पाँडे र ताम्राकारलाई देवकुमारी-बबरसिंह थापा पुरस्कार

विराटनगर । बबरसिंह–देवकुमारी थापा सेवा गुठी विराटनगरले दुई पुरस्कार घोषणा गरेको छ ।

प्रत्येक वर्ष प्रदान गरिने देवकुमारी थापा स्मृति सम्मान २०८० हास्यव्यङ्ग्य निबन्धकार डा. रामकुमार पाँडेलाई प्रदान गरिने भएको छ ।

छ दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको हास्यव्यङ्ग्य विधामा दिएको योगदानका लागि साहित्यकार पाँंडेलाई उक्त पुरस्कार प्रदान गरिने भएको गुठीले जनाएको छ ।

उनका ख्यालख्याल, सन्चै छ, मोज गर्नाेस्, बाबुको बिहे हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह साथै नेपाल जापान सम्बन्ध, नेपाल निर्माणको गौरव गाथा लगायत संस्कृति, भूगोल, लोकसाहित्य र बालसाहित्यका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

यसैगरी दुई दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कथा विधामा दिएको योगदानका लागि कथाकार रिता ताम्राकारलाई २०८० सालको बबरसिंह थापा स्मृति सम्मान तथा पुरस्कारबाट पुरस्कृत गरिने भएको छ ।

उनका, तुसारापात, दृश्य परिदृश्य, अनाम परिधि, संवेग कथासङ्ग्रह प्रकाशित छन् । पुरस्कारको राशि क्रमशः ५१ हजार र २५ हजार छ । गुठीका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार सम्मान दिने निर्णय गरेको हो ।

पुरस्कार आगामी २०८१ बैशाख १५ गते शनिबार विराटनगरमा आयोजना हुने कार्यक्रममा स्रष्टाहरुलाई हस्तान्तरण गरिने जनाइएको छ ।

यसअघि उक्त पुरस्कारबाट साहित्यकारहरू इन्द्रबहादुर राई, मदनमणि दीक्षित, सत्यमोहन जोशी, बालकृष्ण पोखरेल, दुर्गालाल श्रेष्ठ, बैरागी काइँला, चुडामणि बन्धु, तुलसी दिवस, मन्जुल, विन्ध्या सुब्बा, डा. दयाराम सम्भव पुरस्कृत भएका छन् ।

यस्तै, बबरसिंह थापा स्मृति पुरस्कारबाट प्रा. डा. रामबहादुर थापा, जनकमोहन अधिकारी, दीपक आलोक, कुन्ता शर्मा, गायत्री श्रेष्ठ, नवराज सुब्बा, धीरेन्द्र प्रेमर्षी, जयप्रसाद पाण्डे, प्रमोद प्रधान, मोमिला, लक्ष्मी उप्रेती, विमल वैद्य, बुलु मुकारुङ, विक्रमश्री, सुमन पोखरेल, कुशेश्वर राई लगायतका स्रष्टाहरु पुरस्कृत भैसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *