शिक्षक महासंघको बैठक बस्दै, कस्तो होला अबको आन्दोलन ?
फाइल तस्बिर
काठमाडौं। शिक्षा विधेयकमा रहेका केही बुँदाहरुमा असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको बैठक आज मंगलबार बस्दैछ। बैठक बिहान ११ बजे लैनचौरस्थित शान्ति विद्या गृह माविमा बस्ने महासंघले जनाएको छ।
महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बैठकमा आगामी दिनको कार्यक्रमबारे छलफल र निर्णय हुनेछ। यसअघि साउन २२ गते बसेको विस्तारित कार्यसमितिको बैठकबाट भदौ दोस्रो हप्ताबाट आन्दोलन गर्ने निर्णय गरिएको थियो। आज बस्ने बैठकले आन्दोलनको प्रकृति र कार्यतालिका निर्धारण गर्ने महासंघका एक सदस्यले जानकारी दिए।
विज्ञप्तिमा उल्लेख भएअनुसार, संघले हाल संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको शिक्षा विधेयकमा शिक्षक, बालबालिका, विद्यार्थी, स्थायी प्रकृतिमा कार्यरत शिक्षकको स्थायित्व, संविधानप्रदत्त ट्रेड युनियन अधिकार र विद्यालय व्यवस्थापनसम्बन्धी विषयमा चित्त बुझाएको छैन।
महासंघका अनुसार यी विषयमा शिक्षकका संघसंस्थाहरुसँग सहमति अनुसारको प्रस्ताव नआएकोले विरोधमा उत्रिनुपरेको हो। शिक्षक महासंघले यसअघि जारी रहेको आन्दोलनलाई स्थगन गरी शिक्षा ऐन जारी गर्नका लागि वातावरण बनाएको भए पनि सरकारले शिक्षकका माग सम्बोधन गर्नेतर्फ ध्यान नदिएको बताउँदै आएको छ।
यसबाहेक, स्थानीय तहबाट जबरजस्ती शिक्षक सरुवा गर्ने, अस्थायी प्रकृतिका शिक्षकलाई म्याद थप तथा करार सम्झौताका नाममा आतंकित पार्ने जस्ता गतिविधिहरु भइरहेकोले यसको पनि महासंघले विरोध गरेको छ।
अब विधेयकबारे अन्तिम फैसला आन्दोलनबाटै हुने भन्दै महासंघले विज्ञप्ति मार्फत सबै शिक्षक तथा कर्मचारीहरुलाई तयार रहन आह्वान गरिसकेको छ। आन्दोलनका कारण सिर्जना हुने असहज परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी महासंघले दिएको छ।
* * *
विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू
शिक्षा विधेयक प्रतिवेदन सदस्यहरूलाई, भदौ ५ गते पारित गरिने
शिक्षक पदपूर्ति खुला प्रतिस्पर्धाबाट मात्रै गर्न माग
शिक्षा विधेयकप्रति चर्को असन्तुष्टि
शिक्षा विधेयकबारे अन्तिम फैसला अब आन्दोलनबाटै : महासंघ

अटुटरुपमा अस्थायी सेवा गर्दै स्थायी भयको सम्पुर्ण अस्थायी सेवा जोडी लामो समयसम्म सेवा गरेका सरहरु सेवानिबृत्त हुन चाहेको खण्ड मा निस्कने बाताबरण बन्नुपर्यो