समुदायका ज्ञान

जाडो याम सुरु भइसकेको थियो । एक बिहान मैले बाटामा प्रमिला र वसन्तीलाई आमाका साथ लागेर जंगलबाट डोकामा दाउरा बोकेर घर फर्कँदै गरेको भेटेँ । भारीले थिचिएर उनीहरूका टाउका भुइँतिर निहुरिएका थिए । अनुहार र जिउ पसिनाले निथ्रुक्क भिजेको थियो ।

मलाई देख्नेबित्तिकै प्रमिलाले खुशी भएर नमस्कार गरिन् । फूलमाया भने हडबडाएजस्ती देखिइन् । सोधिन्, ‘कता जान लाग्नुभएको सर ? खाना खानु भयो ?’

‘हिँडडुल गरेर फर्किँदै गरेको दिदी । खाना खाएको छैन’, मैले भनेँ ।

उनले खाना खाएर जान अनुरोध गरिन् । बहाना बनाएर उम्किन खोजेँ, मानेनन् । अघि अनुरोध गर्दै थिए, अब मायालु जिद्दी गर्न थाले । थप नाइँनास्ती गर्न मन लागेन, पछि लागेँ  । म उनीहरूका घर जानु, बस्नु र सँगै खानु उनीहरूका लागि धेरै महत्त्वको कुरा थियो ।

घर पुग्दा शान्ति सिलौटामा गोलभेंडाको अचार पिस्दै थिइन् । मलाई देख्नासाथ अनुहार उज्यालो पारेर मुसुक्क मुस्कुराइन् । नेपालमा मेरो जीवनले पाउन सक्ने सबैभन्दा मूल्यवान उपहार यस्तै मुस्कानहरू थिए । माया र सविन बाहिर खेलिरहेका थिए । तेलको थोत्रो टिनमा मसिना ढुङ्गा हालेछन्, टिनमा डोरी बाँधेर गाडी बनाएछन् । पालैसँग तान्दै र माइरहेका रहेछन् । तिनको उत्साह र लगन हेर्दा लाग्थ्यो, मानौँ त्यो टिनको ट्याङ्ग्रो भगवानले उनीहरूकै लागि पठाइदिएका हुन् !

उनीहरू मलाई देख्नेवित्तिकै घर भित्र कुदे । केही सेकेण्डमा माया काठको मुड्को लिएर निस्किइन् सिकुवामा राखेर मलाई ‘बस्नुसर’ भनिन् । उनी संकोचले निचोरिएकी थिइन् । यो सबै देखिरहेका फूलमायाका आँखा मलाई भन्दै थिए, ‘योभन्दा गतिलो आसन दिननसकेकोमा माफ गर्नुहोला, सर ।’

उनको मन आफ्नो गरिबीप्रतिको अफसोचले भरिएको थियो । त्यो कुराले मलाई बिझायो । भनेँ, ‘तपाईंहरूसँग यसरी समय बिताउन पाउँदा मलाई खुशी लाग्छ दिदी । दिनै पिच्छेका अनगिन्ती कठिनाइ र अनिश्चयबीच पनि तपाईंहरूले मलाई पाहुनाको सम्मान दिनुभएको छ, सत्कार गर्नुभएको छ । त्यसका लागि आभारी छु । उता म जन्मेहुर्केको समाजमा मानिसहरूसँग भौतिक सुखसुविधा त पुग्दो छ तर तपाईंहरूसँग जस्तो मानवीय गुण छैन ।’

साँच्चै, यो गाउँका मान्छेहरूमा पानी र जमिनजस्ता प्राकृतिक सम्पत्तिलाई दिनुपर्ने महत्त्वको बोध थियो । प्राकृतिक पूर्णताको अंश महसुस गराउने जीवजन्तु र वनस्पतिसँग नजिक रहेर जीवन जिउने कला थियो । सबभन्दा महत्त्वपूर्ण त अनावश्यक चिन्ता र अवसादमा जीवनको ऊर्जा खेर जान नदिइ हाँस्दै, खुशी हुँदै बाँच्ने जीवन-दृष्टि थियो । त्यसैले उनीहरूलाई दिनभर भक्कु काम गरेर थाकेपछि राती भुसुक्क निदाउन गाह्रो थिएन । ताजा र शुद्ध हावामा सास फेर्थे । नीलो आकाश हेर्थे । चराको चिरबिर सुन्थे । एकअर्काको काममा सघाउन, समस्याहरू सुल्झाउन अथवा गाउँभरिका खबर कानेखुशी गर्न सबैका कोही न कोही आफन्त वा छिमेकी थिए ।

मलाई लाग्यो, भरखरै मैले भनेका शब्दले फूलमायालाई सान्त्वना दिन सकेनन् । उनका लागि ती शब्द हरेक कुरा रोमाञ्चक ठान्ने विदेशी दिमागमा उब्जिएका जस्ता किरा थिए । जीवनका आवश्यकता पुरा गर्न र सुखसुविधा भोग्न कुनै सम्झौता नगर्ने तर प्रकृतिसँगको सामिप्यताबाट टाढा जान पनि नचाहने चरम स्वार्थी पश्चिमा व्यक्तिका शब्द थिए । फूलमायाको जीवन कति कठिन र व्यस्त थियो भने उनलाई रोमाञ्चक सोच राख्ने फुर्सद पनि थिएन । उनका कतिपय क्षण त कति कठोर हुन्थे भने परिवारका लागि अर्को छाक खाना कहाँबाट, कसरी जुटाउने थाहा हुँदैनथ्यो ।

यो नैवास्तविकता थियो, लाचारीको कुरो थियो र थियो उनीहरूका घरमा मेरो उपस्थितिले विशेष अर्थ राख्नुको कारण पनि । किनभने उनीहरू आफ्नै समाजिभत्र विभेदमा परेका, पारिएकाहरू थिए । गरिब थिए, तल्लो जातका थिए, छालाको रंग भिन्न थियो र कठिनतम कामहरू गर्नका लागि बल लगाउनेहरू थिए । आफूसँग मन र व्यथा मिल्ने नातेदार अथवा छिमेकीबाहेक अरू कसैले उनीहरूको चिन्ता गर्दैनथ्यो । उनीहरूको घरमा ती नातेदार र छिमेकीबाहेक हत्तपत्त अरू कोही आइपुग्दैनथ्यो ।

प्राय: हरेक बिहान उनीहरूको खानामा मकैको ढिँडो, नुन र खोर्सानी हुन्थ्यो । अरू कुरा आक्कलझुक्कल र विषेश अवसरमामात्रै पाक्थ्यो । त्यस दिन मेरो सत्कारमा सेतो चामलको भात, दाल र साग पाकेछ । मेरा अगाडि सिलबरको थालमा भातको ठूलै थुप्रो, अलिकति दाल र साग आइपुग्यो । त्यो मैले सबै खाइसक्नैपर्ने ! घाँटीबाट एक गाँस बढी छिराउन नसक्ने हुँदा पनि फूलमाया र शान्तिले दुई चारपटक भनिहाले, ‘सर, अलिकति त थप्नैपर्छ । मिठो त छैन होला तैपनि टन्नै खानु है ।’

दिनभर खेतबारीमा काम गर्न वा घाँसदाउरा गर्न पुग्दो ऊर्जा दिने घच्चीको खान्की खाइसकेपछि मैले फूलमायालाई एउटा नयाँ कुरा सुनाउने विचार गरेँ । भनेँ, ‘दिदी, मैले स्कूल नजाने गाउँका नानीहरूलाई दिनको एक घण्टा पढाइदिने सोचेको छु । लेखपढ गर्न, जोडघटाउ गर्न सिक्छन् । कक्षा बिहान हुन्छ । तपाईंका छोरीहरूलाई पनि पठाइदिनुभए हुन्छ । पैसा लाग्दैन ।’

स्वभाविक थियो, फूलमाया अलमलमा परिन् । के उत्तर दिने थाहा नपाएर मलाई एकोहोरो हेरिरहिन् । यस्तो विषयमा निर्णय गर्न श्रीमान्‌सँग सल्लाह गर्नुपर्ने हुन्थ्यो । घरको बिहानको काम छोरीहरूको सहयोगबिना उनीहरूले मात्रै भ्याउँछन्, भ्याउँदैनन् विचार गर्नुपर्थ्यो । खासगरी शान्ति नहुँदा ती काम पार लाग्छ, लाग्दैन हिसाब गर्नुपर्थ्यो । त्यो बुझेर मैले सजिलो बनाइदिन खोजेँ, ‘शान्तिलाई चाहिँ बिहान पाँच बजे पठाइ दिनुभयो भने चाँडै घर फर्किएर काम धन्दा सघाउन पनि भ्याउँछिन् । चिन्ता गर्नुपर्दैन ।’

त्यहाँबाट बिदा भएर घर फर्किँदै गर्दा मलाई असजिलो महसुस भयो । छोरीहरू सँगै भएका बेला पढाइको कुरा ननिकाल्नुपर्थ्यो कि ? मेरा कुरा सुनेर उत्साहित भए होलान् तर कारणवश योजना पुरा हुन सकेन अथवा बुवा आमाले नपठाउने निर्णय गरे भने उनीहरूका मनमा कस्तो चोट पर्ला ?

कक्षा सुरु हुने दिन बिहान म झिसमिसेमा उठेर तयार भएँ । मन कौतुहलले भरिएको थियो- पढ्न को आउला, को नआउला ? पाँच बज्नै लाग्यो, परबाट एउटी केटी मतिर आइरहेकी देखिइन् । थाहा पाएँ, ती हाम्रो कक्षाकी पहिलो विद्यार्थी थिइन् । उनको आगमन मलाई पूर्णिमाको जुनजत्तिकै शीतल र उज्यालो लाग्यो । थाहा भयो, उनका पछिपछि मसिनो आवाजमा खासखुस गर्दै अरू पनि चार पाँचजना आइरहेका रहेछन् । मलाई देख्नासाथ एउटीले टाउको निहुर्‍याइन् । सानो स्वरमा साथीहरूसँग भनिन्, ‘ओए, हेर त, सर ।’

सम्भवत: पहिलो दिनको स्वाभाविक अन्योलका कारणले होला, उनीहरू मलाई देखेर सशंकित भएको थाहा पाएँ । तिनका अनुहारमा त्यो उनीहरूलाई नै पर्खिरहेको अपूर्व अवसरप्रतिको उत्सुकता पनि लुक्न सकेको थिएन । सबैजना छेउमा आइपुगेपछि मात्र मैले चिनेँ, पातलो बर्कोले टाउको र कुम ढाकेकीचाहिँ शान्ति रहिछन् ।

अझ नजिक भएपछि थाहा भयो, धेरैजसो नानीबाबुहरू जाडोले लुगलुग कामिरहेका थिए । प्रायः कसैका खुट्टामा जुत्ताचप्पल थिएन । केहीले आधासरो टाँक झरिसकेका एउटा मैलो सर्टमात्र लगाएका थिए । कोहीकोही घ्वाङघ्वाङ खोकीरहेका थिए । यस्तै हुलिया र हालतमा उनीहरू कक्षामा छिरे । अनि कामिरहेको जिउलाई न्यानो पार्न एकअर्कासँग टाँसिएर चकटीमा बसे ।

यो गाउँमा दु:ख लाग्ने अवस्थाहरू अनगिन्ती थिए । तिनैमध्ये एक थियो मेरा विद्यार्थीहरूको त्यस बिहानको अवस्था । त्यो देखेर मेरो मन कुँडियो, गहिरो दु:खले हुँडल्यो । कुदेर गएर न्याना ब्ल्याङकेट ल्याउँ र सबैलाई एक-एकवटा दिउँझैं भयो तर घरमा ब्ल्याङ्केट थिएनन् । किनेर ल्याएर दिउँ भने सबभन्दा नजिकको बजार तीन घण्टा टाढा थियो । त्यसैले छाप्रे कक्षाभित्र चिसो सिरेटो छिर्न नदिन ढोका ढप्क्याउनु र जिउ तताउने शारीरिक अभ्यास गराउनुबाहेक विकल्प थिएन  । त्यसै गरेँ ।

उनीहरू गोलो घेरामा बिस्तारै दगुर्दा, बस्दै र उठ्दैगर्दा, हात माथि उठाउँदा र झार्दा रमाइलो मानिरहेका थिए । बीच-बीचमा खितखिताइरहेका पनि थिए । कसरत गर्दैगर्दा कुनै साथी पारा नमिलेर लड्थ्यो र सबैजना पेट मिचिमिचि हाँस्थे । कसरत सकिएपछि मैले उनीहरूलाई जानकारी गराएँ, ‘हरेक दिन कक्षासुरु हुनुअघि यसरी नै कसरत हुनेछ र त्यसपछि दुई मिनेट ‘ध्यान’ हुनेछ ।’

ध्यानको कुरा नबुझेर उनीहरू मुखामुख गर्न थाले । त्यसैले, ध्यानमा के र कसरी गर्ने हो त्यो भनिदिएँ । उनीहरू पलेँटी कसेर बसे, आँखा चिम्लिए । अनि मैले ध्यानको मार्गदर्शन दिएँ, ‘दुई मिनेटसम्म आफूले फेरिरहेको सासमा र बाहिर सुनिने आवाजहरूमा ध्यान दिनू ।’

ध्यान सकिएपछि सबैका अनुहारमा सरसर्ती हेर्दै मैले सोधेँ, ‘कस्तो लाग्यो त ?’

प्रायःजसोले शान्त र आनन्द लाग्यो भने । चरा कराएको, केटी मान्छेले गीत गुनगुनाएको, कुकुर भुकेको, भाले बासेको सुनियो भने । शान्तिले पनि यी सबै सुनिन् । आफूलाई महसुस भइरहेका संवेदनामा ध्यान दिँदै वर्तमानमा बाँच्न सक्ने क्षमताका कारण हुनुपर्छ, उनले थप कुरा पनि सुनिन् रे-हावाले हल्लाएका रूखका पातहरूको आवाज, साथीहरूले फेरिरहेको सासको आवाज, गुडगुडाइरहेको पेटको आवाज र ढुकढुक गरिरहेको आफ्नै मुटुको आवाज ।

उनको अनुभव सुनेर म छक्क परेँ तर छक्क परेको थाहा नदिई उपस्थित सबैलाई प्रेरित गर्ने मनसायले मुस्कुराउँदै भनेँ, ‘तिमीहरू दिनमा जुकसुकै बेला यो ध्यानको अभ्यास गर्न सक्छौ । सजिलो लाग्यो भने आँखा खुलै राखेर पनि गर्न सक्छौ । सुरुसुरुमा अलि गाह्रो हुन सक्छ तर यसरी ध्यान गरेर समय बिताउनु निकै सुखदायी हुन्छ, चित्त सफा र समृद्ध हुँदै जान्छ ।’

केही महिनापछि गाउँमा रोपाईँका लागि भनेर दुई हप्ताका लागि कक्षा रोकियो । सबैजना धुमधामका साथ रोपाईंमा सहभागी भए । म पनि एक-दुई ठाउँ गएर रमाइलो गरेँ । कक्षा फेरि सुरू भयो । सबैजना पहिलो दिन नै आए तर प्रमिला दुई दिनपछि मात्रै झुल्किइन् । देख्छु- उनका ओठका कुनामा ठिकैको अम्बा जत्रो घाउ छ । घाउ उब्जिएर पनि बिग्रिसकेको रहेछ । नजिक गएँ, निधार छामेँ । ज्वरो निकै थियो । घाउ बढेर चिउँडोतिर सर्दै रहेछ । घाउमा र छेउछाउमा गाढा राता र काला घिनलाग्दा पाप्रा छरपष्ट थिए ।

यो गाउँमा यस्ता घाउ देख्नु मेरालागि नौलो थिएन । त्यसैका आधारमा भन्न सक्छु, सबैको जस्तै प्रमिलाको घाउ पनि बेलैमा राम्ररी सफा गरेनन् । संक्रमण बढ्दै गयो र यो हालत भयो । उनलाई यस्तो हालतमा कक्षामा राखेर पढाउने कुरा भएन । त्यसैले बाँकी केटाकेटीहरूलाई पढ्दै गर है भनिराखेर म उनलाई लिएर घर गएँ ।

सधैँजस्तै, घरमा कपिलको चालचोल थिएन । चार दिनदेखि बाहिरै रहेछन्, छिमेकीहरूसँग लागेर खोलापारी जंगलमा रूख काट्न गएका । जंगलबाट हरेक दिन घर आउजाउ गर्न असजिलो हुने भएकाले त्रिपालको ओत बनाएर जंगलमै सुत्ने गरेका रहेछन् । त्यसैले उनले प्रमिलाको घाउबारे पत्तै पाएनन् ।

हामी पुग्दा फूलमाया जंगलबाट भरखर घर फर्किँदै थिइन् । शान्ति मकैको ढिँडो ओडाल्दै थिइन् । म प्रमिलालाई लिएर घरभित्र छिरेँ । गुन्द्री टकटक्याएर मझेरीमा ओछ्‌याएँ र त्यहाँ पल्ट भनेँ । शान्तिले घरि अगेनामा अगुल्टा झोस्दै, घरि ढिँडो ओडाल्दै अचम्म मानेर मलाई हेरिरहिन् । सायद प्रमिलामा ध्यान केन्द्रित गरिरहेको मैले उनको नमस्ते नफर्काएको यो पहिलोपटक भएर होला! कि म किन त्यसरी हडबडाइरहेको छु भन्ने नबुझेर पोहो कि ?

तर प्रमिलाको हालतले अथवा मेरो नमस्ते नफर्काइले उनमा रत्तिभर विचलन देखिएन । किनभने उनी प्रतिक्रियाको जञ्जालमा नअलमलिइ केवल संवेदनामा बाँच्थिन् । आफ्नो शरीरमा, हरेक मांशपेशीमा, छालाका मसिना प्वालहरूमा, शरीरभित्रका अन्तरकुन्तरमा कस्तो महसुस भइरहेको छ त्यसमा ध्यान दिन्थिन् । शरीरभित्रका अङ्गप्रत्यङ्ग कहिल्यै कुनै पुस्तक, टिभी वा पर्चामा नदेखेको हुँदा ती कुरा उनको कल्पनामा समेत थिएन र पनि उनी शरीरका अन्तरकुन्तर र अङ्गप्रत्यङ्गमा हुने संवेदनामा आफ्नो चेतना पुर्‍याउँथिन् ।

उनले आफ्नो भद्र मुस्कान कहिल्यै हराउन दिइनन् । प्रमिलालाई घर ल्याएर गुन्द्रीमा सुताउँदाको मेरो हडबडी देखेर अन्योलग्रस्त भएका बेला पनि उनको मुस्कान हराएको थिएन । उनका रसिला आँखाको चमक पनि कहिल्यै गुम भएन । उनको मुस्कान र चमकले अरूलाई पनि त्यसैगरी जिउने निम्तो दिइरहेका हुन्थे । त्यही निम्तो स्वीकार गर्दै म वर्तमान स्थितिमा फर्किएँ । सोचेँ- उनको परिवारसँग कुरा गर्नुपर्छ । अनि उनलाई ‘सुत्दै गर है’ भनिराखेर म बाहिर निस्किएँ । आँगनका डिलमा बसिरहेकी फूलमायाछेउ गएर भनैँ, ‘प्रमिलालाई तुरून्तै डाक्टरकामा लानुपर्छ । तत्काल उपचार गरिएन भने निकै खतरा हुन सक्छ ।’

अकालमा मान्छे मरेको, हुरीवतासले अन्नबाली सोत्तर पारेको, बाढीपहिरोले बस्ती तहसनहस भएको देख्ने बानी परेकी फूलमायाले छोरीको अवस्था देखेर चिन्ता मानेजस्तो देखिएन । उनलाई थाहा थियो- स्वास्थ्य चौकी तीन घण्टा पर छ, त्यहाँ पनि सामान्य औषधी र मलमपट्टीबाहेक केही हुने होइन । डाक्टरी उपचार पाउन करिब पाँच घण्टा परको बजार पुग्नुपर्थ्यो ।

त्यसैकारण होला,  सबै गाउँलेले जस्तै फूलमायाले पनि बाँच्नका लागि प्रकृतिका नियममा भर पर्न सिकेकी थिइन् । हरक्षणको जीवनलाई ज्यादा नाटकीकरण नगरी यथारूपमा स्वीकार गर्न सिकेकी थिइन् । उनलाई प्रमिलाको स्थितिले मलाई जस्तो पिरोलेको थिएन ।

तर जसरी हुन्छ उपचार त गर्नैपर्‍यो । प्रमिलालाई अस्पताल लानुपर्छ भन्दा परिवारमा खासै उत्साह नदेखिएपछि मैले भनेँ, ‘अस्पताल जाने आउने र उपचारमा लाग्ने खर्च म बेहोर्छु ।’

तब उनले भनिन्, ‘तपाईंको साथ लागेर जान भ्याउने, सक्ने घरमा कोही छैन । मैले केटाकेटी हेर्नुपर्‍यो, मेला जानुपर्‍यो, दाउरा-पानी जोहो गर्नुपर्‍यो । शान्ति भ्याउँदिन । बाऊ चैँ घरमा छैनन् ।’

हो पनि । म उनका कुरामा गम खाँदै केहीबेर चुप बसेँ । तर चुप बसेर केही हुनेवाला थिएन । अनि मैले नै आँट गरेर एकतर्फी निर्णय सुनाएँ, ‘त्यसोभए म एक्लै सबै जिम्मा लिएर प्रमिलालाई अस्पताल लान्छु ।’

कुरा टुङ्ग्याएर म आफ्नो वासस्थान फर्किने बेला उनका आँखा मलाई भनिरहेका थिए, ‘जीवनले आफ्नो बाटो लिइरहन्छ सर, हामीले त्यसलाई स्वीकार गर्नुपर्छ । मैले, तपाईंले वा अरू कसैले व्यर्थको चिन्ता लिन, बदलिन वा भर्‍याकभर्‍याक गर्न जरूरी छैन ।’

उनीहरूलाई प्रमिलाको स्थितिप्रति गम्भीर बनाउने मेरो प्रयत्नले हावा खाएकाले मात्रै होइन, यहाँका मानिससँग चौध-पन्ध्र वर्ष सँगै विताइसक्दा पनि उनीहरू मेरा लागि एक किसिम अझै विरानै भएको बोध गर्नुपर्दा मलाई निसहाय महसुस भयो । त्यो निसहायपनको भारीले थिचिएर टाउको निहुराएँ, निरासिएँ । अनि सबै कुरा सधैँ आफूले चाहेजस्तो र चाहेजसरी हुँदैन भन्ने स्वीकार गर्न यस अघिका थुप्रैपटक जस्तै एउटा असाधारण प्रयत्न गर्नतिर लागेँ । यस्तै चिन्ता लिने, व्याकुल रहने र रिसाउने गरेका कारण कतिपयका लागि म एउटा अड्ब्याङ्ग्रो व्यक्ति थिएँ ।

कहिलेकाहीँ मलाई एउटा असीम एकाङ्कीपनले छोप्थ्यो । म कुन संसारको प्राणी हुँ ? जीवनमा के कुरा महत्त्वका हुन् ? केका बारेमा दु:खी महसुस गर्नु ? कसैले माग्दै नमाग्दा किन सहयोग गर्ने कोसिस गर्नु ? म यस्ता प्रश्नहरूले घेरिएर बस्थेँ । प्रमिलालाई अस्पताल लैजाने सल्लाह टुंग्याएर फर्किएको रात ओछ्‌यानमा पल्टिरहेका बेला पनि म यिनै प्रश्नमा रूमलिइरहेको थिएँ । राती करिब एघार बजेतिर ओछ्‌यानमै छटपटाइरहेका बेला म जीवनप्रति मेरो कठोर आशक्ति र अनुरागबारे पहिलोपटक सचेत भएँ । मलाई असाध्य दु:ख र चिन्ताको दहमा पटकपटक डुबाउने मेरा संवेग र भावनाहरूको विशाल सामर्थ्यसँग परिचितभएँ ।

म आफूभित्र मडारिइरहेका निरर्थक कुरा, आशक्ति र दु:खबाट मुक्तिमिल्छ कि भनेर केही समयदेखि ध्यानको प्रयोग गरिरहेको थिएँ तर केही बुझिरहेको थिइनँ । कुनै दिशा नभेट्नुले कमजोर र आतंकित मानसिकता बोकेर भगौडाजस्तो हिँड्थेँ । तथापि, प्रमिलाका घरबाट फर्किएको रात जब फेरि एकपटक अन्योल र अस्पष्टताको रङ तिख्खर कालो भयो र मृत्युले जीवनको आत्मा समेतलाई निमोठ्ने चुनौती दिन थाल्यो तब मेरो मुक्तिको दियो सल्कियो । चित्त उज्यालो भएर आयो । हर्षले म रून थालेँ ।

धेरैबेर रोएँ । आँशु त कति बगे कति । ती आँशुले मलाई आफ्नो पीडाभन्दा बाहिरको संसार यथा रूपमा देख्न नदिने पर्खाल भत्काइदिए । सास फेर्न सकिँदैन कि जस्तो लाग्नेगरी अँठ्याइबस्ने साङ्लाहरू चुँडाइदिए । अनि मैले आफूभित्र नरम सुम्सुम्याइजस्तो आनन्द महसुस गर्न थालेँ । भोलि बिहान ओछ्‌यान छोडेर उठ्न चाहिने शान्ति प्राप्त भयो र जीवनको खोज जारी राख्ने इच्छाहरूको भाँडो तत्कालका लागि भरियो । म के चाहन्छु ? मुस्कुराउन, खुशी हुन कहिलेकाहीँ किन यत्ति गाह्रोप र्छ भन्ने कुरा थाहा पाएँ ।

भोलिपल्ट म बिहानै उठेँ । प्रमिलाको घर गएँ । कम्बलमा बेरिएर आँगनमा पल्टिरहेकी थिइन् । नजिक पुगेपछि थाहा पाएँ, उनको शरीरमा जाडो हुँदा काम्ने शक्ति पनि बाँकी रहेनछ । गुनासो गर्ने, सुँकसुँक रूने तागत नभएर अर्ध बेहोस थिइन् । उनलाई मरणासन्न अवस्थामा देखेर भन्दा पनि समभाव र निरपेक्षतामा रहन सक्ने उनको स्वभावले मभित्रको कमजोरीलाई घच्घच्याएका कारण मलाई एउटा गहिरो सन्तापले छोप्यो । मृत्युको ज्यादै नजिक पुगेकी प्रमिलालाई अब के गर्ने ? मसँग उत्तर थिएन ।

केही बेरमा पल्लो गाउँका झाँक्री आइपुगे । उनी गम्भीर देखिन्थे । फूलमायासँग केही सोधपुछ गरे अनि प्रमिलाका छेउमा टुक्रुक्क बसे । धूप बालेर दाहिने हातले समाएर प्रमिलाको अनुहार वरिपरि घुमाउँदै थोरै बुझिने धेरै नबुझिने भाषामा मन्त्रजस्तो केही बर्बराउन थाले । केही बेरपछि झोलाबाट तीन चिज निकाले- झुम्राको गुडियाजस्तो आकृति, आधा घुमेको काठको टुक्रा, र केही वाणहरू । अनि त्यो गुडियालाई करिब चार फिट पर राखेर तीर हान्न थाले । वाण सकिएपछि भेला गर्न जान्थे र फर्केर फेरि तीर हान्न थाल्थे । यो सबै प्रकृयामा उनी नाचिरहेकै हुन्थे, बरबराइरहेकै हुन्थे । सायद त्यो गुडियाचाहिँ प्रमिलाभित्र छिरेको राक्षसको प्रतीक बनाएको होला ।

वाण हान्ने कर्म सकेपछि एक घुट्की रक्सी पिए । अनि बाख्राको छाला मोरेर बनाइएको ढ्याङ्ग्रो च्याप्प समाए । प्रमिलाभित्र घुसेको खराब आत्मा बाहिर निकाल्न भनि नानाथरी मन्त्र पढ्दै ढ्याङ्ग्रो ठोक्न थाले । उभिएर ढ्याङ्ग्रो ठोक्न थालेकाथि ए, ठोक्दै ठोक्दै पलेँटी मारेर बसेर अर्धमूर्छित जस्तो भए । ढ्याङ्ग्रो ठोकेपिच्छे बसे ठाउँबाट बुरुक्क बुरुक्क उफ्रिन्थे । लाग्थ्यो उनी रबरको तख्तामा उफ्रिरहेका छन्, अनियन्त्रित तर पूर्णानन्दमा डुबेजस्तो ।

मैले झाँक्रीको यस्तो कर्मकाण्ड गाउँमा थुप्रैपटक देखिसकेको थिएँ । देखेपिच्छे सोच्थेँ- त्यस्तो पाराले ज्वरो आइरहेको वा मर्दै गरेको व्यक्तिलाई कसरी राम्रो गर्ला त ? तर नेपालमा प्रायः सबै समुदायले जस्तै तामाङ समुदायले पनि आफ्ना संस्कार, जडिबुटी र औषधीमूलोहरूमा अटल विश्वास राख्थे । ती विश्वासमा प्रश्न उठाउने मेरो के हैसियत !

मैले ती विश्वासले काम गरेको पनि देखेको थिएँ । गाउँमा म बस्ने गरेको घरमा एउटी सानी नानी थिइन्, बिरामी भइरहन्थिन् । उनलाई कहिलेकाहीँ एन्टिबायोटिक वा पेन किलरले काम नदिएपछि झाँक्रीको झारफुकले च्वाट्टै हुन्थ्यो । म जिल खान्थेँ । उनीहरू यो सबै देख्दै, विश्वास गर्दै हुर्किएका र हुर्काइएका थिए । कतिपय अवस्थामा आफ्नै परम्परागत तरिकाबाट बिमार ठिक भएका अनुभवहरू थिए । तथापि, मलाई यकिन थियो- जेसुकै निको भए पनि प्रमिलाको घाउचाहिँ झाँक्री उफ्रेर निको हुनेवाला छैन ।

प्रमिलालाई अस्पताल लैजान भनेर भोलिपल्ट बिहानै म उनको घर पुगेँ । आँगनमा पुगेपछि देखेँ- एउटी केटीको शरीर तन्नामा बेरेर लडाइ राखिएको छ । हिजोको उनको हालत देखेकै थिएँ, त्यसैले आज आँगनमा लास देखेर म उतिसाह्रो अचम्ममा परिन । केवल एउटा भारी शोकले छोप्यो । त्यहाँ भेला भएका थुप्रै मान्छेहरूबीच पनि नितान्त एक्लो महसुस गरेँ । अरूहरू भने सामान्य रूपमा अविचलित शान्तपनका साथ प्रमिलाको घ्यावा गर्दा चाहिने सरसामान जुटाउन, जाँड रक्सी पार्न खटिरहेका थिए ।

कछुवाले खपटाभित्र टाउको लुकाएझैँ छोरी गुमाएको पीडा आफूभित्रै दबाउन फूलमाया तन्मयका साथ पाहुनाको रेखदेखमा लागेकी थिइन् । अविराम खटाइको व्यस्तता र घरिघरि चिरिप्प पारेको रक्सीले उनको पीडा बाहिर छताछुल्ल पोखिन दिएको थिएन । छोरीको मृत्यु कर्म रीत पुर्‍याएर गरिदिए मृत्युपछिको यात्रा सहज र सम्मानित हुने थियो भन्दै केही गाउँले कपिलको खोजी गर्न जंगलतिर लागे । छिमेकी र आफन्तहरू पकाइ तुल्याइ गर्न, सरसफाइ गर्न, आवश्यक कुराको जोहो गर्न जुटे । उनीहरू अब सबैथोक थाँती राखेर परिवारको शोकमा साथ दिन केहि दिनसम्म भैरहनेछन् । लामाले बजाउने घ्यालिङ र अरू बाजाका धुनमा केही दिन हराउनेछन् । ती धुन टाढा-टाढासम्म पुगेर मानिसहरूलाई मृत्यु र त्यसपछिको यात्राबारे झक्झक्याइरहने छन् ।

प्रमिलाको मृत्युको घटनाबाट म अचम्ममा त परिँन तर निक्कै विचलित भएँ । मलाई फेरि मुस्कुराउन, आशा र उत्साहका साथ अगाडिको बाटो हेर्न सक्ने हुन केही हप्ता लाग्यो । एउटा फुङ्ग उडेको खैरो आभाले धेरै दिनसम्म घेरिरह्यो । आफैँप्रति ग्लानि महसुस गरिरहँदा मनका घाउहरू झन् धेरै  चहर्‍याउँछन्, गहिरिन्छन् थाहा पाउँदापाउँदै पनि म निसहाय महसुस गरिरहेको थिएँ । कामना गरेँ-अहिले मभित्र महसुस भइरहेका सबै कुरा सुनाउने साथी भैदिएको भए कस्तो राम्रो हुन्थ्यो !

म अघिल्ला थुप्रै समयहरूमा जस्तैय सपटक पनि मन मिल्ने साथीलाई आफ्ना सबै भावना इमेल गरेर मन हलुँगो पार्न सक्थेँ । त्यतिबेला म कस्तो भ्रान्तिमा थिएँ भने म एक दृष्टिविहीनझैँ आफ्ना नियमित कार्यतालिका बीच यता र उता अजाट्टिरहेको थिएँ । मभित्र धेरैथोक थियो तर म आफै भने थिइँन । म आफूसामु र आफूभित्र पूर्णत: अनुपस्थित थिएँ । मैले मलाई कज्याइरहेको त्यो विशाल खालीपनलाई लुकाउन निकै प्रयत्न गर्नुपर्‍यो । म बस्ने गरेको घरमा नानीहरू मसँग खेल्न वा गफ गर्न मेरानजिक आउँथे । उनीहरूबाट भाग्न मैले थुप्रै पटक बहाना बनाउनुपर्‍यो। उनीहरूले मलाई दिग्भ्रमित भएको वाटो लाएको नदेखुन्, म सतर्क रहनुपरेको थियो ।

मेरो आफ्नो कथा अर्कै थियो । श्रीमतीसँग केही महिनाअघि छोडपत्र भएको थियो । म अझै त्यसको विक्षिप्त चोटबाट तंग्रिने प्रयत्नमै थिएँ । त्यही प्रयत्नमा यता र उता बरालिइरहेको थिएँ । बारम्बार सोच्थेँ- यस्तो बेलामा उनबाट एउटा अंकमाल पाउन पाए, उनको साथ महसुस गर्न पाए, आफैँलाई हजारौँ टुक्रामा छिन्नभिन्न पार्नसक्ने शक्ति लगाएर बच्चाजस्तो निस्फिक्री रून पाए कति आनन्द हुन्थ्योहोला !

मेरा आवश्यकता, परनिर्भरता, अपूर्णता, वास्तविक म र बन्न चाहेको म बीचको द्वन्द्व, मनभित्र थुप्रिएका चासो र चिन्ता, स्नेह दिने र पाउने आकांक्षा लगायत जीवनका थुप्रै कठोर सत्यलाई सतहमा उतारिदिन जीवनले मेरो परीक्षा लिएको यो पहिलोपटक थिएन । तर मसँग एउटा विचित्रको कौशल भने थियो । मजस्तै अवस्थामा पनि अरूलाई वा आफूलाई हुने पीडाप्रति अनुराग नराखी, मिजासिलो हाउभाउ नदेखाइ भिन्न आयामभित्र गुम्सिएर बाँच्न सक्थेँ । खासमा यो कौशलहो कि कमजोरी  ? कि म गलत बाटो हिँडेर यहाँ आइपुगेको हुँ ?

कहिलेकाहीँ मलाई खुशी हुन अति नै गाह्रो हुन्थ्यो । प्रमिलाको घटनापछि पनि त्यस्तै भयो । मेरो जीवनमा एउटा साथको खाँचो कतिसम्म थियो भने म जादुको छडी पाएको सपना देखिबस्थेँ । त्यो छडीले मेरा सुधार गर्नुपर्ने कुरा ट्याक्क मिलाइदियोस्, बढी सोच्ने बानी चटक्कै मेटाइदियोस्, दिमागमा नकारात्मक सोच उत्पन्न नहुने बनाइदेओस्, दु:ख पीडाविहीन भएर बाँच्ने क्षमता प्रदान गरोस् भन्ने कामना गर्थेँ  ।

भाग्यवश, जादु नै भएजसरी म बिस्तारै उत्साहित हुन थालेँ । हरेक व्यक्तिको अस्तित्वको सबभन्दा गहिरो गुफामा निवास गर्ने प्रज्ञाको परिणाम हो अथवा जसरी पनि जीवित रहन चाहने उत्कण्ठाको परिणाम हो, मभित्र त्यो उत्साह जाग्न थालेको थियो । इच्छापूर्वक नै बिहान ओछ्‌यानबाट उठ्न थालेँ । एकसरो हिंडडुलमा निस्कन थालेँ । हिँड्दै गर्दा अनुहारमा हावाका झोँकाले छोएहुन्थ्यो जस्तो लाग्न थाल्यो । जंगलमा अलि भित्रसम्म जाउँ, खोल्साको कलकल आवाज सुनौँ लाग्न थाल्यो । बिस्तारै मभित्र बाँच्ने इच्छा पलाएर आयो ।

विगतमा घोत्लिँदा कहिलेकाहीँ मलाई उदेक लाग्छ । जीवनमा घट्ने घटना र अनुभूति हुने भावनाहरूबाट मान्छे कतिसम्म पराजित हुन सक्दोरहेछ ! ती घटना  र अनुभूतिबीच आफूलाई कहाँसम्म बचाइराख्न घिसारिइरहिँदोरहेछ ! अन्योलको भुमरीमा के साह्रो लरिबरी खेलिरहिँदोरहेछ ! तर किन ? अनि कहिलेकाहीँ लाग्छ- त्यो किन को उत्तर थाहा पाउनकै लागि भए पनि पीडाका यस्ता पराकाष्ठा स्थितिहरूमा पुग्न आवश्यक रहेछ । भलै ती स्थितिले हामीलाई हामीभित्रको सम्पूर्ण उर्जा समाप्त हुने अवस्थामा किन नपुर्‍याउन्!

जब जीवनमा अरू एक कदम अघि बढ्न नसक्ने भइन्छ, तब लडाईंन्दा थकान भारी हुन्छ र जब लाचारीले निसास्सिनेगरी छोप्छ अब हामी सोच्न छाड्छौँ र आत्मसमर्पण गर्न पुग्छौँ । हो त्यहीँबाट जागृत भएर आउँछ कुनै पुस्तकमा नलेखिएको त्यो ज्ञान, जीवनलाई यथारूपमा र आफूलाई प्रदान गरिएकै रूपमा स्वीकार गर्दा निसृत हुने त्यो प्रज्ञा । त्यसपछि प्राप्त हुन्छ अपरिमित आराम । आफूलाई सम्झेर, बितिगएको आफ्नो नौटङ्की सम्झेर आफैँप्रति हाँस्न मन लाग्न सक्छ । निरासाको त्यति गहिरो खाडलमा जाकिनु परेकोमा लज्जा महसुस हुन सक्छ । अनि सोचिन्छ-अब फेरि कहिल्यै त्यस्तो हुने छैन, गर्ने छैन । जीवनलाई हार्दिकतापूर्वक नअँगाल्दाको पाठ, अरू मानिससँग सम्यक तरिकाले नजोडिँदाको पाठ र आशक्तिलाई बिदा गर्न नसक्दाको पाठ कहिल्यै बिर्सिने छैन ।

यसरी जीवन सहजतापूर्वक बग्दै जानेछ । त्यो बगाइमा तब अवरोध आउने छ जब जीवनले अर्को एक झापड हानेर ठूलो स्वरमा भन्नेछ- ‘मित्र, जीवनमा सिक्न र बुझ्न अझै धेरै कुरा बाँकी छन् । शान्ति, मुक्ति र आनन्द कहाँ त्यति सजिलै पाइने कुरा हुन् र !’

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

क्रमशः

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *