अर्जेन्टिना ? कि स्पेन ?

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधिका लागि साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेन आमनेसामने हुँदैछन् । अमेरिकाको न्यु जर्सीस्थित मेट लाइफ स्टेडियममा हुने यो फाइनल खेल नेपाली समयअनुसार सोमबार बिहान १२:४५ बजे सुरु हुनेछ ।

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना लगातार दोस्रो तथा समग्रमा चौथो पटक विश्वकप उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रँदै छ । अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ र २०२२ मा विश्वकप जितेको थियो । अर्कोतर्फ, कप्तान रोड्रीको नेतृत्वमा रहेको स्पेन १६ वर्षपछि फाइनलमा पुगेको हो । सन् २०१० को विजेता स्पेन दोस्रो पटक विश्वकप ट्रफी उचाल्ने दाउमा छ ।

स्पेनले सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो भने अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै उपाधि भिडन्त सुरक्षित गरेको थियो । स्पेनका मुख्य प्रशिक्षक लुइस डी ला फुइन्टेले अनुभव र युवाशक्तिको संयोजनमार्फत अर्जेन्टिनालाई दबाबमा राख्ने रणनीति बनाएका छन् । प्रतियोगितामा स्पेनका कप्तान रोड्रीले सर्वाधिक ६४८ पास पूरा गरेका छन् भने युवा स्टार लामिन यामलले ३० सफल ड्रिब्लिङ गर्दै प्रभाव जमाएका छन् । त्यस्तै गोलकिपर उनाई सिमोनले सातमध्ये छ खेलमा क्लिन सिट राख्दै टोलीलाई बलियो बनाएका छन् ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान मेसीको अनुभव र टोलीको सामूहिक प्रदर्शनमा विश्वास व्यक्त गरेका छन् । जारी प्रतियोगिताका सात खेलमा १९ गोल गर्दै आक्रामक देखिएको अर्जेन्टिनाका लागि मेसीले आठ गोल र चार असिस्ट गरिसकेका छन् । उनी गोल्डेन बुटको दौडमा समेत अगाडि छन् । फाइनल खेलमा अर्जेन्टिनाका मेसी, लौटारो मार्टिनेज, एन्जो फर्नान्डेज र क्रिस्टियन रोमेरो तथा स्पेनका रोड्री, लामिन यामल, मिकेल ओयार्जाबाल र पाउ क्युबार्सी मुख्य आकर्षणका रूपमा रहनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *