‘झोडा’ लिएर आउँदै चुलाचुली नाट्य समूह

 

विराटनगर । चुलाचुली नाट्य समूह आफ्नो नयाँ नाटक ‘झोडा’ दर्शकमाझ लिएर आउने तयारीमा छ । पूर्वाभ्यास र नाटकका लागि अरु तयारीको अन्तिम चरणमा समूह जुटेको छ ।

उपन्यासमा आधारित यो नाटक प्रारम्भिक चरणमा असोज २६ गतेदेखि ३० गतेसम्म किरात भवन रायालि सेवा संघ दमकको हलमा प्रदर्शन हुनेछ ।

गायक, संगीतकार एवं लेखक गणेश रसिकको ‘आकाश गंगाको ओतमुनि’ उपन्यासलाई सुमन लिङ्देनले नाट्य रूपान्तरण गरेका छन् भने नाटकको परिकल्पना एवं निर्देशन चेतन आङथुपोले गरेका छन् ।

आङथुपो मोफसलमा नाटकलाई व्यावसायिक रूपमा अघि बढाउने प्रयत्नमा तल्लीन छन् । एक दशकभन्दा लामो समय उनले गाउँको रंगकर्ममा बिताइसकेका छन् ।

उनका अनुसार पूर्वमा पैसा तिरेर नाटक हेर्ने संस्कार सुरु भइसकेको छ । यसले नाटक बिस्तारै व्यावसायिक बन्न थालेको संकेत गर्ने उनको भनाइ छ ।

लाहुरे बन्ने र विदेश गएर मनग्य पैसा कमाउने सपनालाई त्यागेर उनी गाउँमै नाटकको विकासमा जुटेका छन्  ।

नाटकको व्यवस्थापनमा सूर्य लिम्बुको भूमिका छ भने नाटकका निर्माता सुरेश माङपाहाङ राई छन् । उनी पहिले जनवादी गायक बनेर गीत गाउँदै गाउँ गाउँमा हिँडेको स्मरण गर्छन् । हाल आएर नाटक ‘झोडा’ को टिमसँग उनी जोडिएका छन् ।

नाटकमा आफूले प्रत्यक्ष देखे, भोगेका कुराहरु वास्तविक जीवनका चित्रणहरु समेटिएका कारण पनि निर्माता बनेर काम गर्ने हुटहुटी जागेको उनको भनाइ छ ।

झोडा, मुख्यतः जग्गा आवाद, त्यसको राजनैतिक स्वामित्व र अधिकार प्राप्तिको संघर्षमा केन्द्रित विषय हो । विशेषतः सुदूर पूर्वमा आदिमकालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरुलाई नाटकमा मुख्य पात्रका रुपमा उभ्याइएको छ ।

स्थायी रुपमा भौगोलिक विकेन्द्रीकरणको अभ्यास तथा नयाँ आवादमा सरकार र राजनैतिक दलहरुले भुपू सैनिकहरुलाई झोडामा जग्गा दिलाइदिने प्रलोभनमा पारी कसरी प्रयोग गरे, राजनैतिक भुँमरीमा परी उनीहरुले के कति मूल्य चुकाउनु पर्यो ? आदिवासी भूमि पुत्रहरु कसरी सुकुम्बासी भए ? राजनैतिक स्वार्थले आफ्नो समुदायबीच कसरी फाटो ल्यायो ? र आदिवासी जनजाति प्रतिको दृष्टिकोण भूमि स्वामित्वको लागि गर्नु परेको संघर्ष र सुकुम्बासी समस्या नाटकको मूल विषय वस्तु हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *