नमिठो वापसी

शान्ति आइपुगेको खबर मैले भोलिपल्ट सुनेँ । उनलाई भेट्न गएँ । घरमा फूलमाया मात्रै रहिछन् । मलाई अचानक देखेर अलमलिँदै भनिन्, ‘सर पो आउनुभएछ, घर हेरिनसक्नु छ । शान्ति बाख्रा चराउन गएकी छ । अरु मेला गएका छन् ।’

उनी हतारिएर भित्र छिरिन् । पिरा ल्याएर सिकुवामा ओछ्‌याइदिइन् अनि बोलिन्, ‘बस्नु न सर । म चिया पकाएर ल्याउँछु ।’

केहीबेरमा दुईवटा गिलासमा चिया बोकेर फर्किइन् । एउटा मलाई दिइन्, अर्को आफूलाई राखिन् । अनि छेउमा बसेर मलाई शान्तिको कथा छोटकरीमा सुनाइन् । मैले कथा मात्रै सुनिन, उनको अनुहार पनि पढेँ– उनी शान्तिबारे सबै सत्य बताउन चाहिरहेकी थिइनन् । उनको अनुहारमा अनिश्चयको बादल मडारिइएको थियो । सायद आफैँलाई सोध्दै थिइन्– यो मान्छेलाई शान्तिको साँचो कथा पनि सुनाउँ कि गाउँलेका लागि रचेको कथा मात्रै सुनाउँ ?

मैले चिया पिइसकेँ । अनि उनलाई धेरैबेर असजिलोमा पार्नु उचित नहुने ठानेर बिदा माग्दै सोधेँ, ‘शान्तिलाई कहाँ भेटिएला त ?’

उनले जंगलतिर सोझिएको बाटोतिर चोरऔँलो सोझ्याउँदै बताइन्, ‘त्यता जानु सर, पर कतै बाख्रा चराउँदै होली ।’

म त्यतै लागेँ । करिब दश मिनेट उकालो चढेर जंगलको बाक्लो तरेली नाघेपछि एउटा नाङ्गो ठाउँमा पुगेँ । देखेँ– शान्ति ढुङ्गामाथि बसेकी थिइन् । बाख्रा मग्न चरिरहेका थिए । म उनको नजिक गएँ । भुईंमा झरेका सुख्खा पातमाथि टेक्दा निस्किएको आवाज सुनेर हुनुपर्छ, उनले मतिर फनक्क टाउको घुमाइन् । मलाई देखिन् । सधैँ झैँ उनका ओठमा स्वभाविक मुस्कान दौडियो ।

सानै हुँदादेखि मेरो स्व:स्फूर्त अघि सर्ने र प्वाक्क बोल्ने स्वभाव थियो । त्यो स्वभावलाई दबाउने सचेत चेष्टा गर्दै उनलाई हेरेर म पनि मुस्कुराएँ । लजाउँदै उनको नजिक पुगेँ । उनले दुबै हत्केला जोडेर नमस्ते गरिन् । उनलाई देखेर मेरो अनुहार प्रशन्नताले रापिएको थियो । त्यो ख्याल राख्दै आदरपूर्वक उनको नमस्ते फर्काएँ । मलाई कुदेर गएर उनको निधारमा चुम्न, अँगालो हाल्न मन थियो तर ती कुरा उनको संस्कृतिअनुरूप थिएनन् । त्यसमाथि म परेँ लोग्नेमान्छे, महिला भएको भए अर्कै कुरा । मलाई भौतिक स्पर्शको चाहना दबाएर आँखाका माध्यमबाट भावना व्यक्त गर्ने बानी परिसकेको थियो । आफू हुर्किँदाको चलनमा झैँ नेपालमा कसैलाई अँगालो हाल्न नपाउनु, गालामा म्वाइँ खाएर माया व्यक्त गर्न नपाउनु मेरा लागि कष्टकै कुरो थियो ।

त्यसरी माया व्यक्त गर्न नपाए पनि, अर्थोक जेसुकै भए पनि मलाई गाउँमा सबैले माया गर्थे । सकेको सर्वोत्तम दिन खोज्थे तर म भने आफूलाई इच्छा लागेका सबैकुरा बताउन सक्दिनथेँ । किनभने हामी एउटा साँस्कृतिक पर्खालले विभाजित थियौँ, फरक संसारमा हुर्किएको हुनाले हाम्रा अनुभव पनि फरक थिए । म यहाँको भाषा बुझ्थेँ, बोल्थेँ । सांस्कृतिक आयामहरूसँग परिचित थिएँ तर जसरी म मेरा स्पेनका साथीहरूसँग सहज र स्व:स्फूर्त जोडिन सक्थे त्यसरी यो देशका मान्छेसँग कहिल्यै जोडिन सकिन ।

शान्तिसँगको कुरा फरक थियो । उनले सधैँ मतिर एउटा धीरता र शान्ति प्रवाह गर्थिन् । त्यसको संसर्गमा पर्ने वित्तिकै मभित्रका सबै चिन्ता, सरोकार र मानसिक विषाद् अर्थहीन भएर जान्थे । अहिले पनि त्यस्तै भयो । मानौँ कसैले जादुको छडी घुमाइदियो र त्यो छडीले मलाई सारा ध्यान वर्तमानमा केन्द्रित गरेर बाँच्ने बाटो देखाइदियो । म शरीरको वजन, श्वासप्रश्वास, लामो हिँडाइपछिको थकान, आफ्नासामु शान्ति हुनुको हर्ष, चराका गीत र चरिरहेका बाख्राको सर्‍याकसुरूक थाहा पाउन थालेँ । यहाँ कुनै शुरू वा अन्त्य भन्ने हुँदैन, आफू केही होइन र सबथोक हो भन्ने कुरा बोध गर्न थालेँ ।

शान्तिले सधैँ झैँ मलाई सोधिन्, ‘सर, तपाईंलाई कस्तो छ ?

नेपालमा मलाई हत्तपत्त कसैले यो प्रश्न सोध्दैन । मैले उनलाई थोरै आफ्नाबारे र धेरै बालबालिका बेचबिखन रोक्न हामीले चलाएको अभियानबारे बताएँ । भनेँ, ‘हामीले बिहान कक्षा चलाउने गरेको छाप्रो छेउ एउटा नयाँ आश्रयस्थल बनाएका छौँ, अनाथ नानीहरूलाई आश्रय दिन भनेर । हेटौँडामा अर्को एउटा घर पनि बनाएका छौँ । पढाइलेखाइ छोडेर बसेका तर बेचबिखनको गम्भीर जोखिममा रहेका युवतीहरू ल्याएर छ महिनासम्म त्यो घरमा राखेर सिलाइबुनाइको तालिम दिन थालेका छौँ । मकवानपुरका विभिन्न गाउँका करिब पैँतीस सय नानीबाबुहरूलाई स्कूल पढ्न सहयोग पनि गररहेका छौँ ।’

तीन वर्ष पनि नपुग्दै यति धेरै काम भएको सुनेर शान्तिको आश्चर्य चुलियो । मलाई पनि यो कुरामा अचम्म लाग्छ ! त्यसपछि हामीले केहीबेर यताउताका कुरा गर्‍यौँ । लामो समय भेट नहुँदा हामीबीच हुर्किएको असजिलोपन मेटिँदै गयो । अब कुरा निकाल्दा ठिकै होला सोचेर मैले उनलाई सोधेँ, ‘तिमीलाई कस्तो छ शान्ति ? गाउँ छोडेर हिँडेकी थियौँ । त्यसपछि केके भयो ?’

मेरो अप्रत्यासित प्रश्नले उनका कान बिझाए जस्तो लाग्यो, फनक्क मतिर घुमेर आँखा जुधाइन् । ती आँखामा पढेँ– उनलाई सहज लागिरहेको थिएन, डराएकी थिइन्, आफैँसँगको लाजले हो कि घिनले हो निचोरिएकी थिइन् । आँखा झुकाइन् । उनी बोलिहाल्ने सुरमा छैनन् भन्ने लागेर मै अघि सरेँ । भनेँ, ‘अहिले भनिहाल्नु पर्दैन । यो विषय नकोट्याउन मन छ भने पनि ठिकै छ । तर तिमीले ममाथि विश्वास गर्न सक्छौ र कुनै सहयोग चाहिए निसंकोच भन्न सक्छौ । त्यो मेरा लागि पनि खुशीको कुरा हुनेछ ।’

मेरो कुरा नसकिँदै हतारिएको स्वरमा उनले भनिन्, ‘त्यस्तो होइन सर, मलाई बोल्न मन छ ।’

तब पो मैले मेसो पाएँ– उनी मलाई सारा वृतान्त सुनाउन आतुर रहिछिन् । उनलाई विगत अढाई वर्षदेखि आफूभित्र गुम्सिएका अनुभूति र संवेगहरू बाहिर निकाल्न जरूरी भैसकेको रहेछ । स्वभाविक थियो, त्यसो गरिहाल्न सजिलो त किन हुन्थ्यो र !

उनले झुकेको अनुहार र नजरमाथि उठाइन् । आफ्ना आँखा मेरामा ल्याएर बिसाइन्, मौन आत्मसमर्पण गरिन् । अनि बताउन थालिन् भएभरका उनका अनुभव, अनुभूति, सत्य, तथ्य, घटना र दुर्घटनाहरू । म सुन्दै रहेँ । शान्तिमा लेसमात्र पनि अहसजपन, संकोच वा लाज देखिएको थिएन । उनलाई राम्रैसँग थाहा थियो– उनी कहिल्यै प्रेम र स्नेह अनुभव गर्ने सौभाग्य नपाएका मान्छेहरूको कुण्ठा, लालच र बेइमानीको शिकार भएकी थिइन् । कतिपय क्षण स्मरण गर्दा भने उनी भावुक देखिएकी थिइन् । सुनिताको मृत शरीर देख्दाको क्षण, उनको अनुपस्थितिले सिर्जना गरेको एक्लोपनको क्षण, कपडा खोलेर नाङ्गिनु पर्दाका कतिपय मृत्युसमान क्षणहरू, अनि कुण्ठित पुरूषहरूलाई खुशी बेचिदिनुपर्दाका क्षणहरू सम्झँदा उनी धेरै भावुक भइन् ।

उनको सहनशक्ति र धैर्यका कथा सुनेर मेरो आश्चार्यले सीमा नाघेको थियो । उनले आफूमाथि घोप्टिन आइपुगेका सबैप्रति करुणाभाव महसुस गर्थेँ भनिन् । झुक्याएर बम्बै लगेर बेच्ने रमाप्रति रिस छैन भनिन्, आजसम्म मन र शरीरमा आघात थोपरिदिने कुनै व्यक्तिप्रति रत्तिभर घृणा वा बदलाको भावना छैन भनिन् । मैले उनलाई भनेँ, ‘हाम्रा हरेक गल्तीका पछाडि केही न केही निजी हीनता अथवा अपूर्णता लुकेका हुन्छन् । नसिकेका अथवा सिक्ने अवसर नपाएका कुरा छिपेका हुन्छन् । हामीभित्र विवेकको खडेरी हुन्छ । यी कुरा तिमी जस्तो भरखरकी युवतीले पनि आँकलन गर्न र बुझ्न सकेको देखेर म अति आश्चर्यमा परेको छु ।’

उनले मलाई बताइन्, ‘सर, म सानै हुँदादेखि हरेक व्यक्तिमा आफ्नै प्रतिबिम्ब देख्थेँ ।’

उनको कुरा सुनेर मलाई लाग्यो उनीभित्रको जन्मजात कुनै कुराले केही संकेत गरिरहेको छ । भन्दैछ– सर, हामी दुईबीच केही पनि छैन, कुनै पर्खाल छैन, अलगअलग शरीर भए पनि हामीले यो शरीरभित्र बोकिहिँड्ने सारतत्त्व एउटै हो । पक्कै पनि यसैकारण शान्ति हरेक व्यक्तिप्रति प्रेम महसुस गर्थिन्, त्यही प्रेमले उनीभित्र कसैप्रति नकारात्मक भाव उत्पन्न हुन दिँदैनथ्यो ।

केहीबेरपछि मतिर हेरेर आश्चर्यले भरिएको लवजमा उनी बोलिन्, ‘हामी सबैको सारतत्त्व एउटै भएपछि कसैलाई घृणा गर्नु आफैँलाई घृणा गर्नु सरह होइन र ? यति सरल सत्य महसुस गर्न मानिसलाई किन गाह्रो परेको ?’

उदास स्वरमा थपिन्, ‘आफ्नै बाबुले देखाएका हिंस्रक प्रतिक्रिया, छिमेकीका वादविवाद र झगडा, अधिकांश मानिसले आफ्नो दु:खको कारण आफूबाहिर खोज्ने प्रवृत्ति मैले बुझ्न सकेकी छैन । त्यसरी बुझ्न नसक्दा मलाई कस्तोकस्तो महसुस हुन्छ ।’

उनी फेरि मौनतामा फर्किइन् । मौनतामै मलाई हावाले हल्लाइरहेका पातको सिरसिर सुन्न, रूखका टुप्पामाथिबाट सुस्तरी अघि बढिरहेको बादल हेर्न, आफू बसिरहेको ढुङ्गाले चाकमा छोएको चिसो थाहा पाउन, शीतल हावाले अनुहारमा गरेको मिठो स्पर्श महसुस गर्न निम्तो दिइन् । खासमा त्यो वर्तमानमा बाँच्ने निम्तो थियो । हामी अरु बीस मिनेट जति मौन बस्यौँ । उनले एउटा सानो ढुङ्गो टिपेर खोल्सामा हानिछन्, छप्लक्क गरेको आवाज कानमा परेपछि थाहा पाएँ ।

अचानक सोधिन्, ‘तपाईंले त्यो छप्लक्क सुन्नुभयो ?’

मैले भनेँ, ‘म त्यस्ता छप्लक्कहरू सुन्न हरेक दिन कोसिस गरिरहेको छु तर मेरो दिमाग चकचके बाँदरजस्तो उफ्रिरहन्छ । आफू वरपरको जीवनमा, आफूभित्रका अनुभूतिहरूमा अडिन मान्दैन । म केरौँ ?’

म भन्दै गएँ, ‘कहिलेकाहीँ लाग्छ म एउटा फिल्मी काल्पनिकतामा बाँचिरहेको छु, जहाँ पात्रहरू मेरो इच्छाअनुसार देखापर्छन् र हराउँछन् । म स्थितिहरू कल्पिन्छु, मान्छेहरूसँग बोल्छु, उनीहरूलाई झेल्छु, दु:खी हुन्छु, कहिलकाहीँ मुस्कुराउँछु पनि । यथार्थ चाहिँ के हुन्छ भने ती सबै कुरा मेरो दिमागमा भैरहेका हुन्छन् र त्यसबेला मेरो वास्तविक जीवन थाहै नपाई मेरै सामुन्नेबाट गुज्रिरहेको हुन्छ । त्यो काल्पनिकताको दुनियाँमा हराउँदाहराउदै म वास्तविक जीवनमा ध्यान पुर्‍याउन बिर्सिजान्छु ।’

म शिर ननिहुर्‍याएर बोलिरहेको थिएँ । उनले मेरो हात यति भद्र र कोमल तरिकाले समाइछन् कि म त कामेजस्तो भएँछु, बोल्न रोकिएँछु । अनि उनले ढुङ्गाबाट तल झरौँ भनिन्, आकाशतिर फर्केर भुईंमा पल्टिउँ भनिन्, आँखा बन्द गरौँ भनिन् । मैले त्यसै गरेँ । अनि भनिन्, ‘अब सारा ध्यान शरीरमा, शरीरले धर्तीमा गरेको स्पर्शमा, श्वास प्रश्वासमा, जंगलका विभिन्न आवाजमा केन्द्रित गरौँ, आफूलाई आफू महसुस हुन दिउँ, आफूभित्रको र बाहिरको जीवन महसुस हुन दिउँ ।’

केही मिनेटपछि लाग्न थाल्यो म बादलमा बसेर आकाशमा उडिरहेको छु । समय र स्थानको धारणा गुम भएको छ । मनमा शरीर र दिमागको अस्तित्व छैन, छ त केवल वर्तमान क्षणप्रतिको चेतना मात्र । तब मैले गहिरो शान्ति महसुस गरेँ । त्यो मेरा लागि जीवनसँग साँचो अर्थमा जोडिएको पहिलो अनुभव थियो, शब्दमा व्यक्त गर्न नसकिने अनुभव । सबैथोकभन्दा माथि र सधैँभन्दा फरक । अनि मलाई ज्ञान भयो– मेरो जीवनको ध्येय त वर्तमान क्षणप्रति सजग रहेर बाँच्दाखेरी जागिउठ्ने अपरिमित शान्ति अनुभव गर्नु रहेछ, त्यसो गर्दा मलाई दु:खी हुनुको दु:खले छोड्ने रहेछ, शान्ति स्वभाविक हुने रहेछ ।

शान्तिका लागि सबभन्दा स्वभाविक र सहज कुरा भनेकै यस्तै शान्तिमा बाँच्नु थियो । तर बाँकी मानवजगत भने त्यही शान्ति प्राप्त गर्नका लागि हरेक दिन संघर्ष गरिरहन्छ । खासमा त्यो शान्ति हामीबाट एकदम नजिक छ तर जब हामी आफूलाई परिग्रहको लालचमा जेलेर जीवन भन्नु नै त्यही हो जस्तो गर्न थाल्छौँ, जीवनलाई भावनाहरूको खेलमा रूपान्तर गर्छौँ, अथवा जब हरेक व्यक्ति वा कुराबारे पूर्वाग्रह र पूर्वानुमान गर्न लाग्छौँ तब त्यो शान्ति हामीलाई चटक्कै छोडेर भाग्छ ।

हामी फेरि केहीबेरदेखि मौन छौँ । मौनता मिठो लागिरहेको थियो तर दिन ढल्न थालेको थियो । जंगलभित्र छिटो अँध्यारो हुन्छ । शान्तिले बाख्रा समेटिन् र हामी बाख्राका पछि लागेर घरतिर हिँड्न थाल्यौ । बाटोमा उनले भनिन्, ‘सर, सायद अब मैले गाउँ छोडेको राम्रो हुन्छ । नत्र परिवारका लागि सबैथोक जटिल बन्दै जानसक्छ ।’

केहीबेर सोचेँ । तत्कालका लागि मैले उनलाई भन्न सक्ने कुरा भनेँ, ‘तिमी चाहन्छौ भने हेटौँडाको हाम्रो आश्रयस्थलमा बस्न सक्छौ । सिलाइबुनाइ सिक्न पाउनेछौ, भविष्यमा आत्मनिर्भर बन्ने बाटो खुल्न सक्छ । सोच । घरमा पनि सल्लाह गर ।’

उनको अनुहार उज्यालियो । स्वभाविक उत्तर दिइन्, ‘आमासँग सल्लाह गरेर खबर गर्छु नि, हुन्न सर ?’

त्यो बेलुका शान्तिले मन भरिउञ्जेल परिवारको न्यानोपन र खुशी भोग गरिन् । कसैलाई सुतिहाल्न मन थिएन । सबैजना अबेर ओछ्‌यानमा पुगे । अरु निदाए, शान्ति आश्रयस्थलमा बस्न जानेबारे सोच्न थालिन् । उनलाई लाग्यो– मेरो बारेमा समाजले हरेक पल खासखुस गर्छ, हल्लाबाजी हुन्छ । त्यस्ता खासखुस र हल्लाले परिवारलाई पहिले नै थाङथिलो पारिसकेको होला । अरु कति दुःख दिनु ? बरु परिवारको भलाइका लागि फेरि एकपटक गाउँ छोड्छु ।

बिहान सबैजना आआफ्ना मेला लागे । फूलमाया सिकुवामा बसेकी थिइन् । शान्ति उनका छेउमा गइन् र सामान्य भूमिका बाँधेर मेरो प्रस्ताव सुनाइन् । थपिन्, ‘छ महिना सित्तैमा बस्न पाइने, सिलाई सिक्न पाइने । जानुपर्‍यो आमा । तपाईं के भन्नुहुन्छ ?’

शान्तिका कुरा सुनेर फूलमाया भित्रभित्रै खुम्चिइन्, कसैले पछाडिबाट घुच्चुकमा हाने झैँ भयो, मुटुमा गाँठो पर्‍यो । बोल्न सकिनन्, त्यसैले मौन बसिन् । त्यो मौनतामा शान्तिले आमाभित्र मडारिन थालेको चिन्ता र दुःख देखिन् । सोचिन्– यिनलाई भित्रभित्रै कति रूवाउनु ? त्यसैले गम्लङ्ग अँगालो हालिन् र कानमा सुस्तरी भनिन्, ‘पीर नगर्नु आमा, यसैमा सबैको भलाई छ ।’

थपिन्, ‘त्यहाँ सब ठिक हुन्छ । सीप सिक्छु, काममा लाग्छु, पैसा कमाउँछु । आफ्नै खुट्टामा उभिने हुन्छु ।’

फूलमायाले छक्क परेर छोरीका दुबै हात चपक्क समाइन् । सोचिन्– यो केटीमा अझै कति साहस बाँकी छ हँ ?

अलिबेरमा शान्तिले आकाशभन्दा धेरै मायाले आमालाई फेरि एकपटक गम्लङ्ग अँगालो हालिन् । फूलमाया खुशी, लाज र असजिलोले राती भइन् । सायद उनलाई बोध भयो– म त जीवनलाई जुन रूपमा प्रस्तुत हुन्छ त्यही रूपमा स्वीकार गर्न सक्ने छोरीका लागि दु:खी भइरहेकी होइन रहेछु, बरू छोरी आफूछेउ हुन्न भनेर आफ्नै स्वार्थी चिन्ताले पो चिमोटिएकी रहेछु ।

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

 ५ एक अविस्मरणीय सिकाइ

६ भोलापनको दुनियाँ

७ लालसाका दास

८ आमोद प्रमोद

९ गाउँको माहोल

१०. घरफिर्ती

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *