शिक्षा विधेयकका अधिकांश विषयमा सहमति, समिति बैठक ३ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक बिहीबार दिउँसो ३ बजे बस्ने भएको छ । यसअघि बैठक १ बजे बस्ने तय भएको थियो ।

विद्यालय शिक्षा विधेयकको विवादित विषयमा सहमति जुटाउन भन्दै बैठक दुई घण्टा पछि सारिएको जनाइएको छ । संसदीय उपसमितिले विधेयकमा परिमार्जन गरी समितिसमक्ष बुझाएको प्रतिवेदनमा छलफल गर्न बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकमा विधेयकमाथि अन्तिम छलफल गरी टुंगो लगाउने तयारी गरिएको छ । समितिका सभापति अम्मरबहादुर थापाका अनुसार विधेयकमाथि छलफल टुंग्याएर संसदमा पेश गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

उनका अनुसार असार १३ गते शुक्रबारसम्म विधेयक प्रतिनिधिसभामा पठाउने तयारी छ । त्यसअघि विधेयकमा बाँकी रहेका केही विषय टुंग्याउन छलफल गर्न लागिएको उनको भनाइ छ ।

यसैबीच, समितिमा रहेका दलका प्रतिनिधिहरु विधेयकको लगभग अधिकांश विषयमा सहमत भएका छन् । केही विषयलाई टुंग्याउन समय लाग्ने भएकाले समितिको बैठक सारिएको एक सदस्यले जानकारी दिए ।

सहमतिअनुसार कक्षा १० को एसईई परीक्षा प्रदेश स्तरमा सञ्चालन हुनेछ । परीक्षा सञ्चालन र व्यवस्थापनबारे थप व्यवस्था प्रदेश कानुन बनाएअनुसार हुने गरी छोड्न लागिएको छ ।

निजी विद्यालय सञ्चालन गर्न सक्ने प्रावधान यथावत् रहनेछ । यसअघि निजी विद्यालय गुठीमा जानुपर्ने व्यवस्थाको पक्षमा बहस हुँदै आएको थियो । तत्काल निजी विद्यालयलाई गुठीमा लैजान नसकिने निष्कर्षमा समितिका सदस्यहरू पुगेका छन् । जिल्ला शिक्षा कार्यालयलाई रूपान्तरण गरेर शिक्षा विकास तथा समन्वय इकाई बनाउने र यो इकाईले संघ र प्रदेश सरकारको शिक्षासम्बन्धी काम गर्ने प्रावधान राख्ने विषयमा पनि छलफल भइरहेको जनाइएको छ ।

समितिका सदस्यले बताएअनुसार कक्षा १ देखि ८ सम्मको आधारभूत शिक्षामा प्रारम्भिक बाल विकासलाई समेट्न दलहरू सहमत भएका छन् । प्रारम्भिक बाल विकासलाई दुई वर्षीय बनाउने विषयमा पनि लगभग सहमति जुटेको जनाइएको छ ।

शिक्षा विधेयक परिमार्जन, के के भए परिवर्तन ?

शिक्षा विधेयक टुंग्याउन संसदीय समितिको बैठक बस्दै

शिक्षा विधेयकमाथि छलफल टुंग्याउँदै संसदीय समिति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *