‘…(र) समय सत्ता’

समयसँग बेखबर बन्नु
या हुँइकिरहनु
दुबैमा उस्तै आनन्द छ

कुरा बोधमा छ !
समुन्द्र नबगेर मोहक छ
नदी कलकलाएर सुन्दर छ ।

किनारा नहुँदा
या समुन्द्र/नदी नहुँदामा पनि
सुन्दरता कहाँ रहला र ?

सबैको अस्तित्व
र, सबैको महत्व
समान कोरिएको छ यहाँ ।

विकास भने पनि
अविकास भने पनि
दुबै चोखा रहेनन् अब ।

सृष्टि विमोहित छ
धीरत्वसँग वीरत्व छैन
र, गतिसँग मति छैन ।

हराउनु या कराइ रहनु
जेमा आनन्द मिल्दछ
त्यसैमा रमाइ रहनु ।

भीरमा अल्झिएर
या झीरमा उनिएर होस्
यहाँ समय बाँचिरहन्छ ।

पूर्णत्वको हुटहुटी
या अभावको वर्तमान
दुबै उस्तै र एकैतिर बग्छन् ।


प्रतिक्रिया

One thought on “‘…(र) समय सत्ता’

Leave a Reply

Your email address will not be published. Required fields are marked *