मण्डला नाटकघरमा ‘बुद्ध र भिखारी’ प्रस्तुत गर्दै चुलाचुली थिएटर

काठमाडौं । इलामको चुलाचुली थिएटरले काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा ‘बुद्ध र भिखारी’ नाटक मञ्चन गर्ने भएको छ ।
जेठ १६ देखि ३२ गतेसम्म नाटक मञ्चन गरिने भएको हो । नेपाली पौराणिक लोककथालाई चेतन आङ्थुपोले नाट्य रुपान्तरण गरेका छन् । परिकल्पना तथा निर्देशन अनिल सुब्बाको छ ।
‘स्याडो प्ले’ को माध्यमले नाटक मञ्चन गरिने निर्देशक सुब्बाले बताए । उनका अनुसार नाटकको यो माध्यम नेपाली रंगमञ्चमा निकै कम प्रयोग भएको छ ।
करिब ४५ मिनेट अवधिका नाटक सोमबारबाहेक हरेक दिन बेलुका ५ बजेदेखि मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे पनि मञ्चन हुनेछ ।
नाटकमा कलाकारहरु बेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा, गणेश ताण्डब, नवीनचन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बु, सञ्जीव योगी, मनिष मगर, मोहन राईलगायतको अभियन रहनेछ ।
नाटकमा बालकृष्ण राई, सुरज तमु, अनिल सुब्बा र प्रबृदि राईको संगीत संयोजन रहने जनाइएको छ ।
यसअघि २०७८ चैतमा उक्त नाटक चुलाचुली ३ स्थित मिलन क्लबको सभाहलमा प्रदर्शन भएको थियो ।
त्यसपछि २०७९ वैशाखमा काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित बुद्ध नाट्य महोत्सवमा तथा त्यसै वर्ष मंसिरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मण्डला नाटकघरमा मञ्चन भएको थियो ।
आफ्नो झुपडीमा मुसाहरुले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभर गरेको संघर्ष र रमाइला पलहरुलाई नाटकमा प्रस्तुत गरिएको छ ।
चुलाचुली रंगमञ्चका संस्थापक अध्यक्ष तथा नाटकका अनुवादक आङ्थुपोले गाउँमा पहिलो पटक ‘स्याडो प्ले माध्यममले नाटक मञ्चन गर्दा दर्शकलाई बुझ्न असहज होला कि भन्न लागेका तर दर्शकबाट राम्रो प्रतिक्रिया आएको बताए ।
नाटकमा सहकार्य तथा सहयोगीको रुपमा आर्टमाण्डु, चुलाचुली मिडिया, एम्टी स्टोमाच, बिम्ब, जुम मिडिया छन् ।