इलामको दुर्गम गाउँमा ग्रीसेली शैलीको प्राकृतिक नाट्यशालामा महोत्सव

इलाम । दक्षिणी इलामको दुर्गम मानिने चुलाचुलीमा स्थानीय युवाको सक्रियतामा रंगमञ्चमार्फत् सिर्जनात्मक गतिविधि भइरहेका छन् । नाटक, साहित्यिक गतिविधि जस्ता सिर्जनात्मक काम सहरतिर केन्द्रित भइरहेका बेला स्थानीय युवाले आफ्नै ठाउँमा त्यस्ता गतिविधि गरिरहेका छन् ।

चुलाचुली इलामको दक्षिण र झापाको उत्तरी क्षेत्रमा पर्छ । कुनै कामका लागि त्यहाँका बासिन्दाले इलाम जिल्ला सदरमुकाम जानुपर्दा लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

चुलाचुलीको नजिकको बजार झापाको दमक र आसपास क्षेत्र हो । विकासको क्षेत्रमा पछि पारिएको उक्त स्थानमा युवा प्रयासमा नाट्य महोत्सव यसअघि पनि भएको थियो ।

केही वर्षयता रंगकर्ममा सक्रिय युवाहरुले यसपटक ‘चुलाचुली पाठशाला नाट्य उत्सव-२०७९’ आयोजना गर्दैछन् । महोत्सवका लागि विभिन्न संस्था र व्यक्तिहरुले नगद र अरु सहयोग गरिरहेका छन् ।

माघ १० र ११ गते हुने महोत्सवमा १० वटा नाटक प्रदर्शन गरिने भएको छ । महोत्सवमा रंगमञ्च, चलचित्रका कलाकारहरु पनि सहभागी हुने छन् । यसैगरी साहित्यिक, सांस्कृतिक क्षेत्रका व्यक्तिहरु पनि सहभागी हुने आयोजक संस्थाले जनाएको छ ।

यसपटक मोरङ, झापा र चुलाचुलीका विभिन्न समूहले तयार पारेका नाटक प्रदर्शन गरिने संस्थाका अध्यक्ष चेतन आङथुपोले बताए । मोरङ र झापाका एक-एकवटा नाटक हुनेछन् भने चुलाचुलीकै विद्यालय र अरु समूहका गरी आठवटा नाटक महोत्सवमा समेटिने निधो गरिएको छ ।

यसअघि २०७९ मा ‘चुलाचुली रंगमञ्च नाटक संस्था’ मा आबद्ध ती युवाले आयोजना गरेको पहिलो महोत्सवमा ६ वटा नाटकले सहभागिता जनाएका थिए ।

हरेक वर्ष महोत्सव आयोजना गर्ने योजना भए पनि बीचमा कोरोना महामारीका कारण हुन सकेको थिएन ।

महोत्सवका लागि जंगल क्षेत्रको खुला ठाउँमा रंगमञ्च र दर्शक दीर्घा बनाउने काम धमाधम भइरहेको छ ।

रंगमञ्च र दर्शक दीर्घाको संरचना आकर्षक छ । खुला आकाशमुनि चित्रा र बाँस जस्ता स्थानीय सामग्री प्रयोग गरेर नाट्यशाला निर्माण भइरहेको छ । दर्शकलाई बस्नका लागि बाँसका कुर्सी बनाइएका छन् । नाटकमा कलाकारहरुले प्रयोग गर्ने सामग्रीहरु पनि स्थानीय स्तरमै पाइने प्रयोग गरिनेछ ।

ग्रीसेली नाट्य संस्कृतिमा प्रचलित ‘एम्पिथिएटर’ को झल्को दिने खालको संरचना बनाइएको भनेर महोत्सव सुरु हुनु अघि नै चर्चामा पनि छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका लेक्चरर दिपक लुङ्गेली मगरले चुलाचुलीका युवा रंगकर्मीहरूको प्रयासलाई प्रशंसा गरेका छन् ।

उनले आदिवासी सौन्दर्यशास्त्र ‘एथ्नोएस्थिटिक्स’ सँग जोडिएको मानिस र प्रकृतिबीचको अन्योन्यास्रित सम्बन्धलाई उजागर गर्न खोजिएको उल्लेख गरेका छन् ।

महोत्सव अवसरमा नाट्य कार्यशाला पनि सञ्चालन गरिने भएको छ । कार्यशालामा सहभागी कलाकारहरुलाई चर्चित कलाकार एवं निर्देशक विजय बरालले प्रशिक्षण दिने भएका छन् ।

यसैगरी चित्रकला कार्यशाला पनि महोत्सवको अर्को आकर्षणका रुपमा हुनेछ । यो कार्यशालामा किरण सिगु लिम्बू, विजय लावती र आयशा आङथुपोलगायतले सहजीकरण गर्ने आयोजक संस्थाले जनाएको छ ।

खासगरी विद्यार्थीलाई लक्षित गरी संस्थाले नाट्य कार्यशाला र महोत्सवहरू आयोजना गर्दै आएको छ ।

‘विद्यार्थीलाई केवल पास, फेलको सेरोफेरोमा पढाउने कामले उनीहरुको सिर्जनात्मक पाटो समृद्ध हुन सक्दैन’ संस्थाका अध्यक्ष आङथुपोले भने, ‘उनीहरु सिर्जनशील काममा कति सहभागी छन् भन्ने कुरा महत्वपूर्ण हो ।’

यही कुरालाई ध्यानमा राख्दै आफूहरुले विद्यार्थीलक्षित रंगमञ्च र चित्रकलासम्बन्धी क्रियाकलाप गर्दै आएको उनले बताए ।

नाटक, साहित्यिक, सांस्कृतिक कार्यक्रमहरु राजधानी र ठूला सहरमा केन्द्रित हुने गरेको तर गाउँमा हुने गतिविधिले महत्व पाउन नसकेको आङथुपोको बुझाइ छ ।

त्यसैले गाउँमा यस्ता सिर्जनात्मक गतिविधि केन्द्रित गरिएको उनले बताए । ‘प्रकृतिसँग नजिक रहनुपर्छ भन्ने हामीलाई लाग्छ’ उनले भने, ‘त्यसैले रंगमञ्च र दर्शक दीर्घा हामीले जंगलबीच बनाएका छौं ।’

-तस्बिरहरू: सुमन लिङ्देन/चेतन आङथुपो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *