अर्को संसार

स्पेनमा हामी काँठको ग्रामीण घरमा बसेका थियौं । बिहानको खाना प्रायः आमाघरमा खान्थ्यौँ– सलाद, पोटाजे, सुप, सागसब्जी, पास्ता, माछामासु, पाउरोटी, खालखालका केक, सिमी इत्यादि । उनलाई एकैछाकमा त्यति धेरै परिकार खाने बानी थिएन । ढिँडो र सागपात हुर्किएकी थिइन् । त्यसैले खानामा ती कुरा नहुँदा अरु जे खाए पनि मन नअघाउने । त्यसैले आमा खानामा प्रायः भात पकाउन छुटाउनुहुन्नथ्यो । शान्ति बिस्तारै मेरो चलनको खानामा बानी पर्न थालिन् । सबभन्दा धेरै सलाद मन पराइन् ।

एकदिन मैले स्पेनिस भाषा सिक्न मद्दत गर्ने पुस्तक किनेर ल्याएँ । शान्तिले दैनिक प्रयोगमा आउने शब्दहरू सिक्न थालिन् । आमासँग बात मार्न सहज भएजस्तो हुन थाल्यो । कहिलेकाहीँ म बाहिर जानुपर्दा उनी आमासँगै बस्थिन् । किनमेल गर्न, समुद्रतिर टहलिन वा गाउँतिर डुल्न सँगै जान्थे । आमालाई गाडी कुदाउन मन पर्थ्यो, खासगरी शहर बाहिर निस्कन । नजिकैका हटिया गएर फलफूल र सागसब्जी किन्न पनि रमाइलो मान्नुहुन्थ्यो । उहाँ सबै ठाउँमा शान्तिलाई पनि लिएर जानुहुन्थ्यो । आमा र शान्ति अनुहारका भावबाट, मुस्कानबाट र शान्तिले सिक्दै गरेको टुटेफुटेको स्पेनिस शब्दबाट एकअर्कालाई बुझ्थे । आमा घरिघरि आफ्नै सुरमा एकोहोरो बोलिरहनुभएको हुन्थ्यो, मानौँ शान्ति सबै स्पेनिस कुरा बुझिरहेकी छिन् । तर अधिकांश समय फिटिक्कै केही बुझेकी हुन्नथिन्, तैपनि वहाँहरूको दोस्ती गज्जब जमेको थियो ।

घर पुगेपछिको पहिलो शनिबार मैले शान्तिलाई एल पाखार्र समुद्री किनारमा लिएर गएँ । मलाई त्यहाँ बिहान सबेरै पुग्न मन पर्छ । हामी छ बजेतिर घरबाट निस्कियौँ । बाटामा चुर्रास् कन चोकोलात्ते खान रोकियौँ । उनले मन पराइन् । त्यस दिन बिहान करिब साढे आठ बजेतिर एल पाखार्रको किनारमा पाइला राख्ने पहिलो मानिस हामी थियौँ । समुद्रको यति नजिक पुग्नु शान्तिको पहिलो अनुभव थियो । समुद्री छालले उनका पाउमा पहिलो स्पर्श गर्दाको उनको अनुहार म अझै सम्झन्छु ।

उनी असाधारण मुस्कानका लहर फिँजाउँदै मग्न भएर आफ्ना खुट्टा पानीले छोपिँदै गएको हेर्न थालिन् । समुद्रका छाल साना थिए, अलिकति पर्तिरसम्म बगेर समुद्रतिरै फर्किँदा थोरै मात्र बालुवा किनारमा छोडिरहेका थिए । उनले आनन्द र हर्षले उज्यालिएको अनुहार मतिर फर्काइन् । उनका आँखा मलाई नजिक बोलाउँदै थिए, त्यो क्षण साझा गर्न अनुरोध गर्दै थिए ।

हामी केहीबेर एकैठाउँ उभिइरह्यौँ । सूर्य समुद्रगर्भबाट उदाएर रङ र राप बदल्दै बिस्तारै माथि आउँदै थियो । केहीबेरपछि हामी किनारैकिनार हिँड्न थाल्यौँ । उनी पानीको नजिक थिइन् । समुद्रबाट, त्यसको मिठो चिसोपनबाट र प्रकृतिमा मनमनै डुबुल्की लगाएर आनन्दित हुने अवसरबाट टाढिन चाहन्नथिन् । घाम माथि आए, तातो बढ्न थाल्यो । मैले जीऊमा पौडीवस्त्र मात्रै बाँकी राखरे कपडा खोलेँ । उनले शरीर ढाक्ने कपडाभित्र बहिनीको पौडीवस्त्र लगाएकी थिइन् । उनलाई हेर्दै भनेँ, ‘कपडा उतार !’

उनको अनुहारमा अफ्ठ्यारोपन दौडियो । एकजना मान्छेका अगाडि नाङ्गिनुपर्दा कस्तो लाग्छ उनले पहिल्यै कथा गरिसकेकी थिइन्, यहाँ त भिडमा नाङ्गिनु थियो । बिस्तारै अरु युवतीहरू पौडीवस्त्र लगाएर आएको, निर्भय र निसंकोच टहलिएको, पौडिन थालेको देखेपछि मात्रै उनले पनि कपडा खोल्ने आँट गरिन् । कपडा खोलिसकेपछि पनि हातपाखुराले, तिघ्राले लाज छोप्न खोज्दै थुप्रै मिनेटसम्म बालुवामै बसिरहिन् । म किनारसम्म बगिआउने पानीले खुट्टा भिजाउने ठाउँमा थिएँ, उनी केही पाइला पर्तिर थिइन् । अब आँट गर्लिन् ठानेर मैले उनलाई बोलाइहेरेँ, ‘हिँड जाउँ डुबुल्की मार्न ।’

उनी गाला रातो पारेर उभिइरहिन् । हातमा समाएर तान्न थालेपछि मात्रै बाध्य भएर पाइला सारिन् । उनको पारा हेर्दा लाग्थ्यो मानौँ उनलाई नाइटो देखाएर हिँड्दा ठूलै पाप गरे झैँ लागिरहेको छ । उनलाई पौडी खेल्न आउँदैनथ्यो । त्यसैले सुरक्षित महसुस गरून् भन्ने ठानेर उनको हात कसिलो गरी समाएँ । हामी हिँड्दै समुन्द्रको एकदम नजिक पुग्यौँ तर डुबुल्की नमारी फर्कियौँ । एकछिनमा फेरि छोटा पाइला चाल्दै समुद्रतिर गयौँ । हामी बालुवाको चिसोपनलाई, खुट्टाले पानी छुइन थालेकोलाई, बालुवामा टेक्दाको सरकसरकलाई,  शरीरमा काँडा उम्रिने गरी हिर्काइरहेको सिरेटोलाई महसुस गर्दै हिँडिरहेका थियौँ । उनी डराएजस्ती देखिन्नथिन् तर मलाई कसिलो गरी समाउन छोडेकी थिइनन् । हामी अघि बढ्दै गयौँ । जसै चिसो पानीले उनको कमरमा छोयो, उनको मुखबाट आम्मा ! को उच्छ्वास निस्कियो । उनले दुबै हात उठाएर हल्लाइन्, उफ्रिउँला झैँ गरिन् ।

उनी समुन्द्रमा रमाए जत्तिको हर्षानन्दित दृश्य मैले जीवनमा बिरलै देखेको थिएँ । धेरै पहिलादेखि मलाई आफूमा केही कमी छ भन्ने लागिरहन्थ्यो । उनीसँग समुद्रमा आएका बेला मैले अकस्मात देखेँ– त्यो मसँग कमी भएको कुरा उनीसँग रहेछ । के त्यो कुरा कुनै बेला मसँग पनि थियो ? त्यो भोलापन, सम्पूर्ण ध्यान वर्तमानमा टेकाएर जीवन जिउने क्षमता मबाट कुन दिन गायब भयो ? यसरी म सोचमा बहकिँदै गर्दा पनि उनी भने वर्तमानमै बाँचिरहेकी थिइन् । यस पटक मैले आफू त्यसरी बहिकिएकोमा भने खिन्नता महसुस गरिन । बरु आफूमा भएको कमी पत्ता लगाउने बोधी क्षण प्रदान गरेकोमा, शान्ति र प्रेमले हृदय भरिदिएकोमा जीवनप्रति कृतज्ञ महसुस गरेँ । यो मेरा लागि नयाँ अनुभव थियो, र थियो चित्तसमृद्ध पार्ने, खुशी हुने, जीवनसँग नजिक हुने, आफैँसँग नजिक हुने एउटा अवसर ।

सबभन्दा महत्त्वपूर्ण त जीवनले दिएको उपहारको उत्सव मनाउने अवसर थियो । एक मित्रले भने झैँ– यो त्यस्तो उपहार थियो जो जीवनले दिन सक्छ भन्ने त निश्चित छ तर तबमात्र दिन्छ जब त्यसका लागि चाल्नु पर्ने कदमहरूको चक्रबाट अघि बढिरहिन्छ । साहसी हुनु, खराब महसुस हुनुको पराकाष्ठामा पुग्नु, फेरि खडा हुनु, स्खलित हुनु, दु:खी हुनु, धेरै दिनसम्म आफूभित्रै रुमलिनु, सधैँ कुनै अज्ञात कुराको खोजीमा भौँतारिनु तर त्यो कुरा आफैँभित्र छ भन्ने बोध नहुनु, अनि अकस्मात कुनै कारणले गर्दा त्यो बोधको झिल्को उठ्नु र त्यही झिल्कोका कारण मनमस्तिष्क अनि व्यवहार रूपान्तरित हुनु ।

मैले खोज गरिरहेका तर आफूभित्र छन् भन्ने थाहा नपाएका केही कुरा यिनै रहेछन्– भोलापन र अन्तर्मनको आवाज अनुसार व्यवहार गर्न मिल्ने स्वतन्त्रता, अरुबाट आइपर्ने चोट अथवा दुर्व्यवहारबाट विचलित नभइ सहन सक्ने क्षमता र सधैँ प्रेमभावमा बाँच्न कला । यो यात्रामा मैले धेरै हिँड्न बाँकी थियो । मलाई आफ्नो अस्तित्वको प्रत्येक तन्तुबाट प्रेमको किरण छर्ने एउटी भरखरकी केटीका तुलनामा आफू अनाडी भएको महसुस भयो तर मैले यत्न गर्न छोडिन । मलाई थाहा थियो– जीवनलाई प्रेम र स्वीकृतिको अनुभवजन्य यात्रा बनाउने कुरा मैमाथि भर पर्छ, कुनै एउटा शब्दातीत ‘त्यो’ सँग जोडिने कुरा पनि मैमाथि भर पर्छ ।

शान्ति र मेरो शनिबारे बिहान समुन्द्रकिनारमा बित्यो । भोलिपल्ट मैले हाम्रो स्पेनी संस्था एजुकानेपालका साथीहरूलाई खाना खान बोलाएको थिएँ । अघिल्लै दिन सुपरमार्केटबाट दाल, भात, तरकारी, अचार बनाउने सर्जाम ल्याएका थियौँ । भन्नु परोइन, सुपरकार्केटको विशालता देखेर शान्ति चकित परेकी थिइन् । उनलाई त्यति धेरै सामान पाउने त्यत्रो ठूलो पसल हुने कुरा पत्याउन मुस्किल भएको थियो । उनी ती सयौँ आलमारीमा भरिएका हजारौँ सामान के होलान् सोच्दै वल्लो छेउ देखि पल्लो छेउसम्म हिँडिन् ।

विविध जन्तुका खालखालका मासु चिस्याएर राखिएठाउँ पुग्दा उनलाई अर्को आश्चार्य भयो । उनको अनुहारमा प्रश्न पढ्न सकिन्थ्यो– यस्तो मासु खानु स्वास्थ्यका लागि राम्रो होला त ? उनी जीवजन्तुलाई पनि मान्छेलाई जत्तिकै श्रद्धा र माया गर्थिन् । उनलाई जीवहत्या गर्दा अथवा तिनको मासु खाँदा शान्तिपूर्वक बाँच्न सकिन्छ जस्तो लाग्दैनथ्यो । उनको गाउँमा मासु नखाने एकजना पनि थिएनन् भन्दा हुन्छ तर मांशहारी भनेर उनी कसैलाई हियाउँदिनथिन् । चाडबाडका बेला गाउँमा आफूसँगै हुर्किएको कुनै एउटा बाख्राको प्राण लिइन्थ्यो । उनलाई लाग्थ्यो– यिनले आफुसँगै हुर्केको पाठो मारिखान कसरी सकेका ? यिनमा त्यो पाठाप्रति कुनै स्नेहभाव छैन ? यो कुरा उनका लागि दुःखको पराकाष्ठा थियो ।

सुपरमार्केटको फलफूल र सागसब्जी खण्डमा पुग्दा उनलाई धरती स्पर्श गर्न पाए झैँ भयो । तिनको वास्ना, रूप र रङ परिचित लाग्यो । सबैथोक टोकरीमा चट्ट सजाएको पनि मन पर्‍यो । कति सफा । झिँगाभुसुना भन्किएका छैनन्, किराकिरी छैनन्, सड्न लागेका फलफुलका दाना छैनन् । उनलाई सागसब्जीको बडेबडे आकार र फलफूलको अस्वभाविक चमक भने प्राकृतिक लागेन । उनी कृत्रिम रङरोगन र साजसज्जाको ढर्रामा सहमत थिइनन् । मैले भनिदिएँ, ‘यी सबै सागसब्जी र फलफूलमा कृत्रिम वास्ना छिटिएको छ, तिनको रूपरङ नबिग्रियोस् र आकर्षक देखिउन् भनेर रासायनिक पदार्थहरू प्रयोग गरिएको छ ।’

सुपरमार्केट चहारेर घर फर्किएपछि उनले एउटा स्याउ कर्‍याप्प टोकिन् । चपाउँदाचपाउँदै च्यापु टक्क रोकिन् र गम खाइन् । उनको अनुहारको भावले भन्दैथियो– के हो यस्तो ? न स्याउको जस्तो स्वाद छ, न चपाउँदा फलफूलजस्तो लाग्छ । मान्छेले कसरी प्राकृतिक स्वादको बदलामा बाहिरी रूपरङ रोज्न सकेको हँ ?

आइतबार बिहान हामी अलि चाँडै उठ्यौँ र खाना बनाउने तयारीमा लाग्यौँ । उनले अदुवा, लसुन केलाइन् । अनि सोधिन्, ‘सर, मसला पिस्ने लोहोरोसिलौटो कता छ ?’

मैले एउटा सानो मेसिन उनका हातमा थमाइदिँदै ठट्टा गरेँ, ‘अस्ति काठमाडौँको एयरपोर्टबाट लोहोरोसिलौटो छिराउन अलिक गाह्रो पर्‍यो क्या ! यसैले काम चलाउ ।’

उनको हास्यचेत उम्दा थियो । मेरा मुखबाट कहिलेकाहीँ फुत्किने निर्दयी र बेतुकका टिप्पणीमा पनि हाँसिदिन्थिन् । म मजाक गर्ने असफल कोसिस गर्दैछु भन्ने उनलाई थाहा हुन्थ्यो । तसर्थ उनीबाट मैले कहिल्यै खिसिट्युरीको कर्के नजर सामना गर्नु परेन । बरु उनी मेरा अतिरञ्जित टिप्पणी सुनेर आन्द्रा बटारिउञ्जेल हाँस्थिन् । अथवा, उनलाई केही कुरामा उक्साउन कोसिस गरेँ भने विश्मयकारी उपेक्षाको भावमा ‘तपाईंको मजाकले हावा खायो सरजी’ भने झैँ हेर्थिन् ।

हामीले बिहानभर लगाएर सागसब्जी, दाल, गोलभेंडाको अचार र भात पकायौँ । करिब बीसजना साथीभाइ आउने कुरा थियो । एकैपटक सबैलाई पुग्ने पकाउन ठूला भाँडा थिएनन् । जेनतेन काम चलाइयो । खाना तयार गरिरहँदा मैले सधैँ झैँ थुप्रै झिनामसिना कुरामा तनाव लिइरहेँ तर उनीसँग सधैँ कुनै न कुनै समाधान हुन्थ्यो । म जे कुरालाई तिलको पहाड बनाएर चिटचिटाइरहेको हुन्थेँ उनी त्यसको औचित्यहीनता मेरासामु पछारिदिएर थाहै नपाइ मलाई शान्त पार्थिन् ।

म जीवन वास्तवमै सरल भएका बेला पनि बिनाकारण जटिल बनाइरहेको हुँदोरहेछु । यो कुरा आत्मावलोकन गर्न उनले मलाई थुप्रै अवसरहरू दिइन् । मलाई उनको स्वभाविकता, प्रफुल्लता, सहजता र वर्तमानलाई यथारूपमा स्वीकार गर्ने क्षमताप्रति इर्श्या लाग्थ्यो । म गम खान्थेँ– कुनै दिन म पनि उनी जस्तै वर्तमान क्षणप्रति सजग रहेर, बदल्न नसकिने कुराको प्रतिरोध नगरी, अरुलाई आफूले चाहेजस्तो बनाउने मनोकांक्षा नराखी, हरपलको वास्तविकताप्रति शान्त मुस्कानसहित हाँसिदिएर सरल र सहज जीवन बाँच्न सकुँला त ? कहिलेकाहीँ मलाई लाग्थ्यो म भीषण युद्धबीच बाँचिरहेको छु र यो युद्धमा मेरो शत्रु म आफैँ हुँ, मेरो मष्तिष्क हो र मेरा बेफ्वाँकका कल्पना र अनुमानहरू हुन् । तिनले मलाई बाँच्न, अनुभूत गर्न, सलल बग्न दिइरहेका छैनन् ।

दिउँसो एक बजेतिर साथीहरू आउन थाले । उनीहरूसँग देखेभेट नभएको धेरै भएको थियो । हाम्रा पुनर्मिलनहरू सधैँ हर्षोल्लासपूर्ण हुन्थे । उनीहरूलाई थाहा थियो यसपालि मसँग शान्ति पनि छिन् । त्यसैले तिनका मनमा अनुमान र उत्सुकताको गतिलै पोको थियो । शान्ति कस्ती होलिन् ? यहाँ कस्तो लागिरहेको होला ? के कुराले कुत्कुत्याएर मैले उनलाई यहाँ केही महिनाका लागि लिएर आएको हुँला ? इत्यादि ।

शान्तिले मेरा केटी साथीहरूसँग अंकमाल गर्न र चुप्पा खान सहज मानिन् । केटा साथीहरूसँग भने अझै स्वभाविक भैसकेकी थिइनन्, उनका कुम खुम्चिएको प्रष्टै देखिन्थ्यो । उनीप्रति सबै साथीहरूले सुरुदेखि नै निकै रुचि देखाए, अनुराग देखाए, खास व्यवहार गरे । बातचितमा उनलाई पनि संलग्न गराउने प्रयत्न गरिरहे । म देख्दै थिएँ– उनीहरू घरि सांकेतिक भाषा प्रयोग गर्दैथिए, घरि शान्ति यहाँ आइकन सिकेका शब्द उलटपुलट पारेर आफ्ना कुरा बुझाउन खोजिरहेकी थिइन् ।

खानापछि एक चरण शान्तिले साथीहरूबाट राम्रै प्रशंसा र आदरका शब्दहरू पाइन् । अनि हामी मुख मिठ्याउनी खान थाल्यौँ । प्राय: हरेक साथीले केही न केही कोसेली बोकेर आएका हुनाले मुख मिठ्याउनी अगडमबगडमको खाँचो थिएन– मालपुवा, केक, आइसक्रिम, फ्रिटर्स, फ्रेञ्च टोष्ट इत्यादि ।

प्रायः नेपालीले जस्तै शान्तिले पनि गुलियोको साटो मसलादार र टर्रोपिरोमै ज्यादा मन लगाइन् । सबैले शान्तिलाई आफूले ल्याएका खानेकुरा थोरै भए पनि चाख्न अनुरोध गरिरहेका थिए । बिचरीलाई नाईं भन्न कति गाह्रो ! उनका लागि यो माहोल ‘विदेशीहरू क्या शानदार तरिकाले बाँच्छन्’ को पहिलो अनुभव थियो । उनले भाइबहिनी, बुवाआमा, मकैको ढिँडो, त्यो ढिँडो जुटाउन गर्नुपर्ने मेहनत नसम्झिन सकिनन् । तर सम्झेर नमिठो महसुस गरिनन्, न त हाम्रो चलनको आलोचना नै गरिन् । छक्क चैँ परेकी थिइन्, जसरी म कहिलेकाहीँ परिरहेको हुन्छु । यो सोचेर कि जन्मेको ठाउँका आधारमा मान्छेको जीवन र जीवनका सम्भावना कति फरक हुन सक्छन् !

शान्तिले त्यसदिन यसअघि कहिल्यै अनुभव नगरेको तरिकामा साथीहरूबाट अगाध स्नेह र स्वीकारोक्ति पाइन् । उनको गाउँठाउँमा जीवन भनेको जिजीविषाका लागि लडिरहनुपर्ने अनवरत लडाईं थियो । उनीहरू हाम्रो जस्तो कल्याणकारी राज्यको स्थितिमा पुगिसकेका थिएनन् । धेरै मान्छे अझै निरक्षर थिए, बाँच्नका लागि माटै कोट्याउनु पर्थ्यो । बालबच्चालाई असल संस्कार सिकाउने मेसो र समय थिएन । बरु घरबाहिर श्रम गर्ने र घरमा सहयोग गर्ने तरिकाहरू सिकाउथे । त्यसैले उनलाई त्यो साधारण दिवाभोजनका क्रममा उत्पन्न तमाम मनोवेग पचाउन, आफू जन्मेहुर्केको भन्दा धेरै फरक संसारमा हुँदा तँछाडमछाड झुल्किरहेका यावत भावना सम्हाल्न सजिलो थिएन । उनलाई आफ्ना पुराना अनुभव र हिजोआज बाँचिरहेको दैनिकीबीचको गहिरो खाडलसँग बानी पर्न निकै गाह्रो भयो, समय लाग्यो ।

तर उनका अनुहारमा ती असजिलाहरूको अमिलो झल्को देखिएन । उनीसँग अति गहन संवेगहरू आफूभित्रै राख्न र व्यवस्थापन गर्न सक्ने क्षमता मात्र थिएन, स्पेनका मानिस फरक तरिकाले बाँचेका रहेछन् र तिनका चलन आफ्नो भन्दा अलग रहेछन् भन्ने समझ सहजै स्वीकार गर्ने क्षमता पनि थियो । मेरा साथीहरूले उनलाई छोरीजस्तै व्यवहार गरे, उनले पनि आफूलाई प्राप्त स्नेह र न्यानो स्वागतप्रति आभार महसुस गरिन् । त्यसैले उनी घर छोड्नुको उदासीबीच पनि हर्षित् थिइन् ।

उनले सरला र सञ्जुसँग केहीबेर खेल्ने मौका पनि पाइन् । उनीहरू मेरा दुई साथीले पालेका नेपाली धर्मपुत्री थिए, शान्ति जस्तै कुनै नेपाली गाउँमा जन्मिएका तर मातृभाषा विर्सेका थिए । तैपनि शान्ति र उनीहरूबीच साख्खै दिदीबहिनीको जस्तो विशेष सानिध्यता देखियो ।

साँझपख साथीभाइ बिदा भइसकेपछि, भान्साको थान्कोमुन्को सकेपछि शान्ति र म एकएक गिलास दुध लिएर बार्दलीमा बस्यौँ । जुन लागिरहेको थियो । बिहानदेखिको यताउतिले थाकेर भुतुक्क भइएको थियो । हामी धेरैबेर मौन बस्यौँ । मैले मेसो पाएँ– उनलाई यो मौनता चाहिएको थियो, त्यस्तो भारीभरकम दिनपछि एकखाले आनन्दी सहजता चाहिएको थियो ।

मैले नेपालका मेरा सुरुआती दिन सम्झिएँ । डर लागिरहने, यो ठाउँमा थप एकदिन अडिन सक्छु कि सक्दिन भन्ने शंका लागिरहने त्यो भिन्न संस्कृतिमा बाँच्नु मलाई धेरै अनौठो र कठिन थियो । यहाँ र त्यहाँ हरेक कुरा भिन्न थिए, अझै छन्– सम्बन्धहरू, अरुलाई सुनाउन मिल्ने र नमिल्ने कुराको भेद, आचरणका खुलापन र सीमा, स्नेह व्यक्त गर्ने र नगर्ने तौरतरिका, शिष्टाचार, चलन, खानेकुरा, भूगोल, भौतिक सुविधा र अरू धेरै कुरा ।

म विकसित भनिएको संसारको हुनु अथवा उनी विकासोन्मुख भनिने संसारकी हुनुले कुनै अर्थ राखेन । किनभने हरेक व्यक्ति आफ्नो संसारबाट टाढा हुँदा अति संवेदनशील हुँदोरहेछ, एकप्रकारले कमजोर हुँदोरहेछ, सम्हालिन गाह्रो हुँदो रहेछ । त्यसले हामीलाई जीवनको नयाँ वास्तिकताबारे ज्ञान पनि दिँदोरहेछ र व्यक्तित्व सम्वर्द्धनमा मद्दत पुर्‍याउँदो रहेछ । त्यो सम्वर्द्धनलाई कुनै शब्द, आकार वा रूपमा व्यक्त गर्न सकिँदैन । त्यसले हाम्रो आन्तरिक गहिराइलाई छुन्छ र अन्तस्करणको नजिक पुग्छ ।

शान्तिले गिलासको न्यानो दूध आनन्द मान्दै पिइसकिन् र मलाई हेरेर मुसुक्क मुस्कुराइन् । मानौँ भन्न खोज्दैछिन्, ‘सर, म तपाईंले पहिलापहिला भन्ने गरेका कति कुरा अहिले आएर बुझ्दैछु, ती कुरा पनि बुझ्दैछु जो तपाईंको यो संसारबारे थाहा नभएका कारण उबेला मेरो दिमागमा घुस्दैनथे ।’

उनको मुखबाट थप शब्द निस्किएनन्, केवल मुस्कानले मलाई मौनालिंगन गरिहेकी थिइन्, सान्त्वना दिइरहेकी थिइन् र भन्न खोज्दैथिइन्, ‘अनेकौँ पीडादायी र असहज पलहरूबाट गुज्रिनु पर्दा पनि मेरो देश त्यागेर नहिँड्नु भएकोमा धन्यवाद ।’

उनी मलाई मेरै संसारमा भेट्न पाएकोमा, सँगै बसेर मौनताको आनन्द लिन पाएकोमा, निशब्दताबीच पूर्ण समझ निर्माण हुन सकेकोमा कृतज्ञ थिइन् । मैले सुस्तरी उनको हात समाएर उठ्न आग्रह गरेँ र उनलाई अंगालो हालेँ । त्यो मौन अंकमालमा हामीले एकअर्कालाई परम् चोखो प्रेमले भिजायौँ । मलाई लाग्छ– त्यस्तो प्रेमको भोक उनलाई भन्दा मलाई बढी थियो ।

शान्ति जीवन जस्तोसुकै रूप र रंगमा आइलागे पनि स्वीकार गर्न सक्ने क्षमता लिएर जन्मिएकी थिइन् । उनीभित्र कहिल्यै कसैप्रति वैरभाव जन्मिएन, चित्त कञ्चन थियो । म विगतमा धेरैपटक क्रोधी र द्वेषी भएको थिएँ, मेरो दु:खीपनका लागि अरुलाई दोषी करार गरेको थिएँ, तौलिएको थिएँ । म अझै पनि आफ्नो जीवनसँग सामञ्जस्यता खोज्ने प्रक्रियामा थिएँ ।

शान्ति र म न्यानो अंगालोबाट छुटेर अघिकै ठाउँमा बस्यौँ । थप एकएकवटा मिठाइ खायौँ । मिठाइ र परिवेशको गुलियोमा रमायौँ । अलि भरे, आकाशमा जून निकै पर पुगिसकेको हेर्दै म उठेँ । शान्तिका कुममा हात राख्दै भनेँ, ‘शुभरात्री शान्ति, अब सुतौँ ।’

हामी आआफ्ना सुत्ने कोठामा छिर्‍यौँ । भोलिपल्ट बिहान नास्ता खाँदै गर्दा उनले मलाई भनिन्, ‘हिजो हामीले अंकमाल गर्दा मलाई अलि असहज लाग्यो । सायद इण्डियामा हुँदाको अनुभवले गर्दा होला । सँगसँगै राम्रो पनि लाग्यो ।’

हाँस्दै थपिन्, ‘तर आउने दिनहरूमा चाहिँ मेरो हुनेवाला श्रीमान्‌ले त्यसरी अंकमाल गर्नुभयो भने मलाई सजिलो हुने थियो ।’

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

 ५ एक अविस्मरणीय सिकाइ

६ भोलापनको दुनियाँ

७ लालसाका दास

८ आमोद प्रमोद

९ गाउँको माहोल

१०. घरफिर्ती

११ नमिठो वापसी

१२ आश्रय

१३ पूर्वबाट पश्चिम

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *