मण्डला मञ्चमा माघ ४ देखि ‘मुक्कुम्लुङ’
काठमाडौं। मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने भएको छ। अनिल सुब्बाले निर्देशन गरेको नाटक ‘पृथ्वीको पहिलो नारी’ मुजिङना खेयङनाको मुन्धुममा आधारित रहेको जनाइएको छ।
एक थिएटरको सहकार्यमा चुलाचुली रङ्गमञ्चले उक्त नाटक प्रस्तुत गर्न लागेको हो। नाटकमा पछिल्लो समय मुक्कुम्लुङ संरक्षण र आन्दोलनसम्मका घटना क्रमलाई समेटिएको जनाइएको छ।
पछिल्लो समय ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा ‘मक्कुम्लुङ संरक्षण’ अर्थात् ‘नो केवलकार’ आन्दोलन चलिरहेको छ। मुक्कुम्लुङ याक्थुङ (लिम्बू) हरूको पवित्रस्थल रहेको, त्यहाँ केवलकार स्थापना गरिँदा मुक्कुम्लुङ र लिम्बूहरूको सम्बन्ध विस्थापन हुने साथै प्रकृतिको दोहन हुने भएकाले स्थानीयसहित सरोकार भएकाले ‘नो केवलकार’ आन्दोलन गरिरहेका छन्।
सोही आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै मुक्कुम्लुङको महत्व बुझाउन नाटक निर्माण गरिएको एक थिएटरका अध्यक्ष विष्णु मोक्तानले बताए।
निर्देशक सुब्बाले मुक्कुम्लुङ नाटक मात्रै नभएर आन्दोलन पनि भएको बताएका छन्। नाटकका लेखक गीलु रातोसका अनुसार मुक्कुम्लुङलाई याक्थुङ समुदायले आफ्नो शिर मान्ने गर्छन्। अहिले त्यही शिर माथि भएको दमनविरुद्ध सर्जकहरूको आन्दोलनका रूपमा यस नाटकलाई लिन सकिने उनले बताए।
अनिल सुब्बा, गीलु रातोस र विष्णु मोक्तानको संयुक्त लेखन रहेको नाटकमा विष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बू, सौजन सेनेहाङ, मणि के राई, भूमिका थारूलगायत कलाकारको अभिनय रहने छ।
चुलाचुली रङ्गमञ्चका अध्यक्ष चेतन आङथुपोका अनुसार नाटक उक्त मञ्चनका साथै माघ १४ र १५ गते चुलाचुली पाठशाला नाटक महोत्सवको पनि तयारी भइरहेको छ।
