लालसाका दास

हेटौँडा पुग्दा झमक्क साँझ परेको थियो । सडकमा मान्छे हतारिएर हिँडेका देखिन्थे । सडकछेउ चिटिक्कका पैदलमार्ग थिए । सडककिनारमा अनेक खालका पसलहरू थिए । ती पसलमा एउटा मध्यम वर्गीय परिवारलाई चाहिने सबै सामान सजाएर राखिएको थियो । बजारको झिलिमिली देखेर कसोकसो तर्सिएकी सुनिता शान्तिको हात समाएर हिँडिरहेकी थिइन् । शान्ति वरिपरिको बजारु रमितामा नजर डुलाउँदै सुस्तरी पाइला चाल्दै थिइन् । ‘कति ढिलो हिँडेका यी केटी, अलि छिटो पाइला सार्न सक्दैनौ ?’, बाटामा रमाले उनीहरूलाई यसरी थुप्रैपटक दप्काइन् ।

गाउँमा भेट्दाकी रमाको दयालु बोलीले बिस्तारै शालीनताको सीमा नाघेर आदेशको रूप लिँदै थियो । केटीहरूले असहज मानेको सुइँको पाएपछि भने रमा फेरि अलि नजिकिएको, माया गरेको नाटक गर्न थालिन् । यसो गर्न उनी अभ्यस्त थिइन् । धैर्य गुमाउँदै गएकी र झिँजो मान्न थालेकी एउटी महिलासँग घरबाट धेरै टाढा हुनुपरेकोमा शान्तिलाई भने असहज लाग्न थालेको थियो । उनको उमेर रमाको असली नियत खुट्याउन सक्ने त भएको थिएन तर केही अनौठो भइरहेको छ भन्ने प्रष्ट संकेत चाहिँ पाइरहेकी थिइन् । उनको व्याकुलता बढिरहेको थियो । तथापि उनी ठान्न चाहन्थिनन्– नयाँ अनुभव भोगिरहेका कारण यो सब भइरहेको हो ।

त्यस रात उनीहरू बसपार्कको एउटा सस्तो होटलमा बास बसे, तीनै जना ठूलो ओछ्‌यानमा खाँदिएर सुते । थाकेका थिए, मस्त निदाए । ब्युझँदा रिमरिम उज्यालो भइसकेको थियो । ‘म पोखरा जाने बस बुझेर आउँछु, तिमीहरू यहीँ चिया पिएर बस्दै गर्नु ।’

शान्ति र सुनितालाई यसो भनिराखेर रमा बाहिरिइन् । उनीहरूलाई अबको बीस मिनेटपछि आफू चढ्ने बसको गन्तव्य पोखरा नभएर भारतीय सीमावर्ती शहर वीरगञ्ज हुनेछ भन्ने कुराबारे रत्तिभर सुईंको थिएन । रमा बसको टिकट लिएर आइन् । सबैजना झोला बोकेर बस चढे । बसका प्राय: यात्री गहिरा आँखा भएका, गम्भीर देखिने कृष्ण वर्णका पुरुष थिए । ती शान्ति र सुनिताले सधैँ देखिरहेका पहाडी भेगका गहुँगोरा मंगोल अनुहार भन्दा बिल्कुल भिन्न थिए । यो देखेर उनीहरू छक्क परेका थिए ।

यात्रीहरूले बसको छतमा साइकल थुपारेको देखेर पनि उनीहरू छक्क परेका थिए । वीरगञ्ज त्यस्तो शहर हो जहाँ वर्षौंअघि भारतीय मूलका थुप्रै मानिस आएर स्थानीय समुदायसँग मिलेर बसोवास गरेका छन् । जन्मले नेपाली नै हुन्, तर धेरै कुरा भारतको उत्तरी भेगका मानिससँग मिल्दाजुल्दा छन् । उनीहरूमध्ये धेरैजना भारतबाट ल्याइएका थरिथरिका कपडा, सिरक, डस्ना र घरायसी खित्रिङमित्रिङ सडककिनारमा थुप्रो लगाएर बेच्छन् । प्रायः सामान भन्सार छलेर ल्याइएकाले सस्ता पाइन्छन् ।

वीरगञ्ज बसपार्कमा उत्रिँदा शान्ति र सुनितालाई कहाँ आइपुगियो पत्तो थिएन । पोखरा जाने बाटो रमालाई थाहा होला भनेर पछ्‌याइरहे । केहीबेर हिँडेपछि एउटा रिक्सा चढेर दक्षिणतिर लागे । रिक्सा आधा घण्टा कुदेपछि प्रहरी चौकी अगाडि रोकियो । निलो बर्दी लगाएका एकजना व्यक्ति नजिक आएर सोधे, ‘हजुरहरू कहाँ जान लाग्नुभएको ?’

रमाले मस्किँदै उत्तर दिइन्, ‘हामी उता आफन्त भेट्न जाँदै गरेका ।’

‘बहिनीहरू चैँ ?’ नयाँ केटीहरू चेलीबेटी बेचविखनको जालमा फँसेको शंका लागेर ती व्यक्तिले थप प्रश्न गरे ।

तब रमा रिक्साबाट उत्रिइन् । पाँचसात पाइला हिंडेर छेउ लागिन् । ती व्यक्ति पनि त्यतै लागे । रमाले हजारका दुईटा भारू नोट निकालेर पट्याइन् र खुसुक्क बर्दीधारीका हातमा राखिदिइन् । अनि ढुक्कले भनिन्, ‘यी मेरा भदैनीहरू । मसँगै डुल्न हिँडेका ।’

ती बर्दीधारीले नोट पेन्टको गोजीमा घुसारे, रमालाई हेरेर मसक्क मस्किए र तीनैजनालाई सीमापारी जाने अनुमति दिए । शान्ति र सुनिताले आजसम्म यस्तो खुसामद् र गोप्य लेनदेन देखेका थिएनन्, यसको राजनीति बुझेकै थिएनन् । त्यसैले उनीहरू सीमा पार गर्न लामवद्ध ट्रकहरूको अपार लर्को हेर्दै, प्याँप्याँ र पुँपुँ घण्टी बजाउँदै जथाभावी कुदिरहेका रिक्सा हेर्दै, बजारमा सामान किन्न चटारिइरहेका मान्छेहरू हेर्दै, सीमानामा बनाइएको अग्लो गेट आँखामा कैद गर्दै उल्का मानिरहेका थिए । नेपाल र भारतका नागरिकलाई वारिपारि गर्न परिचयपत्र वा पासपोर्ट नचाहिने भएकाले उनीहरूले सजिलै सीमा पार गरे । दुई देशको सीमा छुट्टिने स्थानमा भारतपट्टि ठड्याइएको एउटा थोत्रो साइनबोर्डमा लेखिएको थियो, ‘भारतमें आपका स्वागत है ।’

शान्ति र सुनिताका आँखा भने त्यो स्वागतमा ठोकिएनन् । सुखी जीवनको सपना देखाएर कलिला युवतीहरूलाई लठ्याउन पोख्त ती दयालु देखिने कठोर मनकी रमाको नियत अर्कै भएको शंका उनीहरूलाई थिएन । रिक्साले सीमापारिको भारतीय बजार रक्सौल पुर्‍यायो र एउटा पुरानो हालतको रेल स्टेसनको प्रवेशद्वार अगाडि झारिदियो ।

शान्ति र सुनिता हरेक क्षण खुल्दै र फेरिँदै जाने नयाँ संसारका अनौठापनहरूमा डुब्दैरहे । ‘मेरा पछिपछि आओ है केटी हो, नत्र हराइजाउला’ भन्दै रमा रेलको टिकट काट्ने ठाउँतिर लम्किइन् । काउन्टर भित्र बसेको पुरुषसँग केही कुरा गरिन् र तीनजनाका लागि बम्बै जाने टिकट लिइन् । उनीहरूलाई रक्सौलबाट दिल्ली हुँदै बम्बै पुग्न तीन दिन लाग्यो । यो रेलको यात्रा कहिल्यै टुङ्गिदैन कि भन्ने आश्चर्यमा शान्तिले रमालाई धेरैपटक सोधिन्, ‘दिदी, अब कति बेरमा पुगिन्छ ?’

रमाको जवाफ सधैँ एउटै, ‘पुग्नै लागियो, चिन्ता नगरी थपक्क बस न, गाउँमा जस्तो खुट्टाले हिँड्नु परेको छैन क्यारे !’

रेलमा मान्छे कुन भाषा बोलिरहेका छन्, के विषयमा कुरा गरिरहेका छन् शान्ति र सुनिताले मेसो पाएनन् । तामाङ गाउँमा देखिआएको नेपाली जस्तो लाग्ने अनुहार लामो समयदेखि नदेखिएकाले उनीहरूको मनमा शंका टुसाउन थालेको थियो– पक्कै केही अनौठो र नसोचेको कुरा भइहरेको छ । पोखरा त नेपालै हो क्यारे । अनि यी मान्छे कुन भाषामा के बोलिरहेका छन् ?

आपसमा कुरा पनि गरे– रमाको बोली र व्यवहार भसक्कै फेरिएको छ, किन होला ? यो रेल पनि कति कुदिरहेको, कहाँ पुगेर रोकिन्छ होला ? यी मान्छे को हुन् ? कहाँ जान लागेका ? के बात मारिरहेका ? सबै कुरा अर्कै हुँदै गएकाले उनीहरूले निचोड निकाले– पक्कै घरबाट धेरै टाढा पुगिसकियो, कहाँ हो थाहा छैन, घर फर्किने बाटो पनि थाहा छैन । अब के गर्ने होला !

हरेक थोक सोच्दै र महसुस गर्दै अन्ततः उनीहरू बम्बै पुगे । रात छिप्पिइसकेको थियो । आफूलाई थाहा नभएको, नजानेको अर्को एउटा गन्तव्य पुग्न रमासँगै ट्याक्सी चढे । सडक किनारमा भागदौड गरिरहेका अनगिन्ती मान्छे, झलमल्ल सडकबत्ती, फराकिला सडक, जातजातका गाडी, बडाबडा बिल्डिङ, विज्ञापनका चम्किला बोर्डहरू– यी सबै देखेर उनीहरूको दिमाग घुमिरहेको थियो । अनुहार त्रसित, अचम्मित र थकित देखिन्थ्यो ।

सुनिताले कसेर शान्तिका पाखुरा समाएकी थिइन् । मनमा खेलिरहेको हुँदो हो– घर छाडेर नहिँडेको भए, यहाँबाट अहिले नै घर फर्कन पाए । डर शान्तिको मनमा पनि टुसाउँदै थियो । उनी असुरक्षित महसुस गरिरहेकी थिइन् । घरमा बिताएको अन्तिम रात पनि सम्झँदै थिइन् । यत्तिकैमा उनले वर्तमानका संवेदनामा, शरीरमा, मांसपेशीमा परिरहेको दबावमा र शरीरका अंगमा भइरहेको हलचलमा ध्यान पुर्‍याउने प्रयत्न थालिन्न् । उनी दिमागमा झुल्किने प्रत्येक विचारप्रति सचेत भइन् ।

ट्याक्सी चढेको चालीस मिनेट हुनै लाग्यो, कुदिरहेकै थियो । शहरका कुनाकाप्चा छिचोल्दै, उज्याला र अँध्यारा गल्लीहरू हुँदै शहरको केन्द्रबाट अलि टाढा पुगेर रोकियो । ‘ओर्ल केटी हो’, उनीहरू रमाको आदेश सुनेर उत्रिए । उत्रिँदै गर्दा आँखा अगाडि परेको दृश्यपटले उनीहरूको ध्यान मजैले तान्यो ।

त्यहाँको माहोल एकदम चम्किलो र रंगिविरंगी थियो । भड्किलो पहिरनले आधा मात्र शरीर ढाकेका र भद्दा मेकअप गरेका महिलाहरू अनेक नखरा पार्दै जताजतै उभिएका थिए । शान्ति र सुनिता हेरेको हेर्‍यै भए । रमाले भाडा तिरेर ट्याक्सी बिदा गरिन् र यस्सो पर्तिरको एउटा घरतिर चोर औँलो तेर्स्याएर अह्राइन्, ‘हिँड, उ त्यो घरभित्र जाउँ ।’

ढोकामा एउटी अग्ली, कपाल खुल्ला छोडेकी, रातो हिलवाला सेण्डल लगाएकी, छालामा टिमिक्क टाँसिने कालो कपडा पहिरिएकी युवती एकजना पुरुषसँग केही कुराको दामबारे कुरा गरिरहेकी थिइन् । शान्ति र सुनिता थप एकपटक छक्क पर्दै त्यो अनौठो घरभित्र छिरे । ढोकाबाट पस्नासाथ उनीहरूलाई उमेर ढल्किसकेकी एउटी महिलाले नेपाली लवजमा स्वागत गरिन् । परिचय दिँदै उनले भनिन्, ‘मलाई सबैले मामी भन्छन्, तिमीहरू पनि त्यसै भन्नू ।’

परिचय सकेर शान्ति र सुनितालाई पछि लाग्न संकेत गर्दै रमा र मामी घरको अझ भित्र छिरे । अघि बढ्दै जाँदा शान्ति र सुनिताले एउटा कोठाभित्र छड्के आँखा लगाए । त्यहाँ नेपाली रूपरंगका चारपाँचजना केटीहरू सोफामा बसिरहेका थिए । शान्ति र सुनितालाई छेउको कोठामा लगियो र भनियो, ‘तिमीहरूको ठाउँ यही हो ।’ कोठामा परिपरिका छोटा लुगा लगाएका हिन्दी फिल्मका नायिकाहरूको पोष्टर टाँसिएको थियो । कोठामा कसैले चिया ल्याइदियो । उनीहरूलाई चिया पिउँदै गर्नू भनेर रमा र मामी बाहिर निस्किए । रमाले केहीबेर मामीसँग माथापच्चीसी गरिन् र भारू चालीस हजार थापेर हतारिँदै बाटो लागिन् । उनीहरूले पन्ध्र वर्ष ननाघेकी एउटी कुमारी नेपाली केटीको औसत मोल बीस हजार तोकेछन् !

रमालाई बिदा गरेर मामी शान्ति र सुनिता बसिरहेका कोठामा फर्किइन् र सोधिन्, ‘भोक लागेको छ ?’

केहीबेर पछि उनीहरूले पातलो पहेँलो दाल र काउलीको सब्जीसँग भात खाए । खाइसकेपछि मामीले अह्राइन्, ‘आफ्ना पोका बोकेर माथ्लो तलामा हिँड, सुत्ने ठाउँ माथि छ । यो त तिमीहरूको काम गर्ने कोठा हो ।’

रमाले होटलमा काम लगाइदिने भनेकी थिइन् तर त्यो त होटल जस्तो थिएन । त्यसैले मामीको कुरा सुनेर अलमलिएकी सुनिताले सोधिन्, ‘रमा दिदी खै त ? हामी पोखरा आइपुग्यौँ ?’

मामीले उनीहरूलाई छेउको खाटमा बस्न भनिन् र प्रष्ट्याइदिइन्, ‘रमा गइसकिन्, तिमीहरू पोखरासोखरा होइन भारतको बम्बै आइपुगेका छौ । अब उप्रान्त यही घरभित्र बसेर मैले भनेअनुसारको काम गर्नेछौ ।’

के भइरहेको हो ? सोचेर सुनिताको होस् गुम्ला झैँ भयो । उनी अचानक ग्वाँ–ग्वाँ रून थालिन् । रँदारूदै भक्कानिएर भन्न खोज्थिन्, ‘मामी, म घर फर्किन्छु ।’

शान्तिले सुनितालाई सान्त्वना दिन कुममा हात राखिदिइन् । उनी रमाले थाहै नदिइ छोडेर गएको पत्याउन नसकेर मामीका अनुहारमा सन्देहपूर्वक हेरिरहेकी थिइन् । अनि आँट गरेर बोलिन्, ‘रमा दिदीले हामीलाई काममा लगाइदिने बाचा गरेर धोका दिनुभयो । अब कसरी घर फर्किने ? हजुरले भन्नु न ।’

मामीका अनुहारमा कुटिल हाँसो छरियो । भनिन्, ‘तिमीहरूका लागि मैले रमालाई धेरै पैसा तिरेकी छु, त्यसैले जबसम्म तिमीहरूले त्यो सबै पैसा तिरिसक्दैनौ तबसम्म यहाँबाट हिँड्न पाउँदैनौ । त्यो ऋण तिर्न तिमीहरूले यो घरमा आउने हरेक ग्राहकको चित्त बुझाउनु पर्नेछ । राम्ररी काम गरे छिट्टै ऋण तिरिसक्नेछौ ।’

मामीका कुरा सुनेर शान्तिलाई कामज्वरोले छोपे झैँ हुन थाल्यो । बेहोस हुन्छु कि जस्तो लागेर सुनिताको जिउमा टाँसिइन् । केटीहरू भाग्न खोज्ने सम्भावना बन्द गर्न मामीले थप एउटा चेतावनी मिश्रित सल्लाह दिइन्, ‘तिमीहरू धेर बाठी भएर यहाँबाट उम्किन नखोज्नू, त्यस्तो सोच्दा पनि नसोच्नू । मूल ढोकामा सधैँ मेरा मान्छेले निगरानी गरिरहेको हुन्छ । हरेक मान्छे भित्र छिरेको, बाहिर निस्केको, चालामाला विश्वासिलो भएनभएको ख्याल राखिबस्छ ।’

मामीले उपदेश थपिन्, ‘आज्ञाकारी हुनू, राम्रो व्यहार गर्नू, समझदार बन्नू, कुनै डरत्रास नपाल्नू, ढुक्क भएर काम गर्नु ।’

अन्त्यमा, त्यस रात कोठाबाट निस्कनुअघि मामीले उनीहरूलाई एउटा गुलियो लोभ चटाइदिइराख्ने जुक्ति पनि सोचिन् र भनिन्, ‘यहाँ काम गरेर बसिरहेका तिमीहरूजस्ता अरू पनि थुप्रै केटी छन् । जो ग्राहकसँग बढी समर्पित र दयालु बन्न सकेका छन् उसैले धेरै नगद उपहार हात पार्छ । यो कुरो मनमा राखिराखेस् ।’

यति भनेर मामी बाहिरबाट ढोकाको चुकुल लगाइदिएर हिँडिन् । उनीहरू भित्रै थुनिए । सुनिता भित्तामा अडेस लागेर खुट्टा फैलाएर ओछ्‌यानमा बसिन् । उनको रूवाइ थामिएको थिएन । रुँदारुँदै दोहोर्‍याईरहेकी थिइनन्, ‘मलाई अहिल्यै घर फर्कन मन छ ।’

छेउमा बसेकी शान्ति केहीबेरदेखि दलिनमा हेरेर टोलाइरहेकी थिइन्, मानौँ त्यहाँ एउटा रसातल छ र त्यो रसातलले उनलाई पक्षघात भए झैँ अचल बनाएको छ । उनी भावशून्य भएकी थिइन्, निसहाय हुनुको बोझिलो अनुभूतिले किचिएकी थिइन् । जसै मनमा आमा र भाइबहिनीको तस्बीर झुल्कियो, उनले पनि भक्कानो रोक्न सकिनन् । हिक्कहिक्क रून थालिन् । हृदयमा कामना उर्लिएर आयो– यतिबेला म पनि उनीहरूसँग नजिकै हुन पाए, तिनलाई अंगालो हाल्न पाए, उनीहरूको स्नेह महसुस गर्न पाए, माया महसुस गर्न पाए, संरक्षित महसुस गर्न पाए ।

तथपि उनी त्यसबेला पनि आफूभित्रको निर्मलता र घटनाक्रम स्वीकार गर्न सक्ने क्षमताबारे थोरवहुत सचेत थिइन् । त्यसैले गर्दा त उनले जागिर खाएर परिवारको संरक्षण गर्ने भूमिका स्वीकार गरेकी थिइन् नि ! उनलाई विवादहरू हुँदा मेलमिलापको बाटो हिँड्ने, रिस देखापर्दा ओठमा मुस्कान भर्ने, निर्मल भावाभिव्यक्तिका माध्यमबाट आफूभित्रको शान्तपन बाहिर निकाल्ने बानी थियो । आँखामा हरदम ममता झल्किएको हुन्थ्यो । यो स्थितिमा भने उनलाई आफू अस्त्रविहीन महसुस भयो, असाध्य भुमरीमा परेको अनुभूति भयो । उनले घर फर्किन मद्दत माग्दै मनमनै भगवान्‌सँग आत्मपुकार गरिन् ।

उनी धर्मग्रन्थहरूमा कथा गरिएजसरी ईश्वरमा विश्वास गर्दिनथिन् । उनलाई लाग्थ्यो– ती कथा यथार्थका अभिलेख भन्दा पनि रूमानी कल्पनाका उडान हुन् । तर उनी व्यक्तिलाई अहंबाट मुक्त हुन र अरूको भलो गर्न प्रेरित गर्ने सबै धर्मोपदेश गहिरिएर पालना गर्थिन् । त्योबाहेक उनलाई कुनै प्रार्थना गर्न, फूल चढाउन, भगवानसँग विन्ती विसाउन रुचि थिएन । उनी सोच्थिन्– भरे गएर झुटो बोलिन्छ, चोरी गरिन्छ, रिसले रन्थनिइन्छ, हिंस्रक भइन्छ र अरूमा होइन आफूमा मात्र राम्रो देखिन्छ भने धार्मिक आडम्बर राख्नुको के अर्थ ? तथापि मान्छे केही न केहीमा विश्वास अड्याउन चाहन्छ, स्वार्थ र अज्ञानताले पुरिएको हुन्छ भन्ने कुराप्रति सचेत थिइन् । त्यसैले सबै खाले आस्थाका अभ्यासलाई आदर गर्थिन्, कहिलेकाहीँ आफू पनि तिनै मध्येकी एक बनिदिएर कर्मकाण्डहरूमा सहभागी पनि भइदिन्थिन् ।

शान्ति दयालु बन्नुमा, आदर गर्नुमा, विनित हुनूमा, स्नेही बन्नुमा र सामुन्नेका हरेक जीवभित्र ईश्वरको अंश देख्नूमा बढी अर्थ भेट्थिन् । कथाकुथुङ्ग्रीमा भनिएजस्ता भगवान् अस्तित्वमा छैनन् भन्ने कुरा थाहा पाउँदापाउँदै यसपालि भने उनले भगवान्‌सँग बिन्ती चढाइन्, ‘प्रभु, हामीलाई दु:खपीडा हुन नदिनुहोस्, चाँडै घर फर्किन पाउँ ।’

अबिराम यात्राले थाकेको हुँदा उनीहरूलाई बेलुका निन्द्रादेवीको शरण पर्न गाह्रो भएन । निन्द्रामै पनि उनीहरूको सुसुप्त मन भने यो भयंकर दुस्वप्नबाट उम्कने उपाय खोज्न तल्लिन थियो । उनीहरू मनभित्र र बाहिर दुबैतिर निष्पट्ट अँध्यारोले ढाकिएर भुसुक्क निदाएको केही घण्टा मात्र भएको थियो । एउटा अतिचार रिसले बौलाए झैँ लाग्ने पुरुषको चिच्याहटले ब्युँझायो । सुने– चिच्याहटसँगै मुक्का हानाहान चलिरहेको थियो, ढोका ढ्यामढ्याम लगाइँदै र खोलिँदै थियो, एउटी केटी मुटु चिरिने गरी रोइरहेकी थिइन् । सँगै मामीको आवाज पनि सुनियो । उनी त्यो पुरुषसँग चर्को स्वरमा वादविवाद गर्दै थिइन् । भन्दैथिइन्, ‘यहाँबाट अहिले नै निस्केर गइहाल, असत्ती लबस्तरो ।’

त्यसपछि ढोका निकै जोडले बजारेर बन्द गरिएको आवाज सुनियो । ती सुकसुकाइरहेकी, भक्कानिएर रोइरहेकी केटीलाई मामी केही कुरामा दोष लगाइरहेकी थिइन् । दलानतिर हेर्दै अचल टोलाइरहेकी शान्तिले ओछ्‌यानको भित्तातिर मुन्टो फर्काएर सुनितालाई हेरिन् । सुनिता मौन चित्कार रोइरहेकी थिइन् । उनको अनुहारमा वेदनाको महासागर छचल्किरहेको थियो, आँखा भयले विचलित थिए । शान्तिले परम् करुणाका साथ सुनिताका हात समाइन् र उनका आँखामा हेरिन् । ती आँखा पनि शून्यतामा कतै टोलाइरहेका थिए ।

सुनिताका हात सुस्तरी सुम्सुम्याउन थालेपछि शान्तिले आफ्नो मुटुको धड्कन महसुस गर्न लागिन् । त्यो अझै भरखर बितेको घटनाको चिमोटाइबाट सन्तुलित हुन सकिरहेको थिएन । उनले मुटुको हरेक घड्कन सुन्दैरहिन्, त्यसले छातीलाई थोरै उचाल्दै र छोड्दै गरेको थाहा राखिन्, मानौँ उनको मुटु व्याकुलताका साथ यो स्थितिबाट उम्किने निकास खोज्न छटपटाइरहेको छ ।

केही मिनेट सम्पूर्ण ध्यान लगाएपछि मुटुको लय र ताल धिमा हुन थाल्यो, सन्तुलनमा फर्किए झैँ भयो । अनि त्यो धिमापन उनको हृदयलाई मालिस गर्ने एउटा सुकोमल लहरतरङ्गमा रूपान्तरित भयो । बिस्तारै उनले नाकबाट भित्र जाँदै बाहिर निस्किँदै गरिरहेको श्वासको स्वभाविक आउजाउ थाहा पाउन थालिन् । श्वास भित्र तान्दा नाकका प्वालमा मन्द चिसो हावाले स्पर्श गरेको, त्यो हावा तल फोक्सोतिर गइरहेको, अनि अञ्जानमै लजाए जसरी पेट थोरै फुलेको, श्वास बाहिर निस्कँदै गर्दा पेट यस्सो भित्र पसेको, अनि नाकका प्वालहरूबाट बाहिर निस्कँदै गर्दा श्वास दुई भागमा बाँडिएको सबै चाल पाउन लागिन् ।

यसरी, अविभाजित सजगताका साथ शरीर नियाल्दा उनको जीवित हुनुको गहिराइबाट एउटा प्रशान्ति जागेर आयो । त्यो प्रशान्तिसँगै बगेर आएको ऊर्जाले उनलाई शिरदेखि पाउसम्म भिजाइदियो । अनुहारमा एउटा संकोची मुस्कान फर्कियो । त्यो मुस्कान उनीभित्र बाँचिरहेको अनन्त शान्तिको प्रतिफल थियो, उनलाई महसुस भइरहेको असीम मुक्तिको सूचक थियो । त्यो मुस्कान उनबाट न कुनै कुराले, न त कुनै व्यक्तिले छिन्न सक्थ्यो । किनभने आफ्नो शरीर, श्वासप्रश्वास, अस्तित्वको सार र आफूभित्रको ज्योतिमय सत्त्वप्रति सजग रहेर हरेक क्षण शान्त र मुक्त रहने वा नरहने भन्ने कुरा पूर्णत: उनकै हातमा थियो, उनकै रोजाइ थियो ।

केहीबेर भयो, सुनिता विसेक शान्त भएकी छन् । शान्तिका हातको सुम्सुम्याइ र ती हातबाट संचारित ऊर्जाले उनलाई मलहमको काम गरेको थियो, दु:खको सागरबाट बिस्तारै किनारतिर उतारेको थियो । उनले आँखा उघारेर शान्तिका आँखाहरू खोजिन् । देखिन्– शान्तिका आँखामा एक प्रकारको तागत र भरोसा झल्किरहेको छ । चकित परिन् । दुबैजना एकअर्कालाई हेरेर, आँखा जुधाएर मुस्कुराए । आँखाहरू भेट भए र मौन संवाद भयो, शब्दको सहारा लिनु परेन। उनीहरूले छोटो चिनजानमा सिर्जना भएको मर्मस्पर्शी मित्रताको अंगालो हाले र अबका दिन एकअर्कालाई साहस दिँदै बाँच्ने निर्णय गरे ।

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

 ५ एक अविस्मरणीय सिकाइ

६ भोलापनको दुनियाँ

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *