वैद्यको कृति ‘युगको तटमा उभिएर’ गृह लोकार्पण

इलाम । कवि विमल वैद्यको चौथो कृति ‘युगको तटमा उभिएर’ गृह लोकार्पण गरिएको छ । इलाम सदरमुकामस्थित अरनिको संग्रहालयमा (पुरानो दरबार) मा आइतबार कृति लोकार्पण गरिएको हो ।

इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा भाषाविद तथा लेखक केदार शर्मा, कवि तथा समीक्षक प्रकाश थाम्सुहाङले कृतिबारे चर्चा गरेका थिए ।

थाम्सुहाङ्ले कवि वैद्य ४० वर्षदेखि निरन्तर सिर्जनामा लागिरहेकोले स्थापित सर्जक भएको बताए । वैद्यका कृति नेपाली साहित्यका लागि गर्व गर्न लायक भएको उनको भनाइ थियो ।

भाषाविद् तथा लेखक केदार शर्माले कवि वैद्यले आफ्ना सिर्जनामा शब्दलाई नधुट्याइकन दिनुपर्ने कुरा दिने गरेकोले यस कृतिमा अझ परिमार्जन भएको बताए । लेखनमा वैचारिक अडान हुन आवश्यक रहेको समेत शर्माले बताए ।

इलाम नगरका विशिष्ट नागरिक पूर्व क्याम्पस प्रमुख युद्धप्रसाद वैद्यको प्रमुख आतिथ्य तथा अग्रज धर्म गौतमको अध्यक्षतामा लोकार्पण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा प्राज्ञ कोमल निरौला, इलाम नगरपालिकाका प्रमुख केदार थापा, इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसअघि वैद्यको कविताकृति काठमाडौमा गत पुस २८ गते सार्वजनिक गरिएको थियो । पेज टर्नरले बजारमा ल्याएको ३४ कविता संग्रहित ‘युगको तटमा उभिएर’ कृतिको मूल्य २७५ रुपैयाँ छ ।

साहित्यमा शब्द, शैली र उनका स्वभावले वैद्यको चर्चा इलाममा मात्रै नभइ देशभर र छिमेकी देश भारत दार्जिलिङ, सिक्किम, मिरिक लगायत नेपालीभाषी रहेका स्थानमा समेत छ ।

चार दशकदेखि सिर्जनामा लागिरहेका उनी देश तथा सीमा पारीका विभिन्न साहित्यिक कार्यक्रममा ब्यस्त हुन्छन् । मोफसलमा बसेर ख्याति कमाइरहेका वैद्यको यसअघि ‘आकास छुन खोज्ने मनहरू’, ‘समय र सपनाहरू’, ‘अक्षर सिम्फोनी’ कृति आइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *