संसदमा उठ्यो प्रश्न, ‘कहाँ गयो शिक्षा विधेयक ?’
काठमाडौं। विद्यालय शिक्षा विधेयकमा भइरहेको ढिलाइबारे प्रतिनिधिसभामा प्रश्न उठेको छ। शनिबारको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्रका सांसद अमनलाल मोदीले ढिलाईबारे प्रश्न उठाएका हुन्।
बैठकमा विनियोजन शीर्षकहरु माथिको छलफलमा भाग लिँदै सांसद मोदीले विद्यालय शिक्षा विधेयकबारे पनि चासो देखाएका हुन्।
सरकारले आन्दोलनरत शिक्षकसँग वार्ता र सम्झौता गरेर शिक्षा ऐन ल्याउने कुरा गरे पनि संसदमा आजसम्म विधेयक नआएको भन्दै आपत्ति जनाए।
‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कुरा गर्दा शिक्षकहरुले धेरै आन्दोलन गरेका छन्, हामीलाई थाहा छ शिक्षकसँग वार्ता र सम्वाद गरेर सरकारले सम्झौता पनि गरेको छ,’ उनले भने, ‘शिक्षा ऐन ल्याउने कुरा गरे पनि संसदमा आजसम्म आएको छैन। यो कहाँ गयो? यो विषयमा कमसेकम हामीले जुन तरिकाले शिक्षकहरूसँग वार्ता र संवाद गरेका थियौं त्यो कार्यान्वयन गर्नुपर्छ कि पर्दैन?’
उनले धेरै मन्त्रालयको खर्च कटौतीमा टिप्पणी गर्नुपर्ने अवस्थामा समय कम भएको भन्दै सभामुखको ध्यानाकर्षण पनि गराएका थिए। उनले संघीय निजामति ऐन संसदमा पेश भएर पनि नआउँदा दुस्ख लागेको बताउँदै आफू मन्त्री भएको समयमा कर्मचारीको तलव वृद्धिका लागि कार्यदल बनाइएको भएपनि त्यो अहिले नदेखिएको उल्लेख गरे।
सांसद मोदीले कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढिरहेको दाबी पनि गरे। ‘नेपालमा विशिष्टिकृतको सेवा प्रणालीमा सरुवा प्रणाली, व्यवस्थित र प्रक्रिय प्रणाली त्यसको कुरामा चाहिँ हामीले केही गरेका थियौं’ उनले भने, ‘त्यसको कार्यान्वयनका कुरामा कार्यदल बनाएका थियौं त्यो अहिले देखिइरहेको छैन।’
