछ ।

यहाँका मानिसले यी हजारौँ पहाड र हिमालबीच जीवन बाँच्ने आफ्नै सुझबुझ बनाएका रहेछन् । एकअर्कासँग आफूलाई जोड्ने आफ्नै तरिकाहरू विकास गरेका रहेछन् । आफ्नै विश्वास र अन्धविश्वासहरू निर्माण गरेका रहेछन् । तिनै विश्वास र अन्धविश्वासहरूले उनीहरूको जीवनलाई हजारौँ वर्षदेखि निर्देशित गरिरहेका रहेछन् ।

मलाई लाग्छ हामी पश्चिमाहरू सबैखाले भौतिक आनन्द र सुखसयलको भोक मेट्ने कुरालाई केन्द्रमा राखेर जीवनका सारा योजना बनाउँछौँ । यहाँका मानिस भने त्यसरी बाँच्दा रहेनछन् । कथित आधुनिक सभ्यताभन्दा धेरै टाढा यी दुर्गम नेपालका पहाडी भेगका मानिसको जीवनको केन्द्रबिन्दु भौतिक आनन्द र सुखसयल होइन रहेछ । हरदम गरिरहनुपर्ने कठोर श्रम, दुःखबिमार, बाँच्नुका दौडधुप- यिनै रहेछन् यहाँका धेरैजसो मानिसका हरेक दिनका चुनौती । मुख्य चुनौती त आजको दिन भरपेट बाँच्नु रहेछ ।

उता मेरो देशमा प्रायः मान्छे धेरै सोचेर, छलफल गरेर, योजना बनाएर बच्चा जन्माउँथे । यताको भने कुरै अर्कै । यहाँ आधारभूत यौन आवश्यकता पुरा गर्दाको अनपेक्षित परिणामस्वरूप अथवा खेतबारीमा सघाउने जन चाहिएर बच्चा जन्मिन्थे । बुढ्यौलीमा एक्लै बाँच्नु पर्ला भन्ने पीरबाट मुक्ति पाउँला भनेर वा गर्भनिरोधक साधन नपाएर पनि बच्चा जन्मिन्थे । कुनै संस्थाले गर्भनिरोधको साधन नि:शुल्क बाँड्दैछ भने त्यो प्रयोग गर्दा ‘मजा आउँदैन’भन्ने सोचका कारण जन्मिएका बच्चा पनि थिए ।

कहिले र कति बच्चा जन्माउने प्राय: कसैले योजना बनाउँदैनथ्यो । त्यसैले गाउँमा पाँच-सात जना वा त्योभन्दा बढी लालाबाला भएका परिवार थुप्रै थिए । त्यस्ता परिवारलाई आजको दिन बाँच्ने चुनौती असाध्य अकटिलो हुन्थ्यो । कति अकटिलो भने कहिलेकाहीँ झाडापखाला जस्तो कुनै सामान्य बिमारले घरका सबैलाई छोप्थ्यो र सबभन्दा कमजोर सदस्य त्यो बिमारसँग जुध्न नसकेर फ्याट्ट मर्थ्यो । त्यसरी मर्नेमा धेरैजसो नवजात शिशु हुन्थे ।

भाग्यवश शान्ति र उनका भाइबहिना सबै बाँचिरहेका छन् । अकटिलो छ तर मरिहाल्नु परेको छैन । यसरी नमरेर बाँचेपछिको जीवनको पहिलो दुई वर्षमा शान्तिलाई धेरै कुरामा बानी पर्‍यो । कुनै गुनासो नगर्ने कुरामा, भोक लागेका बेला सधैँ खान नपाइँदो रहेछ भन्ने कुरामा र सधैँ कसैको साथ नपाइने कुरा स्वीकार गर्नमा । त्यसबेला उनलाई कठ्याङ्ग्रिने जाडो, गर्मी, वर्षा, बाबुआमाको आवाज र रक्सीको वास्नामा पनि बानी पर्‍यो ।

उनी प्रायः सधैँ निदालमा झुण्ड्याइएको कोक्रोमा सुताइन्थिन् । सुतिरहन्थिन् । मजदुरी गर्न जानु परेको छ तर घरमा रेखदेख गर्ने मान्छे छैन भने फूलमाया उनलाई मजेत्राको धोक्रामा हाल्थिन् र डँडाल्नामा बोकेर आफूसितै लैजान्थिन् ।

यसरी शान्तिका सुरुआती दिन कोक्रामा वा आमाका डँडाल्नामा सन्तुलन मिलाएर सुत्न र बस्न सिकेर बिते । नरोई र कुनै गुनासो नगरी । बरू नसुतेका बेला उनका अनुहारमा सधैँ एउटा मन्द मुस्कान हुन्थ्यो । भोकले गाँजेका बेला मात्रै त्यो मुस्कान केही समयका लागि हराउँथ्यो र उनको अनुहारमा उत्सुकता नाच्न थाल्थ्यो । अनि उनी अरूको ध्यानाकृष्ट गर्न रून थाल्थिन् ।

उनले सानैदेखि आफूलाई भोक लाग्दा, तिर्खा लाग्दा, जाडो हुँदा वा गर्मी हुँदा शरीरमा उत्पन्न हुने संवेदनामा ध्यान दिएर आफ्ना आवश्यकता थाहा पाउन थालिन् । सोचविचार गर्न सक्ने नहुँदैदेखि जीवनलाई सम्पूर्णतामा महसुस गर्न थालिन् । जीवनलाई साक्षीभावले अवलोकन गर्न थालिन् र त्यसैको प्रवाहमा आफूलाई समाहित हुन छोडिदिइन् । उनले हरेक कुरालाई सहजतापूर्वक स्वीकार गर्न, स्व:आशक्ति नबढाउन, मुक्तचित्त रहन र सङ्लो प्रेम गर्न पनि सिकिन् । यी कुरा उनलाई कसैले व्याख्या गरिदिएको होइन, जन्मजात आफै लिएर आएकी । यसरी उनले जीवनका सुरुआती पाइला स्व:स्फूर्त रूपले चालिन् । धीरता र प्रसन्नताका साथ चालिन् । भन्नु परोइन, ती पाइला बाल अवोधपनभन्दा धेरै माथि लाग्थे ।

चार वर्ष लाग्दा नलाग्दै उनले आमालाई घरको काममा सहयोग गर्न थालिन् । त्यसबेला उनमा डोको बोकेर घाँस काट्न जाने तागत अथवा जंगलबाट दाउरा भेला गरेर ल्याउने परिपक्वता त आइसकेको थिएन तर झिँजा खोजेर आगो सल्काउन, करेसाबारीका झार उखेल्न र घरभित्र थुप्रिएको कसिंगर बढार्न सक्ने चाहिँ भैसकेकी थिइन् ।

आमा घाँसदाउरामा गएका बेला उनी बहिनीहरूको हेरचाह गरेर बस्थिन् । उनीहरूका नाकका पोरामा झुण्डिएका सिँगानका लाप्रा पुछिदिन्थिन् । भोक लाग्दा पिठो उमालेर खान दिन्थिन्, उनीहरूलाई बचाइराख्ने दैनन्दिनको खुराक जो थियो । बढी उपद्रो गरे भने हकार्थिन् तर हकार्दा पनि उनको बोली र व्यवहारमा दया नै भरिएको हुन्थ्यो । उनका हाउभाउमा अनिच्छा र झर्कोफर्को कहिल्यै देखिएन । बरू उनले गर्ने हरेक कामकुरामा अन्तर्मनदेखिको गहिरो भक्तिभाव देखिन्थ्यो ।

यो अनकन्टार गाउँमा मेरा सुरुआती दिनहरूमा उनलाई नजिकबाट अवलोकन गर्न पाउनु हृदयका लागि एउटा उपहार मानेको थिएँ । त्यो उपहारले हजारौँ चिन्तामा गिजोलिएको मेरो अन्योलग्रस्त दिमागमा शीतल मलम लगाइदिन्थ्यो । उस्तै मलमको काम गर्थ्यो त्यस भूगोलमा घरिघरि चलिरहने ताजा हावाको स्पर्शले ।

म मनचिन्ते बादलमा उडिरहेका बेला ती हावाका स्पर्शले मेरो गञ्जागोल सोचको शृङ्खला तोडिदिन्थे र तनमन शान्त पारिदिन्थे । अनि म फेरि जीवनको ताजापनसँग एकाकार हुने मौका पाउँथेँ । ती त्यस्ता क्षण थिए जसमा मेरो ‘म’हराउँथ्यो । म हरेक कुरासँग एकाकार भइजान्थेँ । समय विलुप्त हुन्थ्यो । हरेक कुरा ठिकठाक भइरहेको झैं लाग्थ्यो र एउटा त्यस्तो अमित शान्तपन महसुस हुन्थ्यो जसले मलाई प्रसन्न चित्तसाथ आगामी क्षणहरू बाँच्ने प्रेरणा दिन्थ्यो ।

शान्ति भिन्न थिइन् । उनी अनेक कठिनाइ र प्रतिकूलतासँग आमनेसामने हुँदा पनि निर्मल रहन सक्थिन्, विचलित हुन्नथिन् । एक साँझको घटना- उनी आमालाई ढिँडो पकाउन सघाइरहेकी थिइन् । भरखरै बामे सर्न सिकेकी बहिनी प्रमिला घस्रिँदै अगेनाछेउ पुगेर आगोमा घोप्टिन लागेकी रहिछिन् । कसोकसो आमाले देखिहालिन् । आत्तेसले हडबडाउँदै प्रमिलालाई आगोछेउबाट उठाइन् । उठाउँदै गर्दा प्रमिलाका खुट्टाले अगेनामा बसाएको भाँडोमा लाग्यो । भाँडो घोप्टियो र फत्फताइरहेको ढिँडो घोप्टियो । आधाजसो ढिँडो अगेनामा पर्‍यो, बाँकी फूलमायाका खुट्टामा । उनी पोलाइको पीडाले विचलित भएर नानाथरी फलाक्न थालिन् र फलाक्दाफलाक्दै हत्केला पसारेर प्रमिलाका डँडाल्नामा भकुरिन् । प्रमिला सातो गए झैँ हुरूक्क भएर रून थालिन् । घर कोलाहलले भरियो ।

यो सबै केही सेकेण्डभित्र भयो । शान्ति विवेक र प्रज्ञा नगुमाइ सबै नियालिरहेकी थिइन् । जसै प्रमिला प्राण नफर्केला झैँ रून थालिन्, शान्तिले उनलाई जुरूक्क उठाएर बोकिन् र छातीमा टाँसेर ढाडमा सुम्सुम्याउँदै बाहिर लगिन् । केहीबेर सुम्सुम्याएपछि घुर्‍यानमा जुठोपुरो चरिरहेका कुखुरा र बुर्कुसी मारिरहेका पाठापाठीतिर औँल्याएर के–के भनिदिइन् । प्रमिलाको कोकोहोलो थामियो र ध्यान पाठापाठीतिर मोडियो ।

उनलाई तिनै पाठापाठीसँग अलमलिन छोडिदिएर शान्ति सिकुवातिर कुदिन् । त्यहाँ राखिएको सिल्बरे डेक्चीमा पानी भरिन् र बोकेर दगुर्दै भित्र गइन् । अनि आमाका खुट्टामा खन्याइदिइन् । आमाको रोइलो र पीडा बिसेक भयो ।

लगत्तै उनी बाहिर कान्लातिर हानिइन् र पोलेका ठाउँमा लगाउने जडिबुटीका पात चुँडेर हत्केलामा खैनी मोलेझैँ माड्दै फर्किइन् । भित्र छिरेर आमाका घाउमा त्यो जडिबुटीको रस निचोरिदिइन्, त्यसैको लेप पनि लगाइदिइन् । अनि केराको पात ल्याएर घाउ बेरिदिइन्, परालका त्यान्द्राले हलुकासँग बाँधिदिइन् पनि । घाउ बाँधिरहँदा उनको हात कपासको भुवा जस्तै नरम र हलुको थियो ।

केहीबेरमा आमा शान्त भएपछि उनी अगेनाछेउ पसारिइरहेको भाँडो उठाएर जुठेल्नातिर लगिन् । माटो र खरानीले टिलिक्क हुने गरी मस्काएर पखालिन् । अनि भित्र लगेर फेरि ढिँडो बसाल्ने तरखरमा लागिन् । पोलाइको रनाहा थामेर बसेकी फूलमाया अविश्वास र संकोच मिसिएका आँखाले छोरीका गतिविधि नियालिरहेकी थिइन् । एकातिर उनी छोरीको शान्तपन र सौम्यताप्रति मनमनै कृतज्ञ थिइन् भने अर्कातिर उनको परिपक्वता देखेर जिल खाइरहेकी थिइन् । यो घटना हुँदा शान्ति केवल पाँच वर्षकी थिइन् ।

अलिपछि एक बेलुका, विगतका थुप्रै बेलुका जस्तै, कपिल रक्सीले टिल्ल भएर भरखर जन्मिएको बाच्छोजस्तो लरखराउँदै घर आइपुगे । उनी मिर्मिरेमै कसैको गोठ बनाइदिन गाउँतिर झरेका थिए । दिउँसो भात खाने बेलासम्ममा गोठ बनाइसकेछन् । त्यसपछि साथीभाइ र आफन्तसँग बसेर रक्सी पिउन थालेछन् । उनका लागि रक्सी पिउनु र यौनमा लिप्त हुनु नै आनन्द प्राप्तिका माध्यम थिए । जीवनका बाँकी कुरा आनन्ददायक थिएनन्, कठोर थिए । हरेक दिन दश घण्टा भन्दा बढी ढुङ्गा फोर्नु वा त्यस्तै कुनै श्रम गर्नु पर्थ्यो । नत्र परिवार नै भोकै सुत्न बाध्य हुन्थ्यो ।

त्यो बेलुका घर फर्कँदा उनी ठूलो स्वरमा विरक्तिको बेसुरा गीत गाइरहेका थिए । आँगनमा आइपुगेपछि अलिक शान्त भए र भात खान मन लागेको कुरा फलाक्दै भित्र छिरे । उनले फलाकेका शब्दका तीर फूलमायातर्फ सोझिएका थिए ।

फूलमायाले दिनभर कामबाट हात बिसाउन पाएकी थिइनन् । दाउरा खोज्न जंगल चहार्दा बिहान बितिगयो । घर फर्केर शान्तिले ओडालिराखेको ढिँडोको गाँस टिप्दा मध्याह्न भइसकेको थियो । सोचिन्- आधा दिन भए पनि मजदुरीमा जान्छु । अनि जुठा भाँडा शान्तिकै जिम्मा छाडेर एक घण्टा परको खेततिर लागिन् । आधा दिनको ज्याला एक सय पचास थापेर फेरि एक घण्टा हिँड्दै केहीबेर अघि मात्र घर आइपुगेकी थिइन् ।

शान्तिले रायोको साग केलाइकुलाइ गरिछन् र मकैको ढिँडो पकाउन पानी उमाल्दै रहिछन् । फूलमाया एकछिन आरामले सास फेर्नुपर्‍यो भन्ने सोचेर अगेनाछेउमा बसेकी थिइन् । शान्ति खानपिनको तयारीमा लागिरहिन् । कपिल घर आइपुग्दा खानेकुरा पाकिसकेको थियो । उनी मातेर वल्लो छेउ र पल्लो छेउ हल्लिहिँडेको देख्नु परिवारका लागि नौलो दृश्य थिएन । बिहेबटुलोमा, मराउपराउमा कहिलेकाहीँ फूलमाया पनि चिरिप्प नपार्ने होइनन्, जनजाति संस्कारको अंश जो थियो तर कपिलको भने कुरै अर्कै ।

कपिल मातेर आउँदा प्रायः सधैं उस्तै गनगन र हल्लाखल्ला हुन्थ्यो तर त्यो रात फरक घटना भयो । त्यसले शान्तिलाई थरथरी कँपायो । फूलमायालाई ‘ढिँडो पस्किदे’भनेर अह्राउँदै अगेनाछेउ बसेका कपिल आधासरो नबुझिने पारामा आफ्ना दाजुबारे नानाभाँती बोलिरहेका थिए । दाजुभाइबीच जमिनको विषयमा केही वर्षदेखि विवाद थियो । उनी मुर्मुरिएको सुन्दा अनुमान लगाउन सकिन्थ्यो- आज दाजुभाइको भेट भयो र त्यो विवाद राम्रैसँग बल्झियो । सायद त्यही रनाहामा बेस्कन रक्सी धोकेर आएका होलान् ।

फूलमाया मन नलागिनलागि उठिन् र खाना पस्किएर कपिलका अघिल्तिर राखिदिइन् । उनले ढिँडोमा हात लगाएका मात्र थिए, फूलमायातिर हेरेर एक्कासि गर्जिए, ‘पातर्नी, यस्तो चिसो कसरी खानु हँ ?’

उनी त्यतिमै रोकएनन् । थाल टिपेर फूलमायाका अनुहारतिर हुत्याइदिए । ढिँडो, साग र नुनखोर्सानी भुईंमा असरल्ल छरियो । थाल हुर्रिएर फूलमायाका टाउकामा बजारियो । डर र अपमानले आत्तिएकी उनी कपिलका अनुहारमा हेर्न नसकी अगेनातिर घोसेमुन्टो लगाएर बसिरहिन् । लालाबाला सातो उडेको नि:सहाय भावमा एकठाउँ डल्लो परे । बुवालाई दिन भनेर गिलासमा पानी भरिरहेकी शान्ति बीचैमा रोकिएर चेतनाशून्य भावमा उभिइन् ।

उनलाई आफ्नो मांशपेसी अररिएको जस्तो भयो, मुटु निचोरिएर आयो, थरथरी काम्न लागिन् । घर एउटा अकल्पनीय आतंकको सन्नाटाले भरियो । अब के हुने हो ? न कसैलाई थाहा थियो, न त अनुमान नै ।
शान्तिका गाउँमा यस्ता घटना भइरहन्थे तर ती कहिल्यै महत्त्वका विषय हुँदैनथे । जीवनमा महत्त्वको एकमात्र कुरा त जीवित रहनु थियो । जीवित रहन एक पेट खानुपर्‍यो, एक पेट खान बाह्रै काल नबिसाइ संघर्ष गर्नुपर्यो । कताको रसरंग, कताको रामरमाइलो ।

यहाँ स्नेहको अभिव्यक्ति भनेकै सन्ततिको भोक मेटाउनु; आफ्नो र परिवारको सुरक्षाका लागि सचेत र यत्नशील रहनु; बालबच्चा हुर्काउन हरेक दिन मजदुरी गर्नु; र भनेको मान्नुपर्छ भन्ने सिकाउन केटाकेटीका डडेल्नामा मुड्क्याउनु वा सिर्कनाले पिँडुलामा डाम बसाइदिनु हो । अनि वर्षमा एकजोर लुगा किनिदिनु र दसैँतिहार वा ल्होसार जस्ता चाडबाडमा परिवारका सबैलाई दुईचार चोक्टा पुग्ने गरी शिकार जुटाउनु । यति गरेर भ्याइयो भने मात्र रसरंग र रामरमाइलो ।

यसरी अथाह श्रमले थिचिएको, कठिनाइ र अभावले घेरिएको जीवनबीच पनि सबै बच्चाले आफ्ना बुवाआमालाई संरक्षक ठान्छन् । उनीहरूले बुवाआमाको स्नेह अनुभव गर्न यति नै पर्याप्त छ ।
शान्तिले गाउँघरमा प्रशस्त गालीगलौज सुनिआएकी थिइन् । मुक्का हानाहानको हल्ला कति हो कति ।

अपमानका बोली र वादविवादको साक्षी पनि कति बनिन् कति तर बुवाले खानाको थाल आमाका टाउकामा बजारेका दिन भने उनले पहिलोपटक आँखासामुन्ने हिंसाको कुरुप अनुहार देखिन् । त्यसबेला उनको शरीर शिरदेखि पाउसम्म चिसिएको थियो र उनलाई भित्रैसम्म हल्लाउने गरी डर लागेको थियो । यो नयाँ घटनाले उनलाई लाचारी र दुर्बलताको अनौठो अनुभूति गरायो । मनभित्र ऐँठनको निख्खर कालो धब्बा पोतिदियो ।

हुन पनि त्यस दिन उनीभित्रको केही कुरा साँच्चै नराम्रोसँग हल्लियो । त्यसबेला उनले आफूभित्र हरदम रहने असीम शान्ति गुमाएकी थिइन् र त्यसलाई फेरि प्राप्त गर्न सकिरहेकी थिइनन् । उनको निर्दोषपन नीलडाम बस्ने गरी चिमोटिएको थियो । निस्कपटपन चिथोरिएको थियो । उनले त्यो रातको जस्तो डर र आक्रोश कहिल्यै महसुस गरेकी थिइनन् ।

त्यो दाग पखाल्न उनलाई केही समय लाग्यो र समय लाग्यो त्यो आतंकको अनुहार, आमाको रोदन, बहिनीहरूको सुँक्कसुक्ँक, बुवाका राता आँखा इत्यादि बिर्सन पनि । उनलाई ‘आफू’महसुस गर्न, जीवित छु भनेर पत्याउन धेरै दिन लाग्यो । ती एक्ला र उदास दिनहरूमा पत्तै नपाइ उनले शान्ति र सद्भावका साथ जीवन बिताउने, जीवनप्रति मुस्कुराइरहने रहस्य पनि फेला पारेकी थिइन् ।

उनले जन्मजात पाएको सबभन्दा ठूलो आशीर्वाद थियो- अवोध निर्दोषपना । त्यो घटनापछिका एक्ला र उदास दिनहरू बिताउँदै जाँदा उनले त्यो आशीर्वादलाई अझ प्रष्टसँग पहिचान गर्न थालेकी थिइन् । यसरी पीडाहरूसँग लड्दै, तिनकै सहारा लिँदै र तिनलाई आफ्ना प्रतिक्रियाहरूमाथि नियन्त्रण जमाउन नदिँदै उनी बिस्तारै जीवनका गहिरा दहहरूमा पौडिन थालिन् ।

उनी आफ्नो शरीर र अन्तर्मनलाई बिथोल्ने अथवा प्रेमपूर्वक स्पर्श गर्ने हरेक संवेदनाप्रति सजग हुन थालिन् । तिनमा पीडा भए त्यसैलाई साक्षीभावले अवलोकन गरिन् । सम्पूर्ण चेतना त्यसैमा केन्द्रित गरिन् र कुनै गुनासो नगरी ध्यानपूर्वक नियालिन् । केवल नियालिन् । सजगताको त्यो सचेष्ट यात्राले उनीभित्र त्यस्तो चमत्कारलाई जन्म दियो जसको चाहना हामी सबैलाई हुन्छ– सारा दुःखकष्ट हराएरजाउन् र आनन्दको लोकमा बास गर्न पाउँ ।

उनको शरीर थरथरी काँपेको; संवेदनाहरूले हृदयलाई हल्लाएको; स्वभाविकतालाई बिथोलेको; निर्दोषपनालाई उथलपुथल पारेको अनुभूति यो नै अन्तिम हुनेवाला चाहिँ थिएन ।किनभने त्यस्ता अनुभूतिहरूले टनाटन भरिएको लामो जीवन बाँकी नै थियो । त्यो बाँकी जीवनमा कतिपय अनुभूति र संवेदना यति आनन्ददायक हुनेछन्, त्यसक्षण उनले समय र स्थानको चेतनासमेत भुल्न सक्नेछिन् । अनि कतिपयचाहिँ यति अप्रिय र भयानक हुनेछन्- तिनले उनीभित्रको जिउने इच्छाको दियो निभाइदिन सक्छन् ।

तर शान्ति त्यस्तो ऐरेगैरे नत्थु खैरे पनि कहाँ थिइन् र ? उनी त यहाँ जगमगाउन, प्रकाश छर्न, कहिल्यै आशा नगुमाउन, प्रेम प्रदान गर्न र प्राप्त गर्न जन्मिएकी थिइन् । यहाँ कहिल्यै सुरुआत वा अन्त्य भन्ने थिएन र हुँदैन भन्ने कुरा हामीलाई महसुस गराउन जन्मिएकी थिइन् । उनलाई थाहा थियो- सुरुआत वा अन्त्यको धारणा त त्यसले राख्छ जो जीवनको अधिकांश समय सोच्नमा बिताउँछ, हामीजस्तो हरेक कुरामा तर्क-वितर्क पसारेर व्याख्या छाँट्न चाहने सामान्यजनको मथिङ्गलमा जकडिएर बसेको हुन्छ ।

क्रमशः

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *