आश्रय

दुई दिनपछि म शान्तिलाई लिएर हेटौँडास्थित आश्रयघर गएँ । त्यहाँ मकवानपुरका विभिन्न दुर्गम गाउँबाट आएका अरु सातजना युवतीहरू पनि थिए । दुई जना प्राथमिक तहसम्म पढेका, बाँकी निरक्षर । उनीहरू यहाँ आइपुगेको केही दिनसम्म हरबखत लजाएका, अलमलिएका जस्ता देखिन्थे । उनीहरूका लागि खाटको ओछ्‌यानमा सुत्नु, हप्तामा दुईतीनपटक नुहाउनु, सबैजना मिलेर तालिकाअनुसार सरसफाइ गर्नु, खानपिन तयार गर्नु, करेसाबारीको हेरचाह गर्नु इत्यादि सबै कुरा नौला थिए ।

आश्रयघरको रेखदेख रत्नाले गर्थिन् । उनले त्यो काम गर्न थालेको दुई वर्ष पुग्न लागेको थियो । त्यसैले उनको अनुभव र भूमिका महत्त्वपूर्ण थियो । उनी बहिनीहरूलाई सहज महसुस गराउन, परिवारिक वातावरण प्रदान गर्न कोसिस गर्थिन् । जीवनमुखी कुरा सिक्न र सिकाउन गोष्ठीहरू चलाउँथिन् । लेखपढ गर्न र तालिकाअनुसार चल्न सहयोग गर्थिन् ।

आश्रयघरमा बस्नेहरू बिहान पाँच बजे उठ्थे, हातमुख धुन्थे, आधा घण्टा शारीरिक अभ्यास गर्थे, करिब पन्ध्र मिनेट ध्यान बस्थे, र त्यसपछि मिलीजुली खानपिन तयार पार्थे । साढे आठ बजेतिर सबैजना सँगै बसेर खाना खान्थे । सबैजना आफूले खाना खाएको थालबटुका आफैँ माझ्थे, बाँकी भाँडाकुँडा र भान्साको सरसफाइ पालोअनुसार गर्थे ।

भान्साको काम सकेपछि सिलाइ सिक्न जान्थे । सिलाइ कक्षा दश बजे सुरु भएर एक बजे सकिन्थ्यो । अनि दुईबजेतिर हल्का नास्ता गर्थे । त्यसपछि रत्नाले चलाउने गरेको गोष्ठीको समय हुन्थ्यो । गोष्ठी प्राय: हरेक दिन हुन्थ्यो । त्यसमा उनीहरू आत्मविश्वास र समझ वृद्धि गर्ने थुप्रै विषयवस्तुबारे छलफल गर्थे । छलफलका विषय विविध हुन्थे– माया के हो ? सम्बन्धहरूलाई के कुराले जीवन्त राख्छ ? व्यक्तिले जीवनप्रतिका जिम्मेवारी कसरी पुरा गर्नुपर्छ ? इत्यादि । ती छलफलले उनीहरू भित्रका चाखलाग्दा विचार र अनुभवहरूलाई सतहमा उतार्थे, उनीहरूको व्यक्तित्व विकास गर्न र सहअस्तित्व बोध गर्न मद्दत गर्थे ।

यस्तो आश्रयघरमा मिसिन शान्ति पनि आइपुगेकी थिइन् । उनलाई नयाँ साथीहरूसँग सहज महसुस गर्न बेर लागेन । त्यो देखेर मलाई लाग्यो– शान्तिलाई यहाँ बस्न बोलाएर राम्रै गरिएछ । पहिलो दिन दिउँसोको नास्ता खाइसकेपछि हामी सबैजना गोष्ठी गर्ने कोठामा भेला भयौँ र चकटी ओछ्‌याएर गोलो घेरामा बस्यौँ । अनि पालैसँग परिचय गर्‍यौँ, आआफ्नाबारे थोरबहुत बतायौँ । मेरो उपस्थितिले गर्दा होला बहिनीहरूले थोरै लाज माने तर अरुसामु बोल्नुपर्दा धक लाग्ने बानीलाई जित्दै लगेको पनि देखियो ।

शान्तिको बोल्ने पालोमा बहिनीहरू उत्सुकताले भरिएका देखिन्थे । उनको स्वभाविक खुलापन, सहज उपस्थिति, सन्तोकी आँखा र मधुर स्वरले सबैलाई मोहित गरेको थियो । सबैजनाबीच एक किसिमको सहृदयी भाव सिर्जना भएको थियो । आश्रयघर बस्न आउने सबै बहिनीहरूले जस्तै शान्तिले पनि केहीदिनसम्म परिवारको न्यास्रो मानिन् । उनलाई फेरि एकपटक परिवारबाट टाढा हुनुपरेको कुरा स्वीकार गर्न गाह्रो भयो । आमाको मायाबाट बिमुख हुनुपरेको महसुस भयो । आफूसँगै हुर्किएका र आफूलाई हुर्काएकाहरूसँग सँगै बस्न नपाउँदाको असुरक्षाभाव पनि खड्कियो ।

समय बित्दै गयो । सबैजना नयाँ परिवेश र जीवनसँग भिज्दै गए । आपसी सम्बन्ध बलियो र रसिलो हुँदै गयो । साथीहरूको साथमा रमाउन थाले । दैनिक काममा व्यस्त हुन आनन्द मान्न थाले । आखिर आश्रयघरको कार्यतालिकाबाट उभ्रिने खाली समय नै कति पो हुन्थ्यो र ? शनिबार उनीहरूका लागि उल्लासको दिन हुन्थ्यो । बिहान चाँडै उठ्थे र नित्य कर्म सकेर शान्तघर जान्थे । त्यहाँका बहिनीहरू पनि उनीहरूको बाटो हेरेर बसेका हुन्थे । अनि सबैजना मिलेर कुनै न कुनै कृषि कर्ममा संलग्न हुन्थे । सागसब्जी रोप्थे, झार उखेल्थे, खेतबारीमा मल हाल्थे, बारी खन्थे ।

हामी उनीहरूलाई सुरुदेखि नै व्यावहारिक तरिकाबाट जीवन बुझाउने प्रयास गर्थ्यौँ । हाम्रो उद्देश्य सिलाइकटाइ सिकाउनु मात्र थिएन, मानवबीचका सम्बन्धहरूमा जीवनरस भर्नका निमित्त आवश्यक पर्ने करुणा र सहयोगको भावना विकास गर्नु पनि थियो । शान्तघर जानु, त्यहाँको ठूलो परिवारसँग समय बिताउनु र प्राकृतिक परिवेशमा खुशी हुन सिक्नु त्यसैको एउटा कडी थियो ।

चौधपन्ध्र वर्षको हुँदादेखि मैले एउटा सपना पालिबसेको थिएँ । म चाहन्थेँ– जीवनमा अझ बढी स्नेही, निष्कपट, दयालु र न्यायिक संसार निर्माणमा योगदान पुर्‍याउन सकुँ । मलाई लाग्छ, मैले मेरो जीवनलाई आजसम्म पनि त्यही सपनालाई वास्तविकतामा रूपान्तरण गर्न लगाइआएको छु । त्यो आश्रयघर, शान्तघर र नेपालका मेरा अरु सबै प्रयत्न त्यसैका लागि हो ।

जीवनमा एकातिर मैले न्यूनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेर दयनीय स्थितिमा बाँचिरहेका मानिसहरू देखेँ । अर्कातिर सबैखाले भौतिक सुखसुविधाले सम्पन्न हुँदाहुँदै पनि भित्री दु:ख र अशान्तिले आक्रान्त मानिसहरू देखेँ । यो अन्तर्विरोध देखेर म अचम्भित मात्र भइँन, दुःखी पनि भएँ । त्यस्तै अन्तर्विरोधलाई कम गर्न मद्दत पुग्ला भन्ने ठानेर शान्तघरको जग हालिएको थियो ।

शान्तघर होचा पहाडहरूको काखमा, बाह्रैकाल हरियो रहने वर्षौँ पुरानो जंगलको मुन्तिर अवस्थित छ । शान्ति पहिलो पटक यहाँ आएकी थिइन् । पहिलो पटकमै विषेश अनुभूति गरिन् । यहाँको वातावरण, नानीहरू, सेविकाहरू सबैसँग जोडिएको महसुस गरिन् । उनको उपस्थितिले यहाँको हावामा शान्तिको सुवास फैलियो । सबैजसोका अनुहारमा आनन्दको लहर दौडियो ।

शान्तघरमा बस्ने सबै नानीहरूका लागि हामी हरेक दिन त्यस्तो परिवेश सिर्जना गर्ने प्रयास गरिरहेका हुन्थ्यौँ जहाँ प्रत्येकले आफू यो परिवारको सदस्य हुन पाएकोमा खुशी र गर्व महसुस गरोस् । एउटा त्यस्तो परिवार बनोस् जसमा एकअर्काप्रति माया र आदरले राज गरेको होस् । मलाई लाग्यो– शान्तिको उपस्थितिले हाम्रो त्यो प्रयासलाई माथि उठाइदियो । एकदिन आश्रयघरको फूलबारीमा पानी हालिरहेका बेला शान्तिले मलाई छेउमा बोलाएर भनिन्, ‘सर, मलाई पनि एकदिन शान्तघरमा जस्तै नानीहरूलाई सहयोग गर्न मन छ । उनीहरूसँग नजिक हुन र आफ्नो साथ समर्पण गर्न मन छ ।’

सेवा गर्ने, ‘म’ को संकुचनबाट फैलिएर ‘अरु’ सम्म पुग्ने, अनि ती अरुका जीवनमा छ्‌याप्छ्‌याप्ती रहेको दु:खलाई थोरै भए पनि कम गर्न भूमिका खेल्ने शान्तिको आकांक्षा म पहिलो पटक सुन्दैथिएँ । सुनेर म उत्साहित भएँ, पुलकित भएँ । भनेँ, ‘शान्ति, तिमीजस्तो व्यक्ति कुनै दिन हाम्रो सत्कर्ममा जोडिन आउनेछौ भन्ने कल्पना मात्र गर्न पाउनु पनि मेरा लागि अहोभाग्य हो ।’

किनभने उनी मेरा लागि गुरुसमान थिइन् । एउटा त्यस्तो व्यक्ति थिइन् जसबाट मैले मात्र होइन शान्तघरका सबैले धेरै कुरा सिक्न सक्थे । उनीमाथि मलाई कुनै शंका वा भ्रम थिएन । मलाई लाग्थ्यो– अलिकति परिपक्वता थपिनासाथ उनी आफूले देखेको सपनालाई यथार्थमा बदल्न सक्ने सामर्थ्यवान व्यक्ति बन्नेछिन् ।

शान्ति आश्रयघरमा बसेको चार महिना हुनै लागेको थियो । उनले त्यहाँ सबैलाई आफ्नो जादुयी माधुर्य र स्नेही आभाले मन्त्रमुग्ध पारेकी थिइन् । सियो, धागो र कैँची चलाउने सीपमा पनि उस्तै तीक्ष्णता देखाइन् । प्रायः सबैथोकमा उनी साथीहरूभन्दा उँचो दरिइन् । आखिर सारा ध्यान आफूले गरिरहेको कामकुरामा लगाउने उनको जन्मजात स्वभाव जो थियो । उनी यस्तो ठानेर बाँच्थिन् मानौँ उनको जीवनको हरेक क्षण  दिब्य छ, केही खास छ, अविस्थापनीय छ, अति मूल्यवान छ, अद्वितीय छ र सायद अन्तिम पनि । त्यस्तो बँचाइले उनलाई सिकाइको एउटा विशिष्ट क्षमता दिन्थ्यो ।

सिलाई सिक्न बसेका बेला उनी गुरुले बोलेको अथवा कालोपाटीमा रेखाचित्र कोरेको कुरा ध्यानस्थ भएर हेर्थिन् । कपडा काट्ने र सिलाउने विभिन्न तरिकालाई पूर्ण सजगताका साथ हेर्थिन् । उनका आँखा गुरुले खिचेका रेखाहरूलाई पछ्‌याउन सतत् सक्रिय हुन्थे । गुरुले कैँची कसरी समाउनुभएको छ, उहाँका हात कुन दिशातिर र कसरी चलायमान भइरहेका छन्, कति सास दबाएर र कति बल लगाएर कपडा काटिँदैछ त्यो सबैलाई किञ्चित ध्यान नभड्काइ हेर्थिन् । त्यो समग्र प्रक्रियालाई भिडियो क्यामराले झैँ खिचेर दिमागमा राख्थिन् । अनि कपडा काट्ने आफ्नो पालो आएपछि ठ्याक्कै अघि गुरुको जस्तै तरिका पछ्‌याउँथिन् । विचित्र त के भने त्यो स्तरको एकाग्रताका अवस्थामा पनि उनको मुस्कान, सरलता र प्रशान्तिको झरना अटुट बगिरहेकै हुन्थ्यो ।

एकदिन दिउँसो म स्पेनबाट साथीहरूले पठाइदिएका फोटा हेरिरहेको थिएँ । मैले शान्तिलाई बोलाएँ र समुद्री किनारमा खिचिएका केही फोटा देखाएँ । यसअघि उनले समुद्रबारे सुनेकी त थिइन् तर देखेकी रहिनछिन् । बम्बैमा हुँदा कोठीबाहिर निस्केर समुद्रको दर्शन पाउनु कल्पना बाहिरको कुरा थियो । त्यसदिन उनले फोटोमै भए पनि समुद्र देखिन् । हैरान हुँदै भनिन्, ‘आम्मामामा… कति ठूलो हुँदोरैछ ! यत्रो आँखैले नभ्याउने कुरा साँच्चै हुन्छ त ?

मैले एकपछि अर्को फोटो देखाइरहँदा उनका आँखा विशेष रूपले चम्किरहेका थिए । केही भिन्न र चाखलाग्दो देखिँदा उनको कौतुहलताले आकाश छुन्थ्यो । हुन पनि उनलाई आफू पुगेका नेपाल र भारतका सीमित ठाउँबाहेक बाँकी संसारबारे थाहा थिएन । टिभी, इन्टरनेट, पत्रपत्रिका, स्कूलको पढाइ केही नभएपछि उनलाई बाहिरी संसारबारे थाहा हुने कुनै भएन । फोटो हेर्ने र हेराउने क्रममा म एउटा अचम्म लाग्ने कुरा देखिरहेको थिएँ– शान्तिको ध्यान वर्तमानबाट भड्किएको थियो, आफूले थाहा नपाएको संसारको चित्र हेरेर कल्पनामा उडिरहेकी थिइन् ।

कल्पनामा उडेका क्षणहरूमा तपाईंले समय र स्थानको चेत गुमाउनुहुन्छ, एउटा गुप्त साक्षी बनेर उल्लासमय मनोयात्रामा हराउनुहुन्छ । तपाईं एउटा त्यस्तो अदृश्य किरा झैँ बन्नुहुन्छ जसले सबैथोक देखिरहेको छ, महसुस गरिरहेको छ, भोगिरहेको छ र द्रविभूत भइरहेको छ तर कल्पनामा मात्रै । शान्ति ती फोटो हेरिरहँदा यस्तै भएकी थिइन् ।

लाखौँ नेपालीहरू परिवार पाल्नका लागि विदेशिन्छन् । धेरैजसो इण्डिया र खाडी मुलुक जान्छन् । नेपालमा पढेलेखेका र दक्ष मान्छेका लागि राम्रो कमाइ हुने काम धेरै पाइँदैन । गाउँमा युवाहरू खेतीपाती र पशुपालन जस्तो मेहेनत पर्ने काम गर्न चाहँदैनन् । सजिलो पैसो कमिने तलबी कामको चाहना राख्छन् । दिनदिनै खानुपरेको ढिँडोपिठो भन्दा फरक अरु केही खान चाहन्छन् । एउटा घच्चीको मोबाइल बोक्न चाहन्छन् । भान्सामा फ्रिज ठड्याउन चाहन्छन् । फिल्म, म्युजिक भिडियो अथवा टेलिफिल्मका पात्रले लगाएजस्ता कपडा लगाउन चाहन्छन् ।

त्यसैले गाउँघरले केही वर्षदेखि निरन्तर युवाहरू गुमाइरहेको थियो । हामीलाई शान्तघरको खेतबारीमा काम गरिदिने, दाउरा काटिदिने, गाईवस्तु हेरचाह गरिदिने मान्छे पाउन पनि मुस्किल हुँदै गएको थियो । विदेश जाने रनाहामा काठमाडौँको चक्कर काट्न, दलालहरूलाई कमिसन तिर्न अथवा हवाइजहाजको टिकट काट्न कतिपय परिवारहरूले चर्को ब्याजमा साहुबाट ऋण लिन्थे । कतिले भएभरको जग्गाजमिन बेच्थे । उनीहरूलाई लाग्दो हो– विदेशमा पाइलो राख्नु भनेको नोटका बिटा थुपार्ने सपनाको ढोकाबाट भित्र छिर्नु हो ।

नेपालमा मजदुरले कमाउने भनेको बढी से बढी दिनको आठनौ सय हो । खाडीतिर जानेले चौधपन्ध्र सय कमाउँदा हुन् । त्यही चौधपन्ध्र सयका लागि गाउँका धेरै युवा विदेश हानिएको, पैसा कमाएको, बचत गरेको, पाँचसात वर्षपछि गाउँ फर्किएर सानोतिनो व्यापार गरेको र आफ्नो वर्गउकास गरेको कुरा शान्तिले देखेसुनेकी थिइन् । विदेशिएका बुवाका छोराछोरी बोर्डिङ जान थालेको, छोराछोरी पढाउने बहानामा आमाहरू शहर छिरेको र गाउँघरको कठोर श्रमबाट उम्किन पाएको पनि देखेसुनेकी थिइन् ।

विदेश गएका मान्छे उताको कामबारे गाउँमा हत्तपत्त कसैसँग मुख खोल्दैनथे । तर प्रायः त्यही काम गर्थे जुन स्वदेशमा हुँदा छुन पनि मान्दैनथे । नेपालमा त्यस्ता कामबाट एकदम थोरै कमाइ हुन्थ्यो । अथवा उनीहरूलाई ती काम आफ्नो ठाउँमा गर्न शरम लाग्थ्यो । त्यस्ता कामलाई यहाँ तल्लो जातका मान्छेको कामका रूपमा पनि लिइन्थ्यो । यी त भए विदेशिएका युवाका कुरा । विदेशिने युवतीहरूले भोगेका कथा अझ हृदयविदारक हुन्थे । धेरैजना चरम श्रम शोषणमा पर्थे, यौन दुर्व्यवहारको शिकार हुन्थे, मालिकमालिक्नीहरूबाट भक्कु यातना भोग्थे ।

यस्ता कथा शान्तिका कानमा पनि परेका थिए । त्यसैले विदेशबारे उनको बुझाइ खासै गतिलो थिएन । तर मेरो जन्मठाउँका फोटा हेरेपछि र त्यसबारे थोरबहुत सुनेपछि उनको मन थोरै फेरियो । अर्को खालको विदेश पनि हुँदो रहेछ भन्ने ठानिन् ।

फोटो हेरिसकेपछि मैले जिस्क्याएजस्तो गरेर उनलाई सोधेँ, ‘तिमीलाई कुनै दिन मेरो देश जान मन छ, शान्ति ?’

उनले मलाई नपत्याएर हेरिन्, मानौँ मैले उनका सम्भावना र वास्तविकताबाट धेरै टाढाको प्रस्ताव गरेँ । त्यसबेला मैले त्यसबारे थप केही भनिन, पुरा हुन नसक्ने अपेक्षा सिर्जना होला कि भन्ने डर थियो । जीवनका अरु केही क्षणहरूमा जस्तै यो क्षणमा पनि मेरो मनमा एउटा नयाँ सपनाको बीऊ रोपियो । एउटा त्यस्तो सपना जसलाई म जसरी पनि यथार्थ बनाउन चाहन्थेँ ।

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

 ५ एक अविस्मरणीय सिकाइ

६ भोलापनको दुनियाँ

७ लालसाका दास

८ आमोद प्रमोद

९ गाउँको माहोल

१०. घरफिर्ती

११ नमिठो वापसी

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *