एक अविस्मरणीय सिकाइ

एकदिन कक्षामा म रूखलाई अंग्रेजीमा ‘ट्री’ भन्छन् भनेर सिकाउँदै थिएँ । यमुनाले कसै गर्दा पनि सही उच्चारण गर्न सकिरहेकी थिइनन् । म हरेक पटक ‘ट्री’ भन्थेँ, उनी भन्थिन् ‘त्री’ ।

उनलाई सही उच्चारण गराउने मेरो प्रयत्न कसै गर्दा सफल भएन । असफलताबाट निरास भएँछु कि के हो, प्रयत्न लम्बिँदै जाँदा आवाज अलि ठूलो निस्किएछ । अनि मलाई हात लाग्यो– यमुनाको निहुरिएको शिर र झर्न लागेका आँशु । अलि बढी निर्दयी भएँ कि जस्तो लागेर पश्चातापको भावले यमुनालाई हेर्दै भनेँ, ‘केही छैन, भोलि फेरि कोसिस गरौँला ।’

यो घटनालाई शान्तिले सूक्ष्म रूपले नियालिरहेकी रहिछन् । मेरो कठोर स्वभावसँग उनको साक्षात्कार भएको यो पहिलो पटक भने थिएन । सधैँ बढी मेहनतको अपेक्षा राख्ने, उद्देश्य प्राप्तिका लागि अझ बढी प्रयास माग गर्ने मेरो ज्याद्रो बानीसँग उनी राम्ररी परिचित थिइन् । तर कहिल्यै केही भनेकी थिइनन् । सम्भवत: पहिलोपटक त्यस दिन उनले मेरा सामु तेर्स्याएको एउटा प्रश्नले म हैरान भएँ । के र कसरी उत्तर दिने थाहा पाइँन । सोधेकी थिइन्, ‘केही सिक्नुको मतलब किन सधैँ अरूले भनेका कुरा दोहोर्‍याउनु वा किताबमा भएको र सबैले थाहा पाएको कुरा बुझ्नु भन्ने हुन्छ ?’

शिक्षकलाई स्व:स्फूर्त प्रश्न सोधेर उत्तर पर्खिरहेको निर्दोष विद्यार्थी झैँ उनले मलाई एकटकले शालीनतापूर्वक नियालिरहँदा म उनको अनुहारमा हेरेर केही क्षण मौन रहेँ । सोचेँ– यो प्रश्नबाट उनी कतातिर जान चाहिरहेकी छन् ?

अलिबेरको मौनतापछि मैले भनेँ, ‘हराएर नजाउन् भनेर सामान्यत: किताबहरूमा ज्ञानहरू अभिलेख गरिएको छ । अनि तिनलाई विद्यार्थीको तहगत क्षमताअनुसार अध्यापन गर्ने गरिएको छ । तिमीहरूले पढ्ने यो छाप्रो औपचारिक विद्यालय नभए पनि यहाँ सिकिरहेका कुरा तिनै हुन् जुन स्कूल जाँदा किताबबाट सिकिन्छ ।’

लेख्नपढ्न सिक्नु, जोडघटाउ जान्नु वा सामान्य अंग्रेजी बुझ्नु व्यावहारिक आवश्यकताको कुरा थियो । त्यसैले हाम्रो छाप्रे कक्षाको पढाइलाई नानीहरूले राम्रो र उपयोगी नै मानेका थिए । यसले उनीहरूलाई जीवनमा थप कुरा सिक्ने बाटो खोलिदिएको थियो । एड्सबाट बच्ने उपायबारे अथवा खोपको अभियानबारे सूचना पढ्न सक्दा अकल्पनीय दुर्घटनाबाट बच्न सक्थे । लेख्न सक्ने हुनुले जन्मदर्ता वा नागरिकता बनाउँदा अनिवार्य चाहिने फाराम भर्न सक्षम हुन्थे । जोडघटाउको ज्ञानले ठगिनबाट बचाउँथ्यो । उनीहरूले आमाहरू नुनतेल किन्न बजार जाँदा हिसाबकिताब नजानेर ठगिनु परेको पनि त देखेका थिए । अंग्रेजी लेख्न, बोल्न सिकेर चाहिँ उनीहरूलाई त्यतिविधि फाइदा नहोला । आक्कलझुक्कल मेरा विदेशी साथी आउँदा कुराकानी गर्नसम्म काम लाग्न सक्थ्यो । त्यस मानेमा अंग्रेजीले पनि महत्त्व पाएकै थियो ।

शान्तिका बुवाआमा शिक्षालाई खासै महत्त्व दिँदैनथे तर शान्तिको बुझाइ र विचार फरक थियो । उनले दैनन्दिनका व्यावहारिक कुराका लागि मात्रै होइन, अरूसँग मिलेर कसरी बाँच्ने भनेर सिक्न, अरू बालबालिकासँग जोडिन र व्यवस्थित हुन पनि पढ्न जान्नु थियो । आफूमा सहिष्णुता विकास गर्न र गाउँमा छिमेकीहरूबीच आदर बढाउन पनि आधारभूत शिक्षा अत्यावश्यक हुने महसुस गरेकी थिइन् । त्यसैले उनले बिहानको कक्षाको महत्त्व र भविष्यमा तिनले पार्ने प्रभाव शान्तिलाई राम्रोसँग थाहा थियो ।

कक्षामा हामी कहिलेकाहीँ कुनै वास्तविक समस्या कसरी समाधान गर्न सकिएला भनेर छलफल गर्थ्यौँ । तिनै छलफलको परिणाम हुनुपर्छ, गाउँघरमा बारम्बार सुनिने ठूला स्वर, अपमान र चर्का विवादहरूको ठाउँ सहज कुराकानी र असल सुनाइले लिन थालेको देखियो । कम्तिमा बिहान पढ्न आउने नानीहरूले यी नयाँ तरिका बढी प्रभावकारी हुने कुरा बुझ्न थालेका थिए ।

मेरो विचारमा उनीहरूको ख्यालमा सबभन्दा बढी आएको र व्यवहारमा उत्रिएको कुरा थियो– साथीभाइ, आफू, बुवाआमा र भाइबहिनीप्रतिको बढ्दो स्नेह र लगाव । उनीहरूबीच त्यस्तो स्नेह र लगाव पहिल्यैदेखि थियो तर त्यसबारे कुराकानी चाहिँ नहुने गरेको हो कि ! शान्ति यस्ता विषयमा छलफल गर्न मन पराउँथिन् । हरेक पटकका छलफलपछि अरूका अगाडि बोल्न थप सहज भएको र आत्मविश्वास बढेको महसुस गर्थिन् । कहिलेकाहीँ उनका कुरा त्यस्ता हुन्थे जुन एउटी भर्खरकी केटीका मुखबाट निस्कनु अविश्वसनीय लाग्थ्यो । अस्ति कक्षामा मलाई चित खुवाउने प्रश्न गरेकै दिन उनले त्यस्तै अविश्वसनीय उत्सुकता तेर्स्याएकी थिइन् । सोधेकी थिइन्, ‘के हामीले आफूलाई थाहा नभएका कुराबाट पनि सिक्न सम्भव छ ?’

मेरो अनुहारमा अन्योल सल्बलाएको देखेर थप प्रष्ट पारेकी थिइन्, ‘देखेर, अनुभव गरेर मैले हरेक दिन कति धेरै नयाँ कुरा थाहा पाएकी छु । तीमध्ये कति कुरा लेखपढ गर्नु जत्तिकै वा त्योभन्दा बढी महत्त्वपूर्ण छन् ।’

उत्सुकतासाथ मैले सोधेँ, ‘जस्तै ?’

उनी थप्दै गइन्, ‘म विभिन्न समयमा शरीरमा ध्यान पुर्‍याउँछु, यसमा भइरहेका कुरामा चेतना अड्याउँछु । यस्तो अभ्यास बढाउँदै जाँदा शरीरमा महसुस भइरहेको चिसो, तातो, छालाबाट निस्किरहेको पसिना, मांशपेसीभित्रको गुदगुदी, तनाव, सहजता, कुनै एकठाउँको दुखाइबाट निस्रित संवेदना लगायत थुप्रै कुरा अझ बढी थाहा पाउन थालेकी छु ।’

उनका अनुसार त्यस्ता संवेदना केही सेकेण्ड वा मिनेटमा हराइजान्छन् । ती आएको र गएकोबारे जति बढी सजग रहन सक्यो त्यति बढी आनन्द महसुस हुन्छ । त्यसबाट उनले ‘प्रतिक्रिया नगर्न’ सिकेकी थिइन् र यो उनको स्वभाविक बानी बनेको थियो । अधिकांश मानिसले त्यस्ता संवेदनाप्रति यान्त्रिक प्रतिक्रिया गरेको र त्यसबाट हिंसा वा दु:ख सिर्जना भएको पनि देखेकी थिइन् ।

कक्षामा शान्ति र मबीच संवाद चलिरहँदा सबैजना ट्वाँ परेका थिए । यमुना भने शान्तिका कुरा नबुझेर झिँझो मानिरहेकी थिइन् । उनका आँखा नजिकैको रूखमा बसेर हंगामा मच्चाइरहेका चराहरूमा अडिएका थिए । त्यो थाहा पाएपछि शान्तिले नजानिँदो गरी त्यसैलाई उदाहरणका रूपमा प्रयोग गर्ने जुक्ति निकालिन् । भनिन्, ‘आफ्नो शरीर अवलोकन गर्नु भनेको आफ्नो ध्यान कुनै चरामा अथवा रूखमा पुर्‍याएर टक्क अड्याउनु जस्तै हो । अर्थात्, चेतनालाई कुनै एकथोकमा केन्द्रित गर्नु । त्यसबेला तपाईं कुनै प्रश्न नगरी, मूल्याङ्कन नगरी, केवल रूखको अवलोकन गर्नुहुन्छ र यो समेत बिर्सिनुहुन्छ कि त्यसलाई रूख भन्छन् । तपाईं केवल चरा वा रूख हेर्नुहुन्छ र त्यो पूर्णसचेत अवलोकनमा त्यसको नाम समेत बिर्सनुहुन्छ । त्यसबेला तपाईंले एउटा नयाँ अनुभव जिउनुहुन्छ, तपाईंभित्र विशाल शान्तपनको दियो बल्छ । सधैँभन्दा बढी जागृत हुनुहुन्छ र शरीरमा व्यापक खुशी सञ्चार हुनपुग्छ ।’

शान्तिले जोड दिएर थपिन्, ‘मैले अनुभव गरेको एउटा सुन्दर पाठ के हो भने साक्षीभावले अवलोकन गर्ने यस्तो अभ्यास जुनसुकै उमेरको बच्चाले पनि सिक्न सक्छ ।’

शान्तिका शब्दले मलाई छोए । छोए मात्र होइन, हल्लाए पनि । आफूलाई जान्न सिक्नु, संवेदना कसरी जागृत हुन्छन् थाहा पाउनु, असहज वा नकारात्मक संवेदनासँग त्रसित नहुनु, सुखद वा सकारात्मक संवेदना चाहिँ आफैँसँग रहिरहे हुन्थ्यो भन्ने चाहना नराख्नु– के यो सबै स्कूलका बच्चाहरूलाई सिकाउन सम्भव छ ?

यो सोच्दा मेरा आँखा हर्षका आँशुले भिजेका थिए । मैले शान्तिलाई भनेँ, ‘तिमी एकदम सही छौ । आफैँलाई थाहा पाउँदा र खुशी कसरी प्राप्त हुन्छ भन्ने कुरा सिक्दा हरेक व्यक्तिलाई लाभ हुन्छ । मैले देखेअनुसार मान्छे त रामरमाइलो गर्न र पीडा वर्जित गर्नमा केन्द्रित हुन चाहन्छ । त्यही भएर हामी धेरै स्वार्थी र दुःखी छौँ ।’

छलफल सकिँदा कक्षाको निर्धारित समय पनि सकिन लागेको थियो । नानीहरू हतारिँदै आफ्ना कापीकलम र अगडमबगडम भेला गर्न लागे । घर जान सहज गतिमा तयार हुँदै गरेकी शान्तिलाई सम्बोधन गर्दै मैले भनेँ, ‘तिमी जस्ती छौ त्यस्तो हुन पाउनु भाग्यको कुरो हो । तनाव र चिन्तारहित रहेर हरेक चिज र व्यक्तिप्रति असीम स्नेह महसुस गर्दै शान्तिपूर्वक बाँच्न सकिन्छ भन्ने अनुभूत गर्न तिम्रो साथ पाउने मलगायत गाउँका हामी हरेक व्यक्ति भाग्यमानी हौँ ।’

कक्षाबाट थोरै पर्तिर रहेको बासस्थल फर्कँदै गर्दा मैले शान्तिका सुझाव अभ्यासमा उतार्ने कोसिस गरेँ । म आफ्ना हरेक पाइलामा, पाइलो उचाल्दा घुँडामा भइरहेको हलचलमा, शरीरको भारमा, पाइलो राख्दा भुईं छोएकोमा ध्यान दिन थालेँ । मलाई तत्क्षण थाहा भयो– हिँडिरहेका बेला शरीरमा उत्पन्न हुने संवेदनाप्रति बिस्तारमा ध्यान लगाइरहँदा मेरो हिँडाइ सधैँभन्दा धिमा भएको थियो, मितव्ययी भएको थियो । एक किसिम म भित्र र बाहिर दुबैतिर अर्कै भएको थिएँ । मलाई आफैँसँग अचम्म लागेर आयो । मेरो जीवन त आफूमाथि बढी ध्यानस्थ रहने उत्सुकता नराखी, शरीरमा हरबखत उत्पन्न हुने र हराउने संवेदना थाहा नपाइ, ती संवेदनाप्रति जनाउने गरेका प्रतिक्रिया अवलोकन नगरी स्वचालित मेसिन जसरी पो अघि बढिरहेको रहेछ !

त्यस बिहानको छलफलमा सहभागी भएपछि र शान्तिका कुरा सुनेपछि मैले एउटा नयाँ संसारको, नयाँ ‘म’ को, नयाँ ‘हुनुको’ खोज सुरु गरेँ । सबभन्दा महत्त्वपूर्ण त के थियो भने म जति बढी आफ्ना संवेदनाप्रति सजग रहन्थेँ त्यति नै बढी जीवित महसुस गर्थें । कुनै कारण बिना जीवनका परिस्थितिहरूप्रति प्रतिक्रिया गर्दै बाँच्नु कति हाँस्यास्पद रहेछ भन्ने पनि बुझ्दै जान्थेँ ।

खुट्टामा भइरहेका संवेदना महसुस गर्ने बानी बसिसकेपछि मैले हातमा हुने संवेदना थाहा पाउने यत्न सुरु गरेँ । हिँडिरहँदा अघि जाने र पछि फर्किने क्रममा सिर्जना हुने स्वभाविक सन्तुलनप्रति सचेत रहन थालेँ । बिस्तारै मलाई आफ्नो अनुहारमा मन्द हावाले छोएको महसुस हुन थाल्यो । र त्यसरी हावाले अनुहारमा छोएर जाँदै गर्दा शरीरका अरू भागमा छोएको महसुस हुन्छ कि हुँदैन विचार गर्न थालेँ । म यस क्षण के-कसरी बाँचिरहेको छु भन्ने कुराको बोध गुमाउन नचाहेर धिमा गतिमा हिँड्न थालेको थिएँ ।

जीवनमा पहिलोपटक मलाई वर्तमानमा बाँच्नुको अर्थ र अनुभव महसुस भइरहेको थियो । हरक्षण जिउनुको अर्थ र अनुभव बुझेको भान भइरहेको थियो । मलाई लाग्यो, ‘यो एउटा गज्जबको खजाना हो, यसअघि पनि सधैँ मेरो पहुँचभित्रै थियो तर कहिल्यै अनुभव चाहिँ गरेको वा गर्न सकेको थिइँन ।’

हिँड्दाहिँड्दै मलाई बर्सौंबसौँ लाग्यो र त्यो गज्जबको खोजबाट अझ भित्र छिर्न मन भयो । मेरा सबै हडबडी, योजना, डर र पूर्वधारणाहरूको औचित्य समाप्त भएर गयो । मैले जीवनमा पहिलो पटक आफूलाई महसुस गरेँ । मभित्रबाट आवाज आयो– तिमी पहिलोपटक वास्तवमा बाँचिरहेका छौं ।

म आफू बसेठाउँको हरियो चौरमा उत्तानो पल्टिएँ, खुट्टाहरू थोरै फटाएर सिधा पारेँ र हातहरूलाई छातीमाथि छपक्क राखेँ । अनि आफ्नो शरीरले घाँसमा छोएको, श्वास भित्र जाँदा नाकका प्वालमा स्पर्श भएको महसुस गरेँ । परेलाको वजन, नाक, मुख र कुमहरूलाई पनि महसुस गरेँ । यसरी अघि बढ्दै जाँदा एकक्षण म आफ्नो सम्पूर्ण शरीर अनुभूत गरिरहेको थिएँ । त्यसबेला लाग्यो मैले ईश्वर देखेँ, अथवा त्योभन्दा बढी । मानौँ ईश्वर मभित्रै छन्, अथवा मेरो एकदम नजिक छन् । त्यो एक अदृश्य, कुनै आकारप्रकार नभएको र वर्णन गर्न नसकिने कुरा थियो । त्यसले मभित्र यस्तो असीम आनन्द र शान्ति सञ्चार गर्‍यो कि म हर्षोल्लासले टम्म भरिएँ र अघाउँजी खुशी महसुस गरेँ । मलाई लाग्यो– म यस्तो र यति धेरै खुशी कहिल्यै भएको थिइनँ, यो मेरा लागि नयाँ जीवनको सुरुआत हुन सक्छ ।

त्यो नयाँ जीवनले सामना गर्नुपर्ने एउटा बडेमानको चुनौती पनि थियो– मेरो दिमाग (अथवा मन) । अर्थात् मेरा विचार, पूर्वाग्रह, सपना, कल्पना, आक्रोश, सञ्चित अनुभव, आफूलाई आनन्द दिलाउने आकांक्षा र पीडा अस्वीकार गर्ने प्रयत्नहरू । मलाई सधैँ मेरो दिमागले निर्देशन गरिआएको छ । मेरो दिमाग नै मैले बाँचिरहेको चलचित्रको निर्देशक थियो । म गम्थेँ– यो दिमागलाई कसरी बन्द गर्न सकुँला ? यसको उत्तर मैले भरखरै पत्ता लगाएको थिएँ । सजिलो थियो– आफूमा महसुस भइरहेका संवेदनाहरूमा अविराम ध्यान लगाइराख्नु । तर संवेदनाहरूमा ध्यान पुर्‍याउन सम्झिराख्नु, हरखबत हाजिर रहनु, सजग रहनु, प्रशान्ति र प्रेम उत्पन्न गरिराख्ने त्यो मूल तत्त्वसँग जोडिइरहनु सजिलो चाहिँ थिएन ।

यी सबै सोचिरहँदा थाहा पाइहालेँ– म फेरि वर्तमानमा हाजिर थिइनँ । मेरा शरीरमा उत्पन्न हुँदै, बिलाउँदै गरिरहेका संवेदनाप्रति सजग थिइनँ । म त सोच्न, तर्क गर्न, निष्कर्ष निकाल्नतिर लागिसकेछु । मैले दिमागको कर्तुत बुझेँ । यो सधैँ कुनै न कुनै प्रकारले मेरो जीवनमा नियन्त्रण कायम राख्न र हावी हुन खोज्दोरहेछ ।

यसरी मैले एउटा नयाँ चुनौती जन्मेको थाहा पाएँ । वर्तमानमा रहन डटिरहनु नै मेरो अस्तित्वको सबैभन्दा ठूलो चुनौती रहेछ । साँचो खुशी पनि त्यसैमा रहेछ । त्यसका लागि मैले मभित्र जमेका अहम्‌का पत्रहरू कोट्याएर मिल्काउनु थियो । फलस्वरूप म हरेक दिन आफ्नो वास्तविक सारतत्त्वको अझ नजिक पुग्न सकुँ, जीवनका सबै आशक्ति त्यागेका मानिसहरूले अनुभव गर्ने जस्तो असीम शान्तिका नजिक पुग्न सकुँ ।

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *