माइखोला जलाधार क्षेत्र: प्राकृतिक संवेदनशीलता र मानवीय हस्तक्षेप
नेपाल भौगोलिक रूपमा सक्रिय पर्वतीय संरचना भएको मुलुक हो। यहाँ हिमाल, पहाड र तराई गरी तीन प्रमुख भौगोलिक क्षेत्र रहेका छन्। यीमध्ये पहाडी तथा हिमाली क्षेत्र कमजोर भूगर्भीय संरचना, तीव्र ढलान, सक्रिय नदी प्रणाली तथा उच्च मनसुनी वर्षाका कारण प्राकृतिक प्रकोप, विशेष गरी बाढी, पहिरो र भूक्षयको उच्च जोखिममा रहेका छन्। प्रत्येक वर्ष मनसुन अवधिमा हुने अत्यधिक वर्षाका कारण देशका विभिन्न जिल्लामा हजारौँ साना तथा ठूला पहिरो जाने गरेका छन्, जसका कारण मानव जीवन, कृषि उत्पादन, भौतिक पूर्वाधार, सडक सञ्जाल, विद्युत् आयोजना तथा स्थानीय अर्थतन्त्रमा गम्भीर नकारात्मक प्रभाव पर्ने गरेको छ।
पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण वर्षाको स्वरूपमा आएको परिवर्तन, छोटो अवधिमा अत्यधिक वर्षा (एक्स्ट्रेम रेनफल इभेन्ट्स) तथा अनियमित मनसुनका कारण पहिरोको आवृत्ति र तीव्रता अझ वृद्धि भएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने इलाम जिल्ला प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा चिया उत्पादनका लागि प्रसिद्ध भए पनि यसको अधिकांश भूभाग भिरालो तथा भूगर्भीय रूपमा संवेदनशील रहेको छ। यस जिल्लाका विभिन्न नदी तथा खोला प्रणालीमध्ये माइखोला जलाधार क्षेत्र विशेष रूपमा पहिरो, नदी कटान तथा भूक्षयका दृष्टिले जोखिमयुक्त मानिन्छ।
पछिल्ला केही वर्षयता माइखोला आसपासका क्षेत्रमा पहिरोका घटनाले सडक अवरुद्ध हुने, पुल तथा अन्य सार्वजनिक संरचनामा क्षति पुग्ने, स्थानीय बस्ती जोखिममा पर्ने तथा आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने अवस्था सिर्जना भएको छ। यी घटनाले स्थानीय समुदाय, सरकारी निकाय तथा प्राविधिक क्षेत्रका विज्ञको ध्यान आकर्षित गरेको छ। यसै अवधिमा माइखोला क्षेत्र तथा यसको आसपासका क्षेत्रमा सडक विस्तार, ग्रामीण सडक निर्माण, जलविद्युत् आयोजना, प्रसारण लाइन, खानेपानी आयोजना तथा अन्य विकास निर्माणका गतिविधि उल्लेखनीय रूपमा बढेका छन्।
विकास निर्माणका यस्ता परियोजना आर्थिक तथा सामाजिक विकासका लागि आवश्यक भए पनि कमजोर भूगर्भीय संरचना भएका पहाडी क्षेत्रमा पर्याप्त भू-प्राविधिक अध्ययन, ढलान स्थिरीकरण, सतही तथा भूमिगत पानीको व्यवस्थापन र वातावरणीय सुरक्षाका उपाय प्रभावकारी रूपमा कार्यान्वयन नभएमा प्राकृतिक ढलानको स्थायित्वमा प्रतिकूल प्रभाव पर्न सक्ने सम्भावनालाई नकार्न सकिने अवस्था छैन। विशेष गरी पहाड काटेर सडक निर्माण, सुरुङ निर्माण, उत्खनन कार्य, नदी किनारको दोहन तथा अव्यवस्थित रूपमा निर्माण सामग्री व्यवस्थापन जस्ता गतिविधिले पहिरोको जोखिम बढाउन सक्ने विषय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानले औँल्याएका छन्।
माइखोला क्षेत्रमा देखिएका पहिरोका घटनासँग पुवा खोला जलविद्युत् आयोजना तथा त्यस अन्तर्गत निर्माण गरिएको सुरुङको सम्भावित सम्बन्धबारे पनि स्थानीय समुदाय, सञ्चारमाध्यम तथा सरोकारवालाबीच विभिन्न धारणा व्यक्त हुँदै आएका छन्। सुरुङ निर्माणका क्रममा गरिने र गरिएको उत्खनन, नियन्त्रित विस्फोट (कन्ट्रोल्ड ब्लास्टिङ), भूमिगत पानीको बहावमा सम्भावित परिवर्तन तथा पहुँच सडक निर्माणले स्थानीय भू-परिस्थितिमा नकारात्मक प्रभाव पारेको हुन सक्ने तर्क प्रस्तुत गरिए पनि यी दाबीलाई पुष्टि वा खण्डन गर्ने विस्तृत तथा स्वतन्त्र वैज्ञानिक अध्ययन सार्वजनिक रूपमा कमै मात्र देखिएका छन्।
अर्कोतर्फ, भूगर्भविद् तथा विपद् व्यवस्थापनका विशेषज्ञले पहिरोलाई सामान्यतः बहु-कारणीय (मल्टी-फ्याक्टोरियल) प्रक्रिया मानेका छन्, जसमा प्राकृतिक तथा मानवजन्य दुवै कारकले संयुक्त रूपमा प्रभाव पार्ने गर्छन्। त्यसैले कुनै एउटा आयोजना वा गतिविधिलाई सम्पूर्ण पहिरोको एकमात्र कारणका रूपमा प्रस्तुत गर्नु वैज्ञानिक दृष्टिले पर्याप्त आधारबिना उचित मानिँदैन। हालसम्म माइखोला क्षेत्रको पहिरो सम्बन्धी अधिकांश सार्वजनिक बहस अनुभव, स्थानीय धारणा वा सञ्चारमाध्यममा आधारित रहेको भए तापनि भू-प्राविधिक, जलविज्ञान (हाइड्रोजियोलोजी), भूगर्भीय संरचना, वर्षाको प्रवृत्ति तथा पूर्वाधार विकासका संयुक्त प्रभावको समग्र विश्लेषण गर्ने अनुसन्धान अत्यन्तै सीमित रहेका छन्।
पुवा खोला जलविद्युत् आयोजनाको सुरुङ र पहिरोबीचको सम्भावित सम्बन्ध
इलाम जिल्लाको माइखोला क्षेत्र पछिल्ला केही वर्षयता बारम्बार पहिरोका घटनाका कारण स्थानीय तथा राष्ट्रिय तहमा चर्चाको विषय बनेको छ। विशेष गरी पुवा खोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सम्पन्न भएपछि यस क्षेत्रका धेरै स्थानमा पहिरोको संख्या तथा तीव्रता बढेको, खानेपानीको स्रोत सुकेको र अन्नबालीको उब्जनीमा ह्रास आएको भन्ने स्थानीय धारणा र सार्वजनिक बहस देखा परेका छन्। स्थानीय बासिन्दाले सुरुङ निर्माणपछि अधिकांश पानीका मुहान सुक्ने, नयाँ स्थानमा पानी चुहिने, जमिनमा चिरा पर्ने तथा पहिरोका घटना बढेको अनुभव व्यक्त गरेका छन्। यसलाई सामान्य आँखाले देख्न र अनुभव गर्न पनि सकिने अवस्था रहेको छ।
यद्यपि, यस्ता अनुभव अनुसन्धानका लागि महत्त्वपूर्ण प्रारम्भिक सूचना भए पनि तिनलाई वैज्ञानिक प्रमाणका रूपमा स्वीकार गर्न विस्तृत भू-प्राविधिक तथा जलविज्ञान सम्बन्धी अध्ययन आवश्यक हुन्छ। भू-प्राविधिक विज्ञान (जियोटेक्निकल इन्जिनियरिङ) तथा इन्जिनियरिङ भूगर्भशास्त्र (इन्जिनियरिङ जियोलोजी) का अनुसार पहाडभित्र सुरुङ निर्माण गर्दा प्राकृतिक चट्टानी संरचनामा केही मात्रामा परिवर्तन आउन सक्छ। सुरुङ निर्माणका क्रममा चट्टान उत्खनन गरिँदा पहाडभित्र विद्यमान प्राकृतिक तनाव (इन-सिटु स्ट्रेस) पुनः वितरण हुन्छ। यदि सुरुङ बलियो तथा स्थिर चट्टानभित्र निर्माण गरिएको छ भने यसको प्रभाव सीमित रहन सक्छ, तर अत्यधिक चिरा परेको, कमजोर वा पहिलेदेखि अस्थिर भूभागमा यस्तो तनाव परिवर्तनले स्थानीय स्तरमा ढलानको स्थायित्वमा प्रभाव पार्न सक्ने सम्भावना रहन्छ।
यही कारणले विश्वभरका ठूला सुरुङ परियोजनामा विस्तृत भू-प्राविधिक अध्ययन, उपकरणमार्फत अनुगमन (इन्स्ट्रुमेन्टेसन मोनिटरिङ) तथा निर्माणपछिको नियमित निरीक्षणलाई अनिवार्य मानिन्छ। सुरुङ निर्माणका क्रममा गरिने नियन्त्रित विस्फोट (कन्ट्रोल्ड ब्लास्टिङ) लाई पनि सम्भावित प्रभाव पार्ने कारकका रूपमा अध्ययन गरिन्छ। आधुनिक सुरुङ निर्माणमा प्रयोग गरिने विस्फोट प्रविधि नियन्त्रित तथा मापदण्ड अनुसार सञ्चालन गरिने भएकाले सामान्य अवस्थामा यसको प्रभाव सीमित रहने अपेक्षा गर्नु स्वाभाविक हो। तर यदि भूगर्भीय संरचना अत्यन्त कमजोर छ वा पहिलेदेखि सक्रिय चिरा रहेका छन् भने विस्फोटबाट उत्पन्न कम्पनले चट्टानका विद्यमान चिरा विस्तार गर्न वा कमजोर भागलाई थप अस्थिर बनाउन सक्ने सम्भावना पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन। त्यसैले निर्माणका क्रममा कम्पनको स्तर (भाइब्रेसन मोनिटरिङ) मापन गर्नु तथा स्वीकार्य सीमा ननाघ्ने सुनिश्चित गर्नु अन्तर्राष्ट्रिय अभ्यास हो।
सुरुङ निर्माणसँग सम्बन्धित अर्को महत्त्वपूर्ण पक्ष भूमिगत पानीको प्रवाह (ग्राउन्डवाटर रेजिम) मा हुन सक्ने परिवर्तन हो। पहाडभित्र सुरुङ निर्माण गर्दा प्राकृतिक रूपमा बहिरहेको भूमिगत पानीको मार्ग परिवर्तन हुन सक्छ। कतिपय अवस्थामा पानी सुरुङतर्फ मोडिन सक्छ भने अन्य अवस्थामा नयाँ स्थानबाट पानी चुहिन सुरु हुन सक्छ। यदि यसले ढलानभित्रको पानीको सन्तुलन परिवर्तन गर्यो भने माटो तथा चट्टानको स्थायित्वमा प्रभाव पर्न सक्छ। विशेष गरी कमजोर माटो भएको क्षेत्रमा पानीको मात्रा बढेमा माटोको कतरनी शक्ति (सियर स्ट्रेन्थ) घट्छ र पहिरोको सम्भावना बढ्न सक्छ। यसको विपरीत, कतिपय अवस्थामा मुहान सुक्ने वा पानीको प्राकृतिक बहाव घट्ने अवस्था पनि देखिन सक्छ। यस्ता प्रभाव मूल्याङ्कन गर्न हाइड्रोजियोलोजिकल अध्ययन अपरिहार्य हुन्छ।
यद्यपि, सुरुङ निर्माणको प्रभाव मात्रका आधारमा माइखोला क्षेत्रमा देखिएका सम्पूर्ण पहिरोलाई व्याख्या गर्न सकिँदैन। इलामको माइखोला क्षेत्र प्राकृतिक रूपमा नै उच्च जोखिमयुक्त भूभाग हो। यस क्षेत्रको भूगर्भीय बनोट कमजोर रहेको, धेरै स्थानमा पुराना पहिरोका अवशेष रहेको, ढलान अत्यधिक तीव्र रहेको तथा मनसुनी अवधिमा अत्यधिक वर्षा हुने तथ्य पहिरो उत्पन्न गराउने प्रमुख प्राकृतिक कारक हुन्। पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण छोटो अवधिमा अत्यधिक वर्षा हुने प्रवृत्ति बढेको देखिन्छ, जसले प्राकृतिक रूपमा नै पहिरोको सम्भावना बढाएको छ।
यस क्षेत्रमा सडक विस्तार तथा स्तरोन्नतिका कार्य पनि तीव्र रूपमा सञ्चालन भएका छन्। पहाड काटेर सडक निर्माण गर्दा ढलानको प्राकृतिक सन्तुलन परिवर्तन हुन्छ। यदि ढलान संरक्षण, रिटेनिङ वाल, ढल निकास तथा जैविक इन्जिनियरिङका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गरिएनन् भने पहिरोको जोखिम उल्लेखनीय रूपमा बढ्न सक्छ र बढेको पनि छ। विभिन्न अनुधानले नेपालका पहाडी क्षेत्रमा जलविद्युत् आयोजनाभन्दा पनि सडक निर्माणसँग सम्बन्धित पहिरोका घटना धेरै रहेको देखाएका छन्। त्यसैले माइखोला क्षेत्रमा देखिएको पहिरोलाई सुरुङ निर्माण र सडक निर्माण दुवै सन्दर्भमा अध्ययन गर्नु आवश्यक हुन्छ।
वैज्ञानिक दृष्टिकोणबाट कुनै पनि जलविद्युत् आयोजना र पहिरोबीच कारण-परिणाम सम्बन्ध (कज-इफेक्ट रिलेसन्सिप) स्थापित गर्न केही महत्त्वपूर्ण प्रमाण आवश्यक पर्छ। पहिरो सुरु भएको समय र सुरुङ निर्माण सम्पन्न भएको समयबीचको सम्बन्ध, सुरुङको रेखाङ्कन (टनल एलाइनमेन्ट) र पहिरोको स्थानको भौगोलिक सम्बन्ध, निर्माणअघिको तथा निर्माणपछिको उपग्रह चित्रको तुलना, भूमिगत पानीको स्तरमा आएको परिवर्तन, वर्षाको अभिलेख, भू-प्राविधिक परीक्षण तथा ढलानको स्थायित्व विश्लेषण (स्लोप स्टाबिलिटी एनालिसिस) जस्ता तथ्यको संयुक्त अध्ययनपछि मात्र वैज्ञानिक निष्कर्ष निकाल्न सकिन्छ। यी प्रमाणबिना कुनै पनि दाबी अनुमानमा आधारित हुन्छ।
हाल सार्वजनिक रूपमा उपलब्ध अध्ययन, सरकारी प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी दस्तावेजको आधारमा हेर्दा पुवा खोला जलविद्युत् आयोजनाको सुरुङ नै माइखोला क्षेत्रको सम्पूर्ण पहिरोको मुख्य कारण हो भन्ने निष्कर्ष पुष्टि भएको छैन। त्यसैगरी सुरुङको कुनै प्रभाव नै छैन भन्ने निष्कर्ष पनि पर्याप्त अनुसन्धानबिना दिन सकिँदैन। उपलब्ध प्रमाणले यस विषयमा थप स्वतन्त्र तथा विस्तृत अनुसन्धानको आवश्यकता औँल्याउँछन्। यस सन्दर्भमा भविष्यमा बहुविषयगत (मल्टीडिसिप्लिनरी) अनुसन्धान गर्नु आवश्यक देखिन्छ। भूगर्भशास्त्र, भू-प्राविधिक इन्जिनियरिङ, जलविज्ञान, रिमोट सेन्सिङ, जीआईएस, मौसम विज्ञान तथा सामाजिक अध्ययनलाई एकीकृत गरेर माइखोला क्षेत्रको समग्र जोखिम मूल्याङ्कन गर्न सके मात्र सुरुङ निर्माण, प्राकृतिक प्रक्रिया तथा अन्य विकास गतिविधिले पहिरोमा खेलेको वास्तविक भूमिका स्पष्ट रूपमा पहिचान गर्न सकिनेछ। यस्तो अध्ययनले माइखोला क्षेत्र मात्र होइन, नेपालका अन्य जलविद्युत् आयोजना भएका पहाडी क्षेत्रमा पनि सुरक्षित तथा दिगो पूर्वाधार विकासका लागि महत्त्वपूर्ण मार्गदर्शन प्रदान गर्नेछ।
पहिरोका प्रमुख प्राकृतिक कारकहरू
१. अत्यधिक वर्षा
माइखोला क्षेत्र नेपालको पूर्वी पहाडी भूभागमा अवस्थित भएकाले यहाँ मनसुनी प्रणालीको प्रभाव अत्यधिक रहने गर्दछ। इलाम जिल्ला देशकै उच्च वर्षा हुने जिल्लामध्ये एक मानिन्छ, जहाँ प्रत्येक वर्ष मनसुन अवधिमा ठूलो मात्रामा वर्षा हुने गर्दछ। विशेष गरी असारदेखि भदौसम्म निरन्तर तथा तीव्र वर्षा हुँदा जमिनको सतह र भित्री तहमा पानीको मात्रा उल्लेखनीय रूपमा बढ्छ। यस्तो अवस्थाले माटोको भौतिक तथा यान्त्रिक गुण (जियोटेक्निकल प्रोपर्टीज) मा प्रत्यक्ष प्रभाव पार्छ र पहिरोको सम्भावना उल्लेखनीय रूपमा वृद्धि हुन्छ।
सामान्य अवस्थामा माटोका कणबीच रहने घर्षण (फ्रिक्सन) र आपसी आकर्षण (कोहेजन) ले ढलानलाई स्थिर राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। तर लगातार वर्षाका कारण माटो पूर्ण रूपमा पानीले संतृप्त (सोइल स्याचुरेसन) भएपछि कणबीचको आपसी बन्धन कमजोर हुन थाल्छ। यससँगै माटोभित्रको छिद्र पानीको चाप (पोर वाटर प्रेसर) बढ्दै जान्छ, जसले माटोको कतरनी शक्ति (सियर स्ट्रेन्थ) उल्लेखनीय रूपमा घटाउँछ। जब माटोको कतरनी शक्ति ढलानमा कार्यरत गुरुत्वीय बलभन्दा कम हुन्छ, तब माटो तथा चट्टानको सन्तुलन बिग्रिएर पहिरो उत्पन्न हुन्छ। यही कारणले मनसुनी अवधिमा लगातार हुने वर्षालाई पहाडी क्षेत्रमा पहिरो सुरु गराउने सबैभन्दा महत्त्वपूर्ण प्राकृतिक कारक (प्राइमरी ट्रिगरिङ फ्याक्टर) का रूपमा स्वीकार गरिएको छ।
माइखोला क्षेत्रमा पहिरो प्रायः लामो समयसम्म निरन्तर वर्षा भएको वा छोटो अवधिमा अत्यधिक वर्षा (एक्स्ट्रेम रेनफल इभेन्ट) भएको अवस्थामा देखिने गरेको छ। पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण वर्षाको स्वरूपमा परिवर्तन आएको विभिन्न अध्ययनले देखाएका छन्। पहिले धेरै दिनसम्म मध्यम वर्षा हुने प्रवृत्ति रहेकामा अहिले केही घण्टा वा एक-दुई दिनमै अत्यधिक वर्षा हुने अवस्था बढ्दै गएको छ। यस्तो तीव्र वर्षाले जमिनमा पानी सोस्ने क्षमताभन्दा बढी पानी एकैपटक प्रवेश गराउँछ, जसका कारण सतही बहाव (सर्फेस रनअफ) बढ्नुका साथै माटोको गहिराइसम्म पानी पुगेर ढलानलाई अस्थिर बनाउँछ।
माइखोला जलाधार क्षेत्रमा रहेका कमजोर भूगर्भीय संरचना, चिरा परेका चट्टान, गहिरो अपक्षय (वेदरिङ) भएका माटो तथा तीव्र ढलानका कारण वर्षाको प्रभाव अझ बढी देखिन्छ। वर्षाको पानी चट्टानका प्राकृतिक चिरा तथा माटोका तहमा प्रवेश गर्दा पहिलेदेखि नै कमजोर रहेका ढलान थप अस्थिर बन्छन्। विशेष गरी पुराना पहिरो (ओल्ड ल्यान्डस्लाइड डिपोजिट्स) भएका स्थानमा पुनः सक्रिय पहिरो (रियाक्टिभेटेड ल्यान्डस्लाइड्स) जाने सम्भावना धेरै हुन्छ। यही कारणले एउटै स्थानमा वर्षेनी दोहोरिने पहिरोको समस्या देखिने गरेको छ।
२. कमजोर भूगर्भीय संरचना
माइखोला क्षेत्रको भूगर्भीय संरचना पहिरो उत्पन्न हुने प्रमुख प्राकृतिक आधारभूत (प्रिडिस्पोजिङ) कारकमध्ये एक हो। इलाम जिल्लाको अधिकांश भूभाग रूपान्तरित (मेटामोर्फिक) तथा अत्यधिक अपक्षय (वेदरेड) भएका चट्टानबाट बनेको छ। लामो समयसम्म वर्षा, तापक्रम परिवर्तन तथा भौतिक-रासायनिक अपक्षयका कारण यी चट्टानमा चिरा (फ्र्याक्चर), जोइन्ट (जोइन्ट्स) तथा कमजोरीका क्षेत्र विकसित भएका छन्। यस्ता चट्टानी संरचनाले बाह्य भार तथा प्राकृतिक प्रक्रियाको प्रभाव सहन सक्ने क्षमता क्रमशः गुमाउँदै जान्छन्।
माइखोला क्षेत्रका धेरै ढलानमा गहिरो अपक्षय भएका माटो, ढुङ्गामिश्रित निक्षेप (कोलुभियल डिपोजिट्स) तथा पुराना पहिरोका अवशेष (एन्सिएन्ट ल्यान्डस्लाइड डिपोजिट्स) पाइन्छन्। यस्ता भूभाग प्राकृतिक रूपमा अस्थिर हुने भएकाले सामान्य वर्षा वा सानो बाह्य हस्तक्षेपले समेत पुनः सक्रिय पहिरो उत्पन्न हुन सक्छ। विशेष गरी पहिलेदेखि पहिरो गएको स्थानमा पुनः पहिरो दोहोरिने सम्भावना अन्य स्थानको तुलनामा धेरै हुन्छ। यसले माइखोला क्षेत्रमा एउटै स्थानमा पटक-पटक पहिरो जाने अवस्थालाई स्पष्ट गर्दछ। भूगर्भीय कमजोरीले अन्य सबै जोखिम कारकको प्रभावलाई पनि गुणात्मक रूपमा बढाउँछ। उदाहरणका लागि, कमजोर चट्टान भएको स्थानमा सडक निर्माण गर्दा ढलानको स्थायित्व छिटो कमजोर हुन्छ, अत्यधिक वर्षाको पानी चट्टानका चिरामा सजिलै प्रवेश गर्छ, भूमिगत पानीको चाप बढ्छ तथा नदी कटानको प्रभाव पनि तीव्र रूपमा देखापर्छ। त्यसैले कमजोर भूगर्भीय संरचना पहिरोको प्रत्यक्ष कारण मात्र नभई अन्य प्राकृतिक तथा मानवजन्य कारकको प्रभावलाई वृद्धि गर्ने आधारभूत तत्वका रूपमा कार्य गर्दछ।
३. भिरालो स्थलाकृति
माइखोला क्षेत्र नेपालको मध्यपहाडी भूभागको विशिष्ट भौगोलिक संरचनाभित्र पर्दछ, जहाँ अधिकांश जमिन तीव्र ढलानयुक्त छ। धेरै स्थानमा प्राकृतिक ढलान ३० देखि ६० डिग्री वा सोभन्दा बढी रहेको पाइन्छ। यस्ता ढलानमा गुरुत्वाकर्षण बल निरन्तर तलतिर कार्यरत रहने भएकाले माटो तथा चट्टानलाई स्थिर राख्ने प्राकृतिक शक्ति कमजोर हुनासाथ पहिरो जाने सम्भावना उल्लेखनीय रूपमा बढ्छ।
ढलानको तीव्रताले पहिरोको प्रकार र परिमाण दुवै निर्धारण गर्दछ। कम ढलान भएका क्षेत्रमा माटोको बिस्तारै सर्ने प्रक्रिया (सोइल क्रिप) बढी देखिए पनि तीव्र ढलान भएका क्षेत्रमा ठूलो परिमाणको माटो, ढुङ्गा तथा चट्टान एकैपटक खस्ने (स्लोप फेलर) सम्भावना उच्च हुन्छ। माइखोला क्षेत्रमा अत्यधिक वर्षा, कमजोर भूगर्भीय संरचना तथा नदी कटानसँग मिलेर यही भिरालो स्थलाकृतिले पहिरोको जोखिमलाई अझ जटिल बनाएको छ। भौतिक विकास निर्माणका क्रममा पहाड काटेर सडक, भवन तथा अन्य संरचना निर्माण गर्दा ढलानको प्राकृतिक सन्तुलन थप परिवर्तन हुन्छ। यदि ढलानको कोण (स्लोप एङ्गल) सुरक्षित सीमाभन्दा बढी बनाइयो वा आवश्यक संरक्षणका उपाय अपनाइएनन् भने पहिरोको जोखिम उल्लेखनीय रूपमा बढ्न सक्छ। त्यसैले भिरालो स्थलाकृति माइखोला क्षेत्रको पहिरो समस्याको स्थायी तथा अपरिवर्तनीय प्राकृतिक आधार हो।
४. नदी कटान
माइखोला नदी तथा यसका सहायक खोलाले पहिरो उत्पन्न गर्ने प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। विशेष गरी मनसुनी अवधिमा नदीको बहाव तीव्र भएपछि किनारको माटो तथा चट्टान निरन्तर कटान हुने गर्दछ। नदीले ढलानको तल्लो भाग (टो अफ द स्लोप) काट्दै जाँदा माथिल्लो भागलाई प्राप्त हुने प्राकृतिक समर्थन कमजोर हुन्छ। यसलाई भू-प्राविधिक भाषामा ‘टो इरोजन’ भनिन्छ।
ढलानको आधार कमजोर भएपछि माथिल्लो भागको भार धान्ने क्षमता घट्छ र ठूलो परिमाणमा माटो तथा चट्टान तलतिर खस्ने सम्भावना बढेर जाने हुन्छ। माइखोला क्षेत्रमा देखिएका धेरै पहिरो नदी किनार नजिकै केन्द्रित हुनुको एउटा प्रमुख कारण यही प्रक्रिया हुन सक्छ। नदी कटानले सडक, पुल, कृषि भूमि, खानेपानी संरचना तथा मानव बस्तीलाई प्रत्यक्ष जोखिममा पार्ने गर्दछ। अत्यधिक वर्षा र नदी कटानले संयुक्त रूपमा कार्य गर्दा पहिरोको जोखिम अझ बढ्छ। वर्षाले माथिबाट माटो कमजोर बनाउँछ भने नदीले तलबाट आधार कटान गर्छ। यसरी माथि र तल दुवैतर्फबाट हुने प्रभावका कारण ढलानको स्थायित्व तीव्र रूपमा कमजोर हुन्छ। त्यसैले माइखोला क्षेत्रमा नदी व्यवस्थापन तथा किनारा संरक्षण (रिभर ट्रेनिङ वोर्क्स) लाई पहिरो न्यूनीकरणको महत्त्वपूर्ण उपायका रूपमा लिन आवश्यक देखिएको छ।
पहिरोका प्रमुख मानवजन्य कारकहरू
१. अव्यवस्थित सडक निर्माण
नेपालका पहाडी क्षेत्रमा पहिरोको जोखिम बढाउने प्रमुख मानवजन्य कारणमध्ये सडक निर्माणलाई व्यापक रूपमा स्वीकार गरिएको छ। माइखोला क्षेत्रमा पनि पछिल्ला वर्षमा सडक विस्तार तथा स्तरोन्नतिका कार्य तीव्र रूपमा सञ्चालन भएका छन्। सडक निर्माणका क्रममा पहाड काट्ने, ढलान परिवर्तन गर्ने, अत्यधिक भार भएका उपकरणको प्रयोग गर्ने, जमिन र सडकको क्षमताभन्दा बढी भार भएका साधनको प्रयोग गर्ने तथा ठूलो मात्रामा माटो उत्खनन गर्ने कार्यले प्राकृतिक भू-सन्तुलनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।
यदि सडक निर्माणअघि विस्तृत भू-प्राविधिक अध्ययन नगरिएको, ढलानको उचित डिजाइन नगरिएको वा निर्माणपछि रिटेनिङ वाल, ग्याबियन संरचना, जैविक इन्जिनियरिङ तथा प्रभावकारी ढल निकास प्रणाली निर्माण नगरिएको अवस्थामा वर्षाको पानीले ढलानलाई छिट्टै अस्थिर बनाउँछ। धेरै स्थानमा सडकमाथिबाट आउने पानी उचित निकास नहुँदा सिधै ढलानभित्र पस्ने र पहिरो सुरु हुने अवस्था देखिएको छ। निर्माण सम्पन्न भएपछि नियमित मर्मत सम्भार नगर्नु, ढल निकास अवरुद्ध हुनु तथा निर्माण सामग्री अव्यवस्थित रूपमा फालिनु जस्ता कारणले पनि जोखिमलाई दीर्घकालीन रूपमा बढाउँछन्। त्यसैले सुरक्षित सडक निर्माण केवल इन्जिनियरिङ संरचना निर्माण गर्ने विषय मात्र नभई दीर्घकालीन भू-प्राविधिक व्यवस्थापनसँग पनि सम्बन्धित छ।
२. नदीजन्य तथा खनिजजन्य पदार्थको अत्यधिक दोहन
माइखोला क्षेत्रको भू-पर्यावरणीय सन्तुलनमा प्रभाव पार्ने महत्त्वपूर्ण मानवजन्य कारकहरूमध्ये नदीजन्य तथा खनिजजन्य पदार्थको अत्यधिक दोहन पनि एक हो। पछिल्ला वर्षमा निर्माण कार्यको बढ्दो मागसँगै नदीबाट ढुङ्गा, गिट्टी, बालुवा तथा ग्राभेल (स्यान्ड, ग्राभेल एन्ड बोल्डर) को उत्खनन उल्लेखनीय रूपमा बढेको छ। यद्यपि यस्ता पदार्थको नियन्त्रित र वैज्ञानिक व्यवस्थापन विकास निर्माणका लागि आवश्यक पनि मानिन्छ, तर वातावरणीय अध्ययन, नदी प्रणालीको वहन क्षमता (क्यारिङ क्यापसिटी) तथा कानुनी मापदण्डलाई बेवास्ता गरी गरिने अत्यधिक उत्खननले नदीको प्राकृतिक प्रवाह, किनाराको स्थायित्व तथा समग्र जलाधार प्रणालीमा गम्भीर नकारात्मक प्रभाव पारिरहेको छ।
नदीजन्य पदार्थको अत्यधिक उत्खननले नदीको प्राकृतिक तल्लो सतह (रिभर बेड) को उचाइ घटाउने, बहावको दिशा परिवर्तन गर्ने तथा नदीको कटान क्षमता (इरोजिभ पावर) बढाउने सम्भावना रहन्छ। नदीको तल्लो सतह अत्यधिक गहिरो हुँदा किनाराको आधार (टो सपोर्ट) कमजोर बन्छ, जसका कारण नदी किनारका ढलान क्रमशः अस्थिर हुँदै जान्छन्। विशेष गरी मनसुनी अवधिमा नदीको बहाव बढ्दा यस्ता कमजोर किनारामा तीव्र कटान (टो इरोजन) हुन्छ, जसले माथिल्लो ढलानमा पहिरो सुरु गराउन वा पहिलेदेखि कमजोर रहेको ढलानलाई थप अस्थिर बनाउन सक्छ।
माइखोला जस्ता पहाडी नदीमा ढुङ्गा, गिट्टी तथा बालुवा प्राकृतिक रूपमा नदीको बहावलाई सन्तुलित गर्ने, नदीको ऊर्जा अवशोषण गर्ने तथा किनारालाई स्थायित्व प्रदान गर्ने महत्त्वपूर्ण पक्ष हुन्। अत्यधिक उत्खननका कारण यी प्राकृतिक संरचना हटेपछि नदीको बहाव अझ तीव्र हुन्छ र कटानको दर उल्लेखनीय रूपमा बढ्न सक्छ। यसले नदी किनारमा रहेका सडक, पुल, सिँचाइ संरचना, कृषि भूमि तथा मानव बस्तीलाई प्रत्यक्ष जोखिममा पार्ने सम्भावना रहन्छ।
यसका अतिरिक्त, माइखोला क्षेत्र तथा यसको आसपासका स्थानमा ढुङ्गा तथा अन्य खनिजजन्य पदार्थको अव्यवस्थित उत्खननले पनि ढलानको स्थायित्वमा प्रतिकूल प्रभाव पारिरहेको छ। पहाडको प्राकृतिक आधार (नेचुरल स्लोप सपोर्ट) हटाउने, विस्फोटक पदार्थको प्रयोग, भारी मेसिनरीको सञ्चालन तथा उत्खननपछि ढलानको उचित व्यवस्थापन नगर्ने अवस्थाले चट्टान तथा माटोको प्राकृतिक सन्तुलनमा अस्वाभाविक परिवर्तन ल्याउन सक्छ। यदि यस्ता गतिविधि कमजोर भूगर्भीय संरचना भएका क्षेत्रमा सञ्चालन गरिए भने पहिरोको सम्भावना अझ बढी हुन सक्छ।
वैज्ञानिक अध्ययनले नदीजन्य पदार्थको दोहन र पहिरोबीचको सम्बन्ध प्रत्यक्षभन्दा पनि अप्रत्यक्ष (इनडाइरेक्ट) हुने देखाएका छन्। नदीजन्य पदार्थको अत्यधिक उत्खननले नदी कटानलाई तीव्र बनाउँछ, नदी कटानले ढलानको आधार कमजोर बनाउँछ, र त्यसपछि अत्यधिक वर्षा, कमजोर भूगर्भीय संरचना तथा तीव्र ढलानसँग संयुक्त रूपमा कार्य गर्दा पहिरो उत्पन्न हुने सम्भावना बढ्छ। त्यसैले नदीजन्य पदार्थको दोहनलाई एकल कारणका रूपमा नभई पहिरोको जोखिम बढाउने सहायक (कन्ट्रिब्युटिङ) मानवजन्य कारकका रूपमा बुझ्न आवश्यक हुन्छ।
नेपालको प्रचलित कानुन तथा वातावरणीय व्यवस्थापन सम्बन्धी नीतिले नदीजन्य पदार्थको उत्खननलाई वातावरणीय अध्ययन, स्वीकृत कार्ययोजना तथा स्थानीय निकायको नियमन अन्तर्गत सञ्चालन गर्नुपर्ने संवैधानिक र कानुनी व्यवस्था गरेका छन्। तथापि, व्यवहारमा अनुगमनको कमजोरी, अवैध उत्खनन, स्वीकृत परिमाणभन्दा बढी निकासी तथा नदीको संवेदनशील क्षेत्रमा गरिने दोहनका कारण वातावरणीय जोखिम बढ्ने गरेको विभिन्न सरकारी प्रतिवेदनले समेत औँल्याएका छन्। यस अध्ययनका आधारमा माइखोला क्षेत्रमा नदीजन्य तथा खनिजजन्य पदार्थको अत्यधिक दोहनले नदी कटान, ढलान अस्थिरता तथा पहिरोको जोखिमलाई अप्रत्यक्ष रूपमा वृद्धि गरिरहेको देखिएको छ।
३. वन विनाश तथा भूमि उपयोगमा परिवर्तन
वनस्पतिले पहाडी ढलानको स्थायित्व कायम राख्न अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्छ। रूख तथा अन्य वनस्पतिका जराले माटोलाई बाँधेर राख्ने, वर्षाको पानीको सतही बहाव कम गर्ने, पानीको अवशोषणलाई सन्तुलित गर्ने तथा भूक्षय नियन्त्रण गर्ने कार्य गर्दछन्। जब वन क्षेत्र घट्छ, यी प्राकृतिक सुरक्षा संयन्त्र कमजोर बन्छन् र पहिरोको सम्भावना र जोखिम स्वतः बढेर जान्छ।
माइखोला क्षेत्रमा वन विनाशसँगै भूमि उपयोगमा आएको परिवर्तनले पनि पहिरोको जोखिम बढाएकोमा कुनै द्विविधा छैन। भिरालो जमिनमा अनियोजित रूपमा घर निर्माण, कृषि विस्तार, सिँचाइका लागि पानीको अत्यधिक प्रयोग तथा पानी चुहिने संरचनाले माटोको प्राकृतिक अवस्था परिवर्तन गर्न सक्छन्। कतिपय अवस्थामा खेतीका लागि बनाइएका कान्ला तथा अनियन्त्रित पानीको निकासले पनि ढलान अस्थिर बनाउने गरेको पाइन्छ। माइखोलाको आसपास पनि यसबाट अछुतो छैन। वन विनाश र अव्यवस्थित भूमि उपयोगले अत्यधिक वर्षा तथा कमजोर भूगर्भीय संरचनाको प्रभावलाई थप तीव्र बनाउने भएकाले यी कारकलाई पहिरो जोखिम व्यवस्थापनको महत्त्वपूर्ण पक्षका रूपमा लिन आवश्यक छ।
४. जलविद्युत् आयोजनाहरूको सम्भावित प्रभाव
माइखोला क्षेत्रमा देखिएका पहिरोका घटनासँग पुवा खोला र माइखोलामा निर्माण र स्थापना भएका सबै जलविद्युत् आयोजनाको सुरुङ निर्माण तथा अन्य पूर्वाधार गतविधिहरूको सम्भावित सम्बन्धबारे स्थानीय समुदाय, सञ्चारमाध्यम तथा विभिन्न सरोकारवालाबीच समय-समयमा प्रश्न उठ्दै आएका छन्। वैज्ञानिक दृष्टिकोणबाट हेर्दा सुरुङ निर्माण, पहुँच सडक, उत्खनन, नियन्त्रित विस्फोट (कन्ट्रोल्ड ब्लास्टिङ) तथा निर्माण सामग्री व्यवस्थापन जस्ता गतिविधिले स्थानीय भू-सन्तुलनमा धेरै मात्रामा नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना रहन्छ।
विशेष गरी सुरुङ निर्माणका क्रममा भूमिगत पानीको प्राकृतिक प्रवाह (ग्राउन्डवाटर रेजिम) परिवर्तन हुन सक्ने, चट्टानभित्रको तनाव (इन-सिटु स्ट्रेस) पुनः वितरण हुन सक्ने तथा कमजोर चट्टानी संरचनामा रहेका चिरा विस्तार हुन सक्ने विषय धेरै अध्ययन तथा अनुसन्धानमा उल्लेख गरिएको छ। यद्यपि, यस्ता प्रभावको परिमाण स्थानीय भूगर्भीय अवस्था, सुरुङको गहिराइ, निर्माण प्रविधि तथा चट्टानको गुणस्तर आदिमा निर्भर गर्दछ।
माइखोला क्षेत्रमा सुरुङ निर्माण र पहिरोबीच प्रत्यक्ष कारण-परिणाम सम्बन्ध स्थापित गर्न हालसम्म सार्वजनिक रूपमा उपलब्ध वैज्ञानिक प्रमाण पर्याप्त छैनन्। यस्तो निष्कर्षमा पुग्न सुरुङको रेखाङ्कन (टनल एलाइनमेन्ट), पहिरोको स्थान, निर्माण अघिको तथा निर्माणपछिको भू-अवस्था, भूमिगत पानीको परिवर्तन, वर्षाको अभिलेख तथा विस्तृत भू-प्राविधिक परीक्षणको संयुक्त विश्लेषण आवश्यक हुन्छ। त्यसैले उपलब्ध प्रमाणका आधारमा पुवा खोला र माइखोला जलविद्युत् आयोजना सम्पूर्ण पहिरोको मुख्य कारण प्रत्यक्ष रूपमा देखिए तापनि अप्रत्यक्ष रूपमा यही मात्र हो भनेर ठोकुवाका साथ निष्कर्ष निकाल्न अलिक हतार हुन सक्छ। तथापि, यसको सम्भावित प्रभावलाई निष्पक्ष, स्वतन्त्र तथा बहुविषयगत वैज्ञानिक अध्ययनमार्फत मूल्याङ्कन गर्नु भविष्यका लागि अत्यन्त आवश्यक देखिन्छ।
निष्कर्ष
प्रस्तुत अध्ययनले इलाम जिल्लाको माइखोला क्षेत्रमा देखिएको पहिरोको समस्या कुनै एकल कारणको परिणाम नभई प्राकृतिक तथा मानवजन्य कारकको जटिल अन्तरक्रियाबाट उत्पन्न भएको बहुआयामिक (मल्टीफ्याक्टोरियल) भू-प्राकृतिक प्रक्रिया भएको कुरा निर्विवाद रहेको देखाउँछ। उपलब्ध वैज्ञानिक साहित्य, भूगर्भीय अध्ययन, वातावरणीय प्रतिवेदन तथा पहाडी क्षेत्रका पूर्वाधार विकास सम्बन्धी अनुसन्धानको विश्लेषणका आधारमा माइखोला क्षेत्र प्राकृतिक रूपमा नै उच्च पहिरो जोखिमयुक्त भूभाग रहेको देखिन्छ।
यस क्षेत्रको कमजोर भूगर्भीय संरचना, अत्यधिक अपक्षय भएका चट्टान, पुराना पहिरोका निक्षेप, तीव्र ढलान तथा उच्च मनसुनी वर्षा पहिरो उत्पन्न गराउने प्रमुख प्राकृतिक आधारभूत कारक हुन्। जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा छोटो अवधिमा अत्यधिक वर्षा हुने प्रवृत्ति बढ्दै जाँदा यी प्राकृतिक जोखिम अझ तीव्र बन्दै गएको देखिन्छ। यी प्राकृतिक कारणसँगै मानवजन्य गतिविधिले पनि पहिरोको जोखिममा महत्त्वपूर्ण योगदान पुर्याएको देखाएको छ। विशेष गरी सडक निर्माणका क्रममा गरिने पहाड कटान, अपर्याप्त ढल निकास प्रणाली, ढलान संरक्षणको कमी, वन क्षेत्रको क्षयीकरण, अव्यवस्थित भूमि उपयोग तथा नदी किनारमा हुने मानवीय हस्तक्षेपले प्राकृतिक रूपमा कमजोर रहेको भू-सन्तुलनलाई थप अस्थिर बनाएका छन्।
पहाडी क्षेत्रमा विकास निर्माण अपरिहार्य भए पनि पर्याप्त भू-प्राविधिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन तथा निर्माणपछिको नियमित अनुगमनबिना गरिएका गतिविधिले प्राकृतिक जोखिमलाई थप जटिल बनाउन सक्ने तथ्य यसले पुनः पुष्टि गरेको छ। पुवा खोला र माइखोला जलविद्युत् आयोजनाको सुरुङ र अन्य भौतिक संरचनाको निर्माण र माइखोला क्षेत्रमा देखिएका पहिरोका घटनाबीच सम्भावित सम्बन्धबारे स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म विभिन्न धारणा व्यक्त हुँदै आएका छन्। उपलब्ध वैज्ञानिक सिद्धान्तका आधारमा सुरुङ निर्माणका क्रममा हुने उत्खनन, नियन्त्रित विस्फोट, भूमिगत पानीको प्रवाहमा सम्भावित परिवर्तन, पहुँच सडक निर्माण तथा निर्माण सामग्री व्यवस्थापनले स्थानीय क्षेत्रमा भू-सन्तुलनमा प्रभाव पार्न सक्ने सम्भावना रहन्छ।
तथापि, यस अध्ययनका क्रममा समीक्षा गरिएका सार्वजनिक रूपमा उपलब्ध वैज्ञानिक प्रमाण, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा अन्य अनुसन्धानका आधारमा पुवा खोला जलविद्युत् आयोजनाको सुरुङलाई माइखोला क्षेत्रको सम्पूर्ण पहिरोको प्रमुख वा एकमात्र कारणका रूपमा पुष्टि गर्न पर्याप्त प्रमाण हो भन्ने एकल आधार प्रमाणित हुन नसके पनि हैन भन्ने आधार पनि कमजोर रहेका छन्। त्यसैगरी, सुरुङ निर्माणले कुनै पनि प्रभाव पारेको छैन भन्ने निष्कर्षमा पुग्न पनि हाल उपलब्ध तथ्य पर्याप्त छैनन्। त्यसैले यस विषयमा दुवै प्रकारका दाबीलाई विस्तृत, स्वतन्त्र तथा प्रमाणमा आधारित अनुसन्धानबाट मात्र पुष्टि वा खण्डन गर्न सकिने देखिन्छ।
माइखोला क्षेत्रमा पहिरोको वास्तविक कारण पहिचान गर्न बहुविषयगत (मल्टीडिसिप्लिनरी) अनुसन्धानको आवश्यकता रहेको छ। भविष्यमा उच्च-रिजोलुसन भूगर्भीय नक्साङ्कन, भू-प्राविधिक परीक्षण, ढलान स्थायित्व विश्लेषण, भूमिगत पानीको प्रवाहसम्बन्धी अध्ययन (हाइड्रोजियोलोजिकल इन्भेस्टिगेसन), उपग्रह चित्र तथा जीआईएस विश्लेषण, वर्षाको दीर्घकालीन अभिलेख र निर्माणपूर्व तथा निर्माणपछिको अवस्थाको तुलनात्मक अध्ययनलाई एकीकृत गरी अनुसन्धान सञ्चालन गर्नु आवश्यक देखिन्छ। यस्ता अध्ययनले पुवा खोला र माइखोला जलविद्युत् आयोजना, सडक निर्माण, नदी कटान तथा प्राकृतिक प्रक्रियाबीचको वास्तविक अन्तरसम्बन्ध स्पष्ट गर्न सहयोग पुर्याउनेछन्।
नीतिगत दृष्टिकोणबाट हेर्दा, माइखोला क्षेत्र जस्ता संवेदनशील पहाडी भूभागमा भविष्यका सबै पूर्वाधार विकास आयोजना विस्तृत भू-प्राविधिक तथा जलविज्ञान अध्ययनका आधारमा मात्र कार्यान्वयन गरिनुपर्छ। वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) लाई औपचारिक प्रक्रिया मात्र नभई प्रभावकारी कार्यान्वयन र नियमित अनुगमनसँग जोड्न आवश्यक छ। सडक तथा जलविद्युत् आयोजनामा वैज्ञानिक ढलान संरक्षण, प्रभावकारी सतही तथा भूमिगत पानी व्यवस्थापन, जैविक इन्जिनियरिङ प्रविधिको प्रयोग, नदी किनार संरक्षण तथा पहिरोको वास्तविक समय अनुगमन प्रणाली (रियल-टाइम मोनिटरिङ सिस्टम) विकास गर्नुपर्ने आवश्यकता देखिएको छ।
तसर्थ, प्रकृतिको उपहार, मानवीय गल्ती, प्राविधिक कमजोरी आदि पक्षलाई समाएर राज्यका निकाय र सरोकारवालाले यसैलाई दुहुनो गाईको रूपमा उपयोग गरी निरन्तर स्थानीयवासी, यात्रु र आमनागरिकलाई दुःख दिएर फाइदा उठाउने प्रवृत्तिको अन्त्य हुनु अनिवार्य छ। प्राकृतिक स्रोतको संरक्षण र संवर्द्धन गर्दै आमनागरिकको जीउधनको रक्षा र सबैलाई सहज हुने गरी वैकल्पिक क्षेत्र (सिमल गोलाई-तिल्केनी) सडकलाई स्तरोन्नति गर्दै पूर्वाधारमा लगानी गर्नु र पहिरोको स्थायी रोकथामको उपाय अपनाएर सबै पक्षको सकारको सम्बोधन हुनु अनिवार्य छ।
माइखोला क्षेत्रको पहिरो समस्यालाई कुनै एक संस्था, आयोजना वा प्राकृतिक घटनासँग मात्र जोडेर व्याख्या गर्नु वैज्ञानिक दृष्टिले पर्याप्त हुँदैन। यसलाई प्राकृतिक भू-प्रक्रिया, जलवायु परिवर्तन, भूगर्भीय अवस्था तथा मानवजन्य विकास गतिविधिको संयुक्त प्रभावका रूपमा बुझेर प्रमाणमा आधारित योजना, दिगो पूर्वाधार विकास, वातावरणीय उत्तरदायित्व तथा वैज्ञानिक जोखिम व्यवस्थापनका माध्यमबाट समाधान खोज्नु नै दीर्घकालीन रूपमा उपयुक्त र प्रभावकारी रणनीति हुनेछ।
