असन्तुष्टिका बीच शिक्षा विधेयक पारित गर्दै संसदीय समिति

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमाथि आज संसदीय समितिमा छलफल गरिँदैछ। संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बिहीबार बस्ने बैठकमा लगभग अन्तिम छलफल हुने भएको हो।

समितिको बैठक बिहान ८ बजेका लागि बोलाइएको छ। यसअघि उपसमितिको प्रतिवेदनमाथि छलफल सकेर संशोधनसहित तयार भएको प्रतिवेदन अध्ययनको लागि सांसदहरूलाई वितरण गरिएको थियो। उनीहरूलाई अध्ययनका लागि दुई दिनको समय दिइएको थियो।

त्यही प्रतिवेदनलाई पारित गरी समितिबाट अन्तिम रूप दिन लागिएको हो। समितिबाट पारित भएपछि विधेयक प्रतिनिधिसभामा पेस गरिने छ। त्यसपछि त्यहाँबाट पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।

उक्त विधेयकमा राखिएका कतिपय विषयमा नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाउँदै आएको छ। उसले शिक्षकका माग बेवास्ता गरिएको भन्दै आन्दोलन गर्ने जनाइसकेको छ। यस्तै, निजी विद्यालय सञ्चालकहरूले पनि आन्दोलन घोषणा गरेका छन्। यही असन्तुष्टिका बीच विधेयकलाई समितिले पारित गर्न लागेको हो।

निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवासीय सुविधा र क्रमशः गैरनाफामूलक बनाउने भन्ने शब्द नराख्न माग गरिरहेका छन्। समितिका सदस्यहरू भने छात्रवृत्तिमा आवसीय सुविधा राख्नुपर्ने पक्षमा छन्।

शिक्षक महासंघले पनि भदौ दोस्रो साताबाट आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघले आजै पत्रकार सम्मेलन मार्फत् आन्दोलनबारे धारणा सार्वजनिक गर्ने जनाएको छ । शिक्षक महासंघले आवधिक बढुवा, अस्थायी प्रकृतिका शिक्षक, कर्मचारी, ईसीडी लगायतमा सहमति अनुसार नभएको भन्दै असन्तुष्टि जनाएको छ।

निजी विद्यालयले भने आन्दोलन सुरु गरिसकेको छ। आज बिहान ११ देखि १ बजेसम्म माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म प्रिन्सिपलहरूले ब्यानरसहित र्याली गर्ने र कोणसभा गर्ने, भदौ ६ गते देशभर स्कुल बस उतारेर नगर परिक्रमा गर्ने तथा काठमाडौँको चक्रपथ वरिपरि कालो झन्डासहित र्याली गर्ने तय भएको छ ।

* * *

विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू

शिक्षा विधेयकको परिमार्जित प्रतिवेदनमा के छ ? (हेरौं विस्तृत)

शिक्षा विधेयक प्रतिवेदन सदस्यहरूलाई, भदौ ५ गते पारित गरिने

शिक्षक पदपूर्ति खुला प्रतिस्पर्धाबाट मात्रै गर्न माग

शिक्षा विधेयकप्रति चर्को असन्तुष्टि

शिक्षा विधेयकबारे अन्तिम फैसला अब आन्दोलनबाटै : महासंघ

शिक्षा विधेयक : के के बुँदामा भयो संशोधन ?

कस्तो आउला शिक्षा विधेयक ? के हो २७ बुँदे सहमति ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *