भारतेन्दु हरिश्चन्द्रको प्रख्यात ‘सत्य हरिश्चन्द्र’ मञ्चन शुरु

विराटनगर । सत्मार्गमा हिँड्ने एक लोकप्रिय राजा–देवताहरुद्धारा नै तिनको सत्यको कठोर भन्दा कठोर परीक्षण र सुखद् अन्त्य, ‘सत्य हरिश्चन्द्र’ नाटकको समग्र कथा यही हो ।

यही कथामा नै खासगरी भारतमा कैयौं नाटक मञ्चन गरिएको छ । भारतेन्दु हरिश्चन्द्रले लेखेको उक्त नाटकमा आधारित भएरै भारतमा पहिलो फूल–लेन्थ फिचर फिल्म बनेको थियो । नेपाली भाषाको पहिलो चलचित्र पनि सत्य हरिश्चन्द्र नै हो । उही कथावस्तुमा आधारित नाटक विराटनगरमा मञ्चन शुरु भएको छ ।

विराटनगरको आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शुक्रबारदेखि ‘सत्य हरिश्चन्द्र’ को प्रदर्शन शुरु गरिएको हो । करिब एक सय पचास वर्षअघि आधुनिक हिन्दी साहित्यका पिता भनेर चिनिने भारतेन्दु हरिश्चन्द्रले लेखेका उक्त नाटक करिब ५० वर्षअघि नै नेपालीमा अनुवाद गरिएको थियो ।

शिक्षण पेशा र साहित्यमा आबद्ध रंगेलीका केदार सत्यालले वि.सं. २०३३ सालमै नेपालीमा अनुवाद गरेको उक्त नाटकले मञ्चमा स्थान पाएको छ ।

सूर्यकुलका राजा हरिश्चन्द्रको सत्यनिष्ठाको कथामा आधारित भएर तयार पारिएको यस नाटकले सत्यपथमा जस्तोसुकै कष्ट भएतापनि त्यसको अन्त्य सुखद् हुने सन्देश दिएको छ ।

आधुनिक नाटकहरुमा भन्दा फरक यस शास्त्रीय नाटकले नैतिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास सहित नाटक मञ्चन गरिएको निर्देशक दिपेश भण्डारीले बताए ।

‘करिब ५० वर्षअघि अनुवाद भएर थन्किएको अवस्थामा फेला परेको यो नाटक मञ्चमा प्रस्तुत गर्ने जमर्को गरेका हौँ’, निर्देशक भण्डारीले भने, ‘मानिसको नैतिक जीवनमा कतै न कतै सकारात्मक प्रभाव पर्छ भन्ने विश्वास छ’ ।

१ घण्टा ४५ मिनेट अवधिको यो नाटकमा राजा हरिश्चन्द्रसँगै रानी शैव्या, भगवान ईन्द्र, नारदमुनी, विश्वामित्र लगायत पात्रहरु देखिन्छन् । नाटकमा प्रदिप दाहाल, दिक्षा मिश्र, सविन भट्टराई, रविन चिमरिया, आयुष प्रसाद कोइराला, विकास अधिकारी, निशान राई, जितेन्द्र रजक, पंकज शाह, मेलिना कार्की, एलिजा ठाकुर, दिवश ढकाल, रागन मानन्धर, दिक्षा चौधरी, मनिष कुमार ठाकुर लगायतको अभिनय छ ।

भरत कार्कीको प्रकाश परिकल्पना, सविन भट्टराईको मञ्च परिकल्पना तथा सह निर्देशनमा तयार यस नाटक चैतको ३० गतेसम्म साँझ ५ः१५ बजे मञ्चन हुने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *