तेस्रो पाठशाला महोत्सवमा जुट्यो चुलाचुली रंगमञ्च
इलाम। रंगमञ्च गतिविधिमा सक्रिय चुलाचुली रंगमञ्चले माघ दोस्रो साता तेस्रो चुलाचुली पाठशाला नाट्य महोत्सव आयोजना गर्ने भएको छ।
महोत्सव माघ १४ र १५ गते हुनेछ। चुलाचुली–३ स्थित शिव ओरक मिलन पोखरी पर्यटन क्षेत्रमा हुने महोत्सवका लागि पूर्वाधार बनाउने काम भइरहेको संस्थाले जनाएको छ। मञ्च र दर्शक दीर्घा लगायत संरचना बनाउन स्थानीय रंगकर्मीहरु जुटिरहेका छन्।
उक्त स्थानमा बनाइने खुला रंगमञ्चमा बिहान १० देखि अपरा्हन ४ बजेसम्म नाटकहरु प्रदर्शन गरिने संस्थाका अध्यक्ष चेतन आङ्थुपोले जानकारी दिए।
महोत्सवका अवसरमा नाटक मञ्चनका साथै कार्यशाला पनि आयोजना गरिने भएको छ। यसैगरी नाटक र कलाका अन्य विधामा आधारित रहेर छलफल कार्यक्रम पनि हुनेछ।
यसका लागि विभिन्न विद्यालयहरुबाट परेकामध्ये सात वटा विद्यालय छनोटमा परेको सचिव सन्तोष गिरीले जानकारी दिए।
छानिएका विद्यालयहरुमा चुलाचुली–२ को अमृत बोर्डिङ स्कुल, सोही स्थानको जनता मावि, चुलाचुली–४ को बालज्योति माध्यमिक विद्यालय, सोही स्थानको पञ्चबुद्ध एकेडेमी, मधुमल्लाको रिलायन्स बोर्डिङ स्कुल छन्।

यसैगरी, मोरङ, सुन्दरहरैँचा विराटचोकको सुबिजुमुर मेमोरियल बोर्डिङ स्कुल र हेटौंडाको ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालय पनि महोत्सवका लागि छानिएका छन्।
२०६९ मा स्थापित चुलाचुली रंगमञ्चले नाटक महोत्सव, नाट्य कार्यशाला जस्ता गतिविधि गर्दै आएको छ।
यसअघि भएको दोस्रो महोत्सवमा १० वटा नाटक मञ्चन गरिएको थियो। महोत्सवकै अवसर पारेर अन्तरक्रिया पनि आयोजना गरिएको थियो। यस्तै, पहिलो महोत्सवमा ६ वटा नाटक मञ्चन गरिएको थियो।

खासगरी विद्यार्थीलाई लक्षित गरी संस्थाले नाट्य कार्यशाला र महोत्सवहरू आयोजना गर्दै आएको छ।
‘विद्यार्थीलाई केवल पास, फेलको सेरोफेरोमा पढाउने कामले उनीहरुको सिर्जनात्मक पाटो समृद्ध हुन सक्दैन’ अध्यक्ष आङथुपो भन्छन्, ‘उनीहरु सिर्जनशील काममा कति सहभागी छन् भन्ने कुरा महत्वपूर्ण हो।’
यही कुरालाई ध्यानमा राख्दै आफूहरुले विद्यार्थीलक्षित रंगमञ्च र चित्रकलासम्बन्धी क्रियाकलाप गर्दै आएको उनले बताए।
मण्डला नाटकघरमा ‘बुद्ध र भिखारी’ प्रस्तुत गर्दै चुलाचुली थिएटर
इलामको दुर्गम गाउँमा ग्रीसेली शैलीको प्राकृतिक नाट्यशालामा महोत्सव
