एक सांस्कृतिक अभियन्ता

मानिसका पनि आ-आफ्नै परिचय हुन्छन्। कोही आफ्नो नामले चिनिन्छन्, कोही पदले चिनिन्छन्, कोही सम्पत्तिले चिनिन्छन्। तर केही यस्ता मानिसहरू पनि हुन्छन्, जो आफ्नो निरन्तर हिँडाइले चिनिन्छन्। उनीहरूलाई सम्झँदा कुनै स्थिर तस्वीर आँखाअगाडि आउँदैन, बरु एउटा गतिशील आकृति देखापर्छ- कहिले सडकमा, कहिले गल्लीमा, कहिले कुनै सभा-समारोहमा, कहिले कुनै जात्राको भीडमा, कहिले कुनै पुरानो सम्पदाको आँगनमा। साहित्यकार तथा साहित्यिक पत्रकार पदम श्रेष्ठ त्यस्तै एक अथक यात्री थिए।

आज उनी यस संसारमा छैनन्। तर उनलाई सम्झँदा मेरो मनमा अझै एउटा मानिस हतारिँदै हिँडिरहेको देखिन्छ। उनीसँग समय कम थियो कि काम धेरै थियो, म आजसम्म छुट्याउन सकेको छैन। तर एउटा कुरा भने निश्चित थियो- उनी कहिल्यै निष्क्रिय थिएनन्। उनको जीवनमा आलस्यको कुनै ठाउँ थियो। उनी सधैँ केही न केही खोजिरहेका हुन्थे, केही न केही लेखिरहेका हुन्थे, केही न केही अभिलेखन गरिरहेका हुन्थे।

मेरो कार्यालय टेबहाल, संकटामा उनी बेला-बेलामा आइपुग्थे। ढोका खोल्नेबित्तिकै लाग्थ्यो, मानौँ कुनै हावा भित्रिएको छ। उनी बस्थे, केही कुरा गर्थे, कुनै नयाँ योजना सुनाउँथे, कुनै सांस्कृतिक विषयको चर्चा गर्थे। तर कुरा लम्बिन नपाउँदै उठिहाल्थे।

भन्थे- ‘…बाहिर मान्छे पर्खिरहेको छ।’

अनि उनी फेरि आफ्नो यात्रामा लागिहाल्थे। उनको हिँडाइमा उद्देश्य हुन्थ्यो, उनको हतारोमा जिम्मेवारी हुन्थ्यो।

कीर्तिपुर उनको बसोबास थियो, तर उनको कार्यक्षेत्र सिङ्गो काठमाडौँ उपत्यका थियो। एक समय साइकल उनका पखेटा थिए। साइकल चढेर उनी गल्लीगल्ली पुग्थे। पछि साइकल छुट्यो, तर यात्रा छुटेन। पैदल पाइला नै उनका साथी बने। उनी हिँड्थे, तर केवल आफ्नो लागि होइन।

समाजका बिर्सिएका कथा खोज्न उनी हिँड्थे। उनी संस्कृतिका हराउन लागेका चिह्नहरू बचाउन हिँड्थे। उनी जात्रा, पर्व, उत्सव, परम्परा र सम्पदाका कथाहरूलाई भावी पुस्तासम्म पुर्‍याउन हिँड्थे।

मलाई लाग्छ, पदम श्रेष्ठ मूलतः पत्रकार र लेखक मात्र थिएनन्, उनी स्मृतिका संवाहक थिए। समाजले बेवास्ता गरेका दृश्यहरूलाई उनले शब्दमा सुरक्षित राखे। समयले मेटाउन खोजेका चिनारीहरूलाई उनले अभिलेखमा उतारे। कुनै जात्राको ध्वनि, कुनै मन्दिरको इतिहास, कुनै समुदायको परम्परा वा कुनै स्थानको पहिचान- यी सबै उनका लागि लेख्ने विषय मात्र थिएनन्, बचाउनुपर्ने सम्पदा थिए।

सायद त्यसैले उनी सधैँ दौडिरहेका देखिन्थे। उनलाई थाहा थियो- समय कसैलाई कुर्दैन। आजको दृश्य भोलि हराउन सक्छ। आजको परम्परा भोलि विस्मृत हुन सक्छ। आजका मानिसहरू भोलि इतिहास बन्न सक्छन्। त्यसैले उनी समयसँग प्रतिस्पर्धा गरिरहेका थिए।

उनीसँग धेरै सपनाहरू थिए। अझ धेरै कामहरू गर्ने योजना थियो। अझ धेरै वृत्तचित्र बनाउने, अझ धेरै सामग्री सङ्कलन गर्ने, अझ धेरै लेखहरू लेख्ने आकाङ्क्षा थियो। तर जीवनले उनलाई त्यति समय दिएन।

मलाई अहिले पनि त्यो दिन स्पष्ट सम्झना छ। २०८३ साल वैशाख १२ गते उनी मेरो कार्यालयमा आएका थिए। अनुहारमा उत्साह थियो। नयाँ कामको जिम्मेवारी प्राप्त भएको थियो। न्यूरोड क्षेत्रको पार्किङ व्यवस्थासम्बन्धी वृत्तचित्र निर्माणको विषयमा कुरा गर्दै थिए।

‘…अब कार्यादेश पाएँ,’ उनले भनेका थिए- ‘…अब विभिन्न क्लब र व्यक्तिहरूलाई सम्पर्क गर्नुपर्छ। पहिले क्यामेराको व्यवस्था गर्नुपर्छ, त्यसपछि रेकर्डिङ सुरु हुन्छ।’

उनका शब्दहरूमा भविष्यको योजना थियो। उनका आँखामा कामप्रतिको चमक थियो। उनी भोलिका दिनहरूको तयारी गरिरहेका थिए। तर नियतिले अर्कै तयारी गरिरहेको रहेछ। त्यो भेट नै हाम्रो अन्तिम भेट बन्न पुग्यो।

वैशाख १२ गते मसँग बसेर योजनाहरू सुनाएका पदम श्रेष्ठ चौबीस घण्टा नबित्दै वैशाख १३ गते, यस संसारबाट सदाका लागि बिदा भए। यो समाचारले मलाई भित्रैसम्म हल्लायो। मैले सुनेँ, तर विश्वास गर्न सकिनँ। लाग्यो, यो असम्भव कुरा हो। यति धेरै कामको जिम्मेवारी बोकेर हिँडिरहेको मानिस अचानक कसरी मृत्युवरण गर्न सक्छ ?

उनको हतारो, सधैँको असिनपसिन र सधैँ दौडादौडको जिन्दगी सम्झँदा सायद उनलाई थाहा थियो मेरो जीवन धेरै दिनको होइन। त्यसैले मैले गर्नुपर्ने काम एकदमै छिटो गरिहाल्नुपर्छ। नभन्दै उनले आफू बाँचेको जीवनमा गर्नुपर्ने धेरै काम गरे। कति काम गर्दागर्दै अधुरै छोडे। धेरै दुःख पनि गरे। कहिले दक्षिणकाली, कहिले बौद्ध उनी जहाँ पुगे उनले त्यहाँका सम्पदा, संस्कृति, जीवन र प्रकृतिको अभिलेखनको काम गरे।

आज पनि कहिलेकाहीँ म आफैँलाई झुक्याइरहेको पाउँछु। लाग्छ, उनी कतै गएर फेरि फर्किनेछन्। कुनै दिन मैले देख्ने छु उनी एकदमै हतारमा संकटा मन्दिर अगाडि आफ्ना पाइला छिटो लम्काउँदै आइरहेका हुने छन्। कुनै दिन अचानक मेरो कार्यालयको ढोकासामु उभिएर मुसुमुसु हाँस्दै उही पुरानै हतारोका साथ भित्र पस्नेछन्। कुनै नयाँ विषय निकालेर कुरा सुरु गर्नेछन्। तर त्यो सम्भावना अब कहिल्यै पूरा हुने छैन।

उनले अधुरा सपनाहरू छोडेर गए। अधुरा योजनाहरू छोडेर गए। अधुरा भेटघाटहरू छोडेर गए। तर उनले खालीपन मात्र छोडेर गएनन्। उनले आफ्नो कर्मको उज्यालो पनि छोडेर गए। उनले लेखेका सामग्रीहरू छोडेर गए। उनले अभिलेखन गरेका संस्कृति छोडेर गए। उनी आफैँले सङ्कलन गरेका इतिहासका दुर्लभ अभिलेखहरू छोडेर गए।

कुनै मानिसको जीवन कति लामो रह्यो भन्नेभन्दा उसले आफ्नो समयलाई कसरी उपयोग गर्‍यो भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ। पदम श्रेष्ठले आफ्नो समयलाई अर्थ दिएका थिए। उनले आफ्नो जीवनलाई समाजको स्मृतिसँग जोडिदिएका थिए। त्यसैले उनको भौतिक अनुपस्थिति दुःखद भए पनि उनको योगदान अनुपस्थित छैन।

मलाई अझै पनि कहिलेकाहीँ प्रश्न उठ्छ– उनी किन यति चाँडै गए ? कहाँ गए ? किन गए ? यी प्रश्नहरूको उत्तर मसँग छैन। सायद कसैसँग पनि छैन। तर एउटा उत्तर भने समयले दिइसकेको छ– असल मानिसहरू आफ्नो शरीरले होइन, आफ्नो कर्मले बाँच्छन्।

पदम श्रेष्ठ आज हामीबिच छैनन्, तर उनका पाइलाहरूका ध्वनिहरू अझै सुनिन्छन्। उनका शब्दहरू अझै बोलिरहेका छन्। उनका सपनाहरू अझै समाजको स्मृतिमा जीवित छन्। मेरा लागि त उनी अझै पनि एक हिँडिरहने मानिस हुन् काठमाडौँका गल्लीहरूमा, संस्कृतिका पाटाहरूमा, स्मृतिका गल्छेडाहरूमा र नेपाली साहित्यको आकाशमा निरन्तर हिँडिरहने मानिस।

त्यसैले उनको सम्झनामा शोक मात्र होइन, सम्मान पनि जाग्छ। आँसु मात्र होइन, गर्व पनि लाग्छ। किनकि उनले बाँचुन्जेल आफूलाई होइन, समाजलाई केन्द्रमा राखेर बाँचे। उनी समयको भीडमा हराएका पात्र होइनन्, समयलाई अभिलेखमा उतारेर जाने दुर्लभ मानिस हुन्।

आज उनको स्मृतिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै म केवल यत्ति भन्न चाहन्छु– पदम श्रेष्ठ अब हामीसँग छैनन्, तर उनले हिँडेको बाटो अझै बाँकी छ। उनका पाइलाहरू रोकिए, तर उनले देखाएको यात्राको दिशा अझै जीवित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *