नवीन घरफिर्ती

यसपाली मैले शान्तिलाई बेलैमा भनेको थिएँ… मलाई बिदा गर्न काठमाडौँ जानु पर्दैन, बहिनीहरूसँगै बस्नु। बाटो लाग्नु अघि मैले सधैँ झैँ शान्तघरका सबैलाई एकाबिहानै गूडबाई भनेँ। यस्ता गूडबाई थुप्रैपटक गरेको छु। तर नानीहरू आँगनमा उभिएर बिदाइको हात हल्लाउँदै ‘सर, राम्ररी जानु, घरतिर सबैलाई सोधेको छ भन्दिनु, यताको पीर नलिनु, शुभयात्रा’ भनेको दृश्यले मलाई हरेक पटक भावुक बनाउँछ। कतिपय नानीहरूले आँखाभरि आँशु पारेर ‘चाँडै फर्किनु है सर’ भनेको सुन्दा म हरेक पटक हुरूक्क हुन्छु।

सधैँ झैँ सबैले मलाई विदाको टिको लगाइदिन थाले। तर शान्ति मेरा अगाडि उभिँदा स्थिति सधैँभन्दा फरक भयो। मैले आँशु थाम्न सकिनँ, छातीभित्र भक्कानो फुट्न थालेको थाहा पाएँ। रूवाइको बाँध थाम्न नसकुँला जस्तो भयो। उनका आँखामा हेरेँ, ओठमा मुस्कान देखेँ। भित्रबाट अगाध माया उर्लिएर आयो, म रून थालेँ। तर त्यो खुसीको रूवाइ थियो। मलाई ‘सबै कुरा ठिकठाक थियो र ठिकठाक नै हुनेछ, चिन्ता गर्नुको तुक छैन’ भन्ने स्मरण गराउन शान्तिको स्नेही मुस्कानलाई एक सेकेण्ड पनि लागेन।

खासमा शान्तिका सामुन्ने रूने म थिइँन। त्यो मेरो अनुराग थियो, आजसम्मका कामले जम्मा भएका बोझ थियो, पुरा नगरिएका अभावबीच हुर्किएको केटो थियो, अँगालोमा बेरिनुपर्ने आवश्यकताले ग्रस्त मनुवा थियो। तर शान्तिको त्यो स्नेही मुस्कानले मलाई भन्यो, ‘आफूलाई त्यस्तो अंगालोले बेर्न आफूले मात्रै सकिन्छ, त्यसले मनको घाउ निको पार्छ। प्रत्येक क्षण, भावना र विचारप्रति सजग रहेर पूर्ण अस्तित्वका साथ जीउने अनुमति दिन्छ। अनि शान्तिपूर्वक, स्वतन्त्रताका साथ बाँच्ने बाटो खोलिदिन्छ।’

बिदा मागेर भारी मन बोकेर म शान्तघरबाट निस्किएँ। सडकतिर लम्किँदै गर्दा बाटामा केही छिमेकी दूध बेच्न डेरी जाँदै थिए, कोही भने मेला लाग्न हतारिँदै घरबाट निस्कँदै थिए। हिँड्दै जाँदा मैले ‘सबै ठिकठाक छ’ भन्ने कुरो फेरि बिर्सिएँ। मेरो मन यी खेतबारीमा, यो देदिप्यमान हरियोमा, यी गाइवस्तुमा, बाख्रामा, माटोका घर फेरि देख्न पाउँला कि नपाउँला भन्ने मनचिन्ते सोचमा उड्न थाल्यो!

संयोग भनौँ, धुम्मिएको आकाशबाट छिट्याउन थालेको पानीले मलाई वर्तमानमा फर्कायो। मैले शरीर भिज्न थालेको, माटोबाट वास्ना आउन थालेको, चराहरू कराएको थाहा पाउन थालेँ। हरेक पाइलामा शरीर अनुभूत गर्न थालेँ। अनि यति सानो दिमागले केसम्म गराउन सक्दोरहेछ भन्ने सम्झेर एक्लै हाँसे। घरि घिसारेर रसातलमा पुर्‍याउँछ, घरि पत्तै नपाई बुरूक्क उफारेर धर्तीमा टेकाउँछ!

म काठमाडौँ जाने सुमो चढेँ, झ्यालको सिटमा बसेँ। दाहिनेतिर तीनजना, पछाडि चारजना र अगाडि दुईजना यात्री थिए। सबैजना सडकमा उडेको धुलोले निसासिँदै टिनको बट्टामा कोचिएका सिक्का झैँ यात्रा गरिरहेका थियौँ। यसपालिको यात्रा मेरो नेपाल बसाइका सुरूवाती यात्राभन्दा सजिलो लागिरहेको थियो। नेपालमा बिताएको समयले मलाई धैर्य र प्रतीक्षा गर्न सिकाएका थिए। धैर्य र प्रतिक्षाको घडीलाई स्वःअवलोकन गर्ने, आफू र वरिपरिको जीवन महसुस गर्ने अवसरका रूपमा सदुपयोग गर्न पनि सिकाएका थिए।

हेटौँडा बजारबाट अघि बढेपछि सडक निकै परसम्म खोलाको किनारैकिनार तेर्सो कुद्छ। मैले आफूलाई त्यो खोलामा बगिरहेको पानीमा, ठूल्ठूला ढुङ्गालाई छलेर अथवा घोडा चढेर बग्न सक्ने त्यसको सामर्थ्यमा हराएँ। पानीको त्यो विशाल ऊर्जाको उग्र रूपमा देखिएको दृष्यमा, जीवन शुद्धतम् स्वरूपमा देखिएको दृश्यमा डुबेँ। एउटा रूखको ठुटो घिसारिँदै पानीमा बगिरहेको देखेँ। त्यो ठुटो घरि पानीको तेज प्रवाहको विलिन हुन्थ्यो र घरि छेउछाउका सबै कुरासँग सामञ्जस्य राख्दै बेरोकटोक अघि बढ्थ्यो।

त्यो ठुटो केही सेकेण्डमा मेरा दृष्टिबाट गायब भयो। म भने त्यसैको स्मृतिमा अल्झिबसेको थिएँ। कल्पना गरेँ… त्यो ठुटो मैँ हुँ। मैले जीवनमा त्यस्ता सौम्य क्षण पनि बाँचेको छु जहाँ हरेक कुरासँग सामञ्जस्य महसुस भएको छ र मेरो दिमाग चिन्ता वा महत्वाकाँक्षाको मैलोबाट मुक्त छ। तर जीवनमा मैले आफूलाई धेरैजसो डुबुल्की वा उछलकुदहरूमा पाएको छु, आफूले बाँचेका विभिन्न अनुभवका सामुन्ने टाउको जोगाएर राख्नुपर्ने स्थितिहरूमा पाएको छु।

यूवाकालमा म स्वच्छन्द मिजासले भरिएको थिएँ, जस्तोसुकै चुनौती सामना गर्न हरदम तयार ऊर्जाले भरिएको। सम्भवत: त्यसबेला मेरा अनुभव र प्रयोगहरू सम्हाल्न सकिने थिए होलान्। मेरो साँचो वास्तविकता त विगत तीनचार वर्षमा बढी प्रतीत भएका थिए, प्रष्ट भएका थिए। ती वास्तविकताले मलाई भाग्ने अनुमति नदिएर स्पष्ट भनिरहेका थिए… यदि म जीवनको सरितामा बगिरहन चाहन्छु भने, त्यो रूखको ठुटो जस्तो पानीमाथि तैरिरहन चाहन्छु भने मैले वास्तविकताप्रति ध्यान दिनैपर्छ। जलभूमरीहरूसँग नडराई तैरिनु पर्छ, हरेक खालका कठिनाइ स्वीकार गर्दै अघि बढ्नुपर्छ। तैरिनुप्रति अनुराग र आशक्ति नराखी, सहारामा अडिएर चैनको सास फेर्ने चाह नराखी, अरूभन्दा अलग देखिने लालच नराखी, अथवा यो वा त्यो बन्ने सोच नराखी बाँच्नु पर्छ। म बस् बग्नु पर्छ, सतत् हुनु पर्छ।

हिडेको एक घण्टा हुनै लाग्दासम्म पनि मेरा आँखा पानीको बहावमै अडिएका थिए। दिमाग भने उडिरहेको थियो। निमेषभर झैँ लागेको भरखरैको एक घण्टाभित्र दिमागमा आएगएका कुरा सम्झेर म एक्लै हाँसेँ। इमान्दारीपूर्वक भन्नुपर्दा जीवनसँग जोडिएका, हुनुका, मैले गर्न सक्ने भनेको आफू ‘हुन’ मात्र हो र बाँकी सबै जीवनलाई जटिल बनाउने नौटङ्की हो भनी स्वीकार गरेका क्षणहरूको अनुभव मसँग एकदम कम छ। आनन्द खोज्नु, पीडाबाट भाग्नु, आधारभूत आवश्यकता पुरा गर्न भन्दा महत्वाकाँक्षालाई बढी प्रश्रय दिनु, सहि हुन चाहनु, तुलना गर्नु, तौलिनु… मेरा धेरै अनुभव यस्तै छन्।

‘सोच्नु’ मेरा लागि उपयोगी वा अर्थपूर्ण भन्दा बढी व्यर्थको यातना भएको छ। चिन्ता गर्नुले, सोचीबस्नुले केही पनि पार लगाउन मद्दत पुगेको छैन। बरू समस्या र सन्ताप बढाएको छ। मलाई थाहा छ, सोचिबस्न छोडिदिएँ र केवल आफूलाई महसुस गर्न, शरीरमा भइरहेका संवेदनालाई साक्षीभावले अनुभवालोकन गर्न कटिवद्ध भएँ भने मभित्र एउटा आरोग्यदायी र प्रज्ञावान् शान्ति टुसाउनेछ।

सबभन्दा उदेक त के भने यो कुरो मैले वर्षौँअघि थाहा पाएको, बुझेको। तैपनि यो ‘सोचिबस्ने’ रोगी चक्रवातमा अझै फँसिबस्छु र त्यसले मलाई लतार्दै लगेर रसातलको निक्कै नजिक पुर्‍याइबस्छ। कहिलेकाहीँ त लाग्छ कहीँबाट फाल हानेर जीवन टुङ्ग्याइदिउँ!

सुमो चढेको दुई घण्टा भयो। म कपडा धोइरहेका महिला, जुठोपुरो चरिरहेका कुखुरा, सबै कुरासँग बेखबर खेलिरहेका केटाकेटी, सागसब्जी बेच्न सडकछेउ बसेका किसान, तिनका अनुहार, हाउभाउ, आवाज लगायत बाटामा देखिएका जीवनका झाँकीहरूसँग, यथारूपहरूसँग केही क्षण साक्षात्कार गर्नुबाहेक अझै मनचिन्ते चक्रवातमै हराइरहेको छु।

यात्रा जारी छ। म मन र वरिपरिको जीवनबीच यताउता नाचिरहेको छु। जसै मेरो दिमागमा शान्ति टुपुल्किइन्, नाच रोकियो। जादुयी औषधि पिएजस्तो भयो। मनमा कुरा खेल्न छोडे। सम्पूर्ण प्रयत्न अनुभूत गर्नमा केन्द्रित हुन थाल्यो। ताजा हावाले अनुहारमा गरेको स्पर्श, अनेक आवाजहरू, आफ्नो शरीर, छुट्दै गएका पैदलयात्री, मन र शरीरमा जम्मा भइबसेको थकान, श्वासप्रश्वास, हलचल र प्रतिक्रियाहरू अनुभूत गर्न थालेँ। यस्तो शान्तिपूर्वक बाँचेको स्थिति सम्भवत: तीन मिनेट रह्यो होला। त्यसबेला सबै कुरा ठिक थियो, आफूभित्रको गहिराइमा स्थित त्यो स्थिर र शान्त तलाउका सामु चिन्ता वा दु:खले अर्थ र औचित्य गुमाएको थियो।

भोलिपल्ट। काठमाडौँबाट स्पेन जाने जहाज चढ्नु अघि मैले प्रतीज्ञा गरेँ… हवाईयात्राभर म सिटअगाडिको टिभी खोल्ने छैन। जीवनमा मैले टेलिभिजन, संगीत, गितार अथवा किताबमा अल्मलिएर थुप्रै मुर्दा…घण्टाहरू बिताएको थिएँ। यो होइन कि त्यसमा मैले डरलाग्दो हानी देखेँ। तर प्राय: हुँदो के रहेछ भने एक्लो वा अन्योलग्रस्त महसुस गर्नबाट बच्न म त्यस्ता क्रियाकलापको सहारा लिँदोरहेछु। मानौँ केही नगरी थपक्क बस्नु, केही क्षणका लागि ‘आफूसँग हुनु’ बेवास्ता गरिदिनु पर्ने कुरा हो। थाहा छैन, म किन यस्तो गर्छु। म को हुँ? के हुँ? भनी हेर्नुका डरले हो कि, अज्ञातसँगको डरले हो कि, दिमाग र दिवास्वप्न भन्दा परको कुरासँगको डरले पो हो कि!

यसबारे मैले शान्तिसँग कहिल्यै कुरा गर्न सकिन। भौतिक सम्पन्नताका आधारमा खुसी हुन, समाजले उचित ठहर्‍याएअनुरूप व्यवहार गर्न सिकिआएको मजस्तो पश्चिमाको दिमागमा आउनेजाने कुरा बुझ्न उनलाई सम्भव थिएन। हामी पश्चिमाहरू स्वतन्त्रताको कुरा गर्छौँ, तर सानैदेखि समाजका पूर्वाग्रह र अपेक्षाको अधिनमा बस्छौँ। सबभन्दा नजिककाहरूले राख्ने अपेक्षाको अधिनमा, बच्चाहरूलाई उत्पादन र उपभोगको मेसिन बनाउने शैक्षिक प्रणालीका अधीनमा, थरिथरिका विश्लेषक, अन्तर्वार्ताकार, विचार र निष्कर्षहरूको अधीनमा हुन्छौँ। हाम्रा अधिकांश बातचित फुटबल, राजनीति, ठूला भनाउँदा व्यक्तिहरू वा  सौन्दर्यसाधनका वरिपरि घुम्छन्।

म भने सानैदेखी यी सबैबीच आफूलाई अन्योलग्रस्त पाउँथेँ। ती अधीनका परिधिमा अटाउँदिनथेँ। मभित्रको एउटा अंशले अझ बढी केही खोजिरहेको छ झैँ लाग्थ्यो। त्यस्तो केही जसले मलाई आनन्द दिन्छ, खुसी दिन्छ, शान्ति दिन्छ। सायद मेरो समग्र जीवन नै आफूले बाँच्नु परेको वास्तविकताको अर्थ लगाउने खोज हो, बालखैदेखि चाहेको त्यो आनन्दको, खुशीको, शान्तिको तलास हो।

शान्ति यी कुरा बुझ्नेवाला थिइनन्। उनको संसार अभावहरूले घेरिएको थियो, तर निक्कै सरल पनि थियो। मेरोजस्तो जटिल थिएन। हुन त संसारका सबै मानिसको मूलभूत प्रकृति उस्तै हुन्छ। तथापि, कुनै व्यक्तिसँग यो वा त्यो विषयबारे चिन्तन गरिबस्ने फुर्सद छ कि छैन भन्ने कुरा, परिवारको पेट पाल्न कलिलै उमेरदेखि हड्डी घोट्नुपर्ने बाध्यता छ कि छैन भन्ने कुरा, आफ्नो खुसीबारे सोच्ने फुर्सद छ कि छैन भन्ने कुरा जीवनका परिस्थितिहरूले निर्धारण गर्ने रहेछन्।

यस्ता कुरामा गम खाएर बस्ने विलासी सुविधा हुँदाहुँदै मैले मेरो जीवन विल्कुल भिन्न भूगोल र संस्कृतिका मान्छेसँग बाँड्नुले र सबभन्दा गज्जब कुरा त जन्मजात भोलापन र स्नेहले भरिएकी एउटी केटीसँग भेट हुनुले मलाई आफूसँग नजिक पुर्‍याएका छन्। आफूलाई चिन्न, स्व:खोज गर्न सघाएका छन्। शान्ति प्राप्तिको एकमात्र उपाय यी र यस्ता कुराबारे सचेत हुनु हो भन्ने बुझाएका छन्।

जहाजमा स्पेनतिर उड्दै गर्दा कुनै बेला (खासमा धेरैजसो) दिमाग यताउता भड्कियो भने अथवा सिट अगाडिको स्क्रिन खोलेर केही हेर्ने इच्छाले हमला गर्‍यो भने मसँग स्वःअवलोकन गर्नु बाहेक दोस्रो विकल्प थिएन। मैले त्यसो गर्न छोडिन। साथीहरू मलाई भन्थे पनि, ‘तिमी आफूप्रति अत्यन्त कठोर छौ।’ सायद सहि भन्थे। यो मेरो स्वभावको अंश थियो। र म चाहन्थेँ… आफूले खोजेको उत्तर नपाउञ्जेल अथवा स्व:ले आरोग्य प्राप्त नगरूञ्जेल त्यो स्वभावको सिङमा समाएर अँठ्याइराखुँ।

यसपालि जीवनमा पहिलोपटक जहाजको भर्‍याङ्गसम्म पुग्न बसमा जाँदै गर्दा म आफूलाई महसुस भइरहेका संवेगप्रति पूर्णत: सजग र सचेत थिएँ। शरीरको वजन, मांशपेसीको थकान, बसको डण्डी समाउँदा हातमा परिरहेको दबाब, अरू यात्रीका भावाभिव्यक्ति, अनायास कसैसँग जुध्न पुगेका आँखा, कुन व्यक्तिलाई हेर्छु भन्ने आधारमा दिमागमा उत्पन्न हुने अलगअलग विचार इत्यादिमा मेरो ध्यान पुगिरहेको थियो। बसबाट ओर्लेर म हरेक क्षणप्रति, भर्‍याङ्का हरेक खुड्किलाप्रति, शरीरमा उत्पन्न संवेदनाप्रति ध्यान राख्दै जहाज चढेँ। आफूप्रति ध्यानरत रहनुको शुद्ध सत्यले मेरो गतिलाई धीमा र सहज बनायो, बिना हडबढी हरेक क्षणप्रति सजग बनायो। अनि आफूले गरिरहेका कामकुराप्रति जति बढी ध्यान र सजगता बढ्दै गयो त्यति नै बढी धीर, शान्त र खुसी महसुस हुँदै गयो।

म जहाजभित्र आफ्नो सिटमा पुग्दा एउटी महिला बसिसकेकी रहिछन्। मेरो सिट झ्यालतिर थियो, उनी छेउको सिटमा थिइन्। आफ्नो सिटतिर जान मैले उनीसँग अनुरोध गर्नुपर्‍यो। तर त्यो काम मैले मलाई बालककालदेखि पछ्याइआएको आकुलता र अफ्ठ्यारो सहित गरिँन। म सहजतापूर्वक सिटछेउ पुगेँ। आफ्नो श्वासप्रश्वासमा गत्याबरोध नगरी, उनले झिँझो मान्ने हुन् कि भन्ने चिन्ता नलिइ सकेसम्म स्वाभाविक तरिकाले उनलाई बोलाएँ र भद्र स्वरमा ‘माफ गर्नुहोला’ भन्दै अघि बढेँ। थोरै ढल्किएर झ्यालतिरको सिटको माथिल्लो भागमा हात टेकाएँ र सम्पूर्ण ध्यान त्यसक्षणको अनुभूतिमा केन्द्रित गरेँ। विस्तारै, हरेक कदमप्रति सजग रहँदै, हतार नगरी म आफ्नो सिटमा पुगेँ र कुनै डर, त्रास, संकोच नमानी सहजतापूर्वक ढुक्कसँग बसेँ।

मलाई अपार खुसी महसुस भयो। जहाजमा आफ्नो सिटमा गएर बस्नु जस्तो सामान्य कुराले पनि मलाई जीवनमा आफूले खोजिरहेको धीरताको नजिक पुर्‍याउँदो रहेछ। हेर्नलाई ऐना नभए पनि मैले मेरा आँखामा नाचिरहेको प्रशन्नता थाहा पाएँ। त्यो प्रशन्नता मभित्रको त्यस्तो ठाउँबाट उब्जिआएको थियो जसलाई म नाम दिन सक्दिन। म हृदयभित्रबाट मुस्कुराइरहेको थिएँ, एकदम तृप्त थिएँ। म जहाजका सबैजनासँग त्यो प्रशन्नता बाँड्न चाहन्थेँ।

मैले एकपटक फेरि खास तरिकाले शान्तिलाई सम्झिएँ र उनको गुप्त राज पत्ता लगाएँ। त्यो राज सायद उनी आफैँलाई थाहा थिएन। किनभने त्यो उनलाई जन्मजात प्राप्त उपहार थियो। तर मलाई भने उनको जस्तो सच्चा खुसीको एक क्षण अथवा केही क्षणहरू अनुभव गर्न जीवनभर लागेको थियो। र अघि बढ्दै जाँदा फेरि आफैँलाई नबिर्सिनका लागि, आफूप्रति सचेत ध्यान राखिरहने मार्गमा अडिरहनका लागि मैले अझ घनिभूत प्रयत्न जारी राख्न जरूरी थियो।

संयोग थियो वा अरू केही, एउटी एयरहोस्टेसले फलफूलका सुक्खा चाना बाँड्न हिँड्दै गर्दा मसँग एक झमट आँखा जुधाइन्। त्यो कुनै पेशेवरको कुटनीतिक मुस्कान सहितको संक्षिप्त आँखा जुधाइ थिएन। उनले करिब दश सेकेण्ड जति मलाई हेरिरहिन्। त्यो केही राम्रो देखेर अथवा महसुस भएर स्वतस्फूर्त जन्मिएको मिलिभगतको हेराइ थियो। त्यो कुनै पनि हिसाबले प्रेमिल नखरा थिएन। थियो त केवल परम् आनन्दानुभूतिको एक आयाम जहाँ शरीर हुँदैन, पदार्थ हुँदैन, केही हुँदैन। हुन्छ त सच्चा खुसीको मुस्कान मात्र।

‘हामी उड्न लाग्यौँ’, पाइलटको यो उद्घोषसँगै नयाँ उडान र त्यससँग जोडिएर आउने कुरा सम्झिएर मलाई असजिलो र शंकालु महसुस भयो। तर म त्यसको शिकार बनिन, बरू शरीरमा बढ्दै गएको तनावप्रति, बढिरहेको मुटुको धड्कनप्रति सचेत ख्याल राख्न थालेँ। मानसपटलमा मैले सबभन्दा बढी प्रेम गरेका अनुहार नाच्न थाले। र मभित्र उनीहरूलाई फेरि भेट्ने चाहना मौलाउन थाल्यो।

त्यसबेला मेरो सजग एकाग्रताले मलाई दु:खद र घातक विचारबाट टाढा राख्यो। वर्षहरू वित्दै जाँदा मभित्र जहाजमा उड्ने कुराप्रति भय हुर्किआएको सत्य हो। तर त्यो भयको अनुभूति र सामना गर्नुले, यो सब मनको खेला हो भनी थाहा पाउनुले मलाई थप सहज र आनन्द महसुस गरायो। आफूभित्रै लुकेको मृत्युको भयप्रति सचेत हुन दिनु पनि मेरा लागि एउटा उपहारै थियो। त्यसले मलाई सारा ऐन्द्रिक सजगता शरीरमा र श्वासमा केन्द्रित गरेर बाँच्ने बाटो देखाइदियो।

वर्तमान क्षणसमक्ष आत्मसमर्पण गरेपछि, शरीरका हरेक तन्तुमा महसुस भइरहेको भयातंकप्रति पूर्ण सचेत र सजग भएपछि मभित्रको भय आश्चार्यजनक रूपले बेपत्ता भयो। खासमा भयभीत हुनुपर्ने केही थिएन। किनभने स्व:को, हुनुको गहिराईमा पुगेपछि हामीबाट आकारप्रकार, शरीर, दिमाग जस्ता धारणा लुप्त भइजान्छन् र एउटा अवर्णनीय केही बाँकी रहन्छ। त्यसलाई ईश्वर, प्रेम, आत्मन् अथवा अरू जे भने पनि भयो। कुन शब्द प्रयोग गरिन्छ त्यसले खास फरक पर्दैन। किनभने वास्तविक कुरा शब्द होइन। वास्तविक त केही पनि नहुनुको असीम शान्ति महसुस गर्नु हो। हरेक कुरासँग, अनन्तसँग, असीमित गहिराइसँग एकाकार महसुस गर्नु हो।

जहाज मेरो गाउँको आकाशमा छिरेर अवतरणको तयारीमा लाग्यो। म झ्यालबाट तल हेरिरहेको छु। समुद्रमा डुङ्गा तैरिएका देखिए, ससाना खेलौना जस्ता। जन्मथलो नजिकिँदै जाँदा मभित्र एकप्रकारको छटपटी मडारिन थाल्यो। त्यो छटपटी प्यारा मान्छेसँग भेट हुनुको प्रशन्नता र आफूलाई खुशी राख्न सधैँ कठिन हुने ठाउँमा फर्किआउनुको अन्योलको मिश्रण थियो। मेरा लागि यो घरफिर्ती आफैँभित्रका भूतप्रेतलाई परास्त गर्नुपर्ने, नङ्ग्याउनु पर्ने र अंगालो हाल्नुपर्ने नयाँ चुनौती थियो। सम्पूर्ण अस्तित्वकासाथ तिनलाई अँगाल्नु, तनाव र चिडचिडाहटबाट मुक्त नहुञ्जेल तीमाथीको दृष्टि नहटाउनुको चुनौती थियो। मेरा धेरै वर्ष आफ्नै चिहान खन्दैछु झैँ महसुस गर्दै बितेका छन्। चिहान जति गहिरिँदै जान्थ्यो त्यति नै बढी धर्ती जिउँदै पुर्ने धम्की दिँदै ममाथि खसे झैँ लाग्थ्यो।

उमेरसँगै मभित्र असीमित पीडा जमेको छ, जीवनका भ्वाङ्ग टाल्न अनेक प्रयत्न गरेको छु, अरू धेरैथोक गरेको छु। तर अहिले म हरेक कुराप्रति सचेत र सजग छु भन्ने एकल सत्यले मलाई डिप्रेसनमा नजाकिन र भविष्यप्रति आशावादी हुन सहयोग पुर्‍याउनेछ। हरेक कुरा म र मेरो बाँच्ने इच्छामा, सोच र भावनाप्रति सजग ध्यान कायम राख्ने कुरामा भर पर्नेछ। मैले दु:खप्रति, अस्वीकृतिप्रति र एक्लोपनका अनुभूतिप्रति सजग रहनु पर्नेछ, तिनलाई अंगालिराख्नु पर्नेछ र तिनलाई मभित्रै गायब नहुञ्जेल उम्किन दिनु हुनेछैन। यसैमा छ चुनौती। सधैँ झैँ शारीरिक र मानसिक स्वास्थ्य दाउमा राखेर क्रोध र हतासाकासाथ भगौडा प्रतिक्रिया नगर्ने कुरा मेरो आफ्नै क्षमतामा निर्भर छ। आफूले जनाइआएका प्रतिक्रियाप्रति, मलाई भ्यागुत्तो जस्तो बुरूक्क उफार्ने घटनाप्रति र आफूमाथि नियन्त्रण गुमाउँदा थाहै नपाई शुरू हुने मभित्रको यन्त्रवत् प्रकृयाप्रति धेरै नै सजग ध्यान लगाउनु छ। मलाई यो बाहेक अर्को सुत्र थाहा छैन।

आफूलाई अझै विभिन्न बहानामा झुलाइरहनुको, जीवनलाई र वरिपरिका अरूलाई दोष लगाइरहनुको अर्थ छैन। मसँग बाँकी एकमात्र उपाय भनेको आफ्नै साथमा रहनु, आफू आइरहेको हेर्नु, र त्यहाँ, त्यस सटिक क्षणमा त्यो प्रेतलाई च्याप्पै पक्डिन्, अंकमाल गर्नु, महसुस गर्नु र त्यो गायव नहुञ्जेल त्यसैमा विलिन हुनु हो। मैले त्यस प्रेतलाई अवलोकन गर्न, स्वीकार गर्न र असीम शान्तिमा त्यससँग एकाकार नहुञ्जेल त्यसैलाई प्रेम गर्नसमेत डराउनु हुँदैन।

जहाज अवतरण हुनै लाग्यो। ती समुद्री तट, दक्षिणतिरको मोटरबाटो र समुद्रका बीचबीचमा उठेका थुम्काथुम्की यसअघि पनि थुप्रैपटक मेरा आँखामा परेका हुन्। तर यसपालि मैले तिनलाई नयाँ र ताजा दृष्टिले नियालेँ। यसपालि मेरो दृष्टि बेहोस थिएन, टोलाएको थिएन। सजग, जीवन्त र उत्साहित थियो। मैले मभित्रका मनचिन्ते प्रेतहरूलाई अंकमाल गर्न थालेँ, उनीहरूसँग र उनीहरूप्रति हाँस्नसमेत थालेँ। त्यस समयविन्दुसम्म यस्तै गरिरहेँ जुन विन्दुमा मलाई ‘खुसी हुने’ कुरा कति सजिलो छ, तर सजिलो छ भन्ने बोध गर्न कति गाह्रो छ भनेर महसुस हुन थाल्यो।

जहाज उत्रियो। म सधैँ झैँ ढोका खोल्लान् र झरौँलाको छटपटीमा जाकिनुको साटो आफ्नै सिटमा आनन्द बसिरहेँ। अरू यात्री सिटबाट उठ्न र सरसामान मिलाउन हतारिएको, हडबडाएको हेरिबसेँ। कुनै पूर्वाग्रह नराखी उनीहरूका संवादमा ध्यान दिइरहेँ। तिनका भावाभिव्यक्ति नियाले। ती संवाद र भावाभिव्यक्तिबाट प्रेषित गर्न खोजेका कुरा थाहा गरेँ। जहाजबाहिर केही कामदार यात्रीका सामान उतारिरहेका थिए, कोही जहाजमा तेल भर्ने तयारी गर्दै थिए। उनीहरू मभन्दा निक्कै पर थिए। त्यसैले मैले तिनका बातचित सुन्न अथवा अनुहारका भाव पढ्न सकिन। यद्यपि उनीहरू नजिक भएको महसुस गरेँ। उनीहरू चलायमान थिए, उत्साहित देखिन्थे, यो संसारका अङ्ग थिए, जीवनका अंश थिए, भरखरै टुङ्गिएको जहाजयात्राका अंश थिए र थिए मेरो जीवनयात्राका अंश पनि।

यसपालि जीवनमा पहिलोपटक मैले दुईचारजना बाहेक बाँकी यात्रीलाई पहिला उत्रिन दिएँ। जहाजभित्र ढुक्कसँग बसिरहेका दुई चारजनाले सायद मैलेभन्दा पहिल्यै बोध गरिसकेका थिए… कुनै हतार नगरी, साधारण क्षणहरू अनुभव गर्दै कामकुरा धीमा गरेकै राम्रो। जीवनको सुगन्धमा ध्यान दिँदै, सुन्दरताप्रति सचेत र सजग रहँदै, यो जहाजबाट उत्रिनु नै मैले संसारमा गर्ने अन्तिम काम हो भनेजसरी गरेकै राम्रो। यसो गर्दा फरक तरिकाले बाँच्न सकिन्छ, जीवित भएकोप्रति बढी कृतज्ञ भइन्छ।

उत्रिन बाँकी हामी केही यात्री जहाजबाट झर्दैगर्दा एकअर्कालाई मुस्कानको उपहार चढायौँ। त्यो मुस्कान हिजो जहाजमा मलाई मुस्कुराएर हेर्ने एयरहोस्टेसको जस्तै थियो… करूणा, अनुराग र कोमलताले भरिएको। त्यसदिन जहाजले बोकिल्याइदिएका झोलीतुम्बी लिन पर्खिरहँदा मैले आफूसँग एउटा अन्तिम प्रतीज्ञा गरेँ। आफैँलाई भनेँ… यसपटक परिवारका सदस्यसँग पुनर्मिलन हुँदाको क्षण म पूर्ण सजग र ध्यानस्थ रहनेछु, उनीहरूलाई महसुस गर्नेछु, आफूलाई महसुस गर्नेछु।

म झोलितुम्बी बोकेर निस्किएँ। भान्जा र बहिनीहरूले मलाई परैबाट मुस्कानले न्यानो स्वागत गरे। अंकमाल गर्न हतारिँदै मतिर आए। यस्ता क्षणमा म प्रायः अन्योलमा पर्ने गर्थेँ। खुशी लाग्थ्यो, र असहज पनि। तर यसपाली मैले मभित्रको त्यो प्रेतलाई अँगालो हाल्न बिर्सिँन। एउटा विराट शान्तपन र सहजताका साथ भाञ्जा र बहिनीहरूलाई तिनका अनुहार, शरीर र रूपरंग महसुस गर्दै अंकमाल गरेँ। हामीले लामो समयपछि भेट हुँदा आदानप्रदान गरिने स्वभाविक कुराकानी गर्‍यौँ। तर त्यो यसअघि झैँ यान्त्रिक कुराकानी थिएन। म उनीहरूका हरेक शब्द र भावभङ्गिमाप्रति सजग थिएँ। आफ्ना शब्द, आवाज र भावनाप्रति पनि सजग थिएँ।

आमा पर्तिर गाडीमा बसिरहनुभएको थियो। मैले सधैँ सबभन्दा बढी चाहने कुरा नै वहाँसँगको भेट र अंकमाल हो। आमासँगको सम्बन्ध विशेष हुने नै भयो। छोराछोरी र नातिनातिनाका लागि वहाँको स्नेह र त्याग मैले आजसम्म देखेकामध्ये सबभन्दा महान् कुरा थिए। कहिलेकाहीँ सबभन्दा पीडादायी पनि। जीवनमा मैले वहाँलाई अझै धेरै अंकमाल किन नगरेको? वहाँलाई हेरेर अझै धेरै किन नमुस्कुराएको? अथवा वहाँलाई चाहिएका बेला अझै धेरै साथ किन नदिएको? यो सम्झिल्याउँदा म हुरूक्क हुन्छु। वहाँ प्रताडित भएको देख्दा असह्य हुन्छ। तर त्यस्ता प्रताडित क्षणहरूमा वहाँका आवश्यकता के हुन् भनेर बुझ्न म अझै असफल छु।

पचास वसन्तको अनुभवले भन्छु… खुसीसम्म पुग्ने बाटो सजिलो छैन। हामी सिक्न सकिने चरण र घटनाहरूबाट गुज्रिन त गुज्रिन्छौँ, तर जीवनले कहाँ त्यति सजिलो बनाइदिन्छ र? धेरैजसो भयंकर पीडाले मात्र आनन्दलोकको ढोका उघारिदिन सक्छ, तर ग्यारेण्टी छैन। आमा खुसी र आनन्दित हुनुहुन्छ कि हुनुहुन्न? हामीभित्रका आँधीतुफानलाई सहजै शान्त पारिदिने वहाँको त्यो प्रशान्ति र धीरता वहाँकै लागि चाहिँ उपलब्ध छ कि छैन? मलाई थाहा छैन। वहाँलाई बेखुश देख्दा मलाई पीडा त हुन्छ, तर किन हुन्छ थाहा छैन। वहाँको स्थिति देखेर? मसँग खुशी हुन सक्ने क्षमता नभएर? आफू आनन्दित हुनुको सानो अंशले वहाँको हृदय भरिदिन नसेकर?

बाटो काटेर भान्जा र बहिनीहरूसँगै म पनि आउँदै गरेको देखेपछि आमा झट्पट् कारबाट ओर्लिनुभयो। वहाँका पाइला नजानिँदो गरी हामीतिर सरिरहेका थिए। हाम्रा पाइला छिटोछिटो चलिरहेका थिए। म केही सेकेण्डमै आमा भएठाउँ पुगेँ। आमाछोरा सारा कुरा बिर्सेर अँगालोमा बाँधियौँ। साँचो भन्नुपर्दा, आमाले मलाई अँगालोमा बेर्नुभयो। एउटा त्यस्तो अँगालो जुन आमाले मात्र दिन सक्छिन्।

केहीक्षण मैले भावनामाथि नियन्त्रण गुमाएँ र सधैँ झैँ यान्त्रिक पारामा डुबेँ। यथाउपस्थित रहिनँ, अत्याधिक तीव्र भावनाहरूले लठ्ठिएँ। तर यस्तो धेरैबेर भएन, छिट्टै होसमा फर्कएँ। आमाका हातले मेरो मेरूदण्ड मुसारेको थाहा पाएँ, छातीमा टासिँदा वहाँको श्वासप्रश्वास र मुटुको धड्कन चाल पाएँ। अनि मैले यी सबैको आनन्दमा आफूलाई समर्पण गरेँ, कुनै सोचको भूमरीमा नपरी आमालाई अँगालो हालिरहेँ। यसपटक वहाँले मलाई प्रशन्न र शान्त देख्नुभयो भन्ने लाग्यो। र वहाँलाई खुसी हुन, अति खुशी हुन यति नै पर्याप्त थियो।

हामी आमाको कारमा घर गयौँ। बाटोमा मलाई महसुस भयो… घर आइपुगेँ, परिवारसँग आइपुगेँ, जन्मस्थान आइपुगेँ र त्यो ठाउँ आइपुगेँ जहाँ मेरा जन्मेदेखिका हजारौँ अनुभव र स्मृतिहरू कुँदिएका छन्। भनिहालौँ, यहाँका मेरा प्राय: स्मृति मखमली छैनन्, बरू तनमनमा चिडचिडाहट उत्पन्न गर्ने खालका छन्। यहाँ स्मृतिहरूले भरिएको भकारी छ। भकारीको पुछारमा मेरो बालापन छ। त्यहाँ त्यो बालकका इच्छा, कामना, सपना, दु:ख, निराशा र शरमका पोका छन्। अलि मास्तिर छन् मेरो ठिटौले उमेरका पोका। ती पोकामा त्यो ठिटोका सरोकार, अनुभव बटुल्ने उत्सुकता, पहिलो प्रेमका अधुरा सपना, प्रथम चुम्बनका अनुभूति, नयाँ साहसिक काम गर्न हरदम जागरूक तत्परता, स्व:खोजको हुटहुटी अथवा आफूभित्र गहिरो जरा गाढेर बसेका संवेगहरूलाई स्वतन्त्र उडान भर्न दिने चाहना छन्। अनि भकारीको सबभन्दा माथि बच्चा जस्तो तर बुढिँदै गएको म छु। जो ‘म यो धर्तीमा किन छु?’ को अर्थ पत्ता लगाउन खोजिरहेको छ, हरेक कुरासँग एकाकार महसुस गर्न, मुक्त हुन, भयरहित उडान भर्न, कुनै भय नराखी यस संसारबाट बिदा हुन… र बिदा हुँदै गर्दा मुसुक्क मुस्कुराउन लालायित छ।

गाडी ला…लाज समुद्रतट पुग्दैगर्दा मेरो दिमाग चिढचिढाउन छोड्यो। देखेँ… पानीका लहरहरूले किनारका बालुवालाई सुम्सुम्याउँदै, समुद्रतिरै फर्किँदै, फेरि बग्दै आएर तीनै बालुवा कणहरूलाई सुम्सुम्याउँदै र छोडेर जाँदै गरिरहेका छन्। अलि पर्तिर सिगलहरू पानीमा तैरिँदै खेलिरहेका छन्। त्यो दृश्य नियाल्दै गर्दा मलाई एउटा गहिरो मौनताले छोप्न थाल्यो र याद आउन थाले पुराना दिन… समुद्री तटमा खेलेका, ग्याङ्गका, पहिलोपटक दुईतर्फी प्रेम साटेकी युवतीका र अरू थुप्रै कुराहरू।

गाडी घुम्तीहरू नाघ्दै उकालो चढ्दैछ। केहीबेरमा घर पुगेपछि मैले बुवा मेरो नजिक आउन प्रयत्न गरेको असफल र कष्टकर क्षण साक्षात्कार गर्नुपर्नेछ। बुवा पल्टिरहनुभएको कोठाको दृष्य म पहिल्यै अनुमान गर्न सक्थेँ… मलाई देखेर हर्षानन्दित वहाँको अनुहार, मह रंगका चम्किला आँखा र अझैसम्म नबिग्रेका बलिया दाँत, अनि ती सबैले सजिएको पूर्णिमाको चन्द्रमा झैँ उज्यालो अनुहार। हामी घर पुग्यौँ। म बेर नगरी वहाँको कोठाभित्र छिरेँ। वहाँलाई देख्नासाथ मनमा भावनाहरू उर्लिन थाले र मलाई कब्जा गरे। त्यतिबेला म वहाँको नबिथोलिएको प्रशन्नता देखेर, त्यस्तो कष्टदायी बिराम सहन सक्ने साहस देखेर, जीवनप्रतिको स्वीकारोक्ति देखेर भित्रैदेखि हल्लिएको थिएँ। बिचरा बुवा चलमल गर्न र बोल्न नसक्ने बनाउने रोगका कारण ओछ्यान पर्नुभएको बीस वर्ष भइसकेको थियो।

म सानो छँदा कुरा अर्कै थियो। बुवा सधैँ सन्किनुहुन्थ्यो। कुनै काम यसैगरी हुनुपर्छ भन्ने लागेपछि त्यो तत्काल र त्यसरी नै हुनुपर्ने। तर आजसम्म मैले वहाँका मुखबाट आफ्नो बिरामप्रति, आश्रित अवस्थाप्रति गुनासो गरेको सुनेको छैन। त्यसले गर्दा मलाई वहाँको स्थिति स्वीकार गर्न सजिलो त भयो, तर त्यस्तो कुँजो अवस्था देख्दा अतिचार दया नजाग्नु सम्भव थिएन। नेपालमा, जहाँ परिवारलाई धेरै महत्व दिइन्छ, मलाई दोषी भावनाले हमला गरिबस्थ्यो। प्रश्न गर्थ्यो… तिमी त अहिले बुवाआमासँग हुनुपर्ने होइन र? बुवालाई साथ दिनुपर्ने होइन र? बुवालाई इतिश्री स्याहार्नु र घरव्यवहार धान्नुको भारीले थिचिएकी आमालाई सहयोग गर्नुपर्ने होइन र?

बुवाआमा, बहिनीहरू र भान्जाभान्जीसँग केहीबर बिताएपछि म आफ्नो बासस्थल ला…गाभिया गएँ। आमाले मलाई आफ्नो कार प्रयोग गर्न दिनुभएको थियो। ला…गाभिया काँठको एउटा गाउँ हो। त्यहाँ बुवाआमाले धेरै वर्ष अघि एउटा घर बनाएर राखिछोड्नु भएको थियो। छब्बीस वर्षको उमेरमा लण्डनबाट स्पेन फर्किए उप्रान्त मैले त्यही घरलाई आफ्नो स्थायी बासस्थल बनाइआएको थिएँ।

मेरा प्रत्येक घरफिर्तीमा मभित्र सधैँ एउटा अनौठो अनुभूति मडारिहइरको हुन्थ्यो। मानौँ नेपालमा जे भयो त्यो सबै एक सपना हो, नेपालमा संकलित सबै अनुभव र भावना अर्कै ग्रहका हुन्, जीवनको अर्कै आयामका हुन्। मेरा अनगिन्ती नेपाल गइ र घर फिर्तीले मलाई कस्तो र कसरी प्रभावित गरिरहेका छन् आँकलन गर्न गाह्रो थियो। मलाई लाग्थ्यो… म जे र जसरी बाँचिरहेको छु त्यसले मलाई जीवनको मूल प्रवाहबाट किनारातिर धकेलिरहेको छ, जीवनमा प्रयोग र प्रयत्न गर्नुको स्वस्थ्य सीमाभन्दा बाहिर धकेलिरहेको छ। यस्तो अवस्थामा कतैको पनि हुन अथवा बन्न नसकिँदो रहेछ। नेपालमा म एउटा विदेशी हुँ, जो सहयोग गर्न भनेर त्यहीँ बसिआएको छ। स्पेनमा म एउटा प्रवासी हुँ, जो नानाथरी कामकुराको धपेडी गर्न केही महिनाका लागि फर्केर आइबस्छ।

नेपालमा मलाई सधैँ चोखो स्नेह अभाव भयो, तर कहिल्यै एक्लो महसुस भएन। स्पेनमा परिवार र साथीहरूबाट पुग्दो स्नेह पाउँथेँ, तर सधैँ एक्लो महसुस हुन्थ्यो। जीवनको धागो कतैतिर र कसैसँग नजोडिएको लाग्थ्यो। सधैँ झैँ, यसपालि पनि मैले शुरूवाती केही दिन आफूभित्रका संवेग महसुस गरेर बिताएँ। ती संवेगसँग म पहिल्यै परिचित थिएँ। तर परिचित हुनुले मलाई तीसँग भिडन्त गर्न, अँगालो हालेर तिनबाट सिक्न र तिनलाई अस्वीकार नगर्न रोक्ने कुरा भएन। हरेक संवेगलाई जति बढी अँगालो हाल्यो र सम्पूर्ण इन्द्रिय लगाएर जति बढी अनुभव गर्‍यो त्यति नै बढी मलाई आफ्नो घर वरपर हिँडडुल गर्न सजिलो र आनन्द हुन्थ्यो।

ला…गाभिया पुगेपछि मलाई सबभन्दा पहिला सानीमा नेली र वहाँको परिवार भेट्न मन लाग्छ। बाल्यकालका थुप्रै वर्ष सँगै बिताएकाले होला, वहाँहरूसँग नजिक छु। त्यसपछि म आफ्नै एकान्तवासमा फर्किन मन पराउँछु। त्यो एकान्तवास मेरो जीवनयात्राकी त्यस्ती सहृदयी साथी हुन् जो बिना म जीवन कल्पना पनि गर्न सक्दिन। तिनले मेरो साथ कहिल्यै छोडेकी छैनन्। म उनीसँग कुरा गर्छु, उनी मसँग। उनले मेरो मन दबाउँछिन्, मुसार्छिन्, बशीभूत पार्छिन्, कोमल बनाउँछिन्, मुक्त पार्छिन्, छियाछिया पार्छिन्, भयभित पार्छिन्, साथ दिन्छिन्। म र मेरी सहृदयी साथी बार्दलीमा सँगै बसेर अगाडिका दृश्य नियाल्छौँ। समुद्र, थुम्काथुम्की, समुद्री टापु, आकाश र शहर। म र मेरी सहृदयी साथी फेरि सँगै भएका छौँ। यसपालि म उनलाई पूर्णत: बशमा राख्न र उनीप्रति पटक्कै भयभीत नहुन लालायित छु। सायद म उनको नामै फेर्न चाहन्छु… ‘मेरी जीवन यात्राकी सहृदयी साथी’।

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

 ५ एक अविस्मरणीय सिकाइ

६ भोलापनको दुनियाँ

७ लालसाका दास

८ आमोद प्रमोद

९ गाउँको माहोल

१० घरफिर्ती

११ नमिठो वापसी

१२ आश्रय

१३ पूर्वबाट पश्चिम

१४ अर्को संसार

५ हडबडी

१६ प्रेमयात्रा

१७ दुःख

१८ रसिला

१९ जीवनलाई स्वागतम्

२० धरती काप्यो

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *