वैरागी काइँला र न्यौपानेलाई पुरस्कृत गरिने

विराटनगर । सरस्वतीप्रसाद-दुर्गादेवी रिजाल प्रतिष्ठान विराटनगरले साहित्य र शिक्षा क्षेत्रका दुईजना व्यक्तित्वलाई पुरस्कृत गर्ने भएको छ ।

सरस्वतीप्रसाद-दुर्गादेवी रिजाल राष्ट्रिय भाषा साहित्य पुरस्कार कवि साहित्यकार प्राज्ञ वैरागी काइँलालाई प्रदान गरिने भएको हो ।

यसैगरी, सरस्वतीप्रसाद-दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा सेवा पुरस्कार शिक्षासेवी प्रेमप्रसाद न्यौपाने सुनसरीलाई प्रदान गर्ने निर्णय भएको छ ।

छ दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्यमा दिएको योगदानका लागि काइँलालाई उक्त पुरस्कार दिइने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । काइँला कवि, भाषाविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्वकुलपति हुन् ।

यसैगरी, पाँच दशकभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा सम्बद्ध रहेर गरेको योगदानका लागि न्यौपानेलाई उक्त पुरस्कार दिइने निर्णय भएको जनाइएको छ ।

पुरस्कारको राशि क्रमशः ५१ हजार र २५ हजार रुपैयाँ छ ।

पुरस्कारका लागि साहित्यकार प्रा डा बद्रीविशाल पोखरेल, प्राज्ञ विवश पोखरेल, साहित्यकार लोचन रिजाल, कलाकार राजु केसी रहेको चार सदस्यीय समितिले सिफारिस गरेको थियो ।

समितिको सिफारिसअनुसार प्रतिष्ठानका अध्यक्ष विश्वप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

वैशाख १५ गते सुनसरीको इटहरीमा आयोजना हुने कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिने प्रतिष्ठानका महासचिव भैरवप्रसाद रिजालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *