प्रेमयात्रा

शान्ति र म स्पेनबाट नेपाल फर्कँदै थियौँ। जहाज काठमाडौँको विमानस्थलमा उत्रिन करिब चालीस मिनेट बाँकी थियो। हामी शान्तघरबारे कुरा गर्दैथियौँ। शान्तिले उस्रठ्ठै सोधिन्, ‘सर, म शान्तघरमा केही समय सेवा गर्न चाहन्छु। मिल्ला?’

उनको प्रस्तावले फेरि एकपटक हृदयस्पर्शित हुँदै मैले भनेँ, ‘त्यो तिम्रा लागि पनि थुप्रै कुरा सिक्ने, अनुभव गर्ने अवसर हुन सक्छ। त्यसैले तिमीलाई त्यहाँ कसरी सामेल गराउन सकिन्छ सोचेर छिट्टै खबर गर्नेछु।’

काठमाडौँदेखि हेटौँडासम्मको चारघण्टे सुमो यात्रामा मेरो दिमागमा एउटै कुरो घुमिरह्यो… शान्तघरमा शान्तिका लागि उपयुक्त भूमिका के हुन सक्ला? हामी हेटौँडा पुग्यौँ। केही दिन परिवारसँग बिताउने, स्पेनका अनुभव सुनाउने र शान्तघरमा काम गर्ने सम्भावित अवसरबारे बुवाआमालाई बताउने उत्साह बोकेर शान्ति गाउँ लागिन्। म शान्तघर गएँ। मेरो दिमागमा उनलाई सकेसम्म चाँडो शान्तघर बोलाउने उपायको तर्कना चलिरहेकै थियो। शान्तघरका अधिकांश नानीहरूले शान्तिलाई चिनेका थिए। केही दिनअघि मात्रै आइपुगेका हुनाले कमला र निर्मलाले चिन्दैनथे।

त्यसदिन बेलुका शान्तघरमा खाना खान सबैजना भान्सामा भेला भएका बेला मैले सुनाएँ, ‘तिमीहरूलाई एकदमै माया गर्ने एकजना दिदी केही समय बस्ने गरी चाँडै यहाँ आउने कुरा छ। तर त्यो को हो म अहिले भन्दिन।’

शान्तिले हामीलाई केके काममा सहयोग गर्न सक्लिन्? यसबारे मैले भोलिपल्टैदेखि टिपोट गर्न थालेँ। सोचेँ… जस्तोसुकै काम गर्नुपरे पनि गुनासो गर्ने होइनन्, त्यसैले उनको अनुभवसमेतलाई विचार गर्दा गाईको हेरचाह र खाना पकाउने काममा लगाउनु उपयुक्त हुन्छ। शान्तघरका अरू दिदीबहिनीसँग घुलमिल हुन, यहाँका नियमकानुन र व्यवहारका तौरतरिकासँग परिचित हुन यसरी सजिलो होला।

शान्तघरमै बसेर साथसहयोग गर्ने मान्छे भेट्टाउन हामीलाई सजिलो थिएन। किनभने अधिकांश महिला सानै उमेरमा विवाह गर्थे, र उनीहरूले सबै समय र ऊर्जा परिवारका लागि समर्पित गर्नुपर्थ्यो। हामीसँग काम गर्न आइपुग्ने प्राय: सबैजना या एकल महिला हुन्थे, या त घरमा स्रोतसाधनको कमी भएका विद्यार्थी युवती हुन्थे जसलाई विवाह गर्ने उमेर नहुन्जेलसम्मका लागि कुनै काममा लाग्नुपर्ने आवश्यकता हुन्थ्यो।

मेरो खबर पाएपछि शान्ति शान्तघर आइपुगिन्। उनीमाथि हामीले राखेको विश्वास सहि प्रमाणित हुन धेरै समय लागेन। उनको उपस्थितिले शान्तघरमा ल्याएको परिवर्तन प्रष्ट देखिन थाल्यो। अनपेक्षित कुराहरू हुन थाले। शान्तघरका नानीहरू भान्सा र गोठमा सरसहयोग गर्न तँछाडमछाड गर्न थाले, जो पहिला हुँदैनथ्यो। सबैजना शान्तिका नजिक हुन चाहन्थे, उनको सुमधुर आवाज सुन्न चाहन्थे। उनको भद्रपन, दयालुपन र कोमलपनसँग अझ नजिक हुन चाहन्थे।

अधिकांश नानीहरू कलिलै उमेरमा शान्तघर आइपुगेका थिए। प्राय: सबैजना स्नेहको अभावले कुपोषित हुन्थे। उनीहरू शान्तिप्रति त्यति धेरै आकर्षित हुनुको एउटा कारण त्यही थियो। उनी तिनका अभावलाई पोषित गर्थिन्। शान्तघरका नयाँ सदस्य भएकाले र आफूजस्तै व्यक्तिको खोजीमा बढी चासो राखेकाले होला, निर्मला र कमलाले सबभन्दा धेरै शान्तिको साथ खोजिबसे। उनीहरूको बुवाको मृत्यु भैसकेको थियो, आमाले अर्कैसँग विवाह गरिसकेकी थिइन्। भन्नु परोइन, श्रीमतीको पहिलो विवाहबाट भएका छोरीहरूलाई खुसीखुसी स्वीकार गर्न सजिलो थिएन। समग्रमा भन्नुपर्दा, उनीहरू मामाकहाँ हुर्किरहेका थिए। तर मामाले पनि दुई छाक राम्ररी खुवाउन सक्ने अवस्था थिएन। हामीले सुनेअनुसार कतिपय अवस्थामा उनीहरू अरूका घरघरमा गएर खानेकुरा मागिहिँड्नु पर्थ्यो रे!

हामीकहाँ पहिला कमला आइपुगेकी हुन्। उनले नै हामीलाई बताइन्, “एघार मात्र पुगेकी वहिनी निर्मलालाई मामाले काठमाडौँको गलैँचा कारखानामा काम गर्न पठाएका छन् र पाँच हजार रकम पेश्की पनि लिइसकेका छन्।’

हामीले निर्मला काठमाडौँमा कहाँ छिन् पत्ता लगायौँ। अनि उनको उद्धारका लागि सहकर्मी कुमारको अनुभव र आँटको भर परेर काठमाडौँ पठायौँ। काठमाडौँबाट फर्केपछि कुमारले हामीलाई कथा गर्नुभयो, ‘निर्मलालाई बिहान पाँच बजेदेखि बेलुका आठबजेसम्म काममा लगाउँदारहेछन्, बीचमा खाना खानका दुई पटक छोटो विश्राम दिँदारहेछन्।’

निर्मला हामीकहाँ आउँदा हातभरि चोट र खत थिए। गलैँचा बुन्न प्रयोग हुने ज्याद्रा धागाहरूले बनाएका ती घाउ कुनै त निकै गहिरा र ठूला थिए। उनको स्कूल छुटेको तीन वर्ष भइसकेको रहेछ। तर उनलाई उमेरको पर्वाह नगरी पढाइ जारी राख्ने मन थियो। हामीले उनलाई नजिकैको विद्यालयमा चार कक्षामा भर्ना गरिदियौँ।

नानीहरूका लागि शान्तघरका सेविकाहरू आमा जस्तै थिए। शान्ति पनि थपिएकी थिइन्। धेरै दिन लागेन, नानीहरूले सर्वाधिक प्रशंसा गर्नेमा शान्ति अगाडि हुन थालिन्। उनीहरू फुर्सद पाउने वित्तिकै उनका कोठामा गफ गर्न पुगिहाल्थे। त्यसैले उनको दिवाविश्राम धेरैजसो विथोलिन्थ्यो। तर त्यसले उनलाई पनि जीवनमा नयाँ कुरा दिएको थियो।

पहिलो कुरा, मैले पनि नानीहरूको जीवनमा केही दिन सक्ने रहेछु भन्ने महसुस। दोस्रो, त्यसरी केही दिँदा प्राप्त हुने चोखो आनन्द। उनलाई उनीहरूप्रति समानुभूति व्यक्त गर्न र नजिक हुन सहज लाग्थ्यो। तर नानीहरूलाई अह्राइकराइ गर्नुपर्दा त्यो समानुभूति र सहजताले उनलाई कहिल्यै कमजोर र निस्प्रभावी पारेन।

शान्तघरका कतिपय कर्मचारी शान्ति र उनको कौशलप्रति डाहा गर्न थालेका थिए। तर त्यो डाहाको जरो नकारात्मक थिएन। कतिपय कर्मचारी यहाँ वर्षौँदेखि काम गरिरहेका भए पनि चाहेजस्तो आदर पाउन अझै सकिरहेका थिएनन्। त्यसैले, सायद छक्क पर्दा हुन्… यति भरखरकी केटीमा यति धेरै सीप र क्षमता कसरी हुन सक्छ? मान्छे यस्तो सही कसरी हुन्छ? तर उनीहरूले शान्तिलाई प्रशंसा र प्रेम पनि गरे। किनभने उनमा घमण्डको लेस थिएन। बरू सधैँ सहकार्य गर्न, परिआएका जोसुकैलाई सहयोग गर्न तत्परता हुन्थिन्।

केही हप्तामा शान्तघरमा बस्ने सबैको सहिष्णुता र दयाभाव त्यो उचाईमा पुग्यो जुन आजसम्म कहिल्यै महसुस गरिएको थिएन। त्यसअघि यहाँ प्राय: सधैँ कोही न कोही अनुहार वाथ्थ पारेर बसेकै हुन्थ्यो, कसै न कसैबीच केही कुरामा विवाद चलिरहेकै हुन्थ्यो, कसैलाई चुप लगाउनु परिरहेकै हुन्थ्यो, अथावा कसैले केही कुरामा अटेरी गरिरहेकै हुन्थ्यो। तर पहिला त्यस्तो हुन्थ्यो रे भन्ने थाहा नपाई शान्तिले यहाँको वातावरणमा माया र शान्तिको मगमग सुवास छरिन्। त्यो सुवास उनको व्यक्तित्वबाट स्वाभाविक रूपमा हरदम सुवासित भइरहेको हुन्थ्यो।

एक बिहान शान्तिसमक्ष एउटा अनपेक्षित कुरा हुन पुग्यो। सुवास नाम गरेका युवा नानीहरूलाई पढाउन हरेक बिहान शान्तघर आउँथे। त्यस बिहान उनले शान्तिसँग एक गिलास पानी पिउन मागे। उनले ल्याइदिइन्। त्यही बहानामा उनीहरूबीच केही मिनेट बातचित भयो। नानीहरूबारे, तिनका खालखालका स्वभावबारे र त्यसबाट कहिलेकाहीँ आइपर्ने चुनौतीबारे कुरा भए। सायद यसअघि शान्ति र सुवासले आपसमा आठदशवटा भन्दा बढी शब्द बोलेका थिएनन्। तर आज? शान्तिलाई अचम्म पनि लाग्यो… अकस्मात यो मान्छे किन मलाई उसका कुरा सुनाउन चासो दिइरहेको छ हँ?

दिन बित्दै जाँदा उनीहरूबीच बातचितको अवधि लम्बिँदै गयो। एकअर्काका कुरा बढी सजीव र चित्ताकर्षक लाग्दै गए। शान्तिले यसअघि आफूलाई कहिल्यै महसुस नभएको कुरा महसुस गर्न थालिन्… सुवासप्रति अप्रतिरोध्य आकर्षण। सुवासलाई पनि शान्तिप्रति त्यस्तै भयो। उनीहरूका आँखा एकअर्कालाई खोज्न थाले। तीनका आँखाले जम्काभेटका त्यस्ता मौका खोजिबसे जो अरूका लागि संयोग जस्ता देखिउन्, तर आपसी चाहनाको झिल्को साटासाट गर्न पनि सकियोस्। अरूका मनमा कुनै शंका नउब्जिने गरी मनका केही शब्द सुन्नसुनाउन पाइयोस्।

शान्तघरमा बेलुकाको खानाअघि केहीबेर ध्यान गर्ने चलन छ। ध्यानमा बसेका बेला शान्तिलाई आफ्नै श्वासप्रश्वासमा, शरीरमा उत्पन्न संवेदनामा ध्यान लगाउन गाह्रो भइरहेको थाहा हुन थाल्यो। यो पनि थाहा पाइन्… दिमाग एउटा चाखलाग्दो चलचित्र जस्तो केहीमा भौँतारिइरहेको छ, जहाँ उनी आफ्नो प्यारो मान्छेसँग प्रेमिल क्षणहरू बिताइरहेकी छिन्। आफैँलाई सोधिन्, ‘के यो सामान्य हो त? दैनिक तालिकामा अवरोध पुर्‍याउन थालेका यी नयाँ अनुभूति र संवेगमा लतारिएर मैले गल्ती त गरिरहेकी छैन? अन्तत: एक बेलुका उनले मसँग कुराकानी गर्ने निर्णय गरिन्।

उनले मलाई विस्तारमा बताइन्, ‘सर, हरेक कुरा अनपेक्षित तरिकाले भइरहेका थिए। के, किन र कसरी भइरहेको छ मेसो पाउन सकिरहेकी थिइनँ। चिन्ता र तनाव झाँगिन लागेको थियो। किनभने म सुवासका बारेमा धेरै सोचिरहेकी थिएँ। तर त्यस्तो हुनु सही हो कि गलत, मलाई थाहा भएन। थाहा नहुनुले म झन् धेरै छटपटिन थालेँ।’

मैले उनलाई भनेँ, ‘लाटी, तिमी प्रेममा परिरहेकी छौ र त्यो पटक्कै गलत होइन। तर होसियार चाहिँ हुनुपर्छ। किनभने सुवास कथित उच्च जातका हुन्, एउटी जनजाति केटीसँग बिहे गर्ने कुरा सुन्दा उनको परिवारले अनेक बखेडा झिक्न सक्छ। ध्यानमा राख्नुपर्ने अर्को कुरा मान्छेले गर्ने नचाहिँदो खासखुस र खिसिट्युरी हो। तिमीहरूले सँगै समय विताएको देखे भने गाउँमा अन्टसन्ट हौवा चल्न थाल्नेछ। तिमीलाई थाहै छ, बिहे गर्ने पक्का नभएसम्म त्यस्तो हौवा चल्नु राम्रो हुँदैन। केटी मान्छेका लागि त झन् गाह्रो छ।’

अदालती विवाहलाई गाउँसमाजले राम्रो नमान्ने कुरा शान्तिलाई थाहा थियो। उनले मेरो सल्लाहको आसय पनि बुझेकी थिइन्। यदि सुवाससँगको उनको सम्बन्ध पार लागेन भने त्यसले थुप्रै समस्या ल्याउने छ। अर्कैसँग सल्केकी छ अरे भन्ने हल्ला चल्छ, र अरूसँग विवाह हुने सम्भावना सीमित हुनेछ।

मैले उनलाई आफ्नो अनुभव पनि सुनाएँ, ‘उमेरमा म पनि प्रेममा परेको थिएँ। सायद त्यो नै मेरो जीवनको सबभन्दा कम सजग कालखण्ड पनि थियो। किनभने त्यतिबेला म कल्पनामा बाँचिरहेको थिएँ, यथार्थसँग प्रायः अमिल्दो कल्पना।

सामान्यत: के हुन्छ भने कोही दुईजना एकअर्काप्रति असाध्य आकर्षित हुन्छन्। एकअर्कालाई भेट्ने र सँगै समय बिताउने बाहेक अर्थोक सोचेका हुँदैनन्। समय बित्दै जाँदा प्रेमिल व्यवहार र अनुभूतिको स्थान दैनन्दिनका तितामिठाले ओगट्न थाल्छन्। गज्याङ्गुजुङ् शुरू हुन्छ। प्रमाणित नै भयो नि, जन्मजात वुद्धिविकेक लिएर आएकी शान्ति पनि अरू सबैजसो मान्छे बग्ने गरेको ‘प्रेम’ को खहरेमा बगिरहेकी थिइन्। त्यो वेगलाई मेरा सल्लाहको बाँधले रोक्न सक्ने कुरा भएन। त्यसैले उनलाई सचेत पार्न मैले यत्ति भनेँ, ‘आगामी दिनहरूलाई थप जटिल नबनाउनेतिर होसियार रहनू।’

त्यस उप्रान्त उनीहरू शान्तघरमा कम भेट्न थाले। फुर्सदका प्राय: दिन वरिपरिका डाँडाकाँडामा विताउँथे। सुवासले परिवारलाई आजसम्म छिसिक्क बताएका थिएनन्। बिहे गर्न पढाइ त्याग्छु भन्दा परिवारले स्वीकार्नेवाला पनि थिएन, त्यसमाथि एउटी जनजाति केटीसँग। तर शान्तिप्रति भने उनी शुरूदेखि नै इमान्दार थिए। भन्थे, ‘हाम्रो विवाह हुने र सँगै जीवन बिताउन पाउने सम्भावना कम छ।’

भन्नु परोइन,  शब्दले शान्तिलाई दु:खी पार्थे। तैपनि दुवैका दिमागले त्यस्तो कुनै कुरा वा व्यक्ति सम्झन सक्दैनथ्यो जसले उनीहरूलाई सधैँका लागि एकसाथ रहनबाट रोक्न सक्छ।

विविध कारणले सुवास शान्तघरमा काम गर्न छोडिसकेका थिए। त्यसैले शान्ति आफ्ना दैनिक कामकुरामा बढी ध्यान लगाउन सक्ने भएकी थिइन्। देख्न सकिन्थ्यो, उनी हरेक दिन अझ बढी आत्मविश्वासी र दृढसंकल्पित हुँदैथिइन्। रत्तिभर रिस वा नकारात्मकता नदेखाइ सबैखाले समस्या अथवा मिथ्या बुझाइ समाधान गर्न हरदम तयार हुन्थिन्। उनमा कामप्रति कहिल्यै कसैमा नदेखिएको लगाव र प्रतिवद्धता देखिन थाल्यो। नानीहरूको स्वास्थ्यमा विशेष चासो देखाउन लागिन्। बिमारी हुँदा एकअर्काको ख्याल गर्न सबैजनालाई प्रोत्साहन गरिन्।

विमारी भएका बेला हामीलाई सबभन्दा बढी माया र स्याहार पाएको महसुस गर्नुपर्ने जरूरत हुन्छ भन्ने कुरा उनलाई राम्रैसँग थाहा थियो। उनी हरेक साँझ करिब छ बजेतिर सबै नानीहरूसँग बस्थिन् र यस्ता कुरा भन्थिन्। ती कुरा उनी कथा सुनाए झैँ भन्थिन् र नानीहरू पनि त्यो कथाप्रकृयामा सहभागी हुन्थे। उनीहरू कथाको नायक बन्न सधैँ लालायित हुन्थे र त्यसवापत शान्तघरको जुनसुकै अतिरिक्त जिम्मेवारी लिन तयार हुन्थे।

उनले नानीहरूलाई इच्छापूर्वक जिम्मेवारी स्वीकार गर्नमात्र सिकाएकी थिइनन्, जिम्मेवारीलाई आनन्दपूर्वक पुरा गर्न पनि अभ्यस्त बनाएकी थिइन्। ध्यान भनेको हरेक दिन जुनसुकै समय खेल्न सकिने खेल हो भनेर बुझाएकी थिइन्। बढारिरहँदा कसरी कुचो समाउने, हत्केलाले कुचो समाएको कसरी महसुस गर्ने र कुचोले फोहोर धकेल्दैगर्दा हातमा पर्ने दवाव कसरी अनुभव गर्ने भन्ने कुरा पनि बताएकी थिइन्। उनीहरू यी र यस्ता हरेक काम गरिरहँदा आफ्नो श्वासप्रश्वासमा, शरीरको लय र गतिमा ध्यान पनि राखिरहेका हुन्थे, मानौँ उनीहरू कुनै एक सुन्दर नृत्यका साक्षी हुन्।

उनी उनीहरूलाई समूह बनाएर गोठमा लैजान्थिन्। गाई दुहुँदा थुनहरूको छुवाइमा, थुन समाएर दूध निचोर्दाको थिचाइमा, त्यसबेला वरिवरिबाट आइरहेका आवाज र गन्धहरूमा सजग ध्यान पुर्‍याउँदै कसरी आनन्द लिन सकिन्छ भनेर देखाउँथिन्। यसमा मूल कुरा भनेको आफ्नो शरीरका माध्यमबाट जीवनलाई महसुस गर्नु र सजग हुनु, तर कुनै व्यक्ति अथवा कुराबारे कुनै पूर्वधारणा नबनाउनु थियो। उनले नानीहरूलाई सूत्रवाक्य दिए झैँ भनेकी थिइन्, ‘यसरी नकारात्मकताको कुनै अवशेष नराखी, हरक्षणको सत्यलाई स्वीकार गर्दै तिमीहरू आफ्नो दिमाग सफा राख्न सक्छौ।’

यसरी, हरक्षण ध्यानमा रहने अभ्यासलाई प्रायः नानीहरूले एउटा खेलकै रूपमा लिए। जीवनमा कहिल्यै नबिर्सने एउटा खेल, जसले उनीहरूलाई जीवनसँग भिडन्त गर्ने मुर्खता होइन जीवन बाँच्ने कला चैँ प्रदान गर्थ्यो।

उमेर खाएका नानीहरूलाई कुरा बुझाउन भने गाह्रै थियो। यौवन फक्रिन थालेपछि धेरैजसोको ध्यान लुगाफाटोमा, आफ्नो शरीर कस्तो देखिइरहेको होला भन्नेमा र मान्छेका आँखाले मलाई कसरी हेरिरहेका होलान् भन्नेमा केन्द्रित हुन्थ्यो। त्यसैले उनीहरूलाई यस्ता उमेरजन्य कुरा बुझाउन सकुन् भनेर म शान्तिलाई विभिन्न खाले गोष्ठी तयार गर्न र सञ्चालन गर्न सिकाइरहन्थेँ।

प्राय: गोष्ठीको मूल उद्देश्य नानीहरूलाई ‘तिमीहरू आफैँ खुसी छैनौ वा खुसी हुन जानेनौ भने अरू कसैले खुसी बनाइदिन सक्दैन’ भन्ने कुरा प्रष्टसँग देखाउनु थियो। साथसाथै यी कुरा पनि औँल्याउनु थियो… खुसी सदैव तिमीहरूको पहुँचभित्र हुन्छ, त्यो खुसी अरू कसैको चित्त बुझाएर प्राप्त हुँदैन, बरू आफैँलाई प्रशन्न तुल्याएर हुन्छ, कुनै डर वा संकोच नमानी आफ्ना अनुभूति व्यक्त गरेर प्राप्त हुन्छ, हिनताबोध र लज्जालाई पन्साएर प्राप्त हुन्छ, मन लाग्दा एकअर्कालाई अंकमाल गरेर प्राप्त हुन्छ, जीवन जुन र जस्तो रूप लिएर आइलाग्छ त्यसलाई त्यसरी नै स्वीकार गरेर प्राप्त हुन्छ।

आफूभित्र एउटा त्यस्तो तत्व छ जसलाई न छुन सकिन्छ, न शरीरको अङ्ग हो, न त दिमाग अथवा मन नै हो भन्ने कुरा शान्तिलाई बोध भएको थियो। त्यो अनामलाई उनले ‘यथा…उपस्थित’ नाम दिएकी थिइन्। यो नै उनका लागि जीवनको असली/आधिकारिक तत्व थियो, हरेक कुराबारे सजग र सचेत रहने तत्त्व। त्यो तत्त्वले उनलाई जीवनमुखी प्रज्ञा दिएको थियो। उनलाई थाहा भएको थियो… स्वार्थीपन भनेको केवल दिमागी खेल हो, यो खेल हामी आफ्नै संरक्षणका निम्ति र सधैँभरि त्यसरी नै बाँचिरहनका निम्ति खेल्छौँ, अनि हामीलाई त्यसबाट फलित् हुने अवश्यमभावी क्षति र पीडाबारे पटक्कै होस हुँदैन।

शान्तिले बुझेकी थिइन्, मानिसले उहिल्यै देखि स्वार्थी व्यवहारको सम्बर्द्धन गरिआएको छ। ऊ शरीर र रूपमा आधारित मत सम्प्रदाय बनाउँछ, भौतिक सुख भोग गर्ने ध्याउन्नमा लागिबस्छ, दु:ख/पीडा बर्जित गर्न लालायित हुन्छ। तर जीवनको उद्देश्य त केवल त्यो ‘यथा…उपस्थित’ सँग जोडिइरहनु हो, हामी जीवन हौँ, अरू थप केही हुने/बन्ने चिन्ता गर्नु हुँदैन/पर्दैन, किनभने जन्मनासाथ नै हामी केही अद्भुत हौँ भन्ने आत्मबोध गर्न मानिसलाई कठिन छ।

यो कुरा व्याख्या गरेर बुझाउन सजिलो थिएन। त्यसैले शान्तिले गर्न सक्ने भनेको उदाहरण बनेर देखाउने मात्र हो। अरूका लागि ऐना बनिदिने, आफूभित्र पस्ने बाटो देखाइदिने, हरक्षण आफूले महसुस गरिरहेकोप्रति सजग र सचेत रहँदा स्वभावत: टुसाइजाग्ने खुसीको रहस्य खोजी गर्न अरूलाई निमन्त्रण दिने मात्र हो। त्यसपछि दया पलाउँछ, अनि कोमलता, शान्तपन, स्वीकारोक्ति, सिर्जनात्मकता, स्वतन्त्रता एवम् प्रेमले पछ्याउँछ भनेर नमुना प्रस्तुत गर्ने मात्र हो।

यी सबै कुराबारे उनीसँग बात मार्नु, नानीहरूलाई स्व:खोजका लागि उपयोगी हुने क्रियाकलाप तयार गरेर गोष्ठी चलाउनु मेरा लागि उत्सव जत्तिकै रमाइलो र आनन्दायक कुरा थियो। त्यसले मलाई मेरो जीवनका अझसम्म नसुल्झिएका विविध आयामबारे घोत्लिने अवसर दिन्थ्यो। मलाई अझ बढी स्नेही बन्न, स्वतन्त्र र खुसी हुन अवरोध पुर्‍याइरहेका कुराबारे मस्तिष्कमन्थन गर्ने अवसर पनि दिन्थ्यो।

एउटा हँसिलो मुस्कान छोड्नु, हरेक बिहान उस्तै उत्साहका साथ ओछ्यानबाट उठ्नु, होसहवास् नगुमाउनु, त्रसित नहुनु, सन्तापमा नपर्नु, लाससालिप्त नहुनु शान्तिका लागि सजिला कुरा थिए। सानै देखि उनी ‘यथा…उपस्थित’ चरित्रका का लागि चिनिएकी थिइन्। बरू हामीमध्ये धेरैजना उनको जस्तो स्वभाविक खुसीको खोजीमा भौँतारिइरहेका बेला उनलाई भने बाँकी दुनियाँ कसरी बाँचिरहेको छ सिक्नु परिरहेको थियो, बुझ्नु परिरहेको थियो।

उनले बाँकी दुनियाँबारे जति बढी बुझ्दै गइन् त्यति नै बढी दु:खी महसुस गर्न थालिन्। किनभने उनी हरेक दिन हामीमध्ये धेरैले भोगिरहेको अतिचार दु:खबारे जानकार हुँदै गइन्। आफ्ना बुवाआमा, भाइबहिनीलगायत नजिकका मान्छेबारे कुराकानी गरेका बेला, आफूसँगै वेश्यालय पुगेकी सुनिताको याद आएका बेला, त्यहाँका अरू दिदीबहिनीको अनुहार र स्थिति मानसपटलमा नाचेका बेला, अथवा कतिपय ग्राहकका अनुहार र यौनलिप्साभित्र लुकेका अँध्यारा कथा सम्झेका बेला उनी साह्रै नमिठोसँग रून्थिन् पनि।

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

 ५ एक अविस्मरणीय सिकाइ

६ भोलापनको दुनियाँ

७ लालसाका दास

८ आमोद प्रमोद

९ गाउँको माहोल

१० घरफिर्ती

११ नमिठो वापसी

१२ आश्रय

१३ पूर्वबाट पश्चिम

१४ अर्को संसार

१५ हडबडी

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *