शिक्षा विधेयक टुंग्याउन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा अन्तिम चरणको छलफलका लागि बिहीबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

दिउँसो १ बजे बस्नेसमितिको बैठकमा संसदीय उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । छलफल टुंग्याएर शुक्रबार संसदमा विधेयक पेश गर्ने तयारी समितिले गरेको छ ।

समितिका सभापति अम्मरबहादुर थापाका अनुसार अन्तिम छलफल टुंग्याएर शुक्रबारसम्म विधेयकलाई समितिबाट पारित गर्ने तयारी गरिएको छ । यसअघि विधेयकका कतिपय विषयहरुमा परामर्श समन्वय उपसमितिमा बुधबार छलफल गरिएको थियो ।

छलफलका क्रममा कतिपय विषयको टुंगो लागेको तर केही विषय भने टुंग्याउन बाँकी रहेको जनाइएको छ । विधेयक समितिबाट पारित भएपछि प्रतिनिधिसभामा पेश भएर त्यहाँ पनि छलफल हुनेछ । समिति स्रोतका अनुसार अधिकांश विषय समितिले नै टुंगो लगाउने भएकाले संसदमा धेरै लामो छलफलको आवश्यकता पर्ने छैन ।

शिक्षा विधेयक पारित गर्न माग राखेर शिक्षक–कर्मचारीले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । चैत मध्यदेखि करिब एक महिनासम्म उनीहरुले काठमाडौं केन्द्रित सडक प्रदर्शन गरेका थिए ।

वैशाख १७ गते सरकारले आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघसँग असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति गरेको थियो । त्यसबेला ऐन जारी गर्नेसहित अन्य विभिन्न मागका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सहमति गरेका थिए ।

सहमतिपछि संसदको उपसमितिमा विधेयक पुगेको थियो । त्यहाँ छलफलपछि उपसमितिले प्रतिवेदन समितिसमक्ष बुझाएको थियो । उक्त प्रतिवेदनमा आफूहरुको भावना र सहमतिअनुसारका बुँदा तलमाथि गरिएको भन्दै महासंघले असन्तुष्टि जनाएको थियो ।

त्यसपछि शिक्षामन्त्री पन्तले पटकपटक वार्ता गरी बुँदागत धारणा समितिमा राखेका थिए । बीचको अन्योलका कारण विधेयकमाथि समितिमा छलफल हुन पाएको थिएन । अब भने समितिले अन्तिम छलफल गरी विधेयकलाई संसदमा पठाउने तयारी गरेको हो ।

यसैबीच, आजै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक पनि बस्ने भएको छ ।

बिहान साढे ११ बजेका लागि बोलाइएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सबै सुरक्षा निकायका प्रमुख, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सरोकारवाला निकायहरूसँग छलफल हुने जनाइएको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुने भएको छ । संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा परेका उजुरीहरू खोल्ने र समितिका सदस्यहरूलाई कार्ययोजना वितरण गर्ने कार्यसूची छ ।

शिक्षा विधेयकमाथि छलफल टुंग्याउँदै संसदीय समिति

शिक्षकसँगको सहमति साउनदेखि लागू हुने, के छ सहमतिमा ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *