हडबडी

म सधैँ स्पेन बसाइलाई भरपुर उपयोग गर्न चाहन्थेँ । स्पेनीहरूलाई नेपाली संस्कृति नजिकबाट चिनाउथेँ । नेपालका गरिब र असहाय बालबालिकालाई सुरक्षित वातावरणमा हुर्किने मौका प्रदान गर्न हामीले गरिरहेका प्रयत्नबारे जानकारी गराउथेँ । त्यसका लागि विद्यालयहरूमा गोष्ठीहरू गरिरहन्थेँ । त्यस्तै एउटा गोष्ठीमा शान्तिलाई पनि लिएर जाने निधो गरेँ ।

एकजना शिक्षिकासँग कुरा गरेर यात्राको बन्दोबस्त मिलाएको थिएँ । उनी बिहान साढे सात बजेतिर गाडी हाँक्दै हामीलाई लिन आइपुगिन् तर दश मिनेट ढिलो । हामी अभिवादन गर्दै गाडीमा छिर्‍यौँ । उनी ढिलो हुनुको प्रष्टीकरण दिन धाराप्रवाह बोल्न थालिन् । भन्दै थिइन्, ‘बिहान छोरीलाई कलेज छोडिदिनुपर्‍यो, किताब साथीकै घरमा बिर्सिछन् । त्यो किताब कलेज पुर्‍याइदिनु पर्‍यो । त्यही भएर ढिला ढिला भएँ । सरी है ।’

उनी हडबडाइरहेकी थिइन् । हतारिएर गाडी चलाउँदै छिटोछिटो बोलिरहेकी थिइन् । म अगाडिको सिटमा थिएँ, शान्ति पछाडि । के गर्दै छिन् थाहा पाउन आँखा घुमाएँ । म कसैसँग ध्यानमग्न भएर कुरा गरिरहँदा शान्तिले फिटिक्कै बुझेकी छैनन् भनेर पीर पनि लिईरहेको हुन्थेँ । अहिले पनि त्यही पीरले उनलाई हेरको थिएँ । उनी मलाई हेरेर मुसुक्क मुस्कुराइन् र फेरि झ्यालबाहिरका नौला दृश्य नियाल्न लागिन् ।

शान्तिले केही गुण जन्मजात आशीर्वाद लिएर आएकी थिइन् । उनी जहाँसुकै ठिकठाक रहन सक्थिन्, केही न केहीमा अलमलिनै पर्ने अथवा कसै न कसैले सुनिदिइरहनुपर्ने छटपटीबाट मुक्त थिइन् । कुनै काममा संलग्न हुनु नपरेका बेला वरिपरिका जीवनका प्रकटीकरणहरू हेरेर, सुनेर घण्टौँ बिताउन सक्थिन् । जस्तैः आकाश, बादल, चरा, हल्ला, कुकुरको घाम तपाइ, कसैको चिच्याहट, हाँसो, गाडीमा लगाएको ब्रेकको आवाज इत्यादि । उनी कुनै कुरालाई अथवा कसैलाई रत्तिभर नतौलिई केवल अवलोकन गर्थिन् । सम्पूर्ण चेतना प्रवाह गरेर वरिपरिको जीवनप्रति सजग रहन्थिन् ।

कतिकतिबेला उनको दिमागमा विचार उत्पन्न हुन्थ्यो तर त्यो विचार आएको थाहा पाउनासाथ उनी वरिपरिको जीवनतर्फ, वर्तमानतर्फ फर्किहाल्थिन् । दिमागमा कुराको डोरी बटारेर बस्दिनथिन्, विगतको गर्तप्रति बिलाप गरेर अथवा भविष्यको गर्भबारे गम खाएर घण्टौँ बिताउँदिनथिन् । आफ्नो सम्पूर्ण चेतनासँग एकाकार भएर वर्तमानमा बाँच्थिन् । उनका लागि अरू कुनै कुरा अस्तित्वमा थिएन । थियो त केवल वर्तमान, यो खास क्षण र त्यसबेला सिर्जना भएका संवेदना । यो सबैले उनलाई एउटा विशिष्ट ऊर्जा दिन्थ्यो । उनी बिरलै बिमारी हुन्थिन् र सधैँ एकखाले जीवन्त उर्जा प्रवाह गरिरहेकी हुन्थिन् ।

शिक्षिका गाडीको ऐनाबाट बारम्बार शान्तिलाई हेरिरहेकी थिइन् । केहीबेरपछि मसँग भनिन्, ‘शान्ति त बुद्ध जस्तो देखिएकी छन् । अनुहार र मुस्कान हेर्दा लाग्छ यो व्यक्तिले कहिल्यै रिस, डाहा, प्रतिशोध वा पीडा भोगेको छैन ।’

शान्तिको उपस्थितिले हो अथवा ग्रामीण रमणीयतातिर प्रवेश गरेकाले हो ठ्याक्कै थाहा भएन, शिक्षिकाको स्वर सानो भएर गयो । कम बोल्न थालिन्, बोल्दा मधुर आवाजमा बोलिन् । स्टेरिङ् ध्यान गरेर घुमाउन थालिन्, गियर सहजतापूर्वक बदल्न थालिन् । सडक, रूख, घरका रङहरूप्रति बढी ध्यान पुर्‍याउन थालिन् । तनावग्रस्त अनुहार सहज बन्यो । अनि होसै नपाइ अनुहारको मांशपेसी खुकुलो छोडेर मुस्कुराइन् । बाहिर बढी ध्यान दिईरहेकी शान्ति पनि गाडीभित्र सुवासित हुँदै गइरहेको प्रशान्ति र खुशीको भावमाहोलप्रति आकर्षित हुन थालिन् ।

हामी विद्यालय पुग्यौँ । गाडी पार्किङ गर्‍यौँ । अनि शिक्षकशिक्षिका बस्ने कोठातिर लाग्यौँ । उहाँहरूले कफी पिउन अनुरोध गर्नुभयो तर म कक्षातिर जान हतारिएँ । हामीले पाँच कक्षाका विद्यार्थीसँग भेट्ने कुरा भएको थियो । जसै हामी कक्षाकोठामा प्रवेश गर्‍यौँ, विद्यार्थीका लागि भनेर त्यहाँभित्र राखिएका साधनस्रोत देखेर शान्ति चकित परिन् । उनीभित्र उठेको आश्चार्यको आँधी लुक्न सकेन । त्यहाँ के मात्र थिएन ? कम्प्युटर, अन्तरक्रियात्मक सेतोपाटी, नक्सा, केटाकेटीका चित्रकला, रंगीचंगी सूचनापाटी, बाजागाजा, हरेकका लागि अलग्गै बेञ्ची र टेबल, सारेर खोल्ने झ्याल, बुट्टादार पर्दा ।

उता शान्तिका गाउँको विद्यालयमा जम्मा तीनवटा धुलाम्मे कक्षाकोठा थिए । हरेक बिहान विद्यार्थीले आफैँ सफा गर्नुपर्थ्यो । चक घोटेर लेख्नुपर्ने थोत्रे कालोपाटी थियो । कोचाकोच बस्नुपर्ने दुईतीनवटा बेञ्ची थिए । कक्षाका भित्ता चर्किएका थिए, छानो चुहिने थियो । पुसमाघको ठिही र भदौरे घाम ह्वारह्वार्ती छिर्ने खुल्ला झ्यालहरू थिए ।

हामीले त्यो चकाचक कक्षाकोठालाई केहीबेर नियाल्यौँ । अनि टेबलकुर्सी गोलो घेरामा मिलाएर राख्यौँ । बरण्डामा लाइन बसेका विद्यार्थी भित्र छिर्न थाले, हामीलाई ‘गुडमर्निङ’ भन्दै आआफ्ना कुर्सीमा गरएर बसे । कतिपय विद्यार्थी चिम्सा आँखा र थेप्चो नाक भएकी नयाँ केटीबारे खासखुस गर्दै थिए । शान्तिले तिनका चाल, हाउभाउ, भावाभिव्यक्ति नियालिरहिन् । तिनले मेरैबारेमा कुरा गर्दैछन्, एउटाले त मजाकको पात्र पनि बनाइरहेको छ भन्ने सुइँको पाउँदा समेत उनलाई असहज भएको देखिएन ।

शान्तिलाई दृढ विश्वास थियो– हरेक प्राणी ईश्वरको अंश हो, जीवनको र हामीले प्रतिदिन बाँच्ने चमत्कारको अंश हो । जस्तोसुकै खराब भावमुद्रामा प्रस्तुत भए पनि, नकारात्मक आलोचना गर्ने बानी भए पनि अथवा हिंसात्मक व्यवहार देखाउने संस्कारले ग्रस्त भए पनि हरेक प्राणीभित्र जीवनको त्यही सारतत्त्व छिपेको हुन्छ जुन उनीभित्र छ ।

हामी स्नेहमा हुर्किएका छौँ भने स्नेही बन्छौँ । हिंसाबीच हुर्किएको भए हिंस्रक हुन्छौँ । परिवारका सदस्यबीच संवाद भएको सुन्दै हुर्किएका भए आफ्ना भावना सजिलै व्यक्त गर्न सक्ने हुन्छौँ । हाम्रोबारे हाँस्ने गरिएको भए लजालु हुन्छौँ । शान्तिलाई लाग्थ्यो– कसैका बारेमा खराब कुरा गर्नु बेतुक र मूर्खता हो, किनभने त्यसले आपसी असजहता र असमझदारी मात्रै सिर्जना गर्छ ।

शान्तिले त्यो दिन गोष्ठीमा विद्यार्थीहरूसँग असाध्यै रमाइलो मानिन् । उनीहरूले पनि उनलाई उनको जीवनबारे दर्जनौँ प्रश्न गरे । मजाले खुलेर कुरा गरे । प्रायः विद्यार्थी उनको छेउमा आउन, सँगै बस्न चाहन्थे । कुनै न कुनै तरिकाले उनीप्रतिको आकर्षण र स्नेह देखाउन चाहन्थे । त्यहाँ हामीले केहीबेर ध्यान पनि गर्‍यौँ । जीवनमा के कुराले खुशी दिन्छ, परिवार के हो, माया के हो भन्नेबारे कुराकानी गर्‍यौँ । मायाको अभावबारे, परिवारसँग हुन पाउनुबारे र एक्लै हुँदाका क्षणबारे पनि कुरा भयो ।

मैले गोष्ठीका मूल कुरा नेपालीमा उल्था गरेर शान्तिलाई बताइदिइरहेँ । उनले सबैका सबै कुरा त बुझिनन् होला, तर सबैका भावनाका चाहिँ अवश्य पढिन् । बालबालिकासँग समानुभूतिको यो उचाइमा र आपसी बुझाइको त्यो गहिराइमा पुगेर कुरा गर्न सकिने थाहा पाउनु उनका लागि अकल्पनीय थियो । गोष्ठीभर उनी विद्यार्थीका अनुहार र आवाजप्रति ध्यानस्थ थिइन् । पुगनपुग दश वर्षका बालबालिकाले आफ्ना बुवाआमाबारे भावुक भएर कुरा गरेको सुन्न पाउनु एउटा सुन्दर अनुभूति थियो । उनलाई महसुस भयो– यो अनुभव आजसम्मका सुन्दरतम् अनुभवहरूमध्ये एक हो ।

गोष्ठी सकेर हामी बिदा भयौँ । बिदा माग्दैगर्दा कतिपय बालबालिकाले आफ्ना आँखामा छचल्किएका आँशु लुकाउन सकेनन् । आखिर त्यो दिन उनीहरूका लागि पनि विशेष नै थियो । उपस्थित गुरुवर्गले विद्यालय भ्रमण गरेकोमा हामीलाई धन्यवाद दिए र बाचा गरे– आगामी दिनमा यस्ता क्षण अझै धेरै सिर्जना गर्न प्रयास गर्नेछौँ । त्यो त्यस्तो क्षण थियो जहाँ बालबालिका नायक हुन्थे, आफूलाई अझ राम्ररी चिन्ने मौका पाउँथे, आफ्ना कुरा खुलस्त सुनाउन सक्थे, डरत्रास नराखी बोल्न पाउँथे ।

बेलुका सानीमाको छोराले खान बोलाएका थिए । हामी चाँडै पुगेछौँ । त्यसैले एउटा रेष्टुरेण्टमा छिर्‍यौँ । मैले शान्तिलाई मेनुमा लेखिएका खानेकुराका विकल्पबारे बताइदिएँ । अन्तत: हामी ग्रीन टी पिउने भयौँ । उनलाई नयाँ चिज परख गर्न मन नपर्ने होइन तर त्यहाँ प्राय: सबै चिज नयाँ थिए । खासमा, खानेकुराको सन्दर्भमा उनको जीवनमा यसअघि कहिल्यै रोजीछाडी विकल्प उपलब्ध थिएन । त्यसैले यतिविधि खानेकुराको नाम लेखिएको मेनुबाट रोज्न पाउनु वा रोजीछाडी खान पाउनु आफैँमा नयाँ कुरा थियो ।

हामी ग्रीन टी पर्खेर बसेका थियौँ । पर्तिर टेबलमा तीनजना युवती घोप्टेमुण्टो लगाएर आआफ्नो मोबाइलको स्क्रिनमा औँला दौडाउन तल्लिन थिए । शान्तिले छक्क परेर तिनलाई हेरिन् । मैले बुझाउन खोजेँ, ‘आजकल यहाँ धेरैजसो मानिस एकअर्कासँग इन्टनरनेटमार्फत् कुरा गर्छन् । प्राय: मान्छे यसरी लिप्त रहेको देखिनु सामान्य हुँदै आएको छ ।’

उनले अचम्म मानिन् । एकअर्कासँग भेटघाट र कुराकानी गर्न भनेर भेला भएकाहरू एकअर्कालाई बेवास्ता चाहिँ गरिरहेका थिए । सँगै बसिरहेको साथीसँग कुरा नगरेर स्क्रिनमा देखा पर्नेप्रति बढी दिलचस्पी दिइरहेका थिए । यो के भएको ? किन भएको ? मैले पनि खिन्नता पोखेँ । भनेँ, ‘विगत केही दशकमा हाम्रो समाजमा सञ्चार र संवादको शैली व्यापक बदलिएको छ । म बालख हुँदा, युवा हुँदा धेरै समय साथीहरूसँग खुला ठाउँमा खेलेर बित्थ्यो । आफ्ना अनुभूतिहरू बाँड्दै, मन पर्ने कुराहरू गर्दै, हाँस्दै, रमाउँदै, वादविवाद गर्दै बालापन बाँच्थ्यौँ । त्यसरी हामीले एकअर्कासँग जोडिन सिक्यौँ, हुर्किन जान्यौँ र एउटा त्यस्तो परिपक्वता प्राप्त गर्‍यौँ जसले बाँकी जीवनमा असल सम्बन्धहरू निर्माण गर्ने कला सिकायो । त्यो कला जीवनका लागि एउटा ठूलो शिक्षा थियो । हुन त त्यो कला हरेक कुरालाई आफ्नो दृष्टिकोणबाट मात्र हेर्न खोज्ने स्वार्थी बालमनोविज्ञानबाट निस्रित पनि थियो होला ।

म करिब सात वर्षको हुँदा टिभी आइपुग्यो । परिवारका सदस्यबीच हुने संवाद र अन्तर्क्रिया स्वाट्टै घटाइदियो । शुरूमा एकदुईवटा च्यानल थिए, बिस्तारै बग्रेल्ती खुल्न थाले । कुन च्यानल हेर्ने भन्नेमा परिवारका सदस्यबीच एकमत हुन छोड्यो । त्यसले अनेकौँ अनावश्यक वादविवादको संस्कार जन्मायो । यसरी टिभी मान्छेलाई काल्पनिक र अधैर्य संसारतिर पुर्‍याउने राहदानी बन्न पुग्यो । आफ्नो जीवन आफ्नै सामुन्नेबाट बगेर गैरहँदा हामी अचेत भएर त्यो मूर्ख बाकसका अगाडि घण्टौँ एकोहोरिरहेका हुन्थ्यौँ ।’

मैले भनिरहेँ, ‘हाम्रो मस्तिष्क र परिवारमा टिभीको हस्तक्षेप पराकाष्ठामा पुग्नै लाग्दा कम्प्युटर आयो । दूरदराजका मान्छेबीचको सञ्चारलाई सहजीकरण गर्न थाल्यो । गर्दैभन्दै जाँदा त्यस्तो बिन्दुमा पुगियो जहाँ हामी साथीभाइ सल्लाह गरेर एकठाउँमा भेला त हुन्थ्यौँ तर हाम्रो ध्यान आफू वरिपरिको यथार्थमा भन्दा बढी आफ्नो साधनमा आइपुगेको म्यासेजमा अथवा दुनियाँदिवाना खबरमा हुनथाल्यो ।

शान्तिले मेरा कुरा कथा मानेर सुनिरहिन् । थाहा पाएँ, उनलाई मेरा कुरा बुझ्न र पचाउन गाह्रो परिरहेको छ । उनले आफ्नो घर सम्झिन् र उताका कुरा सुनाउन थालिन् । भनिन्, ‘भाततरकारी पकाउँदा, धाराबाट पानी ल्याउँदा, जंगलबाट दाउरा अथवा पत्कर ल्याउँदा, आमा, भाइबहिनी, साथीभाइ र बाटामा भेटिने मान्छेहरूसँग बात मारिन्थ्यो । छिमेकीहरू छरछिमेकमा आउजाउ गरिरहन्थे । त्यसरी नै आमाले गाउँका सारा समाचार थाहा पाउँथिन् ।’

मैले मेरा बुवाआमा सम्झेँ, उहाँहरूले सुनाएका किस्सा सम्झेँ । ग्याङ्गका, ढुङ्गामाटोसँगका, घरधन्दाका किस्सा । गल्ली, ग्याङ्ग, बारबेक्यू, क्याम्पिङ् इत्यादि सबै अनुभव गर्न पाएकोमा मैले आफूलाई भाग्यमानी ठानेँ । अचेल केटाकेटी ढुङ्गामाटोमा खेल्न नपाएको सम्झेर, जागिरे व्यस्तता र थकानका कारण बुवाआमाले छोराछोरीसँग आत्मीय समय विताउन नपाएको सम्झेर दिक्क लाग्यो । धेरैजसो बुवाआमासँग छोराछोरीका साथ गुणात्मक समय बिताउने केही घण्टासमेत नभएको सम्झेर मन बाउँडियो । स्नेह र संवादको अभावले केटाकेटीहरू झन् बढी व्यक्तिवादी, सम्प्रदायिक र हिंस्रक बन्दै गएका छन् जस्तो लाग्यो ।

शान्तिले थाहा पाइहालिन्– मेरो मन र दिमाग वर्तमानमा छैन, कतै गोता खाइरहेको छ । कति बाठी ! उनले थाहा नपाउँदो गरी टेबलबाट एउटा चम्चा टिपिन् र छेउको कपमा बिस्तारै ट्याङ्ङ… पारिन् र मेरो ध्यान वर्तमानमा खिचिदिइन् । टेबलमा चिया आइपुगेको पनि थाहा पाइनछु । मैले उनीतिर हेरेँ । उनको अनुहारमा भर्त्सनाको रत्तिभर गुञ्जायस थिएन, मुस्कुराइरहेकी थिइन् ।

उनको मुस्कानले मलाई वर्तमानमा बढी बाँच्न प्रेरणा दियो, समझ दियो । भन्यो– तपाईंको दिमागलाई जीवन उलटपुलट पार्ने कुअवसर नदिनुहोस् । यसबारे हामीले पहिला नै धेरै कुरा गरिसकेका थियौँ र म यस्तो समस्याबाट ग्रसित व्यक्ति हुँ भन्ने उनलाई राम्रोसँग थाहा थियो । त्यसैले त उनले मलाई स्मरण गराइराख्न कहिल्यै संकोच मानिनन् । भन्थिन्, ‘सर, जीवन भनेको यहाँ र अहिले हो, यसक्षणको चेतना हो । अनि यसक्षण भनेको श्वासप्रश्वासको लय हो, आफ्नो कपडाले छालामा छोइएको हो । कूल मिलाएर भन्नुपर्दा हामीले सुनिरहँदा, बोलिहरहँदा अथवा हिँडिरहँदा उत्पन्न हुने संवेदना हुन् ।’

वर्तमानप्रति होस् फर्किएपछि मैले घडी हेरेँ । थाहा भयो, तुरून्त हिँडिएन भने सानीमाका छोराकामा खाना खान पुग्न अबेर हुन्छ । झोला टिपेर जर्‍याकजुरूक उठेँ । शान्ति भने सहजतापूर्वक उठिन् र मलाई जीवनको अझ नजिक ल्याउने ताजा प्रयत्नस्वरूप मेरो हात नरम चालले समाइदिइन् । उनको नरम स्पर्शको आसय मलाई ‘हतार र हडबडीले तपाईंलाई फेरि दिमागबाट सिर्जित काल्पनिक संसारतिर घिसार्दैछ है’ भन्ने महसुस गराउनु थियो । लगत्तै मैले हिँडाइको गति सहज र धिमा पारेँ, शरीरको वजन र श्वासप्रश्वास महसुस गर्न शुरू गरेँ । जीवनका केही बढी सेकेण्डहरूलाई साँचो अर्थमा अनुभव गर्न थालेँ ।

खान बोलाउने भाइको बसोबास दशतले भवनमा थियो । माथि जान लिफ्ट चढ्नु पर्थ्यो । यो शान्तिका लागि अर्को एउटा नौलो कुरो । आनाकानी गरिन् । धातुको बट्टामा थुनिएर माथि उकालिनु उनका लागि प्राकृतिक कुरा थिएन तर हिँडेर आठदशवटा भर्‍याङ् उक्लिनुको सट्टा लिफ्ट नै चढ्ने साहस गरिन् । लिफ्टमा मेरा पाखुरा च्याप्प समाइन् । लागेको हुँदो हो, यो पनि गाडी जस्तै तीव्र गतिमा माथितिर हुइँकिन्छ । उनले ‘यो कतिबेला माथि उक्लिन थाल्छ !’ ठान्दै गर्दा लिफ्ट सातौँ तलामा पुगेर घरक्क ढोका खुल्यो । उनलाई लागेको थियो, लिफ्ट माथि चढ्न थालेकै छैन । मेरो भाइले लिफ्टको ढोकैमा आएर हामीलाई स्वागत गरेपछि र फ्ल्याटको झ्यालबाट तल जमिन देखाइदिएपछि मात्रै उनलाई विश्वास लाग्यो– अघि लिफ्ट थाहै नपाई उक्लेछ ।

बुहारी खाना बनाउँदै थिइन्, भान्सातिरै बोलाइन् । त्यहीँ हो शान्तिले भाँडा माझ्ने मेसिन पनि हुँदोरहेछ भन्ने थाहा पाएको । ओभन र इन्डक्सन देखेको । यसरी नौला र अचम्मका कुरासँग उनको साक्षात्कार भइरह्यो । उनको छक्क पराइले विश्राम लिन पाएन । आफू पराइ ठाउँमा छु भन्ने लागिरह्यो । स्पेन आएको त्यत्तिका दिन बितिसक्दा पनि उनलाई आफ्नो ग्रामीण जीवनको सरलताको न्यास्रो लागिरहेको थियो । प्रकृतिसँगको निकटताको न्यास्रो लागिरहेको थियो ।

यिनै अनुभवले गर्दा उनले उनले बुझ्न थालेकी थिइन्– मैले किन नेपाल जाने निर्णय गरेको रहेछु ? किन त्यहीँ जीवन बिताउन चाहेको रहेछु ? हुन त म यथेष्ट सन्तुष्टि दिने काम गर्न नेपाल गएको हुँ र त्यसैका लागि सबै ऊर्जा लगाइआएको छु । जीवनले मलाई त्यहाँ किसानसँग जीवन बिताउने, प्रकृतिसँगको सानिध्यतामा रमाउने, प्रकृतिले दिएजति कुरा उपभोग गर्दै बाँच्ने अमूल्य उपहार पनि दिए । ती कुराले मलाई आनन्द दिए, कहिल्यै अनुभव नगरेको तरिकाले जीवनसँग जोडिदिए ।

कहिलेकाहीँ बेलुका खाना खाँदै गर्दा चल्ने गहिरा संवादमा शान्ति नजानिँदो गरी आफूलाई किनारामा राख्थिन् । उनलाई स्मृतिमा, घरायसी कुरामा, ठट्यौलीमा र नजिकका मान्छेसँग मात्रै गरिने अरू थुप्रै कुरामा सामेल गराइराख्न, अल्झाइराख्न गाह्रो थियो तर असहज मानेको चाहिँ देखिएन । एक बिहान हामी नास्ता खाँदै थियौँ, उनले भनिन्, ‘सर, तपाईं जन्मेहुर्केको संसार देख्ने, बुझ्ने अवसर पाएकोमा म भित्रैदेखि खुशी र कृतज्ञ छु । अबदेखि सायद मलाई तपाईंका कुरा बुझ्न सजिलो हुन्छ होला ।’

उनले मेरी आमासँग समय बिताउन आनन्द मानिन् । उनमा उहाँप्रति गहिरो श्रद्धा थियो । बुवासँग उनको बिरलै बातचित भयो; बोल्नै सक्नुहुन्नथ्यो । तथापि, हेलो वा गुडबाइ भनेर बुवाको कोठाबाट फर्कँदा उनी सधैँ उहाँको मन्द मुस्कान पनि हरेर ल्याउँथिन् । यहाँ आएर शान्तिले बुझिन्– हरेक पटक नेपाल फर्किनुअघि त्यस्तो अवस्थाका बुवालाई गुडबाइ भनेर बाटो लाग्न मलाई कति गाह्रो हुँदो हो । तर त्यस्तै अवस्थामा भए पनि बुबाको चम्किलो मुस्कान हेर्न पाइरहनु मेरा लागि जीवनको अर्को उपहार थियो ।

स्पेनमा रहँदा भेटेजति सबैले शान्तिप्रति अगाध प्रेम दर्शाए । उनले पनि असाध्यै न्यानो स्वागत महसुस गरिन् । हरेक कुरा गज्जब भयो । समुन्द्र देखिन्, स्पर्श गरिन्, पानीसँग अघाउँजी खेलिन् । सायद नेपाल फर्किसकेपछि उनलाई यसको न्यास्रो लाग्दो हो । यद्यपि, उनले स्वीकार गरिन्, ‘यहाँ हुँदा मलाई घरि न घरि यो मेरो संसार होइन भन्ने लागिरह्यो ।’

मैले पनि उनीसमक्ष स्वीकार गरेँ, ‘शान्ति, त्यत्रो बीसौँ वर्ष बसिसक्दा पनि नेपाल अझै मेरो संसार हुन सकेको छैन ।’

उनले मेरा दुबै हात चपक्क समाइन्, सुस्तरी दबाइन् र भनिन्, ‘सर, अहिले आएर म नेपालमा तपाईंको उपस्थितिलाई धेरै गुणा बढी आदर गर्छु । किनभने हरेक कुरा भिन्न भएको ठाउँमा र भावना बुझिदिने मान्छे पाउन मुस्किल हुने ठाउँमा खुशी रहने प्रयत्न गरिरहनु कति कठिन रहेछ भन्ने कुरा मलाई थाहा थिएन ।’

मैले भनेँ, ‘शान्ति, मान्छेलाई हरेक कुरासँग बानी पर्छ । एकान्त र पीडासँग पनि बानी पर्छ । यो त्यही अनुभव हो जसले मलाई जीवन एउटा सिक्ने अवसर हो भनेर मान्न, आफूलाई चिन्न र जन्मिनुको अर्थ खोज्न सहयोग पुर्‍याएको छ ।’

मैले शान्तिसँग यो पनि स्वीकारेँ, ‘मेरो जन्म र हुर्काइ त्यस्तो संसारमा भयो जहाँ राम्रोरमाईलो र दैहिक सुखभोगलाई नै खुशीको स्रोतका रूपमा हेरिन्छ । मिठो खानु, मन हर्ने चलचित्र हेर्नु, सम्भोगको एक क्षणमा हराइजानु, रक्सी पिउनु इत्यादि । यहाँ जे गरे पनि, जेसुकै भए पनि मैले सधैँ एउटा गहिरो खालीपन महसुस गरिरहेँ । मानौँ म एउटा चिसो एस्ट्रे हुँ ।

नेपालमा मेरा सुरुआती वर्ष किसान परिवारसँग ढुङ्गा र माटोको घरमा बिते । त्यसबेला मलाई बोध भयो– शान्त रहनु, कुनै कुराको खोजीमा नभौँतारिनु, रूमानी सपनामा नरूमल्लिनु, कुनै कुराको पर्खाइमा नहुनु, चाहनामा नडुब्नु, आशक्तिमा निर्लिप्त नभइ हरेक संवेदनालाई स्वीकार गर्नु, जीवनलाई पिँजडामा थुन्ने चाहना नहुनु अथवा नतौलनु, बरू त्यसकै प्रवाहमा बगिरहनुले जस्तो खुशी र आनन्द कुनै भौतिक कुराले दिन सक्दैन ।

मेरा कुरा सुन्न ध्यानस्थ शान्तिले केहीबेरको मौनतापछि अचानक तर मधुर स्वरमा भनिन्, ‘सर, अझ बढी स्नेही, स्व:स्फूर्त, दयालु र विनम्र संसार निर्माणका लागि म तपाईंलाई सहयोग गर्न पाए कति खुशी हुने थिएँ ।’

त्यो सहयोग कसरी गर्ने उनलाई कुनै भेउ थिएन तर मन थियो । मैले भनेँ, ‘तिम्रो उपस्थिति मात्रैले पनि मलाई सहयोग पुर्‍याइरहेको छ, त्यसमाथि सहयोग गर्ने इच्छा सुनेर मेरो हृदय भरियो छ ।’

म आफ्नो काममा थुप्रै वर्षदेखि एक्लो महसुस गरिरहेको थिएँ । मेरो संसार कुन हो मलाई नै थाहा थिएन । यसरी अरू कति बाँच्न सकुँला त्यो पनि थाहा थिएन । यस्तो स्थितिमा शान्तिको प्रस्ताव सुनेर म खुशीले अललिएँ । उनका शब्दले मेरो हृदयमा कति शक्तिशाली स्पर्श गरे भन्ने कुरा उनलाई थाहा थिएन । मेरा आँखामा आँशु देखेपछि सायद अनुमान गरिन् होला !

धेरै मान्छे मैले गरेको कामको, जीवनमा मैले लिएको निर्णयको प्रशंसा गर्छन् तर उनीहरूलाई मेरा कमजोर पक्षबारे, एक्लोपनबारे थाहा हुँदैन । यो पनि थाहा हुँदैन कि म घरिघरि आफूलाई समुद्री आँधीले घेरिएको एउटा सानो डुङ्गा जत्तिकै असहाय र असुरक्षित महसुस गर्छु । शान्तिले त्यो असुरक्षित मबारे अझै धेरै थाहा पाउन बाँकी थियो, बुझ्न बाँकी थियो । त्यो म जसका लागि आफ्नो जीवन बुझिदिने, काममा साथ दिने इशारा मात्रै पनि काफी थियो ।

क्रमशः

अघिल्ला अध्याय-

१ जन्म

२ रामेछापको जीवन

३  समुदायका ज्ञान

४  एउटी केटीले सिकाएको पाठ

 ५ एक अविस्मरणीय सिकाइ

६ भोलापनको दुनियाँ

७ लालसाका दास

८ आमोद प्रमोद

९ गाउँको माहोल

१०. घरफिर्ती

११ नमिठो वापसी

१२ आश्रय

१३ पूर्वबाट पश्चिम

१४ अर्को संसार

(होसे मारिया दियाज पेरेज स्पेनीस नागरिक हुन् । उनी करिब बीस वर्षअघि शिक्षा स्वयंसेवकका रूपमा नेपाल आएका थिए र मकवानपुरका सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तर सुधारमा योगदान गरेका थिए । त्यसबेला मकवानपुरमा देखिने बालश्रम र चेलीबेटी बेचबिखनका घटनाले उनलाई भित्रैदेखि हल्लाए । उनी आफ्नो काम सकेर स्पेन गइसकेपछि एक वर्ष नबित्दै मकवानपुरे बालबालिकाको मायाले तानिएर फेरि नेपाल फर्किए । त्यसयता उनी धेरैजसो समय हेटौँडामा बसेर बालश्रम तथा चेलिबेटी बेचबिखन न्यूनीकरणका लागि शिक्षाको क्षेत्रमा क्रियाशील छन् । नेपाल बसाइको अनुभव समेटेर उनले पाँच वर्षअघि एउटा उपन्यास लेखेका थिए । उपन्यासको नाम ‘शान्तिः मेरो जीवनपथको ज्योति’ राखिएको छ । उक्त उपन्यास हालसालै नेपाली भाषामा अनुवाद भएर छापिएको छ । सुभाष कट्टेलद्वारा अनुदित यो उपन्यासका अध्यायहरू शृङ्खलाबद्ध रुपमा प्रकाशित गर्दै जानेछौं ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *