प्रभावकारी बन्दै ‘विषादीमुक्त भान्सा अभियान’
विराटनगर। यसो कल्पना गरौं त– सहरका घरैपिच्छे कौसीमा फलफूल, तरकारी फलेको होस्। जग्गा भएका ठाउँमा करेसाबारी हरियो परियोले भरिएको होस्। सकेसम्म आफैं फलाएर, फुलाएर खान पाइयोस्। विषादीयुक्त खानेकुराबाट मुक्ति पाइयोस्। कल्पनै मात्र पनि कति आनन्द दिने खालको हुन्छ।
तर, यो कल्पनामा मात्र सीमित हुने कुरा होइन। पछिल्लो समय विषादीमुक्त तरकारी र फलफूल प्रयोग गर्ने अभियानै चलेको छ। यही अभियानमा जोडिएको नाम हो– विराटनगर महानगरपालिका–१ त्रिवेणी मार्गस्थित सचेतना कृषि सहकारी संस्था लिमिटेड।
यही संस्थामा आबद्ध रहेका अनि अरू इच्छुकहरू पनि संलग्न भएर एउटा फेसबुक पेज समूह छ– कोसी तथा करेसाबारी खेती ज्ञान सीप आदानप्रदान समूह। सहकारी अनि यो समूहको नारा छ– ‘विषादीमुक्त भान्सा अभियान’।
यो अभियानका अगुवा हुन् सहकारीका संस्थापक अध्यक्ष लोकेन्द्र थापा। विगतमा कृषि, सिँचाइ अनि कृषि औजार र विभिन्न प्रविधिहरूसँग सम्बन्धित संस्थामा काम गरेको अनुभव उनले अहिले सदुपयोग गरिरहेका छन्।
थापालाई साथ दिने सिंगो सहकारी र समूह छ। समूहमा कौसी र करेसाबारी खेतीबारे छलफल हुन्छ। अनुभव आदानप्रदान गरिन्छ। आफूसँग भएका बिउ बिजन साटासाट गरिन्छ। समूहका सदस्यहरू मिलेर अनुगमन गरी केही समस्या भए समाधानको बाटो पहिल्याउने गरिएको छ।

सहकारीमा ८६ जना सदस्य आबद्ध छन्। विषादीमुक्त भान्सा अभियानमा जोडिएका धेरै छन्। संस्थाले विभिन्न समयमा खेतीसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ। हालैमात्र २५ जनालाई सहभागी गराएर कौसी र करेसाबारी खेतीसम्बन्धी तालिम सञ्चालन गरिएको थापाले बताए।
यो कार्यक्रममा वडा १ कार्यालयले पनि सहयोग गरेको थियो। कुन सिजनमा केके तरकारी लगाउने, कस्ता खालका रोग लागे के उपाय अपनाउने, कस्तो बिउ राम्रो हुन्छ। मल कस्तो र कसरी प्रयोग गर्ने भन्नेजस्ता विविध विषयमा सहभागीलाई जानकारी दिइएको थियो।
त्यस बेला ग्रो ब्याग, कोकोपिट, कुटे, जैविक मल, हजारी, स्प्रे, ट्रे अनि विभिन्न प्रकारका तरकारी बिउ पनि वितरण गरिएको थियो। तालिमको केही समयपछि सम्बन्धित सहभागीहरूले तालिममा पाएको सीप के कसरी उपयोग गरे भन्नेबारे अनुगमन पनि गरिएको थियो।

अनुगमनका क्रममा राम्रो गरिरहेकाहरूलाई प्रोत्साहन गर्दै सुधार्नुपर्ने अवस्थामा रहेकालाई त्यसैअनुसार सुझाव दिइएको थियो। यस्तै प्रशिक्षण अरु बेला पनि हुने गरेको छ। एक दिने, तीन दिने तालिममा खेतीबारे जानकारी दिइने गरेको थापा बताउँछन्।
सचेतना कृषि सहकारीका हालका अध्यक्ष राजन न्यौपाने आफूहरुले विषादीमुक्त भान्सा अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न बेलाबेला भेला र छलफल गर्ने गरेको बताउँछन्।
हाललाई वडा १ कार्यक्षेत्र भए पनि सहकारीले अन्यत्रका इच्छुकहरुलाई पनि खेतीसम्बन्धी ज्ञान र सीप प्रदान गरिरहेको न्यौपानेको भनाइ छ। संस्थाकी सदस्य मीरादेवी आचार्य आफूले कौसी र करेसाबारीमा मेहनत गरे तरकारीमा आत्मनिर्भर हुन सकिने बताउँछिन्।

‘हाम्रो कौसी र करेसाबारी खेती क्रान्ति’ अभियानका अगुवा दूर्जेय चेतनाविभिन्न खालका तरकारी, फलफूल लगाउने वैज्ञानिक तरिका, बढी फलाउन सक्ने जुक्तिहरु अनि तिनबाट स्वास्थ्यमा हुने फाइदा जस्ता विषयमा तथ्यपरक र सन्देशमूलक जानकारीहरु व्यापक रुपमा प्रचार गर्नुपर्ने बताउँछन्। विराटनगरमा पनि यस्तो अभियानले गति लिइरहेकामा खुसी व्यक्त गर्दै उनले अभियान देशभरि व्यापक रुपमा विस्तार हुनुपर्ने बताए।
उनी भन्छन्, ‘हामी हाम्रो देशलाई आत्मनिर्भर बनाउँदै, सहर र गाउँमा विषादीरहित उत्पादनको महत्व स्थापित गर्ने उद्देश्यले अघि बढिरहेका छौं। घरको कौसी, करेसाबारी, वा कुनै पनि खाली ठाउँलाई उपयोग गरेर आवश्यक तरकारी विषादीरहित उत्पादन गर्ने प्रणालीलाई प्रोत्साहित गर्न सकियो भने, हामी अरबौं रूपैयाँ विदेशिनबाट जोगाउन सक्षम हुनेछौं।’

सहकारीमार्फत् कौसी र करेसाबारी खेतीको अभियान खासगरी कोभिड-१९ महामारीका बेलादेखि सुरू भएको हो। महामारी बढ्दै जाँदा २०७६ चैत ११ गतेदेखि लकडाउन सुरु भयो। सबैजना घरैमा सीमित हुनुपर्ने अवस्था आयो।
असहज भए पनि यही मौकालाई सदुपयोग गर्दै कौसी र करेसाबारीमा तरकारी लगाउने अभियान सुरु भयो। त्यही अभियान अहिले आएर विस्तार भइरहेको समूहका अगुवा थापाले बताए।
यो संस्था र समूहमा आबद्ध सदस्यहरुको कौसी र करेसाबारीमा यतिबेला सिजनअनुसार काउली, ब्रोकाउली, विभिन्न खाले सागहरू, मूला, सिमी, बन्दाकोबी जस्ता तरकारी अनि कागती, ड्रागन फुड जस्ता फलफूल प्रशस्तै लगाइएको छ। लसुन, प्याज पनि उत्तिकै लगाइएको देख्न सकिन्छ।
सहकारीका संस्थापक उपध्यक्ष टंक कार्कीले आफ्नो करेसाबारीमा काउली, ब्रोकाउली, सिमी, भण्टा जस्ता थुप्रै तरकारी लगाएका छन्। उनको खेतीका लागि सिँचाइ गर्न ‘थोपा सिँचाइ’ प्रविधि अपनाइएको छ।
यस्तै, समूहमा आबद्ध मीरा निरौलाले आफ्नो कौसीमा परिवारलाई पुग्ने गरी तरकारी र केही फलफूल पनि लगाएकी छन्। उनी आफूले उत्पादन गरेका तरकारी र कहिलेकाहीँ बिरुवा पनि साथीभाई र छरछिमेकमा दिने गरेको बताउँछिन्।

संस्थाले हालै ‘पारिको होइन बारीको’ भन्ने नाराका साथ काम गरिरहेको ‘हाम्रो कौसी र करेसाबारी खेती क्रान्ति’ समूहसँग सहकार्य गरी अन्तरक्रिया पनि गरेको थियो। कार्यक्रममा एकअर्काबीच सहकार्य गरी अर्ग्यानिक खेतीमा प्रभावकारी काम गर्ने सहमति गरिएको थियो।
उक्त अन्तरक्रियामा हाम्रो कौसी तथा करेसाबारी क्रान्तिकी अभियन्ता मध्येकी एक बनेपा निवासी विजया मानन्धरले कौसी र करेसाबारी खेती अनि अर्ग्यानिक उत्पादनबारे पूर्वका धरान, विराटनगरलगायत स्थानमा छलफल गरिएको बताइन्। उनले विराटनगरको कृषि सहकारीले यो क्षेत्रमा निकै राम्रो काम गरिरहेको पाउँदा खुसी लागेको बताइन्।
कार्यक्रममा विराटनगर निवासी तारा न्यौपानेको पनि सहभागिता थियो। उनले विषादीबाट मुक्ति पाउन सबैले आफ्नो कौसी र करेसाबारीमा आफैं उत्पादन गर्न सके धेरै फाइदा हुने उल्लेख गरिन्।

संस्थाले विभिन्न समयमा कृषिसँग सम्बन्धित विज्ञ र जानकारहरुलाई आमन्त्रण गरी अनुभव सुन्ने र सुनाउने पनि गर्दै आएको छ। संस्थाको कार्यालयमा हालै भएको भेलामा यस क्षेत्रमा लामो समय अनुभव बटुलेका विज्ञ बाबुराजा श्रेष्ठ लगायतको सहभागिता थियो।
भेलामा श्रेष्ठले अचेल हरेक क्षेत्रमा विषादीका कारण मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको उल्लेख गर्दै यसबाट मुक्ति पाउन हरेक व्यक्ति, घर, परिवार र समाज अनि समग्र मुलुकमा जागरण आउनुपर्नेमा जोड दिए। एकैपटक सम्भव नभए पनि विस्तारै यस्तो अभियानलाई देशव्यापी बनाउँदै लैजानुपर्ने उनले बताए।
सहकारीका संस्थापक अध्यक्ष थापा यसअघि युनिसेफको खानेपानी तथा सरसफाई कार्यक्रम, इटालीको सरसफाइ सम्बन्धी परियोजना, युएसएआईको कृषिसम्बन्धी कार्यक्रम लगायत विभिन्न संस्थामा आबद्ध भएर काम गरिसकेका छन्। उनले ती विभिन्न क्षेत्रमा काम गर्दा धेरै जिल्ला भ्रमण गरी कृषिसम्बन्धी जानकारी पाउनुका साथै समस्या पनि नजिकबाट नियालेका थिए।
त्यही अनुभवका आधारमा अचेल खेतीलाई परिस्कृत, उपयोगी र लाभदायक बनाउन उनी सक्रिय छन्। अबका दिनमा ‘उत्पादनदेखि उपभोगसम्म’ धारणाअनुसार कृषित उत्पादनलाई औद्योगिकीकरणमा जोड्नेबारे पनि योजना बनिरहेको थापाको भनाइ छ।

यसैगरी, पूर्वका सहकारी संस्थाहरूबीच सहकार्य गरी अन्तर सहकारी सञ्जाल बनाउने योजना पनि रहेको उनले बताए। सहकारी संस्थाबीच आपसमा सहयोगका लागि काम गर्ने साथै किसानलाई सेवा र सहयोग पुर्याउने कार्यक्रम सञ्चालन गर्ने योजना पनि बनाइएको छ। यसो गर्दा प्रविधि, ज्ञान र सीप हस्तान्तरण गर्न सहज हुने बुझाइ उनको छ।
यी सबै कामहरुमा समन्वय र सहयोग गर्न सचेतना कृषि सहकारी संस्थामा सञ्चालक समिति छ। संस्थाका अध्यक्षमा राजन न्यौपाने छन्। उपाध्यक्ष तारानाथ सिग्देल, ईन्द्रबहादुर बस्नेत, कोषाध्यक्ष जनकप्रसाद दाहाल र सहसचिव सरिता गजमेर छिन्।
यसैगरी, सदस्यहरुमा सावित्रा गौतम, इश्वरा भट्टराई, मीरादेवी आचार्य, गीता भण्डारी, पिपली राई, निर्मला भट्टराई छन्। यस्तै, लेखा सुपरिवेक्षण समिति संयोजकमा शंकरप्रसाद दाहाल छन् भने सदस्यहरुमा केशरबहादुर खड्का, उषा बिक छन्। ऋण उपसमिति संयोजकमा तारानाथ सिग्देल छन् भने सदस्यहरूमा कमला दंगाल र मन्दिरा सुवेदी छन्।
संस्थाको विषयगत विशेषज्ञका रुपमा लोकेन्द्र थापा (संस्थापक अध्यक्ष) छन्। उनी कार्यान्वयन अधिकारी र प्रबन्ध सञ्चालक पनि हुन्। व्यवस्थापकमा उत्तरकुमारी थापा र सहकोषाध्यक्षमा यामकुमारी भुजेल छिन्।
