शिक्षा विधेयकमाथि छलफल टुंग्याउँदै संसदीय समिति

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा अन्तिम छलफल गर्न प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहीबार बस्ने भएको छ ।

विधेयकमाथिको छलफल टुंग्याएर शुक्रबार संसदमा विधेयक पेश गर्ने तयारी समितिले गरेको छ । समितिमा छलफल हुनुअघि समन्वय उपसमितिले छलफल टुंग्याउने छ । त्यसपछि समितिमा अन्तिम छलफल हुने जनाइएको छ ।

समितिका सभापति अम्मरबहादुर थापाका अनुसार अन्तिम छलफल टुंग्याएर शुक्रबारसम्म विधेयकलाई समितिबाट पारित गर्ने तयारी गरिएको छ । समितिबाट पारित भएपछि उक्त विधेयक संसदमा जानेछ ।

विधेयकका कतिपय विषयहरुमा परामर्श समन्वय उपसमिचिमा बुधबार छलफल गरिएको थियो । छलफलका क्रममा कतिपय विषयको टुंगो लागेको तर केही विषय भने टुंग्याउन बाँकी रहेको जनाइएको छ ।

विधेयक समितिबाट पारित भएपछि प्रतिनिधिसभामा पेश भएर त्यहाँ छलफल हुनेछ । समिति स्रोतका अनुसार अधिकांश विषय समितिले नै टुंगो लगाउने भएकाले संसदमा धेरै लामो छलफलको आवश्यकता पर्ने छैन ।

केके विषयमा टुंगो लागेको हो र के विषय बाँकी छन् भन्नेचाहिँ ती सदस्यले अहिले सार्वजनिक नगर्ने बताए । ‘संसदमा पनि अधिकांश सदस्यहरु विधेयक चाँडो पास गर्नुपर्ने पक्षमा भएकाले धेरै समय नलागी पारित हुने सम्भावना छ’ ती सदस्यले सरल पत्रिकासँग भने ।

प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि राष्ट्रिय सभामा गएर सामान्य छलफल हुने अनि आवश्यक प्रक्रिया पूरा गरिने जनाइएको छ । उक्त विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि फेरि प्रतिनिधिसभामै पठाइने छ ।

बीचमा कुनै असहज अवस्था नआएको खवस्थामा त्यसपछि सभामुख मार्फत् प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुग्ने समितिका सदस्यले जानकारी दिएका छन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयकले शिक्षा ऐनको रुप लिने छ । त्यसपछि कार्यान्वयनमा आउने छ ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक–कर्मचारीले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । चैत मध्यदेखि करिब एक महिनासम्म उनीहरुले काठमाडौं केन्द्रित सडक प्रदर्शन गरेका थिए ।

वैशाख १७ गते सरकारले आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघसँग असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति गरेको थियो । त्यसबेला ऐन जारी गर्नेसहित अन्य विभिन्न मागका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सहमति गरेका थिए ।

सहमतिपछि संसदको उपसमितिमा विधेयक पुगेको थियो । त्यहाँ छलफलपछि उपसमितिले प्रतिवेदन समितिसमक्ष बुझाएको थियो । उक्त प्रतिवेदनमा आफूहरुको भावना र सहमतिअनुसारका बुँदा तलमाथि गरिएको भन्दै महासंघले असन्तुष्टि जनाएको थियो ।

त्यसपछि शिक्षामन्त्री पन्तले पटकपटक वार्ता गरी बुँदागत धारणा समितिमा राखेका थिए । बीचको अन्योलका कारण विधेयकमाथि समितिमा छलफल हुन पाएको थिएन । अब भने समितिले अन्तिम छलफल गरी विधेयकलाई संसदमा पठाउने तयारी गरेको हो ।

यस्तो छ सरकार र शिक्षक बीचको सहमति

संसदमा उठ्यो प्रश्न, ‘कहाँ गयो शिक्षा विधेयक ?’

विद्यालय शिक्षा विधेयकले संसदमा प्रवेशै पाएन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *