देशभर मनसुन सक्रिय: भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव बलियो बन्दा मौसममा पूर्ण रूपमा बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपासमा सरेको छ ।

यसका कारण शनिबार देशभरका अधिकांश स्थानमा बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिमका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो र राति पनि देशभर अधिकांश स्थानमा बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । त्यस्तै, देशका पहाडी र तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । रातिको समयमा देशका पहाडी भूभाग, कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकीका तराईका एकदुई स्थानमा भारी वर्षा हुन सक्छ ।

विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एकदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा समेत हुन सक्ने देखिएकाले महाशाखाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *