स्वीकारोक्ति

सहृदयी एकान्तमा बसेको एक महिना बितिसकेको थियो। एक रात बार्दलीमा बसेर ताराहरू नियालिरहेको थिएँ। शान्तघरमा नानीहरू आँगनको दुबोमा पल्टिरहेको कल्पना आयो, र जाग्यो शान्तिसँग संवाद गर्ने उत्कण्ठा। उठेर बैठककोठा छिरेँ। केही मैनबत्ती सल्काएँ, बिजुली निभाएँ। अनि कागज र कलम लिएर चिठ्ठी लेख्न बसेँ।

‘प्रिय शान्ति, हामीले बिदाइका हात हल्लाएको केही हप्ता मात्र भए पनि वर्षौँ बिते झैँ लागिरहेको छ। किन होला? म तिमी, नानीहरू, सेविकाहरूबारे र त्यहाँको मेरो जीवन वरिपरिका सबैबारे सोचिबस्छु। दुरदेशको सपना जस्तो लाग्छ। यहाँ स्पेनमा मलाई आफू जन्मेहुर्केको माहोल, परिवार र साथीभाइको सान्निध्यतामा रहन पाउँदा मात्र महसुस हुने एकखाले सुरक्षाभाव महसुस हुन्छ। आफू कुन संसारमा उत्पत्ति भएको हुँ भन्ने बोध हुन्छ।

तर यहाँको जीवन मेरा लागि सधैँ चुनौतीपूर्ण भएको छ। किनभने मलाई यहाँ खुशी हुन कठिन हुन्छ। साथसाथै, यहाँ म एकदम संरक्षित पनि महसुस गर्छु। बोध हुन्छ… विगत पन्ध्र वर्षको अधिकांश समय अर्कै देशमा बिताएँ, त्यहीँ बढी सहज लाग्छ, जीवनको तारतम्य मिलेको जस्तो लाग्छ, जीवनको लयसँग भेट भए झैँ लाग्छ। तर पनि त्यहाँ म एउटा विदेशी हुँ। सबैले त्यसरी नै हेर्छन्। हुँदाहुँदा, कहिलेकाहीँ मान्छेहरू मबाट फाइदा उठाउन पनि पछि पर्दैनन्।

तिम्रो देशमा म सम्मानित छु, तर सधैँ होइन। सायद त्यो सम्मानका पछाडि मबाट केही प्राप्त भइहाल्छ कि भन्ने स्वार्थ लुकेको हुन्छ। प्राय: मान्छे सोच्छन्… विदेशीसँग टन्न पैसा हुन्छ, जीवनमा कुनै समस्या हुँदैनन्, अधिकांश नेपालीको पहुँचभन्दा बाहिरका विलासी सुविधा सहजै भोग गर्न सक्छन्। मलाई पनि यस्तै दृष्टिले हेरिनुको कारण म बुझ्न सक्छु। किनभने नेपाल घुम्न आउने अधिकांश पर्यटक, अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्ने विदेशीहरूका लागि त्यस्तो सुखसुविधा वास्तविकताभन्दा टाढाको कुरो होइन।

मैले तिम्रो संसारसँग नजिकिन आफ्नो संसार छोडेको छु। मलाई बुझ्ने, मेरा कुरा सुनिदिने, मलाई अगाध माया गर्ने साथीभाइ र परिवारबाट टाढा छु। आफ्नो खाद्यसंस्कार छोडेर नेपालमा हरेक छाक दालभात खान्छु। मात्र एक इञ्चको डसनामा सुत्छु। हातैले आफ्ना कपडा धुन्छु। बालबालिका बेचबिखन हुनबाट बचाउन, सस्तो श्रमका लागि शोषित हुनबाट बचाउन जीवन समर्पण गरेको छु। राम्ररी स्थानीय भाषा बोल्छु। सरल जीवन बिताउँ भनेर र अरूको विषेश ध्यान नखिचियोस् भनेर सामान्य कपडा लगाउँछु। विदेशी जस्तो नदेखिउँ भनेर आफ्ना हाउभाउ र हिँडाईप्रति सचेत रहन्छु। यी सबैका बावजुद अन्तत: त्यहाँ म ‘अर्का’ हुँ, ‘पराइ’ हुँ।

स्थायी जागिर र सुखसयल त्यागेर आएको भए पनि, जति लामो समय बसे पनि मजस्तो व्यक्ति त्यहाँ ‘पराइ’ वर्गमै पर्छ। एउटा व्यक्ति अन्तरमनले अह्राएको केही राम्रो काम गर्न चाहन्छ, धेरै बालबालिकाले नारकीय जीवन बाँचिरहेको देख्छ र तीमध्ये केही बालबालिकालाई त्यो नर्कबाट निकाल्न सकेजति प्रयत्न गर्छ, तर फेरि पनि ऊ त्यही ‘पराइ’ वर्गमै पर्छ। त्यसैले मलाई बारम्बार लागिरहन्छ… यहाँ मैले यो यात्रा शुरू गर्नुको प्रेरणा र कारण बुझिएको छैन, अथवा त्यो कुरा धेरैको समझभन्दा बाहिर छ।

यस्तो किन होला? सायद धेरै मानिसको जीवन अति कष्टकर भएकाले हो कि? उनीहरूले मलाई ‘सहयोग गर्न चाहने सुविधासम्पन्न व्यक्ति’ का रूपमा मात्रै हेरेकाले हो कि? काम गर्दागर्दै अहिले हामी जुन ठाउँमा आइपुगेका छौँ त्यसका निम्ति व्यापक मेहनत र त्याग गर्नुपरेको सत्य थाहा नभएर हो कि? अथवा म कुन र कस्तो संसारबाट आएको हुँ र यो अहिले देखिने सबै कुरा कुनै बेला शून्यबाट शुरू भएको थियो भन्ने कुरा थाहा नभएर चैँ हो कि?

बहुमतका आँखामा म विदेशी हुँ, करिबकरिब केवल विदेशी, पराइ। मसँग त्यसैअनुसार व्यवहार हुन्छ। र त्यसबाट म धेरैपटक प्रताडित भएको छु। किनभने मसम्म आइपुग्ने करिब नब्बे प्रतिशत मान्छे नयाँ स्कुल, शैक्षिक सामग्री, छात्रबृत्ति, जागिर वा त्यस्तै कुनै सहयोग अपेक्षा राखेर आउँछन्। थाहा छ, मेरो काम यिनै क्षेत्रसँग सम्बन्धित छ। आफूलाई आफैँले यहाँ पुर्‍याएको हो। त्यसैले गुनासो छैन। तर त्यहाँ मलाई यी काममा नि:स्वार्थ साथ र माया पाएको महसुस गर्न गाह्रो छ। म अरूको प्रतिष्ठा आर्जनको साधन पो बनेँ कि? व्यक्तिगत फाइदा लिने माध्यम पो भएँ कि? किनभने मसम्म आइपुग्ने अधिकांश व्यक्ति गरिब होइनन्। मलाई पछाडिबाट ढुङ्गा हान्न खोज्नेहरू सहयोगापेक्षी बालबालिका होइनन्, कोठीमा काम गर्ने युवती पनि होइनन्। ती त चलाख मध्यस्थहरू हुन् र तिनको मद्दतबिना अरूलाई प्रत्यक्ष सहयोग गर्न हाम्रो संस्थाका लागि असम्भव छ।

त्यसो भएको हुँदा, धेरै अपेक्षाहरू भएको तर कुरो नबुझिरहेको व्यक्ति म पो हुँ कि? फेरि, अरूका बारेमा बोल्ने म को हुँ? यद्दपि, कसैको आलोचना गर्न वा कसैप्रति पूर्वाग्रह पोख्न म यसो भनिरहेको छैन। किनभने मैले तिमीसँग भनिरहेका सबै कुरा संवाद गर्नुपर्ने, बुझ्नु पर्ने, अर्थ दिनुपर्ने मभित्रको शुद्ध आवश्यकताबाट निसृत छन्।

मलाई थाहा छ… म कर्मचारीमा भर पर्न पाउने एउटा बिरलाकोटी भाग्यमानी हुँ। उनीहरूले मेरा आँखा खोलिदिएका छन्, सावधान हुन सहयोग पुर्‍याएका छन्। सबभन्दा महत्वपूर्ण त उनीहरू हृदयबाट सञ्चालित एउटा इमान्दार र संवेदनशील मानवीय परियोजनामा काम गर्न पाएकोमा भाग्यमानी महसुस गर्छन्। शान्तघरमा मलाई सधैँ साँचो प्रेम र कदर गर्ने पच्चीसभन्दा बढी नानीहरू छन्। यस मानेमा म पनि भाग्यमानी छु। तिमीलाई भेट्न पाएकोमा, कति धेरै कुरा सुन्नसुनाउन पाएकोमा र तिमीबाट यति धेरै कुरा सिक्न पाएकोमा पनि म भाग्यमानी महसुस गर्छु।

तथापि, यो एकदम भिन्न संस्कृतिमा अन्तत: म विदेशी हुँ, पराइ नै हुँ। यहाँ दैनिक देखभाल गर्नुपर्ने दर्जनौँ काममा मन डुबिरहेका बेला मेरो जीवन भने थाहै नपाइ, बुझ्दैनबुझी, एउटा प्रेमालिङ्गन पनि चढाउन नपाइ, ममताले आफैँलाई सुम्सुम्याउनै नपाइ, कस्तो महसुस भइरहेको छ भनेर सुनाउने भरपर्दो साथीसमेत बनाउन नसकी आफ्नै नाकमुनिबाट बगेर गएछ भन्ने थाहा पाउन मलाई वर्षौँ लाग्यो। मलाई थाहा छ यसबारे हामीले कुरा गरेका छौँ, तिमीलाई यी कुरा बुझ्न गाह्रो छ। तर यो पनि थाहा छ कि तिमी मलाई सुनिरहेकी छौ र मेरा लागि त्यति नै पर्याप्त छ।

यहाँ स्पेनमा म यी कुरा कसैलाई सुनाउन सक्दिन। किनभने नेपालमा मेरो जीवन कस्तो छ भन्ने कुरा यहाँ कसैलाई पत्तो छैन। नेपालको संस्कृति कस्तो छ, यसले मलाई हरेक दिन कस्तो असर पार्छ, मेरा सम्बन्धहरू कस्ता छन् भन्ने कुरा मेरा आफन्त र साथीभाइलाई थाहा छैन। नेपालमा प्रेमलाई, मित्रतालाई, ऐक्यवद्धतालाई कसरी बाँचिन्छ र हरेक संस्कृतिको पर्दा पछाडि कति धेरै कुरा लुकिबसेका हुन्छन् भन्ने कुरा उनीहरूलाई थाहा हुने कुरै भएन।

मलाई दुई संसारका बीचमा झुण्डिए झैँ लाग्छ। न यताको रहेँ, न उताको भएँ। तर केहीबेरअघि यहाँ मेरो एकान्तवासको बार्दलीबाट आकाशतिर हेरिरहँदा अनुभूतिका यी सबै उल्झन लोप भएर गए। म अन्तरिक्षको खुला स्थानमा, ताराहरूबीच, मौनताको गहिराइमा हराएँ। अनि ओठबाट एउटा मन्द मुस्कान फुत्कियो। मलाई लाग्यो त्यो मुस्कान नै मैले आर्जन गरेको सबभन्दा ठूलो सम्पत्ति हो। एउटा त्यस्तो व्यक्तिको मुस्कान जो वर्षौँदेखि चलिआएको अन्त्यहीन लडाईंपश्चात्, आफ्नो मनमस्तिष्कका प्रेतहरूसँग अथक भिडन्त गरिसकेपश्चात अन्तत: बोध गर्छ कि यो ब्रम्हाण्डसामु कति सुक्ष्म छु, तर त्यो ब्रम्हाण्ड आफूभित्र राख्नका निम्ति कति विशाल छु!

क्या गजब छ… हामी सर्वाधिक पीडादायी दु:खबाट फाल हानेर एकैछिनमा आनन्दको संसारमा पुग्न सक्छौँ, आफूमाथि आधिपत्य जमाउने असीम शान्तिको अनुभूतिमा फड्किन सक्छौँ। आफ्नो भित्री वास्तविकतालाई आँखा जुधाएर हेर्न, कुनै अज्ञातमा फाल हान्न गाह्रो छ, तर एकपटक आँट गरिसकेपछि फेरिफेरिलाई कति सजिलो हुन्छ। शान्ति, म यतिबेला तिमीलाई लेखिरहेको छु र म जे लेख्दैछु त्यसप्रति मुस्कुराइरहेको छु।

कुनै बेला मलाई आफू एउटा बालक हुँ जस्तो लाग्छ। कुनै बेला माया र भातृत्वको खडेरीले सुकेको वयस्क जस्तो लाग्छ। कहिले गलत बुझिएको व्यक्ति जस्तो लाग्छ भने कहिले एउटा बुद्धिमान तर बेखुश व्यक्ति जस्तो। म कसरी पीडित हुन्छु, कसरी ऐँठनमा पर्छु, कसरी जीवनलाई जटिल्याउँछु भनेर आफूलाई पढ्छु! अनि आफैँप्रति हाँस उठ्छ। जीवन बित्दै जाँदा यो ‘म’ कसरी रून्छ! यी सबै कुरा एउटा चलचित्रमा जस्तो हुन्छ। तर म त्यो चलचित्रको अंश हुँ कि होइन, थाहा छैन। दर्शक हुँ कि? निर्देशक हुँ कि? कि यो सब एक सपना हो जसबाट म ब्युँझन चाहन्छु?

मभित्रका यी र यस्ता थुप्रै कुरा तिमीबाहेक अर्को कसैलाई सुनाउनु असम्भव छ। सुनाएँ भने पनि उनीहरूले मलाई पागल ठान्नेछन्। स्थापित कथित मानकमा आफूलाई नढाल्ने व्यक्ति यहाँ गम्भीर रूपले आलोचित हुन्छ, साथीभाइको समूहबाट निष्कासित हुन्छ। उस्तै परे जेल हाल्न र अनेकखाले प्रहार गर्न बेर लगाइँदैन। सायद मेरा शब्द एकदमै कठोर छन्, अतिरन्जित छन्। तर कम्तीमा तिमीले थाहा पाइराख, ती सबै म सानो केटो हुँदादेखि मन र शरीरमा जम्मा भइबसेका असन्तुष्टि र आक्रोशका परिणाम हुन्।

म घरको धुरीमा चढेर ती सबै आक्रोश र असन्तुष्टिहरू चिच्याइपठाउन चाहन्छु। तिनलाई एउटा गीतको रूप दिन र संसारका हरेक कुनामा सुन्न सकिने गरी गाउन चाहन्छु। अनि त्यो गीत सुनिसकेपछि मानिसहरूलाई आफूभित्र गुम्सिबसेका कुरा, दिमागमा घुमिराख्ने कुरा, आफूलाई वास्तवमा महसुस भइरहेका तर कसैलाई सुनाउने आँट नगरेका कुरा सबै सुनाउन मन लागोस् भन्ने चाहन्छु। त्यो गीत कस्तो होला, कल्पना गर्न सक्छौ?

नेपालमा अनुभूतिहरू साझा गर्ने चलनलाई सामान्य रूपमा लिइँदैन मलाई थाहा छ। त्यसमाथि समाज धेरै उचनिचयुक्त छ। सामाजिक विभाजन र भूमिकाका सीमारेखा प्रष्ट छन्। यी सबै उल्झनका कारण मान्छेहरू उन्मुक्त भएर आफ्ना भावना आदानप्रदान गर्न चाहँदैनन्। यता स्पेनमा पनि यदि हरेक व्यक्तिले आफ्नो असली वास्तविकता निस्फिक्री व्यक्त गर्ने साहस गर्‍यो भने एउटा सामाजिक क्रान्ति निम्तिनेछ। मलाई के लाग्छ भने कुनै न कुनै रूपमा आफूलाई यथारूपमा प्रकट गर्नुको डर हटाउनु, एकअर्कालाई यथारूपमा हेर्नुको डर हटाउनु एउटा त्यस्तो शुरूवात हुन सक्छ जसले हामीलाई आफ्नो सारमा, अन्तरिक्षमा, मौनतामा, आफ्नै दु:खकष्ट देख्दा हाँस उठ्ने अवस्थामा पुर्‍याउँछ। अनि अचानक हामी आकाश हुन्छौँ, आकाशमा कावा खाने चरा हुन्छौँ, स्पर्श गर्ने बतास हुन्छौँ र मुस्कुराउँछौँ।

त्यसो हुन सके हामी आफ्ना सञ्चित क्लेशहरूप्रति मुर्छा परूञ्जेल हाँस्नेछौँ, एकअर्कालाई निसंकोच अंकमाल गर्नेछौँ। त्यस्तो अंकमाल जो आजसम्म गरिएकै छैन। हामी एकतामा एकतावद्ध पनि हुनेछौँ। भोकमरी, दासता, युद्ध र घृणालाई खतम गर्नेछौँ। अनि हामी शुद्ध प्रेम हुनेछौँ, यो संसारलाई अर्कैमा रूपान्तरण गर्नेछौँ। म हिम्मत गरेर भन्छु… त्यो रूपान्तरण मानव विकासमा अर्को चरणको शुरूवात हुन सक्छ। त्यस्तो चरण जहाँ हामी सोचबाट भावनातर्फ, स्वार्थबाट दयातर्फ, असन्तुष्टिबाट शान्तितर्फ र भयबाट स्वतन्त्रतातर्फ अघि बढ्नेछौँ। मेरो कल्पनाको पवित्र स्वतन्त्रतातर्फ अघि बढ्नेछौँ।

म तिमीलाई लेखिरहेको छु र यो काम नसोची स्वतःस्फूर्त गरिरहेको छु। आफूलाई नदीझैँ सलल बग्न दिएको छु। यसो गरिरहँदा म संकोच मान्दैछु र आफैँलाई सोध्दैछु… मलाई चाहिएको खास कुरा स्वतन्त्रता हो? के यसको प्राप्ति मैले आफैँ फत्ते गर्नुपर्ने निजी मामला हो? के यसलाई मैले आफूबाहिर खोज्न बन्द गर्नुपर्ने हो? संसारका सारा समस्या सुल्झाउन खोज्ने प्रयत्न छोड्नुपर्ने हो? कि संसारलाई आफूले चाहेजस्तो रंगले रंगाउने चेष्टामा पूर्णबिराम लगाउनु पर्ने हो?

शान्ति, बिहानको दुई बज्नै लाग्यो। तर यतिबेला मलाई समयको पर्वाह छैन। मैले जीवनमा थोरै पटक मात्र चीजहरू यति स्पष्ट रूपमा देखेको छु। एकदम कम पटक मात्र यस्तो भयरहित तरिकाले आफूलाई व्यक्त गरेको छु। अहिले म आफूलाई पूर्ण स्वतन्त्रताका साथ बाँच्न दिन सक्छु, आफू हुन सक्छु, खुशी हुन सक्छु, जीवित हुन सक्छु र म जस्तो हुँ त्यस्तो हुन सक्छु। मलाई थाहा छ यो चिट्ठी पढ्दै गर्दा तिमीले आफैँसँग सोध्नेछौ… यो मान्छे कुन बहुलठ्ठी संसारमा बाँच्छ हँ? यसको दिमागमा कसरी यति धेरै विचारहरू आउन सकेका? एउटा व्यक्तिले कसरी यस्तो बोझ बोकेर हिँडिरहन सक्छ?

म मात्रै यस्तो हुँ कि यो सांसारिक गुमराहमा परिरहेका करोडौँ मान्छे पनि मेरै पंक्तिमा उभिएका छन्? मलाई थाहा छैन। आफ्नो जीवन आफ्नै नाकमुनिबाट गुज्रिरहँदा त्यसलाई अर्थ दिनमा चिन्तित र प्रयत्नरत म जस्तै व्यक्तिहरूको पंक्ति कहाँ छ? ती जहाँसुकै हुन्। म त तिमीलाई भेट्न र चिन्न पाएकोमै कृतज्ञ छु। तिमीले मेरा लागि नयाँ संसारको ढोका खोलिदिएकी छौ। त्यो संसार धेरै सरल र सहनयोग्य छ। वास्तवमा तिमीप्रति मात्र होइन म अरू ती सम्पूर्णप्रति पनि कृतज्ञ छु जो नेपालका मेरा अनुभवका हिस्सा हुन्। आफ्नो पागलपन हेर्न, आँखा खोल्न र थप निर्ममताका साथ बाँच्ने प्रयत्न गर्न त्यहाँका चरा, रूख, फूलहरू लगायत सबै प्रकृति, व्यक्ति र चीजहरू मेरा लागि महत्वपूर्ण भएका छन्।

ती सबैमध्ये तिमी सधैँ विशेष छौ; जसरी मनमुटु खोलेर दिन सकिने साथी विषेश हुन्छ। मलाई आफूले बन्न चाहेजस्तो व्यक्तिको प्रतिरूप तिमीभित्र हेर्ने अनुमति दिएका कारण तिमी विशेष नै रहनेछौ। सायद, छिटछिटो गरेँ भने म पनि त्यो तिमी निवास गर्ने शान्त तलाउको नजिक पुग्नेछु। हो, प्रिय साथी, म अहिले यहीँ र यस्तै छु। र म जहाँ छु त्यसका निम्ति तिमीप्रति अनन्त आभारी छु।

मेरो जीवन कुनै न कुनै प्रकारले आनन्ददायी संवेगहरूको निरन्तर खोज भएछ भन्ने कुरा मलाई अहिले आएर महसुस हुन्छ। बच्चा बेलामा मलाई चकलेट, बिस्कुट, केकहरूबाट आनन्द मिल्थ्यो। फुटबल खेल्न, गीत गाउन, भाइबहिनीहरूसँग खेल्न पनि आनन्द लाग्थ्यो। यूवा बेलामा प्रेममा पर्दा सबभन्दा आनन्द लाग्थ्यो। आफूलाई मन परेको व्यक्तिको मायाजालमा पर्नु, उनलाई अँगालो हाल्नु, छुनु, अति नजिक हुन चाहनुमा आनन्द लाग्थ्यो। करिबकरिब त्यस्तै आनन्द थियो साथीभाइहरूसँग कुराकानी गर्नुमा, कुनै लागूपदार्थमा नयाँ अनुभव खोज्नुमा, बारबेक्यू गर्नुमा अथवा साथीहरूसँग फुक्काफाल डुल्न जानुमा। त्यसबेला मलाई संगीत पनि मन पर्थ्यो। संगीतले मभित्रका संवेगहरूलाई बाहिर निकाल्थ्यो, गहिराइलाई छुन्थ्यो। त्यसैबेलातिर हो मैले मेरा पहिलो रक गीतहरू, ब्यालेहरू तयार पारेको। ती गीतमार्फत् म आफ्ना भावना अरूमा सार्न लालायित थिएँ। तर एउटा वयस्कका रूपमा मेरा लागि हरेक कुरा बदलिए। त्यसबेला मान्छेलाई लाग्न थाल्छ… अब आफ्नो जिन्दगीको जिम्मेवारी आफैँ उठाउनु पर्छ, घरमा चुलो बाल्ने कुरा जुटाउनु पर्छ। मलाई पनि त्यस्तै लाग्यो। त्यसबेला स्वच्छन्दताका लागि, आनन्दको खोजका लागि कम मात्र समय प्राप्त हुन्छ।

तर वयस्क उमेरमा पनि संगीतले चाहिँ मेरो साथ छोडेन। मलाई साथीहरूसँग साँझ बिताउन आनन्द लागिरह्यो। कतिपय आध्यात्मिक गतिविधिहरूमा संलग्न हुँदा मलाई नयाँ सुखद र सान्त्वनादायी अनुभूतिहरू भए। त्यो एउटा लागूपदार्थ जस्तै थियो, तर कुनै हानिनोक्सानी नपुर्‍याउने स्वस्थ्यकर लागूपदार्थ। यसरी मैले आफूलाई खोज गर्न थालेँ र ती खोजबाट प्राप्त उपयोगी कुरा अरूसँग साझा गर्न थालेँ। एकप्रकारले नेपालमा मैले त्यही गरेको हो।

कूल मिलाएर भन्नुपर्दा मैले मेरो सारा जीवन सुख र आनन्दको खोजीमा बिताएँ, साथसाथै आफूलाई मन नपर्ने कुरा पन्साउनमा पनि बिताएँ। मलाई लाग्छ, संसारको हरेक देशका अधिकांश मान्छेले आआफ्ना सम्भावना र क्षमताअनुसार यसै गर्छन्। अहिले आएर कुरा बुझ्दै जाँदा लाग्छ जीवन एउटा कहिल्यै नटुङ्गिने, कुनै गन्तव्यमा नपुग्ने चलचित्र हो। यदि तिमी किन्न सक्छौ भने एउटा केक खानुमा केही गलत छैन, तर केक खान नपाउँदा दु:खी हुन्छौ र चराहरूको गीत सुन्न छोडेर अथवा आमालाई खाना बनाउन सहयोग गर्न छोडेर र त्यस क्षणबाट आनन्द लिन छोडेर केकको आशक्तिमा दिन बिताउँछौ भने म त्यसमा असुविधा देख्छु, पीडा देख्छु।

प्रिय शान्ति, मसँग जे कुरा थिएन त्यसप्रति लालची भएर, हरेक क्षण जीवनले स्वत:स्फूर्त दिइरहेका कुरापट्टि पटक्कै ध्यान नदिएर मैले जीवनका कैयौँ घण्टा, दिन र वर्ष बिताएको कुरा आफैँलाई विश्वास लाग्दैन। यो पनि विश्वास लाग्दैन कि कति धेरै क्षणहरूले मभित्र अप्रिय संवेग र अनुभूतिहरू उक्साएर गए। ती क्षणहरूलाई मैले अन्त्यहीन तरिकाले अतिरञ्जित गरिबसेँ, होहल्ला मच्चाइबसेँ। तर त्यो बेला खराब मौसमका बावजुद पनि चराहरूले मेरा निम्ति गीत गाइरहेकै थिए, फूलहरूले सुवास छरिरहेकै थिए।

म यी सबै कुरा तिमीलाई भनिरहेको छु, किनभने मलाई साझा गर्नु छ। यसबारे तिमीले के सोचौली, झिँझो मानौली भन्ने कुराले मलाई फरक परेको छैन। मेरो हृदयका गोप्य कुरा खुलिसकेपछि, आफूलाई अलिक राम्रोसँग बुझ्न र चिन्न सक्ने उपहार प्राप्त भइसकेपछि म यो चिट्ठी जलाइदिन सक्छु। तर म तिमीसमक्ष अरू एकपटक खुलेर तिमी मेरा लागि के हौ भन्ने कुरा देखाउन चाहन्छु। मलाई लाग्छ, म तिमीलाई माया गर्छु भन्नु पुग्दो हुँदैन। शब्दहरू पर्याप्त छैनन्, यी निकै भद्दा र भुत्ते छन्। म तिमीलाई अर्को तरिकाले भन्न त कोसिस गरौँला, तर निश्चित छैन तिमीलाई तिम्रो भोलापनले त्यसलाई बुझ्ने अनुमति दिन्छ कि दिँदैन।

अन्त्यमा, तिमीले मलाई आफैँसँग प्रेम गर्न र मेरा भूतप्रेतहरूमाथि विजय प्राप्त गर्न मद्दत गरेकी छौ। आजकल म अझ सजिलोसँग ती भूतप्रेतहरूलाई अँगालो हाल्न र त्यसबाट आफूलाई मुक्त गर्न सक्छु। तर यति हुँदाहुँदै पनि, मलाई थाहा छ, जीवनको बाँकी बाटोमा गूलाफका फूल बिछ्याइएका हुने छैनन्। जीवनले मलाई सधैँ एउटा नयाँ मुठभेडसँग, नयाँ भूतसँग भेट गराएर चकित तुल्याइरहनेछ। तर अब थाहा भयो… त्रासमा बाँच्नुको सट्टा मैले आफूप्रति पूर्ण सजग ध्यान लगाउनै पर्छ। मसँग जीवनलाई सुरताल र सन्तुलन मिलाएर अघि बढ्न अनुमति दिने धीरता हुनुपर्छ। र यदि सकेँ भने ओठमा एउटा उदार मुस्कान लिएर हिँड्नुपर्छ। त्यस्तो व्यक्तिको जस्तो मुस्कान जसले दु:खपीडा बुझेको छ र त्यसबीचबाट आफूलाई पवित्र शान्ति तथा प्रेममा रूपान्तरण गर्न पनि जानेको छ।’

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

 ५ एक अविस्मरणीय सिकाइ

६ भोलापनको दुनियाँ

७ लालसाका दास

८ आमोद प्रमोद

९ गाउँको माहोल

१० घरफिर्ती

११ नमिठो वापसी

१२ आश्रय

१३ पूर्वबाट पश्चिम

१४ अर्को संसार

५ हडबडी

१६ प्रेमयात्रा

१७ दुःख

१८ रसिला

१९ जीवनलाई स्वागतम्

२० धरती काप्यो

२१ नवीन घरफिर्ती

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *