शिक्षक पदपूर्ति खुला प्रतिस्पर्धाबाट मात्रै गर्न माग

काठमाडौ। विभिन्न १६ विद्यार्थी संगठनहरूले विद्यालय शिक्षा विधेयकमा शिक्षक पदपूर्ति खुला प्रतिस्पर्धाबाट मात्र हुनुपर्ने माग अघि सारेका छन्। यो मागसहित उनीहरूले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई ज्ञापनपत्र बुझाएका छन्।

समितिका सभापति अम्मरबहादुर थापालाई सोमबार संयुक्त रूपमा उनीहरूले ज्ञापनपत्र बुझाएका हुन्। शिक्षकको योग्यता गुणस्तरीय शिक्षाको मानक भएकाले शिक्षक नियुक्ति प्रक्रिया संविधानले अंगीकार गरेको समावेशी र योग्यता प्रणालीमा आधारित शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्र हुनुपर्ने उनीहरूको माग छ।

सरकारले पटक–पटक शिक्षक ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि त्यो हुन नसकेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्। ज्ञापनपत्रमा माध्यमिक तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क हुनुपर्ने व्यवस्थालाई तत्काल लागू गर्न पनि माग गरिएको छ।

* * *

यस्तो छ विद्यार्थीले बुझाएको ज्ञापनपत्रको पूर्णपाठ-

मा. अम्मरबहादुर थापाज्यू
सभापति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
काठमाडौँ ।

विद्यालय शिक्षा विधेयक सम्बन्धी ध्यानाकर्षण ।

नेपालको संविधान, २०७२ का कार्यान्वयन गर्ने, मुलुकको समग्र विकासका लागि शैक्षिक मूल्य र मान्यताको संवर्द्धन र सक्षम जनशक्ति विकास गर्न र यसका लागि नेपालको शासकीय मूल संरचना अनुकूल हुने गरी विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न मिति २०८०/०५/३० गते प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षा विधेयक, २०८० ले विद्यार्थीको हक र हितमा विद्यालय शिक्षा सुधारका कतिपय पक्षहरुको निश्चितता विगतकाभन्दा पनि बढी खुकुलो देखिएकोले विद्यार्थी समुदाय, विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा हामी संयुक्त विद्यार्थी संगठन नेपाल सरकार, संसदको सार्वजनिक निकाय, विशेषतः संसदीय समिति, विधायनविज्ञ लगायत सबै सरोकारवाला निकायलाई देहायबमोजिमको ध्यानाकर्षण गराउँदछौँ :

१. सरकारले पटक–पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि ऐन जारी हुनसक्नु सरकारद्वारा विद्यार्थीका मुद्दा र विधेयकप्रति बेवास्ताको द्योतक हो । तसर्थ, अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न संयुक्त विद्यार्थी संगठन सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ ।

२. नेपालको संविधान, २०७२ को धारा ३१ मा व्यवस्था भएको शिक्षा सम्बन्धी हक बमोजिम प्रत्येक नागरिकले माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क प्राप्त गर्न पाउनुपर्ने व्यवस्था अविलम्ब अक्षरशः कार्यान्वयन गर्न संयुक्त विद्यार्थी संगठन सरकारसँग जोडदार माग गर्दछ ।

३. शिक्षा ऐन, २०२८ ले निर्माण गरेका विभिन्न प्रकारका शिक्षक र कर्मचारीहरूको उपयुक्त व्यवस्थापनको दायित्व राज्यले लिनुपर्ने र शिक्षकको योग्यता गुणस्तरीय विद्यालय शिक्षाको मानक भएकाले विद्यालयका शिक्षक नियुक्ति प्रक्रिया संविधानले अंगीकार गरेको समावेशी मूल्य मान्यतासहितको योग्यता प्रणालीमा आधारित शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत मात्र हुने व्यवस्था विद्यालय शिक्षा ऐनमा सुनिश्चित गर्न संयुक्त विद्यार्थी संगठन सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ ।

४. विद्यालय शिक्षा विधेयक विद्यार्थीहरूको प्रत्यक्ष सरोकार र चासोको विषय भएकोले संयुक्त विद्यार्थी संगठनको अनिवार्य सहभागितामा संसदीय संवाद, वार्ता र छलफलमार्फत् मात्र विधेयक अघि बढाउन सरकार, विधायन संसदीय समिति र सम्बन्धित निकाय समक्ष संयुक्त विद्यार्थी संगठन जोडदार माग गर्दछ ।

५. विद्यालय शिक्षामा कायम रहेका ‘दन्ड–विद्यालय’हरूको ऐनमा व्यवस्था भएको विद्यार्थीको प्रतिनिधित्वका साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन/स्वतन्त्र परिषद्को निर्वाचन अविलम्ब सम्पन्न गर्न नेपालमा स्थापित सम्पूर्ण विश्वविद्यालय समक्ष संयुक्त विद्यार्थी संगठन जोडदार माग गर्दछ ।

अन्तमा : परम्परागत र लोकतान्त्रिक शोषण कदापी पूर्ण भइसकेको हुन नसक्ने विद्यालयका शिक्षक कर्मचारीको व्यवस्थापन गरी विद्यालय शिक्षाको गुणात्मक रूपान्तरण गर्न सबै, पेसा र व्यवसाय सरोकारसँग सम्बन्धित शिक्षण सिकाइलाई प्रभावित गर्ने सबै पक्षसँग छलफल गरी शिक्षामा आमूल सुधारको खाका बनाउन र यसका लागि हामी सबै पक्षलाई यसमा सहयोग गर्न आग्रह गर्दछौँ।

संयुक्त विद्यार्थी संगठनको तर्फबाट :

दुजाङ शेर्पा, अध्यक्ष, नेपाल विद्यार्थी संघ

डा. सुजन कडरिया, अध्यक्ष, अनेरास्ववियु

विजयप्रकाश शर्मा सापकोटा, अध्यक्ष, अनेरास्ववियु (क्रान्तिकारी)

महेश श्रेष्ठ, अध्यक्ष, अनेरास्ववियु

कमल बम रजबार, केन्द्रीय संयोजक, राप्रविस

नरेश सी, अध्यक्ष, अखिल (समाजवादी)

मनिष कुमार यादव, अध्यक्ष, समाजवादी विद्यार्थी युनियन, नेपाल

विरेन्द्र शाह, अध्यक्ष, अखिल (क्रान्तिकारी)

सुभाष जि.सी., अध्यक्ष, अखिल (छैठौँ)

महेश श्रेष्ठ, संयोजक, अखिल (क्रान्तिकारी)

पोषण यादव, केन्द्रीय संयोजक, विद्यार्थी जनमत संघ

बलबहादुर रमतेल, अध्यक्ष, नयाँ शक्ति विद्यार्थी युनियन

हिमांशु, अध्यक्ष, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन

पवित्रा आचार्य, अध्यक्ष, अखिल (पाँचौँ)

पंकज देव, अध्यक्ष, राष्ट्रिय विद्यार्थी मञ्च

मिनिष भट्टराई, अध्यक्ष, अखिल नेपाल विद्यार्थी युनियन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *