महासंघलाई देखाएर शिक्षा विधेयकमा विलम्ब किन ?

काठमाडौं । विद्यालय शिक्षा विधेयक टुंगो लगाउन भइरहेको विलम्बप्रति सांसदहरुले आपत्ति जनाएका छन् । विधेयकलाई चाँडै संसदीय समितिमा टुंग्याएर संसदमा पेश गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

विधेयकका विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले छलफलका लागि थप समय माग गरेका छन् ।

त्यसरी समय माग गरेर विधेयक टुंग्याउने कुरालाई लम्ब्याइएको भन्दै सांसदहरूले आपत्ति जनाएका हुन् । विधेयक पारित गर्ने विषयमा मन्त्री पन्तले सोमबार बसेको समिति बैठकमा थप समय माग गरेका थिए । सांसदहरूले भने बैठक निरन्तर राखेर भए विधेयकलाई अन्तिम रुप दिनुपर्ने बताएका थिए ।

नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले शिक्षामन्त्री पन्त र कांग्रेस प्रमुख सचेतक घिमिरेले बैठक स्थगित गर्ने प्रस्ताव ल्याएको भन्दै असहमति जनाइन् । शिक्षक महासंघसँग अझै छलफल बाँकी छ भन्दै मन्त्री पन्तले समय माग गरेकोप्रति उनले आपत्ति जनाइन् ।

समिति सदस्य समेत रहेकी बस्नेतले भनिन्, ‘महासंघलाई देखाएर भित्रभित्रै षड्यन्त्र गर्न खोज्नुभएको त होइन भन्ने आशंका जन्मिएको छ ।’ सरकारले जे भन्यो त्यो लागू नहुने भन्दै असहमति भएको अवस्थामा विधेयक पारित गर्न आफूहरु बाध्य नहुने उनको भनाइ छ ।

यसैगरी, सांसदहरु रेखा शर्मा, रामप्रकाश चौधरी लगायतले पनि विधेयकलाई अन्तिम रुप दिन अब धेरै समय लगाउनु नहुनेमा जोड दिएका थिए ।

शिक्षा विधेयक : ‘सरकार स्वार्थ समूहको पछि लाग्नु हुँदैन’

शिक्षा मन्त्रालय र महासंघबीच सहमति हुन नसक्दा अड्कियो विधेयक

शिक्षा विधेयक : अस्थायी शिक्षकको प्रतिस्पर्धामा कुरा मिलेन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *