शिक्षा विधेयक : सांसदहरू पारित गरौं भन्ने, मन्त्री रोक्ने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले केही दिन विद्यालय शिक्षा विधेयकलाई केही समय रोक्नुपर्ने धारणा राखेका छन् । ‘परिस्थिति जटिल बनेको’ भन्दै उनले यस्तो धारणा राखेका हुन् ।
संसदीय समितिबाट विधेयक आज सोमबार पारित गर्ने तयारी थियो । केही विषयबाहेक विधेयकलाई टुंगो लगाउने अन्तिम तयारी थियो । समितिका सदस्य सांसदहरुले आजै पारित गर्न आग्रहसमेत गरेका थिए ।
अन्तिम समयमा नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूले केही असन्तुष्टि राखेको भन्दै शिक्षामन्त्री पन्तले विधेयकलाई केही दिन रोक्न समय मागेका छन् । दिउँसो ४ बजेतिर सुरु भएको प्रतिनिधि सभाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रीले समय मागेका हुन् ।
आजै शिक्षक महासंघका प्रतिनिधि र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग पनि छलफल गरेका उनले बैठक सुरु हुनासाथ स्थगित गर्ने प्रस्ताव गरेका थिए । विधेयक आजै पारित गर्नुपर्ने पक्षमा रहेका सांसदहरुले भने उनको प्रस्तावमा आपत्ति जनाएका थिए ।
‘सरकारले अहिले नगर्नु भनेको कुरा गर्नैपर्छ भनेर संसदीय अभ्यासमा भएको छैन’ मन्त्री पन्तले सांसदहरुले आपत्ति जनाएपछि भनेका थिए । उनले थपे, ‘‘संसदीय प्रणालीमा सरकारको तर्फबाट मन्त्रीले यसलाई रोकौं भनेपछि त्यो विधेयकको रुपमा जाँदैन ।’ उनले दुई–तीन दिनको समय माग्दै सांसदहरुलाई पर्खन आग्रह गरे ।
बैठकमा कांग्रेस प्रमुख सचेतक श्यामलाल घिमिरेले बैठक स्थगित गर्नुपर्ने बताएका थिए । उनले ८० प्रतिशत माग सम्बोधन भइसकेको अवस्थामा २० प्रतिशतका लागि सडकमा जानुपर्ने अवस्थाको सिर्जना गर्न नहुने बताए ।
पूर्व शिक्षामन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठले भोट बैंक बचाउनको लागि शिक्षासँग खेलबाड गर्न नमिल्ने बताएकी थिइन् । कांग्रेस सांसद डिगबहादुर लिम्बुले आजै अन्तिम रूप दिएर विधेयक पारित गर्नुपर्नेमा जोड दिएका थिए ।
माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कानुन बनाउन पाउने संसद्को अपमान भएको बताए । अन्तिममा आएर बैठक स्थगित गर्नु दुःखद भएको उनले टिप्पणी गरे । माओवादी केन्द्रका सांसदद्वय रेखा शर्मा र ज्ञानु बस्नेत सुवेदीले विधेयक टुङ्गो लगाउन नखोजिएकोमा कुनै षड्यन्त्र भइरहेको भन्दै आशंका व्यक्त गरे । एमाले सांसद दिपा शर्मा र लोसपाका सांसद रामप्रकाश चौधरीले पनि विधेयक आजै पारित गर्न आग्रह गरेका थिए ।
एमाले सांसद प्रभु हजाराले शिक्षकहरूको आन्दोलन ‘हावादारी’ भएको टिप्पणी गरेका थिए । आन्दोलनबाट होइन संसद्ले विधेयक बनाउनुपर्ने उनको भनाइ थियो । पूर्व शिक्षामन्त्री तथा एमाले सांसद विद्या भट्टराईले पहुँचवालाको प्रभावमा विधेयक अड्काउने काम गर्न नहुने बताइन् ।
समितिका सभापति अम्मरबहादुर थापाले तोकिएको अर्को कुनै दिन बस्नेगरी बैठक स्थगित भएको जानकारी दिएका थिए ।
महासंघलाई देखाएर शिक्षा विधेयकमा विलम्ब किन ?
शिक्षा विधेयक : ‘सरकार स्वार्थ समूहको पछि लाग्नु हुँदैन’
शिक्षा मन्त्रालय र महासंघबीच सहमति हुन नसक्दा अड्कियो विधेयक
शिक्षा विधेयक : अस्थायी शिक्षकको प्रतिस्पर्धामा कुरा मिलेन
शिक्षा विधेयकबारे मन्त्रालयमा बेग्लै छलफल
विद्यालय शिक्षा विधेयक किन आएन ? षडयन्त्र भए आन्दोलन : महासंघ
संसद बैठक स्थगित, शिक्षा विधेयक कहिले ?
शिक्षा विधेयक : अहिलेसम्म के के विषयमा जुट्यो सहमति ?
विद्यालय शिक्षा विधेयकले संसदमा प्रवेशै पाएन
