भोलापनको दुनियाँ

शान्ति तेह्र लागेकी थिइन् । ग्रीष्म ऋतुको एक रात अकस्मात उनको पेट नमज्जाले दुख्न थाल्यो । गुन्द्रीमा डल्लो परेर, वसन्तीका हात बेस्सरी समाउँदै उनले त्यो रात काटिन् । बिहानपख झिपिक्क निदाएर ब्यूँझिँदा उनको फ्रक पछाडि रगतको टाटो थियो । त्यो टाटो उनको पहिलो रजश्वलाको निसानी थियो । उनी त्यो के र किन भएको हो थाहा नपाएर डराएकी थिइन् । फूलमायालाई थाहा नहुने कुरा भएन तर उनले त्यसअघि छोरीलाई रजश्वलाबारे कहिल्यै केही बताएकी थिइनन् ।

उनले हल्का हपारेको शैलीमा शान्तिलाई अह्राइन्, ‘ओए नानी, घरबाहिर निस्की । खोल्सातिर गएर धोइपखाली गर । अनि पुराना झत्ता खोजेर टालो बनाएर त्यहाँ लगाइराख । अब केही दिन त्यहाँबाट रगत निस्किबस्छ । त्यही टालाले छेक्छ ।’

शान्तिले आमाका आदेश खुरुखुरु मानिन् । छोरीलाई धोइपखाली सिकाउन उनी पनि खोल्सातिर लागिन् । बाटामा आफैँसँग बोले झैँ भन्दै थिइन, ‘यो हरेक स्वास्नी मान्छेलाई हरेक महिना हुने कुरो हो । यस्ता बेला चार दिनसम्म गोठमा सुत्नुपर्छ । भान्साभित्र लसपस गरे, अरूलाई छोइछाइ गरे पाप लाग्छ । देउथान आसपास जाने, फूलपाती चढाउने कुरा त सोच्दा पनि नसोच्नू ।’

स्वयंभित्र भयंकर आशंका उत्पन्न गराइरहेको रहस्यबारे संक्षिप्त व्याख्या मिलेकाले शान्ति आमाप्रति कृतज्ञ भइन् । उनले छरछिमेकका महिलाले गोठमा बच्चा जन्माएको, गोठलाई नै प्रसूति कक्षका रूपमा प्रयोग गरेको देखेकी हुनाले रजश्वला भएका बेला आफू पनि गोठमा सुत्नुपर्ने कुरालाई असामान्य मानिनन् । घरसमाजको चलन स्वीकार गर्नुपर्दा उनी जस्तै गाउँका धेरै छोरीहरू जाडो महिनाका कठ्याङ्ग्रिने ठिहीबाट प्रताडित थिए । हरेक छोरीका जीवनमा त्यस्ता निसास्सिने एक्लोपनका सम्झना प्रशस्तै थिए ।

उनीहरूलाई सानै देखि अरूको सेवा गर्नु, आफूलाई असहाय ठान्नु, घरधन्दाको बोझ थामिबस्नु भनेर हुर्काइएकाले त्यस्ता एक्लोपनलाई सहजै स्वीकारेका थिए । सायद त्यसैकारण होला पेट दुखेर हुरूक्क भएका बेला पनि शान्तिले कुनै प्रतिरोध गरिनन्, आपत्ति जनाइनन् । बरू शरीरमा उत्पन्न हुने र हराइजाने संवेदनाहरूप्रति सजग रहन दत्तचित्त भइन् । उनले बुझेकी थिइन्– प्रतिवाद वा गुनासो गर्नु अर्थहीन छ, यस्तो कठिन अवस्थामा यही सजगताको बाटो हिँड्नुपर्छ । त्यसरी संवेदनाप्रति सजग रहेरै उनले पेट दुखाइको पीडा कम गरिन् । दिमागलाई ती पीडादायी संवेदनाको नाटकीकरण गर्ने मौका दिइनन्, दैनिक जीवनमा अवरोध गर्ने मौका दिइनन् ।

पहिलो रजश्वला भएको केही महिनापछि एकदिन बारीमा मकै गोडिरहेका बेला शान्ति र वसन्तीले पहिला कहिल्यै नदेखिएकी एकजना महिला आफूतिर आउँदै गरेको देखे । ती महिलाले राम्रै लुगा लगाएकी थिइन्, अनुहारमा विनम्रता थियो, चालढाल हेर्दा राम्रै खानदानकी झैँ देखिन्थिन् । उनीहरूले नयाँ मान्छे देख्दा सधैँ गरिआए झैँ ती महिलालाई शिरदेखि पुच्छारसम्म नियाले । अनि मनमनै आफैँलाई सोधे, ‘यी मान्छे को होलिन् ? कता हिँडेकी होलिन् ?’

नयाँ महिला उनीहरूको छेवैमा आइपुगिन् । मायालु पाराले उभिएरै सोधिन्, ‘बहिनीहरू के गरिरहेका ? नाउँ के हो ?’

सोधाइ कति नम्र र प्यारो थियो भने शान्ति र वसन्तीलाई उनको उपस्थिति तत्कालै सहज लाग्यो । त्यसैले सोधेभन्दा धेरै बताइदिए । गाउँ, घर, परिवार, बिहानका कक्षा, दिनभरका काम इत्यादिबारे बेलिबिस्तार लगाइदिए । ती महिलाले थप जान्न चाहिन्– उनीहरू अघाउँजी खान पाउँछन् पाउँदैनन्, न्यानो लुगा छन् छैनन् । शान्ति र वसन्तीको अवस्था कति दयनीय छ भन्ने कुरा उनीहरूलाई देख्ने बित्तिकै थाहा भैहाल्थ्यो । त्यसैले ती महिलाका आत्मिय जिज्ञासाले उनीहरूको मनमा अनुमान र अपेक्षाको राँको सल्काइदियो ।

उनीहरूले सोचेका थिए– कुनै संस्थाकी मान्छे होलिन्, केही सहयोग गर्न सोधीखोजी गरेकी होलिन् । भलाकुसारी टुङ्ग्याएर बाटो लाग्न खोज्दै उनले भनिन्, ‘अब म जान्छु है नानी हो । पर्तिर आफन्त पनि भेट्नु छ । तिमीहरूको व्यथा राम्ररी बुझेँ । केही गर्ने इच्छा भए भन्नु । शहरमा भाइको होटल छ, काम मिलाइदिन सक्छु । स्कूल जान पाउँछौ, माछामासु र धानको भात खान पाउँछौ । तलब थापेर घर खर्च पठाउन पनि सक्छौ । सल्लाह गर्नु ।’

प्रस्ताव सुनेर शान्तिलाई असजिलो लाग्यो तर वसन्तीले भने दिनैपिच्छे मासु खान पाइने, तलब थापेर आफूखुशी मिठो किनेर खान पाइने, राम्रो लाउन पाइने र आमालाई थोरैतिनो सहयोग गर्न पनि पाइने सुनेर मुख मिठ्याइन् । दिदीबहिनीले सल्लाह गरे– बुवाआमाको विचार बुझेर निर्णय गरौँला । उनीहरूले अलि पर्तिर पुगेकी ती महिलालाई बोलाएर भने, ‘हाम्रा घर जाउँ दिदी, बुवाआमासँग सल्लाह गरौँ ।’

तीजना घरतिर लागे । महिला बाटामा पर्ने आफन्तकामा एकैछिन् पसिन्, हालखबर सोधखोज गरिन् र हाते ब्याग त्यहीँ छोडिराखेर निस्किइन् । करिब दश मिनेट उकालो हिँडेपछि सबैजना घर पुगे । फूलमाया आँगनमा मकैका झुत्ता नङ्ग्याउन तल्लिन् थिइन् । भन्नु परोइन, घरको हुलिया गतिलो थिएन । हुरीबतास र छड्के पानीले गोदेर आधासरो लिउन झरिसकेको थियो । छानो छाएको धेरै भएको थिएन, पानी छेक्न सक्ने नै थियो ।

फूलमायाले मकै नङ्ग्याउन रोकिनन् । बसेकै ठाउँबाट छोरीहरू र अपरिचित महिला आएतिर नजर पुर्‍याइन् । फूलमायातिर हेरेर महिला विनम्रतापूर्वक बोलिन्, ‘नमस्कार दिदी, मेरो नाम रमा हो । नानीहरूसँग बाटामा भयो । घर जाउँ भनेर लिएर आए ।’

कथित ‘आधुनिक चलन’सँग अपरिचित फूलमाया आफ्नै काममा लागिरहिन् । बसेकै ठाउँबाट वसन्तीलाई अह्राइन्, ‘ओए वसन्ती, पाहुनालाई पिरा दिनु पर्दैन ?’

छोरीहरूले आमालाई रमाको प्रस्ताव सुनाए । पाहुना गाउँ छिर्नुको कारण थाहा पाएपछि र छिमेकीकी आफन्त भएको बुझेपछि बल्ल फूलमायाले चियाको सुरसार गरिन् । चिया पकाउँदा पकाउँदै भित्रैबाट आफ्नो स्थितिबारे रमालाई बताउन भ्याइन्, ‘बहिनी, यो जीवनका दु:ख भनिसाध्य छैनन् । हातमुख जोर्न ज्यान फालेर ज्यालामजदुरी गर्न नगई उपाय छैन ।’

फूलमायाको पारिवारिक अवस्था, दैनिकी, दुई छाक खाना जुटाउन छोरीहरूले सहयोग गर्नैपर्ने बाध्यता र कपिलका दु:खदायी हर्कतबारे सुनिसकेपछि रमा निकै दयालु र करुण देखिइन् । छोरीहरू आमालाई मकै छोडाउन सघाउँदै सबै कुरा सुनिरहेका थिए । रमाले भावुक लयमा भनिन्, ‘यस्तो कष्ट कति भोगिरहनु हुन्छ दिदी ? छोरीहरू मेरो जिम्मा लगाइदिनुहोस् । धेरै देशीविदेशी आउने एउटा गतिलो शहर छ, पोखरा भन्ने । यिनीहरूलाई त्यहीँको एउटा होटलमा जागिर लगाइदिन्छु । त्यति गर्न पाए मलाई पनि धर्मै होला ।’

सुरुमा अविश्वास लागेर फूलमाया छक्क परिन् र रमालाई उत्तर गरिन्, ‘घरमा पानी, सोत्तर, दाउरा ल्याउन दिनदिनै यिनैमाथि भर पर्नुपर्छ । यी बिना घरमा भात पाक्दैन । अनि यिनलाई कसरी फ्याट्ट बिदा गर्न सकुँला त बहिनी ?’

फूलमायाको पेचिलो र विरक्त लाग्दो परिस्थितिप्रति गहिरो दु:ख व्यक्त गर्दै रमाले सम्झाउने प्रयास छोडिनन् । भनिन्, ‘दिदी, छोरीहरूले जागिर खाएर पैसो पठाउन थालेपछि सायद तपाईंलाई उनीहरूको अभाव खड्किने छैन । घरमा गतिलो खानपिन जुटाउन सहज हुनेछ । छोरालाई स्कूलको पढाइ पुरा गर्न चाहिने खर्चको चिन्ता रहँदैन । पछि क्यापस पढ्न चाह्यो भने पनि मन खुम्च्याउनु पर्दैन । मेरो सल्लाह मान्नुहोस्, छोरीहरूलाई बिदा दिनुहोस् ।’

‘सविनले पढाइ गरेर कुनै गतिलो काम पाउला भन्ने विश्वास छैन’, फूलमायाले उसरठ्ठै यसो भनिरहँदा कपिल लरखरिँदै घरतिर आउँदै गरेका देखिए । उनी आँगनबाट अघि बढ्दै गर्दा शान्तिले थाहा पाइन् – उनका आँखा रसिला, राता र तेजिला देखिएका छन्, एक किसिमले डरलाग्दो । तर आजकल कम हिंस्रक भएका बुवाको आगमनबाट उनी डराइनन्, प्रसन्नै भइन् । आखिर रमाको प्रस्तावमा अन्तिम निर्णय गर्ने व्यक्ति उनी नै थिए ।

राम्रै खानदानकी जस्ती देखिने, चिटिक्क परेकी अपरिचित महिलालाई घरमा देखेर कपिल छक्क परे । छड्के पारामा रमालाई नमस्कार टक्र्याए । अनि फूलमायातिर उत्सुक नजर फ्याँके, प्रष्ट थियो उनी रमा आउनुको कारण थाहा पाउन ब्यग्र थिए । फूलमायाले कुरो बुझिन् र रमाको प्रस्ताव कपिललाई सुनाइदिनइन् । अन्तिममा थपिन्, ‘तर मलाई छोरीहरू पठाउन मन छैन ।’

कुरा सुनेर कपिलको मुहार उज्यालियो । ‘मेरो प्रस्ताव स्वीकार गर्ने निर्णय गर्नुभयो भने यिनीहरूको एक महिनाको तलब अहिले नै पेस्की दिन सक्छु’, रमाका मुखबाट निस्किएका यी शब्दले कपिलका अनुहारमा नम्बरी सुनकै जलप लगाइदिए भन्दा पनि हुन्छ ।

राम्रो लाउन, मिठो खान, घरमा सहयोग गर्न पाइने कुराले वसन्तीको मन फुरूङ्ग भएको थियो । त्यो कुरा फूलमायाले बुझिन् । शान्ति भने निरपेक्ष देखिएकी थिइन् । उनले परिवारको दरिद्रताप्रति सचेत रहँदै सबै कुरा चुपचाप सुनिरहिन् । म बुवाआमाको निर्णयमा आफूलाई समर्पण गर्नेछु, उनको अनुहारको भावले यसो भनिरहेको थियो ।

त्यसदिन रमालाई प्रष्ट निर्णय दिन नसकिएकाले भोलि बिहान आउन अनुरोध गरियो । उनी बाटो लागिन् । राति फूलमाया र कपिलले छोरीहरूलाई नयाँ संसारतिर धकेल्नुका फाइदा र बेफाइदाबारे लामो संवाद गरे । घरमा खानेकुरा जुटाउनुको संकट थाहा हुँदाहुँदै, छोरीहरूले जागिर गर्न पाए जीवन धान्न सघाउ पुग्छ भन्ने प्रष्ट हुँदाहुँदै, बिहेका लागि दाइजो जोहो गर्न सकिन्छ भन्ने बुझ्दाबुझ्दै पनि फूलमायाले रमाको प्रस्ताव मन पराइनन् । त्यसैले सकेजति प्रतिरोध गरिन् । शान्ति सुते झैँ गरेर बुवाआमाका सबै गन्थन सुनिरहेकी थिइन् । रमाको प्रस्ताव स्वीकार्दा परिवारलाई मनग्गे फाइदा पुग्ने कुराले उनलाई आकर्षित गरेको थियो ।

घरको एकमात्र छोरो सविनले पढाइ जारी राख्न पाउने, उस्तै परे लाइसेन्स निकाल्ने र ड्राइभर बन्ने सम्भावनाको आकर्षणले अन्तत: फूलमायाको चित्त छोयो । उनलाई लागेको हुँदो हो– बिहेवारीपछि हामी बुढाबुढीको हेरचाह गर्ने सविन नै त हो, त्यसैले उसको बालापन सुखी बनाइदिन सके छोरीहरूलाई पोखरा पठाउँदा सहनुपर्ने कष्ट र त्यागको क्षतिपूर्ति हुनेछ । त्यसरी राती अबेरसम्म गन्थन गरिसकेपछि फूलमाया र कपिल निचोडमा पुगे– रमाको प्रस्ताव जस्ताको तस्तै स्वीकार गर्न सक्ने स्थिति छैन, घरमा काम गर्ने मान्छे पनि चाहियो, त्यसैले शान्तिलाई मात्र रमासँग पोखरा पठाउनु पर्छ ।

यो निर्णय सुनिसकेपछि शान्तिका मनमा रातभर बाल्यकालदेखिका स्मृति तँछाडमछाड गरिरहे । घर छोड्नुपर्ने निकट तितो सत्यले दिमाग रिङ्ग्याइरह्यो । झुपुक्क ननिदाइ उज्यालो पार्न लागिन् । घर छोड्नुका उदासी र विषादमा डुबेकी थिइन् । सोचाइमा लतारिएर वग्नु, हराउनु, वर्तमानप्रतिको सजगता टुट्नु, निदाउन नसक्नु उनका लागि एउटा विरलाकोटी मानसिक अवस्था थियो । कलिलै उमेरकी भएकीले उनमा सबैखाले दु:ख र पीडा सहजै पचाउने क्षमता आइसकेको थिएन । ओछ्‌यानमै पल्टिरहेकी थिइन् । दिमागमा विगतका कुराहरूको परिदृश्य आउँदै जाँदै गरिरहेका थिए, मानौँ कुनै चलचित्र हेरिरहेकी छन् । चलचित्र हेर्दाहेर्दै उनी ओछ्‌यानमै रोइन्, ओछ्‌यानमै हाँसिन् । यस्सो उठेर बुवाआमा र भाइबहिनीका अनुहार नियालिन् । अगाध प्रेमका साथ, हृदयको गहिराइबाट निसृत करूणाले भरिएर केहीबेर हेरिरहिन् । उनका आँखा भरिएका थिए ।

उनको मन र दिमागमा पटाक्षेप भएका अधिकांश दृश्यको कथानायक थिइन्– आमा । हरक्षण कुनै न कुनै काम गरिरहेकी, छोराछोरीको हेरचाहमा खटिरहेकी, धेरैजसो समय थकानले थलिएकी । अनुहारका किरिङमिरिङ चाउरी, हातका ठेला, पिँडुलाका गाँठागुँठी र चरचरी फुटेका कुर्कुच्चा– यिनै थिए आमा कथानायक हुनुका निशानीहरू ।

बिहानपख सधैँ झैँ सबभन्दा पहिला फूलमाया उठिन् र पोलिथिनको झोला सल्काएर आगो जोर्ने यत्नमा लागिन् । सोतेले आगो फुकिरहँदा उनका आँखा फुलेका थिए, रसिला भएका थिए । ती आँखाभित्र शान्तिले आफ्नै प्रतिच्छाया देखिन् । उनी सुतिरहेकै थिइन्, उठ्न मन थिएन । दिमागमा फेरि यावत् सोच र संवेगहरू तँछाडमछाड गर्न थाले । भित्तातिर कोल्टे फेरेर सहस्र अश्रुधारा बगाउन थालिन् । धर्तीमा छ्‌याङ्ग उज्यालो खस्न केहीबेर बाँकी थियो ।

शान्तिले आजसम्म परिवारबाट अलग रहेर एक रात पनि बाहिर बिताएकी थिइनन् । उनले आफूभित्रको दु:ख भयमा रूपान्तरित भइरहेको थाहा पाइन् । त्यो भय अज्ञातको, अनिश्चितताको, एक्लोपनको, आफ्नै उमेर र लिङ्गप्रतिको भय थियो । तर धेरैबेर यस्तो हुन पाएन । उनलाई भयले निलिरहेकोप्रति, निरीह बनाउँदै लगेकोप्रति चाँडै सजगता मिलिहाल्यो । वर्तमानमा फर्किइन्, मनभित्र चलिरहेको चलचित्रमा डुब्न छोडेर यस घडीको वास्तविकतामा फर्किइन् । गुन्द्रीमा कोल्टे पल्टिरहेको आफ्नो शरीर, अगेनामा पुत्पुताइरहेको धुँवाको गन्ध, श्वास भित्र लिँदा र फ्याँक्दा हावाले नाकमा गरिरहेको स्पर्श थाहा पाउन लागिन् ।

वर्तमानप्रति जति बढी सचेत हुँदै गइन् त्यति नै बढी शरीर कपास झैँ हलुको महसुस गर्न थालिन् । मांसपेशीहरूको कठोरता लुप्त भएर गयो र सहजताको त्यस्तो स्थितिमा पुगिन् जहाँ दिमाग टक्क थामियो, समयको अस्तित्व बाँकी रहेन । उनलाई बोध भयो कि आफू केवल यस क्षणको शुद्ध चेतना हुँ, अरू केही पनि होइन । यो बोधसँगै उनलाई अपार खुशीले भरिएको अनुभूति हुन थाल्यो । यसरी उनी जीवनमा पहिलो पटक अहं, आशक्ति र दु:खबाट मुक्त हुन सकेकी थिइन् । जीवनमा पहिलोपटक ‘मरेकी’ थिइन् ।

उनी सबै कुराका लागि मनोवैज्ञानिक रूपले मृत भइन् र एउटा अज्ञात स्वतन्त्रता प्राप्त गरिन् । आत्मा तृप्त गर्ने र सामु आइपर्ने जुनसुकै चुनौती सामना गर्न सक्ने सामर्थ्य प्रदान गर्ने एउटा ताजा निश्वाशले भरिइन् । यसरी, यस्तो अमित शान्तिमा डुबेर उनी निन्द्रादेवीका काखमा गुजुल्टिन पुगिन् ।

नयाँ दिन आगमनको उद्‍घोष गर्दै गाउँमा भालेहरू बास्न थालिसकेका थिए । उनी अर्धनिन्द्राले गिजोलिएर ढिलो उठिन् । मनमा उदासी र दु:खका झिल्का पुन: देखापरे । तर यसपटक उनले तिनलाई आफूमाथि हावी हुन दिइनन् । बरू ती झिल्काप्रति पूर्ण सचेत रहँदै शरीरका संवेदनाहरूमा ध्यान लगाउन थालिन् । मनमा नयाँ चलचित्रको कथा चल्न थाल्ने हरेक सम्भावनाबाट आफूलाई जोगाइरहिन् । उनलाई  थाहा थियो– घर छोडेर पैसा कमाउन जानु परिवारको दयनीय स्थितिसँग जोडिएको यथार्थ हो र बुवाआमाका निम्ति नाटकीय निर्णय भए पनि यसबाट निकट भविष्यमा परिवारका सबैलाई ठूलो फाइदा पुग्नेछ ।

यो पूर्वाभासले उनका ओठमा मुस्कान फर्कायो । त्यो मुस्कान फूलमायाका नजरमा पनि पर्‍यो र छोरी विदा गर्नुपर्दाको सन्ताप पखालेर लग्यो । छोरीलाई विदा गर्नुअघि उनी भएसम्मको मिठो खाना खुवाउन चाहन्थिन् । बिहान उठेदेखि त्यसैको तयारीमा लागेकी थिइन् ।

त्यो दिन उनी जंगल गइनन् । कपिल र भाइबहिनीहरू पनि घरै थिए । शान्ति मन नलागे पनि बिदा हुन तयार हुँदैथिइन् । खाना पाक्यो । सबैजना सँगै बसेर सागको तरकारी, काँचो आँपको चटपट अचार र सिमीको दालसँग एक–एक थाल भात खाए । कसैले केही नबोली खानपिन सकियो ।

अनि नमस्कार टक्र्याउँदै रमा आइपुगिन् । फूलमाया र कपिलले आफ्नो निर्णय सुनाए । शान्ति लत्ताकपडाको झोला बोकेर निस्किइन् । दुबैजना बाटो लागे ।

फापरबारीतिर डोरिने बाटो केहीबेर हिँडेपछि उनीहरू एउटा घरमा रोकिए । त्यस घरकी चौध पुगेकी जेठी छोरी सुनिता पनि रमाको प्रस्ताव स्वीकार गर्ने निर्णयमा पुगेकी रहिछन् । त्यसैले त्यहाँबाट सुनितासमेत मिसिएर तीनजना छिटछिटो पाइला चाल्दै फापरबारीतिर लम्किए । पाँच घण्टा हिँडेपछि हत्तुहैरान भएर फापरबारी पुगे । त्यहाँबाट अगाडिको यात्राका लागि बस चढ्नु थियो ।

शान्ति यसअघि दुईचार पटक आमाका साथ लागेर फापरबारी र हेटौँडा बजार पुगेकी थिइन् । त्यसभन्दा अगाडिको संसार उनलाई थाहा थिएन । सुनिताका लागि भने घरबाहिरको यो पहिलो यात्रा थियो । हेटौँडा जाने बाटो यति कच्ची थियो कि गाडी बीस किलोमिटर प्रतिघण्टा भन्दा छिटो कुदाउन सम्भव थिएन । बाटामा कतिपय ठाउँमा टायरले उछालेको मसिनो धुलो झ्यालबाट छिरेर बसका यात्रीहरूलाई सास फेर्नै गाह्रो पार्थ्यो ।

धुलोबाट सकेजति जोगिन शान्तिले पालतो घुम्टोले टाउको र अनुहार ढाकेकी थिइन् । यात्राका कतिपय कुराबारे सुनितालाई टिप्पणी पनि सुनाइरहेकी थिइन्– बस जोल्टिङ पर्दा जिउ हलुको छोडेर सन्तुलन मिलाउनुपर्छ, नयाँ यात्री र तिनका सामान छतमा चढाउन बीचबीचमा गाडी रोकेका हुन्, ड्राइभरले घरिघरि कर्कश आवाजमा कन्डक्टरलाई थर्काइरहनुको उदेश्य गाडीमा थप यात्रु कोच्ने आदेश दिनु हो इत्यादि । फापरबारीतिरबाट हेटौडा जाने बस एउटा मात्र भएकाले छतमा पनि टनाटन मान्छे थिए । उनीहरू केही घण्टामा बजार पुर्‍याएर बेचिने खसीबाख्रा र कुखुरासँगै कोचिएर फलामका डण्डीमा चप्पल ओछ्‌याएर बसेका थिए ।

रमा शान्ति र सुनिताभन्दा अघिल्लो सिटमा बसेकी थिइन् । उनी बस चढेपछि एक शब्द बोलेकी थिइनन् । थाकेकी होलिन् सोचेर शान्तिले खासै वास्ता गरिनन् । रमा हेटौँडा पुग्दासम्म पनि चुपचाप थिइन् । बसबाट हेटौडा बजारमा उत्रिएपछि रमाले गरेको व्यवहार हिजोअस्ति गाउँमा जस्तो दयालु नरहेको थाहा पाएर शान्ति छक्क परिन् ।

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

 ५ एक अविस्मरणीय सिकाइ

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *